कविता : धरतीलाई किन माया गर्दैन मान्छे

~प्रदीप लोहागुण~

भर्खरै लर्खराउँदै हिँड्न सिकेका
तोतेबोलीका खोल्साहरुलाई
हातेमालो गर्दै डोर्याइरहन्छ नदी।

लामो यात्रा हिँडेर
थाकी-गली पुगेको नदीलाई
अँगालो हाल्छ सागर र छातीभित्र अटाउँछ।
काँधमा चराको गुँड बोकेर सतर्क उभिबस्छ रुख
मानौं कि
त्यसको अलिकति चलमलले
गुँडबाट दुई दाना जीवन झरेर फुट्नेछन्
अनि त्यसको सारा दोष लाग्नेछ त्यसलाई ।

हरेक बिहान
घामका ज्योतिहरु टेक्दै
धरती चियाउन आइपुग्छ आकाश
र सुम्सुम्याइराख्छ वृद्धहरुको खोकी
अनि स्कुले नानीहरुको निद्रा।
फुलका प्रेमपत्रहरु बोकेर दगुरिबस्छ बतास
र तरुनी फुलहरुको चुल्ठोमा सुटुक्क सिउरिदिन्छ पराग ।

पहाडहरु पलेँटी कसेर लहरै बस्छन्
अनि गाइरहन्छन्
जीवनको दोहोरी ।
सेतो सफा दौरासुरुवाल लगाएर गमक्क बसेको हिमाल
हिमनदीको आँसु खसाल्दै
पखाली बस्छ वेदना ।
खोलानाला, नदी-सागर, रुख, जङ्गल,
पहाड, हिमाल घाम-पानी,
हावा-बतास, फलफूल, चराचुरुङ्गी
सबैले माया गरेको यो धरतीलाई
आखिर मान्छेले मात्र किन माया गर्दैन?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *