पत्र कथा : बिर्सिएको चिठ्ठी

~अविरल परिधि~

हिजो ‘नाइट ड्युटी’ गरिरहेथेँ, टिङ्ग फेसबुकको नोटिफिकेसन आयो। टेबलबाट फोन उठाएर हेरेँ:

आकाश अधिकारी-
ह्याप्पी दशैं माया।
***
एकछिन अलमल्ल परेँ, को आकाश अधिकारी होला ! नजिकबाट चिनेको कोही छ जस्तो लाग्दैन। आकाश नाम भएका त धेरै चिनेका छन्, कसैको नि अधिकारी थर छ जस्तो लाग्दैन। अनि निमेषभर मै दिमागले १८-२० वर्ष अगाडिका दिनहरु जोडिहाल्यो। उही हो कि के हो ?

‘प्रोफाइल’मा गएको, केही फोटाहरु पब्लिक रै’छन्। हो त। दुरुस्तै रै’छ अझै, या सम्झना गाडा हुँदा हुन्। रत्तिभर समय लागेन चिन्नलाई। झन्डै २० वर्ष पछि फोटोमा देखेकि भएपनि।

कस्तो अलौकिक, अनौठो अनुभव यो ! खुशी हो कि पीडा ! रोमान्चकता हो कि रिस ! आक्रोस हो या उल्झन ! अथवा समिश्रण सबैको !

***

त्यसपछि बिरामीहरू आ’कोआइ गरे। बिहानसम्म फुर्सदै भएन। बिहान ड्युटी अर्की साथीलाई बुझाएर फटाफट घर आएँ।

बिर्सिरहेथेँ मेरो पुरानो टिनको ट्यान्का थियो भन्ने अनि त्यसमा लुकाएर सुरक्षित राख्ने गरेका चिट्ठीहरु। त्यही म्यासेजले सम्झायो।

हतार हतार खाटमुनिबाट निकालेँ र धुलो टक्टक्याएँ। सानो ताला झुन्डिरहेकै रहेछ। कहाँ भेटौँला चाबी! तर एसो तानेको आँफै खुस्कियो। समए कति बितिसकेछन भन्ने प्रमाण; ताला खियाले खाइसकेको थियो। उस्को पहिलो चिट्ठी सबैभन्दा माथि नै रहेछ।

***

पुष १, २०५४
श्री,
प्रिय एम्,
मुटुभरिका स्पन्दनहरुको उपहार।
जीवनलाई यसैको रुपमा जीउन कठिन छ। जीवन यात्राका मोडहरु अप्ठ्यारा छन्। यसमा चल्न साहस चाहिन्छ, आँट चाहिन्छ। जीवनलाई सफल बनाउन लक्ष्य र उदेश्य चाहिन्छ, प्रेरणा र साथ चाहिन्छ।  जीवन तब मात्र सफल, सार्थक र पूर्ण हुन्छ जब खोलामा पानी बहन्छ। एक पाटो मात्रैको मोहरको के अर्थ ? गाडा गुड्न त दुई पांग्रा चाहिन्छ।

सायद पहिलोपटक, त्यो समय, एक पल, यति सुन्दर भएर आयो- लाग्छ, मैले जीवनमा जो खोजेको हो त्यो मिल्यो। मैले पहिले पनि त्यो फूल देखेको थिएँ कि। तर सायद कोपिला थियो होला र त आँखा अडिएनन्। जब त्यही कोपिला फक्रियो, त्यसको सुवास, त्यसको वासनामा म मन्त्रमुग्ध भएँ। जुन दिन तिमी मेरो घरमा अनायसै झुल्कियौ, म अविस्वासले पागल भएथेँ। मैले सुसुप्त भावनामा खोजिरहेकी सुकोमल, सुन्दर फूल थियौ तिमी मेरो सामुन्ने। त्यही पल जीवनमा म पहिलो र सायद अन्तिमपटक रोमन्चित भएँ। र, मनमनै प्रण गरेँ, तिमी नै हौ मेरो जिन्दगी। हो तिमी, तिमी हौ, जसलाई म संसार भरको माया दिन चाहन्छु। हो, तिमी हौ जहाँ म मुटुभरीको स्पन्दन बिछ्यौन चाहन्छु। र, तिम्रो साथ पाएर जीवन सफल बनाउन चाहन्छु।

चाहनाहरु अनगिन्ती छन्। कल्पना त सागर हुन्। सपनाका सुन्दर शहरहरु बसेका छन्। सपना बुन्नु नै हो, मैले पनि बुनेको छु। जीवनमा कसैको टेवा चाहिन्छ। जीवनमा कोही न कोही अवस्य चाहिन्छ। त्यो कोही न कोहीको कल्पना र सपना अब पुरा भएको छ। त्यो पलमा भेटिएकी- तिमी।

त्यो पलपछि पनि धेरै समय बित्यो। तर म तिमीमा हराउने चाहना लिएर तिमी सामु आइपुग्न सकिनँ, कुनै पनि माध्यमले। विवस छ जिन्दगी। बिहान बेलुकीको जोरजाममा उसै हराइरहन्छ, अल्मल्लिरहन्छ।  यसलाई खोजिदिने, बाटो जोडिदिने पनि कोही चाहिन्छ, त्यो मेरी तिमी हुनेछौ भन्ने विश्वाशका साथ यी पानाहरु कोरिरहेछु।

प्रिय एम्,
फेरी एकपटक, मैले धेरै सोचेर जीवनको लम्बाइ र गहिराइ नापेर र हाम्रा परिवेशहरुलाई केलाएर यो अनुरोध गरेको हुँ कि तिमी मेरो जीवनमा आइदेऊ। हुनत मैले तिम्रा विचार र भावनाहरुबारे केही छनक पनि पाएको छैन। तिम्रा पनि आफ्नै सपनाहरु होलान् र त्यसमा म कहीँ मिल्दो नहुँला पनि। तर प्रिय तिम्रो मन, मुटु र चाहना टुक्र्याउने मेरो कुनै अभिप्राय छैन। किनकी म तिमीलाई मन पराउँछु र सधैँ खुशी रहेको हेर्न चाहन्छु। यति चाहिँ विश्वाश दिलाउन चाहन्छु कि म तिमीलाई हरदम खुशी राखिरहने छु। तिम्रो साथ भएपछि जुन सुकै कठीन यात्रा पनि सहज हुनेछ, जिन्दगीको डुंगा आरामले बहने छ।

अन्तिममा तिम्रो प्रगति, उन्नति, सुस्वास्थ्य र सम्वृद्दिको सदैव कामना। तिम्रो सकारात्मक जवाफको व्यग्र अपेक्ष्या गर्दै आजलाई बिदा।

फेरि भेटौँला।
तिम्रो हुन चाहने,
आकाश

***

यो आकाश सदैव आकाश जस्तै फराकिलो र खुल्ला। तर, फेरि उत्तिकै गहिरो रहिरह्यो मेरो जीवनमा। ऊ आफ्नो बनाउने प्रण गरेँ भन्छ, र फेरि तिम्रो भावना टुक्र्याउने चाहना हैन भन्छ। कस्तो लचकता- प्रेममा पनि अथवा मुर्ख्याईँ ?

***

पुस माघको कठ्याङ्ग्रिदो जाडो सँगै वर्षभरी पुग्ने दाउरा र घर छाउने खर बोकेपछि बाबाले मलाई सदरमुकाम लिएर जानु भो। म आठ कक्षामा भर्ना भएँ, माध्यमिक विद्यालयमा। बाबा फर्किनु भो। म सानो भाडाको कोठामा बस्दै नयाँ स्कुल धाउन थालेँ। गाउँमा घाँस दाउरा गर्दै पनि राम्रै गरेथेँ सातसम्म त। तर भीर पाखाबाट सदरमुकाममा आएकी। नयाँ परिवेश, अरु कैँयौँ स्कुलबाट राम्रो पढेर आएकाहरुसँग प्रतिस्पर्धा। के गरुँला ? कसो गरुँला ? को साथी होला? असमन्जसताले धेरै दिन सताइ रह्यो।

सदरमुकाम नजिकैकाहरुलाई ‘सेक्सन ए’ मा राखिएको थियो। म ‘बी’ मा। हाम्रो कक्षामा त म राम्रै प्रदर्शन गरिरहेथेँ। यद्यपि चर्चा त सेक्सन ए कै हरुको हुन्थ्यो। बी का त जहिले छायाँमै। उनीहरु जस्तो हुन पाए भन्ने लागिरहन्थ्यो। अझ ९ र १० का जान्ने जान्ने केटा केटीहरु त मेरा आदर्श नै थिए। र, सबै भन्दा आकर्षक थियो, १० कक्षाको को तेस्रो केटा। खै, के ले हो ! म उतिर असाध्यै तानिँदै गएँ। उत्ति राम्रो नि हैन, लिखुरे, सबैभन्दा जान्ने नि त हैन। जम्मा तेस्रो। तैपनि ऊ नै आँखामा आइरहन्थ्यो।

ऊ धेरै अतिरिक्त कृयाकलापमा भाग लिन्थ्यो। म ताली बजाउन अगाडि पुग्थेँ। उसले गाएका गीत वा कविता मन्त्र मुग्ध भएर सुन्थेँ। उसले पदक पाउँदा नजिकै बसेर नियालिरहन्थेँ। तर उसले कहिल्यै वास्ता गरेन। अहँ, कोही केटी मलाई हेर्ने प्रयास गर्छे भन्ने उसले मेसो नै पाएन। तर उसका प्रदर्शनीहरुले म अझै आकर्षित बनिरहेँ। र, मलाई सधैं लागिरह्यो- ऊ जस्तै हुन पाए ! अझ बढी लागिरह्यो उसको नजिक जान पाए ! सामु हुन पाए ! कहिलेकाहीँ स्कुल जाँदा आउँदा उसको नजिक पुग्न नखोजेकी नि हैन। तर धेरै नजिक पुग्ने वा आँखा जुधाउने आँट कहिल्यै आएन। अनि ऊ पनि सधैँ उसका साथीहरु सँगै हराइरह्यो, कहिल्यै याद गरेन, वा वास्ता गरेन  कि कोही उसको बाटो काट्न खोजिरहेछ।
***
ऊ सदरमुकामभन्दा झन्डै एक घण्टा परको गाउँबाट स्कुल धाउँथ्यो। बिहान बेलुका प्राय: हतारमै हुन्थ्यो। यता उता केही वास्ता नगर्ने। मैले जति वास्ता गरे पनि आखिर न दुई शब्द बोल्न सकेँ; न दुई शब्द कोर्न नै। त्योबेलाको जमाना नै यस्तो थियो अथवा म नै उस्ति थिएँ। चाहनाहरु मन भित्र अल्झिरहे। त्यो बर्षको पढाई सकियो। मंसिरमा जाँच दिएर जाडो बिदामा गाउँ गएँ। फागुनमा पुन: सदरमुकाम फर्किए। यो बर्ष त म सेकेन्ड भएकी थिएँ र  ‘सेक्सन ए’ मा ऐच्छिक गणित लिएर पढ्दैथिएँ। लागेको थियो ऊ त्यहीं कतै देखिनेछ फेरि। अब त कसो उसले पनि याद नगर्ला भन्ने उल्लास थियो। तर, अहँ कहीँ देखिएन। सोध्नु पनि कसलाई ? उसको घर पनि देखेकी थिइनँ, उसका साथीहरु पनि खासै कसैलाई चिनेकी थिइनँ। सम्झेँ, एसएलसी सकेर धरान वा काठमाडौं गयो होला- क्याम्पस पढ्न।

हाइ स्कुलका बाँकी दुई बर्ष भरी उसका झल्कोहरुले बेलाबखत पिरोलिरहे। कुनै दिन पुरानो स्कुल घुम्न भएनि आउला कि भन्ने आश लागिरह्यो। तर कतै झुल्किएन। वा मैले उसको दर्शनको सौभाग्य पाइनँ। सायद जीवन यस्तै होला। कहाँ को अड्किरहने अनायासै- न बिर्सन सकिने, न सम्झनुको कुनै अर्थ। बिस्तारै एसएलसीको धपेडिले पेल्दै गयो। व्यस्ततामा उसका स्‍मृतिहरु उजागर हुन पाएनन्।

***
एक्लै एक्लै सदरमुकाम बसेर परिश्रम गरेको फल पनि राम्रो आयो। एसएलसी प्रथम श्रेणीमा पास भएँ। बाबा पनि सदरमुकाम आउनु भएको थियो रिजल्ट हेर्न। मभन्दा धेरै खुशी त उहाँ नै हुनुहुन्थ्यो। सँगै अब छोरीलाई कहाँ कसरी पढाउने भन्ने चिन्ता ले नि छोपेछ क्यारे। भन्नुभयो, ‘पर गाउँको आकाश काठमाडौंबाट आइएसी सकेर घर आ’को छ रे। केही सल्लाह गर्नु पर्‍यो, हिँड जाऊँ।‘ कस्तो अनपेक्षित खुशी लिएर आउनु भो बाबा। एसएलसीको नतिजाभन्दा उसँग भेट्न पाउने यो खुशीले पो म मातिन थालेँ। झन्डै ढुल्मुल्लिएकी- उल्लास र उमंगको नसाले। मनमा सुसुप्त भएर ऊ यति गडेको रहेछ कि उसको घर जाने भन्ने सुन्दा एक्कासि विस्फोट भै गए- सम्झनाहरु। कस्तो भयो होला ! काठमाडौंका मीठा मीठा कुरा सुनाउँदो हो। हात समाएर पात्ले वन घुम्न जान पाए। अनायास कति धेरै चाहनाहरु आए मनमा। मानौँ, ऊ मेरो आफ्नै मान्छे, दुई वर्षपछि भेट्न जान लागेकी।

बाबा र म तेर्सियौं उसको गाउँतिर। बाबा रेडियोमा के के सुनिरहनु भयो। म पछिपछि यादहरुमा हराउँदै लम्किरहेँ। एक घण्टाको बाटो कति छिट्टै बितेको ! यो समय पनि सारै अनौठो- कहिले लमतन्न तन्किन्छ, कहिले सुलुत्तै चिप्लिन्छ। बाबालाई थाहा रहेछ उसको गाउँ। सायद कसैलाई सोध्नु भयो कि ! सरासर घरै पुग्नु भो।

ऊ दलानमा मुढामा बसेर के हो पढिरहेको रहेछ। उस्तै आकर्षक। के को आकर्षण म भन्न सक्दिनँ। तर ऊ नसा जस्तै लागिरहन्थ्यो मलाई। ‘कस्तो पढन्ते, जाँच सकेपछि नि के पढ्ने हो’ भन्न मन थियो। तर के गर्नु, मतिर त राम्ररी हेर्दा नि हेर्दैन। मैले गरेको नमस्ते पनि देखेको हो कि हैन। बाबालाई मात्रै नमस्ते गर्‍यो र कुरा गर्न थाल्यो। मेरो बारेको कुरा, मलाई नि केही सोध्ला भन्छु अहँ, एकैपटक पनि मतिर फर्किएन। कस्तो निस्ठुरी ! वा म नै उस्ति। भुलेकी रहेछु कि उसले मलाई कहिल्यै वास्ता गरेको थिएन। सबै सपना मेरा थिए। उसको त म कोही पनि थिइनँ।

कति कुरा गर्न मन छ आफुलाई। तर कता बाट के कुरा गर्नु ? फेरी बाबा पनि त्यहीँ हुनुहुन्छ। सबै उल्लास र उमंगहरु उसै बिलाए। लुगा धुँदा उठेका साबुनका फिँज जस्तै। कस्तो कठोर हो ? कि किन केही नसोच्ने हो कि ? वा केटी भन्ने हेर्नै नहुने भिष्म प्रतिज्ञा छ ? उसै गह्रौं भो- मुटु। एक मनको भारी बोकेर मनभरी लाग्यौं हामी आफ्नो गाउँतिर। अनि त उसको गाउँ र सदरमुकाम दुवै विराना हुँदै गए।

अर्को महिना बाबाले मलाई पढ्न धनकुटा पठाउनु भो। त्यसपछि नर्सिङ पढ्न धरान झरेँ। ऊ कता पुग्यो, म कता। जीवनका गोरेटा कहिल्यै नजिक हुन सकेनन्। तर अब त झन् एक आपसमा हराइनै गए। कहिलेकाहीं उसका सम्झनाहरुले पिरोलिरहे। अनि आफैँले केही गर्न नसकेको अफसोचले पनि चिमोटिरहे। तर विगत त विगत नै थियो। समय परिस्थितिले टाढाटाढा पुर्‍याइसकेपछि त्यसैमा अल्झिरहन पनि नसकिने। म वर्तमानमा फेरि पनि जीवनको डुंगा तैर्‍याइरहेँ।

***
यो नर्सिङ्को पढाइ पनि कति सास्ती ! क्लास, प्राक्टिकल अनि ड्युटी। बिहानैदेखि रातिसम्म। ४-५ घण्टा सुत्न पाइएको हुँदैन फेरि थाल बोकेर मेसमा लाइन लाग्ने बेला भैहाल्ने। बिहान ६ बजे त खाना खाइवरी ‘युनिफर्म’ लगाएर वार्डमा पुगिसक्नु पर्ने। नत्र मिसहरुको कस्तो सारो गाली। यस्तै व्यस्ततासँगै पहिलो वर्ष सकियो। दोस्रो वर्षको पढाइ अलिअलि भएको थियो। अनि दसैं आयो। तिहारसम्म गाउँमा बसेँ। सदरमुकामतिर जाउँकि भनेको खै किन हो आँटै आएन। उसलाई भेट्ने डर हो अथवा नभेट्ने डर। कि उसको चिसोपनाको रोस। गाउँबाट सिधै धनकुटा हुँदै धरान झरेँ।

जाडो मनग्गे बढी सक्यो। पुसको मध्यतिर होला। एक साँझ मेसमा खाना खाएपछि रस्मी र म होस्टलको कोठामा हिटर तापेर बसिरहेका थियौं। अमिला तलबाट दौडिँदै आई र ‘ओइ एउटा ‘सर्प्राइज’ छ तलाई’ भन्दै छेउमा बसी। के हो भन्न भन्दै म उत्सुक भएँ। अरु बेला भए यो र उ गर्दे अनि मात्रै भन्छु भन्थी। त्यो दिन केही सन्धि नगराई भनी- ‘तेरो आकाश भेट्न आ’को छ।‘

‘आकाश अधिकारी !’ म अत्तालिएँ। ‘हो त’ भन्दै ऊ मुस्कुराई। मलाई खपिनसक्नु ‘भो। यो एक्कासी कहाबाट हुरी बनेर आयो ? किन आयो ? कि मलाई मन पराउछ ऊ पनि? अब के भन्ने ?

रोमान्चकता र असमन्जसताले बेस्सरी थिच्यो, एकैचोटि। केही होस नआउँदै कुर्ता फेरेर दौडिँदै मुख्य गेट पुगेँ तर कोही छैन। यताउति हेरेँ; रस्मी र अमिला हासिँरहेका पछाडि। जगल्ट्याउँकि झैँ रिस उठिरा ‘थ्यो। यी यहाँ छ आकाश भनेर अमिलाले खाम खोली। उसले पत्र पो पठाएको रहेछ। अब झनै उत्सुकताले उकुसमुकुस भएकी थिएँ म- के लेखेको होला भनेर !
***
उनीहरु पढ्दै गए-

 प्रिय एम्,

मुटुभरिका स्पन्दनहरुको उपहार —

म भावनाका भुमरिहरुमा मडारिरहेँ। अघिका रोमान्चित मन मुटुमा अब भावनाका अन्तर्द्वन्द्व चल्न थाले। यो कस्तो मान्छे हो। उल्लु ! उबेला कुनै छनक दिएन। ऊ मलाई चिन्छ कि चिन्दैनसम्म भन्न गाह्रो। उसकै घरमा गएर भेट्दा पनि केही वास्ता छैन। अहिले भन्छ ऊ मलाई चाहन्छ। अहिल्यै, एकैचोटि। एक्कासी ! कस्तो ह्वात्त खन्याएको भावनाहरु। कसरी सम्हाल्ने मैले ! कसरी अडिन्छ त्यो ! यसरी एक्कासी आएको बाढीले त बगाउन के बेर ! बिस्तारै पोखेको भए कस्तो रोमान्चक हुने थियो जीवन ! चुस्सचुस्स प्रेमको नसासँगै। कति रमाइलो हुँदो हो। अब एक्कासी सबै खन्याएपछि कताबाट सम्हाल्ने त्यसलाई ! के भन्ने मैले ? कसरी एक्कासी यत्रो ठुलो निर्णय गर्ने ? दोहोर्‍याई तेहेर्‍याई पढिरहेँ, उसको चिट्ठी। धेरै दिनसम्म सोचिरहेँ। तर के गर्ने निर्णय गर्नै सकिनँ। हुन्छ भनौँ भने भोलिनै आएर लिएर जाला जस्तो। आफु भर्खर पढ्दैछु। बाबा आमा उता गाउँमा। उहाँहरुका आफ्नै सपना छन्। हुन्न भन्ने त कुरै कहाँ आयो र ! सानैदेखि सजाएको मान्छे ऊ।

अनि उसलाई अलिकति बिस्तारै हिडाउनु पर्‍यो भनेर छोटो जवाफ पठाएँ- अलि घुमाउरो पारामा। सिधै हुन्छ भनिनँ। पढ्दैछु, बाबा आमाले अहिल्यै केही सोच्न दिनुहुन्न। आदि आदि। र, अर्को एक महिना उसको चिट्ठीको प्रतीक्षामा बित्यो। खुबै तनाव भो, के जवाफ पठाउला भन्ने। प्रतीक्षाको घडी त सकियो। तर अस्तिको खहरे सेलाएर बग्न रोकिएर आयो। दुई धर्कामा टुंग्यायो। ‘क्षमा चाहन्छु’ रे। ‘तिमीलाई अप्ठेरोमा पार्न चाहन्नँ, अहिले बिदा’ रे।

***

यो कुन दोबाटोमा छोडेको उसले ! केही सोच्न सकिनँ। अब म के भनेर लेख्ने ? ‘म तिमीलाई मन पराउँछु। केही समय कुर’ भनेर लेखिहाल्न पनि नारी सुलभ भावनाले रोकिदियो। आँटै गर्न सकिनँ। सायद पछि फेरि आउने भन्या हो कि ! अहिलेलाई बिदा भन्या छ। बरु कुरिराख्छु अर्को चिट्ठी भन्ने लाग्यो। धेरै महिना कुरेँ  तर ऊ फेरी झुल्किएन- न पत्रमा, न फोनमा, न आफै।

अर्को दसैं आयो। मन थाम्न सकिनँ। एउटा शुभकामना कार्ड किनेँ र त्यसमा अलिकति आफ्ना भावना पोतेर पोस्ट गरिदिएँ। त्यसपछि पुन: प्रतीक्षाको सुइ घुमिरह्यो- मनको घडीमा। तर अहँ, कहिल्‍यै आएन उसको जवाफ। महिना, वर्ष हुँदै दसकौँ बिते तर जवाफ आएन।

यता जीवनको डुंगा त चल्नै पर्‍यो। पढाइ सकियो। जागिर सुरु भयो। नयाँ जागिरको दबाब। यो ठाउँ र ऊ ठाउँको सरुवा। व्यस्तता र समयान्तरले उसका झल्कोहरुमा म अब बानी परेँ। उमेर पनि पाको हुँदै गयो। अब भावनाको वेगले पोल्दैन। बरु सजाएको सम्झनाले रमाइलो गराउँछ बेलाबखत। आफैसँग आफै रमाउने फुलबारी रहेछन् यी सम्झनाहरु। म बेलाबखत आफै मुस्काउछु उसको मुहार सम्झेर। अनि के गर्दो हो, कहाँ होला ? जस्ता सामान्य उत्सुकताले घरिघरि फेसबुकमा निम्त्याउँछ। सर्चमा टाइप गर्छु। आकाश अधीकारी भित्र सयौं प्रोफाइल देखा पर्छन्। अनि त्यसै छाडिदिन्छु।
***

मलाई अझै सम्झना छ। आज ठ्याक्कै १७ वर्ष भएछ। मैले उसलाई दसैंको शुभकामना पठाएको। कस्ता अनौठा यी जीवनका वक्ररेखा। पुरा १७ वर्षपछि ऊ मेरो दसैंको शुभकामना फर्काइरहेछ।

बाबुको बिदा छ, दसैंको। दिनभरी चिडियाघर लगेँ घुमाउन। राति ड्युटीमा १२ बजेको दबाइ बाँढेपछि फोन खोलेँ।

‘हाइ, तिमी त्यही आकाश हौ, जसलाई म हाइ स्कुलमा आँखा सन्काउथेँ ?’  मलाई कता कता तरुनी हुन मन लागेछ।

‘के रे,  रियल्ली ? कस्तो गुम्सुम्। केही मेसो नपाइने २० वर्षसम्म पनि !’ – एक सेकेण्डमै उत्तर आयो। अनलाइन नै रै’छ क्यारे !

‘ओहो ! शुभकामना फर्काउन त १७ वर्ष लागेको थियो, अहिले त १७ सेकेण्ड नि लागेन त ?’ – अनायासै लेख्न मन लाग्यो। कस्तो सहज यो। सधैँ परिचित जस्तो। सायद उमेरले र परिस्थितिले दिएको परिवर्तन !

‘तिमी त्यही माया हौ ? के के कुरा गर्छौ केही बुझ्दिनँ त !’ – ऊ फेरी अनभिज्ञ उपस्थित भयो।

‘म त तिमी कहिले पढाइ सकौली र चिट्ठी पठाउली भनेर कुरेर बसेथेँ’, त्यति लेखेर उसले मुस्काएको स्माइली टाँस्यो।

अब मलाई कता कता डर, कस्तो कस्तो पीडा जस्तो हुन थाल्यो। उसले त्यो शुभकामना कार्ड त पाएकै रहेनछ। एकैछिन उसले पाएको भए के हुन्थ्यो होला भन्ने सोच आयो र गयो। अनि मिलन र बाबुलाई सम्झिएँ। जे भो ठिकै भो। जीवनमा देखेको हुने हैन, लेखेको नै हुने हो।

किन किन फेरी केही लेखिरहन मनै लागेन। उसले ‘फ्रेण्ड रिक्वेस्ट’ पनि पठाएछ। अहँ, स्वीकार्न मन पनि लागेन। वास्तवमा आफैसँग डर लाग्यो, खै के को के को, अज्ञात डर। ऊ ढिलो आयो, धेरै धेरै ढिलो।

एकपट्क पुन: उसको प्रोफाइल फोटोहरु हेरेँ। अमेरिकातिर हुनु पर्छ, ठुल्ठुला शहर र रमाइला प्राकृतिक स्थानहरुमा ऊ उसको परिवारसँग रमाइलो गरिरहेको देखियो। उसको छोरो नि मेरै जत्रो रै’छ। रमाइलो भयो। तर भो, अब उसको संसार आफ्नै, मेरो आफ्नै। के बाँकी छ र जोडिइरहनु !

वार्ड पनि खाली खाली छ आज। म फोनको ‘स्क्रीन अफ’   गरेर पल्टिएँ। मन खै कस्तो कस्तो एकतमासको भो। फोनमा म्यासेजको नोटिफिकेसन आइरहेको छ। म नसुने झैँ निदाउने प्रयास गरिरहेछु- नर्स काउन्टर पछाडि- तन्ना ओढेर।

(स्रोत : .Pahilopost.com)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली कथा, पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *