अनूदित कविता : तिमीसँगै रहँदा

~सर्वेश्वरदयाल सक्सेना~Sarveshwar Dayal Saxena
अनुवाद: प्रेणित

तिमीसँगै रहँदा
प्रायः यस्तो लाग्छ
लक्ष्य नजिक आएको छ,
बाटो छोटो भएको छ,
संसार खुम्चेर
एउटा आँगन जत्रै बनेको छ
र खचाखच भरिएको छ,
कतै पनि छैन एकान्त
न बाहिर, न भित्र।

घटेको छ हरेक वस्तुको आकार,
रुख यति छोटो भएको छ
म त्यसको टुप्पोमा हात राखेर
आशीर्वाद दिनसक्छु,
आकास छातीमा ठोकिन्छ,
जतिखेर चाह्यो म त्यतिखेरै बादलमा मुुख लुकाउन सक्छु।

तिमीसँगै रहँदा
प्रायः यस्तो लाग्छ
हरेक कुराको केही अर्थ हुन्छ,
यतिसम्म कि
घाँस हल्लिनुको पनि
हावा झ्यालमा ठोकिनुको पनि
र घामको प्रकाश पर्खालमा
चढेर जानुको पनि।

तिमीसँगै रहँदा
प्रायः यस्तो लाग्छ
हामी असमर्थताहरूले होइन
सम्भावनाहरूले घेरिएका छौं,
हरेक पर्खालमा ढोका बन्नसक्छ
र हरेक ढोकाबाट
पहाड छिर्न सक्छ।

शक्ति यदि सीमित छ भने
सबै चिज अशक्त पनि छन्,
हातहरू छोटा छन् भने
सागर पनि त बाँधिएको छ,
सामर्थ्य इच्छाशक्तिको अर्को नाम हो,
जीवन र मृत्युको बीचमा जुन भूमि छ
त्यो नियतिको होइन, मेरो हो।

(सन् १९२७ मा भारतको उत्तर प्रदेशमा जन्मिएका कवि सर्वेश्वरदयाल सक्सेना हिन्दी साहित्यका बिर्सन नसकिने नाम हुन्। उनी जीवन निर्वाहका लागि अध्यापक, क्लर्क, आकाशवाणीमा सहायक प्रोड्युसर आदि रहे। तर १९७२ मा चिर निद्रा वरण गरेका उनलाई हामीमाझ जीवित राख्ने अरु केही होइन उनकै रचनाहरू हुन्। उनका उडेको रङ्ग (उपन्यास), काठको घण्टी, बाँसको पुलजस्ता कविता सङ्ग्रहलगायतका पुस्तकहरू प्रकाशित छन्। राजकमल प्रकाशनले प्रकाशन गरेको उनका प्रतिनिधि कविताहरूको सङ्कलनबाट यो कविता अनुवाद गरिएको हो।)

This entry was posted in अनूदित कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *