कथा : प्रसङ्ग मानेका पातको

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

धनबहादुर छक्क पर्यो्। चतुरे, जसलाई अरूहरूले छोटकरीमा चते भने पनि ऊ मायाले चतु भनेर बोलाउथ्यो, दिन पर दिन शङ्काको दायरामा साँगुरिदै जादो थियो। चतुरेलाई जति विश्वास उसले अरू कुनै नोकरचाकरलाई गरेको थिएन र त्यो गोठालो चतुरे र उसको मालिकको बिचमा लोग्ने र स्वास्नीको जस्तो विश्वास थियो जसका शङ्का गर्ने ठाउँ हजार भए पनि शङ्का गर्दैनथे र शङ्का गर्नु पनि अपराध ठान्दथे या एक अर्काको विश्वासलाई मात्र सत्य मान्दथे। तर धनबहादुर पनि के गरोस्? अकारण भैंसीको दुध घट्यो। भैंसी झिँगा बस्दा लड्ला जस्ता मोटो छ, घाँस, कुँडो खान घटेको छैन, पाडो पनि छुटेको छैन र अझ त्यसमापनि गोठालोले ‘एक छिन पनि छोडेको छैन’ भन्छ। त्यसो भए दुध गयो कहाँ त ? गोठालो बाहेक अरू कसले जान्दछ?

“चते ! भैसीको दुध के भएर घट्यो त त्यसो भए ?” – धनबहादुरले अब कडाइसाथ नै सोध्यो।

“खै, के भयेा, के भयो, मालिक ? के थाहा पाऊँ ?” – चतुरेले कपाल कन्याएर भन्यो आफ्नो अनभिज्ञता जनायो।

“गोठालोले थाहा नपाए अरू कसले थाहा पाउँछ ? अझ साँचो कुरा भन्दैनस् ?” –चतुरे जिराहा भएको ठानेर धनबहादुर अब साँचै रन्कियो।

“खै, आफूले केही गरेको छैन ।” – चतुरेले अझै पनि आरोप स्विकार गरेन।

“एक्लै भयो कि दिउँसो जङ्गलमा दुध दुहेर खान्छ, भाते। अहिले मेरो अगाडि ठिक पार्छ ।” – धनबहादुरको रिसले चतुरेको विश्वासमा प्वाल पार्‍यो।

* * *

“तिमीले मलाई भनिरहनै पर्दैन। मैले बुझ्याछु सबै कुरा। गगने त्यसै आउजाउ गर्छ यहाँ ?” – मानध्वजलो स्वास्नीलाई औंला ठड्यायो।

पार्वती स्तब्ध भई। कहाको कुरा कहाँ पुग्यो। कुरा लोग्नेस्वास्नीको साधारण भनाभनबाट सुरु भएको थियो। हुनत वर्णमाला विशारद मानुलाई पढेलेखेकी स्वास्नी यसै पनि अलि भारी नै थिई। त्यमा पनि नारीसम्मेलन र सभा, साहित्यगोष्ठिहरूमा कहिलेकहीं उसकी स्वास्नी निम्त्याइदा या पुरष्कृत हुदा लघुताभास उसलाई भई नै हाल्थ्यो। आज त उसकी स्वास्नी निकै खुशी थिई तैपनि लोग्नेको भनाइ उसलाई च्वास्स बिज्यो र उसले अलि चर्किएर भनी– “के बुझ्नु भएको छ तपाईले ?”

मानु बोलेन। स्वास्नीको अगाडि ऊ यसै पनि कम बोल्ने हो। अझ उसको स्वभाव नै कम बोल्ने हो। कम बोल्ने भएर नै उसको एउटै भनाइ पनि तिखो हुन गएको थियो अन्यथा बोलिरहने मानिसको त त्यति भनाइ ठट्टा मानेर पनि उडाउन सकिन्थ्यो।

गगनबीर मानध्वजको भाइ नाताको मानिस र उसको असाध्यै मिल्ने साथी पनि। मानुको घरमा गगनबीरको आवतजावत पार्वती त्यो घरमा भित्रिनुभन्दा अगाडिदेखिको थियो र पार्वतीले आफ्नो इच्छा अनिच्छालाई वास्तै नगरेर लोग्ने र, उसको भाइ भनौं या साथी, गगनबीरको सम्बन्धलाई स्विकार गरेकी थिई र गगनबीर त्यो घरको सदस्यजस्तो भइसकेको थियो। उसको आवतजावत खुला थियो। घरका सदस्यले ऊसँग पराइसँग जस्तो पर्दा राख्नु पर्ने आवश्यकता थिएन। गगनबीर पार्वतीलाई भाउजूलाई जस्तो व्यवहार गर्दथ्यो, उडाउथ्यो, उडाई माग्दथ्यो। मानुले पनि त्यसलाई त्योभन्दा पर सोचेको थिएन। कहिले लोग्नेस्वास्नी भएर गगनबीरलाई उल्लु बनाउथे। कहिले देवरभाउजू भएर मानुको खिस्सी उडाउथे त कहिले दाजुभाइ भएर पार्वतीलाई बौलाही तुल्याउथे। उनीहरूको व्यवहारमा आत्मियता थियो, पवित्रता थियो र सबैभन्दा ठूलो उनीहरूको बिचमा आफसी विश्वास थियो। मानिस के भन्छन्? त्यसको वास्ता थिएन। वास्ता गर्नुको अर्थ हुन्थ्यो अर्काको हातमा फर्सी फलेको देख्ने मानिसहरूको विश्वास गर्नु र त्यस्ता मानिसहरू आफ्नो हत्केलोमा नफले पछि अर्काको हातमा त पक्कै फलेको छ भनेर कुरा त काटई नै हाल्छन्।

यसरी दिन मात्र होइन वर्षौं बितेको थियो। आफसि विश्वासको पहरामा कहीं रौं प्रमाणको धर्सो पनि देखिएको थिएन। उनीहरूको त्यो नाता यति बलियो थियो कि एउटाले अर्कोसँग रिस उठ्दा तेरो फलानेाले गर्दा त हो नि भनेर घुर्क्याउनेसम्म पनि गर्दथे र उनीहरू तीन जना एउटै ओछ्यानमा सुतेका भए पनि मानु र पार्वती लोग्नेस्वास्नी नै हुने थिए र गगन र पार्वती पवित्र नाताले बाँधिएका देवरभाउजू नै रहने थिए होलान्। त्यो पवित्रतालाई न गगनले अपवित्र सोचेको थियो, न पार्वतीले नै त्यो धमिलेा ठानिनेछ भन्ने चिताएकी थिई।

कुरा यसरी सुरु भएको थियो। मानुकी सानीमा छोरो भेट्न र छोरा कहाँ केही दिन बस्न आएकी थिइन्। छोरालाई भेट्न आउनु पर्ने आत्मियता त सानिमा र छोराका बिचमा थिएन तैपनि आफ्नी दिदीको छोराप्रतिको उनको सद्भावनामा शङ्का उठाउन मिल्दैनथ्यो। त्यसमा पनि उनीलार्इं गानुको व्यथाले वर्षौदेखि दुख दिइरहेको थियो र बल्लबल्ल त्यो साल उनले घरबाट फुर्सद पाएकी थिइन्। त्यो सहरमा उनले बस्ने ठाउँ खोज्दा अरू कही पाए पनि आफ्नो छोरो छोडेर अर्कोकोमा जानु उपयुक्त पनि त हुन सक्दैनथ्यो। मानुको घरमा पसेकै दिन गगनको त्यो घरसँगको आत्मियता देखेर उनीले छोरोलाई सोधिथिन्– “यी नानी चैं को नि?”

मानुले जवाफ दियो – “मेरो साथी, सानीमा। २।४ पुस्ता परको त हाम्रो साइनो पनि छ। किन? केलाई र?”

साथी साथी बिचको या २।४ पुस्ता भित्रको साइनो कति गहिरो छ? त्यो थाहा नपाई नबोल्नु उचित ठानेर उनीले केवल भनिन्– “केहीलाई पनि होइन, त्यसै। मान्छे निकै पुख्खली रहेछन् र सोधेकी”

“मेरो उहिले देखिको साथी ।” –मानुले सानीमालाई अझ प्रस्ट पार्यो्।

“अँ, त्यही भएर होला, बुहारीले पनि त्यति पर्दा राख्दी रहिनछिन् ।” –सानमिाले सत्यलाई प्रस्ट्याए झैं गरेर भने पनि त्यसमा आफ्नो चित्त नबुझेको कुराको छनक भने त्यो भनाइको लवजमा थियो।

मानुले सानीमाको भनाइलाई त्यति गम्भिरतासाथ नलिए पनि स्वास्नीलाई सूचित गर्योे– “यी हाम्री सानीमा सारै शङ्कालु छन्। उनको अगाडि गगनसँग पनि हिमचिम नदेखाऊ है ।”

पार्वती वाल्ल परी। सानीमा शङ्कालु छन् त के भयो ? यस्ता शङ्का गर्नेहरूको संख्या समाजमा थुप्रै छ। तिनीहरूको शङ्काले आजसम्मको सम्बन्धलाई बाधा पारेन भने सानीमाको उत्पत्तिले वाधा पार्ने किन ? त्यसैले उसले सोधी– “घरका पाहुनाले शङ्का उठाउदै हिड्नथाले भने घरधनीले राख्नु कसरी ?”

“२।४ दिन त हो नि। २।४ दिन पछि त बुढिया गइहाल्छिन् नि ।” –मानुले कुरा पन्साउन भन्यो।

पार्वतीले लोग्नेको भनाइ अस्विकार गर्दै भनी – “तर त्यस्ताले त्यही २।४ दिनमा नै अर्काको घर भत्काउन भ्याई सक्छन् र पो ।”

मानु केही बोलेन। पार्वतीले पनि अरू थपिन। उनीहरूले आफ्नो व्यवहारमा परिवर्तन गर्न चाहे वा चाहेनन्, त्यो अर्कै कुरा हो, तर गगनबीरको व्यवहारले उनीहरूलाई परिवर्तन गर्न दिएन। नानीदेखि लागेको बानी भन्ने आहान झैं गगनबीरको व्यवहारमा परिवर्तन आएन। आओस् पनि कसरी? मानुको रुखोपनलाई उसले गम्भिरता ठान्यो र बेलाबेलामा यसरी गम्भिर हुने मानुको स्वभाव पनि थियो। फेरि मानुले गगनबीरलाई लत्याएकै त थिएन, केवल सानीमा रहुन्जेल अलि पर बसाउन मात्र खोजेको थियो। पार्वतीले त उसलाई पन्साउनै सक्दिनथी। बिना अपराध एउटा मानिसलाई लत्याउन सक्ने स्वभाव उसको हुदै होइन त लत्याओस् कसरी ? त्यसमा पनि,साइनो जेसुकै होस् , एउटा आत्मिय नाता बनिसकेको थियो उनीहरूको बिचमा। जसको मन पवित्र थियो उसले त्यो नाता पवित्र ठान्न सक्थ्यो, जो आफूभित्र पाप पाल्दथ्यो त्यसले अरूलाई पनि पापी देख्दथ्यो। त्यर्सैले मानुको मनमा केही शङ्का उब्जिए पनि र पार्वतीको मनमा केही कठोरता आए पनि गगनलाई भन्न दुवैले सकेनन् र फलामको डोरीलाई धमिरोले काट्दैछ भन्ने गगनले चिताउन सकेन। ऊ त पुरानै पारामा कायम थियो।

“आ, छोरा। अलि तिमी कहाँ चलन नराम्रो है। मलाई त चित्त बुझेन ।” –सानीमाले २।४ दिन पछि मानुलाई भनिन्।

“किन? के भयो र, सानीमा ?” – मानुले सशंकित भएर सोध्यो।

“गगन बाबु आफ्नै भए पनि बुहारीले त्यसरी कोठामा एक्लै पस्न दिनु नहुने। छ्यानबिछ्यान त राख्नु पर्छ अलिकति मान्छेले।” – सानीमाको चित्त पटक्कै बुझेको थिएन।

“उहिलेदेखि नै यस्तै चलन छ, सानीमा। खै, वास्ता गरेका छैनौ हामीले ।” –मानुले असजिलो मान्दै भन्यो।

“उहिले न अहिले। मान्छे उनै हुन्, बेहोरा उही हो। त्यसमा पनि एक्लै कोठामा त उमेर पुगेका आमा-छोरा, बाबु-छोरी पनि नबस्नु भन्छन् भने बुहारीको त के नाता हो र गगन बाबु? गोरु बेचेको साइनो। घरको लोग्नेमानिसले बुझ्नुपर्छ यस्ता कुरा ।” – सानीमा साँगुरिइन्।

मानुसँग कुनै तर्क थिएन। सानीमाका जमानामा एक्ली स्वास्नीमानिसले लोग्नेमानिससँग बोले बात लाग्दथ्यो, अझ जातै जान सक्थ्यो। मानुकै पनि त कुनै स्वास्नीमानिस साथी थिएनन्। उसकी आमा थिइन्, सानीमा थिइन्, दिदीबहिनी थिए, स्वास्नी थिई, अरू नातागोताका आइमाई थिए र अझ गगनबीर बाहेक अरू कसैले थाहा नपाएकी प्रेमिका समेत थिई तर स्वास्नीमानिस साथी थिएनन्। अवश्य पनि उसको धारणा सानीमाको जत्ति साँगुरो त थिएन तर नारी र पुरुष समान ठान्ने धारणा पनि थिएन उसको। त्यसैले सानीमा द्वारा आरोपित र अपमानित त्यो घरको लोग्नेमानिस मानु स्वास्नीलाई भन्नपुग्यो– “मैले तिमीलाई भनेको होइन गगनसँग लसपस नगर भनेर ?”

पार्वती अवाक भई। उसको र गगनको सम्बन्धलाई अब लोग्नेले पनि लसपसमा पुर्याीएको थियो। यदि त्यो लसपस नै हो भने पनि त्यसलाई लोग्नेले नै स्विकार गर्न लगाएको थियो। गगनबीर र उसले त माग गरेको पनि होइन, चाहेको पनि होइन। उनीहरूले सुरुमा नै मर्यादाको पर्दा राखेर एउटा परचक्रीले झैं साइनोमा सीमित हुन खोजेका थिए र एक अर्कासँगको व्यवहारलाई बैठक कोठाको स्वागतसम्ममा मात्र पुर्याएउन खोजेका हुन्। मानुले नै स्वास्नीलाई पनि आफ्नो अंतरंग मित्रको मित्र हुन वाध्य गरेको थियो। सुरुसुरुमा पार्वतीलाई त्यति सजिलो भएन तर गगनबीरको भद्रता, शालिनता र आनन्दी स्वभावले गर्दा उसलाई त्यो मित्रतामा कुनै आपत्ति भएन। अहिले एक जुग पछि लोग्नेले अकारण आपत्ति देखायो। पार्वतकिो अहम् ले त्यो सहन सकेन र उसले भनी– “किन भन्नु हुन्छ लसपस भनेर? के गरेकीछु मैले र त्यसो भन्नु हुन्छ?”

स्वास्नीको विरोध सुनेर मानु अलि हच्कियो। त्यो कुनै डर होइन लघुताभास थियो उसको। आफ्नो कुराको बचोट गर्न उसले भन्यो – “तिमीले केही गर्यौे भनेर कसले भनेको छ र? मलाई आजकल गगनेको चाला निको लाग्दैन र पो भनेको त ।”

गगनबीरलाई बरु पार्वतीले आरोप लगाएकी भए त्यसलाई सहीसाध्य भन्नु पर्ने थियो तर मानुले लगाउनु त असाध्यै ठहर्योक। त्यसमा पनि अनुपस्थित गगनबीरलाई आरोप लगाएको त पार्वतीलाई झन सैह्य भएन। उसले विरोध गरी – “मसँग रिस उठ्यो भन्दैमा त्यो यहाँ नभएको साथीलाई दोष लगाउनु किन ?”

“मैले बचाउनु पर्नेलाई तिमीले बचाउनु पर्ने किन नि ?” – मानुले उल्टै प्रश्न गर्‍यो।

यसो सुन्दा मानुको प्रश्न कसैलाई बिझाउनु पर्ने खालको त होइन तर समय र प्रशंगले पार्वतीको निम्ति आरोप भइदियो। प्रश्न सुनेर पार्वतीले खिन्न भएर भनी– “तपाईलाई शरम लाग्दैन स्वास्नीलाई यसरी आरोप लगाउन ? मेरो निम्ति त ऊ तपाईको साथी मात्रै हो, अरू केही होइन ।”

“तिमीले भनेर भयो र ? म पनि कुरा बुझ्छु। त्यसै आउने गर्छ गगने यहाँ ?” –मानुले पार्वतीलाई आरोपको सफाइ दिएन।

० ० ० ०

“मालिक ! आजसम्म मैले कहिले गरेकोछु त्यस्तो बेइमानी र चोरी खायो भन्ने ? लौ भन्नोस् त मैले चोरेर खान खोजे पनि त्यो बनमा केमा दुहेर खाने? जंगलमा न दुध दुहुने गबुवा हुन्छ, न अरू कुनै भाँडो। दोष लगाउन पाँए भनेर त्यसै लगाउनु त हुन्न नि ।” – नगरेको अपराधको आरोप लगाएकोले केही चित्त दुखेर, केही रिसाएर चतुरेले मालिकको आरोपको प्रतिवाद गर्‍यो।

“जो चोर उसका डाका ठूला। दुध चोरी खाने पनि उही, साँखिलो बन्ने पनि उही। कति न नजान्ने जस्तो हुन्छ भतुवा। दुध चोरी खानलाई मानेका पात छैनन् होला नि तेरा लागि जंगलमा ?” – धनबहादुर बम्कियो।

० ० ० ०<्center>

“तपाई शङ्काकै आधारमा कसैलाई दोष लगाउन पाउनु हुन्न। दशी चाहियो, प्रमाण चाहियो” – पार्वती अलि चर्की भई।

मर्दपनको अभिमानले अब मानुलाई पनि दह्रो बनाउन थालेको थियो। त्यसमा पनि उसले स्वास्नीलाई अपराधी ठान्न थालेकोले आफूलाई पीडित ठान्नु स्वभाविक थियो र पीडित या दण्डितले न्यायको कठघरामा पुग्दा जहिले पनि आफूलाई दह्रो पाउने हुनाले उसले आफ्नो लघुताभासलाई दबाएर भन्यो– “तिमी आफूलाई पवित्र ठान्दछ्यौ। आफूलाई उच्च ठानेर तिमी अर्कोलाई होच्याउन खोज्छ्यौ। तिमीलाई आफ्नो जन्मको गर्व छ, आफ्नो रुपको गर्व छ। आफूलाई चित्त नबुझेको कुरा तिमी असत्य भनेर फाल्छ्यौ र आफूले गरेको गल्ती र अपराधलाई तिमी स्विकार गर्न सक्दिनौ ।”

पार्वती छक्क परी। के बोलेको यो? लोग्नेको अविवेक कि उसको घृणा? लोग्नेले घृणागर्नु पर्ने काम त उसले केही पनि गरे जस्तो लाग्दैनथ्यो। उसले लोग्नेलाई सधैं सन्मानको स्थान दिएकी थिई। लोग्नेले हीनतावेाध गरे पनि त्यसको फाइदा उसले कहिले पनि लिइन, बरु लोग्नेलाई सजिलो पर्ने स्थितिको सिर्जना गरेकी थिई उसले सधैँ नै। उसले आफूलाई सावित्री झैं पवित्र छु भनेर त देखाइन तर लोग्नेलाई ठग्ने कुरा उसको मनमा कहिले पनि आएको थिएन।

लोग्नेको आरोप प्रस्ट भए पछि पार्वतीले आफ्नो घाँटी सम्म आएको व्यथा घाँटीमा नै रोकेर भनी– “तपाईलाई के भयो? आफ्नो विश्वासलाई किन आफैं रेटनु हुन्छ तपाई ?”

“पारु ! म तिमीलाई दोष दिन्न तर तिमीले गगनेलाई प्रोत्त्साहन दियौ र तिम्रो पुठ पाएर न हो उसले आफ्नो ठाउँ छोडेको। नत्र उसको भाउ के हो र ?” –मानुले भावावेशमा आएर भन्यो।

“मानी लिऊँ एकछिन। ल, मैले अपराध नै गर्न आँटीछु रे तर त्यो लुकाएर गर्न सक्छु कसरी ? तपाईका चिनाजानीका मान्छे छन्, मेरा चिनाजानीका छन् र गगनबनाबुका पनि छन्। कसरी छल्न सक्छौं सबैका आँखा हामी ?” –पार्वतीले व्यथित र रुष्ठ भएर भनी।

मानुले गम्भिर भएर जवाफ दियो – “सबैका आँखा छल्नु पर्यो” किन र ? कसका लोग्ने या स्वास्नी के गर्छन् भनेर हेर्ने फुर्सद कसलाई छ र ? रह्यो म एक जनाको आँखा छल्ने कुरा। तिमीले किन छल्नु पर्योे ? गगनेले छलिहाल्छ नि ।”

मानुको गगनबीरप्रतिको त्यो घृणा शायद मानुको अन्तर्मूखी स्वभावको कारणले हुन सक्थ्यो र त्यो वर्षौदेखि जम्मा भएर अहिले सानीमाले छुवाइदिएको विषको थोपा जस्तो झल्कोको कारण विष्फोटन हुन लागेको थियो। बहिर्मूखी गगन र अन्तर्मूखी मानुका बिचमा सामन्जस्य रहुन्जेल दुई जना एक अर्काका पूरक थिए तर गगनप्रतिको स्वास्नीको श्रध्दाले मानुको छातीमा शङ्का भरिन थालेपछि उसले त फाइदाभन्दा नोक्सान नै बढी बेहोरिरहेको थियो। स्थितिसँग अनभिज्ञ गगन भने फाइदा नै उठाई रहेथ्यो।

“हेर्नोस्, तपाई र मेरो बिचमा विवाद भयो भनेर निर्दोषमाथि किन दोष थोपर्नु हुन्छ ? जो मानिस मेरो होइन तपाईको साथी हो, तपाईको अभिन्न मित्र हो, त्यसलाई शङ्का भित्र हालेर तपाई आफ्नै नोक्सान गर्दै हुनुहुन्छ। त्यसैले यसलाई त्यति पर नलानोस्। यसले फाइदा छैन ।” –पार्वतीले संयमसाथ सम्झाउन खोजी।

“फइदा त उठाएकै छौ नि तिमीले पनि मेरो अनुपस्थितिको पनि र मेरो उपस्थितिको पनि। एउटा न एउटा निहुँ निकालेर तिमीले एकान्तवाससम्म पनि मिलाउन सक्छयौ। तिमीले चाहे पछि त जुट्छ जसरी पनि। मेरो आँखाले नदेखे पनि सानीमाको आँखा त छलिन्न नि ।” –मानुले तथ्य अगाडि सार्‍यो।

० ० ० ०

मानेको पातको नाम सुनेर चतुरे चकित भयो। मानेका पातमा दुध दुहुन सकिने कुरा त उसले सोचेको नै थिएन। हिजोसम्म भैसीको दुध विश्वासको कल्चौंडोमा अडेको थियो। आज त्यो विश्वासमा दुध नअडेपछि मानेको पातमा दुहुन सकिने कुरा नौलो भएन। चतुरेले बुझ्यो – मानेको पात मालिकको शङ्काको आविष्कार थियो र दुध दुहेर खान सकिने त्यो पात चिनाई दियो मालिकले उसलाई। मालिकको विश्वास नरहेपछि विश्वास धान्न खोज्नु असफल प्रयाश हुने थियो र उसको प्रयाशले मालिक बदलिने थिएन। विश्वासिलो नोकर भएर बस्न पाउने आशा अब रहेन।

भोलिपल्टदेखि चतुरेले मानेका पातमा दुध दुहेर खान थाल्यो।

० ० ० ०

सुनिन्छ – पार्वती पोइल गई।

काठमाडौ
२०४९।५।७

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *