निबन्ध : स्त्रीपुरुष सम्बन्धका आधारहरू

~राप्रउ पोखरेल~raprau-pokharel

लेखक जगदीश घिमिरे आफ्नो वहुचर्चित पुस्तक अन्तर्मनको यात्रामा लेख्छन्- “लामो रोग उपचारको क्रममा म नौ महिना ब्याङ्कक बसें । यस अवधिमा दुर्गा धेरैजसो मसँग रहिन् ।” दुर्गा धेरैवटा संस्थाहरूमा अति व्यस्त थिइन् । उनी भन्न सक्थिन् – “तिमी पो विरामी भयौ, मेरो करिअर छ, मेरो आफ्नै जीवन छ र आकाङ्क्षाहरू छन् । के म पनि तिम्रो रोग सँगसँगै सती जाऔं ?” तर तेसो गरिनन् । उनले मेरो स्वास्थ्यलाई प्राथमिकता दिइन् । पत्नी दुर्गाले पतिमाथि दर्शाएको त्यो सेवा र समर्पणको भाव देखेर जगदीश अभिभूत बन्छन् ।

पाँच छ वर्षअघि अति आधुनिक सभ्यतामा हुर्केका केही नारीहरूले विवाहको बन्धनलाई अस्वीकार गर्दै आफ्नो स्वच्छन्द (यौनजीवनसमेत) जीवन जिउन पाउनु पर्छ भन्ने माग चरित्रहीन चेली का नामबाट खुला रूपमा उठाएका थिए । दुवैप्रसङ्ग फरक फरक पृष्ठभूमिका हुन् तर ती दुवैमा पाश्चात्य सोचको जीवनशैली झल्किन्छ । एक शताब्दी जसो अघि नर्वेका हेनरिक इब्सन (ई १८२८ – १९०६) ले ‘पुतलीको घर’ नाटक लेखेका थिए । नाटकको प्रमुख पात्र नोराले लोग्नेसँग एक निष्ठावान पत्नी भई बस्नु पर्ने सर्त उसकासमक्ष राखिएको थियो तर नोराले लोग्नेको सर्तलाई अस्वीकार गर्छे र सन्तान र लोग्नेलाई छाडेर घरबाट वबहिरिन्छे । नोराले त्यसपछि पुरुष प्रभुत्ववाट आफूलाई स्वतन्त्र राख्न सकी वा सकिन अथवा स्वतन्त्र जीवनको नाममा नगरवधू पो भई कि ? त्यो कुरा नाटकमा खुल्दैन । जे होस् पश्चिमी जगत्मा नारीस्वतन्त्रता र नारी पुरुषको सम्बन्धलाई नोराको विद्रोह- सोचले त्यहाँको सामाजिक जीवनमा नयाँ क्षितिज निर्माण गर्‍यो । हामी कहाँ पनि पश्चिमी सभ्यताका प्रशंसकहरूका लागि इब्सेनकी नोरा क्रान्तिकारी आदर्शकी प्रतीक बनेकी छ ।

बाईस तेईससय वर्ष अघि लेखिएको बाल्मीकीय रामायण काव्यका नायक रामले लङ्काका रावणलाई संहार गरेर अपहरणमा परेकी पत्नी सीतालाई फर्काएर ल्याएका थिए । अन्य पुरुष कहाँ बसिसकेकी पत्नीलाई फर्काएर ल्याएकोमा प्रजाले त्यस कृत्यलाई निकै निन्दा गरे । जानकी नहुँदा स्वर्ग पनि मलाई शून्य लाग्ने छ (वा. रामायण, अर.का.६२।१४) भनेर अनुरक्ति देखाउने रामले सीतालाई परित्याग गर्नुपर्‍यो । समय-व्याधाको वाणवाट पतिपत्नी दुबै मर्माहत बनेका थिए । निकै समयपछि दुई सन्तानका आमा बनेकी परित्यक्ता सीताले पतिसित पुनर्मिलनको अवसर पाइन तर त्यस निम्ति आफूमाथि लागेको कलङ्कलाई फेरि पनि प्रमाणित गर्नुपर्ने लोग्नेको सर्त तेर्सियो । (द्रश्टव्यः इब्सेनकी नोरा र वि. प्र. कोइरालाकी इन्द्रमायासमक्ष उनका लोग्नेहरूले पनि त्यस्तै केही सर्त राखेका थिए) सीताले रामको सर्तलाई स्वीकार गरिनन्, बरू स्व-मृत्युलाई वरण गरिन् । यहाँ सीताको विद्रोह अत्यन्त कारुणिकवनेर प्रष्फुटन भएको छ । सीताको विद्रोह नोरा, इन्द्रमाया वा चरित्रहीनचेलीको नारीवाद थिएन । परपुरुषको बन्दी जीवनमा रहनुपर्दा नारीको चारित्रिक मर्यादामा प्रश्न उठाउने त्यस समाजको मान्यता प्रति सीताको विद्रोह थियो ।

हिमालेशियाली समाजको जीवनपद्धति यस भूमिको संस्कृति र वैदिक विधिमा आधारित छ । प्राणी जगत्को सृष्टि र नारी पुरुषको उत्पत्तिसम्बन्धी मिथक विश्वका लगभग सवै समाजमा पाइन्छ । नेपाल र भारतका विभिन्न सांस्कृतिक समुदायहरूमा पनि त्यस्ता मिथकहरू प्रचलित छन् तर स्थानको सङ्कुचनले गर्दा यहाँ वैदिक वाङ्मयको सृष्टि प्रसङ्गलाई मात्र सङ्क्षेपमा राखिन्छ ।

“अघि अण्डबाट प्रथम उत्पन्न प्रजापति नै थियो ।” त्यसले आफू विराट वाहेक अर्को कोही देखेन । त्यो प्रजापति केही गरी रमाएन । यसकारण त्यसले दोस्रोको चाहना गर्‍यो । त्यो यति परिमाणको भयो जति आलिङ्गित स्त्रीपुरुष हुन्छन् । अनि प्रजापतिले यै शरीरलाई दुई फग्ल्याँटोमा विभक्त गर्‍यो । त्यसबाट पति र पत्नी भए (वृहदारण्यक उपनिषद् १।४।१,३) हिमालेशियाली समाजका पतिपत्नी सम्बन्धको दार्शनिक आधार यस वैदिक मन्त्रमा पाइन्छ । स्त्रीपुरुष एक्लाएक्लै अपूर्ण छन्, पतिपत्नीमा उनीहरूले त्यो पूर्णता प्राप्त गर्छन् । अर्द्ध नारीश्वर (हरगौरी) त्यसको आध्यात्मिक प्रतीक हो । यिनै मान्यतालाई विवाह सम्बन्ध जोर्ने हिन्दु (वैदिक) विवाह पद्धतिमा विनियोग गरिने मन्त्रले पतिपत्नीको आत्मिक सम्बन्धको सर्वोच्चतालाई अनुमोदन गर्छ, केही उदाहरण यहाँ राखिन्छ ।

विवाह यज्ञमा वरले पढ्ने मन्त्र ः हे कन्या म लक्ष्मी रहित (अविवाहित) छु, तिमी लक्ष्मी (अविवाहिता) छ्यौ । म सामवेद (स्वरूप) र तिमी ऋक् (मन्त्रस्वरूप) छ्यौ । म आकाश स्वरूप छु, तिमी पृथ्वी स्वरूप छ्यौ ……….. आउ, यस्ता अङ्ग पूर्ण नभएका हामी दुई वरवधू परस्पर विवाह गरौं र आपसमा मिलेर गर्भाधान गरौं, सन्तान उत्पन्न गरौं । हाम्रा सन्तान चिरायु रहुन् ……… हे वाग्देवता सरस्वती हाम्रो यो विवाह सम्बन्धको रक्षा गर । तिम्रो म गाथा गाउँछु, जुन स्त्री जातिको निम्ति एउटा ठूलो कीर्ति हो – (विवाह विधि) चतुर्थी होममा जुठो खुवाउने विधि गर्दा वरले पढ्ने

मन्त्र ः म आफ्नो प्राण तिम्रो प्राणसँग मिलाएर एक गराउँदछु । म आफ्नो एक एक हाड तिम्रो हाडहाडसँग मिलाएर एक गराउँदछु । म आफ्नो शरीरका मासु तिम्रो मासुसँग मिलाएर एक गराउँदछु …….. सिउँदो राम्रो भएकी हे वधू, आकाशमा गढेको तिम्रो चित्त कस्तो छ, त्यो म जान्दछु । तेसै गरी तिम्रो हृदयले पनि मलाई जानोस् ….. भगवान सूर्य उदाएका छन् । यिनको अनुग्रहले हामी सय वर्षसम्म नै राम्ररी आँखा देख्ने, कान सुन्ने, बोल्न सक्ने र कसैसँग निहुरिनु नपर्ने भएरसँगै बाँचौं (विवाह पद्धति, चतुर्थी विधि) ।

यजुर्वेदका उपर्युक्त मन्त्रले पतिपत्नीको सुन्दरतम् सम्बन्धको सम्पूर्णतालाई स्थापित गर्दछ । यहाँ प्रकृतिका सवै शक्तिहरू वरवधूका विवाहमा साङ्केतिक र अङ्गभूत तवरमा सहभागी हुन्छन् । नेपालमा हुने हिन्दु विवाह आज पनि तिनै मन्त्रहरूवाट सम्पादन गरिन्छ । नेपाली समाज बहु सांस्कृतिक समाज हो । यहाँको भौगोलिक विविधता अनुसार जातीय जीवन पद्धति अलगअलग छन् । केही शताब्दी यता यहाँका वणर्ाश्रमवादी खस समुदाय, यथा क्षत्री, बाहुन, दमै कामी, सार्की आदि र तराईका उच्च वर्ण एवं मुस्लिम समुदायमा नारी उपर पुरुष हैकम अन्य समुदायमा भन्दा बढी रहने गरेको देखिन्छ । विवाहिता र विधवा नारीमाथि सासू नन्द आदि नारीहरूबााटै उत्पीडन र हिंसा हुने गरेको पनि सर्वविदित छ । तथापि पतिपत्नीवीच आपसी प्रेम र सम्मान त्यत्तिकै मात्रामा पाइन्छ । जनजाति भनिने गुरुङ, मगर, थारू, नेवार, दनुवार, किराँत आदि समुदायमा पुरुषको प्रभुत्व न्यून मात्रामा रहेको देखिन्छ । पतिपत्नी, केही अपवाद वाहेक, एक आपसको परस्पर प्रेम, समर्पण र सम्मानको भावमा गाँस्सिएको पाइन्छ । मध्य तराईका शूद्र र पञ्चमवर्ण मानिने समुदायमा समेत स्त्रीपुरुषवीच प्राकृतिक भिन्नताले उत्पन्न गर्ने विभेद वाहेक मानव मूल्यलाई घटाउने किसिमको अन्य विभेद न्यूनतम मात्रामा पाइन्छ ।

नेपालका अधिसङ्ख्यक समुदायमा गृहस्थीको जिम्मेवारी नारीले नै लिएका छन् । आमाले शिशुलाई जन्म दिने मात्र होइन ससाना बालबालिकाको आमासितको सम्बन्ध पनि प्रकृतिले निरुपित गरेको छ । पिताको सम्बन्ध त्यस्तो होइन । सामाजिक रूपले पिताको दायित्व सन्तानप्रति वढी नै होला तर अहिलेको सामाजिक व्यवस्था फेरिएर बालबालिकाको भरण पोषणको जिम्मा समाज वा कुनै व्यवस्थित संस्थाले लियो भने पनि तिनको समुचित स्याहार सुसार पुर्‍याउन आमा अथवा कुनै स्त्रीलाई नै धाईको रूपमा राख्नुपर्ने हुन्छ । त्यतिखेर पिताको दायित्व समाप्त हुन जान्छ । अन्य जीव र पशुपंक्षीहरूमा पनि तिनका सन्ततिले माताकै पोषण र संरक्षण पाउँछन्, हुर्किन्छन् ।

बालबालिकाको पहिलो पाठशाला आमाको काख हो । उसको मुखबाट प्रस्फुटित हुने पहिलो बोली आमा हो । उसले बोल्ने भाषा आमाबाट पाउँछ, त्यसैले मातृभाषा भनियो । सन्तानको पितासित परिचय आमाले नै गराउँछे । पारिवारिक स्वरूपको यो चित्र विश्वका आधुनिक होस वा पारम्परित, सबै किसिमको समाजमा देख्न सकिन्छ । हाम्रा धेरैजसो चाडवाड र सांस्कृतिक धार्मिक कार्यमा स्वास्नीमानिसको अग्रणी (प्रोएक्टिभ) संलग्नता रहन्छ । घरको रीतिथिति छोरीले पतिघरमा लिएर जान्छे । सासूबाट पनि त्यहाँको कुल परम्परा ग्रहण गर्छे । दुवैतिरको संस्कारको मिश्रणमा निर्मित नयाँ परम्पराले नजानिँदो गरी ठाउँ लिइरहेकेा हुन्छ । पुरुष ती कार्यहरूमा सहयोगी मात्र वनेका हुन्छन् । त्यसैले सही अर्थमा भन्नुपर्दा नारी नै संस्कृतिका केन्द्र हुन् र वाहक पनि ।

हाम्रो समाजमा पत्नीको विविध रूप छ । व्यवहारिक जीवनमा आफ्ना पतिलाई आमाको वात्सल्य दिने, विपत्तिमा मित्रको जस्तो असल सल्लाहकार र सहयोगी हुने, दासीको जस्तो सेवा दिने र अप्सराले झैँं रतिसुख दिने, ती सवै एउटी नारीले पत्नी भएर गर्छे (पद्म पुराण ः ४७।५३)। त्यसैले नारी देवीको रूपमा पूज्य छ । घर भनेको घर होइन, पत्नी नै घर हो । पत्नी नभएको घर जङ्गल समान हुन्छ (महाभारत ः शा.प.१५६) । भार्या पुरुषको आधा अङ्ग होे, उसको सवै भन्दा उत्तम मित्र हो र धर्म, अर्थ, कामको मूल पनि (म.भा. आदि.पर्व ७४।४१)। चिकित्सकहरूको के मत छ भने समस्त दुःखको शान्तिका लागि पत्नी नै सर्वोत्तम औषधि हो । (म भा, वनपर्व ६१।२९) । हिन्दु संस्कृतिमा शक्ति, विद्या र अर्थकी देवी दुर्गा, सरस्वती र लक्ष्मी अति पूज्य छन् ।

हाम्रो सामाजिक स्वरूपमा पतिको पनि समानरूपले महìव छ । पिता, माता, दाजुभाइ, छोरा यी सवैले परिमित मात्रामा सुख दिन्छन् । अपरिमित सुख दिने पति नै हुन्छ । पतिवाट हरेक प्रकारको सुख पाइने भएकोले नै ऊ पूजा योग्य हुन्छ (वा. रामायण अ का ४०।३०, म भा, शा प १४८।६) । विधवा वा विधुरको जीवनलाई जलन र व्यथाको जीवन भनिएको छ (भागवत् पु, ११।८।७०) । उपर्युक्त शास्त्रीय वचन केवल कन्या होइनन् । ती वचनहरू हाम्रा व्यावहारिक जीवनका निचोड हुन् जुनकुरा हामी आफ्नै जीवनमा प्रत्यक्षतः पाइरहेकै छौं । पश्चिमी जीवन पद्धतिमा पति वा पत्नीको विछोड जीवनलाई आघात दिने किसिमको घटना नमानिएला । त्यहाँ पतिपत्नी सम्बन्धको परिवेश तेति फराकिलो छैन । हाम्रो परिभाषामा पर्ने माया प्रेम अनुरागजस्ता भावनात्मक पक्ष तिनीहरूको सम्बन्धमा न्यून रहेको पाइन्छ । आ-आफ्नो रुचि, महìवाकाङ्क्षा र करिअर पतिपत्नीको सम्बन्ध भन्दा माथि पर्छन् ।

नेपाललगायत दक्षिण एसियामा पुरुष प्रभुत्व बढ्दै जानु र नारीको पारिवारिक र सामाजिक स्थितिमा ह्रास आउनुमा केही ऐतिहासिक कारणहरू छन् । अघि घुमन्ते युगमा मातृप्रधान परिवारको समाज थियो भन्ने मानवशास्त्रीहरूको मान्यता छ । मानव समुदाय कविला समाजमा विकास गर्दै जाँदा कृषि सभ्यताको प्रारम्भ भयो । नारीपुरुषवीच श्रम विभाजन र कामको प्रकृति अनुसारको जिम्मेवारीले क्रमशः पुरुषको वाह्य भूमिका बढ्दै गयो । युरोपले विदेशीहरूको उपनिवेश र सांस्कृतिक आक्रमणलाई तेतिसारो वेर्होनु परेन तर पश्चिम भारतमा यवन, हुँण, गुर्जरहरूको आक्रमण ई. पँाचौ छैटौं शताब्दीदेखि बढ्दै गयो । मुश्लिमहरूको राज्य स्थापना हुनु (ई ११ रौं शताब्दी) र त्यसपछिको शासकीय प्रबन्धमा भारतीय नारी उनीहरूको लुटका माल बन्न थाले । आफ्नो धर्म, संस्कृति र आफ्नो स्त्रीहरू उनीहरूबाट असुरक्षित हुँदै गएकोले आत्मरक्षा र दीर्घकालीन सुरक्षाका लागि केही नयाँ प्रथाहरू चलनमा ल्याइयो । यथा, स्त्रीहरूलाई स्वतन्त्र घुमफिर गर्न नदिने, पर्दा प्रथाको प्रचलन, बाल विवाह, स्त्रीहरूलाई शिक्षामा नियन्त्रण, स्त्री जाति पुरुष माथि आश्रति रहने अवस्था आदि प्रथाहरूको प्रचलनले गर्दा नारीको स्थितिमा ह्रास आउन थाल्यो । नेपाली समाज पनि केही हदसम्म त्यसबाट अछुतो रहन सकेन । कालान्तरमा ती प्रथाहरू समाजको उन्नति निम्ति अप्रासाङ्गिक बन्दै गए र विकृतिले ठाउँ लियो । तिनै प्रथाहरूपछिका दिनहरूमा स्त्री जाति प्रति सामाजिक दुव्र्यवहारका कारण पनि भइदिएका छन् । नेपालको जनजाति भनिने समुदायमा ती कुप्रथाहरू कि त न्यूनमात्रामा छन् अथवा छैन भन्दा हुन्छ । यहाँको समाजमा देखिएका मानवता विरोधी विकृतिहरू, नारीप्रति हुने गरेका प्रगति विरोधी विभेदहरू पन्छाउन सकियो भने स्त्रीपुरुषको सम्बन्धलगायत राष्ट्रको सामाजिक स्थिति मानवीय सर्वोच्चताको मानक बन्ने छ ।

असल र खराव दुबै प्रकृतिका पुरुष र स्त्रीको समाज हो । जँड्याहा, दुष्ट र क्रूर स्वभावका पति र चरित्रहीन र कर्कशा नारीहरू पनि यसै समाजमा थोरै सङ्ख्यामा भए पनि छन् । नारी हिंसा र उत्पीडनका समाचारहरू बराबर आइरहेकै छन् । अति अल्प सङ्ख्याका दुरचरित्रलाई दृष्टान्तमा प्रस्तुत गर्नु उचित होइन । पश्चिमका विकसित समाजमा पनि त्यस्ता पात्रहरू हुन्छन् । ९५ प्रतिशत बढी नरनारी त सामान्य वा असल प्रकृतिका नै हुन्छन् ।

स्त्रीपुरुषको प्रकृतिले निरुपित गरेको सम्बन्ध हो । विश्वको कुनै समाज यसको अपवादमा पर्दैन तर युग अनुसार सम्बन्धको स्वरूपमा फरक पर्दै गयो । पश्चिमी देशका नारीहरूले समान अधिकारका लागि गत एक शताब्दीदेखि सङ्घर्ष गर्दै आएका हुन् । सभ्यताको मानक स्तरमा विकास गरेका ती देशहरूमा पनि अहिलेसम्म दस प्रतिशत नारीहरू सरकार वा राष्ट्र प्रमुख वनेका छैनन्, नोवेल पुरस्कार पाउने बीस प्रतिशत पुग्दैनन् । यसरी नारी र पुरुषबीच सामाजिक स्थितिमा विभेद रहिरहनु मानव निर्मित कारण हो वा प्राकृतिक हो, यो कुराको खोजी र अध्ययन हुनुपर्छ । नारीको समान अधिकार र आरक्षणको नाममा यहाँ पनि केही ‘सुकिलामुकिला’ नारीवादीहरूले राजनीतिक आन्दोलन गर्दै छन् । यस किसिमका आन्दोलनले नारी पुरुषको सम्बन्धलाई पुनर्परिभाषित गर्ला र समाजलाई समेत परिवर्तन उन्मुख त गराउला तर त्यसमा रचनात्मकभन्दा मौलिकताको ध्वंश र विकृतिको भेलमा हेलिने सम्भावना वढी छ । त्यसैले पश्चिमको विज्ञान-प्रविधि र समृद्धिको वरदानलाई स्वीकार गर्दै हाम्रो सामाजिक जीवन र सांस्कृतिक विकास यहीँको पर्यावरण र जीवन दर्शनलाई आधार वनाएर अगाडि वढाउनु आवश्यक छ । त्यो नै राष्ट्रिय अस्मिता र पहिचानको रक्षा कवच हुन सक्छ ।

(स्रोत : मधुपर्क २०६८ मंसीर)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.