कथा : पोस्ट सिस्मिक- मेरो सहरको एउटा रात

~रजित ओझा~Rajit Ojha

“खै कोही आउँछन् जस्तो छैन,” सरिताले चुरोट सल्काई ।

“चुरोट नसल्का न, यो गुम्ममा पेट हुँडल्दैन ?”

“कसैको नभको तेरो पेट !”

हर्केले सरितालाई हेर्यो, ऊ धूवाँ फुक्न थालिसकेकी थिई ।

उसले ट्याक्सीको झ्याल खोल्यो, धूवाँ बाहिर निस्कियो । निष्पट्ट अँध्यारो अनि सिमसिम पानी । धूवाँ पानीमा पनि त मिसियो होला थोरै । कस्तो अचम्म ! दुई विपरीत धार मिसिए । पर पिलपिल बल्दै गरेको बत्ती अचानक निभ्यो ।

“आज लोडसेडिङ हो कि के हो ?” सरिताले प्रश्न गरी ।

“के बार हो आज ?”

“भइदे पनि हुन्थ्यो, कहिलेकाहीँ त अनुहार नहेरी काम टुंग्याउन पाए नि हुन्थ्यो जस्तो लाग्छ !” ऊ खिस्स हाँसी ।

“पर्खी, पर्खी । कोही आएजस्तो छ !”

“त्यो ?” उसले नाक खुम्च्यार्इ ।

“किन ?”

“गोजी पनि गालाजस्तै रस सिद्दिएको होला । खबटे । खान त पाए जस्तो छैन । पैसा के देला !”

“देला हौ पैसा त !”

“अघि खैनी पनि माड्दै थियो, मुख गन्हाउँछ !” सरिताले आनाकानी गरी ।

“मुख नजोड्नु नि त !” हर्के खितित्त गर्यो । सरिताले उसलाई हिर्कार्इ।

“मान्दै मान्दैनन्, जोड्नुपर्ने ठाउँ जोडेपछि त पुग्नुपर्ने हो !”

“नशा हौ सरिता नशा !” हर्केले आङ तान्यो ।

“ऊ.. त्यो परको ? ज्याकेटमा छ नि ! जा त, सोध त एकचोटि,” परबाट ज्याकेटमात्रै देखियो । अनुहार देखिएन । सरिताले हर्केलाई अह्रार्इ ।

“मानेन भनेचाहिँ यो पानीमा बेक्कारमा भिजिन्छ !”

“जा न जा !” उसले हर्केलाई धकेल्दिर्इ बाहिर !

“भाइ, चाहिने हो ?” हर्के गएर दाह्री कन्यायो । हर्केको दाह्री अलि अलि फुल्न थालेको छ । दाह्री देखेर उसलाई विरक्त लाग्छ । तर, बिहान-बिहानै काट्ने जाँगर पनि चल्दैन । त्यही भएर बिहान खासै ऐना हेर्दैन । ऐनाको जातै बेइमानी, जे छ त्यही देखाउनुपर्ने । कहिलेकाहीँ नभएको देखाइदियोस्, सुधारेर देखाइदियोस्, कति खुसी हुन्थे होला मान्छे !

“के ?”

“सामान !” हर्के नजिकै गएर फुसफुसायो ।

“कति ?”

“एक हजार !”

“महँगो भएन ?”

“एकचोटि गएर हेर्नु, महँगो लागे जबर्जस्ती गर्दिनँ !”

ऊ लुरुलुरु पछि आयो ।

हर्केले ट्याक्सीभित्रको बत्ती बाल्यो । सरिताको अनुहार देखियो ।

“हुन्छ !” उसले सुस्तरी बोल्यो ।

“ट्याक्सीमा चढ्नुस् !” हर्केले पछाडिको ढोका खोल्यो ।

ऊ सरिताको छेवैमा गएर बस्यो । ट्याक्सी हुइँकियो, सरिता टाँस्सीएर बसी ।

“के हो नाम ?”

“गौरी !” सरिताले ढाँट्दिई ।

“ढाँटेको ?” ऊ मुस्कुरायो ।

“किन ?”

“त्यत्तिकै !”

“तपार्इंलार्इ नामसँग के मतलब !”

“तिमीहरुलाई बाटो बाटोमा यसो गर्न डर लाग्दैन ?” उसको भाव अचानक परिवर्तन भो ।

“केको डर सर ? पुलिसलाई हामीले सेटिङ गरेको छ।” अघिल्लो सिटबट हर्के बोल्यो ।

“म को हुँ ? चिनेको छौ ?”

“ग्राहक, ग्राहक भगवानसरह हुन्छ अरे, आज तपार्इंको पूजा गर्ने !” सरिताले उसको छातीमा हात राख्दै भनी ।

“तिमीहरुलाई नै पक्डिन आएको ! म अनुसन्धानको मान्छे ! गाडी रोक !” ऊ अचानक कड्कियो ।

पात्र-१ (सरिता)

सानो हुँदा मलाई रात मन पर्दैन थियो । दाजु भूतका कथाहरु सुनाउँथ्यो । म सुनीसकेपछि कुङ्लिङ परेर सिरकभित्र आमाको नजिकै घुस्रिन्थेँ । आमा दाजुलाई कराउनुहुन्थ्यो ।
“फेरि तर्साइस् बहिनीलाई ?”

आजकल समय फेरिएको छ । मलाई रात मन पर्छ । रात सबैमा समान व्यवहार गर्छ । सबै काला देखिन्छन् । उज्यालोमा त मात्र छाया कालो हुन्छ । रातमा मान्छे, छायाँ, अस्तित्व, आत्मा सबै कालो ।

० ० ०

“म काठमाडौं जान्छु,” मैले एसएलसी सकिनेबित्तिकै जिद्दी गरेकी थिएँ । आमाले भने गाली गर्दै भन्नुभएको थियो, “किन ? जिल्लाको कलेजले भएन तँलाई ?”

साथीहरु पनि काठमाडौं जाँदै थिए । मलाई गाउँ किन किन आफ्नो लागेन । सुस्तरी भनें, “कहाँ काठमाडौंमा पढेजस्तो हुन्छ र !”

“बस्न, खान मलाई अफ्ठ्यारो हुन्न ? पर्दैन जान !”

“तारा दिदीसँग बस्छु, अस्ति गाउँ आउँदा सोधेको, हुन्छ अरे !”

विवाद खासै लम्बिएन, मैले जिद्दी गरेर जितेँ ।

तारा दिदीको कोठामा एउटा सुत्ने खाट पाइयो, कलेजमा एड्मिसन भयो, जीवन दगुर्न थाल्यो । मैले सोचेकी थिएँ, जीवन यस्तै हुन्छ, चलिरहन्छ । मैले सोचेका कुरा पुगिरहन्छन् । तर, वैशाख १२ मा भुइँचालो आयो ।

“अब तेरो पढाइको खर्च बेहोर्न सक्दिनँ कान्छी !” बुबाको तेह्र दिनको दिन आमाले बोली फोड्नुभयो ।

“चिन्ता नलिनू, म केही काम खोजुम्ला,” मैले भुइँ कोर्दै जवाफ फर्काएँ ।

छेवैको भत्किएको घर हेरेँ । त्यो घरको झ्यालबाट पूर्वतिर उदाएको सूर्य कति रमाइलो देखिन्थ्यो । आज बिहानैदेखि धुम्मिएको छ । मेरो जीवनजस्तै आकाशमा पनि काला बादल ! दाजु आउन भ्याएन बाहिरबाट । सुरुको केही दिन टिकट नै पाएन । त्यसभन्दा पछि छुट्टी पाएन । बल्लबल्ल लाखौँ खर्च गरेर बाहिर गएको । उसले खर्चको हिसाबकिताब गर्यो । तराजु जोख्दा बुबाको किरियाभन्दा उसको आउने जिन्दगी नै भारी लाग्यो उसलाई । पछि आमालाई पैसा पठाइदिने वाचा गर्यो । रेडियोले फुक्यो, “१० हजार तुरुन्तै ।”
म भत्केको घर र आमालाई गाउँ छोडेर काठमाडौं आएँ ।

० ० ०

काठमाडौं ।

भित्ता चर्किएका थिए । मैले तारा दिदीलाई सोधेकी पनि थिएँ, “यहीँ बस्ने ?”

“कोठा पाउन गाह्रो छ अब, अनि महँगो पनि !”

“दिदी, केही काम गर्न पर्यो अब !”

“माथि घरबेटीको छोरालाई पढाइदे न त, खोज्दैछन् पढाउने मान्छे,” उनले ऐना हेर्दै जवाफ फर्काइन् ।

खोइ के देख्छिन् त्यो ऐनामा, हेरिरहन्छिन् तारा दिदी । हुन त त्यो ऐना पनि जब्बर छ प्रतिविम्ब देखाउनमा । भुइँचालोको बेला टेबलबाट खसेको, केही भएन । कहिलेकाहीँ शिशा पनि ढुंगाभन्दा कडा हुँदोरहेछ ।

समय, काल, परिस्थिति फेरिएको छ । पहिला हामी अंग्रेजी पढ्न ट्युसन खोजी गर्थ्यौँ, घरबेटीको छोरोलाई ८ क्लासको नेपाली ट्युसन पढाउनुपर्ने । उसको ध्यान भने किताबमा हुन्नथ्यो । खोइ केमा केमा । कहिलेकाहीँ उसका साथीहरु चिहाउँदै आउँथे । ऊ पुलुक्क हेर्थ्यो । मैले हेरेपछि भाग्थे उसका साथीहरु । मलाई रिस उठ्थ्यो अनि कराइदिन्थें ।

“के हो तिमी, पढाइमा ध्यान छैन ? मलाई सानोमा यसरी पढाइदिने मान्छे भए ! सबैले पाउन्नन् मौका !”

ऊ खिस्स हाँस्थ्यो ।

सधैंजसो त घरबेटी घरमै हुन्थे । तर, त्यो दिन उनी बाहिर थिए । लोडसेडिङ थियो । इन्भर्टरमा थोरै वाटको बत्ती भएर होला, बत्ती मधुरो थियो । ऊ लेख्दालेख्दै रोकियो । म आफ्नै किताब पढ्दै थिएँ, ऊ लेखेको मौका पारेर ।

“के पढ्नुभएको ?”

“मेरो पनि कलेजको इक्जाम छ !”

“मलार्इ त नेपाली पढ्नै मन लाग्दैन !” उसले टाउको कन्यायो ।

म थोरै मुस्कुराएँ ।

“तपार्इं हाँस्दा कति राम्री देखिनुहुन्छ ! मेरो साथीहरुले भनेको, तपार्इंसँग पढ्न पाउनु मेरो भाग्य अरे !”

“अरु के-के भन्छन् त तिम्रो साथीले ?” उसको कुरामा मलाई नि चाख लाग्यो । तारिफ कसलाई पो मन पर्दैन र !

उसले केही भनेन । तर, उसको आँखामा अनौठो परिवर्तन देखेँ, मलाइ घोच्ने किसिमको ।

“ल, ल पढ !” म अलि सम्हालिएँ । तर, त्यो दिन पत्ता लाग्यो, उसको ध्यान पढाइमा नभएर केमा थियो । ऊ नजिकै सर्यो । अनि मेरो हात समात्यो । मैले हात झट्कार्न खोजें । उसले अझ जोडले समात्यो अनि भन्यो, “बुबा घरमा हुनुहुन्न, कसैलाई पनि थाहा हुन्न । मेरो पनि यो पहिलोपल्ट हो, तपार्इंलाई पनि मन लाग्छ रे, साथीहरुले भनेको !”

उसले बिस्तारै मेरो छातीमा हात राख्यो अनि अनुहार मेरो नजिकै ल्यायो ।

म उसलाई चिथोरेर भागेँ । घरबाटै बाहिर निस्किएँ । धेरैबेर बाहिर घुमेर फर्केपछि ढोका थुनेर बसेँ । कसैलाई केही भनिनँ ।

त्यही रात तारादिदीलाई भनेर घरबेटीले मलाई निकाल्न लाएछन् । म राम्रो क्यारेक्टरकी थिइनँ रे, छोरोले भनेको अरे !

० ० ०

रेस्टुरेन्टको काम पाइयो । निकै कम तलब थियो । मलाई गिज्याएर साहु भनिरहन्थ्यो, “ग्राहक खुसी पारे टिप्स पाइन्छ ! सजिलो छ लोग्नेमान्छेलाई खुसी पार्न ।”
मलार्इ काठमाडौं बस्ने खर्च भए पुग्छ जस्तो लाग्थ्यो ।

गाउँमा पहिरो गयो । रेडियोमा १० हजारको सट्टा ५० हजार र १ लाख ५० हजारको बहस सुनिन थाले । तर, मेरी आमा बस्ने ठाउँ भएन । बिरामी पनि हुनुभयो । मैले आमालाई लिएरै आएँ काठमाडौं ।

समयले कोल्टे फेर्यो । थलिएकी आमा अनि आफ्नो अँध्यारो कोठा हेर्थेँ । पैसा केही होइन जस्तो लाग्थ्यो, तर रिनले थिचेको अँध्यारो जीवनमा पैसा उज्यालो रहेछ । पैसा अन्तिम सत्य रहेछ ।
ऋण बिस्तारै थपिँदै जाँदा मलाई नि टिप्स चाहिने भो ।

हर्केसँग रेष्टुरेन्टमा भेट भयो ।

“ट्याक्सीमा राम्रो छ बिजनेस !” दुर्इ–चार दिन भेट बाक्लिएपछि उसले छुस्स मलाई भन्यो । मैले रेस्टुरेन्ट छोड्दिएँ । आमालाई पनि राम्रो जागिर पाएँ भनें । थलिएकी आमा थोरै भए पनि खुसी हुनुभयो ।
त्यो रात अझै सम्झना छ, पानी सिमसिम परेको थियो ।

उसलाई हर्केले तानेर लिएर आयो, ऊ सकपकिएर बसेको थियो । थोरै भिजेको थियो, थोरै आत्तिएजस्तो पनि थियो । नयाँ स्वाद चाख्नुअघिको अफ्ठ्यारो होला भन्ने ठानें । उसलाई सजिलो बनाउन खोज्दै थिएँ, अचानक कड्कियो, “तिमीहरुलाई नै पक्डिन आएको ! म अनुसन्धानको मान्छे ! गाडी रोक !”

मैले हात हत्तपत्त हटाएँ उसको छातीबाट । हर्केले घ्याच्च ब्रेक लाएर पछाडि हेर्यो ।

उसले कार्ड देखायो आफ्नो ।

“म तिमीहरुसँग छु, अफिसमा थाहा छ । तिमीहरुको ट्याक्सी नम्बर थाहा छ । मलाई केही गर्न खोजिस् भने भोलि नै पक्डाउ पर्छस् । हिँड अब थानातिर !”

उसले आदेश दियो । म चुप नै बसेँ । बिस्तारै अँध्यारो कोठामा थलिएकी आमा याद आयो । आज छुटिँदैन, भोलि बिहानको दबाइ कसले दिन्छ ?

० ० ०

पात्र-२ (हर्के)

ट्याक्सीमा खासै फाइदा छैन । आएजति पैसा साहुलाई बुझाउँदैमा जान्छ । त्यसमाथि भुइँचालोले पीर थप्यो, भएको घर पनि भत्काइदियो । लडेको घरकोबाहिर उभिएर धेरैबेर आफ्नो अतीत सम्झेँ । त्यही घर त थियो मलाई अंशमा आएको । त्यो घर र जग्गा बेचेर काठमाडौं सरुँ कि भन्ने पनि सोच्दै थिएँ । अब त माथिबाट पहिरो झर्लाजस्तो छ । कसले किन्छ मेरो त्यो घरबारी ?

एकदिन साथीले ट्याक्सीमा कमाइको तरिका सुझायो । भत्केको घर सम्झेँ । अब गाउँ फर्कन सकिन्न । काठमाडौंमा अलि स्थायी भएर बसोबासको व्यवस्था मैले गर्नैपर्छ ।

“पुलिसको डर छैन ?”

“मिलाउनुपर्छ, अलिअलि कमाको बाँड्नुपर्छ !” उसले दाँत देखायो । मैले बूढीको गनगन सम्झेँ, “घर कहिले बनाउँछौ अब ?”

सधैंजस्तो चुप लाग्थेँ । भित्तातिर फर्किदिन्थेँ । ऊ फतफताइरहन्थी, म उडाइरहन्थें । जीवन ऊ फतफताउनु र मैले उसका कुरा नसुन्नु नै हो जस्तो लाग्थ्यो । रात ढल्किँदै गर्दा छोरी निदाउँथी । ऊ मेरो सर्टका टाँकका बटन खेलाउँदै भन्थी, “बूढा, पैसा कमाउने केही उपाय त गर्नैपर्छ । कति दिन चल्छ यसरी ? छोरी पनि ठूली हुँदैछे !”

उसले भनेका सबै सत्य । मेरो मुखमा बुझो लाग्थ्यो । म उसलाई अँगालो मार्थे । ऊ चुप लाग्थी ।

रेष्टुरेन्टमा सरितासँग भेट भयो, कुरा मिल्यो । त्यो दिन कोठा पुगेर ढल्किँदै गर्दा सानी छोरीलाई पनि हेरेँ । अनि सोचेँ, पोहोर महँगो भनेर भर्ना नगरेको बोर्डिङमा यसपालि भर्ना गरिदिनु पर्ला, यो काम बन्यो भने !

त्यो दिन मैले नै हो उसलाई तानेर लिएर आएको । सरिताले पहिला औँलाले देखाउँदै भनी, “ऊ.. पर ज्याकेट लगाएको !”

ट्याक्सीभित्रबाट अनुहार देखिएन । पहिला मोलमोलाइ भयो अनि ऊ लुखुरलुखुर आयो । थोरै छुस्स दाह्री अनि क्याप पनि थियो । शायद पानीले भिज्ने डरले पनि होला । सिमसिम पानी परिनै रहेको थियो । गाडीमा मैले सानो स्वरले नारायणगोपाल बजाएँ– ‘तिमी जुन रहरले ममा फुल्न आयौ !’

अनि गाडी थोरै हुइँक्याएँ ।

अरु ट्याक्सीमा जस्तो मलाई तडकभडकवाला गीत लाउन मन पर्दैन । सरिता ऊसँग खासखास खुसखुस गरिरही । कहिलेकाहीँ त ट्याक्सीमै सुरु गरुम्ला जस्तो गर्छे । ग्राहक गएपछि कराउँछु, “गाडीमा नगर, म सफा गर्न सक्दिनँ !”
“मुड बनाइदिनुपर्छ क्या, थाहा नपाएजस्तो गर्छ !” ऊ इत्तरिन्छे मसँग ।

“कसैको नभको मुड !”

म त्यहाँभन्दा बढी भन्दिनँ । बोल्न पनि सक्दिनँ । सरितालाई हेर्छु । मेरो सुनको अन्डा दिने कुखुरी । मेरो भुइँचालोले भत्केको घर उसैले बनाउनेछे ।

अचानक ऊ कड्कियो, “तिमीहरुलाई नै पक्डिन आएको ! म अनुसन्धानको मान्छे ! गाडी रोक !”

मैले गाडी घ्याच्च रोकेँ । पछाडि फर्केँ ।

“म तिमीहरुसँग छु, अफिसमा थाहा छ । तिमीहरुको ट्याक्सी नम्बर थाहा छ । मलाई केही गर्न खोजिस् भने भोलि नै पक्डाउ पर्छस् । हिँड अब थानातिर !”

उसले कार्ड देखाउँदै भन्यो । बूढी घरमा पर्खेर बसेकी होली, छोरी पनि । छोरीले आज क्याडबरी ल्याइदिनु ल भनेर अघि भर्खरै मोबाइलमा फोन गरेको छ्यास्स सम्झेँ । अनि सम्झेँ, मेरो भुइँचालोले भत्काएको घर जसको अगाडि बसेर म धेरैबेर टोलाएको थिएँ ।

० ० ०

पात्र–३ (दीपक)

करारको जागिर थियो । भुइँचालो आएपछि हाकिमलाई घर जान्छु भनेर एकचोटि फकाउन गएको, सकिएन । सोधेका थिए, “कसैलाई केही भयो ?”

मैले टाउको हल्लाएँ । पशुपतिनाथकै कृपाले होला, घरमा कसैलाई केही भएको थिएन । सबै खेतमा थिए । घर भने ढल्यो ।

१ वर्षअघि त्यतिखेर त बिदा दिएनन् दिएनन्, अहिले त गाउँमा पहिरो नै गयो । गार्इवस्तु गोठ नै भत्काएर सबै सोत्तर पार्यो । दुइटा बाख्रा मरे, एउटा गार्इ पनि । कान्लामुनि उत्तानो परेछ । घरको सम्पत्तिको नाममा त्यत्ति नै । दाजुले फोन गर्दा दुखेसो सुनाएका थिए, “दूध बेच्दै गरेको गार्इ नि मर्यो, थोरै पैसा भए लिएर आइज । गाउँमा सबै चिजको भाउ बढ्यो, पैसा चाहियो !”

“बूढी दुर्इ जिउकी छे, कसरी छोडेर आउनू !” मैले झर्किँदै जवाफ फर्काएँ ।

“माइतमा छोडेर आइज न, आमा अनुहार हेर्न मन लाग्यो भन्दै हुनुहुन्थ्यो !” दाजुले थप कर गरेका थिए ।

‘हेरुम्’ भन्दै मैले फोन राख्देको थिएँ ।

“दाजु छन् हैन घरमै ?” हाकिमले अर्को प्रश्न तेर्स्याए । छन् भन्न सकिनँ । मात्र टाउको हल्लाएँ स्वीकारोक्तिमा ।

“हेरिहाल्छन् नि, कसैलाई छुट्टी नदिनू भन्ने आदेश छ !” हाकिमले बिदाको अध्याय बन्द गर्दिए ।

आशा भने गाउँ जाने भनेपछि काज मिलाएर टीएडीए नि पाइन्छ भन्ने थियो । बिदा नै नदिने भएपछि त्यसको पनि कुरा आएन ।

“आमालाई ज्वरो आयो, सदरमुकाम लानुपर्ने भो । खर्च छैन, नआए पनि खर्च पठा न !”

छैन भन्न सकिनँ । काठमाडौंमा काम गर्छ छोरो । त्यति आश सबैमा हुन्छ । गोजीमा हेरें, पठाउन लायक पैसा छैन । कोठामा घरबेटी र्याल काढेर बसिरहेका छन् मेरो आउने तलबमा । बूढीको अवस्था त्यस्तो छ । किन-किन कोठा जानै मान लागेन । रत्नपार्कतिरै डुलेर बसिरहेँ ।

छेवैको केटालाई एउटाले कोट्यायो ।

“भाइ, जाने हो ?”

“कहाँ ?”

“सामान छ ट्याक्सीमा,” उसले ट्याक्सी देखायो । ट्याक्सीभित्र एउटा युवती लिपस्टिक पोत्दै होली । सधैं यस्तै हो, बिगारेका छन् यो सहरलाई !

० ० ०

अचानक राति बूढी छटपटाउन थाली । भख्खर ७ महिनामात्रै हुँदैछ। अस्ति डक्टरले कम्प्लिकेसन हुन सक्छ भनेर त भन्दै थियो । मलार्इ आजकल गाउँमा पहिरो र मेरो जीवनमा दुःखको पहिरो सल्लाह गरेर आएजस्तो लाग्छ । १५ दिनअघि हो रेगुलर चेकअपमा गएको । हस्पिटल चाहारेँ । छोइनसक्नु छ अस्पताल । बल्लबल्ल भर्ना भो । उसको अनुहार पीडा सहन नसकेर रातो भएको हेरेर बसेँ । मान्छे जहिले-जहिले आफूलाई शक्तिशाली ठान्छ, प्रकृतिले उसलाई विवश देखाएरै छोड्छ । त्यो रात हस्पिटलमैँ काटेँ । बूढीकी बहिनीले खाना ल्यार्इ, खासै रुचेन । भोलि हाकिमसँग जसरी नि टीएडीएको कुरा गर्छु गएर ।

“जाँदै नगएको मान्छेलाई कसरी टीएडीए दिनू ?” हाकिम कड्कियो ।

“बूढी बिरामी छे सर ! कहिले आमा बिरामी, कहिले बूढी बिरामी ?” त्योभन्दा बढी भन्न सकिनँ । रिसले रन्थनिएर निस्केँ । रत्नपार्कतिर गएर घोत्लिएँ ।

फेरि त्यही पुरानो चिनेको बोलीले छेउको केटालाई जिस्क्यायो, “भाइ, जाने हो ?”

“कहाँ ?”

“सामान छ ट्याक्सीमा,” उसले ट्याक्सी देखायो ।

“कति ?”

“दुर्इ हजार !”

“कस्तो महँगो !”

“सबैलाई मिलाउनुपर्छ भाइ, पुलिसलाई पनि ! त्यही भएर !”

ऊ लुखुर लुखुर पछि लाग्यो ।

किनकिन मलाई पनि पछि जाऊँ-जाऊँ लाग्यो । गएर ट्याक्सीको नम्बर टिपेँ । ट्याक्सी हुइँकियो ।

० ० ०

बल्लबल्ल गरेर पुतलीसडकमा नक्कली कार्ड बनाइयो ।

“राष्ट्रिय अनुसन्धान विभाग, डीएसपी प्रकाश खत्री ।”

सुमसुम्याएँ अनि रत्नपार्कतिर लागेँ । सिमसिम पानी पर्दै थियो, उनीहरु ग्राहक कुरेरै बसिराखेका होलान् रत्नपार्कमा । मलाई पनि १०–१२ जना उनीहरुजस्तै ग्राहकको खाँचो छ, बिस्तारै सम्झिँदैछु भन्नुपर्ने कुरा !

“तिमीहरुलाई नै पक्डिन आएको ! म अनुसन्धानको मान्छे ! गाडी रोक ! म तिमीहरुसँग छु, अफिसमा थाहा छ । तिमीहरुको ट्याक्सी नम्बर थाहा छ । मलाई केही गर्न खोजिस् भने भोलि नै पक्डाउ पर्छस् । हिँड अब थानातिर !”  त्यसपछि बार्गेनिङ गर्नुपर्छ ।

(स्रोत : बाह्रखरी डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *