बाल लोककथा : जे माग्यो त्यही दिने बाकस

सङ्कलक–डाँडाघरे दाजु

भाइ बैनी हो ! अहिले तिमीहरुसँग टिभी छ, कम्प्युटर छ, स्मार्ट फोन जस्ता थुप्रै कुराहरु छन् । तर हामी केटाकेटी छँदा हामीलाई टिभी, कम्प्युटर, मोबायल भनेको हुन्छ भन्नेसम्म पनि थाहा थिएन । त्यतिखेर रेडियोसम्म गाउँघरमा फाट्टफुट्ट पाईन्थ्यो । तर यी सबै कुरा नभए पनि साँझमा सुत्नु अघि हामीलाई हजुर बा, हजुर आमाहरुले कथा सुनाउने गर्नु हुन्थ्यो । आज म त्यतिबेला मैले सुनेको एक कथा यहाँ तिमीहरुको लागि राख्दै छु । ध्यान दिएर पढ है ।

एकादेशमा एउटा बुढी आइमाई रहिछन् । उनीसँग सबै कुरा भरपुर भए पनि छोरा छोरी थिएनन् । एकदिन उनले टुहुरा केटाकेटीलाई आश्रय दिएर राखेको एक अनाथालयमा पुगेर तीन जना बच्चाहरु धर्मपुत्र पाल्ने भनी मागेर ल्याइन् । तीन जना बच्चा मध्ये पहिलोको नाउ हर्के थियो । दोस्रोको नाउ बिर्खे र तेस्रो बच्चाको नाउ नेत्रे थियो । हर्के र बिर्खे हेर्दै बलिया र खाइलाग्दा थिए तर नेत्रे भने अन्धो थियो ।

बुढी आइमाइले आफ्ना तीन धर्मपुत्रमध्ये हर्के र बिर्खेलाई राम्रो राम्रो लुगा, जुत्तामोजा लगाइदिएर स्कूल पठाइन् तर अन्धो भएकोले नेत्रेलाई स्कूल पनि पठाइनन् र लुगा पनि झुत्रो झाम्रो लगाई दिएर घरमा नै राखिन् ।

एकरातको कुरा हो ती बुढी आइमाई र उनका तीनै जना धर्मपुत्र मस्त निदाएको बेलामा घरमा आगो लाग्यो । अन्धो भएकोले होला नेत्रेको भित्री इन्द्रियहरु सक्रिय भए र निंद्राबाट तुरुन्त व्युँझेर हल्ला ग-यो । उसले हल्ला गरेपछि उसँगै कोठामा सुतेका हर्के र बिर्खे पनि बिउँझिएर भागे । नेत्रे हल्ला गर्दै र छामछुम गर्दे ती बुढी आइमाई भएको कोठामा पुग्यो र उनलाई पनि बिउँझ्याई दियो । त्यति बेलासम्म बुढी आइमाइको वरिपरी आगोले घेरी सकेको थियो । बुढी आइमाई निकै कमजोर थिइन् । त्यसैले नेत्रेले भन्यो – आमा ! म हजुरलाई बोक्छु, हजुरले हेरेर मलाई बाटो बताई दिनोस् । उसले हत्तर पत्तर आमालाई बोक्यो र उसको बल र आमाको आँखाको साहारामा उनीहरु आगोबाट सकुसल बाहिर निस्किए ।

आफ्ना सबै कुरा ठीक र बलिया दुई छोरा हर्के र बिर्खे आफूलाई बचाउन नआएका र अन्धो नेत्रेले आफूलाई बचाउन गरेको मेहनतले बुढी आमा नेत्रेसँग औधी खुसी भइन् ।

यसरी नै रहँदा बस्दै जाँदा एकदिन ती बुढी आमा साह्रै बिरामी भइन् । उनले आफू अब नबाँच्ने देखेपछि नेत्रेलाई बोलाएर एउटा सानो खेलौना आकारको बाकस दिदै भनिन् – ‘हेर बाबु नेत्र ! तिमीले मेरो ठूलो सेवा ग-यौ, त्यसैले म यो सानो बाकस तिमीलाई दिँदैछु । यो बाकसले हरेक ३/३ वर्षमा तिमी जे माग्छौ त्यही दिन्छ । तर, एकपटकमा एक चिज मात्र माग्नु पर्छ । यो बाकस पाउन हर्के र बिर्खे योग्य छैनन् । त्यसैले तिमीले यसलाई जोगाएर राख, यदि यो भत्कियो भने तिमीले पाएको सबै कुरा गायब हुनेछन् ।”

यति भनेर बाकस नेत्रेलाई थमाएपछि बुढी आमा संसारबाट बिदा भइन् । अन्धो नेत्रेले त्यो बाकससँग आँखा माग्यो । अचानक नेत्रेले आँखा देख्यो । आँखा देखेपछि उसको खुसीको सीमा रहेन । ऊ स्कूल पनि पढ्न जान थाल्यो । घर नजिकैको एउटा पसलमा पनि काम गर्न थाल्यो ।

यसरी नै पहिलो तीन वर्ष बित्यो र दोस्रो ३ वर्ष सुरु हुने बेला भएपछि नेत्रेले आफ्नो दाजु हर्केलाई बाकस दे्खाएर सबै कुरा बताउँदै एक कुरा माग्न भन्यो ।
हर्केले समुन्द्रको किनारमा ठूलो घर र घरभित्र सुन–चाँदी, खानेकुरा र नोकरचाकर माग्यो । नभन्दै उसले खोजेको जस्तै भयो । ऊ पढाई–सढाई छोडेर लाग्यो – आफ्नो सुन्दर घरतिर ।

यस पछि अर्को तीन वर्षमा पालो आयो बिर्खेको । उसले डाँडाको टुप्पोमा हर्केको भन्दा ठूलो घर, उसको भन्दा धेरै सम्पत्ति माग्यो । त्यो अद्भूतको बाकसले त्यो पनि पुरा गरिदियो । अनि बिर्खे पनि लाग्यो – डाँडातिर ।

अर्को तीन वर्षपछिको पालो थियो फेरि नेत्रेको । नेत्रेले थुप्रै किताव कापी र कलमहरु माग्यो । उसको घरमा ठूलो पुस्तकालय नै बन्यो । हर्के र बिर्खे मोज गरेर बस्न थाले । उनीहरुले स्कूल जान पनि छाडिदिए । नेत्रे भने दिउसो स्कूल जाने बिहान बेलुका घरमै पुस्तकालयमा बसेर पढ्न थाल्यो । यही रितले फेरि ३ वर्ष वित्यो । हर्के नेत्रेको घरमा आयो । फेरि पनि त्यो बाकसँग माग्ने काम सुरु भयो ।

हर्केले त्यती राम्रो घर र सरसम्पत्ति भए पनि परिवार नभएकोले श्रीमती र ३ जना छोराछोरी माग्यो । उसको घरमा श्रीमती र ३ जना छोराछोरी पनि भए । बिर्खेले पनि तीन वर्षपछि हर्केको भन्दा राम्री श्रीमती अनी छोरा छोरी माग्यो । उसको घर पनि श्रीमती र छोरा छोरीले भरिए ।

नेत्रेले आप्mनो तीन वर्षपछिको पालामा भने केही नयाँ कितावहरु माग्यो । उसले पहिले पाएको किताब सबै पढिसकेको थियो । त्यसैले फेरि नयाँ किताब पाएपछि ऊ खुसी भयो । हर्के र बिर्खेले नेत्रेलाई फेरि किताव नै मागेकाले जिस्काए पनि । यो तीन वर्ष पनि हर्के र बिर्खेले रमाइलो गरेर बिताए । नेत्रेले भने खुब पढ्यो र नजिकैको स्कूलमा मास्टर भएर पढाउन पनि थाल्यो । एवं रितले ३ वर्ष वित्यो । फेरि हर्के र बिर्खे नेत्रेकहाँ जम्मा भए । हर्केले उक्त बाकस आफ्नै बनाउने बिचार ग-यो र भन्यो – ‘हे ! बाकस अब तँ मेरो मात्र हुनेछन् ।’ यो सुनेर विर्खेलाई पनि झोक चलिहाल्यो र भन्यो – ‘हे ! बाकस अब त कसैको होइन, मेरो मात्र हुनेछस् । बाकसलाई तेरो मेरो भन्दा भन्दै हर्के र बिर्खेको बीचमा बाकसको तानातान भयो । तानातानमा बाकस भत्कियो ।

बाकस भत्किएपछि हर्केको सुन्दर घर, स्वास्नी, छोराछोरी, सरसम्पत्ति सबै खत्तम भयो । त्यस्तै गरी बिर्खेको पनि । नेत्रे फेरि आँखा नदेख्ने भयो । उसको पुस्तकालय पनि सबै गायव भयो ।

आफ्ना आँखा गुमेकोमा नेत्रे दुःखी भयो । तर, उसले यो बीचमा पढेर थुप्रै ज्ञान र विद्या सिकेको थियो । किताव लोप भए पनि त्यसबाट लिएको ज्ञान लोप हुन सक्दैन थियो । नेत्रेले आँखा देखेकै बेलामा स्कूलमा गएर जे जस्तो शिक्षा लिएको थियो त्यो जस्ताको तस्तै थियो । उसले फेरि आँखा नदेखे पनि स्कूलमा पढाउने काम गरी नै रह्यो ।

उता सम्पत्ति पाए पछि पढ्न जानसमेत छाडेका हर्के र बिर्खे फेरि स्कूल जान थाले । स्कूलमा उनीहरु नै सबभन्दा बुढा विद्यार्थी थिए ।

भाइ बैंनी हो ! संसारमा सबभन्दा ठूलो कुरा जो कसैले चोर्न पनि सक्दैन, हरण गर्न पनि सक्दैन, खोस्न पनि सक्दैन, त्यो विद्या हो । सम्पत्ति भनेको क्षणिक हुनसक्छ । त्यसैले ऐस आराममा डुवेर शिक्षा–दीक्षा प्राप्त गर्ने काम छोड्यो भने पछि हर्के र बिर्खेको हालत हुनसक्छ है ।

(स्रोत : सत्यतथ्य मासिकको वर्ष २, अंक ४ जनवरी २०१४)

This entry was posted in बाल कथा, लोककथा / दन्त्यकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.