लघुकथा : काउछो

~निरा शर्मा~ nira-sharma

रातको १२.२० भएको छ ।

मोबाइलमा घण्टी बज्यो । आमाको नम्बर देखेँ ।

यति राति फोन ? त्यो आमाको फोन आउने समय थिएन । म डराएँ । मनले काटीकुटी सबै गरिसक्यो …

सँधै त आमालाई मेरो समयको असाध्यै ख्याल हुन्थयो तर आज के भयो ?

मुटु एकैछिन रोकिए झैं भयो ।

जिउ पुरै थरथर कामे जस्तो गाह्रो भयो । डराई डराई फोन उठाएँ ।

भएको के रहेछ भने त्यसदिन मेरी आमालाई खै कसले हो भनेछ – “तपाई असाध्यै ‘फरवार्ड’ हुनुहुन्छ ।”

तीन बीस काटेकी मेरी आमाले ‘फरवार्ड’ भनेको बुझिनन् मात्र होइन, डराइन् पनि र तुरुन्त मलाई फोन गरेकी रहिछन् “छोरी, यो ‘फरवार्ड’ भनेको के हो ? आज एउटाले मलाई ‘फरवार्ड’ हुनुहुन्छ भन्यो “

निद्राले लस्त भएकी मैले लामो लेग्रो तानेर बोलेँ ” आमा … ….यति राती हजुरलाई अँग्रेजी सिक्नु परेको?”

म फिस्स हाँसेँ । निद्राले आँखा आधा चिम्लेकी थिएँ ।

आमाले भनिन् – “ज्या…., मैले त अमेरिकाको घडी हेर्नै बिर्सेछु । त्यो मान्छेले त्यसो भनेपछि हैरान भएँ नि म ।”

म फेरि हाँसे ।

म बुझ्थेँ – आमालाई यो अंग्रेजी काउछोले बिझाएको कुरो ।

“म भोलि बिहान भन्छु है आमा? अहिले त म अर्ध निद्रामै छु ।” भनेर मैले फोन राख्ने विचार गरें र भनेँ ” म भोलि बिहान फोन गर्छु- टेक केयर !”

फोन राखी सकेपछि पो झसङ्ग भएँ – मैले त आमालाई यो ‘टेक केयर’ शब्दकै अर्थ पनि बुझाउन बाँकी भो अब ।

लौ जा ! आमालाई फेरि काउछो । एकपछि अर्को ।

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.