व्यङ्ग्य पत्र : नेपाल राष्ट्र ब्यांकमा वंशावली बुझाउने निवेदनको ढाँचा

~गजेन्द्र बुढाथोकी~Gajendra Budhathoki

श्री श्री श्री गभर्नर महाराज
नेपाल राष्ट्र ब्यांक
बालुवाटार दरबार ।

विषयः वंशावली पेश गरेको बारे ।

उपरोक्त सम्बन्धमा फिरंगीहरूद्वारा तयार पारिएका कानुनहरू अक्षरस लागू गर्ने सिलसिलामा महाराजद्वारा ब्यांकममा पिता र परपिताका नाम र नागरिकता नम्बर अनिवार्य पेश गर्ने नियम चैत १ गतेदेखि लागू गरिबक्सन हुकुम फर्मान जारी भएकोमा कुन दिन यहाँका मन विचारमा के परिवर्तन हुने हो र वंशावली माग गरिबक्सेला भनि अग्रीम रूपमा मेरो वंशावली पेश गरेको छु ।

मेरा परपिताका पनि परपिताहरू कर्णाली सिंजा प्रदेशबाट देशका विभिन्न भागमा फैलिएका र सोही क्रममा कर्णाली प्रदेशमा रहेकाहरूले हालसम्म बूढा क्षेत्री लेख्ने गरेकामा अन्यत्र भने बुढाथोकी लेख्ने गरेको महाराजमा जाहेर गर्दछु ।

मेरा पर पिताहरू खोटाङ जिल्लाको अर्खौलेमा बसोबास गर्दै आएकामा रणध्वजका परिवार त्यहाँबाट बसाइ सरी खोटाङ, दोर्पामा थातथलो बनाएका वंशावलीमा देखिन आयो महाराज । रणध्वजका पाँच भाइ छोरामध्ये काइला भैरवबहादुरका चार भाइ छोरामध्ये कुल्दीपबहादुर बुढाथोकी मेरा परपिता भएको र उहाँका ६ भाइ छोरामध्ये काइला भक्तबहादुरको म एकमात्र छोरा भएको यो वंशावली नेपाल राष्ट्र ब्यांकको प्रयोजनका लागि महाराजको पाउमा बिन्ति बिसाएको छु । मेरा परपिताको २०२९ सालमै देहावसन भइसकेको र पिताजीसँग विगत ५ वर्षदेखि भेटघाट नभएका कारण उहाँको समेत नागरिकता नम्बर महाराजका पाउमा बिसाउन पाइन । यसमा महराजद्वारा क्षमादान बक्सनु हवस भनी महाराजमा यो बिन्तिपत्र प्रस्तुत गरेको छु ।

महराजको जो आज्ञा
महाराजको हुकुमले अन्योलमा परेको एक नेपाली

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in पत्र साहित्य, हास्य - व्यङ्ग्य and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.