अनूदित कथा : अभिशप्त

~यशपाल~Yashpal

अमीनद्धल्ला पार्कमा प्रायः प्रदर्शनी मेला वा जलपान केही न केही भइरहन्छ। घच्चम–घच्चा, ठेलमठेलबाट जोगिएर तमासाको आनन्द लिने हो भने छेउको पसलहरूको बरण्डा नै उपयुक्त हुन्छ। यही विचारले यो जाडोमा साँझको खाना खाईवरी मुखमा पान वा खल्तीमा शुक्लाजीका बच्चाहरूलाई चकलेट लिएर, ली घुमाउँदै म प्रायः शुक्लाजीको पसलमा जाने गर्छु।

शुक्लाजी जसरी मिलनसार र हँसिला छन्, उनकी श्रीमती पनि उस्तै मिलनसार छिन्। दिनभरिको कारोबारको व्यस्ततापछि साँझपख यसो एक–दुई घण्टा सभ्य र सुसंस्कत व्यक्तिहरूसँग बसेर कुराकानी गर्दा एक भिन्दै प्रकारको सन्तोष हुन्छ।

शुक्लाजीका दुई बच्चा लल्लू र सविताले मेरो पाइलाको चालले नै म आएको थाहा पाए। उनीहरूले आँगनमै घेरे। खल्ती खाली गर्दै मैले बोलाएँ – “शुक्लाजी !” आँगनको अगाडिपट्टिको कोठाबाट निस्कंदै बरण्डाबाट श्रीमती शुक्लाले उत्तर दिइन् – “आउनोस् न ! कसरी अपरिचितले जस्तो बोलाउनुभएको? ”

बिजुलीको हजारौं बत्तीहरूको प्रकाशमा तल पार्कमा प्रदर्शनीको मेला भइरहेथ्यो। भीड एकदमै थियो। प्रसङ्ग छेड्ने अभिप्रायले मैले मुस्कुराउँदै भने– “यस्तो भीड के आज फेरि जालौन र पकतेहपरमा आतिशबाजीको लडाइँ छ?”

कुरा राख्नका लागि मुस्कुराउँदै श्रीमती शुक्लाले भनिन् – “केही त्यस्तै होला, मान्छेहरूको खल्तीको पैसा तान्न केही न केही बहाना त चाहिन्छ नै।”

आफ्नो बानीको विपरीत उँचो स्वरमा हाँस्दै शुक्लाजीले केही भनेनन्। उनी बेतको आरामकुर्सीमा खुट्टा फैलाएर बसेका थिए, बसिरहे। दायाँ हातका आंैलाहरूलाई कुर्सीमा राख्दै, पिठ्युलाई कुर्सीमा लेट्दै उनी भीडतर्फ हेरिरहेथे। दृष्टि अर्कैतर्फ भए पनि म कुर्सीमा बस्नेको प्रतीक्षामा थिएँ।

“कस्तो जमाना आयो ……..” चप्पलमा राखिएको आफ्नो खुट्टा हल्लाउँदै उनले भने। शुक्लाजीको भूमिकामा सहयोग दिनका लागि श्रीमतीजीको मुहारमा मेरो स्वागतका लागी आएको मुस्कुराहट हराउन पुग्यो – “उफ् ! के–के हुने हो यो दुनियाँमा ……..” एक गहिरो श्वास लिदंै उनले मुण्टो घुमाइन्।

यस प्रस्तावले पर्याप्त गम्भीरता र उत्सुुकताको वातावरण तयार भएपछि शुक्लाजीले विस्तारै–विस्तारै सुरु गरे–“भाइ? यो जमानामा जे भएको छैन त्यही थोरै छ। अँ………. यो लाटोको कोठा छ, जहाँ टोल प्रहरी बस्छ त्यसैको साथ सुतेको एउटा सानो कोठा छ, त्यहाँ पछिल्लो रात हत्या भयो। हत्या कसले गर्‍यो? …… पाँच वर्षको बच्चाले।” उनी कुर्सीमा पल्टिनुको साटो उठेर बसे। अत्यन्त विस्मयजनक समाचार सुनाउने प्रयत्नले उनको आँखा स्वयम् विस्मयले फैलियो, “….के विश्वास गर्नसक्नुहुन्छ?”

“पाँच वर्षको बच्चाले हत्या नै के पो गरे होला र? …….” मैले विस्मयमा सहयोग दिएँ – “कुनै दुर्घटना विचराबाट हुन पुग्यो होला। केटा छतमा खेलिरहेथ्यो होला वा पटका–सटाका, धकेल्दियोहोला?”

समर्थनको आशाले मैले श्रीमती शुक्लातर्फं हेरें। उनको अनुहारमा विषादको छायाँ गहिरो थियो। कुर्सीको छेउमा राखिएको हातमा गाला टेकाउँदै उनले लामो सास फेरिन्।

उत्तेजनाले शुक्लाजीले केही अलि झुक्दै भने – “के भन्नुहुन्छ?” दुवै हातको पञ्जाले सङ्केत गर्दै उनले भने – “हत्या ! घाँटी रेटेर हत्या ! पाँच वर्षको बच्चाले।”

आश्चर्यले भरिएको आँखाले मैले सोधें – “कसरी?”

पर्खालको उता सबैभन्दा पछाडि कोठी छ, जहाँ एउटा भरिया बस्छ, ज्वाला। जात हो अहीर। उसको एउटा पाँच वर्षको छोरा र तीन वर्षकीे छोरी थिई। भारी बोक्नेले के पो कमाउँछ र? कहिले चार–छ रुपैयाँ कहिले दुई आनामात्रै। अमीनावाद, फतेगञ्जबाट भारी बोकेर आधा माइल वा पूरै माइल लगेमा कति पो दिनुहोला र बढीमा छ पैसा त दिनुहोला ! उसकी बुढी फतेगञ्जमा भाँडा माँझ्न जाँदा दुई तीन आना र केही अन्न लिएर आउँथी। जसरी तसरी दुइटा बच्चा पालेका थिए। समय कस्तो भइसक्यो, थाहै त छ। एक रुपियाँमा बाह्र–चौध सेर अन्न पाइन्थ्यो अब त ढाई–तीन सेर पाइन्छ, त्यो पनि अन्न होइन, कुअन्न। जसरी होस् रुखोेसुखो बच्चाको पेट भरिरहेथे। गएको शनिबार अहिर्नीको एउटा अर्को बच्चा जन्मियो।”

“अहिर भारी बोकेर जे लिएर आउँथ्यो त्यसैबाट गुजारा चलिरहेथ्यो। गुजारा भन्नु, जसोतसो एक पेट भर्थे। ठूला बच्चालाई त जे छ खुवायो, जसो–तसो रात कटिहाल्थ्यो तर काखको बच्चाको पेट कसरी भर्ने? आमाको दूध तब पो आउँछ जब उसको पेटमा केही जान्छ। आमा आफै दिनदिनै झन् सुक्दै गइरहिथी। कतै पानी खाएर दूध आउँछ? गाईलाई त घाँस–भूस केही चाहिन्छ।”

गाई माता र नारी माताको यो तुलनात्मक चर्चाले मेरा आँखा श्रीमतीजीतर्फ गए। उनी कुर्सीमा पल्टिरहेकी थिइन्। यो फोहोरी कुराले मुण्टो बटारिन्। उनलाई उपेक्षा गर्दै शुक्लाजीले भन्दै गए –
“आज के भयो? बाउचाहिं झिसमिसेमा भारी बोक्न तरकारीबजारतिर गइहाल्यो। थोरैजसो पिठो थियो। आमाले त्यसलाई पानीमा घोलिदिइन्। दुई–दुई बटुका केटाकेटीलाई खुवाइदिइन्। बच्चा अझै मागीरहेथे। उनीहरूलाई हप्काएर आमाले थोरै झोल बचाइराखिन्। छातीमा दूध थिएन। कपडाको सुतरीमा भिजाएर उनले नयाँ बच्चालाई खुवाउन थालिन्।”

“आमाको स्वास्थ्य ठीक थिएन। उठेर टोल प्रहरीसम्म गइन्। फर्केर आउँदा बिचराको सातो गयो। केटाले नयाँ बच्चाको घाँटी थिचेर बसिरहेथ्यो। बच्चाको प्राण गइसकेथ्यो। आमा छाती फुटाएर चिच्याउन लागी।”

मान्छे जम्मा भए। बच्चालाई लवाई–फकाई, गाली दिंदै सोधे। केटीले भनी– “दाइले भाइलाई मारिदियो।”

केटालाई फकाइयो, मिठाइको लोभ देखाइयो। केे भन्यो, सुन्नोस् न के भन्यो– ‘आमाले झोल हामीलाई दिइनन्। भाइलाई खुवाइन्। खुब भोक लागेथ्यो।’ सुन्नुभो तपार्इंले? कस्तो समय आयो? ”

वितृष्णाको स्वरमा श्रीमती शुक्लाले भनिन् –“हेर्नोस् न, यिनीहरूको बच्चाहरू यति सानैमा कति पाका बन्छन्। पाँच वर्षको बच्चाले पनि बुझ्छ कि उसको भाग खोस्ने दुश्मन हो। यो हाम्री सविता यो साउनमा पाँच वर्ष पूरा भएर छ मा लागी। खान दियो, थालमा कुकुरले मुख हाले उल्टो उसैलाई माया गर्नथाल्छे। ”

शुक्लाजीले श्रीमती शुक्लाबाट आफुतर्फ मेरो ध्यान तान्न ठूलो स्वरमा बोले– “अब भनोस् , यो देशमा यत्रो पाप हुन्छ त यहाँ अकाल, महामारी, भूकम्प जुन गएको छैन भगवानकै दया हो। यस्तै कर्मले देश झन्झन् खत्तम भइरहेछ…………..उफ् दूध पिउने बच्चाप्रति पनि मनमा द्वेष र हिंसा – यसैको सजाय त हामी भोगिरहेछौं।

आफ्नो कुर्सीमा अझ अघि बढ्दै उनले सोधे– “सोच्नोस् त यस्तो बच्चा पछि गएर के बन्ला?” “भोक…..” मैले भन्न चाहन्थे। मेरो कुरा बिचैमा काटेर शुक्लाजीले ठूलो स्वरमा भने–“अरे भोक नभए यस्तो कामको फल अरु के हुन्छ र? यस्तो पाप त सर्वनास भए पनि काटिदैन।”

मनको हालत बहस गर्नेजस्तो रहेन। पापको कारण र फलको बारेमा मैले सोचें –“जन्मैदेखि पाप गर्न बाध्य त्यो अभिशप्त के कहिल्यै पाप मुक्त हुनसक्ला ………..”

(यशपाल हिन्दी साहित्यमा एक सशक्त हस्ताक्षर हो। सन् १९०३ मा पन्जाबको फिरोजपुर छाउनीमा जन्मिएका यशपाल क्रान्तिकारी छवि भएका साहित्यकार हुन्। भगतसिंह, सुखदेव, आजादसँग मिलेर क्रान्तिकारी गतिविधिमा संलग्न उनी आजादको हत्यापछि सन् १९३१ मा ‘हिन्दुस्तान समाजवादी ‘प्रजातन्त्र’ सेना’को सेनापति भएका थिए। सन् १९३२ मा प्रहरीसँगको एक भिडन्तमा पक्राउ परी जेल परेका उनी सन् १९३८मा जेलमुक्त भएका थिए। उनको न्यायका सङ्घर्ष, गान्धीवाद की शव परिक्षा, मार्क्सवाद, बात बात में बात, लगायतका पुस्तक प्रकाशन भएका छन्। उनको निधन सन् १९७६ मा भएको थियो।)

(स्रोत : मजदुर दैनिक)

This entry was posted in अनूदित कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *