कविता : नयाँ नेपालका लागि

~किराँती भोगेन एक्ले~Bhogen Ekle

पुरानो नेपालमा
रुनुपर्नेहरू खित्का छाडिरहेका छन्
हाँस्नुपर्नेहरू सुक्सुकाइरहेका छन्
सुन्नुपर्नेहरू बेफ्वाक बक्बकाइरहेका छन्
बोल्नुपर्नेहरू चुपचाप सुनिरहेका छन्

पुरानो नेपालमा
हलो र कोदालोले अड्काएका बाहेक
सिन्दुरे र दर्पनेको दाम्लाले बाँधेका बाहेक
कतै बहानामा त कतै तीव्र चाहनामा
मसी पोत्नेेदेखि लिएर थुतुनो जोत्नेसम्म
ताते गरेको आँगन बनाएर पर्देश
गाउँ सहरतिर भासिएको छ
हाल ठेगाना साटिएको छ
उदाहरण कत्तिको मात्र लिउँ †
मध्येका एकाथरी
किताबका पानाहरू पल्टाउँदा
कलमका हरेक हस्ताक्षरहरू
विगत गाउँ देखिन्छ
हाल सहर भेटिन्छ
भूमण्डलीकरणको नाराभित्र
साम्राज्यवादको अमिलो गन्ध सुँघ्नेहरू
पहिचानका लागि आफ्नो भन्ने एउटा छानु, र
नामको अगाडि गाउँ लेख्न खोज्नेहरूकै विरुद्घमा
पछाडिबाट चोरऔंला ठड्याउँदै छन्
आधुनिकतामा मधुरो देखेर अनुहार
उत्तरआधुनिक दर्पण हेर्नेहरू
केन्द्र भङ्गको पक्षमा उभाएर विचार
खुद केन्द्रभित्र आफूलाई खौज्दै छन्

पुरानो नेपालमा
त्यहीमध्येका एक अर्काथरी
मेरै र मै जस्तोको भोट ओढेर
काठमाडौं टेकेका वामप्रसादहरू
बाहुलीबाट शिलान्यास सकेर बेपत्ता
माननीय मन्त्रीज्यू उहीँ गुप्तबहादुरहरू
चप्पलबाट बुटमा साटिएका छन्
झुस्स दाह्री गन्हाउने नियाउरा अनुहारहरू
सपाट चम्किला अनुहारहरूमा ठाँटिएका छन्

पुरानो नेपालमा
सयौं छन् यस्ता विसङ्गतिहरू
उज्यालाभित्रका अँध्याराहरू
उमारिएकाछन् फुटहरू साउने मूल उम्रिएजस्तो
टोलटोलमा, घरघरमा
माथ्लो घरेको करेसोबाट
तल्लो घरेको सिकुवाबाट
अझ मूलघरेको त घरभित्रैबाट
ओल्लोघरे, पल्लोघरे कुनैघरे अछुतो छैन
सुक्नुपर्छ यो सब अब
लाग्नुपर्छ हिउँद सबै घरेको ताख्लोहरूमा
ओभाउनुपर्छ छातीका चिसा करेसाहरू
घने भेट्दा धनेलाई पर्ने कुसाइत
छोइन्ने कुवाको पानी
बिटुलिने मन्दिरको धोती
छुट्टै राखिने सिल्बरे थालहरू
जबर्जस्ती उमारेर हिजो
आफ्नो हैकमको उर्दी रुजु गराउन
तीनतले घरका टुप्पीवालहरूले
टम्म भरेर राखेको कुसंस्कार
मात्र अक्षरहरूबाट होइन
खोसेर व्यवहारबाटै
घोप्ट्याउनुपर्छ अब गाम्राङगुम्रुङ
बेत्ताले भीरबाट
र सेलाउनुपर्छ दूधकोसीमा

पुरानो नेपालमा
बिगबिगी छ आज भारत महान्को
डिजलमा मट्टीतेल मिसाउनेदेखि
सेतो बनाउन कालो भारु घुसाउनेको
उँधोको माग पूर्ती गर्न उँभोको दिलमाया ओसार्नेको
चकचकी बढेको छ सँधीयारको निक्कै
उखेलिएर जङ्गेपिलर रातारात उत्तरतिर सर्दो छ
उठ्दो छ बाँधको नाममा विनासको कालो पर्खाल
वर्षौपिछे रामविलासको छाप्रो डुब्दो छ
च्यापेर बेस्सरी खुम्च्याइदिएर पहाडहरूमा
सिक्किमलाई झैं विकसित बनाउन खोज्दो छ
धेरै काली निलेर सिङ्गै निल्ने कसरी सोच्दो छ

धर्तीको अर्को कुनाको अर्को औतार
पासाको सतरञ्ज फिँजाएर यहाँबाट
खेल्न खोज्छ जुवा माओका भतिजाहरूसँग
गान्धीको ढाड सेक्ने लौरो लुकाएर यहाँ
ग्लोबल भिलेजको नमुना बनाउन उद्यत छ

त्यसैले अब यो पुरानो नेपालमा
नयाँ नेपालको विज र्छर्ने हो भने
माखेसाङ्लोबाट फुत्कनेे हो भने
‘यी सब खोटो मोहोर चल्नु हुँदैन
साँढेहरूले जौ बारी चर्नु हुँदैन
अघाउँदा टन्न अल्सेहरू
परिश्रमी भोकले मर्नु हुँँदैन
जोतेर हलोहरूमा तातो पसिना
चिसो ढुकुटी भर्नु हुँदैन
एक दुईको हाँसोको खातिर
हजारको खुसी हर्नु हुँदैन’

पुरानो नेपालमा
बरण्डाले मात्र होइन अब
छिँडीले घाम ताप्नु पाउनुपर्छ
मुखहरूले मात्र होइन अब
हातहरूले भात खान पाउनुपर्छ
अर्काका लागि खिइएका नङहरूले
आफ्ना लागि पाखुरी बजाउन पाउनुपर्छ
बिर्ता होेेेइन कसैको यो देश
धनीपुर्जाको औंठाछाप मेटिनुपर्छ
सयौं थरी फूलका बारीमा अब
मालीको नाम खुल्नुपर्छ
टाढा छैन नयाँ नेपाल दसै कदम अगाडि हो
तर, भेटाउन पाइला चाल्नैपर्छ
सहरको सडक नाप्ने पाइतालाहरू
गाउँको गोरेटोतिर मोडिनुपर्छ
छेकिएका छन् पुग्ने बाटाहरू
झाडी निश्चय फाँडिनुपर्छ
टालेर हुन्न भित्ता अब
नयाँ लिउन हान्नै पर्छ
लेख्नलाई नयाँ नेपाल
पुरानो नाउँ मेट्नैपर्छ ।

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.