पुस्तक समीक्षा : ज्ञानुवाकरको दोस्रो स्तम्भ

~जैनेन्द्र जीवन~book-cover-gyanuwalker-paudel-jindagi-chaina-achel-jindagi-jasto-gajal

मोतीराम भट्टको युगमा मौलाएको नेपाली गजल ६०–७० वर्षसम्म हराए जसरी सुस्तायो। भीमनिधि तिवारीहरूको समयमा पुनः ब्युँतिएको साहित्यको यो विधामा बहार आउन २०३० को दशकको आधाआधी पर्खनु पर्‍यो। नेपाली गजलमा तेस्रो पटक पुनर्जागरण ल्याउने सर्वाधिक श्रेय ज्ञानुवाकर पौडेललाई जान्छ, जसले २० वर्षको अन्तरालमा दोस्रो कृति सार्वजनिक गरेका छन्― जिन्दगी छैन अचेल जिन्दगीजस्तो। यसअघिको संग्रह खण्डहर नयाँ–नयाँ नेपाली गजलको आधुनिक कोसेढुंगा मानिन्छ।

रेडियो नेपालको प्रशासनिक फाँटबाट सेवा निवृत्त पौडेलले दोस्रो कृतिमा पूर्व प्रकाशित र केही नयाँ रचना समावेश गरेका छन्। ६४ थान गजल संग्रहित सँगालोले देश, समाज र व्यक्तिहरूको समकालीन उकुसमुकुसलाई स्वाभाविक अभिव्यक्ति दिएको छः

निरोले झै बाँसुरी बजाइराख
हो, देशलाई यसरी नै जलाइराख
क्रान्तिको नाममा फैलाएर भ्रान्ति
जतिसक्छौ जनतालाई कजाइराख
को आफ्नो यहाँ अब को पराइ
जो शक्तिमा छ उसैलाई रिझ्ाइराख।

जागिर, साहित्यिक पत्रकारिता जे भने पनि मूलतः गजल साधनामा समर्पित ज्ञानुवाकरले प्रारम्भिक वर्षमा श्रृंगार रसमा बढी लेखे। उमेरको उकालीसँगै जटिल राजनीतिक–सामाजिक परिस्थितिको सामना गरेका गजलकारका सिर्जना समयसँगै बदलिंदै जानु स्वाभाविक थियो, जुन उनका सिर्जनाले देखाउँदै गए। उनका गजलमा विसंगत राजनीतिक–सामाजिक परिघटनाप्रतिको आक्रोश गुञ्जिन्छः

जुँगाको लडाईंले हेर अनाहकमा
रगतपच्छे देशको संविधान भो
को छ फेरि खै मुलुक हाँक्ने
निरर्थक हिजो मेरो मतदान भो

ज्ञानुवाकरका सिर्जनामा उमेर र अनुभवजन्य परिष्कार आएको उनको गजल यात्राले देखाउँछ। यसो भन्दैमा उनमा बैराग्य पलाएको छ भन्ने चाहिं हैन, सँगालोमा अनुरागपूर्ण गजलहरू पनि छन्। गजलका सामान्य भन्दा सामान्य अनुरागीका लागि समेत पठनीय उनको पछिल्लो संग्रहलाई गजलकारका आफ्नै आलेख तथा नेपाली गजलका अन्य जानकारहरूको टिप्पणीले विशेष संग्रहणीय बनाएको छ।

जिन्दगी छैन अचेल जिन्दगीजस्तो
लेखकः ज्ञानुवाकर पौडेल
प्रकाशकः साहित्य परिवार
नेपाल मेडिकल कलेज, जोरपाटी, काठमाडौं
मूल्यः रु.१००,
पृष्ठः ६४+

(स्रोत : हिमाल खबर)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.