समीक्षा : जापानी हाइकुकवि मासाओका शिकि र उनका कविता

~माधवलाल कर्माचार्य~madhablal-karmacharya

जापानको हाइकु कविताका महारथी मानिएका चार कविहरूमा माचुओ वाशो, मोसा कुसोन, कोवायासी र इस्सापछिका मासाओका शिकि सबभन्दा पछिल्ला र आधुनिक हाइकु कविहरूमा पहिला मानिन्छन् । उनले वस्तुनिष्ठ कुराहरूमा वस्तुनिष्ठ सत्यकै खोजी गरे जब उनका पूववर्ती कविहरूले वस्तुनिष्ठ कुराहरूमा अवस्तुनिष्ठ सत्यको खोजी गरेका थिए ।

वस्तुतः उनी जन्मी बढी हुर्केको युगै यस्तो थियो, जब देश आधुनिकतातिर उन्मुख भई धारणा-अवधारणामा वस्तुनिष्ठताको आग्रहशील रहेको थियो । यो इस्वी सन् उन्नाइसौं शताब्दीको उत्तरार्द्धतिरको कुरा हो जब देश भित्रभित्र राजनीतिक अस्थिरताले आक्रान्त थियो भने बाहिरबाट बाहिरी सभ्यता, संस्कृति र विचारशैलीले अतिक्रमित हुन थालेको थियो । फलतः उद्योगधन्दा, शिक्षा, सञ्चार, रीति, संस्कार आदि यावत् क्षेत्र प्रभावित भई देश परिवर्तनकारी प्रवृत्तिको सङ्घारमा पुगेको थियो । यस्तो बेला उच्च शिक्षा हासिल गर्न पुगेका विद्यार्थी अनि सञ्चार क्षेत्रमा कार्यरत हुन गएका साहित्यकर्मी पूर्ववर्ती अग्रजहरूझैँ वस्तुनिष्ठ कुराहरूको वास्तविकताप्रति उदासीन भएर रहनु त्यति साह्रो स्वाभाविक पनि थिएन ।

हुन त उनी पनि कुनै सम्पन्न तथा सुखी परिवारका थिएनन् । उनले पाँच वर्षको सानो उमेरमै बाबुलाई गुमाएका थिए । जीवनको पहिलो आधाजसो भाग यसैले उनले आमाको श्रम र सीपले दुःखजिलो गरी बिताए । सन् १८६७ मा जापानको दक्षिणी भेगमा जन्मेका उनले सुरुमा स्थानीय पाठशालामा पढेपछि टोकियोमा गई टोकियो शाही विश्वविद्यालयसम्म पढ्न भ्याए पनि सन् १८९२ मा कुनै उपाधि हासिल नगरी पढाइ छोडेर एउटा पत्रिकामा जागिर खान गए । त्यो पत्रिकाका मानिस उनका काकाका मित्र थिए, जसको अभिभावकत्व उनलाई आजीवन प्राप्त भए पनि सन् १८९० देखि लागेको रोगले सताइएर सन् १९१२ सम्मको बाँकी जीवन दुःख र कष्टमै बिताए । यी सबै दुःख-कष्ट बिर्सनैका लागि कविता साधनामा लागेको भनी बताइए पनि उनी पूर्ववर्ती कविहरूझैँ कुनै अवस्तुनिष्ठ दर्शन, ज्ञान, ध्यान वा साधनामा आकृष्ट भएनन् र वस्तुनिष्ठ कुराहरूमा उनले वस्तुनिष्ठ कुराहरू नै देखे र त्योभन्दा पर अरू केही देखेनन् । त्यहीँअनुसार त्यसलाई परम्परागत चित्रशैलीमा प्रस्तुत गरे । त्यसलाई पारखीहरूले वस्तुनिष्ठ वर्णन भने जब कि कोबायाशी इस्साको कवितालाई ‘जीवनप्रतिको भाव’ भने, भने यो बुसोनको कवितालाई ‘दिलबहतानको साधन’ भने अनि माचुओ वाशोकोलाई ‘जीवन दर्शनको अभिव्यक्तिको वाहन’ भने ।

उनले रचना गरेका कविताहरू केही नमुनास्वरूप अनूदितरूपमा यहाँ प्रस्तुत गरिएका छन् । उनको समयमा जापानका कतिपय ठाउँमा राति घर बाहिर कुनै बोटमा तेलको बत्ती झुण्ड्याएर राख्ने चलन थियो । त्यस्तै एउटा बत्तीको चित्र उतार्दै उनले लेखेका छन् ः

तेलको बत्ती
मस्त पाटको माथि
झुल्छ हावामा ।

त्यसरी नै कतिपय घरको बाहिर भरेङको सिरानीमा कागजको पङ्खा लगाइएका र तलतिर पानीमा सानो डुङ्गा बाँधी राखिएको हुन्थ्यो । पङ्खा हावामा घुमिरहेको हुन्थ्यो भने डुङ्गा तल पानीमा हल्लिरहेको हुन्थ्यो । त्यसको चित्र उतारी उनले लेखेका छन् ः

कागजी पङ्खा
तलको डुङ्गालाई
गर्छ ईशारा ।

वर्षाको झरी झर्दा एक पटक उनले पानीका थोपाहरू एकनासले एउटै माछाको टाउकोमा बर्सिरहेको देखेछन् । त्यसको चित्रण गर्दै उनले लेखेका छन् ः

बर्खाको झरी
ठोक्छ मुन्टो माछाको
ताल चियाई ।

आँधी बेहोरी चल्दा त्यो आँधी बेहोरीको बेगले पनि उनको मनमा एक तमासको भावना उब्जाईदिएको रहेछ, त्यसलाई टिप्दै उनले लेखेका छन् ः

आधी बेहरी
कुद्छ छिटो ताकेर
बाँसको घारी ।

राति जूनको उज्यालोमा एक बथान सेता हाँसहरू रेलको लिक माथिमाथिबाट उडिरहेको उनले देखेछन् । त्यसबेला फुरेको भावलाई उनले यस प्रकार व्यक्त गरेका छन् ः

जुनिलो रात
हाँस उडे लहरै
रेल मार्गमा ।

अर्को एउटा यस प्रकार छ, जुन उनले जुनिलो रातमै आवाज निकाल्दै एकपछि अर्को गर्दै पातहरूको झर्दै गरेको देख्दा भावमा फुरेको रहेछ ः

चन्द्र उदायो
पार्तसित खर्खरी
पात झरी गो ।

त्यसरी नै साँझको बेला हावामा हल्लिरहेका गुलाफको पनि बयान गरेर उनले लेखेका छन् ः

सन्ध्याको बेला
बस्छन् झुल्दै हावामा
सेता गुलाफ ।

सन् १८४५ तिर जापानको चीनसँग लडाइँ हुँदा युद्ध संवाददाता भएर चीन जाँदा देखेका कुराहरूलाई पनि उनले कवितामा उतारेका छन् । लडाइँ सकिएपछि खुला भएको वातावरणमा लडाइँको मैदानमा वेवारिसे भएर पडिरहेको एउटा भत्केको घरको चित्र उतार्दै उनले लेखेका छन् ः

भत्केको घर
फुलेको रुखनिर
युद्ध भूमिमा ।

हुस्सुमा छोपिएका चीनका अग्लाअग्ला पहाडहरूको पनि उनले चित्र उतारेका छन् । त्यसमा उनले चीनलाई प्रचलनअनुसार महादेश भनेका छन् ः

हुस्सु ओढेर
पर्वत् महादेशका
बाउन्ने भए ।

जापानमा पुरानो जमानाका किल्लाहरूका अवशेषहरू ठाउँठाउँमा भेटिन्छन् । त्यस्तै एउटा किल्लाको अवशेषको बयान उनले यस प्रकार गरेका छन् ः

किल्ला भत्केको
पौलोनियाको माझ
जौको खेतमा ।

पौलोनिया जापान र चीनमा छिटोछिटो बढ्ने खुर्पानी जातका अग्लाअग्ला रुख हुन् । यस्तै एउटा रोमाञ्चकारी चित्रण उनले एउटा घरको गरेका छन्, जुन ग्रामीण परिवेशमा केही छरिएका रुखहरूनिर एक्लै ठिङ्ग रहेको देखेका थिए ः

एउटा घर
छ ः सातोटा रुख छन्
वर र पर ।

यस्तै प्रकृतिगत दृश्यहरूको चित्रणमा झरीपछि आकाश खुलेको कुराको चर्चा गर्दै उनले लेखेका छन् ः

डाँफे करायो
फाटी हट्यो बादल
पर्वत् खुली गो ।

यस्तै चित्रण एउटा पोखरीको छ, जसमा किनाराको रुखबाट झरेका पातहरू सढ्दै गइरहेको देखेका थिए ः

पात झरेका
पोखरीको पानीमा
नाच्दै गै रेछन् ।

कराउँदै काफल झार्ने एउटा चराको विषय पनि यस प्रकार लेखिएको छ ः

चरा कराई
रुखबाट झार्दै छन्
काफल गेडी ।

पितृलाई फलफूल चढाउने परम्परालाई लिएर पनि लेखिएको एउटा कविता छ । त्यो परम्परामा गाउँघरमा आफ्ना मरेको मान्छेको सम्झनामा बुद्धको मूर्ति भएको सानो देवस्थलमा चढाउने परम्परा हो । यसमा कसैले कसलाई त्यसरी चढाइदिन फलफूल दिएको प्रसङ्ग छ ः

मलाई दिए
दशोटा नासपाती
पितृका लागि ।

एक्लै उभिएको एउटा रुखलाई लिएर लेखिएको एउटा कविता यस्तो छ ः

पैयूँको रुख
फुलेको ढकमक्क
ठिङ्ग एक्लै ।

त्यसरी नै एउटा बडेमाको चङ्गा उडिरहेको देख्ता लेखिएको एउटा कविता यस प्रकार छ ः

कत्रो चङ्गा त्यो !
चील पनि पर्दैन
त्यसको सामु ।

स्पष्ट छ-यी प्रत्येकमा एक न एक चित्र, कथा वा प्रस्तुति छ, जसमा निजी जीवनका भावाभिव्यक्ति छैन, छ त आन्तरिकभावको आभास मात्र वस्तुनिष्ठ जीवनको सार तत्त्व हुन सक्छ । उपयुक्त वाक्य विन्यास, अर्थ संयोजन र विम्ब विधानले मूलमा यी बढी तीब्र भएका हुन् । अन्त्यमा एक छिन गौर गर्ने वा सोच्ने प्रवृत्ति जमाउने गुण पनि यसमा छ साथै चित्र, कथा वा प्रस्तुतिको वस्तुको रूपमा यिनमा वस्तुनिष्ठ कुराहरू वस्तुनिष्ठकै रूपमा रहेका छन् । जसको प्रदर्शनले दैनिक जीवनमा देखिने भइरहेको भए पनि याद हुने नभई रहेका तिनका पक्षलाई उदाङ्ग पारिदिएका छन् । यो कुरा स्पष्टतः निज कविको निजी मौलिक विशेषता हो । जसको प्रयोग र प्रवर्तन पूर्ववर्ती कविहरूबाट भएको थिएन र परवर्ती कविहरूमा उनीबाट भई अभियान चलाइएपछि हुन थालिएका हुन् । यसैले स्पष्ट छ-समीक्षकहरूको दृष्टिमा उनी चार हाइकु महारथीमा सबभन्दा पछिल्ला र आधुनिक कविहरूमा सबभन्दा पहिला सावित भए ।

– बखुण्डोल, ललितपुर

(स्रोत : मधुपर्क २०६८ असार)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.