कथा : ओलम्पिक ज्योति र सपनाहरु

~विजय हितान~

‘ला… ला… वैकुण्ठ अगाडि-अगाडि आउँदै छ । मैले रङ्गशालामा नेपाली झण्डा कसैले फरफराएको देखेँ, नेपाली पनि पुगेछन् त्यहाँ ओलम्पिक हेर्न । थुइय… यति बेलै लोडसेडिङ हुनुपर्ने.. साला…!’ टिनले छाएको घरमा बिजुली झ्याप्प जान्छ । टेलिभिजनमा ओलम्पिक हेर्दै गरेको सुरेश भन्किदै कोठाबाहिर निस्कन्छ । निस्पट अँध्यारोले लपेटिएको छ दाङ बजार । ’पाजी नेताहरु…! एक-आपसमै सत्ताको कुर्सी तानातान गर्न ठीक्कै…। राजगद्दी फ्यालेको यतिका वर्षपछि पनि ! नदीनालाका पानी त्यत्तिकै खेर गइरहेछन्,

गोठमा भैँसीको मुत बगेझैँ । भन्छन्, अझै जलसम्पदामा ब्राजिलपछि विश्वमा दोस्रो धनी राष्ट्र नेपाल पर्छ भनेर । जाबो बिजुली उत्पादन गरेर जनताका घर-आँगन उज्यालो पार्न सकेका छैनन्… बजियाहरु…’ गनगनाउँदै सुरेशकी श्रीमती भान्साकोठामा टुकी बालेर धिपधिप उज्यालो पार्दै खाना पकाउँछिन् ।

सन् २०१२ मा लन्डनमा सम्पन्न ३०औँ ओलम्पिक खेल । वैकुण्ठ र उसेन बोल्ट सेमिफाइनलको हिटमा १०० मिटर दौडेका थिए । जमैकाका उसेन बोल्ट फाइनलमा छिर्न सफल भए भने नेपालका वैकुण्ठलाई असफलता मिल्दा ज्यादै निराश बनेका थिए । ओलम्पिक गाउँमा दुई हप्ता एउटै घरमा बसेकाले वैकुण्ठले उसेन बोल्टलाई राम्रै चिनेका थिए । उसेनले नेपाललाई बुद्धको देश भनेर जानेको, आफू बुद्धिस्ट धर्मावलम्बी नभए पनि दौड प्रतियोगिता हुनुअगाडि मन र शरीरलाई रिल्याक्स गराउन योगा-ध्यान गर्ने गरेको र कुनै दिन दौडबाट अवकाश लिएपछि हिमाली भेगमा पदयात्रा जाने विचार राखेको थियो । वैकुण्ठ पनि रेगे गीतको फ्यान भएको र दौड अभ्यासको क्रममा रिल्याक्स गर्न बब मार्लीको गाना सुन्ने गरेको कुरा उनीहरुबीच आदान-प्रदान भएको थियो ।

दुईको मित्रता त्यो छोटो समयमा यति बढेर गयो कि उसेनले ९.६३ सेकेन्डमा नयाँ ओलम्पिक रेकर्ड कायम गर्दै स्वर्ण पदक जित्न सक्नुको पछाडि रहस्य के त ? वैकुण्ठलाई बताएको थियो ।’तिम्रो श्रीमती या गर्लफ्रेन्ड छे नेपालमा ? मेरो पनि विवाह भएको दुई साल भयो । बेइजिङ ओलम्पिकको सफलतापछि किङ्स्टनकी एउटी फ्यानलाई मैले विवाह गरेँ । तर उनीसँग सँगै नसुतेको आज एक वर्षजति भयो’- छ फुट अग्लो उसेनले पातलो फुच्चे वैकुण्ठको काँधमा धाप मार्दै भनेको थियो ।उसेनको टिप्सलाई मनन् गर्दै आफ्नो मेहनतलाई अझै बढाएर वैकुण्ठ सन् २०१६ मा ब्राजिलको राजधानी रियोमा हुने ओलम्पिकमा पदक जितेर नेपालको गौरव बढाउने प्रणको साथ नेपाल फर्केको थियो ।

नेपालसँगै सम्पूर्ण विश्व नै ओलम्पिक ज्वरोबाट गुजि्ररहेको छ । असारको महिना । नेपालमा खेत रोप्न माचामाच भने उता लन्डनमा विश्वका दस हजारभन्दा बढी खेलाडीहरु पदकको लागि पाखुरा खिचाखिच । बेलायतमा बसेर होस् या नेपालमा, प्रत्यक्ष रङ्गशालामा गएर हेरेको होस् या टेलिभिजनका स्त्रिmनमा ।

पत्रपत्रिकाका पानाहरुमा पढेर होस् या रेडियोका तरङ्गमा सुनेर, सुरेशजस्तै सम्पूर्ण नेपालीहरुमा त्यस ओलम्पिक अवधिभरि एउटै प्रश्न थियो होला- किन नेपालले ओलम्पिकमा एउटा पनि पदक जित्न सकेन ? सन् १९६४ देखि ओलम्पिकमा भाग लिँदै आइरहेको, खेलकुद भनेपछि मरिहत्ते गर्ने नेपालले आजसम्म पनि पदक हात पार्न नसक्नु कौतुहलको विषय बन्यो उसको लागि । सुनेको थियो, सन् १९८८ को सिओल ओलम्पिकमा विधान लामाले कास्य पदक पाएको कुरा ।

गौरवको अनुभूति भएको थियो उसलाई त्यो सुन्दा । आफ्नो अनुभूति दाङका अरू साथीहरुलाई सुनाउने क्रममा बुझ्दै जाँदा त उक्त पदक वास्तविक ओलम्पिकको प्रतिस्पर्धात्मक खेलमा नभई एक ताइक्वान्दो प्रदर्शनीमा जितिएको रै’छ । त्यसपछि खिन्नता महसुस भयो एकाएक उसको मनमा । सन् २००० को सिडनी ओलम्पिकदेखि मात्रै ताइक्वान्दोलाई ओलम्पिकमा पूर्ण समावेश गरिएको रहेछ ।सुरेश अरूहरु जस्तै एक खेलप्रेमी नेपाली । त्यति टाढा ओलम्पिक भइरहँदा लन्डनको रङ्गशालामा गएर प्रत्यक्ष हेर्ने सामथ्र्य कहाँ हुनु उसमा विचरा ! बिहीबारको राति घरकै टेलिभिजनमा बेलायतविरुद्ध अफगानिस्तान कास्य पदकको लागि खेलिएको ताइक्वान्दो खेल हेर्‍यो । नाटकीय ढङ्गले अन्तिम राउन्डमा एक अङ्कले अफगानी केटा राहुल्ला निकपाइले जित्यो । राहुल्ला अफगानी झण्डा बोकेर रङ्गशालाको वरिपरि दौड्यो ।

सुरेशले सम्झ्यो, अफगानिस्तानको बलौटे भूमिमा बेलायती सैनिक सन् २००१ देखि तालेवानी छापामारहरुसँग अन्त्यहीन लडाइँ लड्दै आएको ।

अनि सोच्यो, यदि त्यो केटा एक नेपाली भएको भए ?प्रश्न गर्‍यो आफैँलाई, के ओलम्पिकमा पदक जित्न अफगानिस्तान जस्तै साम्राज्यवादीको उपनिवेश हुनुपर्छ ? या विदेशी सिपाहीहरुको बुटले त्यो देशको माटोलाई कुल्चेको हुनुपर्छ ? या त अमेरिका र बेलायतका ट्याङ्कहरुले त्यो देशको छातीलाई टेकेको हुनुपर्छ ? रणभूमिमा विजय प्राप्त गर्न नसके पनि खेलको मैदानमा विजयी हुँदा त्यो अफगानी खेलाडीलाई कति गर्व लागेको होला आफ्नो देशप्रति Û तालेवानले अफगानिस्तानकोगुफा र कन्दरामा कति उत्सव मनाए होलान् त्यस दिन !

सुरेशलाई लाग्थ्यो, नेपाल मार्सल आर्टस्मा धेरै अगाडि छ । तर पाँच सदस्यीय नेपाली ओलम्पिक समूहमा ताइक्वान्दो खेलाडीको सहभागिता नदेख्दा आश्चर्यमा परेको थियो । त्यसैमा ओलम्पिकमा आएका नेपाली खेलाडी टोलीको बारेमा नेपाल राष्ट्रिय खेलकुद परिषद् नै अनभिज्ञ छ भनी समाचारहरुमा सुन्दा आश्चर्य मात्रै होइन, झोँक पनि चलेको थियो उसलाई, भ्रष्ट नेपाल सरकार र राजनीतिप्रति ।त्यसैगरी महिलाको माराथन दौड हेर्‍यो सुरेशले आइतबारको दिन । अनि तिकी गेलानाले स्वर्ण पदक जितेको देख्दा फेरि एउटा प्रश्न उब्ज्यो उसको मनमा, के ओलम्पिकमा पदक जित्न इथियोपिया जस्दै गरीब हुनुपर्छ देश ? अनि २००४ को एथेन्स ओलम्पिकमा चाइनाको लिउ जेङले ११० मिटर हर्डल जितेको सम्भ“mदा ओलम्पिक दौड जित्न काला जातिको खेलाडी हुनै पर्छ भन्ने पनि छैन । किन हामी नेपालीले ओलम्पिकमा सहभागी भएको आधा शताब्दी बितिसक्दा पनि केही जित्न सफल छैनौँ ? हाम्रो शारीरिक बनोट -होचोपन) लाई दोष दिने हो भने होचा फुटबल खेलाडी म्याराडोना, लाइनन मेसीलाई अनि विश्व कप विजेता स्पेनका खेलाडीहरुलाई हेरे हुन्छ । हो, केही खेलहरुमा शरीरको उचाइले अवश्य असर पार्दछ, जस्तै- भलिबल, बास्केटबल, ताइक्वान्दो इत्यादिमा । हाम्रो पुडकोपनले होला, ताइक्वान्दो नेपालमा अति नै प्रचलित भएर पनि अन्तर्राष्ट्रियस्तरमा आफ्नो वर्चस्व कायम गर्न नसकेको ।
चाइना, जपान र कोरियाजस्ता देशहरु सधैँ अग्रस्थानमा आउँछन् विश्व कप र ओलम्पिक प्रतियोगितामा, यद्यपि उनीहरु हामी नेपाली जस्तै होचा छन् । देखिएको छ, नयाँ सन्तान आफ्ना बाउबाजेभन्दा अग्ला हुँदै गइरहेका । अग्लाले मात्रै खेलहरु जित्न सक्छन् भन्ने मान्यतालाई विश्वास गर्ने हो भने नेपालले ओलम्पिकमा पदक जित्न अर्को एक शताब्दी पर्खने हो कि ?किन र कसरीका प्रश्नहरु तेस्र्याउँदै भर्खरै गएको बिजुली अब रातभरि नआउने निराशामा श्रीमतीले पकाइदिएको खाना पक्लाक-पुक्लुक खाएर खटियातिर लागेको थियो सुरेश ।

नेपालले एउटा पनि पदक जितेन भनेर जति पीर गरे पनि कोही सक छैन, नेपालीहरुले त्यसपालिको ओलम्पिक खेल हेरेर निकै आनन्द लिए । अरू देशहरुमा जस्तै राति-राति उठेर टेलिभिजनमा हेर्नुपरे तापनि प्राविधिक विकास र विस्तारले पृथिवीको पल्लो टुप्पामा भर्खरै भइरहेको खेल प्रत्यक्ष प्रसारण हुन्थ्यो यहाँ । त्यसैमाथि बीबीसी र सीएनएनको कलात्मक अनि प्रत्यक्ष टेलिभिजन प्रसारणले घरमै बसेर ओलम्पिकको मजा लिन सकिएको थियो । यो नै सस्तो, मीठो उपाय थियो । हजारौँ रुपैयाँको हवाईजहाज भाडा तिरेर लन्डनमा गएर हेर्ने सामथ्र्य थिएन कुनै नेपालीको । धनीले मात्रै टिकट किनेर हेर्न सक्ने यो खेल प्रदर्शन, आखिरमा मोजमज्जा धनीहरुकै हो भन्ने सम्झेर सुरेशको मन अमिलो नभएको भने होइन ।नगरपालिकाको कामबाट प्रत्येक दिन छिटो-छिटो आउनासाथ भुटेको मकै र चियाको साथमा टेलिभिजनको नजिकै टाँसिएर तीन हप्ता सुरेशले बिताएको थियो । स्यानो छोराले कार्टुन र श्रीमतीले हिन्दी सिरियल हेर्न नपाउँदा सधैँ रिमोट कन्ट्रोलमाथि उनीहरुको लुछाचुँडी हुन्थ्यो । ओलम्पिक दौरानभरि न त कतैबाट मोबाइल फोन आयो न त कोही आयो घरमा भेट्न । यस कुराले उसका सम्पूर्ण मित्र र आफन्तहरु ओलम्पिक हेर्न व्यस्त छन् भन्ने अनुमान लगाउन सकिन्थ्यो ।

नेपालले कुनै पदक जित्न नसकेको खिन्नता त छँदै थियो उसलाई । तर ओलम्पिकको अर्को बिर्सनै नसकिने क्षण उसलाई के लागेको थियो भने उसेन बोल्टको १०० मिटरको जितको साथै उसले आकाशतिर फर्केर धनुषकाण ताकेको साङ्केतिक पदर्शन । त्यसपछि भव्य उद्घाटन र समापन समारोह र एक सफल ओलम्पिकको रुपमा सबैको मानसपटलमा त्यो घटना सदैव जीवन्त रहिरहने छ जस्तो उसलाई लागेको थियो । त्यसरी नै मनमा रहिरहने छ सुरेश जस्तै अन्य नेपालीको- एक नेपाली खेलाडी पदक जितेर चन्द्र-सूर्य झण्डामा बेरिएर रङ्गशालाको वरिपरि हिँडेको देख्न नपाएको । अनि अमिलो महसुस भइरहने छ सुरेश जस्तै अन्य नेपालीहरुलाई- पदक जितेपछि ‘सयौँ फूलका थुङ्गा हामी…’ राष्ट्रिय धुन रङ्गशालाभरि गुन्जिएको सुन्न नपाएकोमा । अनि ‘कुनै प्रतियोगितामा विजयी हुनै पर्छ भन्ने केही छैन, सहभागिता नै ठूलो कुरा हो’ भनेर सबैले चित्त बुझाउनुपरेको त्यो क्षण ।

बिजुली आउने-जाने, सुरेशले ओलम्पिक हेर्न कहिले पाउने, कहिले नपाउने गर्दै दिनहरु बित्दै थिए । एक दिन घडीको घन्टीले निद्राबाट आधा रातमा व्युँताएपछि सुरेशले एकाएक टेलिभिजन खोलेको थियो । धन्य बिजुली बत्तीले धोका दिएन त्यस रात । ओलम्पिक समापन समारोह मज्जाले हेरेर फेरि खाटमा पस्दै गर्दा थुप्रै कुराहरु खेलाउँदै ऊ बिहानीपख निदाएको थियो । कुनै क्षण आउला कतै एक नेपाली भएर गर्व गर्ने दिन ? भो, नेपाल बुद्धको देश भनेर नाक ठूलो पार्ने चलन पुरानो भयो अब । भएका एउटा बुद्धलाई पनि भारतले आफ्नो भन्ने Û त्यसैमाथि दलाई लामाजस्ता बौद्ध धर्मगुरुले बुद्ध नेपालमा जन्मेका हुन् भन्न नचाहेको विषयले सुरेशलाई पार्नु पीर पारेको थियो । हुन पनि हो, जति बेला बुद्ध जन्मे, नेपाल भन्ने एक स्वतन्त्र देश थिएन । सम्पूर्ण दक्षिण एसियालाई भारत वर्ष भनिन्थ्यो त्यति बेला । नेपाललाई चिनाउने अर्को वस्तु सगरमाथालाई उत्तरबाट चाइनाले कोतार्दै लगेको त धन्न सुनेको छैन उसले । तर जलवायु परिवर्तनको असरले हिउँ पग्लिएर सगरमाथाको उचाइ घट्यो भने संसारको अग्लो चुचुरो हाम्रै देशमा पर्छ भनी छाती फुलाएर हिँड्न बन्द हुनेछ सुरेशको । यी परापूर्वकालका भगवान् र प्रकृतिले दिएका वस्तुहरुलाई लिएर घमन्ड गर्ने बेला छैन यो उत्तर-आधुनिक युगमा । सकिन्छ भने मानव रचित विश्वविख्यात कार्यहरु गरेर छाती फुलाएर हिँड्न सकौँ भन्ने उसको मान्यता ।
अनिद्राले आँखा मिच्दै ढिलो कार्यालय पुगेको थियो अर्को दिन । कसैको पनि काम गर्ने मुड देखिँदैनथ्यो । मेयर पनि आइपुगेका थिएनन् अफिसमा । क्यान्टिनमा चिया पिउँदै अर्काे आफू जस्तै ओलम्पिकका फ्यान रेशमसँग उसको तर्क-वितर्क सुरु भयो ।’कि क्या हो रेशमजी, कि त दुबईको बर्ज खालिफा जस्तो विश्वकै अग्लो भवन निर्माण गरेर या त इन्डिया र चाइनाले जस्तो आर्थिक विकासमा लम्केर या त कार्ल लुइस, उसेन बोल्टजस्ता विश्वप्रसिद्ध खेलाडीहरु उत्पादन गरेर मात्रै हामीले छाती फुलाएर हिँड्ने युग आएको छ । त्यसैले आज एउटा यस्तो तारा जन्मिनुपरेको छ नेपालमा, जसले सधैँ हामी नेपालीलाई संसारमा चम्काइरहोस्, गौरवशाली बनाउन सकोस् । तर यस ओलम्पिक अवधिभरि जसरी ओलम्पिक दीपको ज्योति जलिरह्यो, त्यसरी नै एक नेपालीले कतै एक पदक जित्छ कि भन्ने मेरो सपना जलिरह्यो…, जलिरह्यो… यार । तपाईंलाई कस्तो लाग्छ मेरो भावना ?’

‘उ…. आयो मेयरको गाडी, जाउँ भित्र, पछि गफ गरौँला यसको बारेमा’- रेशमले चियाको गिलास रित्याउँदै भन्यो ।

सन् २०१६ । जमना बदलिएको छ । नेपालमा नयाँ चुनाव भएर पहिचानसहितको सङ्घीय गणतन्त्रात्मक संविधान बनेर स्थिर सरकारको गठन भएको छ । वैकुण्ठ १०० मिटर दौडको तयारीमा छ । उसेन बोल्टले दिएको टिप्सलाई प्रयोग गर्दै वैकुण्ठ ओलम्पिकमा सर्वश्रेष्ठ प्रदर्शन गर्ने उद्देश्यले निरन्तर अनि कठोर अभ्यास गर्दैछ ।

नेपालको २० सदस्यीय ओलम्पिक खेलाडीको टोली, जसमा १२ जना त अफिसियल नै थिए, रियो आइपुग्छन् । यसपालि वैकुण्ठ सजिलै फाइनलमा छिर्छ ।

‘ला… ला…. वैकुण्ठ अगाडि आउँदैछ…, रङ्गशालामा नेपाली झण्डा पनि फरफराइरहेको म देख्छु…, कहाँबाट नेपाली दर्शक पनि पुगेछन् त्यति टाढा…, जित्यो… जित्यो… जित्यो… वैकुण्ठले…, उसेन बोल्टलाई पनि जित्यो…., ला… नयाँ ओलम्पिक रेकर्ड पनि राखेछ वैकुण्ठले…., ९.६१ सेकेन्ड…” भन्दै उपि|mयो सुरेश टेलिभिजनको अगाडि ।

पहिलाको जस्तो लोडसेडिङ छैन आजकल नेपालमा । स्वदेशी तथा विदेशी कम्पनीहरुले लगानी लगाएर ठूला तथा साना जलविद्युत् योजना च्याउजस्तै उम्रेका छन् । त्यसमा १५ प्रतिशत बिजुली एनआरएन-गैरआवासीय नेपाली संघ)को लगानीद्वारा उत्पादन गरिएको छ । नेपालको त्यो अहिलेसम्मकै पहिलो ओलम्पिकको पदक थियो, त्यसैमा स्वर्ण । एकैछिनमा रियोको विशाल -एक लाख दर्शकहरु अटाउने) रङ्गशालामा पदक समारोह भयो । वैकुण्ठले विजयी मञ्चमाथि चढेर स्वर्ण पदक ग्रहण गर्‍यो । पृष्ठभूमिमा नेपाली झण्डा माथि उठाइँदै ‘सयौँ फूलका थुङ्गा हामी…’ राष्ट्रिय धुन घन्कियो । नेपाल राष्ट्र गौरवान्वित भयो ।

सुरेशको आँखाबाट हर्षका आँसु वषिर्ए । वैकुण्ठको त्यो सफलतापछाडि उसको कडा मेहनत थियो अनि एउटा ठूलो रहस्य लुकेको थियो । हरेक वर्ष आफँै डोल्पामा गएर यार्सागुम्बा खोजेर ल्याई निरन्तर त्यसको सेवन गरेको थियो उसले । वैकुण्ठ विवाहित थियो तर ओलम्पिक आउनुभन्दा दुई वर्षअगाडिसम्म स्वास्नीसँग सँगै सुतेको थिएन ।

उसेन बोल्टले वैकुण्ठलाई १०० मिटरको नयाँ ओलम्पिक च्याम्पियन भनेर बधाई दिँदा आफ्नी स्वास्नी कसैसँग पोइल गइसकेकी गुनासो पोखेको थियो उसेनले ।’मेरो जस्तै हाल तिम्रो पनि नहोस् है’- उसेनले खुसुक्क कानेखुसी गरेको थियो ।

(स्रोत :विजय हितानको कथासंग्रह “थकित पृथ्वी“बाट)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.