अनूदित कथा : पहिचान

~सअदत हसन मण्टो~Sadat Hasan Manto
अनुवाद : जंगबहादुर शाह

एकदमै थर्ड क्लास होटेलमा ह्विस्कीको बोतल रित्याएपछि तय भयो, बाहिर घुम्न जानुपर्छ र एउटी यस्ती आइमाई खोज्नुपर्छ जसले होटेल र ह्विस्कीले पैदा गरेको खिन्नता दूर गरोस्। र, त्यो आइमाई बेस्वादको रक्सीको तुलनामा स्वादिलो होस्।

फख्रले होटेलको प्रदूषित वातावरणबाट बाहिर निस्कनेबित्तिकै म र मसऊदसँग भन्यो-‘कुनै राम्री आइमाई होस्, राम्रो गवैयाको गलाजस्तै त्यसमा सौन्दर्य होस्। खुदा-कसम मन प्रसन्न हुनेछ।’ ह्विस्की दुवैलाई मन परेको थिएन, सोडा झन् बेस्वादको। सायद, यसैकारण फख्रलाई राम्री आइमाईको चाहना भइरहेको थियो। हामी तीनैजनालाई आइमाईको चाहना थियो। मेरो लागि यस्ती महिलाको अर्थ राम्ररी वाहियात कुरा गर्ने आइमाई थियो। मसऊदलाई यस्ती आइमाई चाहिएको थियो जसमा बनियापन नहोस्।

जो आफ्नो मोल लिएर ट्रकमा अथवा मनलागी ठाउँमा बस्न तयार होस् र केही समयका लागि सौदा गरेकी छे भन्ने बिर्सियोस्। त्यस बजारको नाम हामीलाई थाहा थियो जहाँ काली, निलौटी, पहेँली, लाल र जामुनी रङका आइमाई पाउन सकिन्थ्यो। तिनका निवास लाम लागेर रूखझैं टाढासम्म दगुर्दै पुगेका छन्।

यी रंगीबिरंगी आइमाईहरू पाकेका फलझैं झुन्डिएका हुन्छन्। तपाईं तलबाट ढुंगाले खसाल्न सक्नुहुन्छ। हामीलाई आइमाईसँग सरोकार थिएन। वास्तवमा हामी स्वयं आफूलाईं धोका दिन चाहन्थ्यौं। हामी यस्ता आइमाई वा आइमाईहरू चाहन्थ्यौं जो सामान्यतया निजी होऊन् अर्थात् जो रूपबजारको भीडभाडदेखि टाढा, सभ्यहरूको टोलमा आफ्ना कारोबार चलाइरहेका होऊन्।

हामी तीनजनामध्ये फख्र धेरै अनुभवी थियो। उसमा हामीमाभन्दा धेरै इच्छाशक्ति पनि थियो। हामी नजिकबाटै गइरहेको एउटा टाँगालाई उसले हातको इसाराले रोक्यो र नहिचकिचाइकन अर्थपूर्ण भाकामा टाँगावालसँग भन्यो-‘हामी सैर (अर्थात् मनोविनोद) गर्न चाहन्छौं, जान्छौं?’

गम्भीर मानिसजस्तो देखिने कोचवान्ले हामी तीनैजनातिर पालैपालो हेर्यो। म लज्जित भएँ। त्यसले निःशब्द भनेको थियो-‘तिमी युवाहरूलाई रक्सी खाएपछि यस्तो के हुन्छ?’फख्रले टाँगावालसँग फेरि भन्यो- ‘हामी सैर गर्न, मोजमस्ती गर्न चाहन्छौं। जान्छौ?’ अनि तुरुन्तै केहीबेर सोचेर आफ्नो आसय स्पष्ट पारिदियो-‘कोही मालवाल छ तिम्रो नजरमा? ‘

मसऊद र म एकातिर खस्केका थियौं। मसऊदले आत्तिएर मसँग भन्यो- ‘यो फख्र कस्तो मान्छे हो ? यिनलाई अलिकता बुद्धि देऊ।’

मसऊदसँग म केही भन्नै लागेको थिएँ, फख्रले हामी दुवैलाई आवाज दियो- ‘आऊ…आएर टाँगामा बस।’हामी तीनैजना टाँगामा बस्यौं । म अगाडिको सिटमा।

पुसका अन्तिम दिन थिए। रातको ८ बजिसकेको थियो। ह्विस्की खाएर पनि हामीलाई चिसो महसुस भइरहेको थियो। अगाडिको सिटमा बसेको म, हामीमध्ये सबैभन्दा कमजोर थिएँ। यसकारण मेरा कान कठ्यांग्रिएका थिए। टाँगा डफरिन पुलबाट तल्तिर लाग्दा मैले गलबन्दी झिकेर कान र शिरमा बेरेँ र ओभरकोटका कलर ठड्याइदिएँ।

सास घोडाका नाकका पोराबाट बाफ बनेर निस्किरहेको थियो । हामी तीनैजना मौन थियौं । मोटो र बाक्लो काम्लोमा लपेटिएको टाँगावाल पनि निःशब्द टाँगा हाँकिरहेको थियो। मैले ऊतर्फ गौर गरेर हेरेँ। उसको अनुहारमा गम्भीरता कक्रक्क परेको थियो।

मलाई औधी नरमाइलो लाग्यो र फख्रसँग भनें- ‘फख्र  यिनी कस्ता मानिस हुन्? केही कुरा पनि गर्दैनन्। यस्तो लागिरहेछ, यी अँडिरको तेल खाएर बसेका छन्।’मैले त्यसोभन्दा पनि टाँगावाल मौन रह्यो। फख्रले भन्यो-‘धेरै कुरौटे मानिस असल हुँदैनन्। हाम्रो मनसाय बुझेका छन्, जहाँ राम्रो माल होला त्यहीं लैजालान्।’

चुरोट सल्काइरहेको मसऊद एक्कासि बोल्यो- ‘वल्लाह (भगवान्कसम ¤) आइमाई कति राम्रो चिज ¤ आइमाई, आइमाई कम र चिज ज्यादा हो…।’

मैले उसको भनाइलाई थप राम्रो बनाउँदै भनें- ‘चिज होइन, चिजी अर्थात् छुर्पी वा पनीरजस्ती ¤’ हाम्रो समूहको कवि मसऊदले, गद्गद् भएर भन्यो- ‘वल्लाह, कस्ता कुरा ? मियाँ टाँगावाल ¤ चिज र चिजीमा जो अन्तर छ त्यसमा गौर गर्नु।’

टाँगावाल मौन रह्यो। अब मैले त्यसतिर अरू ध्यानपूर्वक हेर्न थालेँ । मजबुत जिउडाल, उमेर लगभग ३५, पातला जुँगा तल्तिर लत्रिएका थिए। चिसोका कारण उसले पूरै काम्लो बेरेको थियो जसकारण उसको पूरा अनुहार देखिँदैनथ्यो। मैले उतिर हेर्दै फख्रसँग सोधेँ- ‘कता लैजाँदैछन् यिनी हामीलाई ? ‘

धेरै सोच-विचार गर्ने बानी नभएको फख्रले जवाफ दियो- ‘किन यति आतुर हुँदैछौ ? अहिले केही बेरमा चिजी तिमीसामु आउनेछ।’
मसऊदले फख्रसँग भन्यो- ‘यसबारे तिमीसँग कुरा भएको छ? ‘ फख्रले भन्यो- ‘रोशनआरा रोडमा कतिपय मेमहरू बस्दछन् । भनिन्छ, ती हाम्रा लागि लायक छन्।’

मेमहरूको जिकिर हुनेबित्तिकै मसऊदलाई आफ्नो एकजना मित्रको कविता सम्झना भयो । त्यस कविताको जिकिर गर्दै उसले भन्यो- ‘त्यसो भए जाऔं, देशवासीहरूको लाचारीको बदला पनि लिइहालौं… वल्लाह ¤ यस्तो लागिरहेछ, हाम्रा टाँगावाल काव्य-मर्मज्ञ वा रसिक होलान् । त्यो कविता यिनले अवश्य पढेका होलान्…।’

त्यसपछि निकै बेरसम्म मेमहरूबारे कुराकानी भयो। म र मसऊद मेमहरूलाई उच्च स्तरको मान्न पटक्कै तयार थिएनौं तर फख्र भने गोरी मेम रुचाउँदथ्यो । उसको भनाइ थियो- ‘तिनीहरूको (काम) कला वैज्ञानिक हुन्छ । तिनको दाँजोमा पूर्वेली आइमाई राखे त्यस्तै फरक पाइन्छ जो हाम्रो रेवडी र टफीमा हुन्छ। वास्तवमा मेमहरूको प्याकिङ (परिधान, पहिरन) धेरै राम्रो हुन्छ ।’

मैले भने- ‘फख्र हुनसक्छ तिम्रो दृष्टिकोण सही होस् । तर, मेरा भाइ, म यस्ता नाजुक अवसरमा भाषाको कठिनाइ सहन सक्दिनँ। म आफ्नो कार्यालयमा बडे साबसँग अंग्रेजी बोल्न सक्छु, यहाँ दिल्लीमा रहँदाबस्दा यी टाँगावालसँग उर्दुमा वार्तालाप गर्न मलाई स्वीकार्य छ।

तर, त्यस्तो नाजुक अवसरमा म अंग्रेजीमा कुराकानी गर्न सक्दिनँ। मेरो पाइन्ट अंग्रेजी, मेरो जुत्ता अंग्रेजी, यी सब त अंग्रेजी हुन सक्छन्। तर त्यो कुरा अंग्रेजीमा हुन सक्दैन।’

फख्र मेमहरूबारे आफ्ना दृष्टिकोणलाई बिर्सेर हाँस्न थाल्यो । मसऊद, सायद, अझैसम्म आफ्ना मित्र-रचित कविताबारे ऊहापोह गरिरहेका थिए जसमा कविले एउटी फिरंगी आइमाईका ओठ चुसेर देशवासीको विवशताको बदला लिएका थिए । एक्कासि तर्सिंदै उनले भने- ‘के हो भाइ ¤ यो टाँगा कतिबेरसम्म गुुडिरहने हो ? ‘

टाँगावालले लगाम तानेर टाँगा रोक्दै फख्रसँग भन्यो- ‘त्यो ठाउँ आइपुग्यो साब ¤ …तपाईं एक्लै वा…।’हामी तीनैजना टाँगावालका पिछलग्गु भयौं । त्यसले हामीलाई कम उज्यालो गल्लीमा लग्यो। यो गल्ली दिल्लीका सामान्य गल्लीहरूभन्दा फरक थियो। यो धेरै फराकिलो थियो।

दाहिनेतिर एउटा भुइँतले घर थियो जसका झ्यालढोकामा चिम (बाँसका सिन्काले बनाइएका पर्दा) झुन्डिएका थिए । एउटा ढोकाको बाँसेपर्दा उठाएर टाँगावाल भित्र पस्यो। केही क्षणपछि त्यो बाहिर आयो र हामीलाई भित्र लग्यो।

कोठा एकदमै अँध्यारो थियो। मैले भनें- ‘भाइ ¤ कतै हामी मूर्ख भर नलडौं।’ अर्को कोठाबाट कुनै आइमाईको भद्दा किसिमको आवाज आयो- ‘लालटिन त लगे हुन्थ्यो तैंले।’ अलि बेरपछि टाँगावाल एउटा धमिलो लालटिनसाथ प्रकट भयो र भन्यो- ‘भित्र पाल्नुहोस्।’

हामी तीनैजना भित्र गयौं। हामीले फ्रक लगाएका दुईजना काली र अत्यन्त कुरूप आइमाई देख्यौं। तिनीहरू मेम थिए । मैले प्रयासपूर्वक आफ्नो हाँसो रोक्दै फख्रसँग भनें- ‘अहा ¤ कस्ता स्वादिष्ट टफी ¤¤’

मेरो भनाइ सुनेर ती मेममध्ये लाली पोतिएकी एउटीले धेरै पाकेको इँटाजस्तो अनुहार भएको एउटी हाँसो हाँसी । म पनि हाँसिदिएँ र अत्यन्त प्रेमपूर्वक सोधें- ‘के नाम हो तपाईंको? ‘
उसले भनी- ‘लुसी ।’

मसऊदले अघि सरेर अर्कीसँग सोध्यो- ‘अनि तपाईंको? ‘
उसले जवाफ दिई- ‘मेरी।’

फख्र पनि अलि अघि सर्यो- ‘म्याडम ¤ के काम गर्नहुन्छ ? ‘
दुवै लजाए । एउटीले मस्किँदै भनी- ‘कस्ता कुरा गर्छौ तिमी ? ‘

अर्कीले भनी- ‘लौ छिटो गर । बस्न चाहन्छौ अथवा जाने हो ? हामीले रोटी पकाउनुछ।’
मैले उसका हाततिर हेरें । उसका हात गिला पिठोले लेसिएका थिए। ऊ हात मलिरहेकी थिई। त्यसकारण उसका हातबाट पिठोका चुर्ना खसिरहेका थिए। मलाई लाग्यो, अन्न रोइरहेछ । ती पिठेकीरा अन्नका आँसु हुन्।

टाँगावालले हामीलाई एकदमै गलत ठाउँमा ल्याएको थियो । हामी तीनका तीन त्यस घरमा पुगेर एकदमै हैरान भएका थियौं। तर, हामी आफ्नो हैरानी ती आइमाईहरू सामु प्रकट गर्न चाहन्नथ्यौं । हामीलाई अत्याधिक दुराशा भएको थियो।

हामीले स्पष्टवादी बनेर ‘तिमीहरू हाम्रा कामको लायक छैनौ’ भनिदिए तिनका भावनालाई चोट पुुग्ने थियो । किनभने हातमा पिठो लागेको भए पनि आइमाई संवेदनाशून्य त हुँदैनन्। मैले ती दुवै आइमाईहरूको प्रशंसा गरेँ।

फख्रले पनि साथ दियो। अनि ‘फेरि छिट्टै आउँला’ भन्दै बाहिरियौं । टाँगावालले हाम्रो आशय बुझिसकेको थियो। त्यसलाई केही क्षणका लागि त्यहाँ रोकिनुुपरेको थियो। ऊ बाहिर निस्कनासाथ फख्रले त्योसँग सोध्यो- ‘तिमी यिनलाई मेम भन्छौ? ‘

टाँगावालले बडो गम्भीरतासाथ उत्तर दियो- ‘लोकले यस्तै भन्छ साब।”लोकले बकवास गर्छ। मैले सोचेको थिएँ, तिमीले मेरो आसय बुझ्यौ होला। अब खुदाका नाममा यस्तो ठाउँमा लैजाऊ जहाँ केही घडी हामी मन बहलाउन सकौं।’

आइमाई फख्रनेर पुगी। कम्मरमा हात राखेर उभिई। उसको उमेर कम्तीमा पनि ३५ वर्ष थियो। छाती ठूल्ठूला थिए जसलाई भद्दा तरिकाले ठड्याएर राखेकी थिई। उसको साँघुरो निधारमा नीलो रङको चन्द्रमा खोपिएको थियो। उसले मसऊदतिर हेर्दै मुस्काउँदा उसका अघिल्ला दाँतमा ठोकिएका सुनका किला देखापरे।

मसऊदले हामी तीनैजनाको सामूहिक उद्देश्य थप स्पष्ट गर्ने प्रयास गर्दै भन्यो- ‘हेर, हामी यस्तो ठाउँमा जान चाहन्छौं जहाँ केही समय बस्न सकौं। हामीलाई वाक्पटु आइमाईकहाँ लैजाऊ । भाइ ¤ हामी ब्रह्मचारी होइनौं, कुनै फौजका सिपाही होइनौं । हामी तीन भद्र-भलाद्मी हौं जसले आइमाईहरूसँग कुुराकानी गरेको वर्षौं भइसक्यो। बुझ्यौ ? ‘

टाँगावालले कुरा बुझेर मुन्टो हल्लायो र भन्यो- ‘त्यसो भए बस्नुहोस् । तपाईंलाई सदर (छाउनी) बजार लैजान्छु।’
फख्रले सोध्यो- ‘त्यहाँ के छ? ‘टाँगावालले लगाम थाम्दै जवाफ दियो- ‘एउटी पञ्जाबिनी छे । धेरै मानिस आउँछन् त्यसकहाँ।’

टाँगा पञ्जाबिनीको घरतिर लाग्यो। बाटोमा ती दुवै मेमहरूको जिकिर भयो। हामीमध्ये प्रत्येकलाई त्यहाँ गएकोमा अफसोस् थियो। तिनीहरूबाट हामीले निराशामात्र पाएका थियौं । अनि, सायद, हामीभन्दा धेरै निराश उनीहरू भएका थिए। मैले तिनीहरूलाई केही रुपैयाँ दिएको भए हुन्थ्यो । तर, त्यो त भीख हुन्थ्यो। उनीहरूको बेइज्जती हुन्थ्यो।

फख्रले हाम्रो त्यस्तो वार्तालापमा धेरै मुख खोलेन। ऊ चाहन्थ्यो, तिनीहरूबारे कुरै नहोस् । तर, टाँगा पञ्जाबिनीको घर नपुग्दासम्म नचाहँदा-नचाहँदै पनि तिनैको चर्चा भइरह्यो।टाँगा एउटा फराकिलो बजारमा फुटपाथनेर रोकियो।

तबेलासँग जोडिएको घर पञ्जाबिनीको थियो। टाँगावालका पछिपछि हामी पनि त्यतै लाग्यौं। सिँढी चढेर माथि पुग्यौं । सामुन्ने ढोका नभएको पाइखाना थियो। त्यसैसँग जोडिएको पुरानो ढाँचाको कोठा थियो।

हामी चारैजना कोठाभित्र पस्यौं। कोठाको पल्लोतिर चारजना ‘फलाँस’ खेल्नमा तल्लीन थिए। तिनीहरूलाई हामी आएको थाहा भएन। तर, त्यतै उभिएर एउटा जुवाडेको पत्तामा चाख लिइरहेकी आइमाई हाम्रो आवाज सुनेर हामीतिर आई।

यहाँ पनि लालटिन बालिएको थियो र त्यो जुवाडेहरूको घेरामा थियो। प्रकाश मध्यम थियो। त्यो आइमाई फख्रनेर पुगी। कम्मरमा हात राखेर उभिई । मैले उसलाई ध्यानपूर्वक हेरेँ। उसको उमेर कम्तीमा पनि ३५ वर्ष थियो।

छाती ठूल्ठूला थिए जसलाई भद्दा तरिकाले ठड्याएर राखेकी थिई । उसको साँघुुरो निधारमा नीलो रङको चन्द्रमा खोपिएको थियो। उसले मसऊदतिर हेर्दै मुस्काउँदा उसका अघिल्ला दाँतमा ठोकिएका सुनका किला देखा परे।

उसले फख्रलाई आँखा झिम्क्याउँदै सोधी- ‘भन्नुहोस्, के काम छ? ‘
फख्रले बच्चाझैं सोध्यो- ‘तपाईंको नाम? ‘

उसले फेरि आफ्नो कम्मरमा हात राखी र हौसिएर हामी तीनैजनालाई पालैपालो हेर्दै भनी- ‘गल्जार ¤’ (फारसी भाषामा यसको अर्थ हुन्छ- खुब चहलपहल हुने बगैँचा ।)फख्रले तुरुन्तै विवशता प्रकट गर्दै भन्यो- ‘माफ गर्नुहोला, हाम्रो गन्तव्य त गुलाफको ठाउँ थियो। गल्तीले यता आइपुगेका रहेछौं।’
ऊ अगाडि बढी।

फख्रको हातबाट चुरोट खोसी । सर्को तानी र फलाँस खेलाडीतिर लागी जसलाई अझै पनि हाम्रो उपस्थितिबारे थाहा भएको थिएन।निकै खतरनाक आइमाई थिई। उसको मुख कागती निचोर्ने यन्त्र खुलेझैं खुल्दथ्यो।

टाँगामा बस्नेबित्तिकै हामी तीनैजनाले टाँगावालालाई हामी कस्ती आइमाई चाहन्छौं भन्ने फेरि बतायौं । उसले हामी तीनैजनाको भाषण सुन्यो र भन्यो- ‘तपाईंहरू थोरै शब्दमा बताउनुहोस्, कहाँ जान चाहनुहुन्छ ? ‘मैले आजित भएर फख्रसँग भनेँ- ‘अब थोरै शब्दमा तिमी नै बताऊ हामीकहाँ जान चाहन्छौं?’

फख्रले उसलाई बतायो- ‘हेर ¤ हामीलाई कुनै केटीकहाँ लैजाऊ। यस्ती केटी, जो १६-१७ वर्षकी होस् । योभन्दा धेरैकी पटक्कै नहोस्, बुझ्यौं ? ‘
टाँगावालले काम्लो बेर्दै लगाम समात्यो र भन्यो- ‘तपाईंले पहिल्यै बताइदिएको भए बेस हुन्थ्यो। अब म तपाईंलाई ठीक ठाउँमा लैजान्छु।’

आधा घन्टामा त्यो ‘ठीक ठाउँमा’ पुगियो। खुदा जानुन, कुन बजार थियो । एउटा घरको माथिल्लो तल्लामा बैठक कोठाजस्तो थियो, जसको ढोकामा मोटो र मैलो टाट झुन्डिएको थियो।

भित्र गएपछि हामीले देख्यौं- सामुन्ने आँगनमा एउटी गाउँले बुढिया चुल्होमा आगो बालिरहेकी छे। नजिकै माटोका कठौरीमा मुछिएको पिठो थियो। यति धेरै धुँवा थियो, भित्र पस्नेबित्तिकै हाम्रा आँखामा आँसु भरिए।

वृद्धाले चुलोमा दाउरा टकटकाउँदै हामीतिर हेरी र टाँगावालसँग गाउँले भाषामा भनी- ‘उहाँहरूलाई भित्र लैजाऊ।’टाँगावालले सलाई कोरेर हामीलाई अँध्यारो कोठामा भित्र्यायो र काँटीमा झुन्डिएको लालटिन बालेर बाहिरियो। मैले कोठाको निरीक्षण गरेँ।

कुनामा एउटा अत्यन्त ठूलो पलंग पस्रिएको थियो जसका खुट्टा रंगिएका थिए। त्यसमा मैलो च्यादर ओच्छ्याइएको थियो। फूलबुट्टा काढिएको सिरानी पनि थियो। पलंग नजिकको भित्ताको तख्तामा तोरीको तेलको एउटा मैलो बोतल र काठको काइँयो थियो।

काइँयोमा शिरको मयल र कपालका गुच्छा अल्झिएका थिए। पलंगमुनि एउटा थोत्रो बाकस थियो जसमाथि एउटा कालो गुरगाबी राखिएको थियो।
मसऊद र फख्र दुवै पलंगमा बसे। म उभिइरहेँ। अलिबेरमा एउटी होची केटी आफूभन्दा दोब्बर ठूलो दोपट्टा ओढ्ने प्रयास गर्दै भित्र पसी।

फख्र र मसऊद जुरुक्क उठे। त्यो केटी लालटिनको उज्यालोमा आएपछि मैले उसलाई हेरेँ। उसको उमेर मुस्किलले लगभग १४ वर्ष हुँदो हो। त्यसका वक्ष आरुजत्रा थिए। तर, उसको अनुहार हेर्दा थाहा हुन्थ्यो, ऊ आफ्नो शारीरिक रचनालाई छोडेर निकै अघि पुगिसकेकी छ।

निकै-निकै अगाडि, जहाँ सायद उसकी आमा पनि पुग्न नसकेकी होस्। उसकी आमा जो बाहिर चुलोतिर व्यस्त थिई । त्यो केटीका नाकका पोरा फटफटाउँदै थिए।ऊ हल्लिरहेकी थिई मानौं उसले कुनै धूर्त पसलेझैं भर्खरै डन्डी मार्ली र पूरा तौल तौलने छैन।

हामीले केटीलाई आश्चर्यले हेरिरह्यौं। फख्रलाई लज्जाबोध हुँदै थियो। मसऊदको सारा कवित्व खुम्चिएर शायद उसका नंगहरूमा आएका थिए। ऊ नराम्रोसँग नंग टोकिरहेको थियो। मैले एकपटक फेरि त्यो केटीतिर गौर गरेर हेरेँ मानौं मलाई आफ्नै आँखाप्रति विश्वास थिएन। त्यो पुड्की थिई।

उसको रङ गाढा कालो थियो। उसको वदनको बनोटले थाहा हुन्थ्यो, ऊ अति द्रुतगतिमा गुडिरहेकी गाडी थिई जो अब एकदम रोकिएको छ, पांग्रामा कसेर ब्रेक लागेका छन् र त्यहीं उभिई-उभिई घाम-पानीमा उसको रंगरोगन उडेको छ।

त्यस उमेरमा एउटी कुरूप केटीको शरीरमा देखिने आकर्षण पनि उसमा थिएन । लुुगा लगाएकी भए पनि ऊ निर्वस्त्र देखिन्थी- बहुतै असभ्य र अनुचित पाराले नांगी। उसको शरीरको तल्लोभागमा नारीत्व पटक्कै थिएन।

म केही भन्नै लागेको थिएँ, केटीको पछाडिबाट एउटा वृद्ध प्रकट भयो । नितान्त सेतो दाह्री। निर्बलताका कारण उसको मुुन्टो हल्लिरहेको थियो। केटीले गाउँले भाषामा वृद्धसँग कुरा गर्दा मैले नतिजा निकालेँ, त्यो वृद्ध केटीको आमाको पिता थियो।

हामी तीनैजना त्यहाँबाट भाग्यौं। बजारमा पुगेपछि हाम्रो नैराश्य अलि कम भयो।केटी र वृद्धालाई देखेर हाम्रो सौन्दर्यबोधजन्य रसिकतालाई तगडा झट्का लागेको थियो। हामी निकै बेरसम्म चुपचाप रह्यौं।

फख्र टहलिरह्यो। मसउद एकातिर कुनामा बस्यो। म ओभरकोटको खल्तीमा हात हालेर आकाशतिर हेरिरहेँ। त्यहाँ अपूर्ण चन्द्र तल्तिरको अवयव नारीत्वविहीन भएकी त्यो रक्तहीन वेश्याझैं बादलको एउटा अत्यन्त ठूलो टुक्राको दुपट्टा ओढ्ने प्रयास गरिरहेको थियो।

त्योभन्दा अलि पर बादलको एउटा सानो सेतो टुक्रा त्यस केटीको बाजेको वृद्ध टाउकोझैं काँपिरहेको थियो। त्यस्तो दृश्य देखेर मेरो आङ जिरिङ भयो।

हामी सायद १०-१२ मिनेटसम्म अन्यमनस्क रह्यौं।त्यसपछि टाँगावाल तल झर्यो। फख्रनेर पुगेर उसले भन्यो- ‘तपाईंले ८ बजे टाँगा लिनुुभएको थियो। अहिले ११ बजेको छ। तीन घन्टाको पैसा दिनुहोस्।’

फख्रले केही नभनी त्यसलाई दुई रुपैयाँ दियो। रुपैयाँ पाएर टाँगावाल मुस्कुरायो र भन्यो-‘साहेब ¤ तपाईं केही जान्नुहुन्न। यस्ती दमदार केटी त यस सहरभरिमा पाउनुहुन्न। खैर, तपाईंलाई अधिकार छ। टाँगामा बस्नुहोस्। म तुरुन्त आएँ।’

टाँगावालले फेरि माथि जाने कष्ट गर्नुुपरेन किनकि त्यो सेतो दाह्रीवाल वृद्ध त्यसको पछिपछि आएको थियो र नालीनेर उभिएर अफ्नो बूढो टाउको हल्लाइरहेको थियो।बूढालाई दुई रुपैयाँ दिएपछि जब टाँगावालले लगाम समात्यो तब त्यसको गाम्र्भीय गायब भइसकेको थियो।

‘चल बेटा’ भनेर उसले भद्दा तर आह्लादयुक्त स्वरमा गाउन सुरु गर्यो-
‘सावन कें नजारे हैं…लला लला ला…।’

(उर्दुबाट अनुवादः जंगबहादुर शाह)

(स्रोत : Samyantra.com)

This entry was posted in अनूदित कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *