अनूदित कविता : एउटा भाषा हुने गर्छ

~उदय प्रकाश~uday-prakash
अनुवाद: मनोज बोगटी

एउटा भाषा हुने गर्छ
जसमा म जतिपल्ट लेख्न चहान्छु `आँसू´ सित मिल्दोजुल्दो कुनै शब्द
प्रत्येकपल्ट बग्ने गर्छ रगतको धारा
एउटा भाषा छ जसमा बोल्न वैज्ञानिक , समाजविद अनि तेस्रो दर्जाको जोकर
अनि हाम्रै समयका सम्मानित वेश्याहरू, क्रान्तिकारी सबै लजाउँछन्
जसको व्याकरण र हिज्जेको भयावह भूलहरूले नै
कुलशील, वर्ग अनि नस्लको श्रेष्ठता कति हो भन्ने कुरा प्रमाणित गर्छ।

सबैभन्दा धेर बोलिने, लेखिने सुनिने र पढिने गाइने बजाइने एक धेरै कमाउर
बिकाउ ठूलो भाषा
संसारका सबैभन्दा बेहाल अनि सबैभन्दा निरक्षर, सबैभन्दा गरिब र सबैभन्दा खुङ्खार
सबैभन्दा कायल र सबैभन्दा थाकेका लुटिएका मानिसहरूको भाषा
अस्सी करोड़ अथवा नब्बे करोड़ अथवा एक अरब भोको, नाङ्गो अनि गरीबगुर्वाका भाषा
त्यो भाषा जो समयसापेक्ष तस्कर, हत्यारा, नेता, दलाल, अफिसर, भँडुवा,
रन्डीहरू अनि केही आक्रोशित युवाहरू पनि बोल्ने गर्छन्

त्यो भाषा जसद्वारा लेख्ने कुनै पनि इमान्दार कवि पागल बन्छन्
प्रतिभाहरू आत्मघात गर्छन्
`ईश्वर´ भन्ने बित्तिकै आउन थाल्छन् जसमा बारुदको गन्ध
जसमा पान चपाएर थुकेको थुक छ, बिँडीको धुवा, खैनीको फ्वॉंक छ
जसमा सबैभन्दा धेर छापिन्छ दुइ कौडी महङ्गो तर सबैभन्दा लोकप्रिय अखबार
यही भाषामा चल्छ क्याडबरी, सन्डेको तेल, सुजूकी, पिजा, आँटा-दाल अनि
स्वामीजी, साहित्य, सिनेमा अनि राजनीतिको सम्पूर्ण बजार।

एउटा दह्रो विभाजक रेखामुनी बॉंच्ने सत्तर करोड़ भन्दा धेर मानिसहरूको
आँशु, पसिना र रगतले लथपथ एउटा भाषा।

अघिल्लो समय च्यातिएका डाकवाला अहिले पनि बॉंड्छन्
सभ्यताको-इतिहासका सबैभन्दा असभ्य अनि सबैभन्दा दर्दनाक चिट्ठीहरू।

त्यो भाषा जसमा नोकरीको खोजमा भट्किन्छ भोको वेरोजगार
अनि एकदिन उसैलाई चोरी वा झगडाको आरोपमा पुलिसद्वारा पक्रिन्छन्।
जसका लिपिहरू स्वीकार गर्न अस्वीकार गर्छ संसारका सूचना संजाल
आत्माको सबैभन्दा उत्पीड़ित अनि विह्वल भाग, जहॉं जन्मिन्छ शब्द
अनि कुनै मौन बस्तीको अथाह लाटा कुवामा डुब्छ चुपचाप ।
अतीत को कुनै पहाडबाट एक अज्ञात सूक्तिले आफ्नो व्याकुल कम्पनमा थामेर
फर्किन्छ कोही जीनियस

जब घोषणा गरिन्छ त्यसलाई सार्वजनिकरुपले पागल, नष्ट हुन्छ कुनै विलक्षण
गणितज्ञको स्मृति
नक्षत्रहरूलाई शताव्दीदेखि नियालिरहेका कुनै महान खगोलविद भविष्यसम्मको
निम्ति अन्धा बन्छन्।
केवल हाम्रो निद्रामा सुनिन्छ उसका अनन्त गगनगन
मङ्गल..शुक्र.. बृहस्पति…सप्त-ॠषि..अरुन्धति.

..ध्रुव..
हामी सपनामा डराईरहेका देख्छौ टुक्रिएको उल्कापिन्डजस्तो
त्यो भाषाको अन्तरिक्षबाट
लुप्त हुँदैजान्छ एकएक गर्दै हरेक नक्षत्र
भाषा, जसमा केवल कम्मर मर्काउन र केटीहरूको छाती हल्लाउन छुट छ
जसमा दण्डनीय छ विज्ञान अनि अर्थशास्त्र अनि शासन-सत्तासित सम्बन्धित विमर्श
प्रतिबन्धित छ जसमा ज्ञान अनि सूचनाका प्रणालीहरू
वर्जित छ विचार

त्यो भाषा जसमा गरिएको प्रार्थनासम्मलाई साम्प्रादायिक घोषणा गरिन्छ
त्यही भाषामा जबरजस्ती गरिन्छ तप, होम
अनि उसलाई ताक्दै आउँछन् हरेक प्रकारका सत्ताका ब्राह्मण-बन्दुक

भाषा, जसमा उड्छ वायुयानहरूमा चापलूसी
शाल ओढ्छ चम्चा।
जुन भाषाको अन्धकारमा चम्किन्छ कुनै अफिसर, हुकूम वा दलालका सेतो दॉंत
अनि तमाम मठहरुमा नियुक्त हुन्छन् बर्बर बुलडग

आफ्नो शरीर अनि आत्माका घाउहरूलाई
त्यति मात्र होइन आफ्नै नानीहरू, स्वास्नीसम्मबाट लुकाइन्छ
राजधानीमा कुनै कवि जुन भाषाको अन्धकारमा दिनभरिको अपमान अनि केही अचारसित
खान्छन् अघिल्लो दिन उब्रिएको रोटी
अनि मृत्युपछि पठाइने कुनै राष्ट्रिय दैनिक पत्रिकाका नाफाखोर प्रकाशकको लागि
तयार पार्छन् अर्को नयॉं पान्डुलिपि।

यो त्यही भाषा हो जसलाई यही देशमा हरेकपल्ट कुनै शरणार्थी, कुनै पर्यटक,
कुनै फिरङ्गी आफ्नो बोलीमा बोल्छन्
जसको व्याकरणलाई घोटेर तालीको पररसितै उपस्थित हुन्छ इतिहासमा अनि बाहिर
सुनिन्छ वर्षौंसम्म आर्तनाद।

सुन डायोनीसियस, कान खोलेर सुन
यो पक्का हो कि तिमी विजेता हौ अहिले, जित्नै नसकिने हत्यारा हौ
हरेक छ मिनटमा तिमी काट्छौ यो भाषामा बोल्नेहरूको जिब्रो
तिमी अहिले मालिक हौ काटिएका जीब्रो, लाटा नोकर र चम्चा एजेन्टहरूका
विराट संग्रहालयको
तिमी स्वामी हौ
अन्तरिक्षमा तैरिने कृत्रिम उपग्रहहरू, ध्वनि तरङ्गहरू, संस्कृतिहरू अनि सूचनाहरू
हतियारहरू र सरकारहरूका।

यो पक्का हो।

तर हेर
हरेक पॉंच सेकेन्डमा यही पृथ्वीमा जन्म लिन्छ एक अर्को नानी
अनि यही भाषामा कराउँछ उ
अनि भन्छ-‘आमा’।

(स्रोत : साहित्यिक डट कम)

This entry was posted in अनूदित कविता and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *