कथा : अन्जान संघर्ष

~लक्ष्मण घमाल~laxman-ghamal

धेरै दिन भयो उनले मलाइ भेट्न खोजेको। जहिले म अफलाइन हुँदा मेसेज पठाउदा रहेछन फेसबुक मा । अफिस सकेर कोठामा पुग्दा पाँच बजेर एकतिस मिनेट बजाएको थियो एनसेल नेटवर्क को मेरो मोबाइलले।हत्तपत्त फेसबुक खोले मेसेज आएको रहेछ उनैले पठाएका रहेछन मेरा बालापनका हितैसी मित्र अन्जान।आज मलाइ कल गर्नुहोला भनेर फोन नम्बर पनि पठाएका रहेछन। उनको घर ताराखोला, बागलुङ को पश्चिमी भेग। मेरै घर छेउमा उनको मामा घर, मामा घरमै बसेर कक्षा सात सम्म पढेका अन्जान संग को सात बर्ष को फ्रेन्डसीप हरपल मस्तिष्कमा आइरहन्थ्यो।दशै बिदामा घर गएका उनी कहिल्यै फर्केर आएनन।चौध बर्ष पछि फेसबुक मा साथी भएको आज चौध दिन भयो।Friend request पनि उनैले पठाएका ।

मोबाइलमा ब्यालेन्स थिएन लोन लिए कल गरे, काठमाडौ घट्टेकुलो बस्दा रहेछन ।ड्रेस पनि चेन्ज नगरी कोठाबाट निस्किए।मङ्सिर महिना झमक्क साझ परिसकेको थियो। सरकार ले लोडसेडिङ मुक्त काठमाडौ बनाएकाले हिड्न त्यति मुस्किल थिएन। खल्तिमा गाडी भाडा सम्म नभएकाले पैदल हिडे चण्डोल बाट घट्टेकुलो । झन्डै साढे सात बजेको थियो नेसनल मेडिकल कलेज को अगाडि लिन आए।अझै पनि सजिलै चिन्न सकिने रहेछन मित्र चिउडो मा झुस्स दाह्री मात्रै पलाएका।डेरा मा बस्दा रहेछन एक्लै।कोठामा पुगियो चिया बनाए, मकै भट्ट डब्बा मा राखेका रहेछन स्टिल को थाल मा खन्याए, चिया र मकै भट्ट खादै गफिन थाल्यौ।सानो कोठा एउटा बेड,बेड छेउमै सानो टन्न किताब राखिएको दराज, ग्यास, किचन टेबल को तल भाडा मिलाएर राखेका।भित्तामा सुइ चल्ने घडी निदाइरहेको अवस्था मा । घडी त साढे सात बजे नै निदाएछ नि मैले हास्दै भने।प्रतिउत्तर मा उनले पनि हास्दै भने मेरो जिन्दगी मा नै साढे सात बजेको छ।स्कुल पढ्दा निकै रमाइला कथा सुनाउने उनलाइ मैले भने तपाइले एकदमै धेरै सुनाउने स्नोव्हाइट को कथा सुनाउनुस न बालापन फेरि एकपटक महसुस गर्न मन छ।उनले भने आज राजकुमार, दैत्य, तोरिलाहुरे, स्नोव्हाइट का कथा होइन मेरो जीवन को कथा सुनाउछु। उनले सरसर्ती भन्न थाले उनको जीवन को कथा…….

स्कुल बिदा भएपछी का केहि दिनहरु मामाघर मा नै बिताए गहिरागाउ मा ।त्यसपछी घर गए दशैको फुलपाती को दिन थियो त्यो।मनमा एउटा छुट्टै हर्ष उल्लास थियो घर जान पाउँदा । बिहान हिडेको साझ मात्र घर पुगे।आमा ले खाना तयार गरिसक्नु भएको रहेछ।कक्षा पाँच मा पढ्ने भाइ अतीत अनि कक्षा दश मा पढ्ने दिदी सम्झना दशै बिदाको गृहकार्य गर्दै थिए।बुबा रेडियो मा सात बजेको समाचार सुन्दै हुनुहुन्थ्यो। आमासँग बोलेजस्तो गरेर बुबाले भन्नू भयो आज पनि चार जना सर्बसाधारण को गोलि हानी हत्या भएछ।भोकले आत्तिएको म बुबाको कुरालाइ बेवास्ता गरेर आमालाइ हत्तपत्त खाना पस्किन भने।आमा खाना पस्किदै हुनुहुन्थ्यो एक्कासी चार जना झोला बोकेका अपरिचित मान्छे हरु आए एउटि महिला तीन जना पुरुष।बाबा सग केहिबेर कुरा गरे। आमा पनि खाना पस्कन छोडेर उनिहरुको कुरा सुन्न लाग्नु भयो।मैले पनि उनिहरुको कुरा सुन्न लागे, उनिहरु त क्रान्तिकारी रहेछन।एक घर एक शक्ति को अभियान चलिरहेको रहेछ।मलाइ लिएर गए गरिब निमुखा हरु को लागि लड्न भन्दै।घर मा फुलपाती भित्र्याउदाको दिन म बाहिरिदै थिए । बि स २०५९ साल असोज महिना को २६ गते साझ साढे सात बजेको समय थियो त्यो।हामी नेपाल मा.वि मा पुग्यौ सास्कृतिक कार्यक्रम रहेछ।उनिहरु ले मलाइ सबैसँग परिचय गराइदिए र भने उहाँ नया कमरेड हुनुहुन्छ उहाँ लाई अब हामिले संघर्स भनेर बोलाउनु पर्छ।मनमा घर को याद मात्रै आइरहेको थियो अनि गहभरी आँसु का ढिका हरु। एकैछिन मा कार्यक्रम सुरु भयो लाल्टिन को उज्यालो मा।मलाइ लिन गएका चार जना पनि नृत्यको पोसाक मा सजिएर आए। एकैछिन मा स्कुलको प्राङ्गण घन्किन थल्यो “हामी युद्ध लड्दै छौ अन्तिम सम्म लडिरहन्छौ, जीत हाम्रो हुने छ पूरा बिश्वास छ, एक्दिन सफल हुने छौ” बोलको गीत मा। गितको गुन्जयामान ले थप उर्जा दिएजस्तो भयो।मेश तयार गरेका रहेछन खाना खयौ त्यसपछी को पैदल यात्रा एक हप्ता को रह्यो अन्तत ढोरपाटन पुगियो।

केही नजानेको म अन्जान लाई संघर्स बनाएर जनवादी कलाकार बनाए।पुर्ब मेची देखि पश्चिम् महाकाली सम्म हिडियो।घर छोडेको छब्बीस महिना भैसकेको थियो रोल्पाको कार्यक्रममा थिए म।कार्यक्रम सकेर केही माथी जङ्गल मा सुतेका थियौ सपनिमा आमा आउनुभयो र भन्नू भयो बाबु देश को लागि लड, गरिब मुक्ति को लागि लड म मरेकी छैन।झल्यास्स बिउँझे घडी हेर्दा बिहान को छ बजिसकेको रहेछ।पुर्ब दिशा पुरै बादल ले ढाकेको थियो। साथिहरु सबैलाइ उठाए।सात बजेको रेडियो नेपाल को समाचार सुन्न लाग्यौ।मेरो बाबा आमा, दिदी र भाइ लाई राज्य पक्ष ले आतंककारी को संग्या दिएर हत्या गरेछ।म त्यही बेहोस भएछु होस मा आउँदा एउटा गोठमा साथिहरुको निगरानी मा थिए म। साथी हरु ले भन्दै थिए चौबीस घन्टा भयो बेहोस भएको। देश को घाउ मा मलम लगाउन हिडेको म मन मा आलो घाउ लिएर हिडिरहे।घर छोड्ने बेला देख्न पनि नपाएका भाइ अतीत र दिदी सम्झना साच्चिकै नै अतीत भए सम्झना मा रहे।परिवार गुमाएको दश महिना पछि रुकुम मा मेरै गाउँका एकजना याम दाइ लाई भेटे। उहाले भन्नू भयो आमा जिउँदै हुनुहुन्छ।मन मा एक किसिम को खुसी पलाएर आयो।अनि दाइ मैले भने त्यसपछी उहाँले भन्नू भयो हो भाइ तपाईं को बाबा भाइ लाई सारा गाउले को अगाडी गोलि हानेर हत्या गरे।दिदी लाई सामुहिक बलात्कार पछि हत्या गरे यो सबै देख्न नसकेर आमा कोमा मा जानुभयो।तपाइकी ठुलिआमाको सहायता ले नाक मा पाइप राखेर बाचिरहनु भएको छ तर होस छैन।

केही महिना पछि जनाअन्दोलन भयो राज्य पक्ष र क्रान्तिकारी बिच शान्ती सम्झौता भयो। बागलुङ बजार मा बिशाल जनसभा थियो । आमालाइ देख्ने इक्षा अनि देश मा आएको शान्ती ले पिडा बिस्तारै भुलाउदै थियो। महेन्द्र बहुमुखी क्याम्पस अहिले को धौलागिरी क्याम्पस को प्राङ्गणमा नृत्य देखायौ “आयो हाम्रो बिजयको दिन, बिद्रोहको लाल झन्डा बोकेर ” बोलको गीत मा।साच्चिकै नै सफलता को सिखर चुमेजस्तो भएको थियो। आमा लाई भेटे आँखा रसाए होस गुमाएकी आमालाई भने मन मनै एउटा सफलता चुमेर आएको छु हजुरलाइ देखाउने छु आमा। कलाकार बाट जनमुक्ती सेना मा लगियो मलाइ । क्रान्ति गर्न हिडेको म अयोग्य लडाकु भए। आमाको उपचार को लागि भएको जायजेथा बेचे, मलेसिया गएर चार बर्ष बिताएर आए तर आमा मलाइ छोडेर सदाको लागि बिदा हुनुभयो।

उनको कथा सुन्दा मेरा आखाबाट आँसु को बर्षा नै भएको रहेछ उनका आखाबाट पनि। बिस्ताराको छेउमै रहेको सानो किताब राखिएको दराज बाट एउटा किताब झिके र भने जनयुद्ध को उपज यहि हो मेरो।किताबमा लेखिएको थियो जनयुद्ध मा बिरगती प्राप्त गरेका महान सहिद हरु को विवरण।बाबा, दिदी र भाइ को तस्बिर देखाउदै भने मलाइ जन्म दिने मेरि आमा यो किताब मा पनि अटाइनन्।

नोट: यस कथाका पात्र तथा घटना काल्पनिक हुन।यदि कसैको वास्तविक जीवन मा मेल खान गएमा केवल संयोग मात्र हुनेछ।

लक्ष्मण घमाल
बा.न.पा-७,गहिरागाउ, बागलुङ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.