समीक्षा : नेपाली साहित्यमा प्रगतिवाद

~अमर गिरी~amar-giri

उठान

प्रगतिवाद नेपाली साहित्यको मुख्य धारा हो । मुख्य धाराका रूपमा प्रगतिवाद नेपाली साहित्यमा स्थापित रहे पनि प्रतिधु्रवीय लेखक समीक्षकहरूले यसलाई न्यून महत्व दिने गरेका छन् । कतिले त यसको उपस्थितिलाई नै लुकाउने गरेका छन् । केहीले यसलाई एक स्वतन्त्र धाराका रूपमा उल्लेख गर्न पनि चाहन्नन् । प्रगतिवादलाई स्वच्छन्दतावादसँग गाँसेर अध्ययन गर्ने परिपाटी लामो समयदेखि चल्दै आएको छ । सारमा प्रतिधु्रवीय यो वा त्यो रूपमा नेपाली साहित्यमा प्रगतिवादलाई न्यून वा कमजोर रूपमा प्रस्तुत गर्न चाहन्छ । यो उद्देश्यमूलक ढङ्गबाटै हुँदै आएको छ । प्रतिधु्रव प्रगतिवादको समुचित मूल्याङ्कन गरेर यसलाई महत्व दिन चाहन्न । ऊ यसो किन गर्न चाहन्न भन्ने कुराको धेरै विश्लेषण आवश्यक पनि छैन । प्रगतिवादको विकास उसको सत्ताको विरूद्धमा छ । प्रगतिवादी लेखक समीक्षकहरूबाट यसको मूल्याङ्कनको सन्दर्भमा हुनु पर्ने जति कार्य भएको देखिँदैन । प्रगतिवादी साहित्यको समग्र अवस्थालाई प्रस्तुत गर्ने गरी आवश्यक कार्यको थालनी हुन अझै बाँकी छ । केही प्रयासहरू नभएका होइनन, तर ती अपर्याप्त छन् । यो अपर्याप्ततातर्फ प्रगतिवादी लेखक समीक्षकहरूको गम्भीर रूपमा ध्यान जान आवश्यक छ । प्रगतिवाद आज प्रवृत्तिगत दृष्टिले नेपाली साहित्यको एक मुख्य धारा रहे पनि यो समग्र नेपाली साहित्यको समानान्तर रहेको छ । परिमाण र गुण दुवै दृष्टिले यसो भन्न सकिन्छ । नेपाली साहित्यमा विद्यमान सबै धाराहरूलाई एकातिर राख्दा पनि प्रगतिवाद सबैभन्दा जब्बर देखा पर्दछ ।

नेपाली साहित्यमा प्रगतिवाद भन्नाले प्रगतिवादी साहित्यको समग्र अवस्थालाई बुझाउँछ । यसको पृष्ठभूमि, विकास प्रक्रिया, विकासका विभिन्न चरण–उपचरण, विधागत स्थिति, प्रवृत्तिगत विशेषता, स्तरीयताको प्रश्न आदि सबै यसभित्र पर्दछन् । यस अवधारणा पत्रमा यी सबैको सङ्क्षिप्त प्रस्तुति पनि सम्भव छैन । यस यथार्थलाई दृष्टिगत गर्दै मैले सङ्क्षिप्त रूपमा नेपाली साहित्यमा प्रगतिवादबारे आफ्ना धारणाहरू प्रसतुत गरेको छु मेरो अवधारणा पत्रको मुख्य पक्ष प्रगतिवादलाई नेपाली साहित्यको मुख्य धाराका रूपमा प्रस्तुत गर्नु रहेको छ । यसले बहसलाई अगाडि बढाउन मद्दत मिल्ने र त्यसका सकारात्मक परिणामहरू अगाडि आउनेछन् भन्ने मलाई लगेको छ । निसन्देह प्रतिनिधि धाराको किटान मनोगत आधारमा गरिने कार्य होइन । यसका निम्ति यसलाई पुष्टि गर्न सकिने पर्याप्त आधारहरू हुनु आवश्यक छ । यस्ता आधारहरू पर्याप्त छन् भन्ने मेरा बुझाइ र निष्कर्ष रहँदै आएको छ । पर्याप्त साक्ष्यहरूका आ–आफ्ना धारणाबाट हामी यसलाई पुष्टि गर्दै अगाडि बढ्न सक्छौँ भन्ने मलाई लाग्छ । यही कुरालाई मनन् गर्दै मैले करिब एक दशक अघिदेखि यस विषयलाई निरन्तर उठाउँदै आएको छु । प्रगतिवादलाई नेपाली साहित्यको प्रतिनिधि धाराका रूपमा उल्लेख गर्दै यसको मूल्याङ्कन परम्परालाई अघि बढाउन अबेर भइसकेछ भन्ने मलाई लाग्छ । प्रतिधु्रवले यसलाई कम महत्व दिएर यसमाथि आफ्नो प्रहार केन्द्रित गरेका बेला यसको प्रतिनिधिकर्तालाई सिद्ध गर्ने गरी कार्यको आरम्भ गर्नु कति महत्वपूर्ण रहेको छ भन्ने कुरा धेरै आवश्यक छ जस्तो मलाई लाग्दैन । प्रगतिवादी साहित्यको प्रतिनिधिकताको पुष्टि प्रतिधु्रवविरूद्धको वैचारिक सङ्घर्षकै एक अङ्ग हो । प्रतिधु्रवले प्रगतिवादलाई न्यून महत्व दिनु, यसको उपस्थितिलाई नै लुकाउनु, यसलाई एक स्वतन्त्र धाराका रूपमा उल्लेख गर्न नचाहनु प्रतिधु्रवको प्रगतिवादविरोधी वैचारिक सङ्घर्षसँग जोडिएको छ र विरोधी रणनीतिद्वारा घेरिएको छ । साहित्य र कला विचारको दुनियाँ पनि हो र यहाँ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सधै वैचारिक सङ्घर्ष चल्छ भन्ने वास्तविकतालाई प्रगतिवादीहरूले गम्भीर रूपमा हेक्का राख्न जरूरी छ ।

प्रगतिवादी साहित्यको विकासलाई अवरूद्ध गर्न विगतमा के के गरियो भन्ने तथ्यहरू इतिहासमा जिवितै छन् । ३० वर्षको पञ्चायती शासनका बेला प्रगतिवादी साहित्यले सबैभन्दा बढी दमनको सामना गर्नु प¥यो । लेखेकै नाउँमा स्रष्टाहरू समातिए, जेल हालिए । पत्रिका प्रकाशन, गोष्ठीहरूको आयोजना प्रीतबन्धित जस्तै भए । राज्यका साहित्यिक सांस्कृतिक निकायहरूबाट ती सबै बहिष्कृत रहे । २०४६ सालपछि पनि यो स्थिति एक हदसम्म विद्यमान नै रह्यो । २०६२–६३ को आन्दोलन र गणतन्त्रको स्थापनापछि अङ्ग थिए, जसले बेलाबखत सिधा हस्तक्षेपको रूपमा ग्रहण गरेका थिए । वस्तुतः प्रगतिवाद सत्ताका निम्ति सधै चुनौती रहँदै आयो र यसले दमनको पनि सामना गर्नु प¥यो तर प्रगतिवाद सबै प्रकारका अवरोधसँग जुध्दै अगाडि बढ्दै गयो । यसको विकास रोकिएन । परिणामतः प्रगतिवाद आम नेपाली साहित्यमा प्रतिनिधि धाराका रूपमा उपस्थित र कठिन सङ्घर्षबाट प्राप्त यस अवस्थालाई प्रगतिवादीहरूले सगर्व प्रस्तुत गर्नु पर्दछ र कसैले यसको प्रतिवाद गरेछ भने त्यो चुनौतीलाई पनि स्वीकार गर्नु पर्दछ । प्रतिनिधि धाराका रूपमा यसको मूल्याङ्कनले प्रगतिवादी साहित्यलाई अझ विकसित र समृद्ध गर्न, यस वरपर स्रष्टाहरूको ठूलो सङ्ख्यालाई आकर्षित गर्न तथा यसलाई थप ऊर्जा सहित अगाडि बढ्न मद्दत मिल्नेछ नै, साथसाथै यसले प्रगतिवादको प्रतिनिधिकतालाई पुष्टि गर्ने मूलतः तीन वटा आधारहरू रहेका छन् ।

वैचारिक र सौन्दर्यात्मक पक्ष

लेखन तथा प्रकाशनको स्थिति र रचनात्मक गतिविधि । पहिलोले प्रगतिवादी साहित्यको वैचारिक पक्षधरता र श्रेष्ठता यथार्थको प्रतिबिम्बनको पङ्क्ति, कुरूपको विरोध र सुन्दरको पक्षपोषण, परिवर्तनका निम्ति सार्थक हस्तक्षेप, यसको कलात्मक स्तर आदिलाई बुझाउँछ । यी तीन वटा आधारहरूले नेपाली साहित्यमा प्रगतिवाद कहाँनेर छ भन्ने प्रश्नको समुचित उत्तर दिन्छन् । यिनै आधारहरूको सङ्क्षिप्त यथार्थ सहित प्रगतिवादी साहित्यको प्रतिनिधिकतालाई पुष्टि गर्ने प्रयत्न यहाँ गरिएको छ ।

प्रगतिवादी साहित्यको पृष्ठभूमि आरम्भ र विकास

नेपाली साहित्यमा आरम्भदेखि रहँदै आएको राष्ट्रिय चेतनाको अवधारणा, सामाजिक एवं धार्मिक सुधारका भावनाहरू नेपाली इतिहासमा सामन्तवाद एवं साम्राज्यवादविरूद्ध भएका सानाठूला विभिन्न सङ्घर्षहरू, साहित्यमा आधुनिक युगको आरम्भ सँगसँगै विकसित भएको यथार्थवादी प्रवृत्ति, राणाविरोधी राजनीतिक सङ्घर्ष, साहित्य र साहित्यिक गतिविधिमा त्यसको प्रभाव, रचनाहरूमा अभिव्यक्त विद्रोह चेत र नयाँ स्वप्न, कम्युनिस्ट पार्टीको स्थापना, माक्र्सवादी साहित्यको पठन, २००७ सालको राजनीतिक परिघटना, सामन्तवाद, साम्राज्यवादविरूद्ध विकसित राष्ट्रिय चेतना आदि प्रगतिवादी साहित्य लेखन आरम्भका पृष्ठभूमिका रूपमा रहेका छन् । यी सबैको समष्टिगत प्रभाव र प्रतिफलका रूपमा प्रगतिवादी साहित्यको जन्म भएको थियो । २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना र माक्र्सवादी साहित्यको पठनको आरम्भ प्रगतिवादी साहित्य लेखन आरम्भका सबैभन्दा बलिया पृष्ठभूमि थिए । कम्युनिस्ट पार्टीको स्थापनाले यसका निम्ति ठोस धरातल प्रदान गरेको थियो ।

प्रगतिशील विद्रोहचेत नेपाली साहित्यमा अलि पहिलेदेखि देखिन सुरू गरे पनि प्रगतिवादी साहित्य लेखनको सुरूवात २००८ सालमा कृष्णचन्द्रसिंह प्रधानको “भञ्ज्याङनिरै” प्रकाशित भएपछि भएको थियो । यस कृतिमा लेखकको लामो भूमिका रहेको छ र त्यसमा उनले साहित्यसम्बन्धी प्रगतिवादी दृष्टिकोणलाई स्पष्ट गर्ने प्रयत्न गरेका छन् । माक्र्सवादी साहित्यका सम्बन्धमा भूमिकामा सविस्तार चर्चा गरिएको छ । गोपालप्रसाद रिमालबाट प्रगतिवाद साहित्यको आरम्भ भएको हो भन्ने मत पनि प्रगतिवादी शिविर पाइन्छ । तर प्रायः सबैजसो लेखक, समीक्षकहरू २००८ बाटै प्रगतिवादी साहित्यको आरम्भ भएको हो भन्नेमा एक मत देखिन्छन् । रिमाल क्रान्तिकारी चेतना भएका साहित्यकार हुन् तर प्रगतिवादी होइनन् । क्रान्तिकारी र प्रगतिवाद उस्तै उस्तै होइनन् । प्रगतिवादले साहित्य कलासम्बन्धी माक्र्सवादी दृष्टिकोणलाई बुझाउँछ । रिमाल माक्र्सवादी थिएनन । उनी विद्रोही थिए र उनमा निरङ्कुशताको अन्त र नयाँ नेपालको स्वरूप थियो । आमाको सपना लगायत कतिपय विद्रोही रचनाहरू यसकै परिणाम थिए । त्यसैले २००८ मा प्रधानको कृति प्रकाशित भएपछि नै प्रगतिवादी साहित्यको लेखन आरम्भ भएको मान्नु युक्तिसङ्गत देखिन्छ । अधिकांशले यही समयलाई प्रगतिवादी नेपाली साहित्यको लेखन आरम्भको रूपमा उल्लेख गर्नुको कारण यही हो । यसरी २००८ लाई आधारविन्दु मानेर हेर्दा प्रगतिवादी नेपाली साहित्यले झन्डै आधा शताब्दी पार गरेको छ ।

नेपाली साहित्यको समग्र इतिहासको तुलनामा आधा शताब्दीको समयावधि छोटो हो । छोटो समयावधिमा प्रगतिवादी नेपाली साहित्यले पनि जति विकास गरेको छ । त्यो उल्लेखनीय र सन्तोषजनक रहेको छ । यसको आफ्नो आरम्भदेखि सामना गर्नु परेका विभिन्न अवरोहहरूलाई दृष्टिगत गर्ने हो भने यसको विकास सन्तोषजनक मात्र होइन, गर्वयोग्य पनि छ । विभिन्न चरण–उपचरण हुँदै प्रगतिवादी साहित्य जहाँ आइपुगेको छ, यो परिवर्तन र नयाँको स्वप्न देख्ने सबैका निम्ति खुशीको कुरा हो । प्रगतिवादी साहित्यले अपेक्षित विकास गर्न सक्ने यो कमजोर छ भन्ने धारणा प्रगतिवादी साहित्य शिविरभित्रै पाइन्छ तर यस्तो धारणा त्यति वस्तुगत देखिँदैन । यसमा वस्तुगतता कम र मनोगत बढी देखिन्छ । प्रगतिवादी साहित्यमा कमी–कमजोरी नरहेका होइनन्, तर यसका उपलब्धि सँगसँगै यसका कमी–कमजोरीहरूलाई हेरिनु पर्दछ, अलग गरेर होइन । यसले अझ बढी विकास गर्नु पथ्र्यो पनि भन्न सकिन्छ । तर यसो भन्दै गर्दा यसले सामना गर्नु परेका अवरोधहरूलाई पनि हेर्नु पर्दछ ।

प्रगतिवादी साहित्यको स्तरीयतालाई लिएर पनि बेलाबखत प्रगतिवादी शिविरभित्रै गम्भीर प्रश्नहरू उठ्ने गरेका छन् । तर यस सम्बन्धमा वस्तुनिष्ठता आवश्यक छ । स्तरीयताका दृष्टिले प्रगतिवादी साहित्यसँग सबल र दुर्बल दुवै पक्षहरू छन् । रचना स्तरीयता पनि छन् र कमजोर पनि । स्तरीयता प्रगतिवादी साहित्यको मुख्य पक्ष हो । रचना स्तरीयता पनि छन् र कमजोर पनि । स्तरीयता प्रगतिवादी साहित्यको मुख्य पक्ष हो । यस सन्दर्भमा प्रतिधु्रवले प्रगतिवादी साहित्यमाथि लगाइने गरेको स्तरहीनताको आक्षेपप्रति गम्भीर रूपमा ध्यान दिन आवश्यक छ । प्रतिधु्रवको प्रगतिवादी साहित्यमाथि सबैभन्दा बढी आक्षेप स्तरहीनतालाई लिएर रहेको देखिन्छ । यो आक्षेपका पछि एक निश्चित दृष्टिकोण र आग्रह रहने गरेको छ । राम्रा कृतिलाई पनि महत्व नदिएको र कमजोर बताउने गरेको तथ्यले प्रतिधु्रवको आसयलाई स्पष्ट गर्दछ । प्रतिधु्रवको निरन्तरको आक्षेपको प्रभाव प्रगतिवादी शिविरभित्रका कतिपय रचनाकारहरूमा पनि देखिन्छ । कमजोर रचनालाई अगाडि सारेर र सबल रचनालाई पनि न्यूनीकरण गरेर प्रतिधु्रव प्रगतिवादी साहित्यको पठनप्रति मात्र विकर्षण पैदा गर्न चाहन्न । समग्र प्रगतिवादी साहित्यिक आन्दोलनलाई नै कमजोर बनाउन चाहन्छ । साहित्यमा स्तरीयताको प्रश्न सदावहार प्रश्न हो । यसलाई हेर्ने र पर्गेल्ने सापेक्षतामा यो प्रगतिवादी साहित्य सापेक्षतामा स्तरीय रहँदै आएको छ । निसन्देह यसले स्तरीयकरणका सन्दर्भमा अझ बढी ध्यान दिनु आवश्यक छ । यसका निम्ति कतिपय सौन्दर्य शास्त्रीय प्रश्नहरूमा बहस चलाइनु जरूरी छ । जस्तै† राजनीति र साहित्यबीचको सम्बन्ध के हो ? साहित्य विचारधारात्मक अधिरचना भए पनि साहित्यले आफ्नो शिक्षात्मक र संज्ञात्मक प्रकार्यहरू कसरी पूरा गर्नु पर्छ ? यसको सौन्दर्यात्मक सत्तालाई कसर बलियो बनाउन सकिन्छ ? आदि आदि ।

माक्र्सवादले साहित्य काललाई सामाजिक चेतनाको विशिष्ट बहस ठान्छ । विशिष्ट बहसबाट विशेष अर्थ ध्वनित हुन्छ । यो विशेष अर्थ अरू केही नभएर साहित्य, कलाको विशेष प्रकृति हो । यही विशेष प्रकृतिको कारण साहित्य कला ज्ञानका श्रव्य शाखाहरूबाट छुट्टिन्छ । होइन भने अर्थशास्त्र, राजनीति शास्त्र, समाज शास्त्र, दर्शन शास्त्र आदि र साहित्य, कलाबीच भेद नै समाप्त हुन्छ । साहित्य कलासम्बन्धी माक्र्सवादी सौन्दर्य शास्त्रीय अवधारणालाई ठीकसँग पक्रन नसक्दा प्रगतिवादी नेपाली साहित्यमा मात्र होइन, अन्यत्र पनि समस्या देखिने गरेका छन् । हाम्रँे मुलुकमा यो समस्या अलि बढी देखिन्छ । प्रारम्भिक चरणका रचनाकारहरूमा समस्या देखिनु ठूलो कुरा होइन, तर पर्याप्त समय लेखनमा बिताइसकेकाहरूमै समस्या देखिनु सानो कुरा होइन । बुझाइमा दुवै अतिवादी कोणहरू प्रगतिवादी नेपाली साहित्यमा देखिन्छन् र रचनाहरूको स्तरीकरणमा ती बाधकका रूपमा रहेका छन् । रचनाको स्तरीयतासँग जोडिएका अन्य विषयहरू पनि छन् । तर यस आधारमा प्रगतिवादी साहित्यमाथि स्तरीयताको आरोपको पुष्टि हुन सक्दैन ।

विधागत दृष्टिले पनि नेपाली साहित्यमा प्रगतिवादी कमजोर देखिँदैन । नाटक जस्तो विधामा यसको उपस्थिति कमजोर रहे पनि कविता विधामा प्रगतिवादी साहित्यले जुन विकास गरेको छ, त्यो महत्वपूर्ण रहेको छ ।

प्रतिनिधि धाराका रूपमा प्रगतिवाद

वैचारिक र सौन्दर्यात्मक पक्ष प्रगतिवादलाई प्रतिनिधि धारा किटान गर्नुको एक मुख्य आधार हो । साहित्य कला विचारयुक्त रहँदैन भन्ने कुरा स्वयंसिद्ध छ । विचारयुक्त कलाको वकालत एक फट्याइँ मात्र हो । साहित्य कलाको इतिहासमा यो कहिल्यै विचारयुक्त बनेको छैन र पछि पनि रहने छैन । साहित्य, कलाको वैचारिक भूमिका मूलतः शिक्षात्मक र संज्ञानात्मक प्रकार्यमा व्यक्त हुन्छ । यसको प्रकरीकरण विशिष्ट ढङ्गले हुन्छ । साहित्य, कलामा वैचारिक श्रेष्ठता यसले आत्मसात गरेको विचारको सारतत्वमा निर्भर हुन्छ । सारतत्वका दृष्टिले विचारमा त अग्रगामी हुन्छ या त पश्चगामी । अग्रगामी विचार मुक्तिको सङ्कल्पतासँग जोडिन्छ । मुक्तिको सङ्कल्पमा समस्त उत्पीडन र बन्धनबाट मुक्त हुनुसँग गाँसिन्छ । स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानवीय गरिमा र सौन्दर्यको प्राप्ति आदि सबै यसैभित्र पर्दछन् । यो सबै किसिमका वैदेशिक उत्पीडिन, विचारको सङ्घर्ष, स्वतन्त्र राष्ट्रिय अस्तित्व, राष्ट्र, राज्य, धर्मनिरपेक्षता, वैज्ञानिक चेतना आदिसँग पनि जोडिन्छ । साम्राज्यवाद, उपनिवेशवाद विस्तारवाद, रङ्गभेद, जातिवाद आदिका विरूद्ध सङ्घर्ष र एक सुन्दर समाजको निर्माण अग्रगामी विचारको विशेषता हो । साहित्यमा प्रगतिवाद अग्रगामी विचरा हो । प्रगतिवाद वर्ग  र वर्गीय पक्षधरतामा विश्वास गर्दछ । वर्गीय मुक्ति यसको अभिष्ट हो । यो सबै किसिमका बन्धन र उत्पीडनका विरूद्धमा छ । यो उत्पीडित वर्गको मुक्तिको चाहना र त्यसैका निम्ति सङ्घर्षरत छ । प्रगतिवादी नेपाली साहित्यले आरम्भदेखि साहित्य, कलाको विशिष्ट प्रकृति अनुरूप यस प्रकारको भूमिका निर्वाह गर्दै आएको छ । साहित्य, कलाको शिक्षात्मक र संज्ञानात्मक कार्यका दृष्टिले प्रगतिवादी नेपाली साहित्य खरो उत्रिएको पाइन्छ । नेपाली समाजको परिवर्तनमा यसले निभाएको भूमिका उल्लेखनीय रहेको छ । यसले प्रगतिवादी नेपाली साहित्यको वैचारिक लेखनलाई देखाउँछ । यो वैचारिक श्रेष्ठता माक्र्सवादी सौन्दर्य शास्त्र यसका विषय र पद्धतिहरूसँग एकाकार भएर प्रकट भउको छ । यसले प्रगतिवादी साहित्य नारा हो भन्ने प्रतिधु्रवीत आक्षेपलाई खन्डन गर्दछ ।

सौन्दर्यात्मक दृष्टिले प्रगतिवादी नेपाली साहित्य प्रतिधु्रवभन्दा कमजोर छैन । कविता र आख्यानलाई यसको साक्ष्यको रूपमा अगाडि सार्न सकिन्छ । विमल निभाका कविता समकालीन नेपाली कवितामा सबैभन्दा बलशाली मानिन्छन् । नारायण ढकालको प्रेतकल्प बलियो आख्यानात्मक कृति हो । कृतिको स्तरीयताको मूल्याङ्कन र पुरस्कारका आधारमा न त प्रचारका आधारमा कमजोर वा औसत कृतिलाई प्रचारको क्रममा उत्कृष्ट ठह¥याउने र भ्रमित गर्ने उत्तरआधुनिक प्रयास वा उत्तर बजार अवधारणा अहिले चरणमा छ । यसका बाबजुद पनि प्रगतिवाद नेपाली साहित्यको केन्द्रमा छ । कविता, आख्यान, समालोचना र निबन्धमा यसको शीर्ष स्थान रहेको छ । यो दृष्टिले प्रतिधु्रवभन्दा माथि र बलियो रहेको छ । प्रगतिवादी साहित्यमा अहिले दर्जनौँ सक्षम र प्रतिभावान स्रष्टाहरू सिर्जनारत छन् । समालोचकहरूको एक गतिलो पल्टन यससँग रहेको छ । यसरी प्रगतिवाद एक प्रतिनिधि वा केन्द्रीय धाराका रूपमा वर्तमानमा गतिशील रहेको देखिन्छ ।

लेखन र प्रकाशनका दृष्टिले पनि यो केन्द्रमा रहेको छ । साठीको दशकपछि लेखन र प्रकाशनमा आश्चर्य लाग्ने गरी बढेको छ । अहिले प्रतिध्रुव यस यथार्थलाई स्वीकार गर्न बाध्य भएको देखिन्छ । यसमा सबैभन्दा ठूलो योगदान माओवादी निकट स्रष्टाहरूको देखिन्छ । साँच्चै भन्ने हो भने अहिले बजार प्रगतिवादी प्रकाशनले भरिएको छ । यो स्तरका दृष्टिले पनि कमजोर छैन, बरू यसको समग्र मूल्याङ्कन प्रगतिवादीहरूबाटै हुन सकेको छैन । प्रगतिवादीहरूका बीच हुने गरेको गाँड कोराकोरले पनि यसमा व्यवधान उत्पन्न गर्ने गरेको छ । जे होस् लेखन र प्रकाशनमा पनि नेपाली साहित्यमा प्रगतिवादको वर्चश्व रहेको छ । प्रगतिवादी साहित्यिक पत्रपत्रिका पनि प्रशस्त प्रकाशित भएका छन् । यसैगरी साहित्यिक गतिविधि पनि निकै बढेका छन् । केन्द्रदेखि मोफसलमा विभिन्न सङ्घ÷संस्थाहरू क्रियाशील छन् । प्रगतिशील लेखक सङ्घ, साहित्य सन्ध्या, प्रतिभा प्रवाह लगायत कम्युनिस्ट पार्टी सम्बद्ध साहित्यिक÷सांस्कृतिक संस्थाहरू क्रियाशील रहेका पाइन्छन् । मोफसलमा आ–आफ्नै ढङ्गले खुलेका प्रगतिवादी साहित्यिक संस्थाहरू क्रियाशील रमहेका पाइन्छन् । मोफसलमा आ–आफ्नै ढङ्गले खुलेका प्रगतिवादी साहित्यिक संस्थाहरूको क्रियाशीलता पनि उल्लेखनीय ढङ्गले बढेको छ । साहित्यिक संस्थाका गतिविधिहरूले प्रगतिवादी साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएका छन् ।

निष्कर्ष

यस अवधारणा पत्रमा अत्यन्त सङ्क्षेपमा केही आधारहरूलाई अगाडि सारेर प्रगतिवादलाई आजको नेपाली साहित्यको प्रतिनिधि वा केन्द्रीय धारा किटान गर्ने प्रयास गरियो । अवधारणा पत्र लामो हुने भ्रमले स्रष्टाहरूलाई सविस्तार प्रस्तुत गरिएन । माथि उल्लेखित आधारहरूले प्रगतिवादको केन्द्रीयतालाई प्रमाणित गर्दछन् भन्ने मलाई लाग्दछ । यस सम्बन्धमा अझ बढी खोज र चर्चा गर्नु हामी सबैको दायित्व हो । समसामयिक धारा भनेर सिङ्गो प्रगतिवादलाई त्यसभित्रै पचाइदिने धन्दा चलेको बेला प्रगतिवादीहरू यस विषयमा अझ बढी गम्भीर बन्न आवश्यक छ । समसामयिक धारा प्रगतिवादको केन्द्रीयताको अस्वीकृतिको रूपमा आएको हो भन्ने मेरा अध्ययनको निष्कर्ष रहेको छ । प्रगतिवाद आजको नेपाली साहित्यको केन्द्रीय धारा हो र प्रगतिवादीहरूले यसै अनुरूप आफ्ना धाराहरूलाई माथि बढाउनु पर्छ भन्ने लाग्दछ ।

(स्रोत : प्रलेस दाङको मुखपत्र, बहिङगा, वर्ष १२, संयुक्ताङ्क ९–१० बाट)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *