स्रष्टा परिचय : स्मृति विम्बमा कवि कैलाश भण्डारी

~प्रद्मुम्न जोशी~pradhumna-joshi

पशुपतिको देवपत्तनमा वि.सं. २०१६ मङ्सिर १९ गते जन्मनु भएका कवि कैलाश भण्डारीले नेपाली साहित्य र साहित्यिक पत्रकारिताको क्षेत्रमा दिनु भएको योगदान अविस्मरणीय रहेको छ । जीवनको अन्तिम घडीसम्म पनि कवि भण्डारीले नेपाली साहित्य र साहित्यिक पत्रकारिताको विकासमा एकसाथ आफूलाई समर्पित गरिरहनु भयो ।

कवि भण्डारीले २०३७ सालदेखि वरिष्ठ कवि एवं नाटककार वासु शशीको सत्प्रेरणाबाट कविता लेख्न सुरू गर्नु भयो । आफ्नो साहित्यिक सिर्जनालाई एउटा क्षेत्रमा मात्र सीमित नराखी साहित्यिक यात्राका विविध पक्षमा आफ्नो कलम चलाउनु कवि भण्डारीको प्रतिभा हो । साहित्यलाई आफ्नो जीवनशैलीसँग अभिन्नरूपमा गाँसिरहने प्रवृत्तिले भण्डारीलाई विविध क्षेत्रमा कलम चलाउन जाँगर र प्रेरणा दिइरहृयो । उहाँले विभिन्न स्रष्टाहरू मौनी बाबा, युगकवि सिद्धिचरण श्रेष्ठ, नातिकाजी, गोविन्द वियोगी, वासु शशी, डा.कुमारबहादुर जोशी, भैरवनाथ रिमाल ‘कदम’, हास्यव्यङ्ग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गणेश अपार, गोविन्दहरि जङ्गम, कलाकार पूर्णबहादुरलगायत विभिन्न डेढ दर्जन स्रस्टाहरूको जीवनी, व्यक्तित्व, कृतित्व, लेख्नु भयो ।

कवि भण्डारीको हाम्रो मिलन (२०५०), मेरो यात्रा (२०५३) र मनमा उदाएको सूर्य (२०६४) कवितासङ्ग्रह प्रकाशित छन् । साथै ‘वासु शशी स्मृति ग्रन्थ, २०५०’ वासु शशीको ‘यौटा नदी छ म आफंैभित्र’ कवितासङ्ग्रह, ‘मान्छेको हृदयबाट गएको मान्छे’ मुक्तकसङ्ग्रह, जस्ता विभिन्न एकदर्जन साहित्यिक कृतिहरूको सम्पादन पनि गर्नुभयो भने सञ्चय र यौवन जस्ता साहित्यिक पत्रिका सम्पादनमा सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो ।

कवि भण्डारीले वि.सं. २०३७-२०६५ सम्म निरन्तर साहित्यिक पत्रिका सुगन्धको सम्पादन तथा प्रकाशन गर्नु भयो तर यसलाई निरन्तरता दिन विभिन्न व्यावहारिक कठिनाइहरूले अवरोध पुर्याए पनि ‘सुगन्ध’ ले साहित्यिक क्षेत्रमा ठूलो योगदान पुर्याएको छ । समय समयमा साहित्यिक व्यक्तित्वहरू युगकवि सिद्धिचरण श्रेष्ठ विशेषाङ्क (२०४२), मदनकृष्ण, हरिवंश विशेषाङ्क (२०४२), वासु शशी स्मृति विशेषाङ्क (२०४९), गोपाल योञ्जन विशेषाङ्क (२०५४), डा. कुमारबहादुर जोशीद्वारा लिखित ‘मृत्यु शय्याबाट बिउँझेर’ (२०५४) जस्ता विशेषाङ्कहरू प्रकाशित गरी अग्रज स्रष्टाहरूप्रतिको आदर र सम्मान गरेको देखिन्छ ।

नेपाली साहित्यलाई माथि उठाउँदै साहित्यप्रतिको रुचिलाई बढाउँदै झण्डै तीन दशक निरन्तर रूपमा ‘सुगन्ध’ पत्रिकालाई जीवन्त राख्ने प्रयत्नमा सम्पादक भण्डारी जुटिरहनु भयो । सुगन्ध पत्रिकाको नामबाट २०३८ सालमा सुगन्ध पुस्तकालयको समेत स्थापना गरेर टोलका मानिसहरूमा साहित्यप्रति रुचि जगाउन घर/घरमा सित्तै पत्रिका बाँड्ने गरेको तथ्य लुक्न सक्तैन । उहाँको साहित्यिक समर्पणअनुरूप अपेक्षित लक्ष्य पूरा हुन नसके पनि उहाँ निरास भने कहिल्यै हुनु भएन । धैर्यवान एवं लगनशील कवि भण्डारी अग्रज साहित्यकारहरूप्रति सम्मान, समर्पण, निःस्वार्थ सद्भाव राख्नुहुन्थ्यो । साथै आर्थिक प्रलोभनबाट आफूलाई सदैव टाढा राखेर साहित्य सिर्जनामा रहनु हुने कवि भण्डारीको बारे वरिष्ठ समालोचक डा. कुमारबहादुर जोशी भन्नुहुन्छ -”कैलाश भण्डारी मूलतः एक लगनशील साहित्यिक पत्रकार एवं परिश्रमी सम्पादक हुन् र साथसाथै यिनी एक कवि एवं खोजकर्ता जीवनीकार पनि ठहरिन्छन् ।”

जुनसुकै परिस्थितिमा पनि संयम भएर काम गर्नुहुने कवि भण्डारी वासु शशी स्मृति परिषद्मा बाह्र वर्ष कोषाध्यक्ष, युगकवि सिद्धिचरण प्रतिष्ठानमा एघार वर्ष कोषाध्यक्ष भई सेवा गर्नुभयो ।

कवि भण्डारी श्री पशुपति जनहित युवा परिवार पशुपतिद्वारा आयोजित कवि गोष्ठी २०४० मा प्रथम पुरस्कार, प्रतिभा समूह बानेश्वरद्वारा प्रतिभा युवा सम्मान २०५३, प्रेस काउन्सिल नेपालद्वारा ‘सुगन्ध’ मासिकलाई २०५३ मा सम्मानित, ‘युगकवि सिद्धिचरण सम्मान २०५५,’ श्री पशुपति युवा क्लब पशुपति, देवपत्तनद्वारा अभिनन्दन २०५६, ‘वासु शशी स्मृति युवा सम्मान २०५६’, भवानी साहित्यिक पत्रकारिता पुरस्कार २०६२, गोविन्द वियोगी पत्रकारिता पुरस्कार विशेष सम्मान २०६५, कर्ण कौशल्या सीता स्मृति पुरस्कार २०६५, लगायत पुरस्कार एवं सम्मानबाट सम्मानित हुनु भएको थियो । आफ्नो लगनशीलताबाट किञ्चित पृथक नरहेका कवि भण्डारीले जीवनभरि कसैप्रति गुनासो नराखी निरन्तर साहित्यिक पत्रकारितामा आफूलाई संलग्न राख्नुभयो-यो उहाँको समर्पण र तपस्या जस्तै थियो ।

कवि भण्डारी मधुमेह रोगले ग्रस्त भएर दुवै मिर्गौलाले काम गर्न सकेन । त्यसपछि झण्डै एक वर्ष हप्तामा दुई पटक डायलिसिस जस्तो खर्चिलो उपचार गराउन बाध्य हुनुभयो । मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरूले बताएपछि उहाँको स्वास्थ्य उपचारका लागि ‘वासु शशी स्मृति परिषद’ को पहलमा आर्थिक सङ्कलन गरी मिर्गौला प्रत्यारोपण गर्ने प्रयास पनि भयो । उक्त अभियानमा सहयोगी हात बढाउन परिषद्ले विभिन्न सङ्घ-संस्था एवम् साहित्यप्रेमी महानुभावहरूमा अपिल गर्यो । केही व्यक्तिहरूबाट प्राप्त आर्थिक सहयोगबाट उपचार सम्भव भयो तर दुःखको कुरा उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेन । सरकारी निकायबाट कुनै चासो देखाइएन । मृत्युसँग लडिरहेका भण्डारी अन्ततः २०६६ असार २१ गते बिहान ६ बजे आफ्नो जीवनबाट हार्नुभो । उहाँलाई मृत्युले सधैँको लागि पराजित गरिदियो ।

यसरी साहित्यिक पत्रिका ‘सुगन्ध’को बास्ना सधैँका लागि यस संसारबाट हरायो । नेपाली साहित्यमा कवि भण्डारीको कलम सधैँको लागि भाँच्चियो । अब उहाँका मित्र, शुभचिन्तक एवम् परिवार (श्रीमती विद्या भण्डारी, छोरी विजया भण्डारी, छोरा श्रीजय भण्डारी) ले कवि भण्डारीको सम्झनालाई मात्र स्मृति विम्बमा साँच्नेछन् ।

अब उहाँका अप्रकाशित कृतिहरू प्रकाशित गर्न कुनै सङ्घ संस्था वा व्यक्तिको ध्यान पुग्न सकेमा कवि कैलाश भण्डारीप्रति सच्चा सम्मान र श्रद्धाञ्जलि हुनेछ । राष्ट्र र समाजले उहाँप्रति सम्झना गरेको ठहरिने छ ।

(स्रोत : मधुपर्क २०६७ साउन )

This entry was posted in स्रष्टा परिचय and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.