कथा : कठिन यात्रा

~हरिप्रसाद भण्डारी~

धेरैले यसै भन्थे। एउटा अनिवार्य यात्रा, शिखरमा पुग्नका लागि हिँडिरहेका थिए यात्रीहरू। थाक्ने पछि पर्थे र हिँड्नेहरू हिँडिरहन्थे, निरन्तर। कहिले भीरको बाटो, कहिले जङ्गलको बास। यात्रा कहाँ हुन्छ र सुगम ! चितुवा र ब्वाँसाको झम्टाइ, तीखा ढुङ्गा र काँडाको घोचाइ।

भोकप्यासका कुरा त सामान्य हुन्छन् यात्रामा। बाटो सजिलो थिएन, आस्था बलियो थियो। आस्था र विश्वासका भर्‍याङ चढ्दै, आशा र भरोसाका जङ्घार तर्दै अघि बढ्दै थिए यात्रीहरू। एउटा ज्योति धिपधिप बलिरहेको थियो, पारि क्षितिजमा।

‘आऊ।’ हाँसेर बोलाउँथ्यो।

‘आऊ।’ अलि वरसम्म लिन आउँथ्यो।

र, कहिल्यै नथाक्न र सधैँ विजयी हुन हौसला दिन्थ्यो।

ऊसँग चहराइरहेका घाउमा लगाउने मलहम थियो। रोगीको रोग निको पार्ने ओखती थियो। र, मूल कुरो त मान्छे मान्छे भएर बाँच्न के चाहिन्छ, त्यो वस्तु थियो।

पहिले त्यहाँ पुगेकाहरूले सुखले जीवन बिताएका थिए। उनीहरू पनि ओर डिलमा आएर छिटो छिटो हिँड्न हुटिङ गर्थे।

“त्यो बाटो गाह्रो छ, नजाऊ। कठिन यात्रा, प्राण जान सक्छ। जीउ गल्न सक्छ। र भएको जेथा पनि गुम्न सक्छ।” एकथरी भाँड्न खोज्थे।

“हिँड्नुपर्छ, हिँड्नुपर्छ, साहस बोकी हिँड्नुपर्छ। एक स्वर, एक लय र एकै लस्कर भएर अघि बढ्नुपर्छ। थाक्नु मृत्यु हो, ज्युँदै मर्न नखोजौँ, हिडौँ जीवनयात्रामा कत्ति हार नखाई।” अघि जानेहरूले हौसला दिन्थे।

“चिसो भएर सुनिनुभन्दा आगो भएर बल्नु ठीक, बाँचेर सधैँ मर्नुभन्दा एकैचोटि मर्नु ठीक। हामी मरे पनि अर्को पुस्ता जन्मन्छ र हामी हिँडेको बाटो पहिल्याएर अघि बढ्छ।”
बाटामा यस्तै कुरा हुन्थे।

+ + + + +

यात्राका क्रममा, बाटाका बीचमा, एउटा आकृति थियो, डरलाग्दो आकृति ! काँचै खाउँलाजस्तो गरी बाटो छेकिरहेको थियो। भोका ब्वाँसाहरू उसका वरिपरि नाचिरहेका हुन्थे दाह्रा देखाएर। छुच्चा गिद्धहरू आकाशमा उडिरहेका हुन्थे नङ्ग्रा उजाएर। र, हिंस्रक चितुवाहरू बाटो छेकिरहेका हुन्थे, काँचै खाउँलाजस्तो गरेर। ती दुष्टहरूले कैयौँ निर्दोष यात्रुलाई जिउँदै मारे, टुक्रा पारे र आफ्नो आहारा बनाए।

“भागौँ, मर्नुहुन्न।” एकाथरी डराउँथे।

“नडराई अघि बढौँ, पछि नहटौँ।” अर्काथरी साहस भर्थे।

रात गाढा हुँदै गइरहेको थियो। आकृति झन्झन् डरलाग्दो देखियो।

“भूत–प्रेत हुन सक्छ।” एकथरी डराए।

“भूत होइन देवता हो।” अर्काथरीले आदर गरे।

“यस्ता भूत–प्रेत खतरा हुन्छन्। तर्साउँछन् र ज्युँदै निल्न सक्छन्। हाम्रा बाबाले भन्नुभएको यस्तासँग निहुँ खोज्नुहुँदैन।” कोही यसो भन्थे।

यसैगरी विभिन्नथरी कुरा छचल्किँदै थिए बाटाभरि।

त्यसले धेरै समयसम्म अघि बढ्न दिएन। बाटोमा अवरोध खडा गर्‍यो। यात्रुमा भ्रम छर्‍यो। तर पनि यात्रा रोकिएन। सबै यात्रु सजग भए। हातेमालो गर्दैगर्दै अगाडि बढ्दै गए। यात्रुको लहर उर्लँदै गयो।

“पछि हट्ने होइन, अघि बढ्नुपर्छ।” सबैका मुखबाट सामूहिक आवाज आयो।

लौरा टेक्ने लौरा टेक्दै, भारी बोक्ने भारी बोक्दै, हलो जोत्ने हलो बोक्दै अनि चर्का चर्का नारा बोल्दै, ठूलाठूला राँका पोल्दै र अवरोधका पर्खाल तोड्दै यात्रीहरू अघि बढ्दै रहे। यात्रीहरू कत्ति नडराई नजिकै आएको देखेपछि आकृति अत्तालियो र बाटो छोडिदियो। यात्रीहरू झन् खुसी भए र आफ्नो लक्ष्यलाई पछ्याउँदै अगाडि बढिरहे।

पारी क्षितिजमा आशाको दीप उज्यालो छर्दै यात्रुहरूलाई बोलाइरहेको थियो।

March 6th, 2010

(स्रोत : Mysansar)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *