बाल कथा : किन खानुपर्छ खाना ?

~मुक्तिनाथ शर्मा~Muktinath Sharma

असीम डाक्टर अङ्कलसँग भेट्न पाएपछि रमाउँछन् । सानो हुँदा असीम डा. अङ्कलको घाँटीमा बसेर कान समाउँथे र डा. अङ्कललाई चाडै दौडाउन भन्थे । असीमले भनेको मान्नुहुन्थ्यो डा. अङ्कल पनि । असीम त्यसो गर्न पाउँदा मजा मानेर खितितिती हाँस्थे । तर असीम अहिले सात वर्षका भइसके । उनी तीन कक्षामा पढ्दै छन् । डा. अङ्कल घरबाट अलि टाढाको एउटा अस्पतालमा काम गर्नुहुन्छ ।

असीम आजभोलि घर आएपछि डा. अङ्कलसँग थुप्रै सवाल जवाफ गर्छन् । एक दिन असीम खाना खाँदै थिए डा. अङ्कल घरमा आउनुभयो । असीमसँग सोध्नुभयो- ‘खाना किन खानु पर्दछ त्यो तिमिलाई थाहा छ ?’ असीमले जवाफ दिए भोक मेटाउन । असीमको जवाफ सुनेपछि डा. अङ्कलले भन्नुभयो- ‘भोक मेटाउन मात्र होइन, हामीलाई बलियो हुन र ठूलो हुनुपर्दछ र त्यसका लागि खानु पर्दछ । भोक लाग्नु भनेको हाम्रो शरीरले केही चाहियो भनेको हो, उसले भनेको नमाने हामी कमजेार हुन्छौँ । उठ्न हिँड्न सक्दैनौ । त्यसैले हामीले खाना खान परेको हो ।

असीमले त्यो त बुझे तर दाल, भात, तरकारी अचार, माछा, मासु, दही, दूध किन खान परेको हो त्यो भने बुझेका थिएनन् । त्यसैले असीमले अङ्कलसँग सोधे, ‘त्यसो भए धेरै थरी खाने कुरा किन खान परेको हो त अङ्कल ?’ डा. अङ्कलले भन्नुभयो स्याबास तिमीले सारै राम्रो कुरा गर्‍यौ असीम ।

असीमले ध्यान दिएर सुन्न थाले भने डा. अङ्कलले जवाफ दिन थाल्नुभयो, ‘हाम्रो शरीर टाउको, नाक, कान, आँखा, मुख हात गोडा आदि विभिन्न अंगबाट बनेको छ, आँखा मात्रै पनि धेरै थोक मिलेर बनेको छ । हाड छ छाला छ आँखी भौं छन् र भित्र पट्ट िएउटा डल्लो छ, त्यसको पनि बीचमा एउटा नानी छ, हाम्रो शरीरका अङ्ग अङ्ग छुट्याउँदै जाने हो भने साह्रै धेरै हुन्छन् । मासुका मात्रै पनि स-साना टुक्रा बनाउँदै जाँदा धेरै धेरै टुक्रा हुन्छ ।’

डाक्टर अङ्कलले भन्दै जानुभयो असीमले सुन्दै जान थाले, ‘हाम्रो शरीर करोडौं टुक्राले बनेको छ । ती सबै टुक्राहरूमा हामीले खाना पुर्‍याउनु पर्दछ । फेरि यहीँनेर अर्को कुरा पनि छ त्यो के भने हामीलाई देख्ने, सुन्ने, हाँस्ने, लेख्ने, पढ्ने चपाउने निदाउने खुसाउने आदि पनि गर्नुपर्दछ । विभिन्न अंगलाई बलियो बनाउन र उनीहरूको काम गर्न सक्ने बनाउन थरीथरीका खाना खान परेको हो ।’ डाक्टर अङ्कलले असीमलाई सोधे, बुझ्यौ ?’

असीमले बुझें अङ्कल भनेपछि डा. अङ्कलले भन्नुभयो ‘हाम्रो शरीरमा हामीले खाएको खाना कसरी जान्छ र सबै अंगमा कसरी पुग्छ त्यो थाहा छ कि छैन नि ? असीमलाई यो कुरा थाहा थिएन । उनले कसैसँग सोधेका पनि थिएनन् । त्यसैले उनले भने ‘थाहा छैन अङ्कल, थाहा पाउन भने मन छ ।’

असीमका कुराले डा. अङ्कललाई पनि रमाइलो बनायो । उहाँले भन्नुभयो ‘हामीले खाए पिएको खाना माछा मासु पानी आदि हाम्रो शरीरको सबै अंगमा पुर्‍याउनु पर्दछ । त्यसका लागि चपाएर मसिनु बनाएर निल्नु पर्दछ । पानी पिएर झोलिलो पनि बनाउनुपर्दछ । रस बनाएर शरीरमा पठाइ त्यसबाट शक्ति लिनु पर्दछ । त्यही शक्तिले हाम्रा सबै काम गर्छ । असीम आज साह्रै महìवपूर्ण ज्ञान पाएँ भनेर राम्रोसँग सुनिरहे । उनको मनको कुरा बुझेर डा. अङ्कलले फेरि भन्नुभयो ‘हाम्रो खाना दाल भात तरकारी अचार माछा मासु त्यसरी शरीरमा पठाएपछि त्यो पदार्थले रगत बनाउँछ । रगतले ससाना नसा मार्फत शरीरका सबै भागमा पुर्‍याउँछ । त्यसो भएपछि हामी स्वस्थ हुन्छौँ । बलिया हुन्छौँ र बाठा हुन्छौँ ।’

असीमले खाना बढी खाए के हुन्छ जान्न चाहेका थिए । डा. अङ्कलले भन्नुभयो एकै दिनमा धेरै कुरा जान्न खोजेर पनि सम्झन गाह्रो हुन्छ । सम्झन सक्ने गरी जान्नु बेस हुन्छ । खाना पनि त्यस्तै हो । एकै दिनमा धेरै खान खाए त्यो पच्दैन । नपचेको खानाले रोग ल्याउँछ ।

– कलङ्की, काठमाडौं

(स्रोत : मुना २०६८ बैशाख)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.