कविता : नरमाइलो तिहार

~कृष्ण पहारी~Krishna Pahari

यसपालीको तिहारमा
सयपत्री फुलेन
मखमली फुलेन/फूलहरू नफूलेपछि
यसपालिको तिहार नआए जस्तो छ ।
यसपालिको तिहारमा
काग कराएन
कुकुर आएन
न त कागको पूजा भयो
न त कुकुरले माला लायो
मन नरमाइलो भएपछि
यसपालिको तिहार नआएजस्तो छ .

यसपालिको तिहारमा
तोरन बाटिएन
तोरनमा फूल सिउरीएन
गाइलाई सातु र नुन ख्वाइएन
विदेश गएको दाई र भाई आइनन्
बहिनीको मन नरमाइलो भएकोछ
यसपालिको तिहार नआएजस्तो छ ।
यसपालिको तिहारमा
देउसिरे र भैली गाइएन
भैली मागिएन
न त सेलरोटी पकाइयो
न त दैलोमा ओखर फोरियो
दाई र भाई विदेश रुदैछन्
बहिनी घरमा रुदैछिन्
यसपालि तिहार नआए जस्तो छ ।
यसपालिको तिहारमा
गाउँमा डोरे पिङ्ग हालिएन
झिलिमिलि बत्ती बालिएन
मनभरि भक्कानो बोकेर
बहिनीको म रोएपछि
तिहार शुन्यतामा परिणत हुँदैछ ।
भावुकतामा भावुक बन्दैछ
विक्षिप्त आँखाहरू आँसु बर्साउँदै
तिहार नरमाइलो लाग्दैछ बहिनीलाई
यसपालि तिहार नआएजस्तो छ ।
यसपालिको तिहारमा
सयपत्री नफूलेपछि
भैली नगाइएपछि
दाई र भाई नआएपछि
तिहार निसाहर बन्दैछ
सप्तरंगी टिका बोक्ने निधार खाली छन्
यसपालिको तिहार नआएजस्तो छ
यसपालिको तिहार रोदनपूर्ण छ ।

पोखराथोक, पाल्पा, तानसेन ।

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *