कथा : अन्त्यहीन कथा

~राजेश विद्रोही~Rajesh Bidrohi

मलाइ थाहा छ तपाइहरु कथा पढ्ने तरखरमा हुनुहुन्छ । तर यो कथा होइन । सूर्यबाट खसेको समयको टुक्रा हो यो जहाँ रातको मात्र होइन दिनको अनुहारमा पनि कालो पोतिएको छ । त्यही कालो समयलाइ प्रकाशमा ल्याउन यहाँ कथा नाम दिइएको छ उज्यालोका कथित ठेकेदारहरुलाइ झुक्याउन ।कथा कहिले सुरु भयो त्यो अहिले पनि रहस्यकै गर्भमा छ । विद्वान्हरु भन्छन् यो कथा वैदिक कालदेखि नै सुरु भएको हो । तर आज लोकतान्त्रिक युगको कथा सुनाउँद्छु जहाँ मानवअधिकार मात्र होइन महिला अधिकारका रक्षकहरु पनि बग्रेल्ती छन् । अब कथा सुरु गरौं ।

जसरी परम्परागत कथाहरु अकस्मात् सुरु हुन्छन् त्यसै गरी यो कथा पनि अकस्मात् सुरु हुन्छ । एक रात अकस्मात् मेरो निन्द्रा भङ्ग भयो । बिस्तारै आँखा उघारें मेरी श्रीमती कुममा कोट्याइरहेकी थिइन् ।’के भो’ निन्द्रा बिथोलिएकोमा मलाई रिस उठेको थियो । त्यो रिसको केही मात्रा मेरो आवाजमा पनि घोलिएको थियो ।

कविताले कानमै मुख जोतिन् ‘बिस्तारै बोल्नुस् न’

‘किन र के भो’ अब भने म सावधान भएँ । मेरो निन्द्रा हराइसकेको थियो ।’उठ्नुस् न ।’ उनी फुसफुसाइन् ।

म आँखा मिच्दै उठें र सिरानमा राखिएको मोबाइल झिकेर हेरें साढे ११ बजेको रहेछ । मोबाइलको मधुरो प्रकाशमा मैले कविताको अनुहार नियालें उनका आँखामा भय र थोरै आक्रोश समेटिएको थियो ।

‘तिमी डराएकी छौ । डरको कारण के हो’ उनको भयग्रस्त अनुहारमा आँखा गाडेर मैले प्रश्न हुत्याएँ ।

‘आज फेरि…।’ उनको वाक्य पूरा भएन ।

‘आज फेरि अनि के त ‘ मेरो प्रश्नको जवाफमा उनी बोलिनन् । मेरो दाहिने हात समातेर तान्दै भु्यालमा पुर्याइन् र चौकतिर औंला तेस्र्याइन् । दॄश्य देखेर म झस्किएँ । हाम्रो कोठा दोस्रो तलामा थियो । घर दक्षिणपट्टि फर्किएको भए पनि पूर्वपट्टिको भुयालबाट चौकको सम्पूर्ण भाग स्पष्ट देखिन्थ्यो । हाम्रो घरदेखि दक्षिण-पूर्वमा एउटा सानो गुम्ती थियो । गुम्तीको दाहिनेपट्टि सानो भाग थियो जहाँ सडक-बत्तीको उज्यालो पुग्दैन थियो । त्यही कालो भागमा केही काला आकृतिहरु चल्मलाइरहेका थिए । मेरी श्रीमती मलाइ र त्यही दृश्य देखाइरहेकी थिइन् ।

यस चौकका लागि यो नयाँ दृश्य होइन । केही हप्ता वा केही महिनाको अन्तरालमा यस्तो दृश्य दोहोरिरहन्छ । कहिलेकाहीँ त हप्तामै कैयौंपटक दोहोरिरहन्छन् ।

सडक-बत्तीको एक टुक्रा प्रकाश भुयालबाट कोठामा पोखिएको थियो । त्यही मधुरो प्रकाशमा मैले श्रीमतीको अनुहारमा हेरें त्यहाँ कुनै भाव थिएन । उनी एकोहोरो त्यो दृश्य हेरिरहेकी थिइन् । मैले उनलाई तानेर ल्याएँ र खाटमा बसाएँ । उनी अझै पनि केही बोलिरहेकी थिइनन् ।

‘कविता’ उनको जीउ समातेर हल्लाउँदै मैले मधुरो स्वरमा बोलाएँ ।

‘हँ॥’ उनी झस्किइन् ।

‘कहाँ हरायौ तिमी’ मैले प्रश्न गरें ।

‘हामी यो दृश्यलाइ रोक्न सत्तैुनौं’ उनी आफ्नै सुरमा थिइन् । शायद मेरो प्रश्नप्रति उनको कुनै ध्यान थिएन ।

‘तिमीलाइ थाहा छ यहाँको लागि यो कुनै नयाँ कुरा होइन ।’ मैले सम्झाउने प्रयास गरे ‘यस्तो कुरामा अनावश्यक चासो नलिनु नै उचित हुन्छ ।’ उनले कुनै प्रतिवाद गरिनन् । मलाइ थाहा छ मेरो भनाइले उनको चित्त बुझेको थिएन । तर हामी लाचार थियौं वा लाचार नभए पनि आफूलाई लाचार ठानिरहेका थियौं ।

कविताले विद्रोह गर्नु पर्थ्यो तर त्यसो भएन । मैले पनि त विद्रोह गर्न सकिनँ । उनले विद्रोह गरेकी भए यस कथाले अर्कै रुप लिन्थ्यो । तर उनले परम्परालाइ चुनौती दिने आँट गरिनन् र कथाले अर्को रुप लिन पाएन । त्यो दृश्यका प्रत्यक्षदर्शी हामीमात्र थिएनौं । हामीलाइ थाहा छ चौकवरिपरि ठडिएका घरका भु्याल-भु्यालबाट महिला-पुरुषले त्यो दृश्य हेरेका छन् वर्षौ देखि हेर्दै आएका छन् । तर दृश्यमा कुनै परिवर्तन भएको छैन ।

भोलिपल्ट स्थानीय भद्रभलाद्मी र बुद्धिजीवीबीच राति देखिएको दृश्यबारे बिहानैदेखि चर्चा र छलफल चल्न थाल्यो । उनीहरु सबै चा्ैकको एउटा चिया पसलमा भॆला भएका थिए र समस्या समाधानका उपाय खोजिरहेका थिए । अन्दाजी २२÷२३ वर्षकी एउटी लठेब्री त्यहीँ एउटा कुनामा बसेर चिया खाइरहेकी थिई र आफ्ना घिनलाग्दा पहेंला दाँत देखाएर बेला-कुबेला अना्ैठो आवाज निकालेर हाँसिरहेकी थिइ । भलाद्मीहरुको चर्चाको विषय पनि उही नै थिई अर्थात् अघिल्लो रात देखिएको दृश्य उसैसँग जोडिएको थियो ।
त्यस लठेब्रीका आफन्त र घरको कुने ठेगान थिएन । ऊ त्यस चौकमा कहाँबाट र कहिले आइपुगी यसको जानकारी पनि कस्लाई थिएन । ऊ यसलायक पनि त थिइन ऊ कतैबाट चौकमा आइपुगेकी थिई । सम्भवतः वैदिक कालदेखि नै ऊ यसै गरी चौक-चौकमा घुमिरहेकी छे । चौकवरिपरिका हुटेल र घरका मानिसहरुले दया गरेर दिएका चोखो-जुठो खानेकुरा खान्छे र खुला आकाशमुनि चौककै कुनै कुनामा बसेर लोकतन्त्रलाइ गिज्याइरहन्छे ।

अघिल्लो रात त्यही लठेब्री बलात्कृत भएकी थिई । चार÷पाँचजना भुस्तिघ्रेहरुले उसलाइर्् लुछेका थिए । चौकमा बारम्बार दोहोरिरहने दृश्य यही हो । तर यो दृश्यलाइ रोक्न अग्रसर हुने आँट अहिलेसम्म कसैले गर्न सकेका छैनन् । ती गुन्डा केटाहरुसँग शत्रुता गर्न जोखिमपूर्ण हुने विषयसँग सबै परिचित थिए । चलचित्रमा भए नायक जन्मिन एक मिनेट पनि लाग्दैन । तर यो वास्तविक संसार हो । वास्तविक संसारमा नायकको जन्म हुन एक युग पनि छोटो हुन्छ ।

हो यसरी त्यो लठेब्री बारम्बार बलात्कृत भइरहेकी थिई र सभ्य समाजलाइ चिन्तित बनाइरहेकी थिई । हरेक बलात्कारपछि त्यो लठेब्री प्रायः गर्भवती हुन्थी र त्यो गर्भ नै समाजका भद्र नागरिकहरुका लागि चिन्ताको विषय हुन्थ्यो । बलात्कार फलस्वरुप त्यो लठेब्री चारपटक आमा बनिसकेकी छे । ती चारैवटा शिशुको ‘बोझ’ समाजमाथि थपिएको छ । चारै शिशु अहिले अनाथालयमा छन् ।

समाज थप ‘बोझ’ बोक्न चाहँदैन थियो । त्यसैले हरेक बलात्कारपछि उसको गर्भमा हुर्किने भ्रुणको हत्या गर्न थालिएको थियो । भ्रुण-हत्याको क्रम पनि लामो भइसकेको थियो । त्यसैले समाजका भद्र नागरिकहरु यो अन्त्यहीन शृङ्खलाबाट पनि मुक्ति चाहन्थे । त्यसै क्रममा भद्रभलाद्मीहरु चिया पसलमा भेला भएका थिए । समाधानका थुप्रै उपाय आए तर लठेब्रीको सुरक्षा उनीहरुको एजेन्डा बन्न सकेन । अन्ततः एउटा सुझावमा सबै सहमत भए । जस्तो कि हरेक समाजमा केही ‘जान्ने-बुझ्ने’ मानिस हुन्छन् त्यहाँ पनि त्यस्ता मानिसको अभाव हुने कुरै भएन । तीमध्ये एकजनाको सुझाव यस्तो थियो लठेब्रीलाइ अस्पताल लगेर पाठेघर झिक्न लगाउने ।

सबैभन्दा उपयुक्त सुझाव यसैलाइ ठहर्याइयो । गर्भपतनको झन्झटबाट मुक्त हुने यसभन्दा उपयुक्त उपाय अर्काे थिएन । उसलाई तत्कालै अस्पतालमा लगेर भर्ना गरियो । महिला अधिकारका पक्षमा वकालत गर्ने एउटा गैरसरकारी संस्थाले खर्च व्यहोर्ने जिम्मा लियो । लठेब्रीलाइ पाठेघरविहीन बनाउन समाजका सबै अङ्ग परिचालित भए समाजसेवी र जनप्रतिनिधिहरु पनि सकि्रय भए । एउटी असहाय र अबलालाई ‘उद्धार’ गर्न पाएकामा सबै गौरव गरिरहेका थिए । केही दिनपछि लठेब्री पाठेघरविहीन भर्इ । चिकित्सकहरुले शल्यकि्रया गरेर उसको पाठेघर झिकिदिएका थिए । उसलार्इ फेरि त्यही चा्ैकमा ल्याइयो र पहिलेजस्तै खुला आकाशमा छोडियो ।

त्यसपछि पनि उसको दिनचर्यामा कुनै परिवर्तन आएन । सडक-बत्तीको उज्यालो नपुग्ने कालो छायाँमा काला आकृतिहरु फेरि पनि चलमलाइरहे । तर समाजका भद्र नागरिकहरु भने अब ढुक्क भएर निदाउन थालेका थिए किनभने आफूलार्इ ‘बोझ’ हुने शिशुको जन्म हुने खतरा अब थिएन । मेरी श्रीमती भने अहिले पनि एकोहोरिन्छिन् र झ्यालमा बसेर दृश्य हेरिरहन्छिन् । शायद हरेक घरका झ्यालमा महिलाहरु यसै गरी उभिएका छन् र नयाँ युगलार्इ भित्र्याउने तयारी गर्दैछन् ।

कथा अहिले पनि जारी छ । कहिले होला यसको अन्त्य !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.