कथा : त्यसपछि निधाइन् बहिनी

~महेश पौड्याल~ Mahesh Paudyal

म एघार वर्षको । बहिनी आठ वर्षकी । त्यसैले म नै ठुलो । मैले बहिनीलाई बोकें । आमाले पोको बोक्नुभो । त्यस पोकोमा धेरै कुरा थिएनन् । केही थोत्रा लुगाफाटामात्रै थिए । खाने कुराचाहिँ केही पनि थिएन ।

झिसमिसेमै हामीले मेचीको पुल काट्यौं र नेपाल पस्यौं । आमाले कसरी हामीलाई भुटानबाट यहाँसम्म ल्याउनुभो, म बुझ्दिनँ । भुटानको पुलिसले आमालाई फुयेन्सोलिङ् गेटमा लछारपछार पारेको त हामीले देखेका हौं । तर केही गर्न सकेनौं । मलाई पनि हान्यो एक झापड । म अलि ठुलो भैदिएको भए त्यसलाई एक लात्ती दिन्थें । आमाले आँखाभरि आँसु परेर हामी दुवैलाई भारतको सिलिगुडी हुँदी तीन दिन, तीन रातको बाटो पैदल यहाँसम्म ल्याउनुभएको हो ।

काँकडभिट्टा आएपछि झमक्क रात प¥यो । सबैतिरका गाडी छुटिसकेका थिए । आमासँग सायद पैसा थिएन । हामी कुनै होटलतिर गएनौ । बरु सडकको बायाँपट्टि अलि भित्रतिर एउटा मन्दिरको गेटनिर पुगेपछि आमाले पोको बिसाउनुभयो र भन्नुभयो, “हामी आज यही मन्दिरमा बस्ने ।”

मैले यताउति हेरेँ । कोही मान्छे देखिएनन् । छेउछाउ एउटा–दुइटा कुकुरहरू लखर–लखर हिँडिरहेका देखिए । पुसको जाडो, चिसो । आमासँग खासै बाक्ला लुगा पनि थिएनन् । दिउँसै आइपुगेका भए हामी सुरुङ्गा जानेथियौँ, ओमकार दाइकहाँ । तर राति गाडी थिएनन् ।

हामी केही नखाई सुत्यौँ । भोक असाध्यै लागेको थियो । बहिनी त झन् भोकले लाचारै भएकी थिइन् । धन्न मचाहिँ अलि ठुलो, एघार वर्षको थिएँ र खप्न सकेँ ।

रात अलि छिप्पिएपछि हामी झन काम्न थाल्यौँ, जाडोले । चिसो, सिमेन्टीको भैँ । सबैतिर खुल्ला । सिरेटो आएको आयै, चारै तिरबाट । बेलाबेला पर सडकमा हुइँ गरेर कुदेका सामान बोक्ने ट्रकजस्ता केही देखिन्थे, सडकै उज्यालो पारेर हुइँकिने ।

कस्तो चिसो । मेची नदीतिरबाट बग्ने चिसोे हावा हामीलाई छोएर जान्थ्यो । लामखुट्टेको स्वाहाँरो उस्तै ।

भुटानमा घरभरि कति चामल र मकै थिए हाम्रा । बारीमा लटरम्मै फलेका सुन्तला छोडेर आएका थियौं हामी । आठदस दाना टिपेर झोलामा हालेको भए पनि त हुन्थ्यो । तर भुटियाहरूले घरमा आगो लाइदिएपछि बाहिर सुकाएका दुईचारवटा लुगामात्रै टिपेर हामी भागेका थियौँ । अहो, रैदाक नदी किनारमा आइपुग्दासम्म त फर्केर पनि हेरेनौँ ।

आमा निकै थाक्नुभएको थियो । केही बेरपछि निधाउनुभयो । बहिनी निदाइनन् । टुलुटुलु हेरिरहिन्, मन्दिरबाहिर खाँबामा झुण्डिएर कस्तरि बलिरहेको बिजुली बत्तीलाई । बत्तीका वरिपरि कति हो कति पुतली र भुसुना ।

“दादा, ती भुसुनाहरू बत्तीको उज्यालो पिउँछन् हो?” उनले सोधिन् । मैले जवाफ दिइनँ ।

मैले बिहिनीलाई अँगालोमा बाँधे र ज्यकेटले बेरे । अलि न्यानो भयो कि? अनि भनँे, “नानी, अब उज्यालो हुन्छ एकछिनमा, अनि हामी सुरुङ्गा जाने, दाइकोमा । तिमी निधाऊ है ।”

उनी निधाउन खोजिन् । तर एकैछिनमा पुनः आँखा खोलिन् । म पनि निधाउन साकिनँ । रात अझै बाँकी थियो । मैले आमालाई बोलाउँ कि भन्ने सोचें, तर दिनभरिको हिँडाइ र भारीले थाकेको उहाँको अनुसार सम्झेर बोलाइनँ ।

कसै गरे बहिनी निधाइनन् । अन्त्यमा मैले कथा भन्ने सूर झिकेँ । बिहिनीलाई मन पर्ने सुनकेशरी रानीकै कथा सुरु गरेँ ।

“दादा, अनि सुनकेशरी रानीलाई रुखमाथि चढेर बस्दा भोक लागेन?”
मैले कथा परिवर्तन गरेँ । यो कथा ठीक छैनजस्तो लाग्यो । बरु सुगा र मैनाको कथा पो राम्रो होला । म कथा भन्न थालेँ । उनी बढो ध्यान दिएर कथा सुन्न थालिन् ।

“दादा, अनि ती सुगा र मैना पनि चिसोमा हामीजस्तै मन्दिरमा काँमेर रात काट्थे हो?”

मैले फेरि कथा फेरेँ । रात निकै गहिरो भइसकेको थियो । आमा आधा जिउ मजेत्रोले ढाकेरै भएपनि निधाइरहनु भएको थियो । मेची पुलमाथि पुलिस कराएको आवाज मन्दिरसम्मै आएको सुन्यौँ हामीले । यताको हो कि उताको हो, कुकुर पनि भुक्यो । कुकुरको आवाज त पुलपारि वा पुलवारि उस्तै पो हुँदोरहेछ !

“हाइ रानी चाँदनीले त्यो उड्ने बाकसमा चढेर आएको जवानलाई भेट्ने विचार गरिन् । त्यो जवान तीन दिन तीन रात उढेर त्यहाँ आएको थियो ।”

“तीन दिन, तीन रात?”

“हो नानी ।”

“हामी पनि भुटानबाट तीन दिन, तीन रातमा यहाँ आइपुगेका है, दादा । उसो भए ऊ पनि हामीजस्तै भोकाएको होला है । दादा, तपाईलाई भोक लागेको छैन?”
मेरो कुनै पनि बहिनीलाई मनपरिरहेका थिएनन् । मसँग बहिनीलाई अल्मल्याउने अरु कुनै उपाय पनि त थिएन । झोलामा केही पनि थिएन । रातिको कुरा, कतै गएर कसैसँग केही मागेर खाने पनि उपाय थिएन ।

बहिनीलाई त्यहीँ छोडेर म मन्दिरबाट फुत्त बाहिर निस्केँ । बाटामा भेला भएका भुसिया कुकुरले मलाई खाउँलाजस्तो गरेर झम्टिए । म दौडेर मन्दिरभित्र पसें र फेरि बहिनीलाई घुम्लुङ्ङ अँगालो मारेर सुतेँ ।

“दादा । फेरि कथा भन्नु न ।”

कुन कथा भन्ने? बहिनीले आज कुनै पनि कथामा चासो दिएकी थिइनन् । कथा भनेपछि हुरुक्कै हुने बहिनीलाई के भएछ, म पनि जिल्ल परेको थिए । फेरि उनले कथा सुन्छु भनेपछि म उत्साहित भएँ, र कथा भन्न थालें, “फर्सिबहादुर जन्मेपछि उसका बाबु आमा निकै दुखी भए । फर्सिजस्तो टाउको भएको छोरो, देखाउन पनि लाज लाग्ने । उनीहरू घरैभित्र बसेर रुन थाले । त्यो देखेर भर्खर जन्मेको फर्सिबहादुरलाई पनि निकै नरमाइलो लाग्यो । त्यसैले मध्यरातमा ऊ सुटुक्क घरबाट बाहिर निस्कियो, र चिसो जाडोमा काम्दै काम्दै रात बितायो ।”

बहिनी जुरुक्क उठिन् । उनका आँखा ठुला ठुला भए । आँखामा एक प्रकारको खुुसी देखियो ।

“दादा, उसलाई भोक पनि लागेको थियो हो?”

म झसङ्ग भएँ । मैले गलत कथा छानेछु । मैले सँच्याएँ, “हैन । अनि उसका बाबु आमा आएर उसलाई भित्र लगे र माया गरेर दूध ख्वाए ।”

“फर्सिबहादुरको कथा नसुन्ने दादा ।”

“केको कथा सुन्ने त, नानी?”

“दादा, भोकको ।”

मसँग भोकको कुनै कथा थिएन । उनी अरु केही नसुन्ने भइन् । मैले कथेर भनें एउटा लामो कथा भोकाएको एक बालकको । कथाको बीचतिर मैले पुलुक्क हेरे उनलाई । उनी निधाइसकेकी थिइन् ।

एकाबिहान चारबजेको झिस्मिसेमै पुजारी आएर “हट, हट उठ” भनेर कराउँदा म र आमा ब्युँझियौं । बहिनी अझै निदाइरहेक थिई । राति अबेरसम्म नसुतेकीले होला, मैले सोचें । तर आमाले पटकपटक झक्झक्याउँदा पनि ऊ उठिन । त्यस बिहानको तुषारोभन्दा पनि चिसी भइसकेकी थिइन् मेरी बहिनी । कथा सुनेर निधाएकी उनी आफैं भोकको एउटा कथा भैसकेकी थिइन् ।

(स्रोत : कोपिला, कान्तिपुर, मङ्सिर ९, २०७०)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.