कविता : जेल

~कृष्णसेन ईच्छुक~Krishna Sen 'Ikchchuk'

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु
तिमी पहरा बाहिर छौ
म यातना गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पऱ्यो र ?
मित्र, अर्काको मुट्ठीभित्र पराधीन जिन्दगी
जहाँ काटनु परे पनि त्यो जेल हुन्छ।

जहाँ जीवन बन्धनभित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैं अवैध हुन्छ
जहाँ मुक्त आकांक्षा बन्देज हुन्छन्
जहाँ हार्दिक भावहरुमा ठेस लाग्छ
अनि जहाँ वासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क शास फेर्न प्रतिबन्ध हुन्छ
बन्दुकको पहरा होस्
अथवा त्यो कानुनको घेरा होस्
के फरक पऱ्यो र ?
मित्र, भयभित परिवेशमा त्रासित जिन्दगी
जहाँ बाच्नु परे पनि त्यो जेल हुन्छ।

जहाँ बेला-कुबेला रमन घुमिरहन्छ
जहाँ कारण-अकारण साइरन बजिरहन्छ
सडकमाथि बेलगाम घोडाको टाप जस्तै
जहाँ चर्को आवाज गरी मार्च-पास चलिरहन्छ
अनि जहाँ मौसम-बेमौसम बारुदहरु गर्जेर
सधैं रगतको झरी परिरहन्छ
पर्खालभित्र होस्
अथवा त्यो पर्खाल बाहिर होस्
के फरक पऱ्यो र ?
मित्र, सधैं छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नु परे पनि त्यो जेल हुन्छ।

उही दिन सधैं उही रात सधैं
उही बिहान र साँझ साथ छ
उही स्वप्नभंग विवश जिन्दगी
उही गतिहीन समय साल छ
निकास बिनाको बन्द तालजस्तै
जहाँ गन्दा समाजसाथ अँधेरो बास छ
कुनै अनाम देश होस्
अथवा त्यो प्रिय स्वदेश होस्
के फरक पऱ्यो र?
मित्र, उत्पीडित समाजमा पद्दलित जिन्दगी
जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ।

(संग्रह: इतिहासको यस घडीमा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.