कथा : कोकोहोलो

~एकराज प्रधान~Ekraj Pradhan

कठ्याङ्ग्रिँदो पुसको स्याँठ । घरि–घरि बन्द झ्यालको चेपचापबाट छिर्छ र सिरिङ्ग बनाएर जान्छ शरीरलाई । त्यही चिसोसँगसँगै हजुरआमाले फेरिरहेको एकोहोरो सास रोकिन्छ र छाती नै चर्केलाझैँ गरी निस्कन्छ खोकी । नसाहरु फुलिन्छन् । हत्तपत्त म अघि बढ्छु, टाउको सुम्सुम्याउँछु । विस्तारै शान्त हुन्छ खोक्ने क्रम । अनि म कुङ्लिङ परेर अस्पतालको बेडलाई सिरानी हाल्छु र मेचमा अडिन्छु । रात चकमन्न छ, हजुरआमाको एकोहोरो घ्वार्रघ्वार्र आवाजबाहेक । त्यसमा अरुहरुको पनि ऐयाऽया मिसिन्थ्यो बेलाबेला । ओर्तिरपर्तिर पनि थुप्रै हजुरबा–हजुरआमा छन्, पुसको जाडोले अँठ्याएपछि भर्ना भएकाहरु ।

एकजना हिजैदेखि लम्पसार छन् । अक्सिजन दिइरहेको । ३०–३५ वर्षे जवान । बुढा बाबु यताउता दौडँदै थिए । आमा रुँघेर बसेकी थिइन् उसलाई । अहिले दुवै छैनन् । ‘बाँच्दैन, डाक्टरले बिदा दिइसक्यो, अब घर लाने रे !’ छेवैको बेडमा बसेकी मोटी दिदी बोलिन् । ‘विचरा ! पैसै नभएर मात्र हो । टाउकाको अप्रेसन गर्नुपर्ने रे ! कम्तीमा पनि तीन–चार लाखको कुरा । कहाँबाट ल्याउन् । पैसा नहुनेलाई त यो महँगो । अस्पतालका डाक्टर–नर्सले छुँदा पनि छुँदैनन् । च्व च्व, हेर यो उमेरमै !’ लडेर टाउकोमा रगत जमेको कुरा त्यही गाइँगुइँबाट थाहा पाएको थिएँ । एकछिन्मा त्यो बेड खाली भो । रुवाबासी गर्दै उसलाई एम्बुलेन्समा चढाइयो । मैले झ्यालबाट देखिउन्जेल हेरिरहेँ । अस्पताल, धेरैलाई बाँच्ने आश हुन्छ यहाँ ल्याइपु¥याउँदा । जब–जब पैसा सकिँदै जान्छ, आशा पनि मर्दै जाँदो रहेछ ।

म फेरि मेचमै पुग्छु । चिसो फेरि पस्छ कता–कताबाट, आङ जिरिङ्ग हुन्छ । आँखा हजुरआमाले ओढिरहेको ब्लाङ्केटमा ठोक्किन्छ । लाग्छ, एकछिन् उहाँकै न्यानो ब्ल्याङ्केटमा गुजुल्टिउँ । तर, अरुले के भन्लान् ! आफ्नो त यसबेला उहाँ मात्रै हुनुहुन्थ्यो, जसको होसै छैन । मस्त निद्रा परेझैँ उहाँले आँखा चिम्लिनु भएको छ । अक्सिजन सिलिन्डरबाट पाइप हुँदै उहाँको नाकमा पुगेर प्राण भर्दै थियो । स्लाइनको तप्काइ र घडीको काँटाको गति लगभग उही थियो । इमरजेन्सी कक्षमा थियौँ हामी, समय निकै ढिलो गुज्रिएझैँ भइरह्यो मलाई ।

निदाउन सकिनँ । वरिपरि हेरेँ, थुप्रै थिए त्यहाँ मजस्ता रुँघालु । कोही साउतीमा गफिँदै थिए, कोही मजेत्रो ओडेर फुस्फुसाउँदै । मन पुराना दिनका यादहरुमा टाइमपास गर्न थाल्यो —
‘ए साने, के गर्दैछस् त्यहाँ ?’, मामुको चर्को आवाज ।

‘आमासँग आगो ताप्दैछु’, हजुरआमाको काखबाटै बोलेँ म । भाँडामा खोले बुलुकबुलुक गर्दैथ्यो । अँगेनाको दाउरा ठ्याकठ्याक पार्दै उहाँले भन्नुभो, ‘जा, अहिले यहीँ आएर पिट्छे ।’

‘छिः छिः फोहोरी, तँलाई त्यो फोहोरी बुढीकहाँ नजा भनेको होइन ? फेरि मरिस् !’, कर्कश आवाज फेरि मैतिर हुत्तियो ।

हजुरआमाले सकिनसकी मलाई उठाउनुभो र जाने इसारा गर्नुभो । म न्याउरो भएर मामु नजिक पुगेँ । उहाँले हु¥याउँदै मलाई भान्सा पु¥याउनुभो ।

‘भात घिच्ने बेलामा फोहोरीकहाँ जान्छस् !’

म काठे पिर्कामा थचक्क बसेँ । उहाँ खाना पस्कन थाल्नुभो । एकछेउमा घ्यु, अर्को छेउमा तरकारी, कचौरामा दाल, अचार, एक गिलास दूध ठीक पारेर मतिर सार्नुभो । मैले फर्केर गोठतिर चिहाएँ । हजुरआमा सकीनसकी आगो फुक्दै हुनुहुन्थ्यो ।

‘कता टोलिन्छस् ए, खुरुखुरु खा । सेलाएपछि मिठो हुँदैन ।’

‘आमालाई खै त ?’ डर मिश्रित आवाज निस्कियो ।

‘छ–छ । ठिक्क पारेको छु । तँ खा अनि पु¥याइदे ।’

म फुर्केर कपाकप खान थालेँ । सिध्याएँ ।

‘ला, यो लग्दे’, कराही निकाल्नुभो ।

बोकेरे कुदेँ । अनि सामुन्नेमा राख्दै भनेँ, ‘आमा, खाना ।’

उहाँँले गाला सुम्सुम्याउनुभो मेरो । फिस्स हाँस्नुभो । कत्ति नसुहाउँदो । दाँत नभएर होला ! निधार र गालामा मुजा परेर पनि होला !

‘तात्तातै खानुस्, सेलायो भने मिठो हुँदैन रे’, म जान्ने भएँ । ढकनी उघार्नुभो । देखेँ, त्यहाँ दाल, बेलुका पाकेको साग, अचार, सबै एकै ठाउँमा । उहाँले हात धोएर गम्गम् मुस्नुभो र ठुल्ठुलो गाँस हाल्नुभो ।

‘मिठो छ है ?’ सोधेँ ।

‘तैँले ल्याएको पनि नमिठो हुन्छ त ?’ उहाँले फेरि फिस्स गर्नुभो । तर, नमिठो गन्ध मेरो नाकमा ठोकिँदै थियो । मामुले किन यस्तो गरेको होला ?

‘ए… तँ के गर्दैछस् हँ त्यहाँ ?’ बाबाको आवाज ।

‘जा… ’ आमाले आँखाले इसारा गर्नुभो । म दौडिएँ बाबातिर ।

‘आमालाई किन त्यहाँ राख्नुभाको बाबा ?’ पुगेर सोधिहालेँ ।

‘फोहोरी छिन् नि त, आका आ’को पनि था पाउँदिनन् । सु गरेको नि था पाउँदिनन् । ओछ्यानमै सु गर्छिन् । गन्हाउँछिन् । घरमा राख्यो भने घरै गन्हाउँछ । त्यसैले ।’

‘अनि सफा गर्दिनु नि ।’

‘तेरी आमाले तँलाई त सफा राख्न भ्याउँदिन, मलाई फुर्सदै हुँदैन ।’

‘म त आमासँगै बस्छु । कथा सुन्दै ।’

‘तँ जान्ने न हो । अबदेखि त्यहाँ गएको देखेँ भने…. ।’

मलाई रुन आयो । रोएँ । मामु र बाबाले फकाउँदा पनि मानिनँ । आमाकहाँ पु¥याइदिनुभो ।

‘ल आमा, यसलाई राम्ररी हेर्नु । धेरै नपुल्पुल्याउनु । बिग्रेला । हामी बारी गाको ।’, बाबाले भन्नुभो ।

हजुरआमाले मलाई काखमा लिनुभो । मनैमन खुसी लाग्यो ।

पुसको चिसो होस् या चैत–वैशाखको घाम, हजुरआमाले ओछ्याउने त्यही पराले गुन्द्री थियो । त्यसमाथि कमल र थोत्रो सिरक । ओछ्यान मुत्नुहुन्छ भनेर बोरा ओछ्याइएको थियो । गोठबाट आउने नमिठो गन्ध र त्यो कम्बल–सिरकको गन्ध उस्तै । धुने ताकत हजुरआमामा थिएन, मामुसँग मन ।

‘आमा तपाईं किन यहाँ बस्नुभा’को ?’ सोधेँ ।

‘मलाई यहीँ राम्रो लाग्छ नि ! किन सोधेको ?’

‘मामुले किन तपाईंलाई खालि गाली गर्नुहुन्छ ?’

‘ऊ रिसाकी छे ।’

‘किन ?’

‘म काम गर्न सक्दिनँ । जिउले भर दिँदैन । दिसा आउँछ, पाइखाना नपुग्दै गइहाल्छ । पिसाब आउँछ, थामिँदैन । के गर्नु र ! रोगै यस्तो छ । अलिकति काम ग¥यो कि दम बढिहाल्छ । खानलाई मात्र बाँचे जस्तो भा’को छ । कालले पनि किन नलगेको हो !’

उहाँले पुरानो गुजुमुज्जे थैली पोल्टाबाट कोट्याएर निकाल्नुभो । त्यसबाट एउटा ढक्की पैसा निकाल्नुभो र देखाउनुभो । रमाएँ, ‘अहा ! एक रुप्पे !’

त्यसबेला निक्कै महत्व थियो त्यो एक रुपैयाँको । अघाउँजी चकलेट आउँथ्यो । चारआना, आठाना पनि फिर्ता हुन्थ्यो । स्कुल लान पाइयो भने त सबैभन्दा धनी । त्यसैले म रमाएँ । उहाँले भन्नुभो, ‘यही हो मान्छेलाई राम्रो–नराम्रो बनाउने । धन छ त सबै छ, छैन त कोही छैन । अस्तिसम्म तेरो हजुरबा हुँदा मसँग हम्मेसी पैसा हुन्थ्यो । तेरी आमाले मलाई राम्रो गर्थी । छोरीहरु पनि आइबस्थे । हजुरबा मरेपछि सबैकुरा तेरो बाउको हातमा गयो । म आशे भएँ । जसले जे दियो, त्यही लिने । शरीर तगडा हुञ्जेल त गरेँ, जत्ति गर्नु । शरीरै गलेपछि के गर्नु र ! अहिले म बोझ भएकी छु । सबैका लागि ।’, उहाँका आँखाका चेप भिज्दै गरेको देखेँ ।

‘यो बुढी हग्छे–मुत्छे भनेर आफ्नै छोरो टाढा हुन्छ । त्यो सानो छँदा गुमुत नभनी च्यापेर हिँडेँ । सात काम छाडेर स्यारेँ । कतिबेला भोक लाग्छ, कति बेला तिर्खा लाग्छ भनेर सोधेँ । आज मलाई कसैले सोध्दैन, बोल्दैन । दुई बचन मिठो बोल्ने फुर्सद कसैलाई छैन । कति बेला यो बुढी खुस्किन्छे र ढुक्क हुन्छ भन्ने छ । तर, बाबु तैँलेचाहिँ आमाको ख्याल राख्नु है । मलाई माया नगरे नि तेल्ले तँलाई खुब माया गर्छे । तेरो गुमुत सोरेकी छ तेल्ले । खाइनखाई पेट भरेकी छ, कहिल्यै नबिर्सनु ।’
उहाँले मेरो कलिलो हातमा ढक्की पैसा राखिदिनुभो ।

‘यो राख् । पैसा ठुलो कुरो हो तर सबैथोक होइन । किनकि यो आफ्नो कहिल्यै हुँदैन । अर्काको खल्तीमा गएपछि त्यो अर्काकै हुन्छ । आफ्नो भनेको त आफन्त हो, आमा, बुबा, दाजु, भाइ, इष्टमित्र । जसलाई गुमाएपछि कहिल्यै पाइँदैन । पैसा त फेरि पनि कमाउन सकिन्छ ।’…..

एक्कासि हजुरआमाको खोकाइले म झसङ्ग भएँ । सबै आत्तिए । निसास्सिए जस्तो, उकुसमुकुस देखेँ मैले उहाँलाई । नर्स आइन्, लगत्तै डाक्टर पनि । मलाई बाहिर जान भने । हेर्दैहेर्दै बाहिर निस्किएँ । पर्दा लाग्यो । आँखाका चेपबाट बुद्रुक्क दुई ढिका आँसु पल्टिए ।

एकक्षणमै डाक्टरले कुम छोए ।

‘बज्यैले प्राण त्याग्नुभो ।’

डाँको छोडेर रुन मन लाग्यो । तर, रोइनँ । ‘छोरो मान्छे भएर पनि रुन्छस् !’ कुनै दिन उहाँले फकाउँदै भनेको सम्झेँ मैले । आँखा रसाइरह्यो, सिँगान बगिरह्यो । बिहानसम्म ।

सबैलाई खबर गरेँ । सबै आइपुगे । सबैले माया पोखे, उहाँको चिसो शरीरमा । कोकोहोलो मच्चियो ।

– आईतबार, 28 पौष, 2070
बुधबारे, झापा

(स्रोत : Nepal24hours)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *