अनूदित कथा : मानिसको जीवन आधार के हो?

~लियो टल्सटाय~
अनुवाद : दण्डपाणि जैसी

97i/43/huty/9230/09

सर्लाही जिल्लाको बरहथवा गाउँमा नथुनी पासवान नाम गरेको गरीब मानिस आफ्नो परिवारको साथमा बस्थ्यो । सम्पतीको नाममा एउटा सानो झुपडी बाहेक उस्को अरु केही थिएन । गाउँमा मेहनत मजदुरी गरेर जेनतेन आफ्नो तथा परिवारको पेट पालेको थियो । ज्याला कम थियो । अन्न चाँही महंगो । दिनभरीको कमाइ दुइ छाक खानामै सकिन्थ्यो । जाडोको बेला घरका सबैजना एउटा कम्बल ओढेर गुजारा चलाउँथे । तर त्यो कम्बल पनि फाटेर धुजाधुजा भइसकेको थियो । एक बर्षदेखि एउटा नयाँ कम्बल किन्ने सोचमा थियो तर उसको यो इच्छा पुरा हुन सकेको थिएन । खाइ नखाइ गरेर तीन रुपियाँ जम्मा गरेको थियो । पाँच रुपियाँ छिमेकि गाउँबाट उठाउन बाँकी थियो ।

एक दिन छिमकि गाउँबाट उठाउन बाँकी रहेको पाँच रुपियाले नयाँ कपडा किनेर ल्याउने बिचारले घरबाट निस्कियो । सबैभन्दा पहिले एकजना किसानको घरमा गयो । किसान घरमा थिएन । उसकी पत्नीले घरमा पैसा नभकोले पछि आउन भनी । उ दोस्रो घरमा गयो त्यहाँ पनि पैसा पाइएन । त्यसपछि उ एकजना कपडा ब्यापारीकहाँ पुग्यो र उधारोमा कपडा दिन अनुरोध गर्‍यो । ब्यापारीले भन्यो, ‘हामी यस्ता कंगालहरुलार्इ बाँकि सामान दिदैनौं । हातको दोष, खुट्टालार्इ दुःख । को तिमीहरुको पछि लागोस पैसा उठाउन ?  छैन कपडा । खुरुक्क आफ्नो बाटो लाग ।‘

नथुनी निराश भएर घर फर्कियो । बाटोमा मनमनै सोच्यो- कस्तो अचम्मको कुरा, म चाँही दिन भरि काम गर्छु तर पनि पेटभरी खान पुग्दैन । हिड्ने बेलामा पत्नीले नबिर्सीकन कपडा ल्याउन भनेकी थिइ । अब के गर्ने होला,  कसैले बाँकी पनि पत्याउँदैनन् । किसानले अहिले हात खाली छ, पछि लिन आउन भन्यो । तिमीहरुको हात खाली छ, तर मेरो गुजारा कसरी चल्छ ? तिमीहरुको घर छ, गाइबस्तु सबै छन्, म सँग त यो एउटा शरीर बाहेक केही पनि छैन । तिमीहरुसँग त अन्नको भण्डार छ, तर मैले त अन्नको एउटा गेडा पनि नकिनी पाउँदिन । हप्ताको तीन रुपियाँ त रोटीमै खर्च हुन्छ । हे भगवान! म के गरुँ, कहाँ जाउँ ? यति सोच्दै काली मन्दिरको नजिक पुग्यो । नथुनीले मन्दिरको नजिकै एकजना मानिस निर्बत्र भुइमा लडिरहेको देख्यो । अँधेरो भइ सकेकोले स्पष्ट देखिरहेको थिएन । मनमनै बिचार गर्‍यो, ‘कसैले यसको कपडा खोसेर लग्यो होला । मलार्इ के मतलब । यो झगडामा परेर  आपत बेसाउन ठीक छैन । त्यसैले यहाँबाट हिड्नै बुद्धिमानी हुन्छ ।’

केही अगाडि पुग्ने बित्तीकै उसको मनले पछुतो मान्यो । म पनि कति निर्दयी रहेछु । यो मानिस भोक र जाडोले गर्दा लडेको पनि त हुन सक्छ । म पनि कति स्वार्थी भएछु यो बिचरालार्इ यस्तो अवस्थामा छोडेर जाँदैछु । नथुनी त्यहाँबाट फर्कियो र त्यो नांगो मानिसको अगाडी गएर उभियो ।

त्यो मानिस खाइलाग्दो नौजवान थियो । उसलार्इ केवल जाडोले पिरोलीरहेको थियो । नथुनीले त्यस मानिसलार्इ एकछिनसम्म हेरिरह्यो । उसलार्इ त्यस मानिसमाथी दया पलायो । तुरुन्त आफुले लगाएको कोट फुकालेर उसलार्इ लगाउन दिदै भन्यो, ‘ भाइ, यो कुरा गरेर बस्ने समय होइन, यो कोट लगाउ र मसँग हिँड।’

त्यस मानिसको शरिर स्वच्छ, मुख दयालु र हातखुट्टा बलिया थिए । उ प्रसन्न देखिन्थ्यो । नथुनीले उसलार्इ कोट लगाइदिदै भन्यो, ‘अब जाउँ साथी, कुरा चाँही पछि गर्दै गरौंला ।’

त्यस मानिसले प्रेमभावका साथ नथुनीलार्इ हेर्‍यो तर केही पनि बोलेन ।

नथुनी- ‘तिमी किन नबोलेको ? यहाँ निकै चिसो छ । घर जाउँ । यदि तिमी हिड्न सक्दैनौ भने, यो लौरो टेकेर भए पनि जाउँ ।’

त्यो मानिस नथुनीको पछि लागेर हिड्यो ।

नथुनीले सोध्यो, ‘तिमी कहाँ बस्छौ ?’

‘म यहाँको मानिस हैन ।’

नथुनी-‘मलार्इ पनि त्यस्तै लागिरहेको थियो, किनकी यहाँका सबैलार्इ त मैले चिनेको छु । तिमी यो मन्दिरमा कसरी आइपुग्यौ नी?’

‘म यो कुरा भन्न सक्दिन ।’

नथुनी- ‘कसैले दुःख दिएर यस्तो भएको हो की ?’

‘मलार्इ कसैले पनि दुःख दिएका छैनन्, आफ्नो कर्मको फल भोग्दै छु । मलार्इ भगवानले सजाय दिएका हुन् ।’

नथुनी-‘भगवान सबैका मालीक हुन्, यसमा त कुनै शंका नै छैन, तर खानलार्इ अन्न र बस्नलार्इ घर त चाहियो नी । अब तिमी कहाँ जान्छौ ?’

‘भगवानले जता लैजान्छन् उतै।’

त्यस मानिसका कुराले नथुनी अचम्भीत भयो । कुराहरु बडा रमाइला थिए । हेर्दा ठग जस्तो पनि लाग्दैनथ्यो तर आफ्नो ठेगाना चाँही बताइरहेको थिएन ।

‘यो मानिस पक्कै पनि कुनै विपत्तीमा परेको हुनुपर्छ।’ नथुनीले मनमनै सोच्यो र भन्यो, ‘पहिला मेरो घरमा गएर आराम गरौं त्यस पछि हेरौंला ।’

त्यसपछि तिनीहरु दुबैजना त्यहाँबाट हिंडे । बाटोमा नथुनीले सोच्यो, ‘म कपडा किन्न आएको मान्छे, उल्टै आफूसँग भएको एउटा कोट पनि दिएँ । साथमा एउटा नागालार्इ घरमा लिएर जाँदैछु, के दुलारी खुसी होली ? उ कहिले पो खुसी हुने गरेकी हो र । तर मलार्इ पनि के को चिन्ता ? दया नै धर्म हो भन्छन् ।’

उता नथुनीकी पत्नी दुलारीले दिउँसो दाउरा काटी, इनारबाट पानी लिएर आइ, त्यसपछि छिटोछिटो खाना पकाइ, केटाकेटीहरुलार्इ ख्वाइ र आफूले पनि खाइ । लोग्नेको लागि खाना छोपेर राखी दिइ । त्यसपछि नथुनीको फाटेको कमीजमा टालो हाल्न बसी र मनमनै सोच्न थाली, ‘मेरो लोग्ने साह्रै सोझो छ, साहुले ठग्ने हो कि छलकपट केही बुझ्दैन केटाकेटीले पनि सजिलै झुक्याउन सक्छन् । आठ रुपिया त निकै हो नी । यतिमा त राम्रै कपडा पाउनु पर्ने हो । अघिल्लो जाडोमा त निकै दुःख पाइयो । घरबाट हिड्दा नै ढीलो भइसकेको थियो, के भएर होला, अहिले सम्ममा त आइपुग्नु पर्ने हो ।’

यतिकैमा बाहिरबाट आवाज आयो । दुलारी बाहिर निस्किइ । नथुनी आएको थियो । उसको साथमा एउटा मानिस पनि थियो । उसले नथुनीको कोट लगाएको थियो । लोग्नेको हातमा कुनै पोको पनि थिएन । उ लाजले टाउको निहुराएर उभिरहेको थियो । लोग्नेलार्इ रित्तै फर्केको देखेपछि दुलारी निराश भइ । कस्तो ठगलार्इ बोकेर घरमा ल्याएको होला भनेर मनमनै भनी । त्यही उभिएर उनीहरुको चर्तिकला हेर्न लागि ।

नथुनीले भन्यो, ‘खाना पाकेको भए खाउँ न त ।’

दुलारी रिसले आगो भइ । केही पनि बोलीन । चुपचाप उभिइरही । दुलारी रिसाएको कुरा नथुनीले थाहा पायो ।

फेरी सोध्यो, ‘खाना पकाएको छैन कि क्या हो ?’

दुलारीले रिसाउँदै भनी, ‘बनाएको छ नी, किन नबनाउनु, तर तिम्रो लागि चाँही हैन, तिमी त कपडा किन्न गएका हैनौ र? आफ्नो कोट पनि अर्कैलार्इ पो दिएछौ त । अनि यो ठगलार्इ चाँही कहाँबाट ल्यायौ नी ? हाम्रो घरमा कुनै सदाबर्त लागेको त छैन नी।’

नथुनीले सम्झाउँदै भन्यो, ‘भयो भयो, कति कराएकी । केही नसोची कसैलार्इ नराम्रो भन्नु ठीक होइन । पहिला कुरा बुझ्नु अनि….’

दुलारीले बीचमै कुरा काट्दै भनी, ‘मलार्इ पहिला भन त, रुपिया कहाँ फालेर आयौ ?’

नथुनीले दुलारीको हातमा पैसा दिदै भन्यो, ‘यो तिम्रो तीन रुपिया राख । गाँउमा कसैले सुको पनि दिएनन् ।’

नथुनीको हातबाट रुपियाँ लिएपछि दुलारीले पड्कँदै भनी, ‘हामीसँग दुनियाभरका भोकमरीहरुलार्इ ख्वाउन भनेर राखेको खाना छैन ।’

नथुनीले भन्यो, ‘फेरी उही कुरा ! पहिला यससँग सोधेर त हेर, के भन्दो रहेछ ।’

दुलारीले भनी, ‘भयो! भयो! सोधें । मैले त तिमी जस्तो मानिससँग बिहे नै गर्दिन भनेकि थिएँ, के गर्नु, मेरो भाग्य फुटेको।’

नथुनीले निकै सम्झायो तर दुलारीले उसको कुरै सुन्न चाहन्नथी । दश बर्ष पुरानो कुरो झिकेर कचकच गर्न थाली । रिसको झोकमा नथुनीको इस्टकोट च्यातिदिइ र बाहिर जान लागि । जाँदाजाँदै नथुनीसँग सोधी, ‘यदि यो मानिस असल हुँदो हो त नांगै हुने थिएन । तिमीले यसलार्इ कहाँबाट ल्यायौ भन त ?’

नथुनीले भन्यो, ‘यही कुरा त म तिमीलार्इ भन्न खोज्दैछु, सुन्ने भए पो । यो मानिस काली मन्दिरको नजिक नांगै बसेको थियो । यसो सोचेर त हेर, यस्तो पुष महिनाको जाडोमा कोही मानिस बाहिर बस्न सक्छ ?  भगवानको कृपाले म त्यहाँ नपुगेको भए के थाहा, यो मर्थ्यो कि बाँच्थ्यो । यस मानिसलार्इ कस्तो आपत परेको होला, हामीलार्इ के थाहा । मैले आफुले लगाएको कोट लगाउन दिएर उसलार्इ यहाँ ल्याएको हुँ । हेर, दुलारी रिसाउने काम चाही नगर, रिस नै पापको मुहान हो । एउटा कुरा कहिलै पनि नबिर्स है! एकदिन हामी सबैले यो संसार छोडेर जानुपर्छ ।’

दुलारी केही भन्न खोज्दै थिइ तर त्यस मानिसलार्इ हेरेर चुप लागि । त्यो मानिस आँखा चिम्लिएर, घुँडामा हात राखेर, मौनधारण गरी निश्चल बसेको थियो ।

नथुनी-‘दुलारी, के तिमीलार्इ भगवान प्रति प्रेम छैन ?’

पतिका कुरा सुनेपछि र त्यस मानिसलार्इ देखेपछि दुलारीको मन पग्लियो । तुरुन्त त्यहाँबाट उठेर गइ ।  थालमा खाने कुरा ल्याएर त्यस मानिसका अगाडी राख्दै उसलार्इ खान अनुरोध गरी ।

दुलारीको यस्तो व्यवहार देखेपछि त्यस मानिसको अनुहार एक्कासी तेजिलो भयो र उ मुसुक्क हाँस्यो । खाना खाइसकेपछि दुलारीले सोधी, ‘तिमी कहाँबाट आएका हौ नी ?’

मानिस- ‘म यहाँको मानिस होइन ।’

दुलारी-‘तिमी मन्दिरमा कसरी पुग्यौ ?’

मानिस- ‘म केही पनि भन्न सक्दिन ।’

दुलारी-‘कसैले तिम्रो सामान चोर्‍यो की ?’

मानिस-‘कसैले होइन। भगवानले सजाएँ दिनु भएको हो ।’

दुलारी-‘तिमी त्यहाँ नांगै थियौ ?’

मानिस-‘हो, जाडोले थरथर कामीरहेको थिए । नथुनीले देखेपछि आफ्नो कोट लगाउन दिएर यहाँ लिएर आएका हुन । तिमीले दया गरेर खान दियौ । भगवानले तिमी दुवैको भलो गरुन ।’

दुलारीले उसलार्इ एउटा कमीज लगाउन दिइ । त्यस राती सुत्नेबेलामा आफ्नो लोग्ने सँग कुरा गर्न लागि ।

दुलारी – ‘एउटा कुरा भन त ।’

नथुनी-‘के कुरा ?’

दुलारी -‘अन्न त सबै सकियो । भोली के खाने होला? छिमेकिसँग मागेर ल्याउन पर्छ होला ।’

नथुनी-‘बाँचिएछ भने अन्न पनि कहीं न कहींबाट त पाइ हालिएला नी ।’

दुलारी -‘त्यो मानिस राम्रै होला जस्तो छ तर आफ्नो ठेगाना चाही किन नभनेको होला ?’

नथुनी-‘के थाहा, होला नी कुनै कारण ।’

दुलारीले लामो सास फेर्दै भनी, ‘हामी अरुलार्इ दिन्छौं तर हामीलार्इ कसैले पनि दिदैनन्, किन होला ?’

नथुनीले यस प्रश्नको कुनै उत्तर दिएन । कोल्टो फर्केर सुत्यो ।

बिहान भयो । नथुनी ओछ्यानबाट उठ्यो । केटाकेटीहरु सुतिरहेका थिए । दुलारी छिमेकिकहाँ अन्न माग्न गएकी थिइ । त्यो मानिस भुँइमा बसेर आकाशतिर हेरिरहेको थियो । अहिले उसको अनुहार प्रशन्न देखिन्थ्यो ।

नथुनीले भन्यो, ‘भार्इ, पेटले अन्न माग्छ, शरिरले कपडा माग्छ, त्यसैले केही न केही काम त गर्नु पर्‍यो नी । तिमीलार्इ कुनै काम गर्न आउँछ ?’

मानिस-‘मलार्इ कुनै काम गर्न आउँदैन ।’

नथुनी-‘अभ्यास सबै भन्दा ठूलो कुरो हो, मानिसले चाह्यो भने सबै कुरा सिक्न सक्छ ।’

मानिस-‘म सिक्न तयार छु, तपाइले सिकाउनु होस ।’

नथुनी- ‘तिम्रो नाम के हो ?’

मानिस-‘गंगू’

नथुनी- ‘भाइ गंगू, तिमीले आफ्नो बारेमा केही बताउन चाहँदैनौ नबताउ, तर केही काम त गर्नै पर्छ है । जुता बनाउन सिक र यहीँ हामीकहाँ बस ।’

गंगूले पनि नाँइ भनेन ।

नथुनीले गंगूलार्इ धागो बाट्न, त्यसमा मैन लगाउन, जुता सिउन आदि काम सिकाउन थाल्यो । कारीगरले झैं गंगूले तीन दिनमै निकै राम्रा जुता बनाउन थाल्यो । उ घरबाट बाहिर पनि निस्किदैनथ्यो र निकै कम बोल्ने गर्थ्यो । अहिले सम्म उ केवल एक पटक हाँसेको थियो जतिबेला दुलारीले उसलार्इ खाना ख्वाएकि थिइ । त्यसपछि उ फेरी कहिलै हाँसेन ।

गंगू आएको पनि एक बर्ष भइसकेको थियो । गाउँमा जताततै गंगूको चर्चा थियो- नथुनीको घरमा बसेको नोकर गंगूले जत्तिको राम्रो जुता कसैले पनि बनाउन सक्दैन । नथुनीकहाँ जुता बनाउने कामको माचो नै थियो । गंगू आएपछि उसको कमाइ पनि निकै बढेको थियो ।

एकदिन नथुनी र गंगू घरमा बसेर काम गर्दै थिए त्यहाँ एउटा चिल्लो गाडी आयो । त्यसबाट एकजना धनी मानिस बाहिर निस्क्यो र नथुनीको आँगनमा आयो । दुलारीले हत्तपत्त दैलो खोलिदिइ । त्यो धनी मानिस भित्र पस्यो ।

नथुनीले त्यस मानिसलार्इ उठेर नमस्कार गर्‍यो । उसले यति सुन्दर मानिस कहिल्यै देखेकै थिएन । नथुनी आफु दुब्लो थियो गंगू उ भन्दा पनि दुब्लो थियो दुलारी त अस्थिपञ्जर नै थिइ । तर यो मानिस त कुनै अर्कै लोकको जस्तो लाग्थ्यो । रातोपीरो अनुहार, चौडा छाती, मोटो गर्दन । उसको शरिर फलामबाट बनेको जस्तो देखिन्थ्यो ।

आगन्तुक मानिसले सोध्यो, ‘तिमीहरुमा कारीगर चाँही को हो ?’

नथुनीले भन्यो, ‘म हो हजुर ।’

आगन्तुकले हातमा ल्याएको छाला देखाउँदै भन्यो, ‘यो छाला देखेको छस् ?’

नथुनीले डराउँदै भन्यो, ‘ हजुर ।’

‘तँलार्इ थाहा छ, यो कुन जातको छाला हो ?’

नथुनी- ‘यो त निकै राम्रो जातको छाला हो हजुर ।’

आगन्तुकले उसलाइ होच्याउँदै भन्यो, ‘मूर्ख कहीँको ! तैले यस्तो छाला कहिलै देखेकै छैनस् । जर्मनीबाट ल्याएको हो । बीस रुपियाँ पर्छ ।’

नथुनीले डराउँदै भन्यो, ‘मालिक ! मैले यस्तो राम्रो छाला कहाँबाट देख्नु नी ।’

‘तैले यसको बुटजुता बनाउन सक्छस् ?’

नथुनी-‘सक्छु हजुर ।’

आगन्तुकले कुराको बीट मार्दै भन्यो, ‘ मलाइ यो हजुर सजुर थाहा छैन । तैले यो छाला कस्तो हो  भनेर थाहा पाए हुन्छ र मैले बुटजुता बनाउने मानिस को हो भन्ने मात्र थाहा पाए हुन्छ । यदि एक बर्ष भित्र कुनै ठाउँको सिलार्इ उध्रियो वा जुताको रुप बिग्रीयो भने तँलार्इ जेल जानु पर्छ नी ! थाहा पाइ राखे हुन्छ । राम्रो बनाइछस भने दश रुपियाँ दिउँला ।’

नथुनीले सुटुक्क गंगू तिर हेरेर इशारा गर्दै सोध्यो, ‘काम लिउँ?’

गंगूले पनि इशाराबाटै समर्थन जनायो । नथुनीले जुताको नाप लिन लाग्यो ।

आगन्तुकले भन्यो, ‘हेर है, ठीक सँग नाप लिनु नी । बुट सानो नहोस ।’ गंगू तिर हेरेर सोध्यो, ‘यो को हो नी?’

नथुनी- ‘मेरो नोकर ।’

आगन्तुकले गंगू तिर हेरेर भन्यो, ‘थाहा पाइस नी ? बुट एक बर्ष चल्नु पर्छ । पुरा एक बर्ष । त्यहाँभन्दा एकदिन पनि कम हैन नी ।’

गंगूले त्यस मानिसको कुरामा कत्ति पनि ध्यान दिइरहेको थिएन । उ अर्कै तर्फ ध्यान एकत्रित गरेर हाँसी रहेको थियो ।

आफ्नो कुरामा ध्यान नदिएर हाँसेको देखेर त्यस मानिसलार्इ गंगू माथी रिस उठ्यो र कडकिदै भन्यो, ‘कस्तो मूर्ख रहेछ । कुरा सुन्नु त कता हो, हाँसेर पो बसेको छ । हेर है, बुट चाँडै तयार हुनुपर्छ । ढीलो नहोस नी ।’

बाहिर निस्कने बेलामा त्यस मानिसको टाउको ढोकामा ठोक्कीयो । नथुनीले भन्यो, ‘टाउको हो की, घनटाउको हो, ढोका नै भाँचिदियो ।’

दुलारीले भनी, ‘धनवान नै बलवान हुन्छन् । अरु कुरो त परै जाओस यस मानिसलार्इ त साक्षात यमराजले पनि केही गर्न सक्दैनन् ।’

त्यो मानिस त्यहाँबाट गएपछि नथुनीले गंगूसँग भन्यो, ‘भाइ, काम त लिइयो तर कुनै गडबड नहोस है । छाला निकै महँगो जस्तो लाग्छ र यो मानिस पनि निकै रिसाहा छ,  हामीबाट कुनै गल्ती हुन भएन । अबत तिम्रो हात पनि निकै बसीसकेको छ त्यसैले बुट काट्ने काम तिमी गर, सिउने काम चाही म गरुँला ।’

गंगूले बुट काट्न लाग्यो । दुलारीले सधै आफ्नो लोग्नेले बुट काटेको देखेकी थिइ । गंगूको बुट कटाइ देखेर अत्तालिइ । मनमनै गंगूले यो के गरेको होला भनेर भनी । शायद ठूला मानिसको बुट काट्ने तरिका यही नै होला भनेर चुपचाप बसी ।

गंगूले दिउसो सम्ममा छाला काटेर एक जोडा चप्पल तयार गरिसकेको थियो । खाना खाने बेलामा नथुनीले देख्यो कि गंगूले बुटजुताको ठाउँमा चप्पल बनाएको छ । उ निकै आत्तियो । मनमनै भन्यो, ‘यो गंगू मसँग बस्न थालेको पनि एक बर्ष भइसक्यो । तर यस्तो गल्ती त कहिलै गरेको थिएन । यसलार्इ के भयो कुन्नी । त्यस मानिसले त बुट बनाउन भनेको थियो तर यसले त चप्पल बनाएर मारेछ । हे भगवान ! अब उसलार्इ के भन्ने होला यस्तो छाला कहाँ पाइएला खै !’ गंगू तिर हेर्दै भन्यो ए भाइ, तिमीले यस्तो के गरेको ? उसले त बुटजुता बनाउन भनेको थियो हैन र ? अब उसले मेरो छाला काड्ने भयो ।’

यी कुराहरु भइनै रहेका थिए त्यतिनै बेला एकजना मानिसले ढोकामा उभिएर बोलायो । दुलारीले ढोका खोलीदिइ । यो मानिस त्यही धनी मानिसको नोकर थियो । आज बिहान उसँगै यहाँ आएको थियो । आउने बित्तिकै उसले भन्यो, ‘हरे शिव ! तिमीले बुट बनाएका त छैनौ नी?’

नथुनीले भन्यो, ‘बनाउँदै छु हजुर।’

नोकरले भन्यो, ‘मेरो मालिक बाटोमै स्वर्गे हुनुभयो, अब बुटजुता बनाउन पर्दैन ।’

नथुनीले ‘हरे राम !’ भन्यो,

नोकरले भन्यो, ‘घरसम्म पुग्न पनि पाइएन । बाटोमै मृत्यु भयो । मालिक्नीले त्यो छालाबाट चप्पल बनाउन भन्नु भएको छ ।’

नथुनीले खुसी हुँदै त्यस नोकरलार्इ गंगूले अघिनै तयार गरी राखेका चप्पल दियो ।

गंगूलार्इ नथुनीको घरमा बसेको पनि छ बर्ष भइसकेको थियो । अहिले सम्म उ केवल दुर्इ पटक मात्र हाँसेको थियो । उ चुपचाप आफ्नो काम मात्र गरेर बस्थ्यो । नथुनी उसँग निकै खुसी थियो तर कतै भागेर जान्छ कि, भन्ने डर पनि थियो । यसै डरको कारण नथुनीले उसँग त्यसपछि कहिलै उसको ठेगाना सोधेको थिएन ।

एकदिन दुलारी चुलोमा आगो बाल्दै थिइ केटाकेटीहरु आँगनमा खेलीरहेका थिए नथुनी र गंगू जुता बनाउँदै थिए । त्यतिकैमा नथुनीको छोराले दगुर्दै आएर गंगूसँग भन्यो, ‘काका ! हेर्नुस त, त्यो आइमाइ दुइजना केटीहरुलार्इ लिएर हामीकहाँ तिर आउँदै छ ।’

गंगूले देख्यो, एकजना महिला दुइजना सानासाना बालिकाहरुलार्इ लिएर आफुतिर आउँदैछिन । दुवै बालिकाहरु हेर्दा दुरुस्त उस्तै थिए । फरक यतिमात्र थियो कि उनीहरुमध्ये एकजना लंगडी थिर्इ । ती महिला भित्र आएपछि नथुनीले उनीसँग आफुकहाँ आएको कारण सोध्यो ।

महिला – ‘यी नानीहरुको जुता बनाउनु थियो ।’

नथुनी- ‘हुन्छ नी हजुर ।’

नथुनीले ती नानीहरुको खुट्टाको नाप लिइरहेको बेला गंगू चाँही ती बालीकाहरुलार्इ पहिला कतै देखेको झैं गरी एकोहोरो हेरिरहेको थियो ।

महिला- ‘यो नानीको एउटा खुट्टो लंगडो छ, यस्को छुट्टै नाप लिनु, बाँकी तीनवटा खुट्टा एकै नापका छन् ।’

नाप लिइसकेपछि नथुनीले उत्सुकतावस सोध्यो, ‘यी नानीको खुट्टा कसरी लंगडो भएको होला ? जन्मैदेखि यस्तै हो ?’

महिला- ‘हैन, यसकि आमाले नै यसको खुट्टा कुल्चेर यस्तो भएको हो ।’

बीचमा दुलारीले सोधी, ‘किन, तपाँइ यी नानीहरुकि आमा हैन र ?’

महिला- ‘हैन बैनी, न म यीनीहरुकी आमा हुँ न कुनै सम्बन्धी । यीनीहरु मेरा छोरी हैनन् । मैले यीनीहरुलार्इ पालेकी हुँ ।’

दुलारीले अचम्म मान्दै भनी, ‘तै पनि तपाइ यीनीहरुलार्इ यति धेरै माया गर्नु हुन्छ है ?’

महिला- ‘किन माया नलागोस बैनी, मैले आफ्नो दुध चुसाएर यीनीहरुलार्इ हुर्काएकी हुँ । मेरो पनि छोरो थियो तर उसलार्इ भगवानले लगे । अहिले मलार्इ उस्को भन्दा यीनीहरुको बढी माया लाग्छ ।’

दुलारी कुरा बुझ्न उत्सुक भइरहेकि थिइ, यसैले ती महिलासँग सोधी, ‘त्यसो भए, यी कस्का छोरीहरु हुन् त ?’

महिलाले सबै कथा यसरी सुनाइनः ‘करीब छ बर्ष जति अगाडिको कुरो हो, एकै हप्तामा यीनीहरुका बाबु आमा दुवैको मृत्यु भयो । बाबु मंगलबारका दिन मर्‍यो आमा चाही शुक्रबारका दिन । बाबु मरेको तीन दिनका दिन यीनीहरु जन्मेका हुन् । जुम्ल्याहा हुन् । यीनीहरुका आमा बाबु मेरा छिमेकी थिए । बाबु दाउरे थियो । जंगलमा दाउरा काट्न गएका बेलामा रुखले किचेर मर्‍यो । यीनीहरु जन्मने बित्तीकै आमा पनि मरी । भोलीपल्ट यिनीहरुकी आमालार्इ भेट्न जाँदा मरीसकेकी रहीछ । मर्ने बेलामा कोल्टो फर्कीछ र यो नानीको खुट्टो च्यापिएछ । गाउँलेहरु मिलेर उसको दाह सँस्कार गरे । यीनीहरुका आमा बाबु गरीब थिए । साथमा कौडो पनि थिएन । यी नानीहरुलार्इ कस्ले पाल्ने भनेर सबैलार्इ चिन्ता भयो । त्यसबेला मेरो काखमा दुइ महिनाको छोरो थियो । अर्को प्रबन्ध नहुन्जेल सम्मका लागि यी नानीहरु मलार्इ पाल्न भनियो । मैले यीनीहरुलार्इ पाल्ने जिम्मा लिएँ । शुरुमा मैले यो लंगडी नानीलार्इ दुध ख्वाइन । मलार्इ यो नानी मरिहाल्छे कि जस्तो लाग्थ्यो । पछि मलार्इ यसको निकै माया लाग्न थाल्यो त्यसैले आफ्नो दुध ख्वाउन थालें। भगवानको कृपाले त्यतिबेला मेरो छातीमा यति धेरै दुध थियो कि तीन जनाले अघाउन्जेल खाएपछि पनि दुध आइनै रहन्थ्यो । साँचै भन्ने हो भने त्यतिबेला म कामधेनु भएकी थिएँ । इश्वरको खटन कसलार्इ थाहा छ र बैनी, मेरो छोरा मर्‍यो यीनीहरु बाँचे । अहिले हाम्रो परिवारको अवस्था पनि पहिलेको भन्दा निकै राम्रो भएको छ । मेरा श्रीमानले एउटा ठूलो कारखानामा काम पाएका छन् । अहिले मलार्इ यीनीहरुको निकै माया लाग्छ । यिनीहरु मेरो जीवन आधार हुन् ।

यति भन्दै ती महिलाले दुवै नानीहरुलार्इ आफ्नो छातीमा टाँसीन ।

दुलारीले भनी, ‘साँचै रहेछ, मानिस आमाबाबु बिना पनि बाँच्न सक्दो रहेछ, तर भगवान बिना बाँच्न सम्भव छैन ।’

दुइ महिलाहरुबीच यी कुराहरु भइरहेकै बेलामा नथुनीको सारा झुपडी प्रकाशमय भयो । गंगू चाँही झुपडीको एउटा कुनामा बसेर हाँसीरहेको थियो ।

ती महिला नानीहरुलार्इ लिएर बाहिर गइन । गंगूले उठेर नथुनी र दुलारीलार्इ प्रणाम गर्दै भन्यो मालिक अब म बिदा हुन्छु । भगवानले म माथी दया गर्नु भयो । मबाट कुनै भुलचुक भएको भए मलार्इ माफ गर्नु होला ।

नथुनी र दुलारीले देखे, गंगूको शरीर तेजोमय भइ धपक्क बलिरहेको थियो ।

नथुनीले आफ्ना दुइ हात जोड्दै भन्यो, ‘मैले बुझी सके, तिमी साधारण मानिस होइनौ । अब म, न तिमीलार्इ यहाँ राख्न सक्छु, न कुनै कुरा सोध्न नै सक्छु । तर एउटा कुरा चाँही बताउ । मैले तिमीलार्इ आफ्नो घरमा लिएर आउँदा तिमी निकै उदास थियौ । जब हामीकहाँ त्यो धनी मानिस बुटजुता बनाउन आएको थियो, त्यतिबेला तिमी हाँसेका थियौ । आज साना नानीहरु लिएर ती महिला आएको बेलामा पनि तिमी हाँसेउ । यसको रहस्य के हो ? तिम्रो शरिरमा यति धेरै तेज किन भएको ?

गंगूले भन्यो, ‘भगवानले ममाथी दया गर्नु भयो, त्यसैले यस्तो तेज आएको हो, मैले आफ्नो कर्मको फल भोगिसकें । भगवानले तीन कुरा थाहा पाएर आउनका लागि मलार्इ यस मर्त्यलोकमा पठाउनु भएको थियो, आज मलार्इ तीनै कुराहरु थाहा भए । यसैले म तीन पटक हाँसेको हुँ । पहिलो पटक तिम्रो घरमा आउँदा जब तिम्री पत्नीले मलार्इ खाने कुरा दिइन, दोस्रो पटक धनी मानिस आएको बेलामा, र तेस्रो पटक आज यी महिलाको कुरा सुनेपछि ।’

नथुनीले सोध्यो, ‘त्यस्तो के पर्‍यो र भगवानले तिमीलार्इ सजाए दिनुभयो ?  ती तीन कुराहरु केके हुन् मलार्इ पनि बताउ ?’

गंगूले आफ्नो सारा कथा यसरी सुनायो- ‘मैले भगवानको आदेश मानेको थिइन त्यसैले यो सजाय पाएको हुँ । वास्तवमा म एउटा देवदुत हुँ, एकपटक भगवानले एउटा आइमाइको प्राण लिएर आउने आदेश दिएर मलार्इ यस मर्त्यलोकमा पठाउनु भएको थियो । म त्यसलार्इ लिन पनि गएको थिएँ तर त्यो आइमाइ निकै कमजोर थिइ र भुँइमा लडिरहेकी थिइ । छेउमा भर्खरै जन्मेका दुइजना जुम्ल्याहा छोरीहरु रोइरहेका थिए । म यमराजको दूत भन्ने थाहा पाएर उसले भनी-मेरो लोग्ने तीन दिन अघी मात्र रुखले किचेर मरे । मेरा न दिदीबहिनीहरु छन् न आमा, भर्खरै जन्मेका यी नानीहरुलार्इ कस्ले पाल्ला? यसैले मलार्इ नमार । मलार्इ यीनीहरुको पालन पोषण गर्न देउ । आमाबाबु बिना बालकहरु बाँच्न सक्दैनन् । मलार्इ त्यस आइमाइको कुरा सुनेर दया पलायो । मैले यमराजलार्इ गएर निवेदन गरें- धर्मराज मलार्इ त्यस आइमाइको दया लाग्यो, भर्खर जन्मेका ती जुम्ल्याहा नानीहरुलार्इ पाल्ने कोही पनि थिएनन्, त्यसैले मैले उसको प्राण हरण गर्न सकिन, किनकि बालबालिकाहरु आमाबाबु बिना बाँच्न सक्दैनन् ।’ यमराजले तुरुन्त गएर त्यस आइमाइको प्राण हरेर ल्याउने आदेश दिनुभयो र भन्नुभयो-जबसम्म तीन कुराहरु थाहा पाउँदैनस् तबसम्म स्वर्गमा आउन पाउँदैनस् । पहिलो, मानिस भित्र के को बास हुन्छ ?  दोस्रो, मानिसले के कुरा पाउँदैन ? र तेस्रो, मानिसको जिवन आधार के हो ? फर्केर मर्त्यलोक आएर मैले त्यस आइमाइको प्राण लिएँ । मर्ने बेलामा उसले एकजना नानीको खुट्टा कुल्चिइ । उसको प्राण लिएर म स्वर्गका लागि उडें तर बाटोमै आँधी आएर मेरा पँखेटा उडाएर लग्यो; म काली मन्दिरको छेउमा आएर खसें ।’

अब नथुनी र दुलारीलार्इ गंगूको बारेमा कुनै कुरा जान्न बाँकी थिएन । दुवैजना निकै प्रसन्न भए । साक्षात देवताको दर्शन गर्न पाएकोमा आफ्नो अहोभाग्य सम्झे ।

गंगूले भन्यो जबसम्म मैले मनुष्य शरिर धारण गरेको थिइन तबसम्म मलार्इ जाडो, गर्मी, भोक, प्यास, दुःख, कष्टको बारेमा केही थाहा थिएन तर यस मर्त्यलोकमा आउने बित्तिकै मलार्इ दुःखको बारेमा थाहा भयो । भोक र जाडोले सताएर काली मन्दिर भित्र जान खोजेको थिएँ तर मन्दिर बन्द थियो । चिसो हावा चलेको थियो म सडक छेउमै बसें । साँझको बेलामा एक जना मानिस आएको देखें । यस लोकमा आएपछि मैले देखेको पहिलो मानिस त्यही थियो । उसको अनुहार यति भयंकर थियो कि उसलार्इ हेर्न नसकेर मैले आफ्ना आँखा चिम्लिएँ । जाहान केटाकेटी कसरी पाल्ने होला, कपडा कहाँबाट ल्याउने होला, आदि कुरा गर्दै त्यो मानिस हिडिरहेको थियो । मैले सोचे- यहाँ म भोक र जाडोले मरिरहेको छु, यसको आफ्नै रुवाइ छ, मलार्इ कुनै सहयोग पनि गर्दैन । यतिकैमा उ मेरो छेउबाट गयो । म निराश भएँ । तर एकैछिनमा उ पुनः फर्केर मेरो नजिक आयो । मप्रति उसको मनमा पलाएको दयाको कारण त्यतिबेला उसको अनुहार निकै सुन्दर देखिइरहेको थियो । नथुनी, त्यो मानिस तिमी थियौ । जब तिमीले मलार्इ आफ्नो घरमा लिएर आयौ दुलारीको अनुहार तिम्रो पहिलेपल्ट देखेको अनुहार भन्दा पनि भयंकर थियो किनकि उसमा दया भन्ने कुरा लेश मात्र पनि थिएन, तर जब उ दयालु भएर खानेकुरा लिएर आइ तब उसको अनुहारको कठोरता हराउँदै गयो । त्यसैबेला मलार्इ बोध भयो कि मानिसमा भएको तत्वबस्तु भनेकै प्रेम हो । यसैले म पहिलो पटक हाँसे ।

एक बर्ष पछि त्यो धनी मानिस बुटजुता बनाउन आयो । त्यसबेला हाँस्नुको कारण चाही के थियो भने, उसले बुटजुता चाँही एक बर्षको लागि भनेर बनाउँदै थियो, तर साँझ नहुँदै मर्दैछु भन्ने कुरा उसलार्इ थाहा थिएन । मलार्इ दोस्रो कुरा पनि थाहा भयो-मानिसले आफुले चाहेको कुरा पाउन सक्दैन ।  म दोस्रो पटक हाँसे ।

छ बर्षपछि यो आइमाइ र नानीहरुहरुलार्इ देखेपछि मलार्इ पक्का भयो कि सबैको जीवन आधार अरु कोही हैन भगवान नै रहेछ, यसैले तेस्रो पटक हाँसे ।

गंगू प्रकाशस्वरुप भइरहेको थियो । उसको शरिरमा यति तेज थियो कि उसको शरिरमा आँखा अड्याएर हेर्न पनि गाह्रो भइरहेको थियो । उसले भन्यो, ‘हेर, दुनियामा प्रेमको बास भएकोले नै प्राणीहरु बाँचेका छन, पोषणबाट मात्र कोही बाँच्न सक्दैन । आफ्ना नानीहरुलार्इ कस्ले पाल्छ भन्ने कुरा त्यस आइमाइलार्इ के थाहा, घर नपुग्दै गाडीमै मर्छु भन्ने कुरा त्यस धनी मानिसलार्इ के थाहा, भोली शरिरमा लगाउने कपडा चाहिने हो कि, लाशमा बेर्ने कात्रो, कसलार्इ के थाहा ।

तिमी र तिम्री पत्नीको प्रेमको कारण नै म मनुष्य शरिरमा बाँचेको हुँ । ती आइमाइले भगवानको रुपमा नानीहरुलार्इ दुध ख्वाएकि हुनाले उनीहरु बाँचेका हुन । यसको अर्थ के हो भने, मानिस केवल आफ्नो जतनले मात्र बाँच्नै सक्दैन, प्रेमले नै उनीहरुलार्इ जिवन दिइरहेको हुन्छ । शुरुमा मलार्इ के लाग्थ्यो भने जिवको धर्म भनेको बाँच्नु मात्र हो, तर अब मलार्इ निश्चय भइसक्यो कि केवल बाँच्नु मात्र धर्म होइन प्रेमभावले बाँच्नु नै हो धर्म हो । यसैले भगवानले कसैलार्इ पनि उसको आवश्यकता थाहा दिएका हुँदैनन् तर सबैलार्इ चाहिने कुरा के हो भनेर चाँही भनेका छन् । सबै प्राणीहरु प्रेमपूर्वक मिलेर बसुन भन्ने कुरा नै भगवानको चाहना हो । अब मलार्इ पूर्ण विश्वास भयो कि, जीवनको आधार भनेको प्रेम नै हो, प्रेमी मानिस परमात्मा मा र परमात्मा प्रेमी मानिसमा बास बस्छन् । सारांशमा भन्नु पर्दा, प्रेम र परमेश्वरमा कुनै अन्तर छैन ।’

यति भनेर देवदुत स्वर्गमा गए ।

(स्रोत : सेतोपाटी डट कम)

This entry was posted in अनूदित कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *