कथा : क्रसफायर

~टि पी मिश्र~TP Mishra

“छि ! अरुले देखे भने के भन्छन् ?”

सायद् यस्तै केही भन्दैथिइन् उनी, जब म उनलाई अँगालो हालिरहेथें । मैंले वास्ता गरिनँ । हुन पनि धेरै दिनपछि भेट भएकोले होला- म उनीसँग रमाउन र हराउन चाहिरहेको थिएँ। बाहिर सिमसिम झरी परिरहेको थियो । त्यो परिवेशप्रति मलाई बढ्ता चाह थिएन । पोहोर साल दसैंमा मामाघर टीका थाप्न गएकै बेला हो क्यार- माइजूलाई छलेर म उनलाई भेट्न गएथें ।

हामी एक-अर्कालाई अंकमाल गरेर मायाप्रीतिको प्राकृतिक मोलमोलाई गरिरहेका थियौं । गोधुली साँझ आँगनमै थियो । यसले हामीलाई कुनै प्रकारले असर पारेको थिएन, वा भनौं- हामी प्रकृतिको सुन्दर संरचनासँग बिल्कुल अनभिज्ञ थियौं त्यतिबेला । बरु आसपासमा देखिने रुखहरुमा बास बस्न जमर्को गरिरहेका चराचुरुंगीहरुको चिरबिर आवाजले कताकता बाधा पुर्‍याएझैँ लाग्थ्यो । मायाजालमा फसेको एउटा जोडीले यस्ता कुराको वास्ता गरेर पनि पाओस् के ?

“होटलतिर फर्कने होइन भन्या ?” उनले सोधिन् । त्यहाँबाट हामी बास बसेको होटल पुग्न त्यस्तै आधा घण्टा जति लाग्थ्यो । फेरि होटल साहुले पनि समय ‘त्यति राम्रो नभएको’ भन्दै चाँडै आउन सुझाएको थियो। गाउँघरतिर बेलाबखत गोली चल्न थालेको थियो रे ! गाउँलेहरुलाई धरपकड गर्ने घटना पनि बढेका थिए रे त्यसताका । होटल साहुलाई मैंले विस्तृतरुपमा सोधेको पनि थिइनँ किनकि हामी त्यहाँ बिल्कुल नयाँ थियौं र मनमा कता-कता डर लागिरहेको थियो।

“कतै उसले बेइमानी गर्‍यो भने पुलिसले हामीलाई बेफ्वाँकमा थुन्ने त होइन ?” यस्तै कुरा खेलिरहन्थ्यो मनमा । गफको सुरमा झमक्कै साँझ पो परिसकेछ ।

हामी होटल फर्कने तरखरमा थियौं । दिन कति मज्जाले बितेको थियो । उनीसँग मायाबाहेक मैंले खासै अरु कुरा साटेको थिइनँ । हामी एकै कोठामा बास बस्ने भएपनि सुत्ने बिछ्यौना अलग-अलग थिए । घरका सदस्यहरुलाई चाहिँ उनले ‘कलेजको टुर’ मा जाने भनेर आँखामा छारो हालेकी थिइन् । घरि-घरि ‘ला ! बाबाले मार्छन्’ भन्दै बिलौना गरिरहन्थिन् ।

ठ्वाङ्… ठ्वाङ्…… ठ्वाङ् !!

एक्कासि आएको यो आवाजले हामीलाई तर्सायो। “ए हजुर ! यो केको आवाज हँ ?” सानी (मैंले उनलाई दिएको नाम) ले सोध्न नपाउँदै ‘आइया ! मलाई दुश्मनले ढाल्यो’ भनेको आवाज सुनियो । चाँपले बनेको जस्तो देखिने चौतारीको पूर्वतिरबाट चलेको गोलीको आवाज एकैछिनमा पश्चिमतिरबाट पनि चलेको जस्तो लाग्यो । बल्ल थाहा भो होटल साहुले चाँडै आउनू भन्नुको कारण । हामी त्यो सानो जंगल पस्ने मूलबाटोको छेवैमा रहेको चौतारीमा थियौं । हो कि जस्तो मात्र गरेर देखिने बाहिरी प्रकाशलाई अलि-अलि गर्दै धुवाँको मालाले पहिरिने क्रम जारी थियो । यता मेरी सानी डरले मेरो काखीमुनि मुन्टो लुकाइरहेकी थिइन् ।

हामी पूरै दोधारमा पर्‍यौं- अब के गर्ने ? सोच्नै सकिएन । म नास्तिक भएपनि गोली निरन्तर चलिरहेकाले हुनसक्छ- मैंले जीवनमा पहिलोपटक भगवानलाई पुकारेछु । मेरी आस्तिक सानी भने पहिलो ठ्वाङ्सँगै ‘भगवान हामीलाई केही नहोस्’ भन्दै घरिघरि हात जोडिरहन्थिन् । एकैछिन गोली चल्न रोकिएजस्तै के भएको थियो फेरि ‘ठ्वाङ्’ गरेको आवाज आयो । मलाई लाग्यो- कोही फेरि ढल्यो । हस्याङफस्याङ गर्दै कोही हामीतिरै आएझैँ लग्यो । धोती लगाएका ती व्यक्ति शायद अर्को गाउँतिर जजमान सकेर जंगलको बाटो हुँदै घर फर्केका रहेछन् । यसो टपनटापन गरेर ल्याएको चामल, टपरी हालेको जस्तै देखिन्थियो उनको हाते झोला ।

विचरा !

ती पण्डित बाजेको त दायाँ खुट्टामा गोली लागेको रहेछ । “उ ऽ पर ऽऽ नानी….. गो…गोऽऽऽ” यसो भन्दै यी पण्डित बाजे छिटो-छिटो भाग्दै अघि लागे । मलाई पनि कतै सुरक्षित ठाउँतिर पस्दामात्र बाँचिएलाजस्तो लग्यो । चार हात जति अघिल्तिर एउटा सानो खाल्डो देखें । सानीलाई समातेर बामे सर्दै बकुल्लाको चालमा हामी खाल्डोमा खुत्रुक पस्यौं । खाल्डोको वरिपरि मैंले हतार-हतार निगौलाको स्याउला बिछ्याएको थिएँ । बाहिर चिहाउन भनेर सानो प्वाल राखेका थियौं । सायद क्रसफायरिङपूर्व दुवै पक्षले ‘फायरिङ फ्ल्यास’ प्रयोग गरेकाले हुनसक्छ- प्रत्येक पटकको ‘ठ्वाङ्’ मा बाहिरका दृश्यहरु प्रष्ट देखिन्थे ।

अब भने मेरो मनमा अनेक कुरा खेल्न थाले । अघि कसले हो ‘दुश्मनले ढाल्यो’ भनेको सुनेको थिएँ । ऊ को हुनसक्छ भनेर धेरैबेर घोत्लिएँ । “मिसेर थिन्लम दंजी बेगो दुक्गी मिसेर गयर दोमते होंगो” (संघर्ष सफल पारौं, हामी भुटानी एक होऔं) जस्ता नाराहरु घन्किएको सुनें । बल्ल मलाई थाहा भयो कि त्यहाँ विद्रोहमा उत्रिएका गाउँलेतिर लक्षित गर्दै सेनाले फायरिङ गरेको रहेछ । घन्टौंसम्म फायरिङ चलेकोले त्यहाँ धेरै हताहत भएको हुनसक्ने सम्भावना थियो। सेनापक्षले आफ्नो कारबाही जारी राखेको थियो । हामी रहेको खाल्डोकै नजिकै आइसकेका थिए उनीहरू । हामीसँग सास दबाएर बस्नुको विकल्प थिएन। “मुझे लगता है कि हम आज फायरिङ में कई निर्दोष लोगोंको मार डाला” ( मलाई लाग्छ आजको फायरिङमा हामीले धेरै निर्दोष मानिसहरु मार्‍यौं ) भुटानी सेनाको पोसाकमा सजिएका झन्डै रंगरुपले भारतीय देखिने एक सिपाही भन्दै थिए।

केही मानिसहरु सेनाको कब्जामा रहेछन् । झट्ट हेर्दा जंगलबाट वस्तुभाउ चराएर फर्केका गोठालाजस्ता देखिन्थे उनीहरु। तेगो फाटेको जस्तो देखिने किरा लगाएकी एउटी अधवैंसे सार्चोपेली महिलाले त खनिउको घाँसको भारी नै पिठ्युँमा बोकेकी थिइन् । सेनाको टोलीले उनीहरुलाई लिएर गयो । एकछिनपछि वातावरण सुनसान भयो । हामी होटलतिर जाने कि नजाने भन्ने दोधारमा थियौं ।

आइया ! आइया !!

होटलतिरको आधा बाटो पुगेपछि कसैले हामीसँग सहारा मागेजस्तो लाग्यो । आवाज पछ्याउँदै हामी झोडीभित्र पस्यौं । भित्र पस्दानपस्तै मन भक्कानियो- एउटी नारी मृत्युसँग संघर्ष गर्दै थिइन् । गोलीको सिराले होला उनको शरीरको माथिल्लो पूरै भाग अर्धनग्न थियो । सानीले हतारहतार आफ्नो बर्को झिकेर उनको शरीरमा बेरिदिइन् । रगतको आहाल रहेकी ती महिलाले साउती गर्दै भनिन्, “मेरो श्रीमान् ‘माजाघरे’ लाई भन्दिनुहोला, अब नाबालक तीन छोरीको हेरविचार उहाँले नै गर्नुपर्नेछ….” वाक्य पूरा गर्न नपाउँदै उनले आँखा चिम्लिन् । सानीतिर हेरें- आँखामा टलपल टलपल आँसु थिए । मेरो मुखबाट शब्द निस्किएनन् । मन अमिलो भयो । त्यहाँबाट निस्कनुको विकल्प थिएन हामीसँग ।

सानो बस्तीको छेवैमा रहेको होटेल पुग्यौं । फायरिङको आवाजले सारा बस्ती त्रसित देखिन्थ्यो । होटल साहुले सेनाले गाउँलेहरुलाई धरपकड गरिरहेको खबर सुनायो । केही सुरक्षित भएको महसुस गरी हतारहतार कोठाभित्र पस्यौं। तीन तलामाथि रहेको हाम्रो कोठाको झ्यालबाट बाहिरका दृश्य प्रष्ट देखिन्थे । सानी त पलङमा पल्टिहालिन् । सायद डर लुकाउने प्रशस्तै ठाउँ पाएर होला- उनी भुसुक्कै निदाइछन् । हेर्दाहेर्दै एकैछिनमा सेनाले दर्जनौं गाउँलेलाई हथकडी लगाएर लात हान्दै त्यही बाटो भएर लग्यो। “लेबे, हामीले कसैलाई आश्रय दिएका छैनौं, हामी निर्दोष छौँ, हामीलाई छाडिदिनुस्,” उनीहरु यसैगरी बिलौना गर्दै थिए।

राम, राम, राम !

गाउँका मुखियाको चाकडी गरेर जीविको चलाइरहेका पल्लो गाउँका माजाघरे पो परेका रहेछन् सेनाको पहिलो निसानामा । क्यामरा झिकेर क्रसफायरिङका बेला खिचेका दृश्यहरू हेर्दा बल्ल मलाई यसबारे थाहा भयो । दृश्यलाई अझ ‘जुम’ गरेर हेरें, उनको शरीरका धेरै ठाउँमा गोली हानिएको रहेछ । फायरिङका बेला सायद उनी पनि साहुकहाँबाट घर फर्कँदै थिए होला । ‘जुठे’ नामले चिनिने धिताल ठुल्दाइलाई पनि ढालिएको रहेछ । फोटोमा प्रस्टै देखिन्थियो- जुठे दाइले काँधमा हलो बोकेका रहेछन् । उनी पल्लो बारीतिर काम सकेर फर्केका थिए ।

फोनको घन्टीले मलाई एक्कासि झस्कायो ।

“हेलो, को बोल्नुभएको ?”

“होइन, बाबालाई पनि चिनिनस् ?”

(अघिल्लो दिन २००७ को अन्त्यताका भुटानको अदालतले साम्चीका दुई गाउँका दर्जनौं निर्दोष मनिसलाई विद्रोहीलाई सघाएको निहुँमा जेल चलान गरेको विषयमा एउटा लेख तयार परिरहेको थिएँ । उनीहरुको पछिल्लो स्थितिबारे मलाई खुबै चासो थियो । लेख लेख्ने क्रममा मनमा धेरै कुरा खेलेका थिए।)

“हजुर, चिनें बाबा ।”

नेपालबाट बाबाले पो फोन गर्नुभएको रहेछ । धत्तेरी ! कस्तो अचम्मको सपना पो देखेँछु ।

……………
नर्थ क्यारोलिना

(स्रोत : Bhutaneseliterature)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *