निबन्ध : एक मामुली नाट्यकर्मीको नोट्स

~अविनाश श्रेष्ठ~

१. नाटकसितको पहिलो साक्षात्कार

नाटकसित आफूलाई अन्तरंग किसिमले जोड्ने कुराहरू आफ्नै स्मृतिभित्र खोतलखातल गर्ने क्रममा बाल्यकालका आल्हादकारी थुप्रै दृश्यबिम्बहरूसित मेरो साक्षात्कार हुन्छ । अबोधतामा हलुका सह-अस्तित्वबोधको चेतनाले पखेटा फडफडाउन खोज्दै गरेको चार साढे चार वर्षको उमेरको आफूलाई देखिरहेको छु । सबैभन्दा पहिलो टड्कारो दृश्य अगाडि आउँछः घर नजिकैको मान्छे बस्न छाडेको एउटा खण्डहरजस्तो घरभित्र ‘घर-घर’ वा ‘भाँडाकुटी’ भनिने बालसुलभ खेल खेलिरहेका हामी छ÷सात जना समयवयस्क केटाकेटीहरू । स्वास्नी बनेकी केही उमेरले दुई/तीन वर्ष मभन्दा जेठी हुन्छिन् । राति लोग्ने स्वास्नीसँगै सुत्ने अभिनयमा उनी मलाई साँच्चीकै म्वाइ खान र आफूसित लोग्नेले गर्ने सबथोक गर्न सिकाउँछिन्

प्लास्टिकका गुडियाहरू छोराछोरी बनाएर आफ्ना छेउछाउमा सुताएका हुन्छौं । उनी माटाका स-साना भाँडामा खाना पकाउँछिन् । हामीसँगै बसेर सुखी लोग्ने स्वास्नीझैं खाना खान्छौं । आदि । इत्यादि । अबोध उमेरका पटक-पटक दोहर्‌याइ तेहर्‌याई खेलेको त्यो नाटक आज सम्झिरहेँ । पाकाहरूले खेल्ने घरजमको खेल र लोग्नेस्वास्नीको नाटकको त्यो सिको मात्र भएपनि त्यस बालनाटकमा यथार्थको रङ भर्ने प्रयास हामीले गरेकै त रहेछौं भन्ने अहिले मलाई लागिरहेको छ । सायद त्यतैकतै भएको थियो नाटक र अभिनयसित मेरो पहिलो साक्षात्कार ।

माथिको घटना म जन्मे हुर्केको शहर गुवाहाटी (असम) को हो । केटाकेटी बेलाका धेरै घटनाहरू दृश्यमा भन्दा अस्पष्ट धमिला बिम्बहरूका रुपमा आफ्नो अवचेतनभरि असरल्ल छरिएर रहेका पाउँछु । ब्रह्मपुत्रको किनारै किनार रातिको सडकमा कुदिरहेको गाडि भित्र परिवारका सदस्यहरूसँगै म पनि हुन्छु । लामो न लामो शराइघाटको पुल जीपमा वरिपरि गरिरहेको धमिलो निकै पुरानो दृश्यचित्र । अझ त्यो पुल बन्नुभन्दा अगाडि बुकसित उत्तर गुवाहाटीको रेल स्टेशनमा कसैलाई बिदा गर्न गएको रातका झल्याक-झुलुक दृष्टिबिम्बहरू ।

स्टिमरमा विशाल ब्रह्मपुत्र तरिरहेको र किनारमा उभिएका पुराना पानीजहाजहरू उदास बिराना स्मृति अवशेषहरू । गुवाहाटीका गिर्जाघर र मस्जिदका बुर्जा, मिनार छाना र गुम्बजहरूका, बजार र भीडहरूका असङ्ख्य सिलसिलाविहिन मोन्ताजहरू । म आज छुट्याउन सक्दिनँ -ती यथार्थ थिए वा अयथार्थ ? फेरि पनि सर्रियल रहस्यमयताका साथ ती मेरा अस्तित्वका अविभाज्य अंश बनेर मसँगसँगै हिँडिरहेका पाउँछु आजसम्म उसरी नै ।

सन् १९६४ को जमाना । गुवाहाटी । बुबा-समाज, धर्म-संस्कृति, परोपकारसित सम्बद्ध व्यक्ति । भजन, गायन, वादन, नृत्यप्रति अगाध हार्दिकता देख्छु उहाँमा । हार्मोनियम बजाउनमा र नृत्यमा उहाँको प्रतिभा बह्मपुत्र झैं वेगवान्, गतिशिल अनि अथक छ भन्ने लागि रहन्छ मलाई । सबैभन्दा विशेष र अद्वितीय उहाँको मप्रतिको उदात्त प्रेमभाव । बुबा मलाई आफुसँगसँगै लैजानुहुन्छ-हाटबजार, इष्टमित्रको घर, सभा-सत्संग समारोह, सिनेमा, सर्कस अनि असमका विख्यात भ्राम्यमान थिएटरका पण्डालहरूमा ।

भ्राम्यमान थिएटरहरूमा हेरेको केही नाटक-‘जयमति’, ‘लाचित बरफूकन’, ‘बरदैशिला’र अन्य केही हरर नाटकहरू पनि बिर्सेको छैन । वास्तवमा सिनेमा हेर्नुमा भन्दा धेरै रमाइलो मलाई भ्राम्यान थिएटरका नाटकहरू हेर्दा लाग्थ्यो । भ्राम्यमान थिएटर प्रतिको मेरो आसाक्ति, अनुराग र चाखलाई राम्रररी बुझ्नु भएकाले बुबा मलाई शहरमा चलिरहेको कुनैपनि भ्राम्यमान थिएटर पार्टीको नाटक हेर्न जाने अनुमति सहजै दिनुहुन्थ्यो ।

यसरी हिन्दी चलचित्र, असमीया भ्राम्यमान थिएटर, सर्कसका जोखिमले भरिएका प्रदर्शनकारी खेलहरूले मेरो किशोर मन मस्तिष्कमा निकै गहिरो छाप छोडेका थिए । यी बाहेक देवकोटा जयन्ती, भानु जयन्तीमा हुने सांस्कृतिक कार्यक्रम र लघु नाटकहरूले पनि मभित्र मञ्च अभिनय र नाटकप्रति आकर्षण र अभिरुचि बढाउँदै जाँदै थिए ।

२. आफ्नै छात्तीमा बजेको ढ्याङ्ग्रो सुन्दा

तिनताक म गुरु नानक नेशनल हाईस्कुलमा सात कक्षाको विद्यार्थी थिएँ । घरको अवस्था जर्जज थियो-एकातिर आमा टी.बी.ले थलिनुभएको थियो भने बुबा घाँटीको क्यान्सरको उपचार गराउन छ महिनादेखि बिहारको पटनामा हुनुहुन्थ्यो । यस्तोमा स्कुलको वार्षिक उत्सवको अवसरमा हाम्रो कक्षाबाट पनि नाटकको तयारी अंग्रेजी शिक्षक सैयदुल्लाह खानको निर्देशनमा हुने निश्चित भयो । लखनबी मिजासका खान सर अनुशासनको मामलामा निकै कठोर मानिन्थे । हिन्दी भाषामा गरिने एकांकी नाटकमा मलाई पनि केही संवादसहितको सानो भूमिका गर्नैपर्ने बाध्यता आइलाग्यो ।

वार्षिक उत्सवका निम्ति दुई साता मात्र बाँकी रहँदा नाटकको रिहर्सल थालियो । स्कुल बिदा भएपछि दुईतीन घन्टासम्म खान सरले कठोर तरिकाले अभ्यासका दलाउँथे । मलाई भने जहिले पनि घर फर्कने हतारो हुन्थ्यो । तर खाना सरको अगाडि मेरो त के कसैको पनि चुइँक्क गर्ने हिम्मत हुँदैनथ्यो । वास्तवमा भन्ने हो भने त्यो नाटकको रिहर्सलभन्दा पनि सैनिक वा प्रहरी जवानलाई गराइने कवाज वा परेडको कठोर तालिमजस्तै थियो । अन्ततः नाटकको प्रदर्शनको दिन आइपुग्यो । राम्रो तयारी गर्न नसकेको र पहिलो अनुभव भएकाले म निकै नर्भस थिएँ ।

हाम्रो नाटकको पालो आएपछि मञ्चको पर्दा उघारियो । साथीहरू डराई डराई मञ्चमा गएर आ-आफ्नो संवाद अड्की अड्की बोल्न थाले । सुरुदेखि नै हाम्रो टिमको प्रस्तुति कमजोर भएर होला दर्शकदिर्घाबाट होहल्ला, हाँसो र हुटिङ सुनिँदै थियो । मेरो पालो आएपछि विङ्सबाट खान सरले मलाई मञ्चतिर धकेलिदिए । म पहिले नै नभर्स थिएँ । मञ्चमा पुगेर दर्शकदीर्घातिर पेरेन्ट्स र उच्च कक्षाका विद्यार्थीहरूको घुइँचो देखेपछि मेरो सातो गयो र आफ्नै छातीमा ढ्याङ्ग्रो बजेको प्रस्टसँग मैले सुन्न थालें । बोल्न पर्ने संवाद बिर्सेर म लाटो झैं बनी ठिंग उभिई मात्र रहेँ ।

एकैछिन म त्यही अवस्थामा ठिङ्ग उभिरहें । एक्कासी विङसबाट खान सरले मेरो संवाद प्रष्ट गरेको कर्कस र कठोर स्वर सुनेपछि म होसमा आए झैं आफैंमा फर्के र संवाद बोल्न थालेँ । तर हाम्रो नाटक खेल्ने पहिलो प्रयास भने फ्लप भइसकेको थियो । पर्दा बन्द भइसकेपछि व्याक स्टेजमा उनले एक एक गर्दै सबैको सातो खाएका थिए र मेरो पालो आएपछि आँखा कठोर पार्दै भनेको वाक्य अझै बिर्सेको छैन- ‘अबे ! यिन सब में सब सें बडा बेहूदा, सब से बडा नालायक, निकम्मा तूँ है बे । तूँ नेतो नाटकको गुँड से गोबर ही बनादिया बे…. ।’

वर्षैंसम्म हामीले खान सरका गालीहरूको प्यारोडी बनाएर एकाअर्कालाई सुनाएर हँसाउने काम गरिरह्यौं कक्षाकोठाबाहिर । तर हाम्रो सामूहिक र व्यक्तिगत विफलताको व्यथा भने हामी प्रत्येक भित्र खील झैं गाडिएर दुखिरहन्थ्यो । त्यो दुखिरहने, विझाइरहने विफलताको खील अन्ततः चार वर्षपछि हामीले सामूहिक रुपमा आफूभित्रबाट झिकेर मिल्काउन सफल भएका थियौं ।

३. त्यो बिझाइरहने बिफलताको खील

हामी दश कक्षामा पुगिसकेका थियौं ।
हामी अर्थात् सात कक्षामा नाटक खेलेर हाँसोका पात्र बनेकाहरू ।
त्यसो त हाम्रो कक्षा निकै ठूलो थियो । ए र बी सेक्सनमा विभाजित । लगभग एक सय ३० भन्दा धेरै विद्यार्थी सङ्ख्या भएको । तर नाटक गरेर स्कुल हँसाउने हामी १३ जना सेक्सन ‘ए’ मा थियौं । सबै पढाइमा अब्बल । मि श्रीलाल फस्ट ब्वाय थियो क्लास टपर । सुरिन्दर सिंह धामी-दोस्रो र म थिएँ कक्षामा चौथो बरियता क्रममा । मोटे राजेन्द्रप्रसाद कपडा व्यापारीको छोरो थियो – महागफाडी ।

अनि निर्मलकुमार कक्षामा उपद्रो गर्नमा कहलिएको बदमास नम्बर वान् – जसले स्कुल बिल्डिङको दुईतला माथिबाट जम्प गरेर एकपटक आफ्ना खुट्टा मात्र भाँचेको थिएन, केटीहरूको ट्वाइलेटको छेस्किनी बाहिरबाट लगाएर उनीहरूलाई थुनेको आरोपमा सात दिन स्कुलबाट सस्पेन्डसमेत भइसकेको थियो । तर सबैभन्दा रमाइलो र हुल्लडबाज पनि निर्मल नै थियो । निर्मल मेरो अति नजिक थियो र अत्यन्त प्रिय मित्र पनि । निर्मल र राजेन्द्रप्रसाद कक्षा आठदेखि मसित कराइरहन्थे- ‘एउटा धाँसु नाटक लेख् यार । त्यो सैयदउल्लाह खानलाई देखाउनुपर्छ र स्कुललाई पनि एक पटक त देखाइ दिनै परेको छ हामीले ।’

यसैबीच म परिवारविहिन बनिसकेको थिएँ-एक्लो, रामभरोसे टाइपको, टिपिकल आवारा । आठ कक्षाको अर्धवार्षिक जाँच चलिरहँदा क्यान्सरग्रस्त बुवाको निधन भएको थियो । बुबाको १३ दिनको काम सकिएपछि आमा उपयाहीन बनी भाइहरूलाई लिएर कुइमा (नेपाल) फर्कनु भएको थियो । यसरी हेर्दाहेर्दै एउटा हाँस्दो खेल्दो परिवार उजाडिदिएर भताभुङ्ग बनेको थियो । म भने कान्छा मामासित गुवाहाटीमा थिएँ । मामालाई व्यापारको कुनै अनुभव थिएन ।

जसले गर्दा बुबाले वर्षौ लगाएर जोरेको कारोवार निकै द्रुत गतिमा ओरालो लाग्दै गयो । बाबु आमाको संरक्षण नहुँदा म पनि बेलगाम र बेकाबू बन्दै ओरालो लाग्दै जाँदो थिएँ । सिनेमा, नाटक दिन नबिराइ हेर्नु, साइकलमा सवार भई सहरभरि डुलिहिँड्नु साथीहरूको घरघरै पुग्नु वा उनीहरूलाई आफ्नो कोठमा डाकेर उपद्रो गर्नु नै मेरो दिनचर्या बन्दै जाँदो थियो । तर यति धेरै खराबीहरू र विचलनमाझ पनि म केही जोगिएको थिएँ भने पढाइ नबिगारेका कारण मात्र ।

मलाई भने असमीया भ्राम्यमान थिएटर अचाक्ली हेरेर फाइदै भएको थियो । भ्राम्यमान थिएटरको सिको गरेर त्यसका ट्रिक्स फरमुला वा भनौं शिल्प शैली र टोनहरूलाई समातेर अन्ततः मैले एउटा नाटक लेखिछाडें हिन्दीमा – अनि लगेर देखाएँ मित्र मण्डलीलाई । त्यो जुग जमाना र बुझाइअनुसार नाटक धाँसु छ भन्ने ठहर गरे पढ्नेहरूले । सुझावअनुसार केही काँटछाँट र थपथाप पनि गरियो र तयार भयो नाटक ‘मजदुर’ ।

नाटक वार्षिक उत्सवमा देखाउने गरी हामीले सुक्ष्म तयारी थाल्छौं । राजेन्द्रप्रसादको सुक्ष्म र चुस्त व्यवस्थापन र मेरो निर्देशनमा नाटकको सघन रिहर्सन अगाडि बढ्छ । यसपालि कुनै पनि गडबड हुन नदिन हामीले पटक पटक कामबारे परामर्श र समीक्षा गर्छौ ।

स्कुलको वार्षिक उत्सवको दिनभन्दा पहिले नै हाम्रो नाटकबारे धेरै नै प्रचार प्रसार भइसकेकाले यसले सबैमा ठूलो उत्सुकता र अपेक्षा जगाएको हुन्छ । कार्यक्रमको अन्तमा हाम्रो नाटक राखिएको भएपनि नाटक हेर्ने उत्सुकतामा दर्शकहरू प्रतीक्षारत नै हुन्छन् । पर्दा उघ्रन्छ र नाटक थालिन्छ । सुरुमै नाटकको कथानक मर्मले दर्शकहरूलाई समातेको हामीले थाहा पाइसकेका हुन्छौं । त्यसले हाम्रो उत्साह र हौसला चुलिएकाले हाम्रो अभिनय अनि प्रस्तुति झन्-झन् माझिँदै जान्छ ।

नाटक सकिँदा धेरैबेरसम्म थपडी बजिरहन्छ अडिटोरियमा । हामीले बुझिसकेका हुन्छौं हाम्रो प्रयोग अत्यन्तै सफल भइसकेको छ । हेडसर दीनानाथ सिंह, स्कुल सक्रेटरी सरदार अम्रिक सिंह सर, वरिष्ठ शिक्षक तथा शिक्षिकाहरू ब्याक स्टेजमा आई हामीलाई बधाई ज्ञापन गर्दछन् ।सबैभन्दा अन्तमा आउँछन् उनै – सैयदुल्लाह खान सर । उनी आफ्नै स्टाइलमा हामीलाई बधाई दिँदै भन्छन्- ‘अब छुपे रुस्तमों ! तुम लोगोँ ने तो आज कमाज ही करदिया बे ! मासाअल्लाहा ! क्या खूब !! मुवारकवाद देता हूँ तुम सबको !!’ कठोर र अनुशासनका प्रतिमुर्ति मानिएका खान सरबाट स्याबासी पाएपछि मलगायत हाम्रा धेरै जसो टीम मेम्बरहरूका आँखा रसाएका थिए । सायद त्यस साँझ चार वर्षअघिदेखि बिझाइरहेको बिफलताको खील एकाएक मनबाट निचोरिएर गएको थियो !

४. यहाँ जिन्दगी यस्तै छ !

सन् १९७२ को भारत । असम । गुवाहाटी । र म ।
त्यो जमानामा तीनवटा नामले धुम मचाइरहेका थिए । राजनीतिमा इन्दिरा गान्धी । सिनेमामा राजेश खन्ना । पृथ्वीको नक्सामा थपिएको नयाँ मुलुक -बाङ्लादेश । यी सबैमा म पनि भोक्ताको रुपमा कतै न कतै सामेल थिएँ । यसबीच मैले एच.एस.एल.सी उत्तीर्ण गरिसकेको थिएँ र असमको प्रसिद्ध आर्यविद्यापीठ कलेजमा प्रि.युनिभर्सिटि (विज्ञान) अध्ययन गरिरहेको थिएँ । ममा भ्राम्यामान थिएटरप्रतिको आशक्ति उस्तै प्रगाढ थियो ।

यस्तैमा सन् १९७२ को सुरुसुरुतिरै नेपली विद्यार्थीहरूको वृहत्तर भेलाले मलाई ‘अखिल गुवाहाटी नेपाली विद्यार्थी संघ’ को महासचिव नियुक्त गर्‌यो । यस नयाँ दायित्वमा बाँधिएपछि एक हदसम्म मेरो दैनन्दिने भेटघाट र कामका प्राथमिकताहरू फेरिएका थिए एकाएक । तर पनि मभित्रको अनियन्त्रित आवारा मान्छे र उसको बोहेमियन बानी बेहोरामा भने कुनै ठूलो परिवर्तन भएको थिएन । अझ पनि नाटक, सिनेमा, किताबहरू अनि बेपर्वाह बरालिने स्वभाव नै मेरो अन्तिम गन्तव्य र आ श्रयस्थल थिए – जहाँ म साँच्चिकै रमाउँथें वा आफैंमा हुन्थेँ ।

तिनै दिनहरूमा विद्यार्थी संघले संस्थाको फन्ड सङ्ग्रह गर्न नाटक प्रदर्शन गर्ने एकसूत्रीय निर्णय पारित गर्‌यो र नाटक लेख्ने जिम्मेवारी पनि मलाई नै सुम्प्यो । म नाटक लेख्न तम्सिएको थिएँ । आफ्नो जीवनको पहिलो नेपाली नाटक ।

अझै पनि ममा असमीया भ्राम्यमान नाटकको धङ्धङी प्रशस्त र प्रचुर मात्रामा थियो । भ्राम्यमान थिएटरमा प्रयोगमा ल्याइने दुई वा तीन वटासम्म समानान्तर मञ्च जसले गर्दा दृश्य परिवर्तनमा निमेषभरको पनि विलम्ब हुँदैन । तर प्रोसेनियम ढाँचाको एकल मञ्चमा भ्राम्यमान थिएटरले दिने प्रभाव जुटाउन सम्भव नभए पनि अन्य रङमञ्चीय युक्तिहरू नाट्य आलेखमा भित्त्याइने शिल्प शैली र रणनीतिहरूको सिको भने गर्न सकिन्छ भन्ने त स्कुलमा ‘मजदुर’ नाटक मञ्चन गर्दादेखि नै मलाई थाहा भइसकेको थियो । यति पनि नाटकको आलेख, मञ्चन र समग्र प्रभावलाई कसिलो साथै सामान्य दर्शकका निम्ति हृदयग्राही पार्न सकिन्छ भन्ने विश्वास ममा थियो । र यही आत्मविश्वासका साथ मैले लेखेको थिएँ त्यहाँ जिन्दगी यस्तै छ !’ शीर्षकको मेरो पहिलो नेपाली नाटक ।

‘यहाँ जिन्दगी यस्तै छ ।’ गुवाहाटीको डिस्ट्रिक लाइब्रेरी हलमा सन् १९७२ को सेप्टेम्बरमा मञ्चन भएको थियो । दर्शकहरूको प्रतिक्रिया अनि महिनौं चलेको सकारात्मक चर्चाले गर्दा नाटक एक हदसम्म मन पराइएकै हो भन्ने निष्कर्षमा म पुगेको थिएँ ।

‘यहाँ जिन्दगी यस्तै छ’ को लेखन र मञ्चनपछि भने नाटकलाई लिएर बनेका मेरा पुराना धारणा र मान्यताहरूमा छिटछिटो परिवर्तन आउन थालेको थियो । सायद एउटा नाटक मञ्चन भइसकेको आत्मविश्वास अनि अरुको भन्दा पृथक केही गर्नुपर्छ भन्ने आफ्नो अन्तरमनको बारम्बारको सचेत निर्देशले गर्दा पनि अब म पहिलेभन्दा सतर्क थिएँ । तर मैले जान्न र सिक्नुपर्ने अझै धेरै थोक बाँकी थियो । ‘यहाँ जिन्दगी यस्तै छ !’ सम्म आइपुग्दा तीन-तीन वटा नाटकमा अभिनयको अनुभवसमेत मसित थियो । तर पहिलो अनुभवदेखि नै म अभिनयका निम्ति बनेको होइन भन्ने गहिरो बोध मसिन थियो । म यथार्थ जीवनको अभिनयमा समेत साह्रै कमजोर पाउँथे आफैलाई । सायद त्यसैले पनि होला अभिनय मेरो पहिलो रोजाइ बन्न सकेन । नाटक लेखनलाई नै आत्माभिव्यक्तिको माध्यम बनाउँदै लगेँ ।

५. नौलो नाटकहरूको नयाँ संसारमा

यसपछि घटनाहरू छिट्छिटो घटित भइरहे – मेरो जीवनमा पनि, मेरो साहित्यिक लेखनमा पनि, मेरो नाट्यसृजन र रङकर्ममा पनि । सन् १९७३ देखि १९८२ सम्मको लगभग दश वर्षको समय मेरो जीवनको पहिलो सर्वाधिक गतिशील दशक थियो । घटनाहरू धेरै छन् । त्यसैले केही खास खास घटना वा प्रसंगहरूमा मात्र केन्द्रित हुने प्रयास गर्नेछु ।

सन् १९७३ देखि १९८२ सम्म धेरै गम्भीर नाटकहरूको मञ्चन हेरियो । साहित्यिक एवम् कलात्मक मूल्य भएका असमीया, हिन्दी र अंग्रेजी भाषाका मौलिक तथा अनुदित नाट्यकृतिहरू भेटे जति पढियो । यसै समयमा मैले बुझ्न सकेको थिएँ-साहित्यका अन्य विधाहरूको तुलनामा नाटक अत्यन्त जटिल, अत्यन्त कठिन विधा हो । कविता, महाकाव्य, कथा, उपन्यास वा निबन्ध विधाजस्तो साहित्यकारले लेखिदिने बित्तिकै नाटकले लेखिएर मात्र पूर्णता पाउँदैन रहेछ । कलाकारहरूले अभिनयका माध्यमद्वारा रङ्गमञ्चमा प्रस्तुत गरेपछि मात्र एउटा नाटकले पूर्णता उपलब्ध गरेको ठहर गर्न सकिने रहेछ ।

नाटक अनिवार्यतः एउटा प्रदर्शनकारी कला हो, प्रदर्शनकारी कला भएकाले लिखित नाट्य आलेख अथवा नाट्कृतिको सत्यापन हुने अन्तिम र एक मात्र थलो भनेको रङ्गमञ्च नै हो । मैले कहिल्यै पनि नाट्य आलेख वा नाट्यकृतिलाई अन्तिम उपलब्धि ठानिनँ र रङ्गकर्म साथै रङ्गमञ्चलाई सधैं श्रद्धा गरिरहेँ । नाटक र रङ्गकर्मको सेरोफेरोमा लगभग पैंतालिस वर्ष बिताइसकेको एक जना मामुली नाट्यसर्जकका नाताले के निवेदन गर्न चाहन्छु भने ‘नाट्यकृति’ र ‘रङ्गमञ्च’ दुवै आ-आफ्नो ठाउँमा स्वायत्त, स्वतन्त्र र पूर्णकला हुन् ।

एउटा साहित्यिक रचना पनि भएकाले लिखित नाट्य आलेख वा नाट्यकृति कलासृजनाका दृष्टिबाट हेरिँदा निश्चित रुपमा आफैमा स्वायत्त र पूर्ण कला हो । अनि ठिक त्यसैगरी अभिनयको माध्यमद्वारा रङ्गमञ्चमा गरिने नाट्यलेखको प्रस्तुतीकरण पनि आफैमा स्वतन्त्र स्वायत्त कला नै हुने गर्दछ । यस प्रकार रङ्गमञ्चमा एउटा नाटक मञ्चन हुनु भनेको दुई भिन्न स्वतन्त्र स्वायत कलासृजनाको समागम हुनु हो भन्ने मेरो बुझाइरहेको छ ।

६. मेरो प्रेरणा, मेरा पाठशालाहरू नाटकमा

नाटक मैले हेर्दाहेर्दै गर्दागर्दै सिकेको जानेको हुँ भन्न मलाई कुनै संकोच वा लज्जाबोध हुँदैन । किनभने यही नै शतप्रतिशत यथार्थ कुरो हो । तर नाट्यकला सिकाइका सन्दर्भमा केही तथ्य यस्ता छन् जसप्रति म नतमस्तक छु र सदैव नतशिर रहनेछु । त्यस्ता तथ्यहरूलाई तल बुँदागत रुपमा प्रस्तुत गरेको छु ।

क)नाटकका निम्ति मेरो सबैभन्दा ठूलो र सबैभन्दा पहिलो प्रेरणास्थल गुवाहाटी महानगरी नै हो । गुवाहाटीमा नाटकको सुदीर्घ परम्परा चलिआएकैले मैले एउटा बनिबनाउ वातावरण पाउन सकेको हुँ । गुवाहाटीमा पहिलो स्थायी थिएटर हल र रङ्गमञ्चको स्थापना सन् १८७५ मा भइसकेको थाहा लाग्छ । सन् १९७० को दशकमा म नाट्यकर्ममा सक्रिय हुने बेलासम्म गुवाहाटीमा निर्मित पहिलो स्थायी रङ्गशाला ‘भास्कर नाट्य मन्दिर’ अनि दोस्रो स्थायी थिएटर प्रेक्ष्यालय ‘आर्य नाट्य मन्दिर’ बन्द भइसकेका थिए । गुवाहाटीमा नेपाली नाट्य मञ्चनको परम्परा बसाल्नमा ती दुई वाहेक डिस्ट्रिक लाइब्रेरी प्रेक्ष्यालय साथै रवीन्द्र भवनको पनि उत्तिकै योगदान रहेको छ र गुवाहाटीमा मेरो नाटकहरू धेरैजसो यिनैमा मञ्चन भएका हुन् ।

ख) नेपाली बस्ती (उलुबारी) जहाँ म बस्थेँ त्यसको सिरानतिर गुवाहाटी शिलाङ हाइवेसँगै जोरिएको फराकिलो चउरसहितको उर्दू, अरबी भाषा पढाइ हुने एउटा स्कुल थियो जसलाई ‘मकतव’ भन्ने गरिन्थ्यो । यही स्कुलको फराकिलो चउरमा फुटबल क्रिकेट खेल्दै र चंगा उडाउँदै मेरो बाल्यकाल र किशोरावस्था बितेको थियो । बेला बेला त्यसै चउरमा हाम्रा दाइ पुस्ताकाहरूले अस्थायी रंगमञ्च खडा गरेर नाटक मञ्चन साथै नृत्य, गीत र प्रहसनका कार्यक्रम गरिरहन्थे ।

विशेष गरी सन् १९७३ र १९७४ का वर्षहरूमा ‘मकतब’ को एउटा फराकिलो कक्षाकोठाभित्र साँझपख मैले चिनिराखेका तिनै स्थानीय दाई पुस्ताका कलाकारहरू भेला भएर महिनौंसम्म नाटकको रिहर्सल गर्ने गर्थे । म दिनहुँ त्यहाँ पुग्थेँ र झ्यालनजिक उभिएर दत्तचित्त बनी घन्टौं रिहर्सल हेरिरहन्थेँ । नाटकको संवाद सम्प्रेषण, अभिनयका सुक्ष्म हाउभाउहरू, पात्रको मञ्चनप्रवेश र बहिर्गमन, पात्रको क्रिया, गति र एकाअर्कासितको सामन्जस्यबारे झर्को नमानी एकनास सिकाइरहने केन्द्रीय व्यक्ति अर्थात् नाट्य निर्देशकको नाम थियो दारा अहमत ।

निर्देशक दारा अहमद निकै थोरै बोल्थे र आफूले भनेका कुरा कलाकारहरूबाट कठोरताका साथ पालना गराउँथे । उनको निर्देशन क्षमतालाई मैले नजिकबाट नियाल्ने र त्यसबाट धेरै थोक सिक्ने जान्ने अवसर पाएँ । दारा अहमद एककिसिमले मेरा द्रोणाचार्य नै हुन् र म उनले थाहै नपाई उनीबाट सिक्ने आधुनिक एकलव्य ।

ग) सन् १९७६ मा ‘गुवाहाटी आर्टिष्टस गील्ड’ को गठन भयो । यसका संस्थापक असमका तत्कालीन बहुप्रतिभाशाली असमीया चित्रकारहरू थिए । म गील्डको कार्यालय प्रायः दिनका एकपटक पुगेकै हुन्थेँ र उनीहरूले गरिरहने कार्यक्रममा सहभागी भइरहन्थे । मित्रहरूले मलाई गील्डको वरण्य सदस्यको सम्मान दिएका थिए । गील्डमा चित्रकलाको मात्र चर्चा हुँदैनथ्ये-समकालीन नाटक, कविता, कथा,उपन्यास, चलचित्र, फोटोग्राफी, अभिनय, नृत्य आदिका कलापक्ष, वस्तुपक्ष, सिद्धान्त र तिनका इतिहासका सन्दर्भमा समेत निकै सारगर्भित कुराकानी र बहसहरू हुने गर्थे ।

गील्डको सूचना पाटीमा टाँसिने पेन्टिङ्स प्रदर्शनीवाहेक पनि नाटक सिनेमा, नृत्य, गीत आदि विशिष्ट कार्यक्रममा सूचनाका अतिरिक्त निम्तो, पास, टिकेटको पनि व्यवस्था कहिलेकतै हुन्थ्यो । गील्डमा प्राप्त सूचनाकै आधारमा डिस्ट्रिक लाइब्रेरी प्रेक्ष्यालय र रवीन्द्र भवनका रङगमञ्चमा मैले महत्वपूर्ण नाटक, शास्त्रीय नृत्य तथा गीतका कार्यक्रमहरू हेर्ने स्वर्णीम अवसरहरू हात पार्न सकेको सम्झन्छु । मेरो ‘स्व’-निर्माणमा ‘गुवाहाटी आर्टिष्ट’ ‘स गिल्ड’ ले निर्वाह गरेको भूमिकाका निम्ति गील्ड र गील्डसम्बद्ध आत्मीय मित्रजनहरूप्रति पनि म आजीवन आभारी रहनेछु ।

७. अङ्क र दृश्य अर्थात् दिक् र कालको खेल हो नाटक

एउटा चार कित्ता तोकिएको सीमित क्षेत्र (मञ्च) भित्र जीवन जगत्का सम्भव असम्भव र सीमित असीमित खेलहरू खेलिनु नै रङ्गमञ्चीय नाटक कहलाउँछ । यस सीमित रङ्गमञ्चसँग बितिसकेको हज्जारौं वर्षको इतिहासलाई, इतिहासका कथानकलाई एक दुई वा तीन घन्टाको समयसीमाभित्र न्यारेट (समाख्यायित) रिप्रेजेन्ट (रुपायित) वा रिक्रियट (पुनः सृर्जन) गर्नसक्ने अद्भुत सामथ्र्य रहेको छ । ‘रङ्गमञ्च’ को दिक् र काल्को माहिर खेलाडी नभई न कसैले उत्कृष्ट नाट्यकृति लेख्न सक्छ न सर्व श्रेष्ठ नाट्य निर्देशनको बहुरुपीय परिकल्पनालाई सार्थकता प्रदान गर्न सक्छ ।

रङ्मञ्चको यस सत्यलाई मैल स्वअनुभव, स्वअध्ययनकै भरमा वर्षै लगाएर अलि अलि मात्र बुझ्न सकेको छु तर आफ्नो रङ्गमञ्चसम्बद्ध अनुभव अनुभूति वा अध्ययनलाई नाट्यकृतिभित्र साकार पार्न भने अझै सकेको छैन भने विफलता बोध पनि मसँगसँगै केही वर्षदेखि हिँडिरहेको छ निरन्तर ।

नाटकको अङ्क र दृश्यसम्बन्धी पारम्परिक बुझाइप्रति मेरो सुरुदेखि नै अरुचि असहमति साथै अस्विकृति रह्यो । संस्कृति, नेपाली, असमीया, अंग्रेजी वा हिन्दीका पुराना नाटकहरू जुन पद्धतिमा अङ्क अनि दृश्यहरूमा विभाजित पाइन्छन्, त्यसले मेरो आधुनिक मथिङगललाई जहिलेसुकै दिक्क, थकिन असन्तुष्ट र आजित बनाएको पाउँथें । पुर्वीय नाटकहरू वा भनौं मध्यकालीन, पुनर्जागरणकालीन वा आधुनिकतापूर्वकालका युरोपेली नाटकहरूमा पाइने ‘एक्ट र ‘सिन’ का शिथिल दि्-कालगत संरचनाभन्दा मलाई बरु सो फोक्लिज युरिपाइडि, एस्किलस आदिका प्राचीन ग्रीसेली दुखान्त नाटकका द्कि कालका छरिता, परिस्कृत संरचनाले आकर्षित गर्दथे, लोभ्याउँथे ।

पछि गएर उन्नाइसौं शताब्दीको अन्त्यदेखि बीसौं शताब्दीको मध्यसम्मका जर्ज वर्नाड श, अन्तोन, चेखमा विजय तेन्दुलकर युजिने आयो नैस्को सीन ओ क्यासे, अर्थर मिलर, पिरान्डेल्लो मोहन राकेश आदिका चार तीन वा दुई दृश्यगत संरचनामा बाँधिएका नाटकहरूले केही सयम मलाई आकृष्ट गरेका भए तापनि पछि गएर ती पनि मलाई जीवन यथार्थबाट टाढिएका, अव्यावहारिक साथै संवादबहुल स्वरुपका लाग्न थाले । सुरु सुरुतिरका मेरा नाटकहरू ‘मजदुर’ ‘यहाँ जिन्दगी यस्तै छ।’ अङ्क र दृश्यहरूमा नभई मात्र सामान्य दृश्य पद्धतिमा संरचित भएको सम्झन्छु ।

८.नाट्य गतिविधिको अर्को चरणतिर

सन् १९८२ सम्म आइपुग्दा अब नाट्य सृजनमा केही त फरक गर्नुपर्छ र गर्नसक्छु भन्ने आत्मविश्वासले म छताछुल्ल भरिएको थिएँ । यसै वर्षको अन्तरित मैले नाटक ‘ समय, समय अनि समय’ को खेस्रा लेखन गरेर सिध्याएको थिएँ । तिनताक यस नाटकले केही आत्मिक सन्तुष्टि मलाई दिएको थियो र गुवाहाटिका बयोवृद्ध नाटककार प्रेमसिंह सुवेदी, मित्र विनोद कोइराला र पदम छेत्रीलाई ‘समय, समय….’को अपरिष्कृत पाण्डुलिपि अनुसार सुझाव मागेको थिएँ । केही पछि मित्र पदम छेत्रीले यस नाटकलार्य आफ्ना सुन्दर अक्षरहरूमा सारेर पाण्डुलिपि मात्र तयार पारिदिएनन् -‘समय, समय और समय’ शीर्षकमा हिन्दी अनुवाद गरी भारतीय साहित्य आदेमीको पत्रिकामा प्रकाशनार्थ प्रेषित पनि गरिदिए । ‘ समय, समय…’ समकालिन भारतीय साहित्य, वर्ष १०: अङ्क ४० अप्रेल-जुन १९९० को अङ्कमा प्रकाशित भयो । हिन्दीमा अनुवाद प्रकाशित भएपछि ‘समय समय…’ को तमिल, मराठी आदि भारतीय भाषामा अनुवाद र मञ्चन मेरो जीवनकै सुखद र रोमाञ्चक प्रसङ्ग बने ।

नेपालीमा एम.ए. अध्ययन गरिरहेको बेला अगस्त १९८६ ताक भाइ अनुक्रमराज शर्मा कीर्तिपुर होस्टलमा भेट्न आउनुभयो र मसित कुनै लेखिएको नाटक छ कि? भनी जिज्ञासा राख्नुभयो । मैले मेरा दुई नाटक ‘समय, समय अनि समय’ र ‘अश्वत्थामा हतोहत’ (सन् १९८४ मा गुवाहाटीमै लेखिएको) का पाण्डुलिपि उहाँलाई पढेर सुनाएँ । भाइ अनुक्रमले ‘दाइ दुवै नाटक फरक स्वादका र नेपालका लागि नयाँ खालका छन् । यस पटक ‘समय समय…’ लाई राष्ट्रिय युवा महोत्सावः २०४३ को नाटक प्रतियोगितामा लैजानुपर्छ ।’ भने । मैले नमान्ने कुरै थिएन ।’ समय, समय…’ लाई प्रतियोगितासम्म पुर्‌याउनुमा भाइ अनुक्रमराज शर्माले सक्रिय भूमिका रह्यो । नेपालमा मेरो यस पहिलो नाटकको निर्देशन मित्र राजेन्द्र शलभले गरे भने धेरै प्राविधिक सहयोग र सल्लाह सुझाव अभिनेता भाई रविन्द्र खड्काबाट प्राप्त भयो । फलस्वरुप उपर्युक्त प्रतियोगितामा नाटक ‘समय समय…’ ले सर्व श्रेष्ठ नाटक, सर्व श्रेष्ठ नाटक लेखक, सर्व श्रेष्ठ अभिनेता र सर्व श्रेष्ठ नाटक निर्देशक विधाका पुरस्कारहरू हात पार्न सफल भयो ।

यसै अवधिको मेरो अर्को नाटक ‘अश्वत्थामा हतोहत’ पनि सन् १९८४ मा गुवाहाटीमै लेखिएको थियो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ष्ठानल बर्सेनी आयोजित गर्ने नाटक-महोत्सवमा भाग लिने मनस्थिति बनेपछि सन् १९८७ (मंसिर २०४४) तिर ‘अश्वत्थामा हतोहत’ मा मैले केही सामान्य परिमार्जन गरेको थिएँ । यस पटक पनि भाइ अनुक्रमराज शर्माकै सक्रियतामा प्रज्ञा प्रतिष्ठानमा नाटक बुझाउनेदेखि रिहर्सलको चाँजोपाँजो मिलाउने काम भयो । ‘अश्वत्थामा हतोहत’ प्रज्ञा प्रतिष्ठानको नाटक महोत्सवमा सहभागी गराइएको थियो र यसको मञ्चन प्रज्ञा प्रेक्षागृहमा भने निर्देशनको अभिभारा पनि मेरै काँधमा थियो । प्रतियोगितामूलक यस नाटक महोत्सवमा ‘अश्वत्थामा हतोहत’ सर्वोत्कृष्ट नाटक लेखन तथा सर्वोत्कृष्ट अभिनेत्री विधामा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत समेत भएको थियो ।

वि.सं. २०४३ देखि मैले काठमान्डूमा जीवन धान्न र पछि जीवन चलाउन टेलिचलचित्र र ठूलो पर्दाका चलचित्रहरूको लेखन र केहीको निर्देशनसमेत गर्दै गएँ । टेलिचलचित्र र ठूलो पर्दाका चलचित्रहरूको व्यावसायिक चमकधमक, आकर्षण साथै आय आर्जनसमेतको कारणले मबाट नाटक लेखन भने टाढिदैँ टाढिँदै जान थाल्यो । तर आफूले नाटक लेखनलाई विविध अन्य केही कारणहरूले गर्दासमेत उचित व्यवस्थापन गर्न नसकेको भएतापनि काठमान्डूमा मञ्चन भइरहने नाटकहरू समय र अवसरले भ्याएसम्म हेर्न भने छुटाएको छैन ।

अझ पनि आफूमा नाटकप्रतिको रहस्यमय आकर्षण र प्यासन भने नघटेको र यथावत् अवस्थामा रहिआएको चाल पाउँछु । भविष्यमा नाटक विधामा केही गर्नेछु भन्ने धोको र प्रत्याशा भने मानसाग्निका रुपमा आफूभित्र अझै पनि प्रज्जवलित रहिरहेकै पाउँदा मन उत्साहमा आलोडित हुने गर्छ ।

९. एउटा अन्तहीन महायात्रामा…..

२०३९ सालमा पहिलो पटक ‘संवेदन/ओ संवेदना! कविताका निम्ति रत्न श्री स्वर्णपदक ग्रहण गर्न म काठमान्डू आएको थिएँ । २०४० पछि नेपालीमा एम.ए. गर्न फेरि फर्केर काठमान्डू आएँ । यहाँ आएर निस्फक्री यहीँको बन्दै जाने क्रममा मैले नेपाली नाटक र रंगकर्मका केही अग्रदूत र अग्रवर्तीहरू अनि केही समकक्षी र सम्भावनायुक्त प्रतिभाहरूसित यस थलोमा भेट्ने, उनीहरूका काम हेर्ने र सिक्ने जान्ने अवसरहरू पाएँ , ती हुन-गोठाले, विजय मल्ल, हरिप्रसाद रिमाल, वासु शशि, मोहनराज शर्मा, हरिहर शर्मा, सुभद्र अधिकारी, शकुन्तला गुरुङ, अशेष मल्ल, सरुभक्त, महेन्द्र मलंगिया, प्रकाश घिमिरे, अनुप बराल, सूर्यमाला शर्मा, निशा शर्मा, सुनिल पोखेरेल, दीया मास्के, रेमश रञ्जन झा, घिमिरे युवराज, राजन खतिवडा, विमल सुवेदी, दयाहाङ् राई, केदार श्रेष्ठ, सरिता गिरी, खगेन्द्र लामिछाने, कृष्ण साह यात्री आदि आदि ।

यी नामहरूको लश्कर यहीँ थामिदैंन । थामिनु पनि हुँदैन । नेपाली नाटक रंगमञ्चको गौरवशाली भविष्य यात्रा आफ्नो बलियो विरासत र सम्प्रभुतामा टेकेर दह्रो पाइलासाथ अगाडि लम्किरहेको छ । यो यात्रा अन्तहिन छ र थुप्रै उदाइसकेका अनि उदियमान नक्षत्रहरू यस महायात्रामा सहभागी साथै सहगामी हुँदै जाने छन् आगामी महाकालमा । मात्र एउटा घिट्किसो मेरो यस अनन्त महायात्रामा म पनि हिँडेको थिएँ कुनै दिन भन्ने प्रमाणस्वरुप मेरा पदचिन्हहरू पनि टड्कारो छापिएको छोडेर जान सकूँ नेपाली नाट्य इतिहासका गौरवशाली पानाहरूमा ….।

शनिवार, असोज १५, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *