कविता : श्री नन्दीलाई

~विनोदविक्रम केसी~Binod Bikram KC

ए साँढे !
निकाल तेरो पशुपतिनाथलाई बाहिर
म त्यसलाई देखाउन चाहन्छु
मेरो सेप्रो पेट
जहाँ कोरेको छु मैले
त्यसले कल्याण गरिरहेको
देशको मानचित्र
निकाल बाहिर !
भित्र के गरिरहन्छ तेरो पशुपतिनाथ ?

यहाँ श्लेषमान्तक वनमा
मेरा देवदूत जस्ता भन्ट्याङभुन्टुङहरु
खोजिरहेछन् गिठ्ठा–भ्याकुर
ऊ भने खाइरहन्छ पेडा बाह्रैमास
एक एक ढुङ्गो वेदनाले रन्थनिएको
यस भूखण्डमा
के छ त्यस्तो वित्पात रमाइलो ?
हर दिन नाचिरहनुपर्ने
गानाबजाना गरिरहनुपर्ने
कति उडिरहन्छ
यो गाँजाको धुवाँको मुस्लो
सारा पर्यावरणलाई
लल्याकलुलुक र अकर्मण्य पार्ने गरी
निकाल तेरो पशुपतिनाथलाई बाहिर !

योसँग दुइटा कुरा नगरी भा छैन
बत्तीस करोड
उनान्सय लाख
उनान्सय हजार
नौ सय उनान्सय
धोकेवाज, अराजक, कुटिल, अकर्मण्य र जालसाँज
देउताहरुको
यो पञ्चमुखी नेतालाई
एकपटक
मान्छेको सर्वाेच्चताको स्वाद
चखाउन चाहन्छु म
निकाल तेरो पशुपतिनाथलाई बाहिर !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.