स्रष्टा परिचय : गोविन्द वर्तमान

~राजव~

गोविन्द अधिकारी ‘गोविन्द वर्तमान’ (२ चैत २०१७ – ५ कात्तिक २०६९) भएको खाली सोख र फेसनको कुराGobinda Adhikari 'Bartaman'_1 थिएन। यो नामबाट नेपाली साहित्यमा सार्थक हस्तक्षेप गर्नुथियो, उनलाई। उनको काव्यकर्म कवि हुने सोखबाट मात्र प्रेरित थिएन। निरंकुश राजनीति र त्यसले सिर्जना गरेको सामाजिक, सांस्कृतिक, साहित्यिक जडताविरुद्ध प्रतिकारपूर्ण काव्यात्मक हस्तक्षेप चाहन्थे, उनी। उनका लागि हरेक हस्तक्षेपकारी कवि र तिनका जुझारु कविता प्रिय थिए। उनले लेखे पनिः

म असाध्यै माया गर्छु
उत्सवमा उठ्ने हात
र, हावामा हल्लिने पताकाहरूलाई!
(‘अस्तित्व सोच’)

‘भएको भैदिए’ शीर्षक कविताबाट २०३३ पुसमा कविको पङ्क्तिमा आएका गोविन्द वर्तमान जीवनपर्यन्त त्यो Janardan Pudasaini Rajabजुझ्ारु कित्ताबाट अलग भएनन्। नेपाली साहित्यमा यही कटिबद्ध कविको रूपमा उनको उपस्थिति स्मरणीय रहनेछ।

३० को दशकमा देश राजशाही पञ्चायती व्यवस्थाको बन्दी थियो, पाइला फुकेर हिंड्नु र स्वर दबाएर बोल्नुपर्थ्यो। त्यस्तो बेला एउटा प्रतिरोधी कविको रूपमा उदाएका वर्तमानले जेल यात्रा र असहज जीवनयापनका सम्भावनाको पर्वाह गरेनन्। २०३६, २०४६ र २०६३ सालको राजनीतिक आन्दोलनमा काव्य र सडक दुवै मोर्चामा दृढतापूर्वक डटे। वर्तमानको कविताबाट शुरू भएको लेखन गद्यमा पनि सशक्त थियो। उनले कथाहरू पनि लेखे, तर प्रकाशित भने सोह्र साँझ्हरू निबन्ध संग्रह मात्र गरे। उनको यस स्मृति संकलनमा कवितामा जस्तै प्रचुर आवेगात्मक प्रखरता छ। यो काव्यमय आवेगात्मक गद्य संग्रहले नेपाली साहित्यको स्मृतिलेखनको जड रूपलाई कलात्मक ओजका साथ भत्काउँदै माओवादी हिंसात्मक ‘जनयुद्ध’ को तटस्थ आकलन गरेको छ। यद्यपि, उनी कविताबाट बढी स्मरणीय छन्।

पत्रकारिताले गोविन्द वर्तमानलाई रोजगारीसँगै निरंकुशता विरोधी प्रतिरोधी चेतना निखार्ने अवसर दियो। उनले विभिन्न खेमाका वामपन्थी र दक्षिणपन्थी अखबारमा आफ्नो वामचेतना विस्तार गरे। वामपन्थी अखबारमा उनको देब्रे चेतना एउटा खेमाको उद्देश्यमा सीमित भएन। दक्षिणपन्थी अखबारमा पनि उनले आफ्नो वामपन्थी गद्य नै साधे। शायद, यो नै गोविन्द वर्तमान हुनुको सार्थकता थियो।

गद्यमा काव्यको लालित्य र आवेग भर्न सिपालु गोविन्द वर्तमान मूलतः एक जुझारु कवि थिए। ३० को दशकको मध्यदेखि अनेकन पत्रपत्रिका र प्रतिनिधि संकलनमा परेका उनका थुप्रै–थुप्रै चर्चित कविताहरू छन्। ती कविताको सिंगो संकलन निकाल्न भने उनी आफैं उदासीन थिए। एक उच्चकोटिका कविलाई कविता संग्रह निकाल्न कुन परिस्थितिले निरुत्साहित गर्‍यो होला भन्ने एउटा आश्चर्यपूर्ण प्रश्न छोडेर न्यायप्रेमीहरूका यी प्रिय कवि अल्पायुमै विदा भए।

हरेक आन्दोलनपछिको जितमा हिस्सा खोज्ने लतका घोर विरोधी थिए, कवि गोविन्द वर्तमान। आउने पुस्ताले उनीबाट लिने सर्वाधिक मूल्यवान संस्कार भनेको यही स्वाभिमान र इमानको बल हो। स्मृतिशेष त्यो बलशाली कविलाई अनन्त श्रद्धाञ्जली!

(स्रोत : हिमाल खबर १-१५ मंसिर २०६९)

This entry was posted in स्रष्टा परिचय and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *