कविता : म

~अशोक राई~

शताब्दी अघि
तन्त्रको विरुद्धमा
ज्यान फालेकै हो
तिम्रो बन्दुक मैले
मेरो काँधमा राखेकै हो
तन्त्र गयो
तन्त्र नै आयो
सबै तन्त्रमा
आखिर तिमी नै त रहेछौ
म चाहिं तिम्रो ऐनमा
उर्दीहरुमा
सडकमा ।

दशक अघि
कुनै शासनको विरुद्ध
नारा लाएकै हो
जेल गएकै हो
कोर्रा करेन्ट खाएकै हो
शासन गयो
शासन आयो
सबै शासनमा
आखिर तिमी नै त रहेछौ
म चाहि जिन्दावादमा
मुर्दावादमा
सडकमा ।

केही वर्ष अघि
वादको विरुद्धमा
पुनः हतियार बोकेकै हो
कफ्र्यू तोडेकै हो
शहीद बनेकै हो
वाद गयो
वाद आयो
सबै वादमा तिमी नै त रहेछौ
म चाहिं संघर्षमा
रणभूमिमा
सडकमा ।

केही समय अघि
कुशासन र
पुरानो नेपालको विरुद्धमा
ढुङ्गा हानेकै हो
छातीमा गोली थापेकै हो
न नयाँ नेपाल आयो
न विधिको शासन आयो
म सधैं ‘शासित’मा
म सधैं निषेधमा
म सधैं सडकमा ।

अशोक राई, झापा
हालः न्यूयोर्क

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.