निबन्ध : एउटा युग, एउटा इतिहास

~अशेष मल्ल~ashesh-malla

अहिलेझैँ थिएन, त्यसबेलाको साहित्यिक वातावरण । एउटा कविले अर्को कविलाई नचिन्ने प्रश्नै उठ्दैनथ्यो । थोरै जनसंख्या, थोरै साहित्यकार सायद एउटै परविारझैँ लाग्थ्यो । मैले काठमाडौँ प्रवेश गरेको त्यो ‘३० को प्रारम्भिक वर्ष । भूपीका विद्रोही कविताहरू, सरल र सम्प्रेषणीय कविताको एउटा धार अनि मोहन कोइराला प्रवृत्तिको अर्को धार । ‘३० को प्रारम्भिक वर्ष जब हामी युवा कविहरू कवितामा सक्रिय हुन खोजिरहेका थियौँ, हामीलाई भूपीको धारले छोयो । तत्कालीन पञ्चायती प्रणालीले उब्याएको विद्रोही भाव, केवल त्यही असन्तोष, पीडा र सकसले निम्त्याएका अनुभूतिहरू कविताका विषय हुन्थे । अमूर्त प्रस्तुतिभन्दा अलि भिन्नै हाम्रा कविताका प्रस्तुतिहरूले हामीलाई ह्वात्तै परििचत गरायो तत्कालीन साहित्यिक माहोलमा । लगातारको साहित्यिक जमघटले लाग्थ्यो, एउटा सिंगो परविार थियो साहित्यकारहरूको । र, अहिले सम्झन्छु, कवि केदारमान व्यथित जो त्यसबेला हाम्रालागि कविताको सिंगो हिमाल थिए । जीवन्त व्यक्तित्व उनका कविताका मूल्यांकन गर्ने समालोचकहरू छन्, मेरो विषय त्यो होइन । अहिले मैले सम्झन खोजेको प्रसंग बेग्लै छ । बेग्लै यस अर्थमा कि उनी त्यसबेलाका हामीजस्ता युवा कविहरूका लागि एउटा बलियो प्रेरणा दिने व्यक्तित्वका रूपमा चिनिन्थे । अनायास उनलाई नै सम्झनु पर्ने कारण अनेक छन् । हामी सबैले बिर्सियौँ त्यो पुस्तालाई । एउटा कविले अर्को कविलाई चिन्न नसकिएको वर्तमान कविका लामो सूचीमा कसले कसलाई चिन्ने ? कसले कसलाई सम्झने ? एउटा पुस्तक छापिँदा चर्चाको शिखर चुम्ने त्यसबेला सायद थोरै साहित्यकार हुनु मात्रै कारक तत्त्व पक्कै थिएन । एकअर्काप्रतिको सम्मान भाव र अग्रजप्रति पछिल्लो पुस्ताको आस्था पनि त्यत्तिकै कारण थियो । केदारमान व्यथित त्यसमाथि त्यस्ता कवि थिए, जो आफूपछिका सर्जकहरूलाई माया मात्रै होइन, स्वयं सम्मान गर्थे । आफूपछिका पुस्ता, खासगरी युवा पुस्तालाई अग्रजले पनि सम्मान गर्नुपर्छ भन्ने मैले दुई जना मेरा अग्रज कविहरूबाट सिकेँ, ती हुन् केदारमान व्यथित र कवि वासु शशि । यी दुई कविहरूको सानिध्यले मलाई धेरै कुरा सिकाएको छ । अहिले कवि केदारमान व्यथितका प्रसंगहरू लेख्ने जमर्को गर्दैछु ।

केदारमान व्यथित, जसलाई मैले ‘३० कै प्रारम्भमा भेट्न पाएँ । त्यसबेला वृद्धावस्थातिर उक्लिरहेका उनको शारीरकि व्यक्तित्व नै प्रभावशाली लाग्थ्यो । उनको कविता वाचन प्रस्तुतिकलाले श्रोताहरू स्तब्ध हुन्थे । जब उभिन्थे मञ्चमा कविता वाचनका लागि, त्यो वृद्धावस्थामा पनि उनी कण्ठस्थ वाचन गर्थे । धाराप्रवाह कविता वाचन गर्ने उनको कला अद्भुत थियो । जब केही बोल्थे, मानौँ कवितै वाचन गररिहेजस्तो । उनी निडर थिए, पञ्चायतको उत्कर्ष कालमा पनि प्रशासन, मन्त्री वा सत्ता पक्षका जमेर आलोचना गर्थे । चाँदनी शाहका कमजोर कविताहरूका अतिशयोक्ति प्रशंसा गर्नेहरूको त्यो समयमा कैयौँपटक गोष्ठी, सभाहरूमा व्यथितले भनेको सुनेको छु, ‘पारजिातले जस्तो लेख्न अझै धेरै सिक्नु छ चाँदनी शाहले ।’ राजपरविारका सदस्यलाई यति मात्रै पनि भन्नु वास्तवमै साहसै चाहिन्थ्यो, त्यसबेला । हुन त भन्नेहरू भन्थे व्यथितलाई पञ्चायतकै पक्षधर हुन् भनेर । भन्थे, राजपरविारकै आशीर्वाद रहेका प्रसंगहरू । पञ्चायतीकालमै शिक्षा र गृहमन्त्री भइसकेका पनि हुन् उनी । महेन्द्रले प्रज्ञा-प्रतिष्ठानको पहिलो कुलपति पनि नबनाएका होइनन् ।

तर, मैले उनीसँगको सानिध्यमा राजाको गुनगान वा पञ्चायतका गन्धहरू कहिल्यै अनुभव गरनिँ । उनको विगतसँग म सायद परििचत थिइनँ । मैले भेटेको कवि व्यथित ‘३० को दशकतिर जतिबेला म देख्थेँ, उनको निडरता । साहित्यप्रतिको उनको लगाव र साहित्यकारहरूका लागि खुलेरै लाग्ने प्रवृत्ति । वृद्धावस्थाका दिनहरूमा पनि उनको लेखन कहिल्यै निष्क्रिय भएन । लेखनको निरन्तरता एउटा सबल पक्ष त छँदै थियो तर उनी केवल लेखेरै मात्रै सन्तोष मान्दैनथे । उनमा एउटा अद्भुत सांगठनिक गुण थियो । कविका पक्षमा वकालत गर्ने, कविहरूको निरन्तर भेला गराउने । उनको घर स्वयं एउटा काव्यिक थलो लाग्थ्यो । निरन्तरको काव्यिक भेला खासगरी युवा कविहरूको जमघट । अरू कविहरू आफ्ना कविता सुनाउन आतुर हुन्छन् तर कवि व्यथित अरूका कविता सुन्न आतुर हुन्थे । कवि व्यथितको उत्तरार्द्ध कवितै कवितामा बितेको देखेँ मैले ।

अहिले पुस्ता-पुस्ताबीच खाडलझैँको स्िथति छ साहित्यमा । सायद संख्यात्मक दृष्टिले धेरै साहित्यकर्मीहरू जन्मिसकेका छन् । पुस्तक विमोचन नभएको कुनै दिन छैन । पुस्तक प्रकाशनको भीड छ अहिले । पढेर भ्याइनसक्नु पुस्तकहरू छन् अहिले । फाट्टफुट्ट छापिनुको त्यसबेला रूपरेखाले धानेको थियो । मधुपर्क, गरिमा क्रमशः झाँगिँदै गए । थोरै प्रकाशन, धेरै चर्चा सायद स्वाभाविक पनि हो । अहिलेको जस्तो विद्युतीय सञ्चारमाध्यमको भीड पनि त थिएन । अहिलेजस्तो महँगीको भीड पनि त थिएन । जीवनको दौडधुप र व्यग्रता पनि त थिएन तथापि केदारमान व्यथितजस्ता व्यक्तित्व नहुँदा हुन् त त्यसबेला पनि त्यो गोलबद्ध र पारविारकि स्िथति कहाँ हुन्थ्यो र ! त्यसबेला पनि त व्यथितकै समकालीन कविहरू एक्लै रमाउन चाहन्थे । कवि व्यथित तर तीभन्दा भिन्दै थिए । सायद साहित्यकै अभिभावक । यसो हुनुमा अग्रजप्रतिको सम्मानभाव त पक्कै जरुरी छ तर जरुरी छ, आफूमुनिका पुस्ताप्रति अग्रजको माया र सम्मानभाव पनि । यस अर्थमा कवि व्यथितको स्वभाव अद्भुत थियो । युवा पुस्तालाई त्यति धेरै माया थोरै अग्रजहरू मात्रै गर्छन् । माया केवल भावनामा होइन । केवल शब्दमा होइन । एउटा अद्भुत क्षमता थियो कवि व्यथितमा, युवा पुस्तासँगै हातेमालो गरी हिँड्ने । दम्भहीन, स्वार्थहीन हृदयको नाता । सायद यसैले उनी अभिभावकझैँ लाग्थे । अग्रजसँगको गहिरो नाताको त्यो अचम्मलाग्दो नमुना लाग्थ्यो ।

‘३० को प्रारम्भिक वर्ष काव्यिक भेलाको प्रसंगलाई सम्झन पर्दा अहिले पनि रोमाञ्चित हुन्छु म । बृहत् काव्यिक भेला कहिले धरान-धनकुटा । कहिले विराटनगर । कहिले पोखरा, कहिले नेपालगन्ज त कहिले पाल्पा । राजधानीका झन्डैझन्डै सबै नाम चलेका कविहरू अनि अन्यत्रबाट पनि नाम चलेका प्रायः सबै भेला हुँदाको त्यसबेला अब त सपनाजस्तो लाग्छ ।

धुलाबारीको त्यो बृहत् काव्यिक भेला, नेपालगन्जको त्यो अद्भुत भेला । बसका बस, दुई-तीनवटा बसभर िकविहरू जन्तीको लर्कोझैँ । न प्रगतिशील कविहरूको मात्र जमघट, न अप्रगतिशीलहरूको मात्र जमघट, साराका सारा कविहरूका ती भेला, गोष्ठी, सम्मेलन, ‘३० को दशकपछि क्रमशः पातलिँदै पातलिँदै एउटा घेराभित्रको सीमामा बाँधिएर गयो । ती भेलामा केदारमान व्यथितको पुस्तादेखि नयाँ पुस्तासम्मको सहभागिता आकर्षणका केन्द्रविन्दु त हुन्थे नै, सबैबीचको मित्रवत व्यवहार र एउटा पारविारकि स्िथति अहिले खोज्दा खोइ कहाँ भेटिएला ?

केदारमान व्यथितलाई सम्झँदा यसरी एउटा सिंगो समय स्मृतिमा ब्यूँझेर आउँदोरहेछ । एउटा युग हाँकेर सानदार जीवन बाँचेको त्यो व्यक्तित्व अब स्मृतिबाट पनि हराउँदै बिलाउँदै जाँदो छ । कसले कसलाई सम्झिने ? लथालिंग छ प्रज्ञाप्रतिष्ठान । मौन छन् अग्रजहरू । वैयक्तिक प्रयासले बाँचिरहेको छ साहित्य ।

नेतृत्व राजनीतिमा मात्र किन, साहित्यमा पनि चाहिँदो रहेछ । वकालत गरििदने त्यो व्यक्तित्व जसले बोल्दा मात्र पनि लथालिंग हुनुबाट जोगिन सकोस् । खोइ त्यो व्यक्तित्व ? गत साल माओवादी सरकारबाट गरिएको प्रज्ञाप्रतिष्ठानको त्यो नियुक्ति, त्यो लथालिंग र अमर्यादित क्षण । यस्तै बेला हो, अग्रजले बोलिदिनुपर्ने । अग्रजले सम्हालिदिनु पर्ने । अग्रजले खबरदारी गरििदनुपर्ने । केदारमान व्यथित यस अर्थमा त्यही कोटीका अग्रज थिए, जसको खबरदारीमा पत्याउन गाह्रो पर्दैनथ्यो र राजनीतिज्ञ, मन्त्री वा कुनै सत्तालाई एकछिन सोच्न बाध्य पार्दथे । सबैमा कहाँ हुन्छ र त्यो खुबी, त्यो क्षमता । साहित्य लेखेरै मात्रै कहाँ पुग्दो रहेछ र ! पुस्तक छापिएरै मात्रै कहाँ हुँदो रहेछ र ! तिनको पनि व्यवस्थापन हुनुपर्ने रहेछ, नत्र लथालिङ्ग हुँदो रहेछ ।

कविता त अहिले पनि लेखिएकै छ । पुस्तक त छापिएकै छन् । स्तरीयताका प्रश्नमा कसैले औँला ठड्याउनुपर्ने अवस्था पक्कै छैन । तर पनि समग्रमा राष्ट्रले एउटा थिति बसाइदिनुपर्ने हो । सिस्टम हो चाहिने । नेता, पार्टी वा सत्ताले आफैँ सीमा खोज्दो रहेछ । आफ्नै वृत्त खोज्दो रहेछ । डोर्‍याउने त्यो व्यक्तित्व त कवि नै चाहिँदो रहेछ । व्यथितजस्तो । …सायद यसैले सम्झिरहेछु, त्यो विशाल व्यक्तित्व ।

(स्रोत : नेपाल साप्ताहिक ३५५)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *