समालोचना : ‘एक चिहान’ उपन्यासको शैलीवैज्ञानिकबारे

~अनुराधा थापामगर~

हृदयचन्द्रसिंह प्रधान नेपाली साहित्य साधनमा प्रतिष्ठित नाम हो। उपन्यासकारका साथै प्रधानलाई हाbook cover - Ek Chihan - Hriday Chandra Singh Pradhanमी निबन्धकार, कथाकार, एकाङ्कीकार, कवि एवम् समालोचकका रुपमा पनि चिन्दछौं। प्रगतिशील अथवा मार्क्सवादी दृष्टिकोणको आधारमा प्रगतिवादी लेखनप्रति झुकाव राखेर लेख्न मन पराउने प्रधानलाई आलोचनात्मक यथार्थवादी उपन्यासकारका रुपमा पनि उभ्याउन सकिन्छ। आफ्नो मनमा लागेका कुरालाई प्रगतिशील आदर्शका आधारमा प्रभाववादी सोच राखेर कत्ति नहिच्किचाइकन प्रस्तुत गर्ने प्रधानको स्पष्टवादी शैली अनुकरणयोग्य मान्न सकिन्छ। प्रधानको २ वटा उपन्यास हामी अध्ययन गर्न पाउँछौ। उनका उपन्यासहरूमा स्वास्नीमान्छे (२०११) र एक चिहान (२०१७) रहेका छन्। उनका उपन्यासमा सामाजिक अन्धविश्वास, शोषण, दमन , अत्याचार, सामाजिक कुप्रवृत्ति तथा कुप्रथाप्रति दृष्टि दिएर यस्तो क्रियाकलाय तथा सोचको आलोचना गर्ने प्रवृति भेटिन्छन्। प्रधानको मूल विधाचाहिं निबन्ध हो।

हृदयचन्द्रसिंह प्रधानको जन्म वि.सं. १९७२ साल माघ शुक्ल द्वादशीका दिन काठमाडौंको मरुहिटीमा भएको थियो। उनको जन्म एउटा मध्यम वर्गीय परिवारमा भएको थियो। चन्द्रप्रसाद नाम लिएर जन्मने प्रधान हृदयचन्द्र बनेर नेपाली साहित्यमा उदाए। उनी सूर्यप्रसाद सिंहका सुपुत्र थिए। उनको बाल्यकाल खेलकुद र मनोरञ्जनमै बित्यो। जसको मुख्य कारण पिताको सक्षमता र मावलीको सम्पन्नता थियो। उनका पिता सूर्यप्रसाद उदार हृदयका थिए। उनको स्वभाव दानशील र रवाफी थियो। परिणामस्वरुप पैतृक सम्पत्ति सञ्चित हुन नसकी अािर्थक अवस्था बिग्रँदै गयो। अन्ततः उनका पिताले सामान्य जागिर खान काठमाडौं छोडेर मधेसतिर जानुपर्‍यो। हृदयचन्द्रसिंह पनि त्यतिबेला आफ्नो पितासँगै मधेसतिर लागे र केही वर्ष उतैतिर बिताए।

बाल्यकाल बढी स्वतन्त्र भएकाले पढाइ लेखाइतिर उनको लगाव कम नै रह्यो। पुस्तौनी रोग दमले उनलाई पाँच वर्षकै उमेरदखि सताएकोले पनि उनले उच्च शिक्षालाई त्यति अगाडि बढाउन सकेनन्। यो रोगले पनि उनको अध्ययनमा बाधा पुर्‍यायो। यद्यपि मधेस बस्ता तीन/चार श्रेणीसम्म अङ्ग्रजी पढेका थिए। पुन जगतलालसँग अङ्ग्रेजी विषयको थप अध्ययन गरे। त्यसैबेला नेपाली श्रेस्ताको चार पास गरी फर्मायसी अड्डामा नोसिन्दा जागिर खाए। नौसिन्दाबाट त्यसै अड्डामा बढुवा भई पछि नेपाली भाषा प्रकाशिनी समितिमा सरे र ‘ ग्रन्थकार’ भएर नेपाली कोष तथा उपन्यास लेख्न थाले। उनीद्वारा लिखित एक चिहान उपन्यास मरणेपरान्त वि.सं. २०१७ सालमा प्रकाशित भएका छन्।

हृदयचन्द्र प्रधानको पहिलो नाम चन्द्रप्रसाद थियो तर उनलाई यो नाम त्यति मनपरेन। उनी आफ्नो नाम बदल्ने विचारमा लागे। त्यसबेला ‘शारदा’ मासिक निस्कन थालिसकेको थियो। यसैमा ‘मातृस्नेह’ शीर्षकको लेख प्रकाशन गरी उनी नेपाली साहित्यको फाँटमा प्रवेश गरे। लेखन र प्रकाशन सँगसँगै उनी चन्द्रप्रसाद बाट हृदयचन्द्रसिंह प्रधानका रुपमा परिचित हुन पुगे। वि.सं १९९२ (शारदा प्रकाशनकाल ) देखि नै सिर्जना क्षेत्रमा उनको अनवरत योगदान रह्यो।

हृदयचन्द्रलाई कविताका माध्यमबाट साहित्य सिर्ननामा प्रवेश गर्ने रहर जाग्यो। त्यसपछि उनी कविशिरोृमणि लेखनाथ पौड्यालको सम्पर्कमा गए तर संकृत, हिन्दी र अङ्ग्रजी साथै नेपाली भाषामा दक्ष नभएकाले ”तिम्रा निम्ति कविता गर्न /लेखन असम्भव छ” भन्ने उत्तर। पौड्यालबाट पाए। तर पनि उनले निराश नभई मिहिनेत र लगावका साथ अगाडि बढ्ने अठोट लिए, जसको कारण उनी साहित्यमा महत्त्वपूर्ण स्थान हासिल गर्न सफल भए।

हृदयचन्द्रसिंह प्रधानको कलमले पत्रकारिता क्षेत्रमा पनि उत्तिकै सफलता पायो। उनको सम्पादनमा ‘जागरण’ (साप्ताहिक), ‘साहित्य श्रोत’ (मासिक), ‘नेपाल'(द्वैमासिक), जनचेतना र ‘ का.न.पा.’ आदि पत्रिकाहरू प्रकाशित भए। जनचेतना जगाई प्रजातन्त्रलाई दिगो बनाउने उद्देश्यले उनले ‘जागरण’ को सम्पादन गरे। यो पत्रिका विभिन्न स्रोतबाट प्रकाशित हुने समाचार पत्रिकाका रुपमा पहिलो थियो।
परोक्षरुपले २००७ सालमा प्रजातान्त्रिक आन्दोलनमा सरिक भएकाले राजनीति गरेको अभियोगमा तत्कालीन राणा सरकारले उनलाई गिरफ्तार गरी ७५ दिनसम्म बन्दी बनायो। यीमध्येका ३१ दिन त उनले नख्खु जेलमा बिताउनुपर्‍यो तर प्रजातान्त्रिक आन्दोलन सफल भएपछि उनी जेलमुक्त भए।

सम्पादन क्षेत्रको अधिक श्रम र कारावासको सजायले उनी क्षयरोगबाट ग्रसित हुन पुगे। तापनि आफ्नो कलमलाई रोकेनन्। उपचारको क्रममा टोखा स्वास्थ्य निवासमा केही महिना बसे। १० महिनाको उपचारपछि सातवटा करङ कटाएर रोगमुक्त भएपछि काठमाडौं फर्किए। तर दुर्भाग्यवश वर्ष दिनपछि नै पुनः क्षयरोगले आक्रमण गर्‍यो। यसबेला नेपालका लागि भारतीय राजदूत श्री भगवान् सहायले उपचारार्थ भोपाल पठाइदिए। भारतको पाहुना बनी भोपाल स्यानिटोरियममा उनले दोस्रो पटक क्षयरोगको उपचार गराए। भोपाल स्यानिटोरियममा भएको अढाइ वर्ष लामो उपचारपछि उनी घर फर्किए। यस बेलासम्म आर्थिक स्थिति यसै पनि कमजोर भइसकेको थियो। डाक्टरहरूले सन्तुलित आहार, नियमित औषधि सेवन र पर्याप्त आराम गरे १०/१५ वर्ष जिउन सकिने राय प्रकट गरेका थिए। तर भोपाल छाडेको नौ महिना पनि नबिती वि.सं. २०१६ साल माघ १० गते ४४ वर्षको उमेरमा अल्पायुमै उनी दिवङ्गत भए। जीवनको अन्तिम घडीमा उनलाई पुरानो दम र निमोनियाले आक्रमण गर्‍यो। अन्ततः श्रीमती, एक छोरा र चार छोरीहरू समेत छ जनाको परिवारलाई छोडी उनी संसारबाट बिदा भए।

हृदयचन्द्रसिंह प्रधानले नेपाली साहित्य साधनमा ठूलो त्याग र तपस्या गरेका छन्। प्रजातन्त्रका पक्षधर र नारी स्वतन्त्रताका समर्थक प्रधान सामाजिक सुधारको चाहना राख्दथे। क्षयग्रस्त हुँदासमेत उनको कलम चरिरहन्थ्यो। रोग, भोक र शोकले सताए पनि उनले आफ्नो लक्ष्यलाई बिर्सेनन्। राणाकालमा पनि उनकै व्यक्तिगत विषयसँग सम्बन्धित आत्मपरिचायक निबन्धमार्फत हाँस्यव्यङ्ग्य शैलीद्वारा तत्कालीन व्यवस्थाप्रति विरोध गरिएको थियो। उनका कृतिमा ‘कला जीवनका लागि’ भन्ने धारणा पूर्णरुपेण प्रकटीकृत छ। उनीद्वारा लिखित पुस्तकाकार कृतिहरू हालसम्म करिब २० वटा प्रकाशित भइसकेका छन् भने अझै ९/१० वटा कृतिहरू अप्रकाशित छन्। उनका प्रकाशित पुस्तकहरूमा: चिह्न परिचय (२०००), केही नेपाली नाटक (समीक्षा) (२००२), भू–स्वर्ग (निबन्धसङ्ग्रह) (२००३), साहित्य एक दृष्टिकोण (समीक्षा) (२००४), तीस रुपियाँ नोट (निबन्धसङ्ग्रह) (२००४), जुँगा (निबन्ध सङ्ग्रह) (२००९), कुरा साँचो हो (निबन्धसङ्ग्रह) (२०११), उसको आँसु (कथासङ्ग्रह) (२०१२), भानुभक्त एक समीक्षा (समीक्षा) (२०१३), छेउ लागेर (नाटकसङ्ग्रह) (२००६), हृदयचन्द्रका कथाहरू (२०२५), एक चिहान (उपन्यास (२०१७), उनी देवता हुन् र कीर्तिपुरको युद्धमा (एकाङ्कीसङ्ग्रह) आदि। यी कृतिका अतिरिक्त केही व्याकरणका पुस्तिका, हिन्दी र नेवारी भाषामा पनि उनले केही पुस्तक लेखका छन्।

यसरी उनका समग्र कृतिहरू हेर्दा उनको सिर्जनशील प्रतिभा निश्चित विधामा सङ्कुचित थिएन भन्न सकिन्छ। कविता, उपन्यास, नाटक, कथा, निबन्ध, समालोचना तथा व्याकरणजस्ता विषयमा पनि विभिन्न कृतिहरू प्रकाशित र प्रशंसित रहेकाले उनी बहुमुखी प्रतिभाका धनी थिए भन्ने कुराको पृष्टि हुन्छ।

समस्याकथन

नेपाली साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउन सफल साहित्यकार हृदयचन्द्रसिंह प्रधानद्वारा सिर्जित एक चिहान एक उत्कृष्ट उपन्यास हो। प्रस्तुत उपन्यास वि.सं. २०१७ सालमा पहिलोपटक प्रकाशित भएको थियो। यसै वर्ष साझा प्रकाशनले यस उपन्यासको सङ्क्षिप्तीकृत रुपमा संस्करण प्रकाशित गरेको छ। प्रस्तुत उपन्यास हाल उच्च माध्यमिक शिक्षाअन्तर्गत कक्षा ११ र १२ मा समावेश छ। उक्त उपन्यासबाहेक हृदयचन्द्रसिंह प्रधानको स्वास्नीमान्छे (२०११) पनि प्रकाशित भइसकेको छ। सामाजिक अन्धविश्वास, शोषण, दमन, अत्याचार, सामाजिक कुप्रवृत्ति तथा कुप्रथाजस्ता विविध पक्षमा आधारित भएर सोकोे विरोध गर्दै त्यस्ता क्रियाकलाप तथा सोचको आलोचना गर्ने प्रगतिवादी स्वरध्वनित गराउन उनका उपन्यासहरू अग्रसर रहेका छन्। उनका दुई उपन्यासहरूमध्ये एक चिहानलाई शैलीवैज्ञानिक अध्ययनका लागि यहाँ चयन गरिएको छ। उनले आफ्नो उपन्यासमा समाजमा विद्यमान वर्गसङ्घर्षलाई केलाउँदै शोषित पीडित जनताका पक्षमा खुलेर समर्थन गर्ने, सहानुभूति प्रकट गर्नुका साथै सामाजिक शोषण, दमन, उत्पीडन, भेदभावपूर्ण स्थितिको विरोध गरी लेखेको पाइन्छ। उनको उपन्यास अध्ययन गर्दा उनलाई प्रगतिशील तथा मार्क्सवादी दृष्टिकोण भएका लेखक वा यथार्थवादी उपन्यासकारका रुपमा पनि उभ्याउन सकिन्छ। एक चिहान उपन्यासको कथानक वा विषयवस्तु के कस्तो रहेको छ? विषयवस्तुका आधारमा चयन गरिएका पात्रहरू के–कस्ता रहेका छन्? उपन्यासको भाषाशैली वा भाषिक प्रयोग, लेखक शैली, वाक्यगठन के–कस्तो छ? जस्ता समस्याहरूमा आधारित वा केन्द्रित भई उपन्यासको विश्लेषण र शैलीवैज्ञानिक अध्ययन गरिएको छ।

उपन्यासको परिचय

साहित्यलाई समाजको दर्पणको रुपमा लिइन्छ। साहित्यलाई हतियारको रुपमा पनि चित्रण गरिन्छ। जसरी दर्पण वा ऐनको अगाडि हामी उभिन्छौं, त्यसले हाम्रो सिङ्गो आकृतिलाई पस्कने काम गर्दछ। हामी आफ्नो रुप, रङ्ग, आवृत्तिलाई देख्नसक्छौं, आफूलाई नियाल्न र अध्ययन गर्न सक्छौं। त्यसरी नै साहित्यले समाजको चित्रण गरी समाजको रुपरेखा, सामाजिक स्थिति, संस्कार, संस्कृति, रीतिरिवाज आदिका विषयमा हामीलाई जानिफकार बनाउने प्रयत्न गर्दछ अर्थात् साहित्य समाजको दर्पण, प्रभावक र मार्गदर्शक हो। किनभने यसले समाजको यथार्थ चित्रण गरी प्रभाव उत्पन्न गदै समाजलाई सही दिशाबोध गर्छ।
जसरी हतियारको प्रयोगले हामी कुनै पनि कार्य सहज रुपमा सफलतापूर्वक सम्पन्न गर्नसक्छौं, प्रभावित हुन्छौं र पार्नसक्छौं त्यसरी नै साहित्यमार्फत हामीले भन्न खोजेका, बुझाउन खोजेका कुरालाई सरल र सहज तरिकाले अभिव्यक्त गर्नसक्छौं। झिना मसिना व्यावहारिक कुरादेखि लिएर जीवन र जगत्का दर्शनका कुराहरूलाई समेत साहित्य सजिलै बुझाउन सफल देखिन्छ। हरेक व्यक्तिले साहित्यलाई आफ्नो अनुकूल प्रयोग गर्दै आइरहेका छन् वा प्रयोग गर्ने गर्दछन्। हरेक तह तप्काका व्यक्ति तथा व्यक्तित्वहरू जो–कोही राजनीतिकर्मी हुनसक्छन्, कोही मानव अधिकारकर्मी, शिक्षक, समाजसेवी तथा कुनै न कुनै पेसासँग आबद्ध पेशाकर्मीहरू साहित्यिक क्षेत्रमा रुचि राख्दै साहित्यिक सृजनातर्फ अग्रसर भएका पाइन्छन्। साहित्यमा जो कोहीलाई आकर्षित गर्ने एक खालको चुम्बकीय शक्ति हुन्छ। साहित्य तरल पदार्थजस्तै हो जुन भाँडोमा राख्यो त्यस्तै आकार दिने साहित्य जसरी व्यक्त गरे पनि त्यसको कुनै सीमा हुँदैन न त यसको कुनै रुप हुन्छ। यसलाई जसरी पनि बुझ्न सकिन्छ। यसको बुझाइ स्रष्टा अनि द्रष्टामा भरपर्ने कुरा हो। स्रष्टाले जसरी पनि लेख्न सक्छ अनि द्रष्टाले जसरी पनि बुझ्न सक्छ।

साहित्य विभिन्न विधाहरूमार्फत प्रस्तुत भएको हुन्छ। साहित्यका विभिन्न विधाहरूमध्ये उपन्यास लोकप्रिय र विकसित विधाका रुपमा देखिएको छ। अन्य विधाका तुलनामा यो केही नयाँ विधा पनि हो तर छोटो समयमा नै यसको व्यापकता बढेको र बढ्दै गएको देखिन्छ। जीवन र जगत्का बाह्य तथा आन्तरिक पक्षहरूसँग परिचित गराउने उद्देश्यका साथ उपन्यास शिक्षणलाई अगाडि बढाउने प्रयास गरिएको पाइन्छ। हामी साहित्यलाई समाजको दर्पण मान्दछौं। यस अर्थमा पनि यस कुरालाई वा मान्यतालाई उपन्यासले जति पूर्णता र समग्रताका साथ प्रमाणित गर्ने काम अरु साहित्य वा विधाले कमै मात्रामा गर्नसक्दछन्। नेपाली साहित्यको इतिहासको अध्ययन गर्ने हो भने प्राचीन समयमा जसरी महाकाव्यले महत्त्व पाएको थियो, त्यसरी नै अहिले वा वर्तमान समयमा उपन्यास विधाले महत्त्व पाएको छ। उपन्यासलाई हामी गद्यमा लेखिएको महाकाव्यका रुपमा पनि चित्रण गर्नसक्दछौं। वर्तमान समयमा उपन्यासलाई आधुनिक युगको गद्य महाकाव्य पनि भनिन्छ।

नयाँ विधाका रुपमा उपन्यास इसाको अठारौं शताब्दीतिर युरोपबाट विकसित भएको हो र यस विधाले अहिले नेपालीमा पनि अत्यन्तै लोकप्रियता हासिल गरेको छ। नेपाली साहित्यको इतिहासमा गिरीशवल्लभ जोशीको वीर चरित्र (१९६०) बाट सुरु भएको मौलिक उपन्यास लेखनको परम्पराले एक शताब्दी पूरा गरिसकेको छ। यस क्रममा नेपाली उपन्यासले अनेकौं वाद, आन्दोलन र सैद्धान्तिक पाटाहरूको पृष्ठपोषण गरेको छ। विश्वको राजनीति, अर्थतन्त्र, विज्ञान, मनोविज्ञान, सामाजिक, सांस्कृतिक पक्षलाई साहित्यको उपन्यास विधाले अङ्गीकार गर्दै मानव समुदायसमक्ष विचार र चेतनाहरू अगाडि बढाइरहेको स्थिति छ। उपन्यास लेखनको क्षेत्रमा नेपाली आधुनिक उपन्यासको थालनी सरदार रुद्रराज पाण्डेको ‘रुपमती’ उपन्यास (१९९१) बाट आरम्भ भएको मानिन्छ।

साहित्यको एक सशक्त र सबैभन्दा लोकप्रिय विधाका रुपमा विकसित उपन्यासलाई पाश्चात्य साहित्यको देन मानिन्छ। यस विधाका सम्बन्धमा पूर्वीय तथा पाश्चात्य साहित्यका विद्वान्हरूले विभिन्न ढङ्गले चिनाउने प्रयास गरेका छन्। यसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:

पश्चिमेली विद्वान्हरूका दृष्टिमा उपन्यास

उपन्यासले मानव जीवनको सम्पूर्णताको अध्ययन गर्ने भएकोले यसको महत्त्व अन्य कला र साहित्यभन्दा स्वाभाविक रुपले बढी छ।
–डी.एच. लरेन्स

हालको जटिल एवं सङ्कटग्रस्त सामाजिक, धार्मिक, राजनीतिक, आर्थिक आदि संस्कारद्वारा पीडित मानव जातिको एउटा प्रतिनिधिमूलक अभिव्यक्ति नै उपन्यास हो।
– ई.एम. फोर्स्टर

कल्पित आख्यानका माध्यमबाट गरिएको जीवनको व्याख्या नै उपन्यास हो।
–अर्नेष्ट ए बेकर

वास्तविक जीवन, चालचलन र आफ्नो समयको तस्विर हो उपन्यास।
–क्लारा रिब्स

उपन्यास मानव अनुभवको निरुपण हो, त्या पदार्थ वा आदर्श तर त्यसमा जीवनको आलोचना रहन्छ।
–मूलर

पूर्वेली विद्वान्हरूको दृष्टिमा उपन्यास

उपन्यास भनेको कसैलाई प्रसन्न गराउनु हो।
–विश्वनाथ

युक्तिपूर्ण ढङ्गले आफ्नो अभिप्रायलाई प्रस्तुत गर्नु उपन्यास हो।
–भरतमूनि

म उपन्यासलाई मानव चरित्रको चित्रमात्र सम्झन्छु। मानव चरित्रमाथि प्रकाश गर्नु, त्यसको रहस्य खोल्नु नै उपन्यासको मूल तत्त्व हो।
–प्रेमचन्द

उपन्यास मानव जीवनकै सम्पूर्णताको अभिव्यक्ति हो।
–कृष्णचन्द्रसिंह प्रधान

सामाजिक जीवनको विराट चित्र उभ्याएर नेपाली सांस्कृतिकताको इतिहासै प्रकट गर्नसक्ने विधा भनेको उपन्यास नै हो।
–डा. तारानाथ शर्मा

यसरी उपन्यासका सम्बन्धमा पूर्वीय तथा पाश्चात्य विद्वान्हरूले व्यक्त गरेका अभिव्यक्तिहरूबाट के स्पष्ट हुन्छ भने मानव जीवनका कारुणिक, मार्मिक तथा विविध पक्षसँग सम्बन्धित भावहरू उद्घाटन गर्ने क्रममा मूल कथाका अतिरिक्त अन्य उपकथाहरूसमेत संयोजन गरिएको आख्यानात्मक वृत्ति उपन्यास हो।

अङ्क पच्चीसमा रोपाइँ सकिएकोले हर्षनारां र पुनारांबाहेक घरका सबै सदस्य घरमा हुन्छन्। लतमायाले शिवनारांसँग बहिनीको विवाहको बारेमा कुरा गर्छिन्। लतमायाले सुब्बा सुरमानले नानीथकुंको हात मागेको कुरा सुनाउँछिन्। सुब्बा सुरमान कुनै पनि रुपबाट योग्य नभएकाले नानीथकुंको विवाह उनीसँग हुन नसक्ने कुरा गर्छन्। यत्तिकैमा रामबहादुर त्यहाँ आइपुग्छन् र सर–सहयोगको कुरा गर्छन्। रामबहादुर नानीथकुंको विवाहको विषयमा कुरा गर्छन्। शिवनारां सुब्बालाई बहिनी नदिने कुरा सुनाउँछन्, जुन कुरा रामबहादुरलाई चित्त बुझ्दैन। सुब्बासँग टेक गर्नुहुँदैन भनी रामबहादुर शिवनारांलाई सम्झाउँछन्। शिवनारांले जेभन्दा पनि विवाहको स्वीकृति नदिएकोले रामबहादुर रिसाउन पुगी शिवनारांलाई होच्याउँदा शिवनारां रिसले आगो भई रामबहादुरको घाँटी समाउन पुग्छन्। घरका अन्य परिवारले झगडा छुट्याइदिन्छन्। रामबहादुर देखा जाएगा भन्दै सुब्बाको घरतिर लाग्छन्।

रामबहादुरले सुब्बालाई भए/नभएको कुरा लगाएपछि उनी रिसले आगो हुन्छन्। ज्यापूहरूको सेखी झार्न भनेर रामबहादुर र अन्य तीन जना नोकर साथमा लिएर शिवनारांकहाँ पुग्छन्। रिसको सुरमा सुब्बा तथानाम बोल्न थाल्छन्। सुब्बाको यसप्रकारको हेपाहा प्रवृत्तिले गर्दा शिवनारां र हर्षनारांको धैर्यको बाँध फुट्छ। शिवनारांलाई पिट्न झम्टेका रामबहादुरलाई हर्षनारांले नराम्ररी चुट्छन्। शिवनारांले पनि सुब्बालाई माटो चखाइदिन्छन्। जम्मा भएका परिवारका सदस्यले शिवनारां र हर्षनारांलाई सम्हाल्छन्। सुब्बाका मानिसहरू हेरेको हेरेकै हुन्छन्। शिवनारां र हर्षनारांको पञ्जाबाट उम्केपछि देखा जाएमा भन्दै सुब्बा आफ्नो मान्छेसहित घरतिर लाग्छन्।

शिवनारांको परिवारले बाली सुरक्षाको लागि खेतमै बस्ने बन्दोबस्त गर्छन्। वस्तुभाउ आई बाली खाइदिने हो कि भनी उनीहरू आधारात बिते पनि ख्यालठट्टा गरी बसिरहन्छन्। यत्तिकैमा एउटा गाई धान खान आइपुग्छ। शिवनारां रिसको झोंकमा गाई चुट्न थाल्छन्। निर्दयी बनी गाई पिटिरहेको शिवनारांलाई हाकुमायाले सम्झाएपछि गाईलाई बाँधी उनीहरू सुत्छन् र बिहान उठी गाई थानामा लगी बुझाउँछन्।

वर्षा सुरु भई शिवनारांको जीर्ण घर चुहिन थालेकोले घर भत्कने हो कि भनी परिवारका सदस्य त्रसित हुन्छन्। जसरी हुन्छ घर बनाउनै पर्ने कुरामा सबै सहमत हुन्छन्। घरका सबै सदस्य खानपिन गरी आ–आफ्नो धन्दामा लाग्छन्। यही बेला सुटुक्क डा. गोदत्तप्रसाद नानीथकुंलाई लिन आउँछन्। नानीथकुं उनीसँग भाग्न राजी नभएपछि गोदत्त नानीथकुंलाई सम्झाउँछन्। नानीथकुं मान्दै नमानेपछि गोदत्तप्रसाद मन खिन्न पारी आफ्नो बाटो लाग्छन्।

साँझपख प्रफुल्लित मुद्रामा हर्षनारां घर आई आफूले बिहे गर्न चाहेको कुरा लतमायालाई सुनाउँछन्। छोराको कुरामा खुसी हुँदै कुन जात भनी प्रश्न गर्छिन्। हर्षनारां डिल्लीबजार डेरा गरी बस्ने माहिला तामाङकी छोरी हुन् र हामी एक अर्कालाई माया गछर्ौं भन्छन्। परिवारका सबै सदस्यले यो कुरा थाहा पाई विवाहको लागि सहमत हुन्छन्। भोलि नै बुहारी भित्र्याउने निधो गरिन्छ।

अङ्क तीसमा पुननारां र हर्षनारां बेहुली लिन जान्छन्। उनीहरूलाई बेहुलीका पिता माइला तामाङले सक्तो स्वागत गर्छन्। केही छिनको बसाइपछि माहिला तामाङले छोरी बिदाइ गरिदिन्छन्। छोरीलाई बिदाइ गर्ने क्रममा डोको, नाम्लो र हँसिया पनि दिन्छन्। झमक्क साँझ पर्दासम्म भाइहरू नआएकाले शिवनारां बाटोतिर कुर्न जान्छन्। यत्तिकैमा भाइहरू बेहुलीका साथ आइरहेका देख्छन्। बेहुली डोको, नाम्लो र हँसियासहित आएको देखेर शिवनारां त्यसलाई शुभ सङ्केत मान्छन् भने गाउँलेहरू पर्वते रहिछ भनी कुरा काट्छन्। विधिवत् बेहुली भित्र्याई यथाशाक्य रमाइलो गरिन्छ। रात ढल्दै गएपछि शिवनारांका दम्पती खेततिर लाग्छन्। यता घरका सदस्यहरू पनि सुत्ने तरखर गर्छन्।

घरमा लोग्नेमानिस नभएको मौका छोपी डा. गोदत्तप्रसाद करिब पाँच बजेतिर अष्टनारांको घरमा खोप दिने बहानामा आउँछन्। घरका अन्य सदस्यलाई हैजा र टाइफाइडको खोप दिए पनि नानीथकुंलाई भने करिब दुई घण्टापछि बेहोश हुने इन्जेक्सन दिन्छन्। डा. गोदत्तप्रसाद त्यहाँबाट जाने बित्तिकै एउटी महिला डाक्टर्नी साहेबले जरुरी कामले बोलाउन पठाउनुभएको भनी नानीथकुंलाई लिन आउँछिन्। नानीथकुं कसैलाई थाहै नदिई उक्त महिलाको पछि लाग्छिन्। ती महिलाले नानीथकुंलाई कालिकास्थानको एक अपरिचित घरको कोठामा पुर्‍याउँछिन्। बेहोसीको इन्जेक्सनले काम गर्न थालेपछि डा. गोदत्त नानीथकुंको अगाडि उपस्थित हुन्छन्। नानीथकुंले सबै कुरा बुझेपछि डा. गोदत्तलाई आफूलाई छाडिदिन आग्रह गर्छिन्। गोदत्त उनलाई सम्झाउन थाल्छन्। यत्तिकैमा उनी बेहोस हुन्छिन्। गोदत्त नानीथकुंको होश कुरेर बस्छन्। होश आएपछि पनि डा. गोदत्त उनलाई सम्झाउँछन् तर नानीथकुं बिहेको लागि राजी नभएपछि गोदत्तले उनको इज्जत लुट्छन्।

करिब डेढ महिनासम्म पनि नानीथकुंको अत्तोपत्तो लाग्दैन। रञ्जनादेवीले यो कर्तुत आफ्नै श्रीमान्को हुनुपर्ने शङ्का गरी सौतेनी मामिलो पन्छाउन धेरै पैसा खर्च गरी कुरो पत्तो लगाउँछिन्। उनले शिवनारांलाई भेटी डा.लाई हातपात नगरी बहिनी फिर्ता ल्याउने सर्तमा ठेगाना उल्लेख गरिदिन्छिन्। तीनै भाइ राती आठ बजे हातमा नल बोकी नानीथकुं लुकाइराखेको घरको ढोका घच्घच्याउन पुग्छन्। डाक्टर डराएर ढोका खोल्दैनन्। ढोकै फोरी तीनै भाइ कोठामा पसी डाक्टरको घाँटी समाउँछन्। त्यही बेला रञ्जनादेवी आई डा. गोदत्तलाई बचाउँछिन्। शिवनारां नानीथकुंलाई घर हिँड्भन्दा दोजिया भएकोले नजाने कुरा गर्छिन्। शिवनारां र रञ्जनादेवीले सम्झाएपछि उनी घर आउन तयार हुन्छिन्।

अङ्क तेत्तीसमा जतिसक्दो चाँडो नानीथकुंको विवाह गर्ने सोच बनाएका शिवनारांको भेट सर्लाहीका रामखेलावन राउत (कुर्मी) सँग हुन्छ। मधेसी भए पनि उनी बुद्धिमान एवं मिहिनेती हुन्छन् र नानीथकुंसँग बिहे गर्न राजी हुन्छन्। रामखेलावन र नानीथकुं एकअर्कालाई मन पराउँछन्। शिवनारांले नेवारी संस्कृतिअनुसार उनीहरूको विवाह गरिदिन्छन्।

अङ्क चौतीसमा शिवनारां खेतको काममा व्यस्त हुन्छन्। पानी अत्यधिक पर्न थाल्छ। लगातार तीन दिन भारी वर्षा भएकोले पहिरो जान थाल्छ। ठूलो बाढी आउँछ। शिवनारांको परिवारलाई बाढीले बगाउँछ। उनीहरू चारैजनाको मृत्यु हुन्छ। यता घर भत्किन्छ। घरमा भएका सबै परिवारको एकै चिहान हुन्छ।

कथानक विकासक्रमको तालिकाको विश्लेषण

आदि भाग

यो कथानकको उठान बिन्दु हो। यस भागमा पात्र एवं परिवेश चिनारीका साथै सङ्घर्षको बीजारोपण हुन्छ। यस भागमा पनि चिनारी र सङ्घर्ष विकास गरी दुइ खण्ड हुने भएकोले तालिकामा यसैअनुरुप तथ्याङ्क विभाजन गरिएको छ। तालिकाको चिनारी भागमा क र ख तथ्याङ्क उल्लेख गरिएको छ। जसअन्तर्गत अष्टनारां बिरामी परेर सुतिरहेका हुन्छन्। उनका जहान परिवार उनलाई घेरेर बसिरहेका हुन्छन्। अष्टनारां आफ्ना जहान परिवारलाई आफू निको नहुने भएकोले औषधि उपचार नगर्नु भन्छन्। यी तथ्यहरूबाट नै उपन्यासमा पात्रहरूको चिनारी भएको छ भने औषधि उपचार नगर्नु भन्ने अष्टनारांको अभिव्यक्तिबाट परिवेश चित्रण पनि भएको छ। यस भागमा अष्टनारां, शिवनारां, नानीथकुं, पुननारां, हर्षनारां आदिको चरित्र चित्रण भएको छ।

सङ्घर्ष विकास आदि भागकै दोस्रो खण्ड हो। यस खण्डमा उपन्यासको कथानक निश्चित दिशामुख हुन्छ। तालिकामा यस खण्डअन्तर्गत क, ख, ग, घ र ङ बुँदाहरू समावेश गरिएका छन्। जहाँबाट सङ्घर्षको उठान भएको छ। अष्टनारांको इच्छाविपरीत उनका जहान परिवारले ऋण गरेर औषधि उपचार गर्छन्। तुयु, जुभाजु, कविराज आदिलाई देखाएर सबै पैसा सक्छन्। लतमायाको डाक्टरलाई देखाउने इच्छाअनुसार अष्टनारां स्वयंले गाडेर राखेका धन पनि सक्छन्।

अष्टनारांको उपचारको लागि बोलाइएको डाक्टर गोदत्तप्रसाद नानीथकुंको यौवनप्रति कुदृष्टि राख्छन्। यसैक्रममा अष्टनारांको मृत्यु हुन्छ। उनको दाहसंस्कारको लागि पैसा नभएर नानीथकुं र हर्षनारां डा. गोदत्तप्रसादकहाँ ऋण माग्न पुग्छन्। यी सबै सङ्घर्ष विकासको आरम्भ अवस्था हुन्। उपन्यासमा यो अङ्क दुईदेखि नौसम्म विस्तारित छ।

मध्यभाग

यस भागअन्तर्गत सङ्घर्षको विकासात्मक अवस्थादेखि चरम समस्याका गतिविधि समेटिन्छन्। यस भागअन्तर्गत सङ्घर्षको विकासात्मक अवस्था र चरम गरी दुई खण्ड हुन्छन्। तालिकामा प्रस्तुत क, ख, ग सङ्घर्षका विकासात्मक अवस्था हुन्। शिवनारांले डा. गोदत्तप्रसादसँग तरकारी खेतीको लागि पुनः ऋण लिन्छन्। जसबाट उनी झन् ऋणको दलदलमा भासिन्छन्। डा. गोदत्तप्रसादकै सहयोगबाट हिमचिम बढेकोले नानीथकुं र गोदत्तप्रसाद प्रेम सम्बन्ध स्थापित हुन्छ। यता सुरमान सुब्बा पनि नानीथकुंलाई यौनदासी बनाउन प्रपञ्च रच्न थाल्छन्। यी सबै घटनाले कथानक तीव्रगतिमा चरम अवस्थातिर अभिमुख हुन्छ।
उपन्यासको मध्य भागको अर्को खण्ड अवस्था हो। यो बिन्दुमा पुगेर कथानक ह्रासोन्मुख हुन्छ। तालिकामा प्रस्तुत घ, ङ, च र छ तथ्याङ्क कथानकको चरम रुप हो। जसअन्तर्गथ सुरमान सुब्बासँग शिवनारांको झगडा हुन्छ। सुरमान सुब्बाको पाखुरीको बलले नभ्याएपछि उनले नालिस् दिन्छन्। यता नानीथकुंलाई डा. गोदत्तप्रसाद बेपत्ता पार्छन्। कयौं दिनसम्म पनि उनको अत्तोपत्तो हुँदैन। सुरमान सुुब्बा र डा. गोदत्तप्रसादको जालझेलमा परेर शिवनारां आफ्नो पुरानो घरको मर्मसम्भार गर्न पाउँदैनन्। घर जीर्ण बन्दै जान्छ। बढेकी छोरीचेली हराउनु, मुद्दा मामिला पर्नु, घर भत्कने अवस्थामा पुग्नुजस्ता घटनामा कथानकका चरम हुन्।

(प्रस्तुत सामग्री त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय नेपाली भाषा शिक्षा विभाग स्नातकोत्तर तह द्वितीय वर्षको पाठ्पुस्तक प्रयोजनको निम्ति अनुराधा थापामगरद्वारा ‘एक चिहान’ उपन्यासको शैलीवैज्ञानिक अध्ययनमा आधारित शोधपत्रबाट लिइएको हो। –सं)

This entry was posted in समालोचना and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *