लघुकथा : सेतो कोट

~सिन्धु गौतम~Sindhu Gautam

बेडसिट खुम्चिएर एउटा कुनामा जम्मा भएको छ । सबैमा आ-आफ्नै वेदनाको चिच्याई छ । म त्यहीँ एउटा बेडको छेउमा मेरी आमालाई सुम्सुम्याउँदै थिएँ । आमाको दुःखाइ, पीडा भोग्दै थिएँ म मानसिकरूपमा । त्यहाँको भद्रगोल व्यवस्था, वास्ता नगर्ने प्रवृत्तिले म गएको केही क्षणमै शिथिल भएकी थिएँ ।

एउटा सेतो कोटको अनुहार परिचित लाग्यो । कतै देखेको अनि बोलेको जस्तो पनि । मनमा धेरै साहस बटुलेर केही सहयोग र सल्लाह पाइहाल्ने आशा लिएर नजिकै गएँ । बोल्न खोजेँ तर मेरो सोधाइ प्रतिक्रियाविहीन भयो । आमाको अवस्था एकपटक हेर्नका लागि आग्रह गर्दा पनि वास्ता गरेन त्यो सेतो कोटको परिचित अनुहारले । निराश भएर फर्किएँ आमा पल्टिरहनुभएको बेड नजिकै ।

कता कता मनमा आक्रोश पलायो । उही वातावरण, उही चिच्याई तर मात्र ठाउँ थियो फरक । ‘के ठाउँले गर्दा मान्छेको सिद्धान्त अनि व्यवहार नै फरक हुन्छ त ?’ आफैँले आफैँलाई प्रश्न गरेँ । उही सेतो कोट एउटा निजी अस्पतालमा भगवानको रूपमा र सरकारी अस्पतालमा डाक्टरको रूपमा थियो । म यसको द्वैध रूप देखेर अवाक् हेरिरहेँ…….। अनि एउटा अनुत्तरित प्रश्न खड्किरह्यो, सेतो कोट लगाउनेहरूको कालो चरित्र, कसरी बुझ्ने खै ?

(स्रोत : मधुपर्क २०६८ कार्तिक)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : लघुकथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *