कविता : यिनलाई ठटाउनलाई

~शारदा पुडासैनी~Sharada Pudasaini

नेताहरु गुण्डा पाल्छन् सडक तताउनलाई
बन्द अनि तोडफोड जनता सताउनलाई
कुन शव्द कहाँ भेटौँ पीडा बताउनलाई
छैन कतै कुनै लौरी यिनलाई ठटाउनलाई ?

काम छैन दाम छैन वाल्ल पर्छ ठिटो
घरमा बुढी आमा रुन्छिन् खान छैन पिठो
मन हुन्छ नेता जति डाँडो कटाउनलाई
छैन कतै कुनै लौरी यिनलाई ठटाउनलाई ?

घुसखोरी भ्रष्टाचार देशलाई नै भ्याउने
भ्रष्टाचारी मोटाएर दुखी जनता रुवाउने
मन हुन्छ सके तिनलाई धुलो चटाउनलाई
छैन कतै कुनै लौरी यिनलाई ठटाउनलाई ?

यो दुनिया नोटै मात्र भन्न थाले सबै
सकिएन कमाउन आफै नेता नभै
लागे नेता यो देशको इज्जत घटाउनलाई
छैन कतै कुनै लौरी यिनलाई ठटाउनलाई ?

गुण्डा हुन कि अपराधी पार्टीभित्र हुले
सच्चा आफ्ना कार्यकर्ता चटक्क नै भुले
हामीले नै उक्सायौँ कि नेता मताउनलाई
छैन कतै कुनै लौरी यिनलाई ठटाउनलाई ?

जनशक्ति विदेश लागे काम खोजी खान
मन होला कसलाई पो आमा छोडी जान
पाए हुन्थ्यो भ्रष्ट नेता सबै हटाउनलाई
छैन कतै कुनै लौरी यिनलाई ठटाउनलाई ?

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.