समालोचना : महाकाव्यीय तत्वका आधारमा प्रमिथस महाकाव्यको विश्लेषण र यसको कथासार

~दीपेन्द्र अधिकारी~

पूर्वीय पाश्चात्य महाकाव्यीय मान्यतालाई गहन रूपले समीक्षण गर्दा महाकाव्यका आधारभूत मान्यतामा समानता पाइन्छ । परन्तु दुबै काव्यीय परम्पराको लामो इतिहास भएकाले केही पृथकता पनि पाइन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा दुबै साहित्यिक परम्पराका गहन अध्येता भएका र दुबैतर्फ उत्तिकै बेजोड गतिले कलम चलाएकाले यस महाकाव्यमा पूर्वर्ीय र पाश्चात्य दुबै मान्यताको सुन्दर संयोजन पाइन्छ । उपर्युक्त दुबै मान्यताहरूको आधारमा समीक्षण गर्दा प्रमिथस -२०२८) महाकाव्यमा पाइँने साझा तत्वहरूलाई निम्नानुसार सङ्क्षिप्त व्याख्या गरिन्छ ।


१.१ महान् कथानक

महाकाव्य आयामका दृष्टिले एक बृहत् वा बृहत्तर आकारको रचना भएकाले यसको कथानक पनि विशाल र उच्च ऐतिहासिक महत्व बोकेको हुनु पर्ने पूर्वीय पाश्चात्य मान्यता छ । यस दृष्टिले प्रमिथस महाकाव्यको कथानक पनि प्राचीन गि्रसेली पुराकथाको एक अंशको रूपमा रहेको हुँदा यसले प्राचीन पौराणिक घटनालाई विशेष महत्व दिएको देखिन्छ । मानव सम्भयताको प्रारम्भिक अवस्थामा मानव जातिले गरेको सङ्घर्षसँग जोडिएको हुँदा यस पौराणिक घटनाको महत्व र महिमा निकै उच्च र अनुकरणीय छ । कुनै पनि काव्य कृतिको लोकपि्रयता र सफलतामा लेखकको कला र शिल्पका साथै त्यसमा प्रयुक्त विषय वस्तुको पनि विशेष महत्वपूर्ण भूमिका रहेको हुन्छ । यस प्रमिथस महाकाव्यको गुणात्मक उत्कषर्ाेन्मुखतामा देवकोटाको स्वच्छन्दतावादी प्रगतिवादी भावधाराका साथै उनले छनोट गरेको प्राचीन पौराणिक विषय वस्तु पनि उत्तिकै महत्वपूर्ण छ र नेपालको तत्कालीन राजनीतिक परिवर्तनसँग सान्दर्भिक रहेको छ ।

१.२ सच्चरित्रयुक्त महानायक

महाकाव्यको नायक महान्, उच्च कुलीन, धीरोदात्त र यशस्वी हुनु पर्दछ भन्ने मान्यता पूर्व र पश्चिम दुबै साहित्य शास्त्रीय प्रणालीमा देखिन्छ । पाश्चात्य काव्य चिन्तक एरिस्टोटलका अनुसार महाकाव्यमा त्रासदी उत्पन्न हुन सक्ने हुँदा त्यसलार्य शमन गर्नका निम्ति चरित्र उच्च कोटिको हुनु पर्दछ । यस दृष्टिले हेर्दा प्रमिथस महाकाव्यको नायक प्रमिथस महाकाव्य अनुकूल गु०ाहरूले युक्त देखिन्छ । उसको उच्च उदात्त चरित्त नै महाकाव्यको प्रमुख विशेषता बनेको छ । स्वर्गको टाइटानदेव प्रमिथस उच्च कुलीन, धीरोदात्त र यशस्वी चरित्रको रूपमा महाकाव्यको केन्द्रविन्दुका रूपमा प्रतिष्ठित छ । उसले मानव जातिको रक्षार्थ गरेको त्याग र बलिदानको कथा समस्त मानव जातिकै लागि प्रेरणादायी भएर रहेको छ । प्रमिथसको अनुकरणीय चरित्रलाई नै उजिल्याउने प्रयत्न गरिएको हुँदा यो महाकाव्य पनि चरित्र प्रधान बन्न पुगेको छ ।

१.३ विशिष्ट उद्देश्य

प्रत्येक कार्यको प्रारम्भसँगै कारण आवश्यक हुन्छ । काव्य रचनाको पनि कारण, हेतु वा उद्देश्य सँग सँगै आएको हुन्छ । महाकाव्य जस्तो साहित्यको गरिमामय विधाको उद्देश्य विशिष्ट, विराट र उदात्त हुन्छ । पूर्वीय एवम् पाश्चात्य दुबै साहित्यका महाकाव्य रचनाको परम्परालाई हेर्दा त्यहाँ महाकाव्य रचनाको तत्कालिक एवम् दीर्घ कालिक विशिष्ट उद्देश्य निहित रहेको पाइन्छ । व्यासले महाभारत र रामायण रच्नुको पछाडि हिन्दू धर्म र आर्ष सभ्यताको गरिमा गाउनु तत्कालीन उद्देश्य थियो भने भावी सन्ततिलाई आफ्नो भाषा, धर्म, संस्कृति र परम्पराको महत्वलाई अक्षुण्ण राख्दै सत्य, धर्म, न्याय र परोपकारको बाटोमा हिँडाउनु दीर्घ कालीन उद्देश्य थियो । त्यस्तै महाकवि होमरले इलिएड र ओडिसी रचनुको पछाडिको तत्कालीन उद्देय गि्रक सभ्यताको महिमा गाउनु र दीर्घ कालीन उद्देश्य भावी सन्ततिलाई सही सभ्यताको जगमा रहेर आफ्नो भाषा, संस्कृति, सभ्यताको संरक्षण गर्दै उत्तरोत्तर प्रगति उन्मुख गराउनु थियो । यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रमिथस महाकाव्य रच्नुको उद्देश्य पनि त्यस्तै विराट र व्यापक देखिन्छ । नेपालको तत्कालीन राजनीतिक उतारचढाव, १०४ बर्से जहानीया राणा शासनको पतन र निर्धा, निमुखा तथा निहत्था जनताको विद्रोही चेतना र प्रजातन्त्रप्रतिको निष्ठालाई प्रतिबिम्बित गर्नु यो महाकाव्य रचनाको विशिष्ट उद्देश्य हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपालमा आएको यस्तो परिवर्तनको उत्कट चाहनालाई प्रतिबिम्बन गर्ने आम जनता, प्राणोत्सर्ग गर्ने सहिद र दमनकारी राणा शासकहरूको चरित्रलाई प्रतिबिम्बन गर्नका निम्ति पाश्चात्य गि्रसेली मिथकीय कथालाई जोडेर नेपालीपनले सिँगारे । सम्भवतः देवकोटाले हाम्रो नगिचमा प्रमिथस जस्ता विशिष्ट र उदात्त पात्र भेट्टाएनन् र पाश्चात्य पुराकथाको सहायता लिए । पूर्वीय काव्य मान्यता अनुसार महाकवि देवकाटाले चतुर्वर्ग फलप्राप्ति -धर्म, अर्थ, काम र मोक्ष) को उद्देश्यलाई प्रस्तुत महाकाव्यमा सफलतापूर्वक अवलम्बन गरेका छन् ।

१.४ विशिष्ट शैली

महाकाव्य विराट र विशिष्ट रचना भएकाले विशिष्ट शैलीको अपरिहार्यता रहन्छ नै । पूर्वीय काव्यीय मान्यता अनुसार काव्यमा प्रयुक्त भाषा अग्राम्य, परिष्कृत, अलङ्कृत र ध्वन्यात्मक हुनु पर्दछ जसले महाकाव्यको विराटता र विशिष्टतालाई सार्थक तुल्याउँछ । त्यसै गरी पाश्चात्य साहित्य चिन्तक एरिस्टोटलले पनि महाकाव्यको शैली उदात्त र असाधारण हुनु पर्नेमा जोड एकिा छन् । महाकाव्यमा अग्राम्य एवम् परिष्कृत भाषा वाञ्छनीय मानिन्छ । परिवेशको चित्रणसँगै भाषामा पनि उतारचढाव भएको देखिन्छ । पात्रको वीरता र शूरताको वर्णन गर्नु पर्दा कठोर शब्दावली, लामा पदावली, समासयुक्त कठोर शब्द, गौणी रीति इत्यादि आवश्यक ठानिन्छ । प्रमिथस महाकाव्य वीर रस प्रधान महाकाव्य भएकाले यसमा प्रयुक्त भाषा शैली पनि महानायक प्रमिथसको वीरता, शूरता, त्याग, बलिदानलाई पुष्टि गर्ने खालको भव्य र विराट पाइन्छ ।

१.५ विराट परिवेश चित्रण

महाकाव्य लामो ग्रन्थ भएकाले कथानकको विकास क्रममा विभिन्न कथोपकथाहरू आउँछन् । ती कथोपकथालाई सङ्गठित रूपले संरचित गर्नका लागि सर्ग विभाजन आवश्यक हुन्छ । महाकाव्य साहित्यको एक विराट रूप वा संरचना भएकाले यसमा जीवन र जगत्को विराट आख्यानीकरण हुन्छ । कवित्व प्रतिभा र आख्यान दुबैलाई सन्तुलित ढङ्गले अघि बढाउनका लागि महाकाव्यमा सर्ग विभाजन गरिएको हुन्छ । पूर्वीय महाकाव्यीय मान्यतानुसार महाकाव्यको आकार आठ सर्गभन्दा बढी हुनु पर्ने धारणा रहेको देखिन्छ । त्यस्तै पाश्चात्य साहित्य चिन्तकहरूले सर्ग विभाजनलाई परिभाषामा नसमेटे पनि गि्रक महाकवि होमरका ‘इलियड’ र ‘ओडिसी’मा सर्ग विभाजन गरिएको भेटिन्छ । अन्य पाश्चात्य महाकाव्यकारहरूले पनि सर्ग विभाजनको प्रावधानलाई अङ्िगकार गरेका देखिन्छन् ।

प्रमिथस महाकाव्य एघार सर्गमा संरचित मझौला आकारको महाकाव्य हो । पूर्वीय पाश्चात्य महाकाव्यीय मान्यतानुसार यस महाकाव्यको प्रथम सर्ग मङ्गलाचरणबाट सुरु भएको छ । हरेक सर्गान्तमा पछिल्लो सर्गमा वर्णन हुने कथानकको सङ्केत पनि गरेको पाइन्छ । सर्ग विभाजन गर्दा महाकाव्यमा वणिर्त कथानकको आदि, मध्य र अन्त्यको विकासक्रमलाई आधार बनाइएको छ ।

प्रमिथस महाकाव्य लामो रचना गर्भावस्थामा रहेको र यसका केही श्लोकहरू प्रकाशनको समयसम्म हराइ सकेकाले कुनै कुनै सर्गमा अप्रत्यासित ढङ्गले कथानकको अन्त्य भएको देखिन्छ । प्रस्तुत महाकाव्यका एघार सर्गहरूमा क्रमशः प्रथम -४३), द्वितीय -४१), तृतीय -४१), चतुर्थ -१४), पञ्चम -३४), षष्ठम -३१), सप्तम -५८), अष्टम -१८), नवम -४१), दशम -४५) र एकादश ३९ श्लोकहरू रहेका छन् । उपर्युक्त एघार सर्गहरू मध्ये श्लोक संरचनाका दृष्टिले चतुर्थ, सप्तम र अष्टम सर्गहरू बाहेक अन्य सर्गहरू सन्तुलित देखिन्छन् । सबैभन्दा छोटो चतुर्थ सर्गमा जम्मा १४ श्लोकहरू रहेका छन् र यो सर्ग अपूर्ण रहेको स्पष्ट देखिन्छ । त्यसै गरी अष्टम सर्ग पनि जम्मा अठार श्लोकहरू भएकाले लघु आकारको देखिन्छ । यसमा जम्मा अन्ठाउन्न श्लोकहरू रहेका छन् । सप्तम सर्ग सबैभन्दा लामो आकारको देखिन्छ । यसमा जम्मा अन्ठाउन्न श्लोकहरू रहेका छन् ।

यसरी हेर्दा प्रमिथस महाकाव्यले सर्गबद्धताको सैद्धान्तिक मान्यतालाई आत्मसात गरेको देखिन्छ । ‘प्रमिथस’ प्राचीन गि्रसेली पराकथाका एक चर्चित पात्र हुन् । मानवमित्र प्रमिथसले मानव जातिको अस्तित्व रक्षार्थ गरेको सङ्घर्ष, त्याग र बलिदानको कथा सबैका लागि प्रेरणादायी बन्दै आएको छ । यी वीर, पराक्रमी र विद्वत् चरित्रको महानताका बारेमा केही अमूल्य कृतिहरू लेखिएका छन् । ई.पू.पाँचौँ शताब्दीका महान गि्रक नाटककार एस्किलसले रचना गरेको त्रासद नाटक प्रमिथस बाउण्ड, अङ्ग्रेजी रामाण्टिक युगका महान कविद्वय शेली र बायरनले रचना गरेका क्रमशः प्रमिथस अनबाउण्ड नामक गीति नाटक र ओड टु प्रमिथस भन्ने प्रतिगीति प्रमुख उल्लेखनीय कृतिका रूपमा रहेका छन् ।

हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि प्रमिथसको महानताको प्रज्वलित रापबाट अछुतो रहन सकेनन् र प्रमिथसले मानव जातिको उत्थानका लागि गरेको महान् त्याग र बलिदानको कथालाई समेटेर प्रमिथस नामक गद्य महाकाव्यको रचना गरे । यो महाकाव्यका नायक टाइटनदेव प्रमिथस हुन् । यी उदात्त पात्रको बलिदानीपूर्ण व्यक्तित्वलाई उजिल्याउनु नै यस महाकाव्यको प्रमुख उद्देश्य रहेको देखिन्छ ।

एघार सर्गमा संरचित प्रमिथस महाकाव्य अन्य महाकाव्य जस्तै मङ्गलाचरणबाट सुरु हुन्छ । मङ्गलाचरणको रूपमा रहेको प्रथम सर्गमा महाकवि देवकोटाले ज्ञान, बुद्धि एवम् विद्याकी अधिष्ठात्री देवी सरस्वतीको वन्दना गाएका छन् । यसको प्रथम सर्गमा प्राचीन गि्रस भूमिको अपार सौन्दर्य, गरिमा र महिमाको सुन्दर एवम् प्रभावशाली चित्रण गरिएको छ । महाकाव्यको प्रासङ्िगक कथा भने द्वितीय सर्गबाट अघि बढेको देखिन्छ । माकाव्यमा वणिर्त कथा अनुसार स्वर्ग मण्डलका ओजस्वी राजा युरानससँग जियाको विवाह भयो । त्यसपछि जियाको कोखबाट पन्द्र ओटा शिर तथा बलबाहु भएका अत्यन्त बलवान् र डरलाग्दा ब्रायरियोस्, गाइज र कटोस नामका पुत्रहरू जन्मिए । त्यसपछि फेरि युरानस र जियाबाट एउटा आँखा र भयानक शरीर भएका साइक्लोप्स, आर्जिस, स्टेरोपस र ब्रन्टिजहरू जन्मिए । सारै शक्तिशाली यी महावीरहरू आफ्ना पिता युरानसको आज्ञा पालन नगरेका कारण अन्धकार पातालको खाडीमा कैद गरिए । जियाले फेरि सात छोरा र छ छोरी गरी तेर जना सन्तान जन्माइन् । यी सबै महावीरहरू टाइटनका नामले चिनिए । यिनीहरूमध्ये सबैभन्दा कान्छा टाइटनको नाम क्रोनेास थियो । आफ्ना ज्येष्ठ पुत्रहरू पातालमा कैद गरिएपछि मातृ हृदय द्रवीभूत भएकी जियाको मन खिन्न भयो र युरानसप्रति उनको मनमा तित्र्र आक्रोश बढ्न थाल्यो । त्यसैले उनले आफ्ना कनिष्ठ सन्तानहरूलाई युरानसले गरेको क्रूर दानवीय बेवहारको बारेमा जानकारी गराइन् । आफ्नी आमा जियाबाट बाबुको सवेच्छाचारी निरङ्कुश शासकीय चरित्रका कुरा थाहा पाएपछि टाइटानहरू आफ्ना बाबुप्रति शशङ्िकत बने । आमाको सल्लाह अनुसार बाबुले आफ्ना दाजुहरूमाथि गरेको अत्याचारको बदला लिन सबै सन्तानहरू एक जुट भएर युद्ध लड्न तयार भए । माता जियाले कान्छो छोरो क्रानोसको हातमा बज्र समान बलियो र अति धारिलो हँसिया राखि दिइन् र युद्ध लड्न आज्ञा दिइन् । त्यसपछि स्वर्गाधिराज युरानस र उनका सन्तानहरूको बिचमा घनघोर युद्ध भयो । अन्ततः अति बलवान क्रोनोसले आफ्ना बाबु युरासनलाई धारिलो हतियार प्रहार गरी बीभत्स ढङ्गले हत्या गरे र स्वर्गको राज सिंहासनमा आसीन भए । त्यसै वेला महाशून्यबाट एउटा आश्चर्यलाग्दो भविष्यवाणी भयो –

‘जनक विधातक शुक्र क्रोनोस
तँलाई जन्मने छ एक पुत्र विचित्र
जसले लेला महावीरको अद्भुत चरित्र
तँलाई हराई सङ्ग्राम भूमिमा
लेला तेरा सम्पूर्ण मुकुट छिनी उसले ।’
(२:२७)

यस्तो अनपेक्षित, आश्चर्यजनक र डरलाग्दो भविष्यवाणी सुनेर पराक्रमी क्रोनोस भयभीत र शशङ्िकत बने । यो घटनाले उनलाई निर्दयी र क्रोधान्ध बनायो । त्यसपछि उनले आफ्नी पत्नी रियाबाट सन्तान जन्मने बित्तिकै त्यसलाई कंशले जस्तै मारि दिने गर्न थाले । क्रोनोसको यस्तो दानवीय बेवहार देखेर रिया अत्यन्त दुखी बन्न थालिन् । उनले आफ्नो कान्छो छोरो जिउसलाई होशियारीपूर्वक गुफामा लगेर लुकाइन् । जिउस हुर्केर ठुलो भएपछि रियाले क्रोनोसले आफूहरूमाथि गरेको अन्याय र अत्याचारका बारेमा सविस्तार बताइन् र जिउसलाई क्रूर अत्याचारी बाबुका विरुद्ध युद्ध गर्न हौस्याइन् । क्रोनोसको सारा कर्तुत सुनेर क्रोधान्ध भएका जिउसले क्रोनोसमाथि आक्रमण गरे र पिता र पुत्रका बिचमा घनघोर युद्ध भयो । अन्तमा अति बलवान पुत्रका सामु वृद्ध सिंह जस्ता देखिने क्रानेासको कुनै सीप चलेन र उनी पछि हट्न बाध्य भए । यसरी युद्धमा पराजित पिता क्रोनोसलाई पुत्र जिउसले पाता फर्काई बाँधेर विशाल पर्खालले घेरिएको पर्वतको कैदखानामा कडा निगरानीका साथ कैद गरि दिए र स्वर्गको बागडोर आफूले सम्हाले । जिउसको यस विजयमा टाइटानहरू मध्येका एक महावीर प्रतिभाशाली प्रमिथसको सल्लाह र सहयोगले प्रमुख भूमिका खेलेको थियो । यी पराक्रमी र बुद्धिमान प्रमिथसले स्वर्गमा सधैँ सत्य र न्यायको राज हुनु पर्छ भन्ने मान्यता राख्दथे । यिनकै सल्लाह मानेर जिउसले पनि क्रोध र स्वेच्छाचारिताले नभई बुद्धि बलले न्यायपूर्ण राज्य सञ्चालन गर्न थाले । त्यसपछि स्वर्गमा सबैले स्वर्गीय शासनको अनुभूति गर्न थाले र स्वर्ण युगको उदय भयो ।

यसै बिच क्रोनोस र जिउसका बिचमा युद्ध भइ रहेको समयावधिमा पृथ्वीमा अविकसित नयाँ जीवका रूपमा मानव जाति जन्मियो । उत्पत्तिको उषा कालमा ती मानव जीवहरू हावाका पराल, समुद्र किनारका झ्याउ जस्ता अति कमजोर र न्यून स्तरका थिए । ती अविकसित र अज्ञानी मानवहरू अँध्यारा गुफाहरूमा बस्दथेÙ पशुको छाला ओड्दथे, पशु जस्तै विचित्र जङ्गली भाषा बोल्दथे र काँचो मासु चपाइ रहेका हुन्थे । जब जिउसले धर्तीमा यस्ता घिनलाग्दा जीवहरू देखे तब उनको मनमा तीप्रति घोर घृणा, द्वेष र वैरभाव उत्पन्न भयो । त्यसपछि उनले यी असभ्य एवम् उपहास्य जीवका ठाउँमा पृथ्वीलाई सुहाउने देव समान कुनै जातिलाई स्थापित गर्नका लागि समस्त मानव जातिको समूल नष्ट गर्ने मनसाय प्रकट गरे । जिउसको यस्तो अहङ्कारी सोच र स्वेच्छाचारी प्रवृत्तिलाई देखेर असहाय र दुर्बलहरूको सहारा बन्ने स्वभाव भएका प्रमिथस कसरी मानव जातिको अस्तित्व रक्षा गर्न सकिन्छ भन्ने सोचमा चिन्तनशील रहे । सबै जातिको सह अस्त्िवलाई सम्मान गर्ने प्रमिथसले अज्ञानी मानव जातिमा चेतना जगाउनको लागि स्वर्गको आगो धर्तीमा लेजाने निर्णय गरे । अन्ततः मानव जातिको दयनीय अवस्था देखेर दयाशील र सहानुभूतिशील बनेका प्रमिथस ज्ञानको ज्योति अग्निबीज निगालाको खोक्रोमा राखी धर्तीमा ओर्लिए । सुरुमा प्रमिथसलाई देखेर अज्ञान र अन्धकारमा रुमल्लिएका निरीह मानव जाति अचम्मित र भयभीत बने । आफूलाई देखेर डराएका मानव जातिलाई प्रमिथसले आफू धर्तीमा आउनुको कारण स्पष्ट पारे र स्वजातिको अस्तित्व रक्षाका लागि देवराज जिउसका विरुद्ध सङ्घर्ष गर्नु पर्ने आवश्यकता बोध गराए । त्यसपछि प्रमिथसले आफूले ल्याएको आगाको पिलिङ्गो मानव वस्तीमा प्रदर्शन गरे । प्रमिथसप्रति विश्वस्त भएका मानव जातिले उनलाई आफ्नो मार्ग दर्शकका रूपमा स्वीकारे  र सम्मान गर्न थाले । स्वर्गीय सत्ता र सुख सयललाई तिलाञ्जलि दिएर मानव जातिलाई जगाउन आएका प्रमिथस कृषि कर्ममा संलग्न हुँदै धर्तीलाई उर्बर बनाउँदै मानवमित्रका रूपमा पृथ्वीमा बस्न थाले । आगोको माध्यमबाट प्रमिथसले समस्त मानव जातिलाई जागृत गराए र उदात्त चेतना र सिर्जनाका कारणले मान्छे देवताभन्दा पनि महान् बन्न सक्ने स्वाभिमान र सिर्जनशीलताको पाठ सिकाए । आगोलाई प्रयोग गरेर मानवहरूले धर्तीमा नयाँ नयाँ सिर्जना र आविष्कार गर्दै उत्तरोत्तर प्रगति गर्न थाले । त्यस्तो मानव सिर्जनाले धर्ती स्वर्ग जस्तै समुन्नत र सुन्दर बन्न थाल्यो । यसरी विचार, बुद्धि र परिश्रमबाट मानव सभ्यता उत्कषर्ाेन्मुख हुँदै गरेको देखेपछि देवराज जिउसको मनमा यसले स्वर्गको राज सत्तामा अपठ्यारो पार्न सक्छ भन्ने शङ्का उत्पन्न भयो । अविकसित घिनलाग्दा मानव जातिलाई सुसभ्य, सुसंस्कृत र पराक्रमी बनाउने मुख्य कारक स्वर्गबाट चोरेर ल्याएको आगो हो भन्ने रहस्य बुझेपछि जिउसले स्वर्गका बागी अग्निचोर प्रमिथसलाई कडा सजाय दिनु पर्ने निर्णय गरे । त्यसपछि जिउसले आफ्ना पाश्ववर्ती क्राटोस र अग्निदेव हेपिस्टसलाई धर्तीमा गएर अग्निचोर प्रमिथसलार्य कठोर दण्ड दिन आज्ञा दिए । जिउसको आज्ञालाई शिरोधार्य गरेर पृथ्वीमा आएका ती पाश्ववर्तर्ी बलदेवले प्रमिथसलाई फलामको जञ्जीरले बाँधेर ककेसस पर्वतमलाको पाश्र्व भागमा ल्याए । कठोर हृदय भएका र मालिकका अन्धभक्त, अविवेकी क्राटोस सारै निर्दयी भएर प्रमिथसलाई यातना दिन तम्तयार भए तर यसको विपरीत कोमल हृदय भएका परोपकारी अग्निदेव हेफिस्टस प्रमिथसप्रति सहानुभूनिशील देखिए तापनि जिउसको आज्ञा पालन गर्नु पर्ने बाध्यताले गर्दा उनी पनि मनले नचाहँदा नचाहँदै प्रमिथसलाई चट्टानमा किला ठोक्न बाध्य भए । फलामको जञ्जीरले बाँधिएका प्रमिथसलाई क्राटोस र हेफिस्टसले हात, छाती, पेट तथा खुट्टामा किला ठोकी कठोर यातना दिएर राखे । यस्तो कठोर असैह्य यातना सहँदा सहँदा प्रमिथस अर्धमृत अवुथामा पुगेपछि हेफिस्टस र क्राटोस स्वर्गतर्फ फर्किए ।

प्रमिथस असैहृय पीडामा छट्पटाइ रहेको देखेपछि सागर परीहरू उनको नजिकमा आएर र सहानुभूतिशील बन्दै उनको दुखमा सहभागी भए । ती सागर परीहरूले विभिन्न उपायहरूद्वारा उनको पीडा कम गराउने पयत्न गर्न थाले । यसै क्रममा तिनीहरू मधुर सङ्गीत गाएर, मधुर नृत्य नाचेर उनका चहर्याइ रहेका घाउमा सान्त्वनाका मलम लगाउन तल्लीन रहे । यी सागर परीहरूले विभिन्न देवीहरू जस्तै स्वतन्त्रतादेवी, आशादेवी, सुन्दरतादेवी र ललितकलादेवीहरूलाई बोलाएर प्रमिथसको पीडा कम गराउन अनुरोध गरे । ती देवीहरूले पनि आफ्नो सीप, गुण, कौशल प्रदर्शन गरेर प्रमिथसलाई केही राहत दिए । यसले गर्दा कठोर शारीरिक पीडा सहनु परेको भए पनि मानसिक रूपले प्रमिथस उच्च मनोबलका साथ आफ्नो सत्यको बाटोमा दृढ रहे । उनले आफूलाई सघाउन आएका सागर परीहरू र विभिन्न देवीहरूका  सामु आफू मानव जातिको उत्थानका लागि सदैव सत्यको यो पथमा अविचलित लागि रहने धारणा प्रकट गरे । त्यसका साथै उनले अहङ्कारी र क्रोधान्ध जिउसको असत्यको शासन एक दिन पतन भएरै छाड्ने उद्घोष पनि गरे । घोर पीडामा मर्माहत भएका प्रमिथसको पीडा शमन गर्नका लागि सागर परीहरू जडीबुटी खोज्न हिँडेपछि प्रेम, करुणा र धृति जस्ता भावनात्मक शक्तिदेवीहरू प्रमिथसको समीपमा आए र तिनीहरूले प्रमिथसलाई प्रेम, करुणा र धैर्यको सन्देश तथा महत्व सुनाए । उनीहरूले प्रमिथसको मनोबल बढाउँदै भविष्यमा सत्यकै विजय हुने सन्देश सुनाएर उनलाई भविष्यप्रति आशावादी र विश्वस्त बनाए । यसै क्रममा देवराज जिउसको सन्देश लिएर आएका हर्मिज प्रमिथसको सामु प्रकट भए र प्रमिथसले जिउससँग माफी मागेमा उनी यस्तो कठोर दण्डबाट मुक्त हुने कुरा सुनाए तर प्रमिथसले आफ्नो मानव हितकारी कदम सत्यमा आधारित भएको र सत्यको यस्तो मार्गमा हिँड्नु पर्दा मृत्यु नै अँगाल्न पनि तयार हुने तर पछि नहट्ने अदम्य अठोट प्रकट गरे । प्रमिथसको यस्तो निर्भीक विचार सुनेपछि क्रुद्ध बनेका हर्मिज अटेरी प्रमिथसको मृत्यु नजिक आएको भन्दै आकाश मार्गतिर लागे । त्यसपछि पृथ्वीमा हलचल मच्चाउने गरी निकै ठुलो कम्पन सुरु भयो, आँधीबेहरी जोडतोडले चल्न थाल्यो र ठुलो प्रलय मच्चियो । अन्त्यमा सत्यवादी र समस्त मानव जातिका सारथी प्रमिथसले हाँसीहाँसी मृत्युलाई अँगाले ।

सन्दर्भ विवरण
१.    अब्राहम्स, एम.एच., अ ग्लोसरी अफ लिटेररी टर्मस, अमेरिका : थोम्सन लर्निङ एकेडेमी रिसर्च सेन्टर, २००५ इ  ।
२.    आनन्दवर्धन, ध्वन्यालोक, चौखम्बा संस्कृत सिरिज, बनारस, बनारस १९५३ इ ।
३.    उपाध्याय, केशवप्रसाद  पूर्वीय साहित्य सिद्धान्त, काठमाडौँ : साझा प्रकाशन २०३६ (चौ.सं.२०६१)
४.    गौतम, कृष्ण पाश्चात्य महाकाव्य काठमाडौँ : भुँडी पुराण प्रकाशन २०५५ ।
५.  त्रिपाठी, वासुदेव, पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा (भाग १ र २ ) काठमाडौँ : साझा प्रकाशन २०३० (पा.सं.२०६५) ।
६.    त्रिपाठी, वासुदेव, साहित्य सिद्धान्त शोध तथा सृजना विधि, काठमाडौँ : पाठ्य सामग्री पसल २०६६ ।
७.    देवकोटा, लक्ष्मीप्रसाद, प्रमिथस, काठमाडौँ : साझा प्रकाशन २०२८ (दो.सं.२०६४) ।
८.    पोखरेल, माधवप्रसाद, महाकाव्य, सिद्धान्त र विकासक्रम, काठमाडौँ : ने.रा.प्र.प्र.२०५४ (रचना पृष्ठ ३८-४७)
९.    विश्वनाथ, साहित्य दर्पण, मुम्बई : निर्णय सागर प्रेस १९१० इ ।
१०.    सुवेदी, अभि, पाश्चात्य काव्य सिद्धान्त, काठामाडौँ : साझा प्रकाशन २०३० (दो.सं.२०५४) ।
११.    हाजार्ड, एडम्स, क्रिटिकल मिसरी सिन्स प्लेटो, अमेरिका : हाकोर्ट ब्रास जोमानोविच् १९९२ इ ।

(स्रोत : शब्द-संयोजन Issue 90)

This entry was posted in समालोचना and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.