कथा : मिनर्वा

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

म सँग चिनापर्ची भएकै दिन बिहाबारीको प्रशंग चल्नासाथ मिनर्वाले भनेकी थिई – “मेरो त चौध वर्षको उमेरमा नै बिहे भएको, सौमी दी ।”

तीस वर्षको लग लागेकी मिनर्वाले त्यो तथ्यलाई बढो गर्वका साथ सुनाएकी थिई मानौं कुनै ठूलो दुर्घटना भएर पनि ऊ अझै बाँचI रहेकी थिई या मानौं चौध वर्षमा बिहे गरेर उसले ठूलो बहादुरी गरेकी थिई । उसको कुरा सुनेर मैले मुस्कुराउदै ठट्टा गरें – “छोरीको नाम मिनर्वा राख्ने आमाबाबु अवश्यै पनि अपठित त छैनन् होला । तब कसरी नाबालक छोरीको बिहे गर्न पुगे त ?”

“हाम्रा पालामा अहिले जस्तो कहाँ थियो र ? गतिलो केटो पाएपछि त छोरीको बिहे गरी दिई हाल्थे नि।” ” उसले स्वरमा केही गुनासो ल्याएर भनी ।

“यसको माने तिम्रो पति निकै गतिलो हुनु हुदो रहेछ ।” – मैले पनि मिनर्वाको अहम् छाम्न प्रश्न गरें ।

मिनर्वाले हतार हतार निस्सासिदै जवाफ दिई – “होइन, सौमी दी, होइन । बाआमाका आँखामा गतिलो लाग्नुको अर्थ ‘यत्तिको केटोले छोरी पाल्छ’ भन्ने विश्वास हुनु हो । मेरा ससुराको सम्पत्ति पनि प्रशस्तै थियो र मेरा श्रीमानले पनि एउटा व्यवसाय समाई सकेको हुनु हुन्थ्यो । त्योबाट पनि विश्वास भयो बाआमालाई ।”

मिनर्वाको कुरा सुनेर म आश्चर्य चकित भएँ । मलाई लागेको थियो – त्यो बालक कालमा बिहे गरेको लोग्ने ऊ भन्दा १।२ वर्ष जेठो समवयस्क नै होला तर व्यवसाय समाउन सक्ने श्रीमान उ भन्दा कम्तीमा पनि १० वर्ष जेठो त अवश्य नै हुनुपर्थ्यो । त्यसैले उसको उमेर सोध्न पटि्ट नलागेर मैले भनें – “पहिलो सन्तान त्यसो भए तिमी भन्दा त्यति कान्छो छैन होला ।”

मिनर्वाले लजाएर जवाफ दिई – “रुमीलाई पाउँदा म १५ पुग्नै लागकी थिएँ ।”

“सम्पन्नहरूको बालविवाहको पछिल्लो पुस्ता त्यसो भए तिमी नै हौली । हो कि, मिनर्वा ?” – मैले स्वरमा अलि व्यंग्य मिसाएर भने । मिनर्वा बुझेर मुस्कुराई अथवा नबुझी भन्न सक्दिनँ ।

मिनर्वा सँग मेरो भेटघाट घटनावस भएथ्यो । साहित्यमा चासो राख्ने मेरी चेलीहरूले एक दिन मिनर्वालाई पनि साथमा लिएर आएका थिए । ती २०।२२ का केटी सँग मिनर्वाको कसरी मित्रता सुरु भयो त्यो मलाई थाहा छैन तर उनीहरूको बीचमा उमेरको असमानताले वाधा गरे जस्तो पटक्कै लाग्दैनथ्यो । शायद मिनर्वाले आफ्नो उमेर घटाएर अरू केटी सरह बनाउन समर्थ भएकी थिई । तैपनि उसका साथीहरूले उसलाई माध्यम बनाएर ठट्टा गर्न भने चुक्दैनथे ।

२।४ पटक साथीहरू सँग आउजाउ गरे पछि मिनर्वा एक्लै पनि म कहाँ बराबर आउने गर्न थाली । मिनर्वाको मबाट कुनै माग नभएको र म व्यस्त भए पनि ऊ मेरो सामु सौम्य भएर बसिरहने र मलाई कुनै वाधा नपुर्यातउने हुनाले मलाई कुनै आपत्ति भएन । बरु मिनर्वाको उपस्थिति मलाई एउटा बालकको उपस्थितिको अनुभव हुन्थ्यो र उसका कतिपय प्रश्न, जवाफ र कथनहरू साँचै नै केटाकेटीका जस्ता हुन्थे । मेरो ऊ प्रतिको व्यवहार मातृवत् थियो किनकि म कहाँ कोही थिएन । मेरो एक मात्र छोरो पनि जागिरे भएर अर्कै सहरमा गएको थियो ।

एक दिन म भान्सामा व्यस्त थिएँ । मेरो छोरो विदा लिएर घर आएको थियो र आफू एक्लो हुदा जस्तो खान दिन मनले नमानेर केही विशेष परिकार बनाउन लागेकी थिएँ । मिनर्वा आएर कुर्सीमा बस्दै भनी – “ आज किन आफै भान्सामा तपाई ? ठूली कहाँ गई र ?”

मैले आफ्नो कामबाट हात र आँखा नहटाई जवाफ दिएँ – “कहीं गएकी छैन, यहीं छ । आज आफैलाई पकाउन मन लाग्यो त्यसैले ।”

उसले अलि ठट्टा साथ जिब्रो पडकाउदै भनी – “आज दिदीको हातको मिठो चाख्न पाइने भइयो त्यसो भए ।”

“हुन्छ चाखौली न तर आफूले बनाए जस्तो मिठो भएन भनेर खिस्सी नगर्नु नि ।” – मैले पनि मुस्कुराउदै जवाफ दिएँ उसकै पारामा ।

“मैले पकाउने ? ” – मिनर्वाले कुनै नौलो चुटकिला सुने झै हाँस्दै भनी ।

मैले आश्चर्य मानेर उसलाई हेर्दै सोधें – “के पकाउनु हुन्न र तिमिले ? यसमा हाँस्ने कुरा त म केही पाउन्न ।”

उसले तुरुन्तै सहज भएर भनी – “वहाँलाई म भान्सामा पसेको मन नै पर्दैन । आफैले गर्ने भए घरका नोकर चाकर, भान्सेको के काम ? भन्नुहुन्छ वहाँ । हो त नि भन्छु र बसी दिन्छु म पनि । फेरि घरको कुनै काम मैले हेर्नु नपरे पछि त्यो भान्सा मात्रै कसरी अलग्ग हुन सक्छ र ?”

“केटाकेटीले त केही माग गरी हाल्दा हुन् नि तिमीसित ?” – मैले एउटी आमासँग गर्ने प्रश्न गरें ।

“किन मागून् उनीहरूले मसँग ? दुध त उनीहरूले मेरो खानु परेन भने अरू माग के हुन सक्छन् र पुरा गरी दिन नसक्ने अरूले ? फेरि चार वर्ष पनि नपुग्दै बोर्डर बनाइएका केटाकेटीले आमा खोज्छन् नै कहाँ र ?” – मिनर्वाले सहज उत्तर दिएर ममाथि नै प्रश्न थोपरी दिई ।

“माया त खोज्छन् नि आमाको, मिनर्वा ।” – मैले अझै हार स्विकार गरिनँ ।

मिनर्वाको अनुहारमा झलक्क एउटा विकृत मुस्कान देखा पर्योध तर त्यसलाई तुरुन्तै लुकाएर उसले भनी – “जो काखको न्यानो दिएर दुध खुवाउँछे, जो नानीको सानो च्याइँ मा मस्त निन्द्राबाट बिउँझन्छे त्यो आमा हो । त्यो त मैले भोग्नु परेन । फेरि काँडाले खोस्याउँदा हुने त्यो सानो घाउलाई म्वाँइ खाइदिने आमा पनि त भइनँ म । त्यो पनि अरू कसैले गरिदियो । म त नारीका सबै जिम्मेवारीबाट मुक्त थिएँ, सौमी दी ।”

“तर जन्म दिने बन्धनबाट त मुक्त भइनौ ।” – मैले सत्य छोपिनँ ।

उसले विद्रुप हाँसो हास्दै भनी – “त्यो बन्धनवाट त टेस्ट ट्युव पनि त मुक्त छैनन्, सौमी दी ।”

त्यो एउटा अस्वभाविक भनाइ थियो एउटी नारीको निम्ति अस्वभाविक । त्यही भनाइले मलाइ लाग्यो मिनर्वा अरूजस्ती आइमाई होइन ।

त्यही समयमा मेरो छोरो भोकको नाममा सधैं जस्तै आँधीबेरी बोकेर भान्सा भित्र पस्यो र पहिले कहिले पनि नदेखेकी मिनर्वालाई देखेर अप्ठ्यारो मान्दै ढोकै छेउ उभिएर म तिर हेर्योन। उसको दृष्टि अर्थ बुझेर मैले भनें – “मिनर्वा दिदी ! मेरै मेरै चेलीहरूकी साथी ।”

उसले मिनर्वालाई अभिवादन गरेर कुर्सीमा बस्दै भन्यो – “”मैले तपाईलाई चिन्न नसकेर है ।”

मिनर्वाले उसको उपस्थिती एकदम सहज मानेर एउटा परिचितले झैं जवाफ दिई – “तपाई मलाई देख्नु नै भएको थिएन चिन्ने कसरी ?”

मैले चियाको बन्दोवस्त गरी सक्दा मेरो छोरो र मिनर्वाका बीचको अपरिचितताको पर्दा हटी सकेको थियो र तिनीहरू सहज मित्र झैँ कुरा गर्न लागेका थिए । ३० छुन लागेकी मिनर्वालाई २५ पनि ननाघेको मेरो छोरोले ‘तिमी’ को साइनो लाउन नहिच्किचाएको देखेर म चकित भएँ । मेरा छोराका सामु मिनर्वाको भावभङ्गिमा, शैली र विचार समेत धेरै अपरिपक्व देखिन्थ्यो । त्यसैले नै उसलाई तिमी भन्न मेरो छोरोलाई असजिलो भएन होला । उनीहरूको वार्तालापमा म बसी रहिनँ । एक घण्टा पछि गाडी आएकोले मिनर्वा घर फर्की ।

मिनर्वा घर गएपछि मेरो छोरोले मलाई सोध्यो – “यो मिनर्वा को हो, आमा ?”

मैले मिनर्वाका बारेमा भनें – “यो अति सम्पन्न स्वास्नीमानिस हो, हामी जस्ती मध्यमवर्गिय होइन । ज्ञान त भन्दिन, पढाइ भने सीमित छ उसको र उसलाई अनुभव लिन पनि सिकाइएको छैन ।”

“अलि उमेरभन्दा कान्छी जस्ती लाग्ने ।” – मेरो छोरोले टिप्पणी गर्‍यो ।

“हो, उमेर भन्दा कान्छी जस्ती तर उसको केही दुखेको घाउ छ जसलाई ऊ लुकाउने गर्छे । ऊ शायद लोग्ने मानिसलाई नै घृणा गर्छे ।” – मैले आफ्नो राय दिएँ ।

“घृणा होइन, आमा । ऊ लोग्नेमानिसको अस्तित्व नै अस्विकार गर्छे । देख्नु भएन कसरी मेरो अचानक उपस्थितीमा एउटी सामान्य नारीमा आउन सक्ने प्रतिकृया समेत पनि देखा परेन उसमा ?” – मेरो छोरोले मेरो रायमा सहमत नभएर भन्यो ।

“नारी पूर्वाग्रह त्यसो भए ?” – मैले छोरोलाई प्रश्न गरें ।

“होइन । पूर्वाग्रह पीडा ।” – छोरोले छोटो उत्तर दियो ।

त्यसपछि मिनर्वा निकै दिन मेरो घरमा आइन । त्यसरी बराबर आइरहने मानिस नआउदा केही कारण हुनुपर्छ भन्ने लागे पनि यस पाला मेरो छोरो सधैं भन्दा निकै बढी समय बसेकोले पनि म आफू अति व्यस्त भएकी हुदा मिनर्वाको चासो लिन पनि सकी रहेकी थिइनँ । यस्तैमा एक दिन मेरी अति मिलेकी सँगिनीले भेटहुँदा भनी – “सौमी । अब छोराको बिहे गरिदिने बेला भएन ?”

यसरी अनायास मेरा छोराको विवाहको चासो उठेको देखेर मैले सशंकित हुदै सोधें – “हैन, कहीं केही थाहा पाइस् कि के हो ?”

उसले अलिकति आँखिभौं खुम्च्याउदै भनी – “त्यो तँ कहाँ आउने मिनर्वा छ नि, त्यस सँग तेरो चिनापर्ची बाहेक अरू नाता त केही पनि भए जस्तो लाग्दैन । अनि अपूरसँग त्यसलाई ठाउँ कुठाउँमा देखिने किन, हँ ?”

मैले आफ्नो विश्वासलाई अविश्वासमा परिणत गर्ने आशाको त्यान्द्रो समाएर भनेँ – “तैँले चिनिनस् होला । अरू कोही हुनुपर्छ । अपूर र मिनर्वाको त त्यति राम्रो चिनापर्ची पनि भएको छैन ।”

उसको आफ्नो प्रत्यक्ष अनुभवलाई मैले अस्विकार गरेको देखेर उसले चेतावनी दिदै भनी – “मैले के अपूर र मिनर्वालाई चिनिनँ भनिठानेकी तैंले ? मिनर्वालाई बोटानिकल गाडर्ने लिएर जानु पर्ने वाध्यता त अपूरको केही पनि छैन । फेरि होटलमा खानु पर्दा अँध्यारो कुनाको टेबुल किन रोेज्नु पर्यो अपूरले ? हामी बुढाबुढीलाई देखेर उसले छलिएपछि शंका मान्नु पर्ने कुरा भएन त ? जहिले पनि, जहाँ भेटे पनि ‘दर्शन गरें, ठूला बा ठूली आमा’ भन्ने मान्छे चोर झै छड्केर गयो । उनीहरू सँगसँगै घुमेको खाएकोमा मलाई शंका लागेको होइन । उनीहरूको, खास गरेर अपूरको, असामान्य व्यवहारले सतर्क हुन वाध्य गराएको छ । बुझी राख् है के हो अपूर सँग ? नत्र पछि फेरि रुन थाल्लिस् ।”

संगिनीका कुरामा म शङ्का गर्न सक्दिनथें तर मेरो छोरोप्रति पनि मलाई विश्वास थियो । उसलाई मैले आमा र बाबु दुबै भएर हुर्काएकी थिएँ । उसले मेरो चित्त दुख्ने कुरा गर्न सक्दैनथ्यो ।

बेलुका अमाछोरा सँगै खान लागेको बेला मैले उसलाई सोधें – “तेरो विदा अब कति दिन बाँकी छ, बाबु ?”

उसले तिक्ष्ण दृष्टिले हेर्दै भन्यो – “किन र, आमा ? अब सिद्धियो भने पनि हुन्छ ।”

उसको विदा सकिई सकेको मलाई थाहा थियो तर हो वा होइनको दोधारमा राखेर दिइएको उसको जवाफमा त्यसको आभाष नदिई भनें – “एउटी केटीको बिहेको कुरा आएको थियो । त्यसलाई हेर्छस् कि भनेर ।”

उसले हतार हतार जवाफ दियो – “अहिले मेरो बिहे गर्ने मन नै छैन । केको हतार छ र, आमा ?”

मैले त्यस बारे थपिनँ । केटी मसँग भएकी भए पो जोड दिनुपर्थ्यो । मेरो सोधाइको आशय पुगी सकेको थियो । प्रस्ट थियो – उसको सम्बन्ध कसैसँग थियो ।

कुराकानीका विभिन्न प्रशङ्ग पछि मैले एकाएक आफैमा प्रश्न गरें – “मिनर्वा पनि धेरै भयो नआएकी । कस्तो छ कुन्नि त्यसलाई ?”

“सन्चै छ ।” – अपूरको मुखबाट निस्किई नै हाल्यो ।

हामी दुबैले एक अर्कालाई हेर्र्यौं । आफ्नो गल्ती थाहा पाएर अपूरले आफूलाई सुधार्दै भन्यो – “मैले हिजो भेटेथें ।”

मैले उसको भनाइलाई स्विकार अस्विकार केही नगरी एक छिन पछि भनेँ – “त्यसो भए अरूले भनेको कुरा साँचै रहेछ । सँगै डुल्ने घुम्ने गर्छौ तिमीहरू ।”

अपूरले जवाफ दिएन । निकै बेरको मौनता पछि मैले भनें – “अपूर । तैले के गर्नु पर्छ ? के गर्नु पर्दैन ? त्यो मैले भन्ने कुरा होइन र २५ वर्ष कुनै आवेशमा आउने उमेर पनि होइन । मिनवार्को घर छ, परिवार छ । पछिको कुरा त छोडौं अहिले नै पनि जो भइरहेको छ त्यसले तँलाई त केही नोक्सान नगर्ला मिनर्वाको हानी भने पर्याप्त भइरहेको छ ।”

अपूर खाने टेबलबाट उठेर गयो र भोलिपल्ट दिनभरि नै देखा परेन । बेलुका ऊ फर्केर आएपछि काममा फर्केर जाने निर्णय सुनायो । उसले जतिसुकै लुकाए पनि म आमा भएकीले बुझें कि भित्र कहीं गहिरो आघात परेको थियो । तर म के गर्न सक्थें र ? जीवन उसको थियो र निर्णय पनि उसैको ।

अपूर हिडने दिन मिनर्वा आइपुगी र मेकअपले जति छोप्न खोजे पनि फुङ्ग उडेको अनुहार र राति ननिदाएका आँखा उसले लुकाउन सकेकी थिइन । तैपनि अफूलाई यथासम्भव सामान्य बनाउन खोज्दै भनी – “सन्चै छ, सौमी दी, तपाईलाई ?”

मिनर्वा प्रति मेरो कुनै कुभावना थिएन । मैले सहानुभूति साथ सोधें – “सन्चै छ । तिमीलाई नि ?”

“सौमी दी ! आफू विरामी परेको मलाई थाहै छैन । केटाकेटीमा पनि पर्दिनथें रे ।” – मिनर्वाले हाँस्ने प्रयाश गर्दै भनी तर त्यसमा पहिलेको जस्तो सहजता थिएन ।

“सुखी त छौ, मिनर्वा, तिमी ?” – मलाई ऊप्रति साँचै सहानुभूति भएर भनें ।

आफ्नो अनुहारमा आउन लागेको भावलाई बलजफ्ती रोक्दै मिनर्वाले भनी – “मैले त दुख पनि सुख पनि जानेकी थिइनँ, सौमी दी, तर यी दुबै एकै चोटी म कहाँ आएर केही क्षणमै टुंगिए । अब त पुरै जीवन त्यही क्षण सम्झदैमा बित्छ क्या रे ।”

मिनर्वाको त्यो भनाइमा पीडा अवश्य थियो तर त्यो कति गहिरो थियो मलाई प्रस्ट भएन । त्यो प्रेम उसको पहिलो प्रेम भएको भए त्यसले अपूरलाई जत्तिकै चोट लगाउन सक्थ्यो ।

अपूर हिडदा मिनर्वासँग विदा भएन । मिनर्वा पनि उसको नजिक नआएर टाडैबाट टोलाएर हेरी रही । अपूरले त ऊपटि्ट हेर्ने आँट पनि गर्न सकेन । मसँग पनि पुरै औपचारिक र कृत्रिम तरिकाले विदा भयो ऊ । अपूर गइसकेपछि मिनर्वा धेरै बेरसम्म निर्भाव भएर उभिएर हेरी रही र जाने बेलामा मलाई निराश स्वरमा भनी – “यत्रो सजाय किन, सौमी दी ?”

मिनर्वा धेरै दिन आइन र मैले पनि उसको खोजीनिति गर्नु उपयुक्त ठानिनँ । अपूरले पनि शायद मिनर्वाको जीवनमा फेरि पस्न आउनु उपयुक्त ठानेन होला किनकि शुरुशुरुका उसका पत्रमा पीडा भए पनि पछि त्यो मन्द हुदै अन्त्यमा सेलाएर गयो । कमसे कम घाउको खत रहे पनि दुखाइ रही रहेन होला ।

२।४ महिना पछि एक दिन मिनर्वा मेरो घरमा टुप्लक्क आइपुगी । ऊ पहिले भन्दा अलि दुब्लाएकी थिई र बढी गम्भिर देखिन्थी । उसको अनुहार भर्खर कुनै ठूलो विरामीबाट उठे जस्तै पहेंलो थियो तर यी सबै चिज भएर पनि आफूलाई यथासम्भव पूर्ववत् बनाउने प्रयाश गर्दै भनी – “सौमी दी ! तपाईले त माया नै मार्नु भएछ । म विरामी पर्दा यसो हेर्न पनि आउनु भएन ।”

मैले आफ्नो सहजतालाई यथावत् राख्दै भनें – “मैले तिमी विरामी भन्ने त थाहा नै पाइनँ, मिनर्वा ।”

उसले मुस्कुराउदै भनी – “आफ्नो मान्न सक्नु भएन । त्यसैले नै ।”

उसले मेरो उत्तरको प्रतिक्षा नगरी फेरि थपी – “म त तपाईलाई विहेको निम्ता दिन आएकी ।”

“कसको बिहेको निम्ता ?” – मैले उत्सुक भएर सोधें ।

“मेरी छोरीको ।” – उसले निम्ता मतिर तेर्स्याएर जवाफ दिई ।

मैले चकित भएर प्रश्न गरें – “तिम्री छोरीको ? ऊ त सोह्र पनि पुगेकी छैन भनेकी होइनौ तिमीले ? कसरी मान्यौ तिमीले उसको बिहे गरी दिन ? उसको बाबुलाई ‘हुन्न’ भन्न सकिनौ ?”

मिनर्वाले गम्भिर भएर जवाफ दिई – “बिहे उसको बाबुले होइन मैले गरिदिनलागेकी, सौमी दी । उसको बाबु त कहाँ मानेको थियो र ? भन्नोस् त । गतिलो केटो भनेको बेला कहाँ पाइन्छ र ? पाएको बेला गरी दिई हाल्नु पर्छ । केटाकेटीले फेरि आफैं रोजेर हिडे भने बाबुआमाको नाकै काटी दिदैनन् र ? गतिलो केटो उम्काउनै मन लागेन मलाई त ।”

मैले तर्क गर्ने क्षमता नभएर भनें – “सानै छैन र छोरी ? ”

मिनर्वाले उदाश स्वरमा भनी – “आमाको काँख छोड्न नसक्ने त २५ वर्षमा पनि वयस्क हुदैनन्, सौमी दी । छोरी त यही महिना सोह्र पुगिसकी । मेरो बिहेमा त, तपाईलाई थाहा छदैछ, म चौधमा हिडदै थिएँ । खै, म सानी भइनँ त ।”

मिनर्वाका ती शब्दमा कहीं अन्तरवेदना भए पनि मलाई नै लक्ष गरेर भनिएको त थिएन तैपनि ती शब्दले मलाई गालैमा हिर्काए झैं अनुभव भयो र ऊ गएको धेरै बेरसम्म पनि मेरो अनुहार तातै थियो ।

बिराटनगर
२०५०।४।८

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *