कविता : नदी र जनता

~परशुराम पराजुली ‘पराशर’~Parashuram Parajuli 'Parashar'

नदी हो जगत्को भरोसा सिँचाई
नदी जान्द्छ आत्मा सबैको भिजाई
नदी प्राण हो यो नसाको मुहान
नदी नै सबै सभ्यताको उठान ।

नदी मार्ग हो नाउ नौका चलाए
नदी खाद्यको मूल माछा फलाए
नदीबाट आयो महाज्योती खास
त्यसैले गर्यो अग्रगामी बिकास ।

नदी नै महाशक्ती जादूछडी हो
सबै सभ्यता बोक्न सक्ने कडी हो
नदीकै किनारा नखोजी भएन
नदीकै सहारा नरोजी भएन ।

नदी बन्द्छ द्यौता नदी बन्द्छ बैरी
नदी बन्द्छ बाढी नदी बन्द्छ पैनी
बगायो,डुबायो बन्यो शत्रु खास
व्यवस्था मिलाए नदी बन्द्छ दास ।

नदी बन्न सकछन् सबै भोट दाता
बगाई सिनित्तै सफा गर्न घाट
कसैलाई दिन्छन् पुरै खेतबारी
कसैको उठीबास पार्छन् लघारी ।

परशुरामा पराजुली ‘पराशर’
झापा, हालः काठमण्डौ, नेपाल

(स्रोत : प्रयास अनलाइन द्वैमासिक, बर्ष:३, अंक:६, संस्करण:२४, नोभेम्बर – डिसेम्बर २०१३(अ. ने. सा. स. फर्मोसा च्याप्टर, ताइपेइ, ताइवान))

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.