कथा : चर्किएको ऐना

~प्रमिसा केसी~Pramisha KC

रिसैरिसमा सानो झिलिमिली पर्स कोठाको कुनामा वास्तै नगरी फ्याँक्दै खाटसम्म पुग्न हतारिइरहेका उसका पाइला टक्क अडिए, जब आफैँलाई ऐनामा खोज्ने प्रयास गरे उसका आँखाले । वर्षौं पुरानो, सायद ऊभन्दा पनि पुरानो त्यो दराज अनि ऐनाको कुनामा जबरजस्ती अड्याइएको कुनै दुरदेशको मनोरम दृश्यको पोस्टकार्ड !

त्यो पोस्टकार्डको औचित्य कहिले बुझिन उसले, तर त्यसको उपस्थितिले रिसाउँथी ऊ सधैँ, छेकिदिन्थ्यो उसको मुहार, मानौँ उसको अस्तित्वको एक पाटो नै लुकाइदिँदै छ । र पनि कहिल्यै हटाउने प्रयास गरिन, मम्मीको कुरा नमान्ने कुरा जो भएन ! आफ्नो मुहारभन्दा अघि नजरको निसाना बन्ने त्यो पोस्टकार्डबाट ध्यान हटाएर आफैँतिर तानी उसले । सधैँको साथी थियो त्यो ऐना उसको, सब देखेको थियो त्यसले, उसको अबोध बालापन त उमेरसँगै बढ्दै गएको उसको शरीर पनि । उसका थोते दाँतको हाँसो देखेको थियो त आँसुले पखालिएको गाजल पनि । स्कुले युनिफर्ममा दुईचुल्ठी बाटेको रूप देखेको थियो त पहिरन फेर्दाको उसको नग्न शरीर पनि, लुकेको के थियो र त्यसबाट ? दराजको अर्कोपट्टि टिनमा धर्सा थिए मार्करको, उसको उमेरसँग बढ्दो उचाइका नाप । तर त्योभन्दा नजिकबाट ऊ हुर्किएको त त्यो छेवैको ऐनाले नियालेको थियो ।

आज ऊ आफूलाई सिँगार्न ऐनासामु उभिएकी होइन । नियाली रही जुन रूप लिएर ऊ फर्किएकी थिई, घरी आँखीभौँ खुम्चाउँदै त घरी तन्काउँदै । घरी आँखाको नानी डुलाउँदै आँखाको कुनाकुना चहार्दै ! ‘ह्या, मेरो आँखा पनि त्यस्तो देखिँदैन, यत्तिकै जे पनि भनिदिने !’ जति सम्झियो उति रिस धुरी चढ्थ्यो । घर फर्किनसाथ तेर्सिएको मम्मीको प्रश्न, ‘तैँले पिएर आइस् ?’ न मेकअप उत्रियो न त्यो कालो वानपिस । गर्मीमा पनि सिरकभित्र पसी ऊ आफूलाई लुकाउन । रिस, रोदन, मध्यरातका फोनका गफ अनि अनेकौँ रहस्य लुकाइदिने त्यही सिरक थियो उसको, आज पनि भावनाका छाल कसो नलुकाइदेला ? ‘कसरी सोच्न सक्नु भो के मम्मीले त्यस्तो ! मेरो एक–एक साथीलाई पनि थाछ, हाउ मच आई हेट ड्रि«ंकिङ !’ उसको सबैभन्दा मन पर्ने झुम्का अल्झाइदियो सिरकले, अरु बेला हुन्थ्यो त सुमसुम्याउँदै हुन्थी, तर आज फिटिक्कै माया लागेन । रिसमा घरी सिरक, घरी झुम्का र घरी आफ्नै कान तान्दातान्दै बल्ल स्वतन्त्रता पायो त्यो झुम्काले, तर त्यसलगत्तै हुर्याइदिएँ टेबुलतिर त्यसलाई सिरकमुनिबाट चिहाएका हातले । उसलाई रिस मम्मीले शंका गरेकोमा होइन, विश्वास गर्न नसकेकोमा थियो ।

सिरक कसेर समात्दै कोल्टे फेर्दा रिस आफ्नै सुरमा थियो । अँ उसका साथी सबै बेग्लै ब्याकग्राउन्डका थिए, ऊ हुर्किएभन्दा अलि आधुनिक दुनियाँमा हुर्किएका । घरबाट संगत नगर्ने उर्दी आउँथ्यो तर एकै ठाउँमा पढ्दा टाढा रहिरहनु सम्भव थियो र ? उसलाई थाहा थियो, उसका साथी बिग्रिएका थिएनन्, केवल फरक थिए । उनीहरूको समाजले त्यही सही मान्छ, उसको समाजले त्यही गलत । मन्जुर उसलाई केवल पिउनु थिएन । र, पिउन कसैले कर नगर्ने सर्तमा नै मनाएका थिए साथीले उसलाई । पहिलो अनुभव थियो यो उसको, कौतुहलता र सतर्कता पनि लिएर गएकी थिई ऊ उपहारसँगै । बारमा रहेछ बर्थडे पार्टी, अनि ऊ नपिउने दृढता लिएर गएकी थिई, कस्तो अनौठो कुरा ! नयाँ–नयाँ परिकार, डान्स फ्लोरमा पाइला नचाउनु, आफूले पहिलोपटक लगाएको वानपिस जो सायद त्यहाँको सबैभन्दा लामो लुगा थियो, रमाइलो हुँदै थियो त्यो अनुभव । तर फूल पनि त कोपिला हुँदै सुन्दर हुन्छ, अनि फक्रिएको समय, जब ओइलाउँछ तब कुरूप बन्छ, गनाउँछ । अन्तसम्म मात्यो पार्टी पनि गनायो उसलाई । कतै कसैको ब्रेकअपको रुवाबास, कोही नशामा मुख छाडिरहेका ।

एक कुनामा सम्हाल्न नसकेर बान्ता गरिरहेको ठिटो । अनि उसको आफ्नै टेन्सन पनि त थियो, बाहिर अँध्यारो र सम्भवतः कुनै सार्वजनिक यातायात बाँकी नरहेको उसलाई पुर्याइदिन । चिसो सिरेटोले गालामा घरी माया गरेझैँ घरी थप्पड लगाएझैँ गरिरहन्थ्यो उसलाई त्यो बेला कारको झ्यालबाट, तर त्यो अपरिचितलाई झ्याल बन्द गर्ने आग्रह पनि गर्न सकिनँ । फोनमा टन्नै मिसकल र त्योबीचमा एक रिसिभ्ड कल । सायद पार्टीमा कसैले उठाइदिएको होला घरबाट आएको फोन । डर त थियो मनमा, घर पुगिएला नपुगिएला ।

त्यो अपरिचितको नियत कस्तो होला, र पनि आफूले सिकेको मार्सल आर्ट सम्झिएर ढुक्क थिई कताकता । चोकमा गाडीबाट पाइला जमिनमा राख्न पाउँदाको आनन्द, ओहो ! खाल्टैखाल्टो त्यो बाटोमा सकिनसकी हिल जुत्ताको सन्तुलन मिलाउँदै घर जति नजिकिन्थ्यो । त्यति डर बढ्दै थियो मनमा । डर जायज थियो, उसलाई थाहा थियो उसले गाली खानैपर्ने काम गरेकी छे । राति १० बजे घर पुग्नु, घरमै थाहा दिए पनि कहिल्यै नलगाएको छोटो लुगा, अनि अझ कुनै नौलो व्यक्तिले पुर्याइदिएको थाह पाए त ? र पनि यो डरले ऊभित्रको एक अनौठो सन्तुष्टि मेट्न सकेको थिएन । त्यो कुरामा त मम्मीले पनि गर्व गर्नुपर्ने हो, ऊ त्यस्तो ठाउँबाट पनि मदिराको एक थोपा ओठसम्म नपुर्याइ फर्किएकी थिई । ‘तैँले पिइस् ?’ घर आइपुग्नासाथको त्यो मापसे चेक । सम्झिँदा पनि रिस र आँसु सम्हाल्न नसकेर बग्थे । सिरकको खोलको एक फेरले आँसु पुछ्दै रिसमा फेरि त्यसैलाई हत्केलाबीच कसेर कोल्टे फेरि उसले । यसपटकको कोल्टेसँगै फ्लासब्याक पनि फेरिए । यही सिरकमुनि रातभर फोनमा बोल्थी ऊ । आवाज लुकाउने कसरत सिरकले गर्नुपर्दैनथ्यो, आखिर उसलाई बोल्ने मौका नै कसले दिन्थ्यो र ? नशामा उसको प्रेमी बोलिरहन्थ्यो, अनि ऊ बीचबीचमा केवल ‘अँ’ बोलिदिन्थी उपस्थिति जनाउन ।

ऊ मुख छाडिदिन्थ्यो, अनेकौँ आरोप लगाउँथ्यो तर ऊ बोल्दिन थिई, उसको ध्यान कहिले त्यो आवाजमा हुँदैनथ्यो । नाम मात्रका लागि सुनिरहन्थी तर त्यो नशामा डुबेको आवाजसँग घिन मान्थी ऊ । सिरकमुनि लुकिरहँदा त निसासिएर बीचबीचमा उघारेर सास फेर्थी ऊ, तर त्यो सम्बन्धमा कतिन्जेल निसासिन सम्भव थियो र ? “जाबो ड्रिंक गर्छ भनेर त्यसलाई छोडिस् ? किन त्यति ओभर रियाक्ट गर्छेस् ? नर्मल कुरा हो त ड्रिंकिङ !” यस्तै अनेकौँ किनका जवाफ दिन्थी ऊ मौनताले । यति हुँदाहुँदै पनि उसको घृणा उसकै मम्मीले नबुझेर उसमाथि शंका गर्न कसरी सुहाउँथ्यो ? कोठाको ढोका धकेलिएको आवाज आयो, हत्तपत्त कोल्टे फेरी । धेरैपटक कोल्टे फेरिसकेकी थिई । ऊ आफैँलाई हेक्का थिएन, छेउतिर फर्किएकी छे वा भित्तातिर । सिरकको घुम्टोले फेरि कति कुरा लुकाइदियो, उसकी मम्मीले बगाएका आँसु पनि । अस्तव्यस्त कोठा, छरपस्ट सामान, अनि लुगासम्म नफेरी सिरकभित्र सायद निदाइसकेको त्यो शरीर । यी सब लक्षण त पिएरै आउनुको थियो उनका लागि । अझ पार्टीमा उठेको त्यो फोन र त्यसमा सुनिएको नशामा चुर आवाज । गल्ली पसेदेखि नियालिरहँदा देखिएको लडखडाएको चाल । सायद यही दिन देख्न बाँकी थियो, आफ्नी छोरीलाई गर्व सम्झिने उनले । गइन् आफ्नै कोठामा र घुप्लुक्कै लुकाइन् उनले पनि आफूलाई सिरकमुनि । उही बानी आमा छोरीको ।

यता उसको कोठामा भने हावाको वेग बढ्दै घट्दै थियो । कति हावा त्यो मोटो पर्दाले छेकिदिन्थ्यो त कति यति बलियो कि पर्दा पनि हार मानेर उडिदिन्थ्यो । दराज र ऐनाको बोर्डरमा जबरजस्ती अड्याइएको त्यो पोस्टकार्ड घरी उडेझैँ, घरी आफ्नै ठेगानामा फर्किएझैँ गरिरह्यो । पोस्टकार्डमुनिबाट कालो टेप चिहायो, आफ्नै कहानी बोकेको कालो टेप । तर, ती सिरकले लुकाएका आँसुले भरिएका कुनै जोडी आँखाले देखेनन् त्यो टेपको झल्को । देख्थे त हटाउँथे होला, उप्काउँथे होला, अनि पाउने थिए केवल एक चर्किएको ऐना । त्यो चर्किएको ऐनासँग नजर जुधे केही सम्झना पनि त्यस्तै टुटेफुटेका नै झुल्किन्थे होला । सायद जीवन नभएर कुनै चलचित्र हुन्थ्यो त धमिलो वा नेगेटिभमा देखिन्थे होला ती क्षण । टोलको कुनै कुनाबाट सकिनसकी उसले तानेर, घिसारेर वा कसैको मद्दत लिएर ल्याइपुर्याउने त्यो बेहोस शरीर, त्यही शरीर जो वज्र बनेर प्रहार गथ्र्योे र रुवाउँथ्यो उसले जन्मदेखि चिनेका ममता बोक्ने जोडी आँखालाई । त्यही शरीर जसमाथि उसले केवल छेउमा भेटेका स–साना सामान फ्याँक्न सक्थी आफ्नोअगाडि मम्मीले पिटाइ खाएको देखिदेखी रोक्ने अथक प्रयासमा । त्यही शरीर जो पूरै टोल थर्काएर, ब्युँझाएर आफू भने नशाले थकाएपछि जुत्तासम्म खोल्ने ड्युटी ती दुईका लागि छाडेर ढलिदिन्थ्यो खाटमा, अंग्रेजीमा बबर्राउँदै । त्यही शरीर जो कुनै झगडामा त्यही ऐनासँग भेट हुँदा लागेको चोट लिएर डुल्दो हो सोही सहरको कुनै कुनामा, आफूभन्दा बढी चोट त्यो चर्किएको ऐनासँगै त्यही घरमा छाडेर ।

कोठामा हावाको वेग थामिँदै गयो । तर ती दुई मनको वेग थामिएन । दुईतिर सिरकले ती दुईको पीडा लुकाइरह्यो, अनियता फेरि पोस्टकार्डले लुकाइदियो टेपको केही अंश । केहीबेरअघि मुख खोलौँलाझैँ गरिरहेको त्यो दराज फेरि मौन बसिदियो । हो, त्यो दराजले वर्षौंदेखि धेरै कुरा देखिरह्यो र त्यो चर्किएको ऐनाझैँ लुकाइरह्यो ।

(स्रोत : Halkaranepal)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *