कथा : नलेखिएको कथा

~मनोज बाबु पनेरु~

आज पनि ऊ बेतमासले हाँसी रहेकी छे। मेरो अफिसबाट डेरा आउने चोकैमा हुन्छे ऊ। प्रत्येक दिन अफिस जाँदा र फकर्दा उसको हाँसो सुन्नु पर्ने मेरो लागि असजिलो अनिवार्यता बनेको छ। धेरै भो मैले उसका बारेमा कथा लेख्ने प्रयास गरेको। कम्प्यूटरका अगाडि बसेर जब जब किबोर्डमा हात चलाउन खोज्छु ,उसको त्यो बेसुरको हाँसोले मेरो मस्तिष्कलाई नै हल्लाई दिन्छ। म अगाडि बढ्नै सक्दिन।

हाँस्दा हाँस्दै ऊ टक्क रोकिन्छे र धारे हात पारेर चिच्याउन थाल्छे ,“ओई आइज चढ। चिथोर मलाई। किन टुलुटुलु हेर्छस्। आइज टोक मलाई।” बोल्दा बोल्दै ऊ ढुंगा टिप्छे र हान्न खोज्छे थप केही………. ,सभ्य समाजमा अस्लिल ठहरिएका शव्दहरु सहित। ढुंगा एकातिर फ्याकेर फेरि उही हाँसो…….।

म अनि म जस्ता धेरै (सबै) उसको धारे हात आफू तिर सोजिएला भनेर तर्किन्छन्। उसलाई यसको पर्वाहा छैन, ऊ त आफैमा मात्र सिमित छे र सबै तर्किए पनि (सारा समाजलाई) धारे हात पारेर सराप्छे।

उसको हाँसो सँगै चोकमा अर्को हाँसो पनि सुरु हुन्छ, चोकमा उसरठ्ठै बसि रहेका ठेट्ना केटा र धुलोमा खेलिरहेका भुराहरु को(प्रहसनका दर्शक भैं)। चोकैमा त्यस बखत उपस्थित भलाद्मीहरुको ओठलाई देब्रे कुना तिर तन्काएर (अर्थपूर्ण)। तर म न केटा वा भुराहरु झै सुनिने हाँस्न सक्छु ,न भनिएका भलाद्मी झै कुटिल मुस्कुराउन। उसको हाँसोको गुञ्जनले (चित्कारले) मेरो मन भारी बनाउँछ प्रत्यक पटक अनि म मन हलुका होस् भनेर उसको बारेमा लेख्न बस्छु अनि प्रत्यक पटक अपुरा बाक्यहरु लेखेर कम्प्यूटर अफ गर्छु।

हुन त हाँसो खुशीको ध्वनिक अविव्यक्ति हो तर ऊ भने हाँसो सँगै आफ्ना व्यथाहरु हावामा तरंगित गरि रहन्छे अनि ति तरंगहरु जब मेरो दिमागमा ठोक्नि पुग्छन्। उसको विगत मेरा आँखा अगाडि चलचित्रका रिल झै दगुर्छन्। हेर्दा हेर्दै ऊ मलाई हेरेर हाँसी दिन्छे ,तपाईलाई हेरेर हाँसी दिन्छे हामी सबैलाई हेरेर हाँसी दिन्छे। लाग्छ ऊ हामी सबैलाई गिज्याएर हाँसेकी हो। उपहासको हँासो? हाम्रो पाखण्डीपनको हाँसो? कल्पना गर्दा गर्दै झसंग हुन्छु मैले उसका बारेमा लेख्न खोजेको एक बाक्य पनि पुरा भएको हुदैन। म मेरो संस्थागत शब्दकोषका सबै शब्दहरु जो मेरो अपुरो बाक्यलाई पुरा गर्न उपयुक्त हुन्,नभेटेर लेख्न छाडिदिन्छु। म भित्र यत्रो दुबिधा हुँदा पनि म भनिएको सध्देसँग पनि पृथक बनेर उसको हाँसोलाई मनोरञ्जनको हिस्सा ठानेर चोक अभ्यस्त बनिरहेको छ।

ऊ याने बौलाई ,बौलाई हरिमाया। धेरै पहिला ऊ उत्त बिशेषण बिनाकी हरिमाया थिई। चोकैमा उसको पान पसल थियो। मैले भर्खर मात्र अफिसमा थालेको थिए त्यो बेला। हाम्रो अफिसमा पनि अधिकांस उसको पानका अम्मली थिए। बहुतै बिक्थ्यो उसको पान। ऊ सबै ग्राहकहरु सँग मुस्कुराउथी। मुस्कुराउँदा गाजल लगाएका उसका गोला आँखा चम्किला देखिन्थे काली भए पनि हिस्स परेकी राम्री थिई। मलाई पनि उसको मुस्कानको लोभले बिस्तारै पानको अम्मली बनायो। उसको पान हो वा मुस्कानको तल्तलले सधै बेलुकी खाना पछि तानेर उसको पसलमा पुर्याउथ्यो। स्थानिय ठिटाहरु उसको मुस्कानको जगमा उभिएर ऊसँग छिल्लिन खोज्थे तर उसले तिनलाई कहिले इटा थप्न सघाइन। सबैका लागि ऊ पानसँगै एकनास मिठो मुस्कान बाँड्थी।

उसको बारेमा मलाई यत्ति थाहा थियो अफिसमा कसैबाट सुनेको। चोक अगाडिको सडक बनाउँदा ठेकेदारले सस्तोमा पहाडबाट ल्याएका मजदुर सँगै आएकी रे ऊ। सडकको काम सकिए पछि सडकै छेऊमा पान पसल र सानो किराना खोलेर आफ्नो हैसियत बढाई रे हरिमायाले साहुनीको रुपमा।

उसको पसल अगाडि सधै स सानो भिड हुन्थ्यो पान अथवा उसको मुस्कान खानेको। बहुत चल्थ्यो उसको पसल। उसको पान हो वा मुस्कान कुन ज्यादा चलेको हो सहजै भन्न अफ्ठ्यारो थियो। उसको पसल अगाडि बसेरै दिन काट्नेहरुको नियमित भिड हुन्थ्यो। उसको पसल अगाडि म जब पुग्थे ,नियमित भिडबाट एउटा जिज्ञाशा आउथ्यो “ओहो सर पनि हरिमायाको पान खाने?”(उनीहरु जानी जानी “मा” छुटाएर बाक्यलाई द्वधअर्थी बनाउथे) थप प्रश्नकर्ताको असहज प्रस्तुतिकरणले मलाई गाह्रो पाथ्यो। हरिमाया बाटो छेकेर बोल्दी “के भो र सरले पान खानु नहुने हो र। म सबैलाई भन्दा मीठो पान सरलाई दिन्छु। ल खानुहोस्”,उफ् फेरि त्यही मुस्कान। लाग्थ्यो मेरो मुखमा पान होइन अगुल्टो छ। “यो हरिमाया पनि सरलाई मात्र हेर्छे। हाम्रो चाही मनै हैन कि के हो”। म हतार हतार पानको बुझु लगाएर भागेझै त्यहाँ बाट पन्छिन्थे।

यो घटना पछि मलाई उसको पसल जान असजिलो लाग्न थाल्यो। बेला बेला म घटनालाई अनावस्यक रुपमा सोच्छु जस्तो लाग्थ्यो। म किन अर्थ नलाग्ने अर्थ खोज्न खोज्छु जस्तो। मेरो र हरिमायाको सम्बन्ध अरुको जस्तै त हो नी। उसले मलाई मात्र मीठो पान दिन्छु भन्नु त एउटा सामान्य व्यपहारिक औपचारिकता हो। बेला बेला मेरो रिस उसको पसल अगाडि हुनेहरुको भीडप्रति हुन्थ्यो। किन त्यसै बस्छन् मोराहरु हरिमायाका पसल अगाडि थपक्कन पान खाएर जानु नि। तर यो त मसँग सरोकार राख्ने कुरानै थिएन। उसको पसल अगाडि जोसुकै उभिउन्।

मेरो हरिमायाकोमा नजाने बर्त धेरै दिन टिकेन। म अब अलि ढिलो गरेर जान थाले ताकि उसले पसल बन्द गर्न आँटेकी होस् र उसका पसल अगाडि कोही नहुन्। मौका हेर्न म भात खाएर घन्टौं चोकमा हुन्थे। म धेरै दिन पछाडि जाँदा हरिमायाले भनेकी थिई। “सरले त हामीलाई माया नै मार्नु भयो नी ”। मैले औपचारिकता पुरा गरेको थिए “होइन म अलि बिजी थिए ”। “के गर्नु सर पसल चलाउनै पर्यो ,कसैलाई त्यसै मेरो पसल अगाडि बसि नराख् भन्न मिलेन। दिन भरि बस्छन् पान खाएर र त्यसै के के कुरा गर्छन्। एक्ली आइमाई मान्छे लाई बाच्नै गाह्रो। सर पनि त्यही भएर नआउनु भाको त होइन ”। म छक्क परे उसले मेरो मनको अफ्ठ्यारो भनेर मलाई झन् अफ्ठ्यारो पारी।“म पनि त्यसै सरसँग किन थाग्ने कुरा गरिकी हुँला”। ”सर पान”उसले मेरो आँखामा हेरेर पान दिदै मुस्कुराई। म चोर पक्डिएझै भए। एक दिन बिहानै चोकभरि हल्ला चल्यो हरिमाया त बौलाई रे। त्यो रात हरिमाया पसल बन्द गर्न लागेकी थिई। चोकका बाँकी सबै पसल बन्द भइसकेका थिए। चोक सुनसान भइसकेको थियो। कसैले आएर पान माग्यो। जाडो भएकाले पान माग्नेले टोपी लगाएको थियो र मफ्लरले मुख छोपेको थियो।

हरिमाया गन्गनाउदै भित्र पसेर पान बनाउन थाली। एक्कासी त्यो मान्छे भित्र पसेर हरिमाया माथि झम्ट्यो। उसको मुखबाट रक्सी गनाइरहेको थियो। हरिमाया गुहार भनेर चिच्याउन खोजी। उसको मुख थुनियो। उसका हातहरु बाँधिए। लाचार बानाइएकी हरिमाया लुटिई याने हरिमाया बलात्कृत भई।

बिहान हरिमाया पसलमा नै विभत्स अवस्थामा भेटिई। उसका लुगा च्यात्तिएका थिए। उसको कपाल जिंरिग थिए र आँखाहरु राता राता थिए। हरिमाया केही बोलीरहेकी थिइन। सबैलाई टुलुटुलु हेरिरहेकी थिई। बिस्तारै हरिमायालाई ठुलै भिडले घेर्यो तर कोही पनि हरिमायालाई उठाउन गएन। हरिमाया चुपचाप घोप्टीएर बसी रही। कोही पनि उसलाई उठाउन गएन। कसैले पनि उसको देखिएको लाज छोप्न हात बढाएन।

“बाइफाले मोरी कसले मुख कालो गरिदियो। चोक भरिका ठिटाहरुसँग छिल्लिएर बस्थी। यसले अब कसलाई दोष्ने हो। यस्ती आइमाइले चोककै बेइज्जत गर्छन्। यसलाई यस चोकबाट खेदाओ।” धेरैले बोले तर कसैले पनि हरिमायाको पक्षमा बोलेन। उसलाई यो अवस्थामा कसले ल्यायो त्यो तर्फ कसैले हेरेन। सबैले हरिमायालाई नै दोषी ठर्याए। निर्णय गर्दा हरिमायालाई कसैले केही भन्नु छ कि भनेर पनि सोधेन। सबैले निर्णय गरे हरिमायाको त्यो अवस्था हुनुको सम्पूर्णरुपमा जिम्बेबार ऊ स्वयम् नै हो। उसले आफैले आफैलाई बलत्कार गरी।

समाजले उसलाई त्यहाँबाट हटाउने निर्णय गर्यो। त्यतिन्जेल सम्म चुपलागेर बसेकी हरिमाया जुरुक्क उठी। ऊ पनि बोल्न खोजीन। सायद शब्दहरु भेटिन। हाँसी। सबैलाई देखाए ,सबैलाई हेरेर हाँसी। अनि एक्कासी “ओइइ आइज किन हेरेको। आइज चढ मेरो मासु खा। ………………………………………………………………………………………..। ”
सायद भन्दै थिई मलाई हिजो राती आउनेले मात्र बलात्कार गरेन बिहान पनि सबै मिलेर मध्यचोकमा बलात्कार गरे। म भीड भित्र बसेर चुपचाप भिड बाहिर सोचिरहे। मात्र सोचिरहे भीडसँग छुटि्टन नसकेर म पनि हरिमायालाई बलत्कार गर्ने त्यही भिडमा मिसिन पुगे।

त्यसपछि सबैले हरिमाया बौलाई भन्ने निश्कर्ष निकाले। भीडले समस्या मिलाएको भावमा बिस्तारै चोक छाड्यो। चोक बिस्तारै सामान्य बन्दै गयो हरिमायाको हाँसोमा अभ्यस्त बनेर। नयाँरुपको नयाँ हिस्सा बनेर चोकमा आफ्नो अस्तित्व कायम राख्दै हरिमायाले चोक छाडिन्।

तर उसको निरर्थक हाँसोले किन मलाई सधै अर्थपूर्ण लखेटी रहन्छ अनि त्यो रात उसलाई बलात्कार गर्ने र आफू बीचको समानता र अन्तर छुट्टयाउन नसकेर अझसम्म मैले उसको कथा पूरा गर्न सकेको छैन।

March 28th, 2010

(स्रोत : Mysansar)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *