कथा : सहरयात्रा

~पुरुषोत्तम दाहाल~Purusottam Dahal

“ह्वात्त टाउकोमा केही बजि्रयो र ह्वास्स नाकमा दुर्गन्ध पस्यो । जीउभरि केही खोस्टा, छोक्रा र लिँडका टुक्राहरू भरियो । न आँखा सिधा उघ्रिन सक्यो, न हातखुट्टा नै चले । माथि कताबाट हो कुन्नि स्त्री स्वर सुनियो ‘विनावी’ ।”

बिहानै घाम झुल्किनुअघि पैदल सडकयात्रा गर्दै माझ सहरमा पुगेको मेरो त्यो अवस्था कस्तो भयो होला ? आज झण्डै त्यस घटनाको तीन दशक पुगेपछि म त्यसलाई सम्झिदै खित्का छोडेर हाँस्छु । अझ पनि मलाई त्यसबेला सडकमा हिँड्दाहिँड्दै नानीका हुन् कि बूढाबूढीको भरखर हसस थाप्रो लागेको आची र नजिकै फालिएका केराको बोक्रामा एक्कासि अघि र पछि टेकिएका खुट्टाहरू चिप्लिँदाको एक किंकर्तव्य क्षण सम्झिदा मरिमरी हाँस्न मन लागिरहन्छ । म असनमा त्यसरी चिप्लिएर लड्दा हाँसेकी सुकुमायाका ती सेता दाँत आज पनि भेटेँ भने भाँचिदिउकी जस्तो लाग्दछ । झट्ट एक क्षण मात्र तीस वर्षपूर्व देखेकी सुकुमाया अब त कत्ति बूढी भई होली । मैले दाँत भाँच्नै पर्दैन । उसका दाँत आफैँ फुस्किसकेको हुनुपर्दछ।

आज म त्यस ‘विनावी’ सभ्यताको विकसित चरित्र भइसकेको छु । मलाई लाग्छ -मेरो विकास उमेर र समयसँगसँगै त्यो सभ्यता पनि राम्ररी नै विकसित भइरहेको छ।

म पुरानो तस्बिर आँखासामु उतार्दै थिएँ । छेवैमा फालिएका फोहोरमा खुट्टाहरू अल्झिए । नाकमा कुहेको सिनोको गन्ध भरियो । झिँगाहरू भनभनाउँदै कुदे । मेरो अगाडि अलिपर कन्टेनर थियो तर कन्टेनर वरिपरि प्लास्टिकका पोकाहरू छरिएका थिए । घरको फोहोर कन्टेनर छेउसम्म पुगेर-सडकमा नै फाल्ने चलन यस सहरमा राम्ररी फष्टाएको छ । आज त कसैको घरमा मरेको एक पि्रय कुकुरको लाससमेत त्यहाँ थपिएको रहेछ । हिजोअस्तिदेखि नै अरू दृश्य यथावत् थियो । सधैँ फोहोर उठ्दैन । घरघरबाट सडकमा छर्ने काम यथावत् छ।

म नाक थुनेर अघि बढ्छु । मेरा जुत्तामा कुहेको भात, दाल, दही, मासु केके हो, टाँसिइरहेको हुन्छ । नजिकै पानी खोज्छु । काठमाडौँमा पिउन छैन, कहाँ जुत्ता धुने हुनु ? म सडकमा फालिएको कागज टिप्छु र जुत्ता पुच्छु । नाकमा ह्वास्स गुहुको दुर्गन्ध पर्छ । यसो हेर्छु कुनै सज्जनले नानीको आची पुछेर गुट्मुट्याउँदै मिल्काएको त्यो कुनै खबर कागज रहेछ । जुत्ताभरि आची टाँसियो । वरिपरि केही सज्जनहरू यो दृश्य हेर्दै हाँस्न थाले । हाँस्ताहाँस्तै एक सज्जन आफैँ केराका बोक्रोमा चिप्लिनु भयो र लड्नु भयो । उहाँ त्यही फोहोरमा मुख जोत्न पुग्नु भयो । मेरो जुत्ताको फोहोरलाई हेरेर मज्जा लिइरहनुभएका ती सज्जनको मुखभरि त्यही कुहेको दाल, भात, तरकारी र आची टाँसियो । उहाँ रुमाल झिकेर अनुहार पुछ्न थाल्नुभयो । उहाँको मुख हेर्दै अरू हाँस्न थाले । अरूको पीडा र असहजतामा हाँस्नेहरूको दुर्गति उसैगरी हुने गर्छ । भर्खर पुच्छर हल्लाउँदै कतैबाट आइपुगेको एक खुइले, घाउ नै घाउले भरिएको लुते कालो कुकुर मरिमरी भुक्न थाल्यो । मलाई लाग्यो -त्यो कुकुर मेरो खुट्टाका जुत्ता र ती सज्जनको मुख चाट्न नपाएर रिसाइरहेको हुनुपर्छ । विस्तारै मैले अलिपर हावाले उडाउन बाँकी रहेको धूलोमा पुगेर जुत्ता घिस्याएँ । कालो जुत्ता धूलैधूलोले भरियो । हिलो फोहोरमाथि धूलो भरिएपछि -मैले सन्तोषको सास फेरेँ । तैपनि धूलोको त्यो किल्लालाई चिर्दै जुत्तामा अल्झिएको दुर्गन्धसँग नाक पटकपटक जुधिरहृयो । त्यही दुर्गन्धका कारण म आज कुनै बस चढ्न सकिनँ हिँड्दै अघि बढिरहेँ।

अलिपर बोर्ड झुण्डिएको थियो- “यहाँ दिसा-पिसाब र फोहोर गर्न मनाही छ ।” मेरा आँखा बोर्डमुनि घुम्दै झरे । एक जना सज्जन आफ्नोे पुरुष इन्दि्रयलाई हल्लाउँदै तुरूक्क तुक्र्याइरहेका थिए । उनी सुटधारी थिए । सेतो, सुकिलो सुटमा रातो टाइ, चटक्क कपाल, सफाचट र सुकोमल अनुहार, हातमा सुनका औंठी, हजार, पन्ध्र सयका जुत्ता, सरसर्ती उनको बाहिरी आवरण थियो, त्यो । उनले तुक्र्याइ नसक्दै अर्को एउटा ‘बोरे’ त्यहाँ पुग्यो । आफ्नोे बोरा थपक्क भुइँमा राख्यो र यताउति कतै नहेरी थचक्क बस्यो र मुन्टो लुकायो । उसले र्फरर अपान वायु फाल्दै कब्जियत मुक्तिको अभियान सुरु गर्यो । ती सज्जन बोरेसँग झोँक्किदै र नाक थुन्दै पाइन्टको फस्नर लगाउन थाले र बाटो लागे । त्यो बोरे र सज्जनबीच के अन्तर थियो र ? म, मनमनै ती दुईबीचको अन्तर छुट्याउन थालेँ । ती सज्जन साइनबोर्ड पढ्न सक्थे होलान् र त्यो बोरे कपुरी नचिनेको पनि हुनसक्छ । उनले तुक्र्याए मात्र, बोरेले पूरै हलुका हुने प्रयास गर्यो । सभ्यताको त्यस दौडमा दुवैमा कुनै अन्तर भएन । देख्दादेख्दै एउटा भुस्याहा कुकुर बोरेका पछि पुग्यो र भर्खर निस्किएको मल ग्रहण गर्न थाल्यो । उसले सज्जनको पिसाब चाटेन तर बोरेको मल सिनित्त पार्यो।

म यी सभ्यता निर्माणका दृश्यहरूलाई हेर्दै र भविष्यबारे केही सोच्दै अघि बढेँ । धूलो उडाउँदै र ध्वनि प्रदूषण थप्दै मेरो छेउबाट अनवरत लस्कर गाडीहरू कुदिरहेका थिए । पेट्रोलियम पदार्थ केही नभएको यो देश मागेर सभ्यता र विकासको सिँढी यसरी नै चढिरहेको छ तर कति दिन यसरी चल्न सक्छ ? म एक आह भर्छु भविष्यका निम्ति । थोत्रा गाडीको पाइपबाट आउने कालो धूवाँको मुस्लो नाकमा जोडसँग ठोक्कियो र फोक्सो भित्र एक्कैपटक पुग्यो । हिजोअस्तिजस्तै गरी केही जलन थपियो । दिनहुँ यही त हो-सडकमा हिँड्नेहरूका लागि । मुटु र फोक्सोको लागि अरू के पाइन्थ्यो यो सहरमा । औषधि-उपचार सडकले गर्ने होइन । सडकले उपचार गर्दैन भनेर हामीले हिँड्न रोक्दैनौँ । यसैले बाध्य भएर हाम्रो फोक्सो र मुटुलाई यही धूलो, धूवाँ, दुर्गन्धभित्र अभ्यस्त बनाउनु परेको छ । सभ्यतातर्फ उन्मुख सहरमा एकदिन यसरी नै त बित्नुपर्ने होला।

मेरो छेवैबाट -कतै जान लागेका एक जोडी मोटरसाइकलमा हुइँकिदै थिए । पछाडि बसेकी पत्नीका कान, घाँटी, हात सुनैसुनले ढकमक्क ढाकिएका थिए । यस अर्थमा म मेरी पत्नीलाई धन्यवाद दिन्छु । उनी मसँग कहिलेकाहीँ खासगरी बिहे भएको दिन जब हरेक वर्ष फागुन सात आउँछ, त्यसबेला एउटा सारी किनिदिन र भाँच्चिएको औँठी जोडजाड पार्ने माग गर्छिन् । तीज र दसैँमा यौटा सारीको खोजी गर्छिन् । म वर्षको एक पटक र हदै भए दुई पटकसम्म सस्तामस्ता सारीमा उनको चित्त बुझाउने गर्छु तर भाँचिएको औँठी जोड्नेबाहेक गहना जोड्ने चासो र क्षमता मसँग छैन । त्यसका प्रति म मेरी पत्नी शान्ताप्रति कृतज्ञ छु । मेरो अगाडि कुदेको त्यो जोडी पनि सुखी र सन्तुष्ट नै होला तर त्यत्तिका गहना कसरी जुट्न सक्छ ? म सोच्दै थिएँ । एक्कासि हात नचाउँदै गरेकी ती महिला मोटरसाइकलबाट पुर्लुक्क ढलिन् । गफमा मस्त पतिको मोटरसाइकलको गति कम भएन । ती महिला लड्दा उत्तानो परिन् र सारी सोहोरिएर नाइटोसम्म पुग्यो । देख्नेहरू सबै खित्का छोडेर हाँस्न थाले । महिलाहरू मुख छोपेर कुदे । पुरुषहरू ती घाइते भएर सडकमा उत्तानो परेर ढलेकी महिलाको गुप्ताङ्गको आकार कल्पना गर्दै छातीसम्म आँखा पुर्याएर मरीमरी स्वादिलो हाँसो गर्न थाले । छि कति कुरूप सहर सभ्यता ! सडकमा लडेेकी महिलालाई सहायता गर्नुको सट्टा शिकारी ब्वाँसोजस्तो आँखा गाडेर हाँस्नमै मस्त थिए । आफ्नी पत्नी, आफ्नी आमा, भाउजू, बुहारी, दिदीबहिनी, छोरी, माइजूहरू यस्तै कोही लडेको भए यी यात्री नाउका सडक कुकर्मीहरू यसरी नै खित्का छाड्थे होलान् ? पक्कै पनि फरक सोच हुने थियो तिनीहरूमा तर उनी कोही थिइनन् र नै मज्जा, त्यो पनि अर्कैखालको स्वादमा यिनीहरू लिइरहेका थिए । उनी छट्पटाउँदै उठिन् । सारीको त्यो दुर्गति अनुभव गरिन् । लाजले भुतुक्क भइन्, त्यति हुँदाहुँदै उनका श्रीमान् दौडिँदै आइपुगे र उठाएर लिएर गए । अस्पताल लगे कि घर, मलाई जान्नु थिएन । तिनीहरू हिँडे । लोग्ने मानिसहरू स्वाद मानीमानी र आइमाईहरू ईर्ष्या मानीमानी ती स्त्रीका कुरा काट्दै आ-आफ्नो बाटो लागे।

म त्यही दृश्य सम्झिदै र हाम्रो सभ्यताको वर्तमानमाथि घृणा गर्दै अघि बढेँ । सलक्क परेको यौटा चिल्लो कार र मोटरसाइकलसँगसँगै बेतोड गतिमा कुद्दै आए । कारमा दौरा सुरुवाल र टोपी लगाएका मानिसहरू टम्म थिए । उनीहरूका चनाखा आँखा चारैतिर छरिँदै घुम्दै गरेको देखिन्थे । मोटरसाइकल चानचुने थिएन । केही लाखको अनुमान गरौँ । कालो चस्मा, छालाको चम्किलो ज्याकेट र हेल्मेट लगाएको कुनै घरानियाँ र ज्यानदार युवा सम्भवतः त्यसमा सवार थियो । त्यसका पछिपछि त्यस्तै राम्रा गाडीहरू सरर आउँदै थिए । एक्कासि त्यस कालो गाडी र मोटर साइकलवालाको क्रूर हकाइका कारण सडक किनारामा नै रहेका हामी धेरैलाई पशुवत् ठान्दै होला हृवात्त हिलो छ्यापिदिएर हुइँकिए । मेरो शिरदेखि पाउसम्म हिलो भरियो । मेरै छेउमा एक वृद्धा र तरुनी सायद हजुरआमा र नातिनी पनि हिँड्दै थिए । उनीहरू पनि लपक्कै भिजे । कतैबाट आएको नाली र फुटेको ढल सडकमा भरिएको रहेछ तर सडकका फुटपाथेहरूप्रति कुनै ध्यान दिनुपर्ने आवश्यकता गाडीमा सवारहरूले अनुभव गरेनन् । शताब्दियौँदेखि हिलो र धूलोमै बसेका र त्यसभन्दा माथि उठ्न कहिल्यै इच्छा नराख्ने हाम्रा लागि अघिपछि सुरक्षा घेराको मोटरमा चढेर महँगा मोटरसाइकल चलाउनेहरूले यहाँ र यसबेला पो किन ध्यान दिइरहनुपथ्र्याे र ? ती मोटर, मोटरसाइकल यथावत् कुदे । भिजेकी वृद्धा धारे हात लाउँदै सराप्न थालिन्- ‘तँ मोरा मर्न नसकेको कुद्दाकुद्दै मरेस् ।’ तर ती वृद्धाको त्यो सराप छेवैमा पीडा खेप्दै गरेको म, उनकी नातिनी र त्यहाँ रमाइलो मान्दै बसेका केही सज्जनहरूले मात्रै सुने । जसले सुन्नुपर्ने हो, ऊ त आफ्नोे यात्रामा धेरै टाढा पुगिसकेको थियो । उनकी नातिनी भने रुँदै थिइन् । लाजले भुतुक्क थिइन् तिनी तर के गरुन् ?

नजिकैको यौटा ‘वासा मःम’ रेष्टुरेन्टको केटाले करुणापूर्वक पानी दियो । वृद्धाले पहिले नातिनीको फोहोर पुछिन् अनि आफ्नो । उनीहरू त्यसपछि आफ्नोे बाटो लागे । मैले पनि पानी मागेँ । कालो बाल्टिनमा सायद त्यो धेरै दिनदेखि ट्वाइलेटका लागि प्रयोग भइरहेको थियो, अलिकति पानी दियो । मैले पनि जसरी तसरी पुछेँ । आखिर -सहर फोहोर, मान्छे फोहोर, मन फोहोर, म मात्रै किन सफा बन्नु थियो र ?

म मेरो गन्तव्यतर्फ उन्मुख भएँ । मेरो यात्राको एक छेउमा एकापट्ट िभैँसीको मासु असरल्ल थियो । त्यहाँ सुकुचा थलथल थुप्रो परेको मासुमाथि झुम्मिएका झिँगाहरू धपाउने असफल प्रयास गरिरहेको थियो । एक जना ग्राहक आउँछ र मासु माग्छ, ऊ भैँसीका ठूला खुट्टा पन्छाउँदै र टाउको तह लाउदै फल मासु झिक्न व्यस्त हुन्छ । माथि घरबाट बहेको दुर्गन्ध ढल मासुकै थुप्रो छेउबाट गन्हाउँदै बहिरहेछ । यसो उता हेर्छु -बाख्रो हो कि खसीका पाषुला झुण्डाइएका छन् र एउटी अधबैँसे पानी छ्यापिरहेकी हुन्छे । अर्को छेउमा झिँगाको थुप्रो गुडुली परेर सिङ्गै फिलो उठाउन व्यस्त छ । केही भुस्याहा कुकुर लुब्ध आँखाले मासुका टुक्राका लागि र्याल चुहाइरहेका छन् । तिनीहरू कहिले जिब्रो काढेर हाइ गर्छन् त कहिले खुट्टा तन्काउछन् तर पनि लोभी आँखाहरू बगरेका आँखा छल्न र केही चुँड्ने समयको पर्खाइमा बसेका छन् जसरी सत्ताको सिनोलाई राजनेताहरू कुरेर बसिरहेका हुन्छन् । सडकको धूलो उड्दै त्यहाँ जम्छ र ढलको दुर्गन्ध थपिन्छ । ग्राहकहरू आउँछन् । नाक खुम्चाउँदै ‘फल’ मासु जोख्न जोड गरिरहेका देखिन्छन् । त्यसकै अर्को छेउबाट माछाको कुहिएको दुर्गन्ध नाकमा ह्वास्स आउँछ । माछा पसले च्याइरहेको हुन्छ -जनकपुरको ताजा माछा । माछाकै छेउमा कुखुराको सूली छरपस्ट छ । भुत्लाहरू पनि छन् र खोरमा केही कुखुरा आफ्नोे मृत्युलाई पर्खेर बसेका छन् । सन्तेको कुखुरा व्यापार फस्टाएको छ -माछा पसले व्यङ्ग्य कस्तै थियो र बङ्गुरको मासु काटिरहेको केटालाई जिस्काउँदै थियो -तेरो बङ्गुर र मेरो माछा त दिनदिनै कुहुने भए ?’ त्यसो त मासु खाए कुहुने हो नखाए पनि कुहुने हो ? यो बाहिर पनि फोहोर लाग्छ र भित्र गएपछि पनि फोहोर नै हुन्छ । त्यसले के फरक पार्छ र ? म मनमनै प्रश्न गर्दै बाटो नाप्न लाग्छु।

‘ओ साथी कता हिँडेको यस्तो रङ्गीविरङ्गी भएर ?’ अकस्मात् मेरो मित्र कार्तिके अर्थात् कार्तिकेयको आवाज म सुन्छु । ऊ मलाई हेरेर मरिमरी हाँस्छ । यी टाटा केका हुन्, ऊ सोध्छ । म भन्छु -देख्दैनस् केका हुन् ? सहर सभ्यताका हुन् ।’ यत्तिकैमा एउटा सज्जन चुरोट पिउँदै आउँछन् र मेरो मुख र नाकमै पर्ने गरी स्वारार्र धूवाँ फाल्छन् । ती सज्जन कतै पढाउने मास्टर हुुनुपर्छ । उनी पछिपछि हिँड्दै गरेका स्कुले केटाकेटीहरू उनलाई ‘सर’ भनेर कुरा गर्दै थिए र उनी ठाँटसँग चुरोट तन्काउँदै मस्ताराम अघि बढ्दै थिए । मेरो दाजु छ एक जना कलानिधि, ऊ पनि मास्टर हो र चौबिसै घण्टा चुरोटको धुवाँभित्रै अल्झिरहेको हुन्छ । भाउजू कल्पना र छोराछोरीहरू कल्लु र कलापिका विद्रोहका स्वरहरूले उसलाई कुनै असर पर्दैन । मेरो छोरो अनिमेष र छोरी अनुषा पनि कलानिधि वडीका घरमा जान त्यति मन पराउँदैनन् । किनकि चुरोटको दुर्गन्ध घरभरि हुन्छ । ऊ दुइटा स्कुलमा पढाउने मास्टर हो । त्यसो त कलानिधि कविता पनि लेख्छ । यो मेरो मुखमा धूवाँ फाल्दै हिँड्ने मास्टर पनि कवि नै थियो कि ? म सान्त्वनाका साथ उसको सकारात्मक गुणलाई स्थापित गर्ने चेष्टा गर्छु।

कार्तिकेय भन्दै थियो -ओ साथी, के सोचेर बसेको ? हिँड् खाजा खान । उसले नजिकैको मःमः पसलतर्फ तान्यो । मैले भनेँ ः त्यहाँ भेज मःम लेखेको छैन । चिकेन र मटन मात्र छ । उसले सोध्यो तँ शाकाहारी होस् र ? होइन, मैले भनेँ-तर म जहाँ पायो त्यहाँ जे पायो त्यो खान्न । ऊ मरीमरी हाँस्यो र भन्यो – “त्यसो भए तँ चाँडै ग्याष्ट्रिक भएर मर्नेछस् र एकदिन तेरो मृत्युमा म शोक व्यक्त गर्न एक प्लेट मःमः र सेकुवासँग एक बोतल वियर जमेर तुइक्याउँछु ।” वास्तवमा कार्तिकेय दिउँसै तुइक्याएर आएको थियो र मसँग सामुन्ने बस्दा परको नाली जत्तिकै त्यसको मुखबाट गन्ध आइरहेको थियो । आखिर -मासु, मःमः, रक्सी र चुरोटको यस सभ्यतामा कार्तिकेय मात्रै किन अलग हुनुपर्ने थियो र ? भएन छ, राम्रै भयो।

हामी दुवै जना कुराकानी गर्दै थियौँ । सडकमा एक महिला प्रहरीको कठोर आवाजसँगै गाला चड्काएको आवाज पनि सुनियो । हामीले हेर्यौँ- एक जना सज्जन गाला सुम्सुम्याउँदै महिला प्रहरीमाथि जाइ लाग्ने उपक्रम गर्दै रहेछन् । क्रसिङमा यात्रीहरूका लागि रातो बत्ती बलिरहेको रहेछ । टाईसुट लगाएका, निकै पढालिखा र विदेश खाएर शेष भएका जस्ता लाग्ने ती सज्जन हातमा बि्रफकेस झुण्ड्याउँदै कुदिरहेका गाडीहरूलाई पन्छाउँदै बाटो काट्न लागेछन् र पछाडिका गाडीले ब्रेक लगाउँदा दुइटा गाडी ठोक्किन पुगेछन् । यही झोँक फेरिछन् ती ट्राफिक बहिनीले । राम्रै गरिछन् । विनापैसा सिक्न सकिने पाठ पनि यस सहर सभ्यताले हामीलाई सिक्न दिएको छैन । ती सज्जन पनि यस कुरूप सहर सभ्यताका प्रतीक हुन् र ती ट्राफिक आवश्यकता तर के गर्नु सडकभरि सुतेर उग्राइरहेका साँढे र गाईहरूका हकमा कुनै नियम बनेको छैन । जहाँ पायो त्यहीँ बाटो छेकेर, बाटो काटेर अलमस्त घुमिरहेका भए पनि ट्राफिकहरू आफ्नो नियमभित्र तिनीहरूलाई ल्याउने कुनै कसरत गर्न सक्दैनन् । सहर मानिसहरूको मात्र हो र ? साँढेहरूको पनि त हो नि।

छेवैको पान पसलमा मानिसहरू सडक रमिता हेर्दै, कोही प्रहरी बहिनीलाई गाली गर्दै त, कोही त्यस सज्जनको बदख्वाइँ गर्दै पानका बिट्टाहरू चपाउँदै थिए । कोही जर्दा, कोही सादा, सबैका आ-आफ्नै मागहरू थिए । पान सभ्यता पनि अनौठो छ । किसुनजीलाई पान खान खुमलटारदेखि बालुवाटारसम्म आइपुग्नुपर्छ । आदतले मजबुर मानिसहरू वीरगन्जदेखि जनकपुरसम्म पनि काठमाडौँबाट पानको तलतल मेट्न जुट्ने गरेको मैले सुनेको छु । पिच्च कसैले पिच्कारीले पानी फालेझैँ मेरो पाइन्टभरि पान पिच्काइ दियो र त्यो छिटा कार्र्तिकेयका कमिजसम्म पुग्यो । त्यो पाने सज्जन ‘ऐया आथो’ केही नगरी आफ्नोे बाटो लाग्यो । कतिपय अस्पताल, स्कुल, कलेज, सिनेमा हल मात्रै होइन, मठमन्दिर पनि पानको पिच्कारीले राताम्य भएको देखेको छु । मेरो पाइन्ट र कार्तिकेयको कमिज रातो भएर के फरक पथ्र्यो र ? केही भएन र हामी दुवै जनाले कुनै टिप्पणी पनि गरेनौँ । टिप्पणी गर्नुको कुनै औचित्य थिएन पनि । म कार्तिकेयसँग बिदा भएँ । ऊ मःमः पसलभित्र छिर्यो । म सम्झिदै थिएँ- त्यो अघि मात्र देखेको मासुबजारको दृश्य र त्यसमा झुण्डिने झिँगाहरूकै हूलमा कार्तिकेय पनि पुगिसक्यो । म पनि कहिलेकाहीँ त्यसरी नै झिँगा भइरहने गर्छु । यही समाजमा हुर्केबढेको म, त्यो झिँगे संस्कृतिबाट कसरी मुक्त हुन सक्थेँ र ?

मेराअघि तीन/चार जना केटाकेटीहरू कुद्दै थिए । ती बाटामा कतै कुनै ढल र नालीबाट नै फुटेर पैदा भएकाझैँ लाग्थे । उनीहरूका हातमा बोरा थियो, केही प्लास्टिकका सामान र सिसाहरू थिए । पछाडिपट्ट िनाकभरि सिँगान, जुम्रैजुम्राले भरिएको जस्तो कपाल, जिङ्रिङ्ग दाह्री, गुप्ताङ्ग देखिने गरी फाटेको मैलो पाइन्ट, कुर्कुच्चा र गोलीगाँठाभरि वर्षौंदेखि ढाडिएको मयल, कहिल्यै नकाटेका नङ र हरियो गुहे कीराझैँ देखिने त्यसभित्र जमेको फोहोरको एक मूर्ति मनुष्य कुद्दै थियो र कराउँदै थियो- राणा सन्तानहरू मलाई जिस्काएर मर्छौ ? ती केटाकेटीहरू- मुख बनाउँदै जिब्रो काट्दै, उल्याउँदै कुद्दै थिए । तिनीहरू कुद्दा कतै फोहोर शरीरको स्पर्श हुने हो कि भन्ने डरले ममतामयी आमाहरू- जो शिक्षित र सम्भ्रान्त लाग्थे, पन्छिदै नाक खुम्चाउँदै थिए । केही त्यस्तै सडकचरीहरू -परको कन्टेनरमा बसेर केही छान्दै र भर्दै थिए । त्यसप्रति निरपेक्ष म सरासर अघि बढेँ।

म निकै थाकिसकेको छु । मेरो यात्रा घुम्दैघुम्दै घरसम्म जोडिनु छ तर यात्राको त्यस चक्रमा मेरो गन्तव्य निश्चित छैन । म यत्तिखेर घुम्दै टुकुचाको पुल नजिक आइपुगेँछु । टुकुचा सभ्यताको जीवित साक्षी हो । पहिले यो एक्लै थियो । अब यसका साथमा -पवित्र बाग्मती, विष्णुमती, मनमती, रुद्रमती सबै आए । सबै उस्तै छन् । शिरदेखि पुछारसम्म -ढल, नाली, आची, कुहेका जनावर र हड्डीहरू, प्लास्टिक र कुँडाकर्कट सबैले गच्छेअनुसार आफ्नोे मूल प्रवाहमा समेटेका छन् । सबैबाट उठ्ने गन्धले नाक -नलीहरू भरिन्छन् । कति सुघ्नु यस्तो कुरा ! टुकुचाकै छेउमा मासु पसल छ, मःमः पसल छ, रक्सी पसल छ, छोला भटौरे चल्छ, भोजन गृह छ । मिठाइ पसल छ, सस्तो तरकारीको बिक्री हुन्छ, घर बहालमा भीड हुन्छ, स्कुल-कलेजहरू छन्, सबै छन् । सभ्यताको शिखर चढ्ने क्रम सायद यसरी नै बढ्ने होला । म त शिखर नछुने एक पुस्ता त हुँ जो आगामी पुस्ताका लागि सिँढी बन्न मात्र तयार छ । घरभित्र आफूले हगेको सोहर्न विदेशीको सहयोग चाहिने मेरो पुस्ता -विदेशमा पुगेर अरूको आची सोहोर्छ र कुस्त कमाएर देशभित्र फोहोर पार्न आइपुग्छ । यसरी नै हुर्किदैछ -मेरो वर्तमान सभ्यता।

म फनक्क घुम्छु र बसपार्क पुग्छु । भनभन्ती झिँगा भन्किएका स्याउ र केराहरूको टोली खडा छ । ग्राहकहरू हतारहतार आउँछन्, केही मोल-मोलाइपछि किन्छन् र तुरुन्त बस चढ्छन् । मेरो छेवैको पसलमा केही मानिसहरू खाना खाइरहेछन् । बाहिर कतैबाट आएको दस वर्ष जतिको केटो भाडा माझ्दै छ र उसका हात चरचर फुटेका छन् । अर्को केटो त्यस्तै छ । नाकभित्र औँला हालेर सिँगान खाँदै र अर्को हातले ग्राहकलाई पानी, चिया, खाना ओसार्दै छ । केही मान्छेहरू -स्वाद मानीमानी खाइरहेका छन् । ठीक सामुन्ने लुते कुकुर ढाडभरि कीरा पारेर फुसफुस निदाइरहेछ र जमिरहेको ढलमा भाँडा माझेको फोहोर मिसिएको मिश्रति दुर्गन्ध हरक्क छरिइरहेको छ । भित्रबाट साहू चिच्याउँछ -ओ कमाने कति ढिलो गरेको पानी ल्याइदे न ? बाहिर भाँडा माझ्दै गरेको कमाने-भाँडा पखाल्दै गरेको ड्रमबाट पानी झिक्छ र ग्राहकको टेबलमा पुर्याउँछ । म अनिच्छापूर्वक त्यो दृश्य देखिरहेको छु । ग्राहक कल-कल त्यो पानी पिउँछ र कमानेसँग कुरा गर्छ -तेरो घर कहाँ हो ? धादिङ । यस्तो फोहोरी भएर किन बसेको लुगा धुदैनस् ? पानी छैन । ग्राहक कमानेको लुगा हेर्दछ र फिस्स हाँस्छ तर भरखरै आफूले पिएको पानी कमानेको लुगाभन्दा पनि फोहोर थियो भन्ने उसलाई थाहा छैन । पढ्नुपर्ने उमेरको त्यो कमाने यसरी मेरो यस पुस्ताको एक प्रतीक बनेको छ र सोचको साक्षी बनेको छ । उसका नाउँमा देशभरि के भइरहेछ विचरा कमाने कसरी थाहा पाओस् ?

मलाई कसैले घच्घच्याउँछ । स-सानो तरङ्गबाट म बाहिर निस्कन्छु । मेरो अनन्य मित्र बोधप्रसाद रहेछन् । उनी वीर अस्पतालबाट कुनै नातेदारलाई आर्यघाटतर्फ बिदा गरेर फर्किएका रहेछन् । उनको नातेदार -दुर्घटनामा परेछन् र वीर अस्पतालको इमर्जेन्सीमा पुर्याइएछ तर त्यो इमर्जेन्सीमा सिनियरको सट्टा सिकारुहरूको दबदबा रहेछ । दुर्घटनाको कारण सोद्धासोद्धै एकघण्टा बितेछ र उनले अन्तिम सास फेरेछन् । अर्थात् अस्पताल आफैँ अनभिज्ञ रोगीझैँ भएपछि कसको के लाग्छ ? कोही औषधि नपाएर, कोही डाक्टर नपाएर, कोही खर्च नपाएर, कोही रोग थाहा नपाएर, अस्पतालबाट सदाका लागि मुक्त हुन्छन् । यो मेरो वर्तमान सभ्यताको सहरको विशेषता नै हो।

हामी दुवै जना बस चढ्छौँ । बसका सीटभरि जुँगा मुठे ठिटाहरू भरिएका छन् । एउटी महिला सानोनानी च्यापेर उभिएकी छन्, एक वृद्धा लौरो टेकेर र सीट समाएर उभिएकी छन् । हामीभन्दा धेरै उमेरले पाका मान्छेहरू सकिनसकी बीचमा चेपिएका छन् । एउटा अठार-बीस वर्षको ठिटो- आफ्नो साथीहरूसँग ठिटीहरूका विषयको चक्करको कथा वाचन गर्दैछ । अरू गलल हाँस्छन् र ऊ सर्रर चुरोटको धूवाँ तान्दै बाहिर फुक्छ । काँधमा बोकेको बच्चा निदाइसक्यो, महिला याचनापूर्ण ढङ्गले सिटको खोजीमा छन् । उनी असहाय ढङ्गले हेर्छिन् । अर्को तन्नेरी केटो साथीसँग सङ्केत गर्दै- ती महिलाको छातीमा तल खस्कँदै गरेको सारीतर्फ फोहोरी शैलीले देखाउँछ र गलल्ल हाँस्छन् । त्यसमा केही तरुनी केटीहरू पनि साथ दिन्छन् । ती सायद कलेज सकेर फर्किएका विद्यार्थीहरू थिए।

मलाई पिचिक्क थुक्न मन लाग्छ त्यो दृश्य देखेर तर कता थुक्नु । त्यही केटाका मुखमा थुकौँ कि ? थुकेर त्यसले कुनै पाठ सिक्ने हो र ? उल्टै लात उठाएर आउँछ । मैले पनि त त्यसरी थुक्नु शिष्टता थिएन । बोधप्रसाद भन्दै थिए- देश निर्माण गर्ने निष्ठा यस पुस्ताबाट पलाउँछ त ?’ मैले स्वप्न भङ्ग भएझैँ टाउको हल्लाएँ मात्र।

हामी गौशाला पुग्यौँ बोधप्रसादले घाट जाने कुरा गरे । म पनि साथ लागेँ । टिकटको पैसा त बोधप्रसादले नै तिरेका थिए । मैले पर्स छामे, बसभित्रै चम्पट भएछ । बस भाडाका लागि बीस रूपियाँ, परिचयपत्र र अरू मित्रका भिजिटिङ कार्डहरू त्यसमा थिए । पर्स स्वयं पचास रूपियाँको थियो । कुल मिलाएर एकसय बराबरको धनमाल चोरिएछ मेरो । बोधप्रसादलाई यसबारे जानकारी दिएपछि उनले थपे- तिम्रो कारणले मेरा खल्तीको एक हजार बचेछ।

घाटमा लासहरू थुप्रै थिए तर कुनै चिता बनेको थिएन । हामीले सुन्यौँ दाउरा नभएर तीन घण्टादेखि लासहरू त्यसै लडाइएका छन् र पालो कुर्दा भोलि बिहान पनि हुनसक्छ । हामी आर्यघाटपारि पुग्यौँ । मन्दिरछेउ उभियौँ । उहिल्यै ‘गजुरहरू’ हराएका मन्दिरहरू पनि जीर्ण भएछन् । हुनसक्छ अब पुरातात्विक महìवका मन्दिरका इँटाहरू पनि कसैले उडाउने छ । के भर छ र ? हामी बोधप्रसादका अरू नातेदारहरूसँग बिदा भएर हिँड्यौँ । एक जना मेरो परिचितको लास ल्याइँदैरहेछ -ऊ एड्सले बितेको रहेछ । म उसका आफन्तप्रति सहानुभूति दिँदै अघिबढेँ । बोधप्रसाद र म गौशाला चोक पुग्यौँ । त्यहाँ एक महिला र एक पुरुषलाई हत्कडी लगाएर भित्र्याइँदै थियो । उत्सुकतावश मैले सोधेँ- किन तिनीहरूलाई यसरी ल्याएको ?’ एउटा पुलिस भाइले भन्यो -आइमाई सुगर बेच्ने रहिछे ।’ मैले सोधेँ- यिनीहरूको मूली चाहिँ कोही भेटिएन ? ऊ फिस्स हाँस्यो र भन्यो- मूली नै समातिएपछि त समात्ने हाम्रो काम नै सकिइहाल्छ नि हजुर ।’

त्यो पुलिस भाइले सही भन्यो । म र बोधप्रसाद छुट्टयिौँ । कसैले ख्वाक्क खकार्यो र फुत्त थुक्यो । मेरो घुडामुनि फ्यात्त टाँसियो । ती सज्जन सरासर कुदे, न सरी छ, न क्षमा । म निरपेक्ष भावले त्यो पाइन्टमा झुण्डिएको ती सज्जनको खकारलाई हेर्छु र कागजको टुक्राले पुच्छु । अरू वटुवाहरू कोही गलल्ल त कोही मुसुमुसु हाँस्छन् । म अनभिज्ञझैँ अगाडि बढ्छु । अर्थात् जसरी मेरो वर्तमानको सहर सभ्यता बढिरहेछ, म त्यसरी नै अघि लम्किरहेँछु ।

कपन-३, काठमाडौँ

(स्रोत : मधुपर्क २०६६ भदौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *