कथा : क्यानभासभित्रको देवीप्रसाद

~गोपाल दुलाल~

देवीप्रसादको घरमा त्यो रात खुसी छाएको थियो । यसपालीको तिहार भने साँच्चै नै रमाईलो होला भन्ने विश्वासमा थिए उनीहरु । आजै मात्र ऊ घर फर्किएको थियो, बहिनीको उपचार गरेर, । जन्मजात चिरिएको ओठ लिएर जन्मिएकी देवीप्रसादकी बहिनीको मुहार आज लक्ष्मीको जस्तै सुन्दर थियो । लक्ष्मीपूजाको त्यो रात लक्ष्मी नै बनेर आएजस्ती देखिन्थी ऊ । त्यसैले बुबाआमाले लक्ष्मी पूजा गरेनन् मात्रै उसैको मुहारमा मात्र हेरिरहे ।

गरिवीले सताएका उनीहरुको सपना आज देवीप्रसादले पुरा गरेका थिए । त्यसैले उसको बुबाको छाती गर्वले फुलेको थियो । विगतका वर्षरुमा जस्तो देउसी भैलोको लहर गाउँमा थिएन । किनकी गृहयुद्धको राप देशका अङ्ग-अङ्गमा पिल्सिएका थिए । संस्कृतिका अवशेष मात्र भएर होला सायद खुलेर चाडबाड मनाउने अवस्था देशभरी थिएन । तर जिन्दगीकै अविस्मरणिय चाड देवीप्रसादको घरमा भित्रिएको थियो । राम्रो संग बोल्न नसक्ने बहिनी आज दाँतका लहर खोलेर हाँस्न सक्ने भएकी थिई । यो नै उनीहरुको परिवारको लागि सबैभन्दा ठुलो आर्शिवाद र हर्षो विषय थियो । देशको एउटा कुनामा रहेको सुखी परिवारको नमूना बनेको थियो ।

तिहारको गन्थन सकेर विछ्यौनातिर लाग्ने तरखर गर्दै थिए उनीहरु । त्यतिकैमा ढोकामा कसैले जोडले हिर्कायो । उनीहरु झस्किए । तर, ढोकामा हान्ने क्रम रोकिएन । राती आउने मानिस किन आएका हुन् । त्यसैले घरको बुढी मान्छे मुन्तिर झरे र साथमा उनकी अर्धाङ्गििन पनि । उनीहरु तल आइपुग्दा ढोका फुटिसकेको थियो र नौ दशजना हतियार बोकेका मानिसहरु घरभित्र पसिसकेका थिए ।

‘तपाईंको छोरा खै -‘ एउटाको प्रशन थियो ।

‘आज भर्खरै काठमाडौंबाट आएको । थाकेर आएको थियो । त्यसैले सुतिसक्यो बाबु’ देबीप्रसादका बुबाले जवाफ दिए ।

‘तपाईंको छोरासँग हाम्रो काम छ । तल बोलाउनुस्’ हतियार बोक्नेहरुको नाइकले भन्यो ।
आमाले प्रतिकार गरिन् ‘अहिले सुतिसक्यो, भोली गरे हुँदैन त्यो काम -‘

‘ए देवी, तल आइज’ नाइके चिच्यायो र चारजना माथिल्लो तलामा उक्लिए । पछि पछि आमा रुँदै दौडिइन् ।

‘बाबु मेरो विन्ती छ, यसलाई भोली लैजानु’ आमाको पुकार थियो । तर त्यस पुकारको सुनुवाइ भएन । चारजनाले देवीप्रसादलाई घिच्याउँदै तल ल्याए । आमा डाँको छोडेर रुन थालिन् । बाबु पनि चुप लागेर बस्न सकेनन् न त उसकी बहिनी नै । तर जनावरको आत्मा भएको त्यो जत्थाले मानिसको पुकारको कदर गर्न सकेन । एउटी आमाको काखबाट मध्यरातमा एउटा सन्तानलाई खोसेर लाने निधो नै गरे ।

‘आमा चिन्ता नगर्नुस्, भोली आइहाल्छु नि म । तपाईं नरुनुस् आमा, मलाई केही हुँदैन, उहाँहरुसँग मेरो एउटा गफ छ, त्यसैले उहाँहरु आउनुभाको ।’

‘बाबु छिटो आइज है’ आमाले यति भनिसक्दा उसका हात बाँधिइसकेका थिए र आँखामा पट्टी लागिसकेको थियो ।

‘हुन्छ आमा’ यही नै थियो देवीप्रसादको जवाफ ।

‘एइ ! हिँड् अब’ नाइकेले बाबुआमालाई भन्यो, ‘तपाईंको छोरा आएन भने हाम्रो कार्बाहीमा पर्‍यो भन्ठान्नुस् । यसले हाम्रो आदेश नमानी हाम्रोविरुद्ध सुराकी गरेको छ । पार्टीले जे भन्छ, त्यही अनुसारको सजाय हुन्छ, हिँड्नुस कमरेडहरु ।’

रातको सन्नाटालाई चिर्दै त्यो टोली कता लाग्यो त्यो न त कुनै गाउँलेले थाहा पाए न त देवीप्रसादको परिवारले ।

भाइटिकाको अघिल्लो दिन थियो त्यो, म घरमै थिएँ, देउसी खेल्न जाने कुनै योजना थिएन । किनभने देउसी खेल्न गएमा फर्किएर आउने हो कि होइन त्यसको कुनै ठेगान थिएन । त्यसैले विदाको उपयोग गर्दै म केही उपन्यास पढ्दै थिएँ । हजुरआमा सेल पकाउँदै हुनुहुन्थ्यो । म अनि दाई माथितलामा थियौं । तल कोही आयो र हजुरआमासँग कुरा गर्न थाल्यो । म तल झरें । त्यो व्यक्ति हाम्रो ठूलोबुबा पर्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँले हजुरआमासँग जुन कुरा गर्नुभयो त्यो कुराले म झस्किउँ । मेरो मन छियाछिया भयो । मस्तिस्कमा स्तव्धता छायो । मेरो हृदय विक्षिप्छ भयो । एकैपटक डाँको छाडेर रुन मन लाग्यो तर मैले त्यसो गरिन । म सरासर ओछ्यानमा गएँ र मुख छोपेर सुतें ।

बेलुकी खाना खाने बेलामा बहिनी मलाई बोलाउन आई । म जान मानिन । तर जब बुबा आफैं आउनुभयो म जान बाध्य भएँ । हुन त मलाई के भयो कसैलाई थाहा थिएन । कसैले केही बुझ्न पनि चाहेनन् । मैले खाना नखाने भनेपछि आमाले पनि मलाई गाली गर्नुभयो किनकि मैले चाडबाडको दिन अरुलाई नरमाइलोगराउँदै थिए । तर जब गालीका शब्द मेरो कानमा पर्‍यो, मेरो हृदयको गाँठो एकैपटक फुक्यो र आँखाबाट आँशु वग्न पुग्यो । त्यो नै मेरो बाल्यकालपछिको पहिलो पल थियो जुन पल म अधर्ैय भई रोइरहेको थिएँ । म मेरो परिवारको एकदमै कठोर मन भएको सदस्य थिएँ । आमा भन्नुहुन्थ्यो, ‘तँ त हामी मर्दा पनि रुँदैनस् होला ।’ तर त्यो साँझ म त्यसरी रुँदा सबैले त्यसबारे बुझ्न चाहे । सायद म धेरै रोएर होला । मलाई कसैले खाना खान कर गरेनन् ।

मेरो रुवाइको जवाफ सबै गाउँलेलाई थाहा थियो । देवीप्रसादको हत्या । देवीप्रसाद मेरो मिल्ने मात्र होइन अति मिल्ने साथी थियो । उ र म एउटै स्कुलमा पढ्थ्यौं, कक्षा दशमा । उसको मृत्युको त कुरै छाँडौं उसँग मेरो लामोसमेयसम्म भेटघाट नगर्ने कल्पनासम्म पनि म गर्न सक्दैनथें । त्यसैले एउटा अनपेक्षित वाण प्रहार भएको घाइते मृग जस्तो हाल मेरो हृदय भएको थियो । सारा गाउँ उसको हत्याको कारण स्तव्ध र आर्श्चर्यचकित थियो । तर कारण सोध्ने आँट कोहीसँग पनि थिएन ।

यसरी टाढा जाने लक्ष्य बोकेको यात्री बीचमै साँझ परी अलपत्र परेझैं हाल भयो उसको परिवारको । उसको घरमा साटिएको एक पलको हाँसो नै उनीहरुको जीन्दगीको खुशीको अन्तिम क्षण बन्न पुग्यो । परिवारलाई खुशी राख्ने देवीको त्यो सपना एकैरातमा नै शुन्यतामा बिलिन हुन पुग्यो । उ आफूमात्र मरेन मजस्ता कैयौं मित्रहरुको आत्मा पनि आफूसँग लिएर गयो ।

घटना त्यतिकै सेलाएन । विद्यार्थी संगठनको नाम लिएर आएका व्यक्तिहरुले त्यसको स्पष्टीकरण पनि दिए । उनीहरुका अनुसार उ सेनाको सुराकी थियो । जसलाई पार्टीले राजधानी जान प्रतिवन्ध लगाएको थियो । त्यतिमात्र, होइन वरपरका तीनवटा भन्दा बढी गाविसमा जानुपरे उसले व्रि्रोही पार्टीको अनुमति लिनुपथ्र्यो । तर उसले विनास्वीकृति काठमाडौं गइ आफ्ना गतिविधि सञ्चालन गर्‍यो । त्यही आरोप थियो उसप्रति व्रि्रोहीहरुको । वास्तवमा गलत को थियो त्यो त मरिसकेको आत्मालाई थाहा होला । तर, यही तथ्यको खेती गरेको एउटा दुश्मन कम भएको अनुभुति व्रि्रोहीहरुले गरे ।

उसको बारेमा मलाई यति थाहा थियो कि उसको नातेदार पर्ने एकजना सेनाम काम गथ्र्यो । त्यही भरमा उ शंकाको घेरामा पर्‍यो र अन्ततः मृत्युको शिकार भयो । तर मलाई विश्वास छ उसले कुनै हालतमा नराम्रो काम गरेन । किनकि उ स्कुल पढ्ने केटा थियो र नियमित विद्यालय पनि जान्थ्यो । उसले त्यस्तो सुराकी गर्ने समय नै पाउँदैनथियो । तर विवेक र विश्लेषण गर्ने क्षमता नभएका मानिसले गर्दा उ निर्दोष भए पनि मृत्युको शिकार बन्यो ।

आज उसको परिरवार मसानघाट कुन बसेका मानिसको जमात जस्तो भएको छ । उसको परिवारमा खुशी भन्ने कोही छैन । सायद उसको आत्मा कतै लुकिरहेको होला तर उसको परिवारको खुशी बाँड्न सक्दैन । उजस्ता हजारौं देवीको लाशमाथि टेकेर सिंहदरबार छिरेका केही जनावर त्यतैको चौरमा हराइरहेका छन् । अब जंगल आवश्यक छैन उनीहरुलाई न त गाउँ नै ।

देश आज एउटा यस्तो क्यानभाष भएको छ, जसमा एउटा विक्षिप्त चित्रकारले आफ्ना जीवनका सम्पूर्ण रंगहरु पोतेको छ । न त त्यसमा सुन्दरता छ, न त कुनै आकर्षण । यही क्यानभासभित्र लुकेको छ मेरो देवीप्रसाद । हो यही क्यानभासभित्र जुन क्यानभासलाई राजनीतिज्ञहरु देशको नक्सा भन्छन् । तर म त्यसलाई नक्सा भन्दिन न त त्यसभित्र म जिल्ला र अञ्चलका सीमाना नै देख्छु । म देख्छु त केबल एउटै आकृति जुन आकृति केही बर्षअघि सजीव बनेर मेरो अगाडि खेल्थ्यो, मसँग हिँड्थ्यो र मसँगै बसेर बढ्थ्यो । उसलाई पनि देशको भविश्यको कर्णधार भन्थे । त्यसैले होला म त्यो क्यानभाषभित्र मात्र मेरो देवीप्रसादलाई देख्छु ।

(स्रोत : Mechikali)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *