कथा : पाहुना

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

आखिर जुठेल्नेामा कसैले भाँडा बजारेको सुनियो र आमाको हातबाट चिया समाएर सुर्को तान्नै आँटेकी मञ्जरीले झस्केर सोधी– “के भयो फेरि? कसले भाँडा बजार्छ त्यसरी?”

आमाले दिक्क मानेको स्वरमा भनी– “खै ! त्यो लाटी राँडी बौलाएकी छ आज फेरि। औंशीपुर्णे लाग्छ राँडीलाई बेलाबेला। हिजो बेलुकादेखि नै निहुँ खोज्दै थिई। अब कति दिनलाई हो, कुन्नि ।”

“म गएर सम्झाऊँ त माहिली दिदीलाई?” – छोरीले प्रस्ताव गरी।

“तँ झन् जादै नजा। पहिले जस्तो हो र? आजकाल त तँलाई देखी सहन्न। हिजो तँ नआउन्जेल कति खुशी थिई। तँलाई पर देख्ने बित्तिकै भन्दै थिई- -—आइछ लखरलखर एक्लै।‘ त्यसपछि त के भूत खनियो के भूत?” –आमाले छोरीलाई रोक्दै भनी।

“बिचरी सोझी छ। म पनि रित्तै हात आएँ उसलाई केही पनि नलिई। रिस उठ्यो होला नि। बहिनीका घरमा म पनि जाने भन्थी अघिल्लो पाला। मैले पनि लगेकी छैन । —हुन्छ नि‘ भनेर पनि लगिन भनी ठान्दी हो। एक पल्ट लिएर जानुपर्ला” – छोरीले फेरि प्रस्ताव राखी।

“अँ, अब यही लाटीलाई लिएर जा न। सासूससुरा, नन्दआमाजू, देउरानीजेठानीका अगाडि यस्तै गाईजात्रा गरोस्। यहाँ मेरा डरले तै यति मात्रै गर्छे। भुत्ल्याउछु गएर राँडीलाई अनि थाहा पाउँछे” – आमाको रिसको पारा चडयो।

“भइहाल्यो। हुन दिनोस्। मेरै कारणले भए अहिले नौ बजे नै म हिडिहाल्छु अनि सद्धे भई हाल्छे। होइन भने उसको बानी त्यस्तै हो। १।२ दिन बौलाउछे अनि ठीक हुन्छे” – छोरीले आमालाई रोकी।

“हिजोको भाँडा अहिलेसम्म छोएकी छैन। खानु परेन तैंले?” –आमाको रिस छोरीमाथि खनियो।

“भातै खानुपर्छ भन्ने के छ र ? जे खाए पनि त हुन्छ। केही नभए पाउरोटी खाएर जाउँला” – छोरीले सम्झाई।

छोरीको कुरा स्विकार गरे पनि आमा बाहिर निस्की र माहिलीलाई सम्झाउदै भनी– “हेर, माहिली। बहिनी भोकै छ। जागीरमा गएर मरीमरी काम गर्नुपर्छ। भोकै कसरी पठाउनु ? भन् त। भात पकाउनु परेन ? यी दुई वटा भाँडा माझी दे, म पकाउदै गर्छु। अरू पछि गर्नु बरु ।”

लठेब्री माहिलीले डेढा आँखाले आमातिर हेर्दै भनी– “भाँडोमा खरानी पनि पातलो लाएछ। को माझ्छ त्यस्तो भाँडा ? जहिले पनि पाहुना आउछ, काम गर्दैन, बसेर खान्छ। सक्दिन म त माझ्न ।”

आमाले फेरि सम्झाई– “बहिनीलाई त्यसो भन्नुहुन्छ ? यो त कहाँ पाहुना हो र ? यो त घरकी छोरी पो त ।”

माहिलीले आमाको तर्कलाई अस्विकार गर्दै भनी – ”बिहे गरेकी मान्छे पनि यो घरकी छोरी हुन्छे ? त्यो पाहुना हो, पाहुना ।”

“लठेब्रीसँग केको तर्क ?” – भनेर आमाले आफैं भाँडो समाई।

माहिली त्यो घरमा बसेको एक जुग भइसकेको थियेा । १०।१२ वर्ष उमेरकी एउटी लठेब्री केटीलाई उसको बाबुले त्यो घरमा ल्याएर छोडेको थियो। उसलाई राम्रो खानलाउन दिएर हुर्काई दिने वचनलाई त्यो घरले पुरा त गरिदियो तर उसलाई यो घरबाट फिर्ता कसैले पनि लगेन। आमाबाबु रहुन्जेल छोरीको नाताले २।४ चिज, २।४ पैसा पाउने लोभले लिएर गएनन् त आमाबाबु मरेपछि उसलाई लिएर जाने कोही भएन । बोल्नु पर्दा आधा बुझ्ने गरी बोल्ने, रिस उठेपछि बौलाहाले जस्तो आँखा नदेख्ने, चित्त नबुझे ढुंगो हो कि मुढो हो नचिनिने, कुठाउँ र कुबेलामा हाँस्ने, रुप न रंगकी केटी कसलाई पो चाहिन्थ्यो र ? बीस वर्षभन्दा बढी त्यो घरमा बसी सकेकीले त्यो घरको त सदस्य नै बनी सकेकी थिई ऊ । त्यो घरलाई उसले आफ्नो ठान्थी र काम पनि आफ्नो झैं गर्दथी । त्यो घरका बुढाबुढीलाई आमाबाबु सरह मान्दथी, त्यो घरका छोराछोरीलाई भाइबहिनी नै ठान्थी र माया पनि गर्थी तर, किन हो कुन्नि, वर्ष दिन मात्र अगाडि बिहे गरेकी त्यो मञ्जरीलाई भने उसले देखी सहन छोडेकी थिई । उसलाई माइत आयो कि ‘पाहुना आयो’ भन्ने गर्थी। आफू खुशी भएको बेला कति पटक माहिलीले बहिनीको घर जाने प्रस्ताव राखेकी थिई तर कतिपय कारणले ऊ जान सकेकी थिइन या उसलाई लगिएको थिएन। त्यसैले पनि हुन सक्थ्यो ऊ बहिनीसँग रिसाएकी ।

मञ्जरी कोठाबाट बाहिर आउदा माहिलीले अझै हिजो बेलुकाको भाँडा समाएकी थिइन, केवल भाँडाको छेउमा भुत्भुताएर बसेकी थिई । त्यो देखेर मञ्जरीले भनी– “ए, माहिली दिदी ! म के खाएर जानु ?”

माहिलीले ऊतिर हेर्दै नहेरी जवाफ दिई– “नखाई जा न। मलाई के त?”

माहिलीको खुशी र रिसको आनीबानी जानेकी मञ्जरीले हाँस्दै भनी– “अँ, अब म माल्दिदीको घरमा आएर भोकै जान्छु होला । भोकै गएँ भने मेरा घरका मान्छेले —तेरा माइतीमा माल्दिदी थिइनन् भनी हाल्छन् नि ?‘ माल्दिदीको बिहे भएपछि माल्दिदी पनि भोकै जानु पर्ला नि ?”

बिहे माहिलीको सबभन्दा मन पर्ने विषय हो भन्ने जानेकीले मञ्जरीले बिहेको प्रशंग उठाई । हुन पनि बैश आएदेखि माहिलीलाई केही काम लगाउनु पर्योे कि प्रत्येकले माहिलीलाई बिहे गरी दिने वचन दिएर काम लगाउथ्यो र माहिली पनि प्रत्येकको वचनमा विश्वास गरेर खुशी हुदै काम गरी दिन्थी। गोरो, कल्कलाउदो, जुल्फी लर्केको केटाको बखान गरी दिन्थे सबै जना। केवल त्यो घरका आमाबाबुले मात्र त्यस किसिमको प्रलोभन दिएनन्, बरु कहीँ कतै कसैले बिहे गरिहाल्छ कि भनेर केटो खोजी हेरे। माहिलीको बैंश ढल्कदै गएपछि उनीहरू पनि मौन भए।

माहिली जसको बिहेमा पनि पुग्नै पर्थ्यो। ऊ जन्ती हेर्थी, बेहुलो हेर्थी र बेहुलाको बखान कैयौं दिनसम्म गर्थी र प्रत्येकले त्यस्तै केटो खोजिदिने कबोल पनि गर्थ्यो। फेरि २।४ दिन पछि कुरा सेलाएर जान्थ्यो।

बहिनीको कुरा सुनेर माहिलाीले जवाफ दिई– “गर्दैनौं हामी बिहे सिहे ।”

मञ्जरीले छोडिन – “केटो म खोज्छु, माल्दिदीलाई। सिंगारिदिन्छु, बेहुली बनाउछु अनि माल्दिदी जाँदा रुन्छु ।”

मञ्जरीले कुरा सक्न नपाउदै माहिलीले उसलाई धारे हात पारेर भनी – “मर्, मर्। जा, जा । तेरै घर जा। आफू बेहुली भएर गएपछि मलाई बेहुली पार्छु भन्दी रहिछ। पर्दैन तैंले बेहुली पार्नु। मेरै आमाले पार्छ ।”

‘मेरै आमा’ भनेर माहिलीले मञ्जरीकी आमालाई लक्ष गरेकी थिई । उसको निम्ति त्यो घर त्यो घरका सबै नै मेरा थिए । मञ्जरी मात्र अर्काकी भएकी थिई । अर्काको घरकी भएकी थिई ।

माहिलीको रिस चर्को बुझेर मञ्जरीले अरू जोड गरिन र घर भित्र पसी । बाइस पुगेकी मञ्जरी माहिली त्यो घरमा पस्दा जन्मेकी पनि थिइन र आफ्नै अगाडि जन्मिएकी मञ्जरीलाई माहिलीले बहिनीलाई झैं माया नगरेकी पनि होइन । मञ्जरीले पनि माहिलीलाई घरकी लठेब्री दिदीलाई जस्तै सन्मान र माया दिएकी हो तर, किन हो कुन्नि, पछिल्ला दिनहरूमा माहिलीले मञ्जरीलाई देखिसहन छोडेकी थिई।

घरभित्र पसेर मञ्जरीले आमालाई भनी – “कसले के भनिदियो माल्दिदीलाई ?”

“के भन्नुपर्छ त्यस्तालाई ? लठेब्राका मनमा के कुरा आउछ त्यसैलाई बटार्छे अनि एउटामाथि रिस पोख्छे । जानेकै बानी त हो नि त्यसको । खानलाउन दुख गर्नु परेको छैन, पाएकै छ मलाई घुर्क्याउन । त्यसको जाने ठाउँ भएको भए त पठाइदिन्थें त्यसलाई । कति सहनु घुर्की पनि ?” –अमाले दिक्क भएर भनी।

“कहाँ पठाउनुहुन्छ, आमा, त्यसलाई ? त्यो पनि छोरी सरह नै हो। अब बुढीकन्या भई भनी ठान्नु होस्, त्यत्ति हो। सोझी छ, लठेब्री छ, त्यसैले आफ्नो मनको कुरा व्यक्तगर्न सक्दिन अनि तपाईलाई रिस देखाउछे। देखाओस् पनि अरू कसलाई ? तपाईलाई आमा मान्छे अनि देखाउछे। मैले देखाए जस्तै न हो उसले देखाउनु पनि ।” –छोरीले सम्झाई।

त्यही बेला माहिली भित्र पसी र भाँडो बजारी। त्यो देखेर आमाले भनी् – “तँ किन बौलाएकी, माहिली ? घरकी जेठी छोरी भएपछि झन बहिनी माइत आउदा खुशी हुनु पर्छ, मिठो खान दिनु पर्छ । तँ भने त्यसै ढाङढाङ ढुङढुङ गर्छेस् ।”

“दिनु नि आफैले आफ्नी छोरीलाई । हामीलाई के ?” –माहिलीले ततर्किदै जवाफ दिई।

“बहिनीलाई काममा जानुपर्छ। छिटो खान दिनु पर्योई नि त । धन्दा चाँडै सिध्याएर भाँडाकुडा लिएर आइज त ?” –आमाले थपी।

“सक्दिनँ, सक्दिनँ । जल्ले खान्छ त्यसैले गर्छ । म खान्नँ पनि, गर्दिनँ पनि ।” –माहिली सन्किदै बाहिर निस्की।

आमाले केही भनिन । उसले जति भनी चित्त बुझे त्यतिले नै गर्ने थिई, नबुझे जति भने पनि गर्ने थिइन । छोरीले त झन भन्ने कुरै भएन ।

मञ्जरीको मेखमार्न त माहिली यसै बसेकै थिई, अब आमाको मेख मार्न झन थन्किई । भाँडा जुठेल्नोमा लठिभद्र थिए त माहिली आँगनको डिलमा खुट्टा तन्काएर बसेकी थिई । बाबुछोरा घरमा नभएकाले लोग्नेमानिसलाई हतार हुने कुरा पनि थिएन ।

यसरी बिहानको आठ बज्यो र साढे आठ पनि भयो । घाम आँगनभरि छरिएको थियो । माहिली आफ्नो अडानमा अटल थिई र त्यसरी नै त्यो दिनभरि अटल रहने पनि थिई होला तर एक्कासी कसैको स्वर सुनेर ऊ झस्किई ।

“के हो ए, माहिली दिदी ? भात खाइसकेर धन्दागर्न लागी सकेकी हो कि कसो ? झन् म यहीं खाने गरी आएको त । खानै नदिने जस्तो छ नि ?”

स्वर सुनेर माहिली आत्तिदै उठेर भनी – “लौ न नि, जुवाइँ साहेब !”

उसले हतारहतार लुगा तानतुन पारेर सप्को हाली र लजाउदै भनी– “खा’को छैन काँ खानु ? आज सन्चो भएन अनि धन्दा ढिलो भयो । म आमालाई भनेर आउछु ।”

माहिली दौडेर भित्र पसी र आमालाई जुवाइँ आएको समाचार सुनाई । आमाले पनि मौकामा भनी हाली – “आज जुवाइँ आउने दिन रहेछ र पो तैंले त्यस्तो गरेकी रहिछस् त । अब जुवाइँलाई ढिलो भयो भने तपाईकै जेठीसासूले गरेर त हो नि भनी दिन्छु म पनि ।”

माहिलीले आँखा तर्दै भनी – “किन भन्नु पर्योह जुवाइँलाई ? म छिटै गरिहाल्छु नि । जुवाइँ आउनु हुन्छ भनेर कसरी थाहा पाऊँ त म ?”

माहिलीका हात बिजुली झैं चल्न थाले । ऊ कहिले भित्र पस्थी, कहिले बाहिर निस्कन्थी र कहिले जुवाइँलाई चियाउन पुग्थी । मञ्जरी भन्दै थिई – “आज आउने कुरा त थिएन तपाईको ?”

लोग्नेले जवाफ दियो – “यता काम थियो एउटा र आएको थिएँ। अब कता फर्कनु भनेर यतै पसें ।”

जे जस्तो भए पनि खाना समयमै पाए छोरी जुवाइँले । माहिलीले ढिलो भयो भनेर गुनाशो गर्ने ठाउँ जुवाइँलाई दिइन ।

घरबाट निस्कन लाग्दा माहिलीले जुवाइँलाई भनी – “यसो कहिले कही आउदै गरे हुन्छ नि जुवाइँले पनि ।”

जुवाइँले हास्दै जवाफ दियो – “मिठो खान दिनु । म आइहाल्छु नि, माहिली दिदी ।”

माहिली मख्ख परेर सप्कोले मुख छोप्दै हाँसी ।

छोरीजुवाइँ गएपछि आमा र माहिली बाहिर उभिएर उनीहरू गएको हेरी रहे । केही पर पुगेपछि मञ्जरीले पछाडि फर्केर हेरी र मुस्कुराई । त्यो देखेर माहिली भुत्भुताई– “किन किच्च दाँत देखाएर जुवाइँसँगै टाँसिनु परेको नि ? लाज नभा‘की नकच्चरी ।”

काठमाडौ
२०५०।०९।११

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *