लामो कथा : दस्तावेज

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

पूर्वकथा

टेलिफोनको घण्टी बजिरहेको थियो। डाक्टर अविजितले पहिलो घण्टी नै सुने पनि त्यसलाई उठाउन चाहेन। पुषको मध्यरातमा सिरकभित्र स्वास्नी अँगालो मारेर सुतेको लोग्नेमानिसले त्यो तातोपन छोड्न पटक्कै चाहेन। ऊ डाक्टर नै भए पनि इमर्जेन्सी कल ऊ कहाँ आउदैनथ्यो। मनोचिकित्सककहाँ त्यस्ता कल आउने सम्भावना पनि थिएन। हो, ब्लफकल या रङ नम्बर भने ऊ कहाँ थुप्रै आउथे। त्यसैलेउनीहरूबाट छुट्टी पाउन पनि टेलिफोन झकेर बाहिर राखिदिन्थ्यो तर आज भने त्यो घण्टी बजी नै रह्यो। त्यसैले उसले बाध्य भएर तन्द्रामा नै रिसिभरतिर हात बढायो र ह्यान्डसेट ठाउँमा नपाएर आश्चर्यचकित भयो। ह्यान्डसेट नभएको रिसिभरमा घण्टी कसरी बज्न सक्छ? उसको मनमा आए पनि ऊ आफू उठ्न नखोजेर स्वास्नीतिर टाँसिन पुग्यो। लोग्नेको बानी थाहा पाएकी स्वास्नीले मायालु हातले उसलाई ठेल्दै तन्द्रामा नै भनी – “बाहिर ढोकाको घण्टी बज्यो।”

अविजित झल्यास्स भयो। टेलिफोनको होइन ढोकाको घण्टी। स्वास्नीको बोलाइले प्रस्ट थियो – ऊ उठेर ढोका खोल्नेवाला छैन। त्यसैले अविजित उठेर दोलाई बेर्दै ढोकाछेउ आएर सोध्यो – “को, हँ?”

“म, गणेश, सर। अस्पतालबाट आएको।” – अस्पतालको वार्ड ब्वाइको स्वर सुनियो।

अविजितले ढोका खोल्ने बित्तिकै केटोले उसको प्रश्न नकुरेर भनिहाल्यो – “टेलिफोनमा कसै सम्पर्क भएन, जा लिएर आ मर्जी भयो डाइरेक्टर साहेबले र आएको।”

अविजितले बुझ्यो – ‘यो पक्कै इमर्जेन्सी हो। ठूलै इमर्जेन्सी नपरी .आधा रातमा डायरेक्टर स्वयम् अस्पताल आउदैनन्।’ त्यसैले ऊ के? कसो? भनेर सोध्नपिट्ट नलागेर अस्पतालतिर लम्कियो।

राजधानीको सम्पन्न क्षेत्रको अस्पताल अतिसम्पन्न वर्गको सुविधाजनक चिकित्साको निम्ति स्थापना भएको थियो र चिकित्सा सेवा अति सुलभ, सिघ्र र अत्याधुनिक थियो। एउटा मनोचिकित्सकले पनि आधारातमा आकस्मिक कक्षमा उपस्थित हुनु पर्ने बाध्यता पनि त्यो सेवाको एउटा नमुना थियो। अस्पतालका भौतिक सुविधा त कुनै पाँचतारे होटलकाभन्दा कम थिएनन्।

त्यो अस्पतालमा आकस्मिक परिस्थितिमा आधा घण्टाको सूचनाभित्र सफलतापूर्वक मुटु चिरिन सक्थ्यो, मिर्गौला फेरिन सक्थ्यो। अरूको त कुरै छोडौं। सबै विभागहरू थिए त्यहाँ – छिटा, छरिता र सुविधाजनक। मनोचिकित्सा विभाग पनि थियो त्यहाँ तर त्यसको महत्व, आवश्यकता र उपयोग अंगे्रजी माध्यमको विद्यालयमा सँस्कृत विभागको जत्तिकै थियो र त्यो विभागको वरिष्ठदेखि कनिष्ठसम्मको ऊ सिंगै एक्लो चिकित्सक थियो।

अविजित सिधै निदेंशकको कक्षमा पुग्यो। वरिष्ठ चिकित्सक सहित सबै विभागीय प्रमूखहरूको उपस्थिती थियो त्यहाँ। उसलाई देख्ने बित्तिकै निर्देशकले भन्यो – “आउनोस्, डाक्टर साहेब, आउनोस्। हामी सबै तपाईलाई नै कुरेर बसिरहेकाछौं।”

अविजितको रायको आवश्यकता त पर्थ्यो तर आपत्कालिन परिस्थिति बनेर होइन। मध्यरातको त्यो बैठक त आपत्कालिनभन्दा अरू हुनै सक्दैनथ्यो। अचानक आफ्नो पेसाको महत्व बढेकोमा आश्चर्यचकित भए पनि उसले कुनै प्रश्न गरेन। उसलाई थाहा थियो – समस्या निर्देशक स्वयम्ले राख्ने छ।

“अब शुरू गरौं त?” – निर्देशकलाई स्वीकृतिको आवश्यकता नपरे पनि त्यो आवश्यकता देखाएर

उसले सबैको ध्यान आफूतिर तान्यो। मौन स्वीकृति दिए सबैले। निर्देशकले शुरू गर्योि।

“आज हाम्रो आकस्मिक कक्षमा दुई जना बिरामी ल्याइयो र उनीहरूसँगै प्रहरी पनि पस्यो। एउटा बिरामी त यहाँ आइपुग्नु अगाडि नै मरिसकेको थियो तर दोश्रोको हालत खराब भनिए पनि चिन्ताजनक छैन। यो भनाइ मेरो होइन, शल्यचिकित्सकको हो र यो सत्यको जानकारी हामीमा मात्र सीमित छ। प्रहरीलाई समेत हालत खराब र चिन्ताजनक भनेर भित्र पस्न दिइएको छैन र बिरामीलाई सेडेटिभ दिएर सुताइएको छ।”

“के भएर चोट लागेछ?” – कसैले प्रश्न गर्‍यो ।

“छुरा रोपियो दुवैलाई। कसरी? यो प्रश्न हाम्रो लागि होइन। प्रहरीले समाधान गर्ला त्यसलाई। जुन कुरा हामीसँग सम्बन्धित छैन त्यो हाम्रो चासोको विषय पनि होइन। फेरि जो मरिसक्यो त्यसप्रति हाम्रो जिम्मेवारी छैन। उसको अटोप्सी गर्नु परे भोलि गरिदिउँकला तर बाँच्नेलाई बचाउनु हाम्रो कर्तव्य हो।”

निर्देशक मौन भयो। शायद ऊ आफ्नो भनाइको प्रभाव हेर्न चाहन्थ्यो। त्यो देखेर शल्यचिकित्सक बोल्यो – “अब घाइतेलाई ज्यानको खतरा छैन?”

“हो, शारीरिक रूपमा छैन तर मानसिक रूपमा भने अवश्य नै छ। पहिलो त, मर्ने व्यक्ति बाँच्नेको एउटै मात्र छोरो हो र छोराको मृत्यु आमाको निम्ति सांघातिक त अवश्य हुन्छ नै। दोश्रो, प्रहरी अनुसन्धानकर्ताहरूको अनावश्यक सोधपुछले बिरामीलाई अझ बढी चोट लाग्न सक्छ र त्यसबाट हामीले उसलाई बचाउनु परेको छ। “

“खै ! निर्देशक साहेब, मैले त कुरा बुझनँ। हाम्रो पेसागत नैतिकता बिरामीलाई बचाउनु हो र त्यो हामी गर्दैछौं। त्योभन्दा पर त हामी केही पनि गर्न सक्छौंजस्तो लाग्दैन मलाई त। फेरि, छोरो मर्दा पीर पर्नु सांसारिक वास्तविकता हो र त्यसलाई रोक्न सक्ने कुरै भएन। छुरा चल्यो, मानिस घाइते भयो, मर्योो। हाम्रो काम प्रहरी तहकिकात रोक्ने होइन भने यो मध्यरातमा आकस्मिक बैठकको अर्थ देख्दिनँ म।” – वरिष्ठ चिकित्सकको स्वर अलि च्याँठ्ठिएको सुनियो। अविजितभन्दा एक घण्टा अगाडि नै निर्देशकको कक्षमा बस्नु परेकोले उसको धैर्य कम हुनु स्वभाविक पनि थियो।

वरिष्ठ चिकित्सक निर्देंशकभन्दा निकै वरिष्ठ भएकोले उसको भनाइ अदवकासाथ लियो निर्देशकले र नम्रतासाथ भन्यो – “म विषयवस्तुमा आउदैछु, सर।”

अस्पताल सुनसान र निःशब्द थियो। बैठकको टेबुलको वरिपरि चिकित्सकहरू प्रेत जगाउन बसेका प्रेतपूजक झैं टेबुलमा हात राखेर निर्देशकको अनुहारमा केन्द्रित थिए। सबै उत्सुक र तत्पर देखिन्थे तथ्य जान्नलाई र कौतुहलसँग अलिकति शङ्का पनि मिसिएको थियो अब त। उनीहरूको अधैर्य अनुभव गरेर निर्देशक भन्न थाल्यो – हेर्नोस्, यो घायल बिरामी हाम्रो भि.आइ.पि. बिरामी हो।”

जासुसी कथामा जस्तो खटाइखटाइ खोलिदै गएको गोप्यताले चासो अझै बढायो र सबैले निर्देशकको मुख हेरिरहे।

“आज हामी हाम्रो व्यवसायको परिक्षाको समयमा आइपुगेका छौं। जुन आइमाई आज घायल भएर लडेकी छ ऊ नै हाम्रो अग्निपरीक्षा हो। आज हामीले त्यो गर्नु परिरहेको छ जो हाम्रो व्यवसायिक नैतिकताभित्र पर्दैन र नगर्नु कसैको निम्ति घातक हुन सक्छ र धेरैको निम्ति नोक्सानदायी पनि।” – निेर्देशकले भन्यो।

“कुरालाई छोट्याएर गर्नु ठीक होला कि, निर्देशक साहेब? ” – कुनै वरिष्ठले आपत्ति गर्‍यो।

“ठीक छ , म छोट्याउछु। जुन आइमाई आज घाइते छ त्यसलाई हत्याको आरोप लाग्ने सम्भावना छ र त्यो पनि आफ्नै छोराको हत्याको आरोप। उसको लोग्ने उसलाई निर्दोष बनाउन ‘ऊ त पहिलेदेखि नै पागल थिई’ भन्छ र हामीलाई यही कुरा प्रमाणित गर्न अनुरोध गर्दछ।”

आफ्नो आवश्यकताको कारण बुझेर अविजितले भन्यो – “त्यो बिरामीले उपचार गराइरहेको थिई र हामी कहाँ पहिले?”

“उपचार त गर्थ्यौ हामी तर पागलपनको होइन। सर्वाङ्ग परीक्षणको शिलशिलामा सामान्य मानसिक परीक्षण अवश्य गरेका र्हौ र डाक्टर अविजितले त्यस्तो असन्तुलित मानसिक लक्षण फेलापार्नु भएको छैन। तैपनि उसको लोग्नेको आदेश मान्न हामी बाध्य छौं। हाम्रो निर्णय अनैतिक नै होला भन्ने पनि म ठान्दिनँ किनकि उसको लोग्नेको भनाइ ठीक भए त्यो आइमाई अपराध सन्देहबाट सहजै मुक्त हुनेछ र उसको भनाइ ठीक नभए एउटी आइमाई पुत्र हत्याको पीडा जीवनभर भोग्नेछ। जेलभन्दा ठूलो सजाय हुनेछ उसलाई त्यो। “

“लोग्नेको जालसाँजी पनि त हुनसक्छ त्यो।” – कसैले शङ्का उठायो।

“के भयो त लोग्नेको जालसाँजी नै भए पनि? जसको एक्लो छोरो मरिसक्यो त्यसले अझै पनि आफ्नो स्वार्थ हेरेर ‘स्वास्नी बहुलाएकी छ’ भन्छ भने हामीलाई केकेा आपत्ती? हाम्रो काम त बिरामीको स्वार्थ हेरिदिनु हो।”

“हामीले यो काम गरेनौ भने?” – अविजितले बिस्तारै प्रश्न गर्योछ।

“यही प्रश्न मैले आफैलाई पनि गरेथेँ र निष्कर्षमा पुगे कि हामी कसैको यहाँ काम हुने छैन। यो अस्पताल नै बन्द हुनेछ।”

“के !” – सबैले एकैसाथ आश्चर्य प्रकट गरे।

“हो। अस्पतालको र सबैको स्वार्थ हेरेर पनि यो काम गर्नै पर्ने भएको छ। त्यो पनि आज रातमा नै सबै कागजपत्र तयार पार्नु पर्ने। भोलि त प्रहरी सामू ती सबुतहरू पेश गरिनुपर्नेछ।”

“मलाई त गर्न गाह्रो छ।” – अविजितले लामो सास फेरेर भन्यो।

नैतिकता र अनैतिकताका बीचमा फसेका ती चिकित्सकहरूले जोड गरेर अविजितलाई केही भन्न सकेनन् र टेबुलमा आँखा गाडेर बसिरहे। त्यो देखेर साम, दाम, दण्ड, भेद चारै नीति चलाएर भए पनि अस्पतालको रक्षा गर्न बाध्य निर्देशकले अनुरोधको स्वरमा भन्यो – “एक ‘हुन्छ’ या ‘हुन्न’ सयौँ परिवारको दानापानीसँग सम्बन्धित छ। त्यसैले ‘हुन्न’ त हामी भन्नै सक्दैनौं किनकि जसबाट यो अनुरोध आएको छ ऊ यो अस्पतालको मालिक हो।”

कोठाभरि मौनता छरियो।

दश जना विज्ञलाई एउटी आइमाईलाई बहुलाही प्रमाणित गर्न २।४ घण्टाभन्दा बढी समय लागेन र त्यो बिर्सन पनि एक दिन नै पर्याप्त भयो। केवल अविजितले मात्र त्यसलाई त्यति सजिलै लिन सकेन। पहिले कहिले पनि नदेखेकी सद्दे आइमाईलाई उसले बहुलाही बनाएर अस्पतालको बेडमा सुताएको थियो। नैतिक अपराधको यो बोझ र बिरामी कहाँ चिकित्सकले पुग्नु व्यवसायिक दायित्वले ऊ गर्हुँरगो पाइला लिएर बिरामीको केबिनभित्र पसेथ्यो। पहिलो पटक बिरामी निदाइरहेकी थिई र उसले उसको सामना प्रत्यक्ष रूपमा गर्नु परेन। दोश्रो पटक पनि कोही थियो साथमा र त्यसैले ऊ उम्किएको थियो। तेश्रो भेटमा त उसले सामना गर्नु परी नै हाल्यो।

अविजित केबिनभित्र पस्दा त्यो बिरामी आँखा चिम्लेर सुतिरहेकी थिई। निदाएकै पनि हुनसक्थी। कोठा भने रित्तो थियो। त्यसैले उसले बाहिर निस्केर नर्सलाई सोध्यो – “किन बिरामीलाई एक्लै?”

“वहाँ कसैलाई पनि भित्र बस्न दिनुहुन्न। अझ पस्नै दिन पनि गाह्रो मान्नुहुन्छ। वहाँको श्रीमान सर त बाहिर ढोकाबाट नै कुरा गर्नुहुन्छ।” – नर्सले आफ्नो बाध्यता जनाई। अविजितले झुण्ड्याइएको केस हिस्ट्री पढ्न थाल्यो। उसको विषयका १।२ अति सामान्य सिडेटिभ जस्ता औषधी थिए त्यति मात्रै। बाँकी सबै घाउ सम्बन्धी थिए।

अविजितले बिरामीलाई नियालेर हेर्योि – वर्ष ३५।४० की आइमाई। अनुहार दुब्लो भए पनि सुन्दर देखिन्थ्यो। अधवैंसे हुँदा त त्यति राम्री थिई भने वैंशमा त उत्पात नै राम्री देखिनु पर्ने थियो।

कोही उभिएको आभास पाएर होला बिरामीले आँखा खोली र आफूुलाई हेरिरहेको देखेर संयम नगुमाई मुस्काुराउदै भनी – “मैले त सोचेकी थिएँ – तपाई दोहोर्याुएर आउनुहुने छैन। मेरो नया रोगको डाक्टरले दोहोर्यािइ तेहेर्या इ आउनु पर्ने आवश्यकता पनि छैन। होस् पनि कसरी? म तपाईको वास्तविक मानसिक रोगी त होइन, केवल प्रमाणित मानसिक बिरामी, उग्र स्वभावको मानसिक बिरामी।”

“तपाईले धेरै बोल्नुहुन्न। आराम गर्नोस्।” – अविजितले शान्त गर्न खोज्यो उसलाई।

तैपनि उसमा उत्तेजना आएन। उसले मुस्कुराहट नहटाई भनी – “मलाई थाहा छ म कति बिरामी छु भन्ने। तपाईले पो मलाई जाँच्नु भएको छैन त। तैपनि तपाई डाक्टर, म बिरामी। अब त अरूबाट छुटेर तपाईको बिरामी। त्यसैले पनि दायित्व हुन्छ । तपाईको म कहाँ आउनु। अझ कर्तव्य नै हो तपाईको त्यो। ढिलै भए पनि कर्तव्य पूरा गर्नुहुदैछ तपाई। मृत प्रमाणपत्र दिएर नाडी छाम्न आउनुभयो। धन्यवाद छ तपाईलाई यसको निम्ति।”

“हेर्नोस्, स्थिति नै यस्तै पर्योा।” – अविजितले असजिलो मान्दै जवाफ दियो।

उसले कुरा काटेर बोली – “होइन, होइन। मैले तपाईलाई दोष दिएकी होइन। मेरो लोग्नेको सामु तपाईसँग त्योभन्दा अर्को उपाय पनि थिएन। मैले त तपाई आउनु भएकोमा साँचै नै धन्यवाद दिएकी हुँ। अब त तपाईलाई मेरा मनोचिकित्सक भएको नाताले मेरो केसहिस्ट्री तयार गर्नै पर्ला। प्रमाण जुटाउनु पर्ला, अदालतमा सवुत पेश गर्नु पनि पर्ला। त्यसैले तपाईको मप्रति या मेरो व्यक्तित्वप्रति केही दायित्व, केही जिम्मेवारी अवश्य छ र अझ तपाईद्वारा प्रमाणित बहुलाहीको इतिहास स्वयम्मा पागलपनको अंश हो कि होइन त्यो च्याउने र खोतल्ने अधिकार पनि तपाईलाई छ। हुन त म आफूलाई बौलाही नभएको दावी गर्छु तर त्यसको के अर्थ र? सबै विकृत मानिसले त्यस्तो दावी गर्छन् नै। मलाईभन्दा तपाईलाई त्यो कुरा बढी थाहा भएकै कुरा हो।”

“आज नै सबै सिध्याउनु पर्छ भन्ने छ र? भोलि, पर्सि भन्न पनि त भ्याइन्छ। तपाई अलिकति ठीक त हुनुहोस्।” – अविजितले उसलाई पन्साउन खोज्यो।

“आज नै सबै सिध्याउन पर्छ भन्ने बाध्यता त छैन। भोलि पर्सि भने र सुने पनि हुने हो तर हेर्नोस्, काल या समय कसैको अंशको टुक्रा होइन जो आफ्नो अधिनमा होस्। यो त छोटो अवधिको लागि हातमा आइपुग्छ र प्रयोग नगरे फुत्केर जान्छ। त्यसैले म यो मेरो हातमा आइपुगेको कालखण्डलाई पयोग र उपभोग गरिहाल्न चाहन्छु। पछि त मैले समय नै नपाउन पनि सक्छु या पाए पनि उपभोग नगर्न सक्छु। रह्यो तपाईको समयको कुरा। तपाईले त पेसा नै यस्तो समाउनु भएको छ कि, लामो होस् या छोटो, रोगीको इतिहास सुन्नै पर्छ, त्यही अनुरूप केसहिस्ट्री तयार पार्नु पर्छ र उपचार पनि त्यही केसहिस्ट्रीको आधारमा गर्नु पर्छ।”

“तर तपाई त बहुलाउनु नै कहाँ भएको छ र?” – डाक्टरले सहज स्वरमा भन्यो।

“हेर्नोस्, विपरित निर्णयहरू एउटै मापदण्डको आधारमा सत्य सावित हुँदैनन्। तपाईकासामु यस्तै विपरित विडम्वना उभिएका छन्। एकातिर छोरो मारेको अप्रमाणित गर्न मलाई बहुलाही प्रमाणित गरिरहनु भएको छ, अर्कोतिर म बहुलाही नभएको अनुभव पनि गरिरहनु भएको छ। अनुभवकै कुरा गर्नुहुन्छ भने त मेरो बारेमा मेरो लोग्नेलाई जति अनुभव कसैलाई पनि छैन र उसलाई विश्वास छ कि, त्यो उसको विश्वासको भान मात्रै पनि हुनसक्छ, म बहुलाही हुँ र मेर कृयाकलाप सबै नै बहुलाहा हुन्। नत्र, हेर्नोस्, जसको एक्लो छोरो मारियो त्यो लोग्नेमानिसले स्वास्नीलाई बहुलाही बनाएर अस्पतालमा सुताउनु पर्ने आवश्यकता थिएन। एउटी आमा छोराकी हत्यारा हो वा होइन त्यसको फैसला अदालतलाई गर्न दिए पनि त हुन्थ्यो नि। मैले अदालतको कठघरामा दोषी, निर्दोषीका आफ्ना सवुदहरू त पेश गर्न पाउथेँ। तर ऊ मेरो लोग्ने हो, ऊ स्वयम् वादी हो, ऊ स्वयम प्रतिवादी हो। त्यति मात्र होइन, ऊ आफूलाई कठघरा ठान्छ, अदालत ठान्छ। आरोप लगाउनेदेखि फैसला गर्नेसम्म ऊ आफै गर्छ। जिउदो हुँदा नभ्याए मरेको लाश उठाएर भए पनि ऊ आफ्नो हकमा फैसला गर्छ। त्यसैले अदालत न सही, कसै न कसैका सामु त आफ्ना सवुत त पेश गर्नै पर्योआ मैले। मेरो समक्ष आउन सक्ने र मेरो कुरा सुन्न सक्ने अधिकार अब तपाईमा सीमित भएको र तपाई चिकित्सक भएको नाताले मात्र तपाईलाई सुनाउन खोजेकी हुँ अन्यथा तपाईसँग मेरो कुनै सम्बन्ध र साइनो छैन। रह्यो तपाईको स्वार्थको कुरा। मेरो केसहिस्ट्रीले तपाईको अनुभव बढ्ला, अदालत समक्ष पेश गर्न पर्याप्त सवुद उपलव्ध होला र अझ मेरो लोग्नेको दृष्टिमा तपाई सफल चिकित्सक ठानिनु होला। तपाईलाई त फाइदै फाइदा छ।” – उसले अनुरोध गरी।

एक मन त अविजितलाई याचना स्वीकार गरौं जस्तो लाग्यो तर अनावश्यक झमेला पर्नसक्ने सम्भावना देखेर भन्यो – “यस्तो कुरा पन्साउनु नै राम्रो हुन्छ , हजुर।”

अहिलेसम्म सौम्य र शान्त देखिएको बिरामीको अनुहार कडा र गम्भीर देखियो र उसको स्वर दृढ भयो – “डाक्टर ! अरूको त कुरै छोडौं। मेरो लोग्ने पनि .मेरो सामु ‘नाइँ’ भन्न हिच्किचाउछ। तपाई त उसको अस्पतालको चिकित्सक मात्रै हो।”

अविजित त्यो ठाउँबाट चल्न सकेन।

मेरो दस्तावेज

न यो मेरो कुनै फिरादपत्र हो, न कुनै बकपत्र। यो मेरो फैसला पनि होइन। यदि यो मेरो दस्तावेजमा कहीं कोहीप्रति मेरा असल या खराब धारणा अभिव्यक्त भएका छन् भने ती धारणा त्यही समयका उपज मात्र हुन्। माया, घृणा, दया, शत्रुता आज मेरो मनमा कसैप्रति पनि छैन। न वरत्रको कुनै अनुभूति छ ममा, न चाहना नै छ परत्रको।

काल कति विशाल छ? त्यो आँक्ने क्षमता छैन ममा। यो काल गार्गीको प्रश्न झैं असीमित हुन पनि सक्छ र या याज्ञवल्क्यको उत्तर झैं साँगुर्यापइन पनि सक्छ तर उत्तरहीन प्रश्नलाई कसैले पनि परिभाषित गरेको पाइनँ मैले र यस्तो प्रश्न पनि हुन्छ कतै? भनेर कसैले नकारी पनि दिएन मलाई। जीवको आयु, पृथ्वीको आयु, व्रह्माण्डको आयु र अझ व्रह्मको आयु गार्गीको जिज्ञासाले असीमित बनाए पनि याज्ञवल्क्यको ‘व्यक्तिको सोचको सीमा आफ्नो मस्तिष्कले धान्न सक्ने परिधिभित्र हुन्छ’ भन्ने व्यवहारिकउत्तरले फेरो मारिदिए झैं मेरो सोच पनि मेरो अनुभवको परिधिभित्र सीमित छ। मेरो अनुभव भन्नु नै मेरो आयुको पनि एउटा कालखण्डको अंश हो। आज म जहाँ उभिएकी छु त्यहाँ सद्धे मस्तिष्क हुनेलाई उभिने अधिकार छैन तर मलाई बहुलाही प्रमाणित गर्ने स्वयम्लाई म बहुलाही हुँ भन्ने विश्वास छैन। त्यसैले मेरो अस्तित्व – वौद्धिक र भौतिक दुवै – सत् र असत् , वास्तविक र अवास्तविक, सचेत र अचेत स्थितिका सीमारेखामा दौडेको हुनु पर्दछ अन्यथा मलाई बहुलाही बनाउन कसैलाई किन चासो हुनु पर्ने? या बहुलाही बनाएर पनि त्यसलाई स्वीकार गर्न किन गाह्रो पर्ने?

जसरी मेरो अस्तित्व बारे मतमतान्तर छन् त्यसरी नै मेरो व्यक्तित्व बारे पनि समान धारणा छैनन्। म स्वयम् त यसलाई हुर्कन नदिइएको व्यक्तित्व भनिठान्छु। म त छोरी भएर , स्वास्नी भएर , आमा भएर र अझ समग्रमा एउटा न एउटा लोग्नेमानिसको नाममा जोडिदै पराश्रित भएर यहाँसम्म आइपुगेकी छु र मेरो ‘म’ भनिने त्यो स्वतन्त्र नारी रूप त टुसाउन पनि पाएन। त्यसैले मेरो स्वतन्त्र अस्तित्वप्रति शङ्का गनें ठाउँ छ मसँग। त्यसैले मेरो जीवन मानव अस्तित्वको सरल रेखाभन्दा अनाम विन्दु र घटनाहरूको पहाडी गोरेटो ठान्छु र मेरो कथाको थालनी कहाँबाट समाएर शुरू गर्ने दोधारमा पर्छु। अहिले मेरा बाबुको मृत्यु नै थालनीको निम्ति सजिलो बिन्दु होला।

हामी दिदीभाइ छात्रावासमा बस्दथ्यौँ। हामीलाई घरमा नराखेर किन सानैदेखि छात्रासासमा राखिन्थ्यो? बुझ्न सक्दिनथेँ म। बाबुको सम्पत्ति र कमाइ प्रशस्त भएकोले मात्र त अवश्य होइन होला। बाबु त आफ्नो बन्दव्यापार र कारोवारमा व्यस्त हुन्थे र आधारातसम्म पनि घर नपस्ने गरेको हामीले छुट्टीको बेला बराबर देख्ने गरेका थियौँ र राति बाबु फर्केपछि पनि आमाबाबुका बीचमा हुने झगडा र तँ, तँ र म, म झगडा सुन्ने गरेका थियौँ। कति पल्ट मातेको लोग्नेको चडकनपछि रिस र दुःखले कामेकी आमाले रोक्न खोजेर पनि रोक्न नसकिएको ‘घँुक्क, घुँक्क’ सुन्दा हामी दिदीभाइ डरले सिरकभित्र गुटमुटिएर एकै पोको पदैं अँगालो मार्थ्यौ। हुन् त बिहानी भएपछि नम्र र सभ्य देखिन्थे र एउटा सम्भ्रान्त परिवारमा झैं आफ्ना आचरण सुसँस्कृत देखाउँथे तैपनि उनीहरू बीच नमरेको चुरो जर्रो भएर उनीहरू सामु आइपुग्थ्यो। किन? त्यो उत्तर खोज्नपिट्ट म जान चाहन्न किनकि त्यो उनीहरूको जीवन थियो र केटाकटीमा त्यसले मलाई केही त्रशित बनाए पनि बाबुको मृत्युपछि त्यो छायाँ बिलाएर गयो।

एक दिन दिउँसो हामी दिदीभाइलाई कक्षाबाटै उठाएर बाहिर ल्याइयो र केही सामानसाथ शेखरकाकाकोसाथ लगाएर घर पठाइयो। ‘बाबु बिरामी’ भनेर शेखरकाकाले भने पनि ‘हामीलाई त्यसरी अपर्झट पठाउनुको अर्थ त्योभन्दा गम्भीर छ भन्ने हामी १०।१२ वर्षका केटाकेटीले बुझेनौं। घर पुगेपछि विधवा भेषमा आमाले अँगालो मारेर रोएपछि मात्र हामीले बाबु रहेनछन् भन्ने बुझे पनि बाबु नभएको पीडा भने मलाई भएन। आफूले थाहा पाएपछिको धेरै जसो समय छात्रावासमा नै बितेको र घरमा बस्दै पनि उज्यालो छउन्जेल बाबु बाहिर नै व्यस्त हुने र राति बाबु फर्कदा हामी निदाइसक्ने र फर्कदा पनि मातेका अवस्थामा फर्कने हुँदा छोराछोरीसँग, विशेष गरेर मसँग, उनको सम्बन्ध आत्मीय बन्न सकेन। पीडावोधको अभाव पनि शायद त्यही हार्दिकताको अभावमा आधारित थियो होला।

मानिसहरू भन्ने गर्थे – मेरा बाबुले बाहिर आइमाई राखेका छन्। त्यो खासखुस म केटाकटीको कानमा त पुगेको थियो भने मेरी आमाले झन् पक्कै सुनिन् होला। यसैलाई लिएर आमाले झगडा गरेकी पनि हुन् सक्थिन् या आमाको व्यवहारले वाक्क भएर बाबुले आइमाई राखेका पनि हुनसक्थे। तर जे होस्, त्यो आइमाईको अस्तित्वको अनुभव मैले कहिले पनि गरिनँ। ऊ हामीकहाँ अधिकार माग्न कहिले पनि नआएकीले ऊ थिई भन्न पनि गाह्रो छ। थिई नै भने पनि उसले दयाले, मायाले अथवा मेरा बाबुका पैसाका लोभले केही समय मेरा बाबुलाई सबै आइमाईले जस्तै आफ्नो शरीर भोग्न दिई र उनी मरेपछि ऊ मानिसको भद्रगोलमा बिलाई।

मेरी आमाप्रति सहानुभूति व्यक्त गर्न घर आएका सबैले भन्ने गर्थे – “कस्तो निर्दयी काल पनि जल्दो बल्दा उमेरमा टपक्क चुडेर लान सक्ने ! के गर्नु र, दैवलाई पनि हामीलाईजस्तै राम्रो, असल, उमेरदार र बुद्धिमान नै चाहिदो रहेछ। अनि दुर्घटना चाहिं कसरी परेछ नि?”

सबैलाई मेरा जँड्याहा बाबुले गल्ती गरेको सुन्न मन लाग्थ्यो होला र ‘आफ्नै मूर्खताले काल निम्त्याएका हुन्’ भन्ने सुन्न पाए उनको चरित्रको फल मानेर मृत्यु जायज ठहर्याेउने चाहना हुन्थ्यो होला तर मेरी आमाको प्रतिनिधित्व गरेर बसेका शेखरकाका त्यति मूर्ख थिएनन्। हामी आन्तरिक परिधिका सदस्यहरूलाई मेरा बाबुको मृत्यु उनको आफ्नै गल्ती र जिद्दीका कारण भएको हो भन्ने थाहा थियो र त्यो लुक्न पनि सक्दैनथ्यो तर शेखरकाका त्यसलाई त्यति सजिलै स्वीकृत बनाउन तयार थिएनन् र प्रत्येक प्रश्नको जवाफ तुरून्तै बनिबनाउ दिन्थे – “ट्रक चालकले रक्सी खाएर हाँकेको रहेछ। दाइले त गाडी छेउ लगाएर बसिरहनु भएको, आएर हिर्काएछ। हेर्नोस् त , आफ्नो गल्ती हुनु पर्दोरहेछ दुुर्घटना हुनलाई?”

मरिसकेपछि ‘कसको गल्तीले गर्योु? भन्ने कुरा महत्वहीन छ मर्नेको निम्ति’ भनेर जान्दाजान्दै पनि शेखरकाका मेरा बाबुलाई शुद्ध र पवित्र बनाएर हाम्रो मर्यादा उच्च राखिदिन खोज्दथे। त्यसले हाम्रो मर्यादा कति बच्दथ्यो? थाहा छ्रैन तर प्रत्येक भनाइ यस्तै हुन्थ्यो – “कत्रा दश हेर त। अनि सिधै आएर ठोक्यो त?”

शेखरकाका किन चुक्थे? भनिहाल्थे – “ठ्याक्कै सिधै नै। गाडी नै नचिनिने गरी कच्याककुचुक भएको छ।”

“कठै ! यी बालकहरू !” – सबैले सहानुभूति हामीतिर दर्साएर आफ्नो कथन टुंग्याउथे। हामी दिदीभाइ त अजीव पात्र थियौँ त्यहाँ।

प्रसङ्ग शेखरकाकाको चलेकाले उनको बारेमा पनि भनि हालौं। शेखरकाकासँग खास रगतको नाता थिएन। साइनो खोजेकै भए पनि ‘फुपूसासूको गोरु बेचेको साइनो’ भन्दा हुने। तर उनी हाम्रा घरका साह्रै हितैषी थिए। मेरा बाबु हुदै उनी हाम्रो घरको एउटा सदस्य जस्तै भइसकेका थिए र लोग्नेमानिसले धान्नु पर्ने घर सम्वन्धित काम उनीले नै गरिदिन्थे। मेरा बाबुको काम त कमाउनु मात्र थियो।

शेखरकाकाको घरपरिवार पनि थियो तर त्यो घरको खर्च कसरी चल्थ्यो? आफूले अन्दाज गर्नु बाहेक कसैले पनि मलाई भनेन। मेरा बाबु बाँचुन्जेल शायद उनीले दिन्थे होलान्, मेरा बाबु मरेपछि मेरी आमाले दिने गरेको हुनु पर्छ। नत्र बिहान चिया खान हाम्रो घरमा पसेका शेखरकाका बेलुका खाना खाएर घर फर्कन्थे भने उनको घरपरिवार चल्ने साधन कहाँबाट जुटथ्यो त?

शेखरकाका देख्नमा राम्रा थिए मेरा बाबुभन्दा पनि राम्रा तर उमेरमा मेरा बाबुभन्दा १०।१२ वर्ष नै कान्छा , मेरै आमाका हाराहारीका। मेरा बाबु र उनका बीचमा मित्रता कहिले भयो? त्यो पनि सुनिनँ मैले। मैले थाहा पाउदा त उनीहरू अभिन्न मित्र नै थिए र स्वभावले एक अर्काका पूरक बनेका थिए। मेरा बाबु आवेशमा आउन सक्थे, शेखरकाका सधैं शान्त रहन्थे। मेरा बाबु कति भए पनि पुग्दैन भनी ठान्थे, शेखरकाका जो छ त्यसैमा सन्तोष गर्दथे। मेरा बाबुलाई जहिले पनि हतार नै हुन्थ्यो भने शेखरकाका जुनसुकै काम पनि बिस्तारै गर्दा पनि पार लाग्छ भनी सोच्थे। शेखरकाकाको मेरी आमाप्रतिको व्यवहार पनि सम्मानजनक थियो र उनको आदेश या अनुरोधलई त्यही रूपमा लिन्थे। उनको बोलीवचन, व्यवहार, लवाइ, खुवाइ, भदंर र सौम्य थियो जब कि मेरा बाबुको कुनै पनि कुरा अतितिर जान खोज्थ्यो। त्यस्ता विपरित स्वभावका मेरा बाबु र शेखरकाकाका बीचमा जीवन पर्यन्त मित्रता कसरी रहिरहन सक्यो? त्यसको जवाफ मसँग छैन।

हाम्रो परिवार ठूलो थियो तर त्यो परिवारसँग हाम्रो सम्बन्ध आत्मीय भएन। मावलीपिट्ट एउटी बजै मात्र र ती पनि मरिसकेकी हुनाले त्यता पिट्टको साइनो अन्त्य भइसकेको थियो। घरपिट्ट त मेरा बाजेबजै थिए, काका, बडाबाबु र फुपू दिदी, दाजु दिदीहरू पनि थिए तर जेठी आमा र उनीपिट्ट सन्तान हँुदाहुँदै मेरा बाबुले मेरी आमालाई घरपरिवारको इच्छा विपरित ल्याएकोले हामी परिवारबाट चटक्क काटिएका थियौँ र नातापाताहरू हामीलाई हेर्न पनि आउदैनथे। मेरा बाबु मर्दा पनि उनीहरू बाध्यतावस मात्र आएका हुन्।

मेरा बाबु मरेपछि मेरी आमा घरपरिवारसँग अंश माग्न गइनन्। जाऊन् पनि कसरी? जुन पविारसँग लोग्ने रहुन्जेल कुनै आत्मीयता सम्बन्ध रहेन, त्यहाँ लोग्ने मरेपछि हक माग्न जाने धृष्ठता उनीले गर्न सकिनन्। यति मात्र भनिन् – “बाजेको सम्पत्तिमा नातिको हक लाग्छ भने छोरो गएर लेला नि कुनै दिन।”

बाबुले हात मुख जोडने साधन नजोडिदिएको भए त भोकै पर्ने रहेछौं हामी।

बाबुको काजक्रिया सिद्धिएपछि भाइ र मलाई छात्रावस पठाउने कि नपठाउने विषयमा निकै विवाद चल्यो। विवाद त के भनौं, मेरी आमा र शेखरकाकाका बीचमा निकै छलफल भएथ्यो। शेखरकाकाको भनाइ थियो – “भाउजू अब एक्लै हुनुभयो। घर सुन्य हुन्छ, नियास्रो लाग्छ, त्यसैले केटाकेटीलाई घरैमा राखेर पढाउनु बेस्।”

मेरी आमा भन्थिन् – “कसले. थाम्न सक्छ यिनीहरूलाई? मैले भनेको कहाँ टेर्छन् यिनीहरू? छात्रावासमा भए शिक्षकको निर्देशन र डर त हुन्छ।”

शायद हामी उदण्ड थियौँ होला, नत्र आमाले हामीलाई आफूबाट टाढा किन पठाउन खोज्थिन् होला र? बाबु हुँदा पनि आमाको यही तर्क हुन्थ्यो भने बाबु नभएपछि त उनी नै सर्वेसर्वा थिइन् र उनीले पठाउन चाहेपछि हामीलाई छात्रावास जान करै लाग्यो।

छात्रावास पुग्दा सबैले मलाई अपरिचितलाई जस्तै हेरेका थिए र वर्षौंसँगै बसेका साथीहरूको त्यस्तो हेराइ मलाई साह्रै बिज्दो लागेको थियो। मेरी मन मिलेकी साथी रिमाले त भनिहाली – “तँ घर नबसेकी?”

असजिलोपन मेटिदै गएपछि त सबै साथीहरूले त्यस्तै विचार प्रकट गर्न थाले र मेरा शिक्षकहरूलाई पनि मेरो प्रवास अचम्मलाग्दो भयो। सबैको सम्वोधन, व्यवहार आदि बुझ्दै गएपछि त प्रस्ट भयो कि समाजको हाम्रो परिावारसँगको सम्बन्ध भनुँ या व्यवहार बाबु मर्नुभन्दा पहिलेजस्तो नरहेर एकदम बदलिएछ। एक महीना भित्रमा नै हाम्रो परिवारको नाता थोरै बनेछ, धेरै पुरानो सम्बन्ध फेरिएछ। सधैं हाम्रो घरभित्र आउन कसैलाई पनि असजिलो लाग्दैनथ्यो भने बाबु मरेपछि आफन्त नै पनि समय तौलेर आउन थाले भने परचक्री त आउन बन्देजजस्तै हुन गयो। पहिले सरल र सामान्य आइमाईहरू धेरै पस्थे। पछि लेग्रो तान्ने,माया देखाऊने र आफन्त भनाइन खोज्नेहरूको लर्को लाग्न थाल्यो। पछिल्ला दिनहरूको त्यो व्यवहार अनावश्यक, अप्राकृतिक र असजिलो लाग्थ्यो र मैले सोचेकी थिएँ – छात्रावासमा पुगेपछि म त्यो कष्टकर व्यवहारबाट मुक्त हुनेछु – तर त्यहाँ पुग्दा पनि मैले त्यसबाट मुक्ति पाइनँ।

वास्तवमा त्यो छोटो अवधिमा नै म धेरै परिवर्तन भइछु र मेरो परिवर्तन अनुरूप नै सबैको व्यवहार पनि परिवर्तन भएको रहेछ। म शायद उमेर नसुहाउदो गम्भीरता देखाएर व्यवहारिक बन्थेँ होला। त्यसैले मेरा दौंतरी मप्रति वयस्कप्रति झैं सम्मान देखाऊथे र मेरा शिक्षक पनि वयस्कसँग झैं कुरा गर्थे। मेरो स्थिति शायद त्यो पन्द्रह वर्षे वालिका आमाको जस्तो थियो होला जसलाई मातृत्वको बोझ त दिइएको थियो तर मातृत्वको स्निग्धता हुदाहुदै पनि न उसमा शारीरिक बालापन मेटिएको थियो, न त्यसमा व्यवहारिक मातृवत वयस्कता नै कहीं देखिन्थ्यो। ऊ त केवल वयस्कताको असफल अभिनय मात्रै गरिरहेकी हुृन्थी। म समानहरूका बीचमा असमान वयस्क भएकी थिएँ र सबैको सोचाइमा घर, परिवार, आमा, भाइ सबैको जिम्मेवारी बोकेर घरमा बस्नुृ पर्ने मानिस जिम्मेवारीबाट उम्कन त्यहाँ आइपुगेकी थिएँ। त्यही बेला मैले अनुभव गरेँ कि बाबु जस्तोसुकै किन नहोस, ऊ यस्तो संरक्षक हो जसको उपस्थिति मात्रले पनि केटाकेटीलाई हुर्कन छहारी र पोषण दिन्छ।

मेरी आमाका बारेमा भन्नु पर्दा मैले धेरै कुरा भन्नु पर्ने हुन्छ र मेरो आख्यानभरि नै उनका बारेमा भनिरहिने हुनाले वर्तमानमा म यति मात्र भन्न चाहन्छु कि लोग्नेको आकस्मिक र असामयिक मृत्यु अवश्य नै कष्टकर हुन्छ र यौवनमा नै लोग्ने मर्दा त्यो कष्ट अझ बढ्छ तर मेरी आमा सजिलै पराजय स्वीकार गर्ने मध्येकी थिइनन्। त्यसैले उनले भवितव्यलाई स्वीकारेर लोग्नेको कारोवार समाइन् र त्यसलाई चलाएर नै छाडिन्। उनको त्यो प्रयासमा शेखरकाकाको योगदान र सहयोग भने सधैं नै भइरहयो।

रिमा र म एउटै लङमा सुत्थ्यौ र हाम्रा ओछ्यानजरू पनि एउटै बंकरको तलमाथि थिए। एउटै ओछ्यानमा दुईजना सुत्न छात्रावासमा निषेध भए पनि अत्यन्त जाडो हुँदा या अत्यन्त डरलाग्दा हामी एउटै ओछ्यानमा अँगालो मार्दै सुतेर जाडो या बालसुलभ डर पन्साउने प्रयास गर्थ्यौं। विद्यालयका पछिल्ला वर्षहरूमा भने हामी यसरी सुत्दा हाम्रो समलिङ्गी प्रयास पनि हुने गर्दथ्यो जसमा रिमा पौरुषोचित व्यवहार गर्थी भने म त सरल, मुलायम र सुन्दर नारी नै भइहालें।

वाह्र वर्ष पुगेर तेह्रमा हिडदै गरेका हामी दुई केटीहरू एक अर्काका पूरक थियौँ। म राम्रीमा गनिन्थेँ र रिमाका पछाडि मानिसहरू ‘कति नराम्री केटी’ भन्न चुक्दैनथे। उसको बनौट, रङ, रूप सबैले उसलाई कुरूप भन्न नसकिए पनि असुन्दर त बनाएकै थिए। शायद आमाबाबु, घरपरिवार र समाजले ‘असुन्दरता अस्पर्श्य हो’ भनेर सिकाएकोले होला केटीहरू ऊसँग नजिकिएर मित्रता गर्न चाहदैनथे, उसलाई पन्साउथे र अझ मौका पर्दा उसको खिल्ली उडाएर अपमान गर्थे। मलाई भने, किन हो कुन्नि , उसको असुन्दरता पटक्कै बिझाउदैनथ्यो र सधैं उसको नजिक हुन पुग्थेँ। परिणामत अरू सुन्दर केटीहरूलाई छोड्न बाध्य हुन्थेँ।

रिमा साह्रै हँसिली थिई। लाग्थ्यो उसलाई कुनै दुःख नै छैन। म भने सधैं ऊसँग भएर पनि ऊ जस्तो मुक्त हाँसो हाँस्न सक्दिनथेँ। रिमाको कसैप्रति घृणा थिएन, सबैप्रति न्यानो माया र सम्मान थियो। दश वर्ष सँगै बस्दा पनि उसले मन नपराएको या घृणा गरिएको मानिस मैले फेला पारिनँ। सम्पन्नताले पनि रिमालाई दुर्भाग्यबाट बचाउन सकेन। उसको सामान देखेर हामी लोभिन्थ्यौं, रिमा आफूलाई पनि नराखेर सबै बाँडिदिन्थी। हाम्रा साथीहरू फोसाको मालसामान पनि लिन्थे र उसैलाई हेला पनि गर्थे।

म अन्तर्मूखी थिएँ र सम्भवत अहिले पनि छु आफैमा सीमित हुन खोज्ने तर रिमा मेरो त्यो अन्तर्मूखी घेराभित्र निश्छल हृदय लिएर छिरिदिन्थी र सुखदुःखको सहभागी बनाउथी। हाम्रा बीचमा गोप्यता भन्ने चिज त्यसैले रहेन। हामी त दुर्गा र कालीजस्ता एक अर्काका पूरक थियौं, एक अर्काका प्रतिमूर्ति र प्रतिरूप थियौँ।

रिमाले मेरा बाबु मरेकोमा हार्दिक समवेदना दिई। हामीले शून्यलाई मात्र धेरै बेर हेरेर त्यो शोक मनायौँ। मलाई पीडा नभए झैं उसलाई पनि त्यो पीडा भएन तर पनि मैले लोकाचारको निम्ति शोक मनाएँ, उसले मेरो निम्ति मनाइ दिई अन्यथा उसले मेरा बाबुको खल्को हाल्नु पर्ने अरू कारण त केही थिएन।

साधरणतः हामी सबै केटी छेस्को जत्रो झस्को मात्र पाउदा पनि छात्रावास नै उचाल्थ्यौ डरले। एउटा सानो साङ्लो उड्यो, माउसुली उफ्र्योर भने पनि आत्तिएर कोठाभरिको सामान नै अस्तव्यस्त हुन्थ्यो। हामी कुना, काप्चा, पलङ, टेबुल, कुर्सीमा लुक्न र चढ्न पुग्थ्यौँ। कसैको हिम्मत हुन्नथ्यो तिनीहरूको सामना गर्ने। रिमा मात्र एउटी महारथी थिई जो तिनीहरूलाई समाएर, च्यापेर बाहिर फाल्न सक्थी।

एक दिन छात्रावासमा हाहाकार मच्चियो। हल्लाखल्ला सुनेर म पनि बहिर निस्किएँ र सोधें – “के भयो हँ?”

अत्तिएर कसैले जवाफ दियो – “बौलाहा कुकुर पस्यो रे?”

“कहाँ छ त कुकुर?” – मसँगै पसेकी रिमाले सोधिहाली।

‘कहाँ?’ को जवाफ त्यति सजिलै आएन। कसैले पनि भन्न सकेन कुकुरको बारेमा। रिमाले चारैतिर खोजी तर भेटिन त्यसलाई। पस्यो होला कुनै भुस्याहा कुकुर चोरी खान र लुसुक्क भाग्यो पनि होला हाम्रो हल्लाखल्ला सुनेर। बौलाहा कुकुरको बिगबिगी भएको बेला कसैले सोच्यो – ‘मालिक बिनाको कुकुर पक्कै पनि बौलाहा नै हुनुपर्छ।’ र उसले हल्ला मच्चाई दियो होला। खरायोको आकाश खसेको समाचार जंंगलभरि फैलिए झैं कसैको बौलाहा कुकुर पसेको हल्लाले साङ्लो देखेर आत्तिने केटीहरूको बीचमा भुइचालो त ल्याउने नै भयो। हो, सिंहले झैं रोकिदिई रिमाले त्यो त्रासको लहर तर हामीभन्दा ठूला दिदीहरूले त च्वास्स भनिहाले – “यसको अनुहार देखेर त बौलाहा कुकुर पनि डराएर भागेछ।”

जीवनका यस्ता कटुता सहन बाध्य त्यो केटी निकैपछिसम्म पनि मलाई चिठी लेख्ने गर्थी। एक दिन हठात् उसको चिठी रोकिएकाले सोच्दछु – कि ऊ दुर्घटनामा परी कि उसले आत्महत्या गरी नत्र एउटा न एउटा चिठी त उसले पक्कै पठाउने थिई।

छात्रावासको एउटा नियमित दिनचर्या थियो र त्यो दिनचर्या आम छात्रावासकोभन्दा केही फरक थिएन। हप्ता, दुई हप्तामा आमा भेटन आउथिन् र शेखरकाका पनि आउथे। त्यो पनि एउटा चलनजस्तै बनेको थियो – आउन आवश्यक नभए पनि आउनु पर्ने। नौलौ केही थिएन। न म घरको बारेमा सोध्थेँ, न उनीहरू यसै भन्थे। मेरो तर्फबाट त्यो बेवास्ता भन्न सकिन्थ्यो, उनीहरूको शायद हिचकिचाहट। सानो केटाकेटीमा आमा नआउदा कस्तो नरमाइलो लागेर रुन मन लाग्थ्यो, बिस्तारै किशोरावस्थामा उक्लदै गएपछि नौलो अनुभूति शुरू भयो। शायद वैंश चड्दै थियो ममा, कुखुरे वैंश। केटाहरूले आफूतिर आँखा गाड्दा अलिकति आनन्द, अलिकति असजिलो अनुभव हुन थालेको थियो। आँखा जुधाएर कुरा गर्न मन नलाग्ने त होइन तर बन्दी थियौँ हामी सामाजिक मर्यादा र छात्रावासका नियमभित्र। समय आएर इच्छा भएपछि त नियम र मर्यादाले पनि बाँध्दो रहेनछ।

सोह्र वर्षको उमेरमा म प्रेममा परें। कसरी? त्यसरी नै जसरी त्यो उमेरका केटीहरू पर्दछन्। कुनै कारण पनि चाहिएन, विशेष परिस्थिति पनि बन्नु परेन। आँखा जुधे, एक अर्कालाई हेर्न थाल्यौं, एक अर्कालाई चाहना थाल्यौँ। हाम्रो प्रेम शुद्ध मानसिक थियो शारीरिक संसर्ग बिनाको। त्यो उमेर त्यो परिवेशमा त्योभन्दा पर जानसकेनौं हामी। त्यो मेरो प्रेमी आज एउटा सन्मानित पदमा छ। उसको सुखी घर, परिवार छ। त्यसैले म यहाँ उसको नाम मुछिरहन चाहन्न।

म सत्र वर्ष मात्र के पुगेकी थिएँ एक दिन मेरी आमाले मलाई भनिन् – “रजनी ! अब तेरो बिहे गर्नु पर्योि।”

म छाँगाबाट खसे जस्ती भए र अविश्वाससाथ आमालाई सोधें – “किन? के भयो र त्यस्तो अहिले नै बिहे गर्नु पर्ने?”

आमाले लामो सास फेरेर भनिन् – “के गर्नु? केटो असल पाइयो। भने जस्तो केटो खोजेको बेला पाइदैन।”

“म बिहे गर्दिनँ।” – मैले अड्डी लिएँ।

आमाले सम्झाइन् – “हेर, रजनी ! मैले आजसम्म जो धाने., जे धानें सीमित राखेर धानें। सबै विचार गर्छन् – हामी सम्पन्न छौं तर वास्तवमा सम्पन्नता हामीसँग छैन। तेरो बुवाको ऋणधनको लेखाजोखामा ऋणतिर नै तराजु ढल्केको थियो। केवल ठूलो कारोवारी मानिस भएकोले मात्रै हातमा भइरहन्थ्यो। वहाँ मरेपछि त कारोवार बन्द नै भयो। साहु तिर्नै पर्यो , घाटा बेहोर्नै पर्यो र घर पनि अहिले त बन्धकी परेको छ। यस्तो असम्पन्न स्थितिमा एउटा सम्पन्न पढेलेखेको उमेरदार र सफल कारोवार गरिरहेको केटो पाउदा उम्काउने कसरी? त्यसैले मैले त ‘मेरो आशा र विश्वासलाई लत्याउदिनस्’ भनेर ‘हुन्छ’ भनिदिएँ। यो तेरो सुख, तेरो भविष्यको लागि फैसला हो। शेखरकाकाले पनि ‘हुन्छ’ भन्नु भएकोछ।”

फेरि शेखरकाकाको नाम आयो। अघि नै भनिसकेँ नि शेखरकाकासँग हाम्रो कुनै साइनो छैन भनेर एउटा नाम मात्रको टाढाको साइनो बाहेक तैपनि उनीसँग हाम्रो साइनो सधै नै रह्यो। बाबु हुँदा त्यो साइनो नजिक थियो, बाबु मरेपछि झन नजिक भएर टाँसियो। आमाले जुनसुकै काम पनि शेखरकाकाको सल्लाह लिएर मात्र गर्थिन्। त्यहाँ शेखरकाकाको विशेष स्वार्थ पनि थिएन, थाहा थियो मलाई तैपनि चोट परेको भावावेशमा मैले भनिहालें – “को हो शेखरकाका हाम्रो भाग्यको फैसला गर्ने? उनी किन आफ्नै घरभित्र हुकुम चलाएर बस्दैनन्?”

मेरी आमाका आँखामा, अनुहारमा एउटा गहिरो पीडा देखा पर्योल। त्यसबाट बुझन्थ्यो कि उनीभित्र शेखरकाकाप्रति अथाह श्रद्धा या प्रेम थियो र त्यसलाई मैले लत्याइदिदा ठूलो चोट परेको थियो तर उनीले आफूलाई संयममा ल्याएर बिस्तारै दृढ स्वरमा भनिन् – “उनी जो भए पनि यो घरका शुभचिन्तक हुन् र उनको सल्लाह अन्तिम हो।”

केटाकेटी नै थिएँ म त्यो बेला मानिस बीच बिना साइनो पनि निकटस्थ र हार्दिक सम्बन्ध हुन्छन् भन्ने बुझ्न। मानिसले बाँच्न मानसिक रूपले नै सही, कोही न कोहीसँग टाँसिएर बस्नु पर्छ भन्ने अनुभव त झन् हुने कुरै भएन। वास्तवमा मानिसको जीवनभित्र चियाएर हेर्ने हो भने प्रत्येक मानिसका समाजद्वारा निर्मित नाताभन्दा पर बलिया स्वनिर्मित हार्दिक नाताहरू हुन्छन् जो विपत्तीको समयमा उसका सहारा बन्छन्। शेखरकाकासँगको मेरी आमाको सम्बन्ध पनि त्यस्तै स्वनिर्मित थियो र त्यसलाई कसैले पनि चुनौती दिने बित्तिकै उनीलाई चोट लाग्दथ्यो।

मेरी आमाको निर्णय सुनेर म रातभरि निदाउन सकिनँ। मेरा सामु दुईवटा विकल्प थिए – आमाको कुरा मान्नु या नमान्नु। मान्नुले कुनै समस्या सिर्जना गर्दैनथ्यो, केवल मौन बसिदिए पुग्थ्यो। नमान्नुको अर्थ विद्रोह। अझ त्योभन्दा पर त्यो विद्रोहको समाधान पनि आवश्यक थियो र मसँग त्यसको समाधान एउटै मात्र थियो – आफ्नो प्रेमीसँग भागेर जानु। त्यही भागेर जाने विकल्पमा मैले विभिन्न बाटाहरू खोजेँ र त्यसको कार्यान्वयनका योजनाहरू बनाएँ।

मेरो प्रेमीको सामु मैले मेरो योजना फिजाएर उसलाई सहभागी हुन जोड गरेँ। उसले त्यसलाई अस्वीकार गरेन, केवल केही समयको निम्ति पर सार्न खोज्यो र त्यो देखेर मैले भनेँ – “कहाँ छ र मसँग त्यो समय यो योजना पर सार्न? बिहे त मेरो हुनै लाग्दैछ। डाँडा पारि खान कुर्ने समय कहाँ छ र?”

“मेरा आमाबाबुलाई मनाउन पनि त समय लाग्छ।” – उसले आफ्नो समस्या तेर्स्यायो।

“हेर। मनाउनपिट्ट लाग्यौ भने तिम्रा हाम्रा सामु दुईवटा निष्कर्ष आइपुग्नेछन् – उनीहरू मान्छन् या उनीहरू मान्दैनन्। उनीहरूले माने भने त हामी बिहे गर्छौ, त्यो एउटा समाधान भयो। उनीहरूले मानेनन् भने नि? हामीहरूले एकअर्कोलाई छोड्न नचाहदा त तब पनि हामीले बिहे गर्नु नै छ। त्यसैले हाम्रो निर्णय गर्ने कुरामा उनीहरूको मान्नु नमान्नुको कुनै तुक छैन र उनीहरूलाई मनाइरहनु पर्ने बाध्यता पनि छैन। हामी जे गर्छौ त्यो हाम्रो खुशीको लागि गर्छौ र हाम्रो खुशी उनीहरूले स्वीकार गर्नु पर्छ किनकि हामीले बाँच्नु पर्ने जिन्दगीमा हाम्रो मात्र अधिकार छ। हो, हाम्रो बिहे हुनु छैन भन्छौ भने मनाउनपिट्ट लाग किनकि मलाई थाहा छ – मनाउनपिट्ट लाग्यौ भने उनीहरूले मान्ने छैनन्, उनीहरू हामीलाई गलत निर्णय गर्ने बालक ठान्छन्।” – मैले आफ्नो तर्क अघि सारें।

ऊ मनाउनपिट्ट लाग्यो। मैले त्यतापिट्ट वास्तै गर्न छाडिदिएँ। पछि सुनेँ – उसका आमाबाबु मानेनन् रे। आमाबाबुको स्वार्थ वा हठसँग मेरो प्रेमीले मेरो प्रेम भजायो। नाफा नै भयो होला उसलाई तर मलाई त चोट लाग्यो। केटाकटी नै थिएँ म जाबो प्रेम साटिदा चित्त दुःखाउने। मेरो प्रेम कुनै स्वार्थको वेदीमा चढदैमा के फरक पर्थ्यो र? आखिर प्रेम सधैँ नै एउटा न एउटा वेदीमा बली चढेकै कुरा हो। नरबली त चल्थ्यो भने प्रेमबली पो कुन ठूलो कुरा हो र? जसरी म डोहोरिदै कसैकी स्वास्नी भएँ त्यसरी नै मेरो प्रेमी पनि डोहोरिदै कसैको लोग्ने बन्नपुग्यो। हो, म बाध्यताले डोहोरिएकी थिएँ, ऊ आफू खुशी डोहोरियो। फरक त्यति मात्र थियो। आफ्नो सुखसुविधाको निम्ति, हाम्रो त के भन्नु र, मेरो प्रेम खुशीराजीसाथ उसले साटिदियो।

मेरो कुरा छिन्ने विधि नै पनि साधारण मध्यम वर्गीय विवाहभन्दा कम भएन। मेरो शृङ्गार, सजिसजावट विशिष्ट थियो। म टाउकाददेखि खुट्टासम्म उत्तम परिधानले ढाकिएकी थिएँ , गहनाले सिंगारिएकी थिएँ। कहाँ पाइन् मेरी आमाले त्यत्रो पैसा? त्यो प्रश्न मनमा उठेको थियो र लागेको पनि थियो – यत्रो पैसा थियो भने हामी सम्पन्न छैनौं भन्नु किन परेको उनले?

मेरो स्वयम्वर अझ बढी तडकभडकसाथ भएको थियो भने विवाहको त कुरै नगरौं। पाइला पाइलामा बढदै गएको भव्यता देखेर, अनुभव गरेर म जस्ती कुनै पनि केटीको टाउको गर्वले आकाश छुन पुग्नेथियो होला तर म परें अन्तर्मूखी, त्यो पनि पहिलो प्रेम मरेको पीडाले विह्वल भएकी केटी। न ममा त्यो सब अनुभव गर्ने, आनन्द लिने सामर्थ्य थियो, न चाहना नै भयो। त्यसैले मेरो बिहेको भव्यताको अनुभूति सबैलाई भए पनि मैले भने त्यो भोग्न सकिनँ। कस्तो हुन्छ हो कि मानिसको दुर्भाग्य पनि? दुनियाले भाग लिएको आफ्नो बिहेको रमझममा आफू स्वयम्ले भने पर भएर रमिता हेर्न बाध्य हुनु पर्ने? कस्तो अभिशप्त जिन्दगी होला त्यो? म त भन्छु – दुर्भाग्य नै आउनु छ भने पनि मेरो जस्ता सम्वृद्धि बोकेर नआओस्, त्यस्तो घाटीबाट छिर्नै नसक्ने अमृतफल बोकेर नआओस्।

यसो हेर्दा त लाग्छ होला – म दुःखी हुनु पर्ने कारण त्यति ठूलो होइन। किशोरावस्थाको प्रेम सधै दीर्घजीवि होइन। यस्तो असफल प्रेमपछि पनि धेरैले जीवन सुखसाथ नै चलाएका थिए, छन् र हुनेछन्। यो त जीवनको एउटा पक्ष नै हो। समान सामाजिक स्तरका प्रेमीहरूको मिलन हुन्छ, असमानहरू छुट्टिदै जान्छन् र समयले विछोडका धाँजाहरू पुर्दै जान्छ पनि। त्यो त हो तर पटक पटक अविश्वासका घटना दोहोरिन थालेपछि मानिसको आस्थामा जीर्ण हुन्छ, विश्वास भनिने शब्दप्रति नै अविश्वास हुन थाल्छ र विश्वास भनिने चिज नै छैन जस्तो लाग्छ। मेरो लागि त त्यस्तै भयो। हेर्नोस्, विश्वास मरेको सहन त निकटस्थ आफन्त मरेको सहनभन्दा पनि गाह्रो हुन्छ।

मेरो विवाहपछि मेरी आमाको सम्पन्नता बढ्यो, उनी ऋण मुक्त भइन्। उनको आम्दानीको स्रोत पनि बढ्यो। घर बने, भाडा आउन थाल्यो। शायद एउटा सुनशेफको बलिदानपछि परिवारका दिन सप्रेर आए। हेर्नोस् न, कतिपय विद्वानहरू भन्छन् नि छोराछोरी प्रेमका उपज हुन् भनेर तर गहिरिएर हेर्ने हो भने त पटक पटक मर्ने त्यो प्रेमको उपज केलाईे पो भन्न? जब प्रेम स्वयम् नै असार्थ छ भने त्यसका उपज सार्थ हुन्छन् कसरी? अर्थ बिनाको अर्थलाई सार्थ मान्नु कसरी? यस्तै मान्दै जाने हो भने त आमाबाबुका बीचमा घृणा छ भने बच्चालाई घृणाको उपज मान्न मिल्ला र? त्यसो भए त बलत्कारको उपजको नाम पनि त केही हुनु पर्योम। हो, दया उब्जन सक्छ तर अशक माथिको दयालाई मायाको नाम दिन पनि त मिल्दैन नि। दया त विश्वामित्रको शुनशेफप्रतिको अनुभूति मात्रै हो – क्षणिक, त्यही समयमा उम्रने, त्यही समयमा मात्र प्रयोग हुने र त्यही समयभर मात्र रहने। छोराछारी त दयाका पात्र पनि होइनन्। उनीहरू त लगानी हुन् आमाबाबुका, भविष्यसँग सटही गर्न सकिने। कसैले भौतिक सुविधासँग साट्छ, कसैले भविष्यको सुखको आशासँग सौदा गर्छ। जसरी लोग्नेमानिस र स्वास्नीमानिस बीचको प्रेम व्यापारको साधन बन्न सक्छ, आमा र बाबु बीचको प्रेम पनि त एउटा व्यापार मात्रै हो। एउटा सत्य मृगतृष्णा हो भने त्यस्तै अर्को सत्य मृगतृष्णा होइन भनेर ठोकुवा गर्न कहाँ मिल्छ र?

मेरो विवाह भयो। कसरी? त्यसरी नै जसरी एउटा नव धनाढ्यले आफ्नो सम्पत्तिको प्रदर्शनी गर्छ। निम्तोमा ती पनि बोलाइए जसलाई बोलाउनु पर्ने कुनै कारण नै थिएन। उपहार तिनले पनि ल्याए जसले ल्याउनु पर्ने कुनै आवश्यकता नै थिएन। भोज तिनले पनि खाए जसलाई बोलाइएकै थिएन। म बेहुली थिएँ तर अरूहरू बेहुलीजस्ता देखिन्थे। बुढी समेत तरुनी भएका थिए भने तरुनीको कुरै छोडिदिऊँ। बिहे मेरो लोग्नेको थियो तर ऊ बाहेक अरू सबै सजिसजाऊ भएर ‘पुरोहितले कहिले बोलाउलान् र जग्गे घुमुँला’ भने झैं बेहुलो जस्तै आशनमा बसेका थिए। बेहुलो बनेको मेरो लोग्ने त बाजागाजा, भँडारभान्सा, भोजभतेर, पाहुनापाछा सबमा उपस्थिति थियो र दाजु, बाबु, बाजे समेतलाई आदेश दिइरहेको थियो। जग्गेमा नै पनि पुरोहितकोभन्दा उसको वाचन धेरै सुनिन्थ्यो र घुम्टोभित्र बसेकी मलाई त मनमा पनि आएथ्यो – “कसले चलाइरहेको छ यो जग्गे? पुरोहितले कि मेरो लोग्नेले?”

विवाहमा कुनै समस्या र व्यवधान आएन रे। मेरो लोग्नेको बन्दोबस्तमा त्यस्ता कुरा आउन पनि सक्दैनन्। ऊ त कुशल सञ्चालक हो। ऊ जन्मदेखि मरणसम्मको कुनै पनि सँस्कार बिना त्रुटी सञ्चालन गर्न सक्छ। ऊ त लक्षप्राप्तिको निम्ति पूर्व निर्धारित कम्प्युटर प्रोग्राम हो। कहाँ के गर्नुपर्छ भन्ने उसलाई थाहा छ र गल्ती गर्नै सक्दैन। ऊ हृदयहीन छ, सम्वेदनहीन छ र लक्षप्राप्तिको निम्ति कुनै पनि बलिदान दिन सक्छ। यी कुरा तपाईलाई पत्यार लाग्दैन भने म स्वयम् यसको प्रमाण हुँ। मलाई बहुलाही बनाउनमा पनि उसको लक्ष छ भलै उसले ‘मेरै भलाइको निम्ति हो’ भनेर किन नभनोस्। तपाईलाई जस्तै मलाई पनि थाहा छ – म पागल होइन, तर म पागल प्रमाणित भइसकेकी छु। ऊ लक्षतिर बढिरहेको छ। आफ्नो लक्षप्राप्तिको निम्ति ऊ सृष्टिकर्तालाई चुनौती दिइरहेकोछ र सफल पनि भएको छ।

मेरी आमाले मलाई रुदै विदा गरिन्। बिहे त नाफा नै थियो किन रोइन् होला? शायद लोकाचारको निम्ति रोइन्। मैले पनि लोकाचारको निम्ति रोइदिन खोजें तर मेरो मुटुमा भक्कानो परेन, आँखामा आँशु पनि आएन। त्यसैले जग्गेमा कसैले भनिहाल्यो – “कस्ती जब्बर रहिछ बेहुली विदा गर्दा पनि नरूने?”

बेहुली लिएर जाने जन्ती पनि एउटा जुलुसजस्तै थियो र त्यो जुलुसको सञ्चालन म बेहुलीको छेउमा बसेर मेरो लोग्ने गरिरहेको थियो। उसलाई मात्र थाहा थियो बाजा कहिले र कहाँ बज्नु पर्छ? जन्तीमा को अघि र को पछि लाग्नु पर्छ? जन्ती कहाँ रोकिनु पर्छ? या बत्ती कहाँ बल्नु र निभ्नु पर्छ र गाडी कताबाट हिड्नु पर्छ? यति मसिनो कुरासमेत हेर्न सक्थ्यो मेरो लोग्ने बेहुलो भएर बसेको बेला पनि। सर्वव्यापी थियो मेरो लोग्ने त।

मलाई मेरो लोग्नेको घर पुर्या इदा घरकम्पाउन्ड नै धपक्क बलेको थियो। बाजाहरूले मङ्गलधुन बजाइरहेका थिए। आरती सँयेली गर्ने दिदीबहीनीहरूको बथान उभिएको थियो। उनीहरू ठट्टा, हँस्यौली गरेर मेरो लोग्नेको खिल्ली उडाइरहेका थिए। मेरो लोग्ने पनि बीचबीचमा उनीहरूलाई साथ दिइरहेको थियो। दिदीबहीनीहरूले बाटो छेके , ख्यालठट्टा भयो, दिल खोलेर चित्त बुझौनी बाँडियो। सबै मख्ख परे चित्त बुझ्ने गरी भैलो पाएका भैलेनीजस्तै। त्यो बिहेमा ती आइमाई मात्रै मेरो लोग्नेभन्दा भारी भए, त्यो उत्सव आफैले चलाए।

मेरो लोग्ने वीस वर्षे जवान नभए पनि ३५ पनि ननाघेको मानिसलाई बुढो भन्न मिल्ने थिएन तर, किन हो कुन्नि?, मलाई त ऊ बुढो लाग्यो। शायद १७ वर्षे केटीको निम्ति ऊ बुढो ठहर्थ्यो पनि होला। सम्पन्नता भनौं या असंयमित दिनचर्याले कमाइले उसको कम्बरको गोलाइ बढेको थियो र शारीरिक बनौट , सम्पन्नता र गम्भीरताले गर्दा ऊ युवाहरूको जमातमाभन्दा अधबैसेतिर बढी सुहाउथ्यो। १५ वर्षको उमेरदेखि कमाउने मात्र धुनमा लागेको मानिसमा कमाउने उद्देश्यको लागि आफूलाई विभिन्न रङ्गमा रंगाउन सक्ने क्षमता भए पनि १७ वर्षे केटीको छातीमा प्रेमी भएर बस्न सक्ने क्षमता उसमा भएन। त्यसैले ऊ जीवनाभर सम्पत्तिवाला भएर बसेको छ, विचरा !। परिवारवाला भएर बाँच्न जानेन उसले।

मेरो लोग्नेको पनि आफ्नै अतित छ। असम्पन्न आमाबाबुको धेरै सन्तान मध्येको एक ऊ घरको सम्पन्नताबाट उम्कन पन्ध्र वर्षको उमेरमा सहरी समुद्रमा पसेको थियो। मुखाले दौंतरीहरू त भन्छन् – ‘उसले साहुको चडकन पनि पायो, प्रंहरीको लात्ती पनि भेट्टायो।’ पुषको तुसारो नाङ्गा खुट्टाले बेहोर्योक, साउने झरीमा आङ थाप्यो। उसले चोरी गर्योत, चकारी गर्यो्। दलाली गर्योह, गुलामी गर्योे। गोडा समायो, टाउको टेक्यो तर सधैं नै उन्नतितिर नै बढदै गयो। १५।२० वर्षकै अन्तरालमा ऊ खाकपतिबाट करोडौंपति हुन् पुग्यो र अर्को २० वर्षपछि त ऊ अरवौंपति भइसकेको थियो। ऊ जहाँ थियो त्यहीँ रहेन र उसका आफन्त जो थिए ती पनि रहेनन्। समय र सम्पन्नतासँगै उसका आफन्तहरू पनि परिवर्तन हुदै गए। अभावको परिवेशमा बस्ने उसका आमाबाबु , दाजुभाइ , दिदीबहीनी , नातागोता सबै त्यही अभावको परिवेशमा नै अल्झेका थिए र चाहेर पनि त्यहाँबाट उम्कन सक्दैनथे। एउटा काग सौभाग्यले सेतो बन्दैमा अरू कागको कालोपन मेटिएर जान सक्दैनथ्यो। त्यसैले ती पछि परेका कुटुम्बहरूलाई उचाल्न सम्भव नहँुदा सम्पन्नता बृद्धिसँगै सो अनुरूपका कुटुम्वहरूको घेरा बनाउदै लैजाने नवधनाढ्यहरूकोजस्तै मेरा लोग्नेका पनि बोलेका दिदीबहीनीहरू थिए , दाजुभाइहरू थिए र अझ आमाबाबुसम्म पनि थिए। तिनै बोलेका कुटुम्बहरूको जालोमा मेरो आरतीसयेँली भएको थियो , चुल्ठो जोड्ने काम सकिएको थियो। मेरा खास सासुससुरा, देवरजेठाजु , नन्दआमाजू त मैले कहिले पनि भेटिनँ। यति कृत्रिम थियो मेरो लोग्नेको जिन्दगी कि उसको अतित मेटिएको थियो , उसको भविष्य देखिन्नथ्यो। उसको सामु खालि वर्तमानको रमझम मात्र थियो। मेरो लोग्नेका नाताहरू यति कृत्रिम थिए कि म त उनीहरूका सामु सधै परचक्री जस्तै भएर बसें।

आधा रातमा बिहेको रमझम टुंगियो।

सुनको पिजडामा बसेकी रानीचरीजस्तै सुहागरातको निम्ति भव्यतासाथ सिंगारिएको कोठाको झलमिल पलङमा म एक्लै पोको परेर बसेकी थिएँ। मभित्र उमङ्ग थिएन, त्रास थियो। सुहागकक्षमा प्रदर्शन गरिएको भद्दा सौन्दर्य र सम्पन्नताले मलाई किचिरहेका थिए। त्यहाँको अँध्यारोले मलाई तर्साइरहेका थियो भने उज्यालोले खिज्याइरहेको थियो। म शायद त्यही बेला बौलाएकी थिएँ होला अन्यथा मलाई त्यस्तो दोहोरो अनुभूति त नहुनु पर्ने हो।

म त चाहन्थे कि मेरो सुहागरातमा सरलता होओस्, शितलता होओस्, मधुरता होओस् र सौन्दर्य होओस्। जुनको उज्यालो जस्तो प्रकाश कोठाभरि छरियोस् र फूलको सुवासले उसको आगमनको सङ्केत देओस्। सुखमय स्पन्दन होस् मेरो मुटुभित्र र उसको आगमनले मेरो स्वर्गको ढोका खोलिदेओस्। तर मलाई थाहा थियो – त्यो मेरो कुमारी आकांक्षाको स्वप्न मात्र थियो। वास्तवमा त म एउटा गुडाएको पासा थिएँ जसले म बाहेक अरू सबैलाई जिताएको थियो र सबैले नाफा कमाएका थिए।

एकाएक ढोका बाहिर होहल्ला भयो र मेरा तथाकथित नन्दहरूले मेरो लोग्नेलाई ढोका नजिक लिएर आएका थिए। कसैले मैले समेत सुन्ने गरी करायो – “ल है, दाइ। ल है ल, जे छ आजै छ।”

कति भद्दा थियो त्यो भनाइ? कति उत्तेजित थिए उनीहरू? मानौं त्यो सुहागरात उनीहरूको थियो र त्यो मिठासको अनुभूतिको हक पनि उनीहरूको हो।

“ए ! के अल्मल्याउछौ दाइलाई? भाउजू वहाँ कुरेर बस्नुभएको छ। फेरि भोलि गाली खानुपर्ला नि वहाँको” – अर्कीले थपी।

हाँसोको फोहोरा चल्यो र त्यही हाँसोको बीचमा मेरो लोग्नेको स्वर सुनियो – “अब त छुट्टी पाउँछु होला नि।”

“ए, जान देओ, जान देओ दाइलाई पनि। अब त वहाँलाई पनि हतार लागिसक्यो।” – फेरि स्वर सुनियो। खित्काका लहर चले। ती तथाकथित दिदीबहीनीहरूको व्यवहारले मेरो लोग्ने कुन परिवेशका बाँधिएको थियो र त्यहाँ प्रेम, विवाह, यौन कुन दृष्टिले हेरिन्थ्यो भन्ने प्रस्ट थियो।

ढोका बन्द गरेर मेरो लोग्ने मेरो छेउमा बस्दै मलाई लक्ष गरेर भन्यो – “हेर न, फुर्सद नै पाइएको होइन। बल्लबल्ल छुट्टी पाएर आएँ। तिमी त एक्लै बस्दा बस्दा बोरै भयौ होला।”

म बोलिनँ। ऊ भन्दै गयो

“मैले त सोध्ने मौका नै पाएको थिइनँ। साँच्ची, तिमीलाई मसँग बिहे गरेको चित्त त बुझेको छ?”

प्रश्न गर्छन् यस किसिमको लोग्नेमानिसले विवाह गरिसकेपछि? अझ झन् सुहागरातमा? शायद गर्दैनन् र गर्नु पनि हुन्न। यस किसिमको प्रश्नमा सकारात्मक उत्तरको कुनै प्राप्ति छैन र नकारात्मक उत्तर मुखबाट निस्किहाल्यो भने त सधैंको निम्ति दाम्पत्य जीवन नै नरक बन्छ।

नववधुले यस्ता प्रश्नलाई हाँसेर ठट्टैमा पन्साउन पनि त सक्दिन। उसले आफूले लोग्नेको सामु अभ्यस्त बनाउन सकेकी पनि हुन्न। तर मेरो लोग्ने त आफूले अधिकारमा लिएको वस्तु पूर्णतः आफ्नो अधिकारमा छ कि छैन निर्क्यौल गर्न चाहन्थ्यो। जुन प्रश्नको जवाफ ऊ आफूसँग थिएन, अर्कोको मुखबाट सुन्न चाहन्थ्यो। तर मसँग जवाफ दिने कुरा नै थिएन। माया घृणा त जग्गेको फेरो मार्ने बित्तिकै उम्रने वस्तु हेाइनन्। त्यसमा पनि मेरो माया त टुसाएर पनि भाँचिईसकेको थियो। त्यसमा फेरि टुसा पलाउन त समय चाहिन्थ्यो, न्यानो स्नेह चाहिन्थ्यो।

मेरो लोग्नेले मबाट उत्तर नपाएपछि खल्तीबाट लकेट झक्यो र मलाई देखाउँदै सोध्यो – “कस्तो लाग्यो तिमीलाई?”

मैंले आंखा खोलेर हेरें। वरिपरि नगिना राखेर विचमा ठूलो हिरा जडेको लकेट, असाध्यै राम्रो थियो र त्यस्तो गहना, स्वास्नीलाई नै सही, असाध्य धनीले मात्र दिन सक्थ्यो। लकेट देखेर मैंले भने – “राम्रो छ।”

मेरो जवाफ सुनेर उसको अनुहारमा परिवर्तन आयो वा आएन मैंले हेरिनँ। केवल सौदा पटाउन लागेको खुशामदी दलालको जस्तो स्वर मात्र सुनेँ – “मैले यही सुहागरातमा तिमीलाई उपहार दिन खास गरेर बनाउन लगाएको।”

तथाकथित सुहागरात भनिने रातमा आइमाईका कतिपय मिठा सपना बन्छन् होला, कतिले भविष्यका खुडकिला सम्याउछन् होला या कतिका कुमारी सपनाहरू त्यही टुङ्गिन्छन् पनि होला तर मेरा त कुनै सपना थिएनन् र मैंले तिनीहरूलाई मेटाउनु वा बनाउनु परेन। मेरो त सुहागरात एउटा कुमारी वेश्याकोजस्तै भयो केही रमझम रमझम, केही दुःख, केही डर, केही निराशा र अन्ततः केही शारीरिक पीडा अनि मुक्तिको सन्तोष। त्यो वेश्याले भविष्यको सुरक्षाको निम्ति सम्पत्ति पाए झैं मैंले एउटा लकेट पाएँ र उसले चाहदा आफूखुशी मलाई नङ्गयाउन सक्ने एउटा लोग्ने भन्ने जीव भेट्टाएँ। उसले मेरो अन्तरभित्र छिरेर बुझ्ने प्रयास गरेन। शायद उसले ठीकै पनि गर्यो होला। उसको उमेरको लोग्नेमानिसले १७ बर्षे केटीको हृदयमा प्रेमीको स्थान खोज्नु मेरो निम्ति मुर्दामाथि कात्रो हुने थियो होला र म घृणा गरेर विद्रोह गर्न सक्थेँ। उसको म माथिको यौनशोषण त समाज प्रदत्त उसको अधिकार मानेर मैंले स्वीकार गरिदिएकी थिएँ।

बिहान ६ बजे म बिउँझदा मेरो लोग्ने ओछ्यानमा थिएन। उठेर निकै बेर पर्खदा पनि उसको ताल सुर केही नसुनेर आफ्नो नित्यकर्मतिर लागें। करिब आधा घण्टापछि नोकर्नी चिया लिएरभित्र पसी। चियाको किस्ती टेबलमा राख्दै उसले भनी – “साहेब बाह्र बजे सवारी हुन्छ रे लञ्च खान।”

“कहाँ गएको?” – ऊ कहाँ गएको जान्ने उत्सुकता नहुँदा नहुदै पनि मैंले सोधें।

“त्यो त मर्जी भएन। पाँच बजे नै निस्किबक्सेको।” – नोकर्नीले बिस्तारै जवाफ दिई र मैंले उसलाई विदा गरेँ।

मैले भनि हालें नि मेरो सुहागरात नै अचम्मको थियो भनेर। जुन सुहागरातपछि लोग्ने स्वास्नीलाई निदाएकै अवस्थामा छोडेर अँध्यारै घर बाहिर जान सक्छ त्यो लोग्नेको मनमा स्वास्नीप्रतिको चाह कति नै पो थियो होला र? मेरो लोग्नेको मनमा त केवल एउटा मात्र धुन थियो-कमाउनु केवल कमाउनु। यति कमाउनु कि सम्पत्तिले नै उसलाई चिनुन्। असम्पन्नताले किचिएकोले ऊ सम्पत्तिलाई नै धर्म, कर्म, सबै चिज ठान्दथ्यो र सम्पत्तिमा मात्र उसको विश्वास थियो।

म कोठा बाहिर निस्केँ। अघिल्लो साँझ म निहुरेर, आधा आँखा चिम्लेरभित्र पसेकी थिएँ। बिहानी आँखा खोलेर बाहिर निस्केँ।

ठूलो थियो घर, विशाल भन्न सुहाउने। चारैतिर संगमरमर ओछ्याईएको थियो-गह्रँुगो सङ्गमरमर। भड्किलो रङ्ग थियो भित्तामा र कृत्रिम उज्यालोको चहकले परावर्तक बनाउथ्यो भित्तोलाई। गमलामा विरुवाहरू थिए तर विरुवाभन्दा गमला बढी चम्कन्थे। फूलदानीमा एकातिर वास्तवक झैं चम्कने नक्कली फूलहरू थिए भने अर्कोतिर ओइल्याएका सक्कली फूलहरू पनि थिए। सजावट हेर्दा क्षणभंगुर सक्कलीलाई भन्दा चीरस्थायी नक्कलीलाई बढी जोड दिइएको थियो। शायद जसले त्यो ठाउँ सजाएको थियो त्यसले रूप र प्रतिरूपमा अन्तर देख्दैनथ्यो होला। वास्तुशिल्पीले घरलाई सुन्दर सुविधाजनक बनाउन निकै प्रयास गरेको देखिन्थ्यो तर त्यसलाई शालिन र जीवन्त बनाउने काम त त्यही घरमा बस्नेहरूमाथि भर पर्दथ्यो।

घरमा नोकर चाकर त थिए र उनीहरूको कार्यविभाजन भने शायद त्यति प्रस्ट थिएन किनकि एउटै कामको निम्ति पटक पटक विभिन्न नोकर देखापरेकाले पनि मलाई त्यस्तो लागेको थियो या त्यस्तो छरपस्ट अरू कुनै कारणले हुन सक्थ्यो।

म चारैतिर घुम्न चाहन्थेँ, निस्कन चाहन्थँ, घरमा कुनै काम गर्न चाहन्थेँ तर मलाई निर्देशन दिने कोही भएन, कोही पनि थिएन। म सर्वेसर्वा भए पनि मेरो अस्तित्व केही थिएन त्यहाँ। म त वस्तु जस्तै निर्जिव ठानिएँ र भविष्यले मेरो मोल पनि किटान गरिदियो।

केही ढिलै भए पनि मेरो लोग्ने लन्चमा आइपुग्यो। बाहिर गर्मी थियो र ऊ थाकेको पनि थियो होला। त्यसैले उसले बियर खाने विचार गरेर मलाई बियर मगाउने आदेश दियो। मैंले बाहिर निस्केर नोकरलाई बियर ल्याउने अनुरोध गरेँ। म ‘अनुरोध’ शब्द किन प्रयोग गर्छु भने ममा आदेश दिने सामर्थ्य उब्जिएकै थिएन।

नोकरले बियर र मग राखेर गएपछि मेरो लोग्नेले मलाई सोध्यो – “तिमी पनि खान्छ्यौ कि?”

मैंले नकारात्मक उत्तर दिएपछि उसले पनि जोड गरेन। उसले बियर आफै खन्यायो। उसलाई पहिलो दिनमा नै स्वास्नीलाई ‘शाकी’ बनाउन मन लागेन होला नत्र अर्कोलाई आदेश दिने बानी परेको मानिसले अगाडि बसेकी आइमाईलाई बियर खन्याउन नअराउनु अवश्य नौलो कुरो थियो।

बियर खाँदाखादै मेरो लोग्नेले कुरा उठायो -“बुझ्यौ? आज बिहान म नपुगेको भए त्यत्रो अर्डर नै छुट्ने। कम्पनीको अध्यक्ष आफैं आएको , भेटन पठाएको लम्फु त बाहिर बसिरहेको। ‘भित्र छिर्न दिएन’ भन्छ। कुकुरसँग कस्तो रिस उठ्यो भने !”

मेरो निम्ति त्यो अर्डर सिन्को बराबर महत्वको पनि थिएन र छुटेर दुःख लाग्ने पनि थिएन। विसम थिए हाम्रो चासोका विषयहरू। त्यसैले म बोलिनँ।

“दश करोडको अर्डर छ। नाफा मात्रै चुत्थो पनि एक करोडमाथि नै हुन्छ। सिंह एण्ड सिंहले त्यो अर्डर लिन कम कोसिस गरेको होइन तर सालेहरूलाई छुन पनि दिइनँ। धम्की पनि दिए मोरा कुकुरहरूले। अहिले साझेदारी गरौं भन्छन् भाते कुकुरहरू।” – सगर्व बम्कियो ऊ।

दोश्रो वियर बोतल चल्दा त उसले दह्रै चालको एक पेग ह्स्किी मिसायो र उसको स्वर क्रमशः तारतिर चढ्दै गयो।

“के वात्त परेर नबोली बसेकी नि? कुरा गरेपछि यसो मुख त फर्काउनु पर्छ।” – उसको मुखबाट निस्कियो।

मेरो कहाँ गल्ती भयो? मैंले बुझ्न सकिनँ। पहिलो त, ऊ जुन विषय वस्तुमा कुरा गरिरहेको थियो त्यो बारे मेरो ज्ञान शुन्य थियो र त्यसमा बोल्नु नानीको भाषण जस्तो हुने थियो। दोश्रो, म अघिल्लो दिन मात्र बिवाह गरेकी बेहुली। मैंले तर्क वितर्क, वादविवाद या प्रश्नोत्तर गर्न सक्ने कुरा सोच्नु नै गलत थियो तर मेरो लोग्ने आफू गलत हुन सक्ने कुरा सोच्नै सक्दैनथ्यो।

म बोलिनँ। बोल्न चाहेर पनि मसँग बोल्ने कुरा भएन र मेरो लोग्नेलाई स्वास्नीको मौनता अझ बिझायो। उसले रिसाएर भन्यो – “के लाटाले पापा हेरे झैं पक्क परेकी? बोल्न सिकाएका छैनन् कि के हो माइतीमा?”

व्यक्ति होइन, क्रमशः उन्माद बोल्दै गइरहेको थियो। अभ्यस्त थियो ऊ नोकर्नीहरूसँग यस्तै भाषा बोल्न र उसको दृष्टिमा मेरो पनि स्थान त्योभन्दा बढी देखिएन। “खाना खाऊँ अब।” – केही शब्द त बोल्नै पर्यो र भने मैंले।

“खाने, खाने। ल पस्की।” – उसले आदेश दियो।

म बिहानै खाना खाने बानी परेकी मानिस। दुई तीन बजेसम्म एक कप चियाको भरमा गुजार्नु परेकोले मेरो भोक नै मेटिईसकेको थियो। त्यसमा पनि लोग्नेको अनावश्यक खप्कीले मेरो आत्मासम्म नै चोट लागेको थियो।

मेरो घाटीबाट खाना छिर्न सकेन र खाऊ झैं गरेर खाना खेलाई रहें।

“यो घरमा, देख्यौँ? सबै राम्रा चिजहरू मात्र छन् तिमीले सपनामा पनि नचिताएका वस्तुहरू। मलाई सुन्दर र दुर्लभ वस्तुहरू संकलन गर्ने शोख छ।” – मेरो लोग्नेले आफ्नो बढाइँ गर्योो।

मेरो ‘अहम्’ तिरष्कृत हुँदै गइरहेको थियो। संसारमा असंख्य बोल्ने विषयवस्तुहरू हुँदाहुँदै पनि मेरो लोग्ने मलाई भेटेदेखि आफ्नै बढाइँ गरिरहेको थियो, आफ्नै मैंमत्याइँ भट्याइ रहेको थियो जसको एक मात्र कारण हुन सक्थ्यो मलाई सानो देखाऊनु। त्यो अनावश्यक प्रयासको आवश्यकता मैंले बुझनँ त्यो बेला।

“तिमी मलाई साह्रै राम्री लागेकीले बिहे गरेको मैंले, बुझ्यौ?” – उसले थप्यो।

म उसकी स्वास्नी थिएँ, समयमा नै उसका छोराछोरी जन्मेका भए म उसकी छोरी भन्न सुहाउने उमेरकी थिएँ भन्दैमा उसले मेरो अपमान गर्ने अधिकार थिएन। त्यो नाताभन्दा पर म एउटी व्यक्ति थिएँ स्वतन्त्र अस्तित्व भएको व्यक्ति। त्यसैले सो व्यक्तिभित्र भएको गर्वले भनि हाल्यो – “के म पनि वस्तु नै हुँ र?”

उसले नशा लागेर होइन, आफ्नो असामयिक र असभ्य वक्तव्यलाई पन्साउन स्वर लर्खराएर जवाफ दियो – “खै, थाहा छैन। तेरो कुरा म के जानूँ?”

अपमानको त्यो पछिल्लो चोट थियो र मैंले चाहेर पनि मेरो आँशु नरोकिएकोले त्यसलाई नोकरचाकरको सामु नदेखाउन म आफ्नो कोठातिर दगुंरे।

बेहुली भएर घरभित्र पसेको चौविस घण्टा पनि नबित्दै त्यसरी अपमानित भएकी आइमाई विक्षिप्त नभए पनि अर्धविक्षिप्त त पक्कै हुन्छे र मेरो मनमा पनि मरिजाने वा त्यो घर छोडी जाने वहुलठ्ठीपन बहुलाएर उठ्यो। त्यो मृत्यु वा पलायनले के फाइदा हुन्छ भन्ने मैंले सोचिनँ। म त केवल मुक्ति चाहन्थेँ मेरो लोग्नेबाट मुक्ति। पछि पछि त मैंले त्योभन्दा धेरै ठूला अपमान पनि निर्धक्कसँग सहें तर त्यो बेला म केटाकेटी नै थिएँ, अनुभवहीन थिएँ। सानै चोटले पनि अस्थायी विक्षिप्तता ल्याइदिएको थियो र सामान्य मानिस भएकोले मेरा सम्वेदन ग्रन्थीहरू अपमानले आहत भएका थिए। त्यसमा पनि आउदो रातको घटनाले त मलाई क्षतविक्षत नै तुल्याईदियो।

दिउसो खाना खाएपछि मेरो लोग्ने काममा बाहिरियो। म भने शुन्य छाती लिएर कोठाभित्र पल्टिरहें। मेरो कसैलाई सुनाउन सक्ने कुरा पनि थिएन, कोही सुनिदिने मानिस पनि भएन। त्यसैले मेरो त्यो दिन चिन्तन र चिन्तामा, निन्द्रा र तन्द्रामा बित्यो र रात परेर लोग्ने कोठाभित्र पसेपछि मात्रै म वास्तविकतामा आएँ।

समय रातको दश बजिसकेको थियो। मलाई दिउँसो लगाए को लुगामा नै ओछ्यानमा लम्पसार परेको देखेर उसलाई आफू लोग्ने हुनुको आभास भयो होला र मैंले उसलाई घुर्की लगाएको भनी ठान्यो पनि होला।

“ए ! किन खान नउठेकी?” – उसले मलाई भन्यो र बाहिरतिर हेरेर करायो – “ए, श्यामे कुकुर ! साहेबनीलाई किन घिचाइनस्, हँ?”

श्यामेले दौडदै आएर ढोकामा उभिएर भन्यो – “हजुर ! भुजासँगै ज्यूनार हुने होला भनेर।”

“मेरो आउने ठेगान छैन भनेपछि खुवाउनु पर्दैन, गदाहा कुकुर?”

गाली उसको आदत थियो- फोहोरी आदत। बालक कालमा भैंसी गोठालाहरूको संगतले सिकाएका फोहरी शब्दहरू शहरी विकृतीका शब्दहरूसँग मिसिएर भाषालाई नै फोहोर बनाउँदै गालीका रूपमा निस्कन्थेँ। रिसले मात्र होइन स्वभावले नै निस्कन्थेँ ती गालीहरू र नोकरचाकर ती गालीको अभ्यस्त भई सकेकाले उनीहरूलाई ती गाली बोलीचालीका लवजभन्दा बढी लाग्दैनथे।

“खाना लगाऊँ त हजुर अब?” – श्यामेले ढोकाबाट नै प्रश्न गर्यो?।

खुट्टाको मोजा फुकालेर फ्याक्दै मेरो लोग्नले जवाफ दियो – “पख, अब एक छिन्। हुनु ढिलो भैसकेपछि अब अलिकति एपेटाइजर खाने पहिले। जा, ग्लास र ह्विस्की लिएर आइज।”

हुन त मैंले पनि मेरो लोग्नेको फेर्ने लुगा दिनुपर्दथ्यो, सुट पाइण्ट लिइदिनु पर्दथ्यो। अस्तव्यस्त कमिज मोजा जुत्ता समेटेर राखिदिएको भए पनि हुने थियो। अथवा ‘रक्सी नखाऊ’ भनेर कर गर्न पनि मिल्थ्यो होला। एउटी गृहिणी स्वास्नीले गर्नु पर्ने काम मैंले बुझेकी थिएँ तर मेरो मनमा एउटा प्रश्न उठिहाल्थ्यो – ‘को निम्ति?’ प्रेम त मेरो निम्ति मृत वस्तु थियो र म त्यसको मलामी गएको एक महिना पनि बितेको थिएन। मेरो लोग्नेले स्नेहले सिंचित गरेको भए नयाँ मुना पलाउन सक्थ्यो होला तर उसलाई प्रेमिका होइन, स्वास्नी चाहिएको थियो र स्वास्नी पनि आफ्नो परिभाषा अनुरूपकी स्वास्नी। हामी लोग्नेस्वास्नीका चाखमा सामञ्जस्यता र समानता पटक्कै थिएन। मैंले त सुहागरातमा नै मेरो लोग्नेलाई क्रुर बलात्कारी जस्तो र आफूलाई निर्जिव मुढो जस्तो अनुभव गरेकै थिएँ।

मदीरामा साथ दिन मेरो लोग्नेले मलाइ आदेश दिदा म उठेर सोफामा त बसें तर उसलाई साथ दिन सकिनँ। मेरा बाबुको पिउनुलाई मेरी आमाले सधैं धिक्कारेकी र उनको मृत्युमा समेत रक्सीलाई नै दोषी ठहर्यासएकीले मैले रक्सीप्रति राम्रो धारणा राखेकी थिइनँ।

मेरो लोग्ने पिउदै गयो र रक्सीले आफ्नो धर्म देखाउन थालिसकेको थियो। उसको स्वर, अभद्रता र जिद्धी बढ्दै थियो। बोलाएपछि तुरून्त देखा पर्नु पर्ने हुनाले श्यामे कहीं स्वरको सीमाभित्र थियो। अरू नोकर चाकर त कुनाकुनामा ठाडै निदाईसकेका थिए होलान्। मेरो लोग्नेको आदेश बिना त उनीहरू चिसो भुइँमा पनि तेर्सिएर सुत्न सक्दैनथे। परपीडन पनि मेरो लोग्नेको शायद जन्मजात स्वभाव थियो।

पिउँदै गएपछि त मेरो लोग्ने रङमङाउथ्यो, धङमङाउथ्यो, अभद्र हुन थाल्थ्यो र असभ्य हुन थाल्थ्यो। बोतल आधा हुँदै आफ्नो रङ्ग देखाउन थाले पनि उसको स्वार्थ त बोतल रित्तिएपछि पनि छाड्दैनथ्यो। उसको मताइले अर्कोको मात्र नोक्सानी गर्न सक्थ्यो, उसको आफ्नो होइन। अर्कोलाई अपमान गर्नु पर्दा, अर्कोलाई पीडा दिनु पर्दा ऊ नशालाई आधार बनाउथ्यो र आफ्नो आत्मरक्षा पनि कहिलेकाहीं यही नशाको दलिल लिएर दिने गर्दथ्यो।

मेरो लोग्नेले कसैलाई पनि माया गर्न सकेन। ऊ यति आत्मकेन्द्रित थियो कि आफ्नो खुशी र सुख मात्र उसका लक्ष थिए र बाँकी त ती लक्ष प्राप्तीका साधन मात्र। सुख र खुशीको स्रोत नै ऊ सम्पत्तिलाई ठान्दथ्यो। उसको निश्चय र अठोट अटल थियो र आफूले चाहेको कुरा पाउन नैतिक, अनैतिक सबै काम गर्न सक्थ्यो ऊ। कुनै व्यक्तिलाई राक्षस बनाएर लखेट्न पनि सक्थ्यो र त्यसैलाई अर्को क्षण देवता बनाएर पुज्न पनि सक्थ्यो। ऊ त सर्वशक्तिवान ठान्थ्यो आफूलाई।

सृष्टिकर्ताले उसलाई शरीर दिन पनि कन्जुस्याइँ गरेका थिएनन्। चौडा छाती, बलिष्ठ भुजा, गोरो रङ, मिलेको बनोट र सुन्दर अनुहारको झण्डै ६ फिट अग्लो मानिसको शारीरिक व्यक्तित्व कस्तै हुलमा पनि अलग्ग छुिट्टन्थ्यो। उसको अगाडि पुग्दा कुनै पनि मानिसले आफूलाई ऊभन्दा उन्नाइस नै पाउँथ्यो। समयको दुरुपयोगले उसलाई अलि खच्काएको भए पनि सुन्दर र सम्पन्न मेरो लोग्ने देखेर कुनै पनि आइमाई मेरो भाग्यको डाही गर्न सक्थी।

आधा बोतल रक्सी सिद्धिएपछि मेरो लोग्नेले अर्को ग्लासमा आधा पेग रक्सी हालेर मेरो अगाडि राख्दै भन्यो – “ल, खा तँ पनि अलिकति।”

मैले टाउको हल्लाएर ‘खान्नँ’ भनेँ। त्यो देखेपछि उसले कड्कदै भन्यो – “मैंले भनेपछि खा।”

म टसबाट मस भइन। मेरो अवज्ञाले उसको रिसको पारो चढ्यो। उसले सोच्यो होला-स्वास्नी जाबोले उसको आदेश पालना नगरेर उसलाई चुनौती दिने? ऊ रन्कियो – “कुकर्नी ! मलाई जँड्याहा बनाएर आफू ठूली बन्न खोजेकी? घिच् यो।”

म अजिर भएर बसें। त्यो देखेर उसको धैर्यको सीमा रहेन। ऊ उठेर मेरो नजिक आयो र एक हातले मेरो मुख खोली दिएर अर्को हातले ग्लासको आधा रक्सी मुखमा हालिदियो। मुखको रक्सी घाँटी चिर्दै पेटसम्म पुग्यो।

म स्तव्ध भए। के आफ्नै लोग्ने पनि यति निर्दयी हुन सक्छ? मैले त सोच्नसम्म पनि सकेकी थिइनँ तर भइदियो ऊ। के जित्यो उसले? मैंले उसको जिताइ अहिलेसम्म पनि बुझ्न सकेकी छैन। बलजफ्ती बीचछीलाई टोक्न लगाएर आफू पीडा सहनु कुन स्वगर्वपूर्ति हुन सक्छ? थाहा छैन मलाई। मेरो जीवनमा त त्यही एक घुड्को रक्सीले नै मलाई दुष्ट बीचछीमा परिणत गरिदियो र हामी बीचमा घृणाको सागर खडा गरिदियो। त्यो सागर पार गरेर लोग्नेको सामु पुग्न म कहिले पनि सकिनँ। दुःख, अपमानले आहत भएर मैंले त्यो बाँकी ग्लास रित्याइ दिएँ।

“जाँदो रहेछ नि खुरुखुरु। माग्नेकी छोरीले यस्तो माल खान पाएपछि नजाओस् पनि कसरी?” – मेरो लोग्नेले मेरो अपमान गर्न चुकेन तर म अघिकी आइमाई थिइनँ। मेरो सहनशिलतामा परिवर्तन भइसकेको थियो। मैंले तुरून्तै जवाफ दिएँ – “तपाईँको वंशावली मलाई थाहा छैन, थाहा भएपछि भनुँला तर मेरा पुर्खामा मगन्ते कोही पनि थिएन।” हठात् ताजन परे झैं मेरो लोग्ने झस्कियो र आग्नेय दृष्टिले मतिर हेर्योत। उसलाई अपमानको आभास भएको प्रस्ट थियो।

“मुख मुखै लाग्छे कुकुर्नी। काटिदिन्छु जिब्रो अनि थाहा पाउछेस्।” – उसको संयम अलि खलबलियो।

मलाई डर भएन। हुनुसम्म अपमानित भइसकेकै थिएँ। अब के गर्ने? गाली गर्ने? कुट्ने? मार्ने? भोगेकी नै थिएँ मानशिक यातना त। अब शारीरिक यातनाले के गर्न सक्थ्यो र? मैंले खिस्सीमा नै हाँसिदिए।

“कुकुर्नी ! अझ हाँस्छे। घोक्रयाएर निकालिदिन्छु अनि थाहा पाउछेस्।” – उसको रिस निकैमाथि चढेको थियो।

न बोलुँ जस्तो त लागेको हो तर नशा मलाई पनि चढेको थियो। मेरो त झन पहिलो पल्टको कुमारी नशा। कति खाँदा कति लाग्छ? कति लागेपछि के बोल्नु पर्छ? भन्ने अनुभव नभएको नशा। मैंले आवेगलाई थाम्न नै सकिनँ। गिलास रित्तिसकेकै थियो, नशा चढेकै थियो।

आफ्नो ग्लास आफैंले फेरि भर्दै भने – “मेरो घर भएको भए पो तपाइले निकाल्नु हुन्छ भन्ने डर। तपाईँको घरबाट तपाईँले निकाल्न लाग्दा मलाई के को डर?”

मैले रक्सीको घुड्को लिएँ। कुनै कष्ट बिना नै गयो त्यो। खांदै गएँ म पनि र विवाद पनि चर्कदै गयो। शायद मैंले वचन पनि लाएँ होला र उसले हात पनि उठायो होला। भोलि पल्ट जिउ दुःखेको थियो , म लडेकी पनि हुन सक्छ। त्यो रातको बाँकी भाग मलाई कतै कतै सम्झना छ, धेरै छैन। म एक्लै सडकमा हिडे जस्तो पनि लाग्छ , कुनै बलियो तन्नेरीले मलाई बलजफती उठाएर आफ्नो काँधमा लिएर हिडे जस्तो पनि लाग्छ। मलाई बोक्न सक्नें स्थितिमा मेरो लोग्ने त थिएन, भए त्यही श्यामे हुन सक्थ्यो तर ‘ऊ नै हो’ म भन्न सक्दिनँ। जे जस्तो भए पनि बिहान म बिम्झदा आफ्नो ओछ्यानमा थिएँ र मेरो टाउको पट्ट फुटला झैं दुःखेको थियो।

वैवाहिक जीवनको शुरुआत त मेरो जस्तो कसैको पनि हुँदैन र अझ मेरो वैवाहिक जीवन त ‘बिहानीले दिउँसोको रूप देखाऊछ’ भने जस्तै भयो। जसरी मधुमासका केही रातहरू बिते त्यही नै मेरो वैवाहिक जीवनका वास्तविक थालनीहरू भए। त्यो नहुनु पर्थ्यो, त्यो नभएको भए म अरू सामान्य नारीहरू जस्तै सुखदुःखका दिनहरू बिताउने थिएँ तर आफूले चाहेर नहुँदो रहेछ। विवाहित आइमाईको जीवनको गोरेटो त लोग्नेले कोर्दोरहेछ र म त्यही लोग्ने द्धारा कोरिएको बाटोमा हिड्न विवश भएँ। त्यसमा पनि खराब पक्ष के भयो भने मानसिक रूपमा म एक दिनमा नै धेरै विकृत भएँ। मेरो लागि त त्यो दिनसम्म मैंले मानिआएको मर्यादाको दायरा अस्पष्ट हुन थाल्यो र समयसँगसँगै धमिलिदै गएर मेटियो। मानिस मलाई राम्री भन्ने गर्थे र मेरी आमा त भन्थिन् नै – ‘यसलाई यही रूपले बिगार्छ।’ म आफ्नो रूपको आफै बयान गर्न त सक्दिनँ तर मेरो लोग्नेका आँखा पारखी भएकाले मलाई लाग्छ – ‘म पक्कै राम्री हुनपर्छ।’ भिन्सी रेम्व्रान्ट या भानगोगका कल्पनाजस्तो सुन्दरता ममा नभए पनि मेरो लोग्नेको चित्तलाग्दो सौन्दर्य त अवश्य थियो होला। रोमियो या मजनुको हृदयले अनुभव गर्ने जुलियट या लैलाको जस्तो प्राकृितक सौन्दर्य नभए पनि कालीदासको कल्पनाले बखान गर्न सक्ने शृङ्गार रसको बैंस र रूप त ममा निश्चय नै हुनुपर्छ। यति नभएको भए जीवनमा प्रत्येक दोबाटोमा लोग्नेमानिसका व्यापारी आँखाले मेरो मासुको मोलतोल गर्दाको असजिलोपन मैंले बेहोर्नु पर्ने थिएन। मलाई त लाग्छ मेरो लोग्नेको दृष्टिमा म एउटा व्यक्तिभन्दा आत्मा नै सन्तोष गरी अघाउन सकिने एउटा स्वादिलो र तिख्खर मासुको सौन्दर्य टुक्रा थिएँ जसलाई आफ्नो स्वामित्वमा राखेर बजारमा प्रदर्शित गर्नु उसको लागि गर्वको कुरा थियो।

ठूलाबडाहरू घरभन्दा बाहिर बढी खान्छन्। भान्साभन्दा डिनर रुचाउछन्, चियापानभन्दा ककटेल पार्टी बढी आयोजना गर्छन्। यसले उनीहरूमा आधुनिकता ल्याईदिन्छ र कारोबारी मानिसको निम्ति त अनौपचारिक भेटको व्यवस्था पनि मिलाई दिन्छ। मेरो लोग्नेलाई मैंले अनगिन्ति यस्ता सामाजिक भेटहरूमा साथ दिएँ तर २/४वटा भेटहरूले भने मेरो जीवनामा ठूला प्रभाव छोडेर गए।

मेरो लोग्नेले उसका बैंसका दिनमा नै यति धेरै उन्नती गर्योै कि त्यही उन्नतीले उसलाई बुढौतीको हाराहारीमा उभ्याई दियो। जसले बिस्तारै बिस्तारै स्वयम् आफूले सम्पन्नता कमाएका थिए अथवा जो पदको माथिल्लो दर्जामा पुगेका थिए उनीहरूको अधबैंसेबाट पनिमाथि उक्लिसकेको हुन्थे र मेरो लोग्नेको सम्पर्क तिनै मानिसहरूसँग बढी हुन्थ्यो। उसको उमेरका दौंतरीहरू त कि असम्पन्न भएकाले ऊद्वारा हेपिएका हुन्थे कि सम्पन्न बाबुका अनुभवहीन सन्तान भएर ऊ द्धारा सेपिएका हुन्थे। त्यसैले भोज भतेर, पार्टीमा मैंले मेरी आमा सरहका आइमाईहरूसँग समय कटाउनु पर्थ्यो र मेरा बाबु सरहका लोग्नेमानिसहरू ‘भाउजू’ को साईनो लाएर कुरा गर्न आउँदा आफ्नो उमेरलाई बिर्सिदिनु पर्दथ्यो। अझ त्यसमा पनि तिलचामले स्वास्नीको चाया परेको अनुहार देख्दा देख्दा वाक्क भएका ती मस्त बुढेसकालमा सौखिनहरू एउटी वीस बर्ष पनि नपुगेकी रूपसीको अनुहार हेर्दै ओठ चाट्न लागेको देख्दा आफू नौटङ्की मेलाकी ‘बाई’ भए जस्तो लाग्दथ्यो मलाई। हुन त मेरो लोग्नेलाई पनि त्यस्तो लाग्नु पर्ने हो तर ऊ पर्योद व्यापारी मानिस र उसका त प्रत्येक पाइलाहरू नाफा र नोक्सानका हिसाव गरेर चालिएका हुन्थे र स्वास्नी पनि त्यही नाफा र नोक्सानमा प्रदर्शित हुने वस्तुभन्दा पर हुन सक्दिनथी। उच्च तहका मानिसहरूसँग उठबस हुने हुनाले उमेरले मात्र होइन सामाजिक मर्यादाले पनि मेरो लोग्नेको स्थान वास्तविक उमेरभन्दा धेरैमाथि थियो। उसको भोज, भतेर, पार्टीमा उच्च सरकारी पदाधिकारीहरू, राजनितिज्ञहरू, कुटनैतिक आयोगका सदस्यहरू, उद्योगपतिहरू हुने गर्दथे र ती सबै नै उसको सम्पत्तिको धागोमा उनिएका हुन्थे र कहीं न कहीं नाफा नोक्सानमा गाँसिएका हुन्थे। विचारधारा र दायित्वमा जतिसुकै वाम या दक्षिण पन्थी भए पनि सबैले मेरो लोग्नेलाई कमाउनमा सह्योग नै गर्दथे र ऋण, चन्दा, सह्योग आदिको रूपमा सहायता पनि पाउँथे। ‘पैसा गनाउदौ’ भनिने रुसी लोकोक्ति या ‘टका धर्म टका कर्म’ भनिने आप्तवचनको उपयोग मेरो लोग्नेले रामै्रसँग गरेको थियो। एकै जातका चरा मात्र एउटा बथानमा अटे जस्तै एकै चरित्रका मानिसहरूको मात्र मित्रता हुदोरहेछ। मेरो लोग्नेकोमा आउनेहरू विपरित आस्था र व्यवसायका भए पनि सबै नै मेरो लोग्नेसँग मिल्दो साझा चरित्रका थिए। बाहिर आफूलाई जतिसुकै सन्त, महन्त या नैतिकवान देखाए पनि नैतिकहीनताको तुस प्रत्येकको छातीभित्र हुन्थ्यो। धेरै थोरै सबैले रक्सी खान्थे। धेरै थोरै सबैले परस्त्री चाहन्थे र सबैले सम्पत्तिको लागि धेरै थोरै केही नियत विगार्न मिल्छ भनिहाल्थे। दिनभर सबैको आँखामा छारो हाल्थे र रात परेपछि आफैं आँखा चिम्ली दिन्थे।

राजवीर त्यही समाजको उच्च पदाधिकारी थियो। हुन त त्यो व्यक्तिको नाम राजवीर होइन तर मरिसकेको मानिसको साँचो नाम दिएर म प्रतिवाद गर्न आउन नसक्ने मानिसप्रति अन्याय गर्न चाहन्नँ। त्यसैले मात्र राजवीर नाम दिएकी हुँ मैंले। ऊसँग मेरो लोग्नेको ठूलो मित्रता थियो। त्यो भौतिक बजारमा मित्रताको घनिष्ठता पनि भौतिक स्वार्थको गरिष्ठतामा आधारित हुन्थ्यो। मेरो लोग्नेको पनि जोसँग जति ठूलो स्वार्थ हुन्थ्यो ऊसँग त्यति नै ठूलो मित्रता हुन्थ्यो। राजवीरसँगको सम्बन्ध मेरो लोग्नेको अति अन्तरङ्ग भएकोले ऊसँगको स्वार्थ पनि धेरै ठूलो थियो भन्ने मेरो धारणा भएको हो।

राजवीरसँगको परिचय मेरो विवाह भएको केही दिनपछि भएको थियो। उसको उच्चपदिय दायित्व या मर्यादाले मेरो विवाहमा आउन समय दिएन या रोक्यो, त्यसैले मेरो लोग्नेले राजवीरको लागि सीमित सहभागीहरू भएको भोज या पार्टीको आयोजना गरेको थियो। आफूलाई ठूलो ठान्ने त्यो भोजका सहभागी सबै नै राजवीरको अगाडि धनुषाकार भएर झुम्मिएको देख्दा उसको मर्यादा र महत्वको आभास भएको थियो मलाई।

राजवीरले आफ्नो आशन ग्रहण गर्ने बित्तिकै मेरो लोग्नेले मलाई उसको अगाडि उभ्याएर भनेथ्यो – “मेरी श्रीमती हजुर। सरलाई नमस्कार गर।”

मैंले दुबै हात जोडेर अभिवादन गरेँ। मेरो अभिवादन हलुकासँग स्वीकार गरेर उसले मुस्कुराउँदै ममा आँखा गाडेर भन्यो – “बधाई छ तिमीलाई, समीर, बधाई। तिम्रो चाख र छनौटले जहिले पनि सबैलाई पराजित गरेको देखेको थिएँ। यस पालि त झन् ठुलै बाजी हात पारेछौ। अनि के नाम राख्यौ नि श्रीमतीको?”

त्यो बेला नै मलाई चसक्क लागेथ्यो – ‘यसले पनि स्वास्नीमानिसलाई मेरो लोग्नेलेभन्दा बढीसम्मान गर्दैन होला।’

“हजुर। रजनी यिनको नाम।” – मेरो लोग्नेले कम्मर झुकाएर जवाफ दियो।

“बढिया रहेछ, बढिया।” – उसले मबाट आँखा पन्साएर मेरो लोग्नेलाई हेर्दै भन्यो र फेरि थप्यो – “कहिले कहीं हामी कहाँ पनि लिएर आऊ न यसो।”

“भईहाल्छ नि, हजुर। आउछौं नि।” – स्वीकृति दियो मेरो लोग्नेले।

त्यो जमातमा नौली थिएँ म, त्यसैले उसले मलाई पो ‘लोग्नेलाई लिएर आऊ न एकपल्ट’ भनेर, अनुरोध न सही, सम्बोधन गर्नुपर्ने थियो। शायद त्यो मर्यादित हुने थियो होला तर उसले गरेन। एउटी आइमाईसँग, अझ एउटी केटीसँग, त्यस्तो अनुरोध गर्नु अमर्यादित ठान्यो होला अथवा उसमा व्यवहारिक भद्रता आएन।

क्रमशः नशाको रङ चढ्दै गयो र स्वास्नीमानिसहरू अलिअलि गर्दै खुल्दै गए। उनीहरूको स्वर चराको बथानमा जस्तै चिरविर चिरविर सुनिन थाल्यो। थालेकी भए त १/२ घुटका म पनि खाइसक्ने थिए होला तर लोग्नेले नपिउन पूर्व निर्देशन दिएकोले मैंले त्यसमा जोड गरिनँ। लोग्नेसँगको दम्भका सामु आफू कम नहुन लोग्नेसँग बसेर माते पनि त्यो नचिनेको जमातमा आफूलाई मताउन मन भएन।

समय बित्दै गएपछि राजवीरलाई अभिवादन गरेर पर बसेका स्वास्नीमानिसहरू ऊ नजिकिदै गए र उनीहरूलाई ठाउँ दिनु परेकोले कतिपय लोग्नेमानिसहरू पछि परे।

“हजुर। अस्ति नै मैंले हजुरलाई बिन्ति चढाएकी थिएँ। त्यो मेरो भदाहालाई कतै भए पनि अल्झाई दिनु पर्योब। साह्रै बरालियो आमाबाबुले थाम्नै नसक्ने गरी।” – एउटीले आफ्नो भनाई अघि सारी। उसको जिब्रो मात्र बोलेको होइन, उसको अनुहार, आँखा। स्वर भावभङ्गिमा सबै नै बोलेका थिए।

“ए , त्यो, तिमीले भनेको। म गरिदिइहाल्छु नि। अहिले अलि ठाउँ मिलेको छैन।बरूयसो गर न, बलराम। कहां कहाँ ठाउँ खालि छ? त्यो खोजेर मलाई भोलि देऊ त।” – राजवीर एउटालाई लक्ष गर्दै थप्यो।

थुप्रै सुन्यो यस्ता याचनाहरू राजवीरले।

त्यो समाज एकदम एक अर्कोसँग परिचित थियो चाल-ढाल, रङ्ग-ढङ्ग सबैले। त्यो बथानमा सबैको रङ एउटै थियो एक अर्कासँग टपक्क मिल्ने। बोली व्यवहार मिल्दथ्यो, कुरा गर्ने विषयवस्तुहरू समान थिए उनीहरू बीच। राजवीरको खातिरसम्मान बढी भए पनि ऊ त्यही जमातको सदस्य हो भन्ने प्रस्ट छुिट्टन्थ्यो। केवल त्यो समाजको नेतृत्व र सञ्चालन उसले गरे जस्तो लाग्दथ्यो। कृष्ण ऊ थियो अरू गोप गोपिनी जस्ता देखिन्थे। ऊ अर्जुन जस्तो देखिन्थ्यो भने अरू रथि, उपरथि र रिसल्ला जस्ता। त्यो समाजका लोग्नेमानिसहरू रक्सीले मातिँदा पनि सम्पत्ति र पैसाको हिसाब-किताब गर्न छाड्दैनथे र त्यहांका बैंश ढलेका स्वास्नीमानिस गालाको चाउरी श्रृंगारले छोपेर सारीको सप्कोलाई आफ्नो मोटो कटिप्रदेशबाट सकेसम्म तल खसालेर हाँसोका खित्कासँग काम चाहनाका आवेगहरू व्यक्त गर्दथे। आफू बाहेक अरू सबै नैतिकहिन र भष्ट्राचारी ठान्ने त्यो जमातका संरक्षक लोग्नेमानिसहरू र गहना, लुगा, शृङ्गार, सिनेमा र अनुपस्थित कसैको बद्ख्याइँमा सीमित हुने आइमाईहरू अभ्यस्त थिए त्यहाँको भाषासँग र उनीहरूको चर्चा पनि बढी भाव भङ्गीमामय हुन्थ्यो। तर दुवै थरी जहाँ जसरी भए पनि राजवीरको बढाइँमा अन्त्य गर्थे आफ्ना निस्कर्ष। त्यसैले मलाई लाग्यो राजवीर हुनुको कुनै विशेषता छ र उनीहरू बीच राजवीरको निगाह पाउन होडबाजी चलेको छ।

करबलले परेको अलिकति रक्सीले मलाई बुहारीझार भएर बस्न त अवश्य दिएन तैपनि छलफलका समान विषयवस्तु नभएकोले मेरा कुराकानी ‘छ, छैन’, ‘हो, होइन’ जस्ता शब्दहरूमा नै सीमित थियो र कसैले पनि मसँग त्योभन्दा पर पुग्ने प्रयास गरेन।

राजवीर उठ्यो र क्रमशः एक पछाडि अर्को गर्दै सबैसँग घुम्दै कुरा गर्न लाग्यो। उसको पछाडि २/४ जना लोग्नेमानिस उभिएका हुन्थे र स्वास्नीमानिस ऊ अगाडि आउँदा अदवसाथ उभिन्थे। शायद रमाइलो कुरो नै गर्थ्यो होला ऊ नत्र उसको भनाई सुनेर सबै आइमाई नहास्नु पर्ने हो। मेरो छेउमा ऊ आइपुगेपछि छेउका सबै आइमाई उठे र केही क्षण उठँू र नउठँूको दोधारमा परे पनि र मन नहुँदा नहुँदै पनि लोग्नेको निम्ति उठी दिएँ।

उसले नजिकैबाट मतिर हेरेर सबै आइमाईलाई लक्ष गर्दै भन्यो – “तिर्मीहरूले यिनलाई राम्रोसाथ दिएनौ जस्तो छ। यत्रो साँझ भरि उनले एक पल्ट पनि बोलेको, हाँसेको देखिनँ।”

सबै आइमाईका अनुहारमा कटु मुस्कान देखा पर्यो । मेरो लोग्नेले भने तुरून्तै जवाफ दियो – “घरकी मालिक्नी उसैले पो सबैसँग हाँस्न, बोल्न पर्ने हो, हजुर, तर उसको कम बोल्ने आदत छ। बिस्तारै बानी लाग्दै जाला नि।”

“हुन त शुरू सुरुमा सबैलाई यस्तै भएको थियो नि। होइन र?” – राजवीरले सबै आइमाईलाई लक्ष गरेर भन्यो।

“हुन त आज पनि त त्यस्तै नै भएको थियो नि तर हजुरको नजर हामीमा पर्यो नै कहाँ र?” – एउटी छरितीले ठट्यौलो पाराले जवाफ दिई। सबै जनाले हाँस्दै उसलाईसाथ दिए।

बाह्र बजेतिर राजवीर विदा भएर गयो। त्यसपछि त महफिल एक घण्टा पनि चलेन।

मेरो दस्तावेज

मेरो लोग्ने राजवीरको दौंतरी होइन। पचास नाघिसकेको राजवीर उसको दोंतरी हुन सक्ने कुरा पनि भएन। ऊ त उसको मित्रमा गनिन्थ्यो र सो मित्रता केमा आधारित थियो? मैंले अघि नै भनिहालें। राजवीरसँग मेरो लोग्ने जहिले पनि ‘घनिष्ठ नाता छ’ भन्न भने छोड्दैनथ्यो। आखिर उनीहरू बीच नाता थियो के त? जुन मानिसका आमा बाबुसम्ममा पनि प्राकृतिक नाता बाँकी रहेन त्यो मानिसका नाता स्वयम् नातामा आधारित हुन त सक्दैन। फेरि मेरो लोग्नेले जतिसुकै ठूलो आफन्त बन्न र बनाउन खोजे पनि राजवीरले त्यो प्रयासलाई सामान्यभन्दा एक कन्चो पनि बढी नठानेकोले त्यो नाता कृत्रिम भएको प्रष्ट थियो तर आफूद्वारा निर्मित मिथ्या संसारमा बाँच्न अभ्यस्त मेरो लोग्नेको निम्ति विपक्षको त्यस किसिमको व्यवहारले कुनै फरक पार्न सक्दैनथ्यो। जाँडले टन्न मातेको बेला स्वास्नी या नोकरमाथि गरिने दुर्व्यवहारमा समेत आफ्नो उपलव्धिको एउटा पूर्व निर्धारित लक्ष हुन्थ्यो भने शक्तिशाली र सम्पन्न राजवीरसँगको नाता त कोख दिने आमाभन्दा अझ नजिकको थियो र स्वार्थ दुधको धाराभन्दा अझ गहकिलो थियो। त्यसैले बाहिरबाट हेर्नेको निम्ति त्यो सम्बन्ध दुध र पानी जस्तै नछुिट्टने थियो।

मानिसहरू भन्ने गर्दथे – “के मोहनी लाएको छ समीरले राजवीरलाई कुन्नि? उसले भनेको कुरा राजवीरले खान्छ। कहिले पनि ‘नाइँ’ भन्दैन।”

मेरो लोग्ने र राजवीरको सम्बन्धलाई यति बलियो ठान्थे उसका समकालीनहरू तर उनीहरूका बीचमा भएको खास व्यवसायिक सम्बन्ध के थियो? त्यो कसैले मेरो सामु भनेको थिएन। मैंले त केवल बुझेंकी थिएँ कि मेरो लोग्नेको छिटो प्रगतिका सह्योगी मध्ये राजवीरको सहयोग र कृपादृष्टि मूल स्रोत हो। समयले यो रहस्य पनि मेरो सामु एक दिन खोलिदियो।

मेरो लोग्ने बहिर्मुखी हो, अझ अति बहिर्मुखी। ऊ कुनै विषयवस्तुलाई चिन्तन गर्दै झोक्राउनुको साटो खटिएर बाहिर कार्यान्वयन गर्न थाल्दछ। उसको सफलताको रहस्य पनि त्यही हो। आवश्यक पर्दा शत्रुलाई मित्र बनाउन र मित्रको गाला चड्काउन उसलाई समय पनि लाग्दैन र ऊ धक पनि मान्दैन। विपत्तीमा पनि ऊ धैर्य छाड्दैन, दुःखमनाउ गर्दैन। उसको निर्णयात्मक क्षमता पनि अचुक छ तर त्यही निर्णयात्मक क्षमता, धैर्य र सफल व्यक्तित्व एक दिन धरमराएको देखेर सोचेथेँ मानविय कमजोरी उसको पनि रहेछ। तर त्यो त स्वास्नीलाई पनि बेच्न सक्ने स्वार्थी अभिनय रहेछ मेरो लोग्नेको।

मेरो बिहे भएको चार महिना चल्दै थियो र केही दिनदेखि मेरो लोग्नेमा परिवर्तन आएको थियो। विहानदेखि बेलुकासम्मको दिनचर्या पहिले जस्तै यथावत भए पनि परिवारका सदस्य नोकर चाकर विशेष गरेर मसँगको व्यवहारमा परिवर्तन आएको थियो। म सधैं ‘मगन्तेकी छोरी’ का नामले विभुषित हुन्थेँ र मेरो छटपटाएर निस्कन खोज्ने प्रयासलाई ‘पोइल जान खोजेकी’ भनेर आरोपित गरिन्थ्यो। केही समयदेखि सो व्यवहार हटेको थियो। उसले मलाई मेरै नामले सम्बोधित गर्दथ्यो र बाहिर घुम्न जान पनि प्रोत्साहित गर्दथ्यो। त्यो बेला पनि म सधैं झैं उसले रक्सी खाने बेलामा साथमा त बसिदिन्थेँ तर ऊ सधैं झै रक्सी खुवाउन बलजफती कर गर्दैनथ्यो। ऊ आफ्नो कुरा भट्याउथ्यो, म सुनेर बसिदिन्थेँ। एक दिन उसले भन्यो – “बुझ्यौ? यसले यसरी किन खाएको होला? भनी ठान्दी हौ तर तिमीलाई के थाहा मलाई कस्तो पिर परेको छ भन्ने? यस्तै पीरले गर्दा त हो नि खाएको मैंले।”

मेरा बाबुले मेरी आमालाई खुशामद गर्न लागेको बेला त्यसै भन्थे। त्यसैले मलाई लाग्यो ‘पिउन पनि त वहाना चाहियो’ तर मुखले केही पनि भनिनँ। मेरो लोग्नेले थप्यो – “केही नभन है मलाई। रो कुरा बुझी देऊ, है।”

जसले सुहागरातमा पिएकोमा क्षमा मागेन, त्यही व्यक्ति त्यसरी क्षमा याचनामा पुगेको देखेर चकित भएँ म। मुखले त यति मात्र भने – “आफ्नो जिउले धान्ने त खान भइहाल्छ नि।”

“स्त्रीमा श्री, किर्ति, वाक्, मेधा, धृति, स्मृति, क्षमा म हुँ।” – योगेश्वर कृष्णाका यी उद्गार त्यसै निस्किएका होइनन्। विश्वका सर्वोत्कृष्ट वस्तु, जीव, निर्जिव, क्षर, अक्षरमा आफ्नो अंश भएको दावी गर्दा गर्दै उनीले यो पनि दावी गरिदिए। हुन पनि आगो लाएर मार्न खोज्नेलाई दुई थोपा जाली आँशु झार्दा ऊ क्षमा गरिदिन्छे। ‘माया पाइनँ’ भन्दै ऊसँग रोई टोपल्ने सातवटी स्वास्नीको लोग्नेको किरियामा विश्वास गरेर माया दिइदिन्छे। घिनलाग्दो शत्रुको बच्चालाई दयाकी प्रतिमूर्ति भएर छातीको दुध चुसाउन सक्छे। श्री, किर्ति, वाक्, मेधा, धृति, स्मृति, क्षमा जस्ता गुण त मसँग थिएनन् र छैनन् ता पनि लोग्नेको पीडाबोधक स्वरमा मलाई सहानुभूति अवश्य भयो, चाहे त्यो सहानुभूति कुनै पनि असम्बन्धित व्यक्तिको दुःखप्रति हुने सहानुभूतिजस्तै किन नहोस् !

“यो एउटा काम बन्यो भने म अन्तरराष्टि्रय स्तरमा काम गर्न सक्ने व्यवसायिमा गनिनेछु। कतै विगारीदिन्छन् कि कुकुर मोराहरूले भन्ने मात्र हो। तर म पनि यसै कहाँ दब्छु र? राजवीर दाइको चित्त बुझाउन्जेल दश हातको टाँगोले छुँदैन मलाई।”

ऊ भन्दै गयो – “बुझ्यौ? राजवीर दाइ त मेरा मालिक, मेरा देवता हुन्। मेरो निम्ति जे पनि गरिदिन्छन् उनले। मेरा प्रभुलाई खुशी राख्नु पर्छ मैले पनि, प्रभुको आज्ञा पालन गर्नुपर्छ।”

जुन विषय वस्तुमा ज्ञान थिएन, त्यो बारे म केही बोल्न सकिनँ। सकेकै भए पनि बोल्ने थिइनँ होला। अपरिचित व्यक्ति र विषयप्रति राय दिन म यसै पनि असजिलो मान्छु। “भोलि हामीलाई राजवीर दाइ कहाँ निम्तो छ, बेलुका खानलाई।” – निकै वेर मौन भएर मेरो लोग्नेले भन्यो।

“म नगए हुँदैन? भेट अस्ति नै भइहाल्यो।” – मैले राजवीरको सामु पर्ने असजिलोपन पन्साउन भनेँ।

“कहाँ हुन्छ र तिमी नगएर? झन् तिम्रो लागि नै भनेर दिइएको भोज। त्यस्तो पनि कहीँ हुन्छ र? तिमी नजानु भनेको त बेहुली बिनाको वहुभतेर भई हाल्यो नि।” – मेरो लोग्नेले मेरो विरोधलाई स्वीकार गरेन।

शायद मेरो अनुहारमा विरोधको भावना देखियो होला। त्यसैले उसले थप्यो – “मेरो मालिक भनेपछि तिम्रो पनि मालिक । जो अन्नदाता हो, सुखदाता हो र अझ सर्वस्व दाता हो त्यही नै मालिक हो र ‘स्वामिनम् सर्व भावेन’ सेवा गर्नु शास्त्रोक्त वचन हो। सेवा नै धर्म हो।”

भावुक भएको थियो मेरो लोग्ने आफ्नो चरित्रको विपरित। असमान स्वभावका मानिसका बीचमा त्यस्तो भावुकताले मलाई छुन सक्छ वा सक्दैन उसलाई प्रस्ट ज्ञान थियो तैपनि ऊ भावुक बनिरहेको थियो मानौ अपराध बोध भएको थियो उसलाई, मानौं मालिकको दयाको मोल चुकाउन सकेको थिएन उसले र त्यो दयाको बोझ ममाथि पनि राख्न चाहन्थ्यो। उसको त्यो मुर्खतापूर्ण प्रयास देखेर मलाई हाँसो उठ्यो र अगाडि उब्जिएको दया पनि सेलाउँदै गयो।

निकै रात बितुन्जेल पनि पिई नै रह्यो मेरो लोग्नेले तर सधैं झैं कुनै उदण्डता देखाएन। मैंले थाहा पाएँ – आफूले नचाहँदा त मेरो लोग्नेलाई रक्सीले पनि मताउन सक्दो रहेनछ। उसको आत्मनियन्त्रण देखेर म छक्क परेँ।

त्यो साँझ पुरा समय नै मेरो लोग्नेले एउटा दुःखान्त नाटकको नायकको अभिनय गर्यो । उसले आफ्नो जीवनका कटु अनुभवहरू वृत्तान्त गर्योो, आफू एक्लो र निरिह भएको प्रमाणित गर्न खोज्यो र राजवीरको गौरवगाथा गाएर ऊ एउटा मात्र आफ्नो सहारा भएको कुरा व्यक्त गर्यो । राजवीरको अगाडि मलाई त उसले आफूले निगाह गरेर एउटा स्थान दिएको जीवको उपनाम दिएर आफ्नो उक्तिको पुच्छरमा मात्र जोड्यो मानौँ राजवीरको सामु स्वास्नी पनि केही होइन।

भोलि पल्ट रातको पहिलो प्रहर बितेपछि हामी लोग्नेस्वास्नी राजवीरको निम्तोमा पुगेका थियौँ। भद्रजनको भोज नै यस्तै समयतिर शुरू हुने हुनाले त्यो नौलो कुरा पनि थिएन। हामी पुग्ने बित्तिकै पालेले गेट खोलिदियो र हाम्रो गाडी पोर्टिकोमा गएर रोकियो। स्वागतार्थ नोकर आयो र हामीभित्र लगियौँ।

सम्पन्नता त्यहाँ जताजतै झल्कन्थ्यो तर सुनसान थियो त्यो सम्पन्नता। हुन पनि जहाँ स्वास्नी आफ्नो स्थान नपाएर बाहिरन्छन्, जसका छोराछोरी अझ ठूलो सम्पन्नता खोज्दै विदेसिन्छन् त्यो घरको लोग्नेमानिस एकलकाँटे हुनु र घर मसान जस्तै शून्य हुनु स्वनिर्मित नियति हो। बाहिरिया मानिसको आवतजावतले त्यो शुन्यता पन्साउन सक्दैन। स्वचालित रोबट जस्ता नोकर चाकरले पनि लोग्ने, स्वास्नी, छोरा, छोरी नातागोताको रित्तो स्थान पूर्ति गर्न सक्दैनन्। त्यसैले त्यो घरभित्र पस्दा त्यहाँ परिवारका सदस्यको न्यानो आतिथ्य थिएन। नोकरद्वारा गरिने चिसो अभिवादन मात्र थियो।

मैंले सोचेकी थिएँ त्यो घरभित्र थुप्रै पाहुनाहरू हुनेछन् तर त्यहाँ त हामी मात्र उपस्थित थियौँ। के राजवीरका हामी त्यत्ति निकटस्थ थियौँ त हामीलाई मात्र बिशेष भोज दिन? यो प्रश्न मेरो मनमा उठेको हो तर यस्तो प्रश्न सोध्न सक्ने सम्बन्ध लोग्नेसँग मेरो थिएन। अत्यावश्यक कुनै कारण नपरी म लोग्नेसँग प्रश्न गर्दिनथेँ र मेरा उत्तरहरू पनि एक वाक्यमा टुंगिन्थे, अझ कति समयमा त एक शब्दमा नै सीमित हुन्थे।

हामी लबीमा पुगेपछि नोकरले भन्यो – “हजुरहरू भित्री वैठकमा नै सवारी होस् न।”

मेरो लोग्ने त्यो घरमा कैयौँ पटक आइसकेकोले उसलाई भित्री वैठकमा पुग्न कुनै निर्देशन या पथप्रदर्शनको आवश्यकता परेन। नोकर चाकर पनि ऊसँग यति अभ्यस्त भइसकेका थिए कि उनीहरूले उसलाई विशेष सम्मान नगरी घरको सदस्यसँगको जस्तै व्यवहार गरे। उनीहरूलाई हामी आउँदैछौं भन्ने ज्ञान पनि अगाडि नै थियो होला।

हामी भित्री बैठकमा प्रवेश गर्ने बित्तिकै एउटा ग्लास अगाडि राखेर सोफामा बसेको राजवीरले हाम्रो अभिवादन फर्काउँदै भन्यो – “ए आईपुग्यौ तिमीहरू ! ल बस, बस। म त तिमीहरूले ढिलो गर्यौ” भनेर यसो ग्लास समाएर बसेको थिएँ।”

हामी बस्यौँ। राजवीरले उठेर कुनामा भएको सानो बारतिर जाँदै भन्यो – “तिमीहरूलाई के नि?”

मेरो लोग्नेले ऊतिर लक्ष गर्दै जवाफ दियो – “मेरो त उही पुरानो सधैंको। यिनीलाई भने केही हल्का।”

“वाईन छ मसँग, फ्रेञ्च रेड।” – ग्लासमा रातो वाईन भर्दै राजवीरले जवाफ दियो।

वाईन मेरो अगाडि ठडियो र मेरो लोग्नेले ह्विस्की लियो।

मैले भनेँ – “म त खान्न।”

राजवीरले बोल्न नपाउँदै मेरो लोग्नेले भन्यो – “चाख न अलिकति। रक्सी होइन, वाइन हो।”

राजवीरले सोफामा बसेर ग्लास उठाउदै भन्यो – “तिमीहरूको दाम्पत्य जीवनको सफलताको निम्ति।”

ग्लास मैंले पनि उठाए र अलिकति स्वाद लिएँ। गुलियो भए पनि रक्सीले आफ्नो गन्धको धर्म जनाई हाल्यो।

समाजका सबै सम्पन्नहरूकोमा जस्तै राजवीरको घरभित्र पनि चार तहको विभाजन थियो। पोर्टिकोलाई धर बाहिर गनेपछि लबीबाटभित्र भनिन थाल्थ्यो। अपरिचित र सामान्यजनसँग त्यहीँ भेटघाट हुन्थ्यो र उनीहरूको पहँुच त्यहीँसम्म थियो। भद्र मान्यजनहरूलाई बैठकमा पुर्याहइन्थ्यो। त्यहाँ पिउनको निम्ति बार थियो, खानाको निम्ति डायनिङ हल। घरभित्र गरिने भोज त्यही बैठकमा गरिन्थ्यो। त्योभन्दा भित्र थियो भित्री बैठक बाहिरी बैठकभन्दा सानो तर सुविधा भने सबै भएको। त्यसलाई घर मालिकको निजी बैठकभन्दा हुन्थ्यो। अत्यन्त नजिकका, निजि या अति गोप्यजनहरू मात्र यो वैठकसम्म आइपुग्थे, मूल वैठकबाट भएर या पछिल्लो ढोकाबाट भएर। त्यही बैठकसँग जोडिएको अझभित्र राजवीरको सुत्ने कोठा थियो।

“शत्रु मोराहरूले साह्रै दुःख दिए, हजुर।” – लोग्नेको कुरा सुनेर म झस्किएँ।

उनीहरू धेरै समयदेखि कुरा गरिरहेका थिए भने म आफनै सुरमा थिएँ। ‘ल जाओस् एक पल्ट फेरि’ भन्दा म ग्लास उठाएर मुखमा लाउथेँ. र त्यतिले नै पनि मेरो वाइन एक चौथाइ घटिसकेको थियो।

“किन आत्तिन्छौ, समीर? दशा नलागोस्, शत्रु लागेर के हुन्छ र?” – राजवीरले ढाडस दियो।

“हो हजुर। हजुरले यसो मर्जी हुँदा अलि ढाडस आउँछ। त्यो एउटा काम भयो भने, हजुर, त्यसपछि त कोही बजियाले पनि केही लछार्दैन। त्यसपछि भने जितिन्छ।” – मेरो लोग्नेले अनुरोध गर्योि।

“मिल्छ, मिल्छ त्यो पनि। मैले भनेजस्तै मात्र गर्दै जाऊ न। मेरो सद्भाव त तपाइलाई छदैछ।” – राजवीरले जवाफ दियो।

अलिकति रक्सी थपिदै गयो। नमाते पनि झमझम हुन थालिसकेको थियो मलाई पनि। चमेना पनि भोज सरह थपिदै गयो।

रातको एघारौंको घण्टा चल्दै थियो। टेलिफोनको घण्टी बज्यो। राजवीर आफ्नो ठाउँबाट उठ्यो र रिसिभर उठायो।

“हेलो।” उताको स्वर सुनिएन।

‘हो, अँ, ठीक छ’ आदि भनेपछि उसले मेरो लोग्नेतिर फर्केर भन्यो – “अघि भएन, भएन भनेर गन्थन गर्दै थियौ नि। ल तिमी आफैं कुरा गर।”

मेरो लाग्नेले रिसिभर समाएर भन्यो – “हजुर, म समीर।” उताको सुनिएन।

“अनि, हजुर, अहिले नै? दश मिनटमा नै? हवस् नि, हजुर। त्यसो त कहाँ हुन्छ र? हजुरले मर्जी भएपछि भई हाल्छ। हुन्छ, हजुर, आएँ। दशै मिनटमा आएँ। “

मेरो लोग्नेले रिसिभर राख्यो र राजवीरतिर फर्केर भन्यो – “सम्झौतामा आज नै हस्ताक्षर गर्नुपर्ने भएछ। दुई घण्टापछि फ्लाईट छ रे। त्यो लिएर जानु पर्ने रे। निर्णय नै ढिलो भएर नि।”

“भयो। त्यही नै ठूलो सम्झ। ल बधाइ छ, बधाइ। गएर सही गरिहाल। रात रह्यो अग्राख पलायो। यहाँ त यस्तो पनि पो हुन्छ त।”

धपक्क बलेको जस्तो थियो मेरो लोग्नेको अनुहार। उसले मतिर हेरेर भन्यो – “रजनी ! तिमी अहिले यहीं बस्दै गर है। म त्यो सही गरेर आई हाल्छु।”

मेरो जवाफको प्रतिक्षा नगरी ऊ बाहिर निस्कियो र म ऊ गएको बाटो हेरेकी हेर्यै् भएँ।

कोठामा राजवीर र म मात्र भयौँ। निकै बेरसम्म् हामी दुबै केही पनि बोलेनौं। राजवीर रक्सीको चुस्की लिई नै रह्यो। म निहुरेर बसिरहें।

एकछिन्पछि उसले बिस्तारै भन्यो – “के भयो? एक्लै असजिलो लाग्यो मसँग?

म बोलिनँ। उसले फेरि भन्यो – “हेर जति सुकै असजिलो लागे पनि समीर नआउन्जेल त बस्नै पर्योय। त्यसैले असजिलोपन बिर्सेर सजिलोसँग बस।”

राजवीरको कुरा ठीकै थियो। समय, परिस्थिति र पात्र अनुसारको कुरा गर्न पोख्त थियो ऊ।

“मैले ‘सानी’ ठानेर ‘तिमी’ भनेको हुँ। समीरलाई पनि त्यसै भन्छु। त्यसमा त आपत्ति छैन होला नि तिमीलाई?” – उसले मतिर हेरेर सोध्यो।

“छैन , हजुर। किन आपत्ति हुनु र?” – मेरो मुखबाट निस्कियो।

“तिमी मानिस राम्री मात्र होइनौ, तिम्रो स्वर पनि रूप जत्तिकै राम्रो छ।” – राजवीरले चिप्लो घस्यो र चिप्लोले म आनन्दित नभए पनि लाज भने पक्कै लाग्यो।

राजवीरले सोध्दै गयो- मेरा माइती, आमा बाबु, दाजुभाई, दिदीबहिनी। म पनि क्रमशःः खुल्दै गएँ। अलि अलि गर्दै रक्सी पनि थपिदै गयो र बाह्र बजेतिर त रक्सीको अनुभव मलाई पनि हुन थालेको थियो तर मेरो लोग्नेको भने अत्तोपत्तो थिएन।

शायद मलाई रक्सी लाग्यो भनी ठानेर होला राजवीर कुराको सिलसिलामा नै मेरो छेउमा आएर बस्यो र मलाई अँगालोमा बाँध्न खोज्यो। मलाई केही रक्सी लागे पनि मैंले आफ्नो संयमित होस गुमाएकी थिइनँ र त्यसैले मैले उसलाई धक्का दिदै भनेँ – “तपाईँ झण्डै बाजे सरहको मानिसले यसो गर्न सुहाउँछ?”

मेरो चाला देखेर ऊ आफ्नो ठाउँमा बस्यो र गंम्भिर भएर भन्यो – “सुन, रजनी ! मैंले त सोचेको थिएँ तिमी विरोध गर्ने छैनौं। अहिले त लाग्छ या त तिमीलाई थाहा छैन या थाहा भए पनि नक्कल पारिरहेकी छौं। नक्कल पारेकी हौं भने, जानीराख, यसो गर्नुको कुनै अर्थ छैन। थाहा पाएकी छैनो भनेबरूभन म तिमीलाई सबै कुरा प्रस्ट गरिदिन्छु।” उसको भनाई गम्भिर थियो, त्यसैले मलाई भन्न कर लाग्यो – “साच्चै मलाई केही पनि थाहा छैन।”

राजवीरले मुस्कुराउँदै भन्यो – “तिमी केटाकेटी छौं, त्यसैले सत्यका सबै रूप चिनेकी छैनौ। पहिलो सत्य हो – स्त्री र पुरुष बीचको सम्बन्ध। यो एउटा आदि सत्य हो। ब्रम्हा र वाणी बीचको सम्बन्ध या इभ र एडम विचको सम्बन्ध। ती युगान्तकारी सम्बन्धहरू हुन्। त्यसैले त्यहाँ रूप, रङ्ग, उमेर, सौन्दर्य बल, दर्प कुनैको पनि अर्थ छैन। स्त्री र पुरुष हुनु मात्र आदिम सत्य हो र यौनाकर्षण मात्र एउटा नितान्त सत्य हो। तब तिम्रो र मेरो उमेर बाधा कसरी हुन सक्छ?”

मैंले विरोध गर्न खोजें। उसले रोकेर भन्यो – “थाहा छ मलाई तिमी के भन्छ्यौ भनेर तर त्यसको आवश्यकता छैन।

अब दोश्रो सत्य पनि सुन। यो संसारमा प्रत्येक चिजको मुल्य छ। यश, मर्यादा, रूप, यौवन, पद, शक्ति सबैको मोल छ। झन वस्तु त यसै पनि क्रयशिल छदैंछ। त्यसैले यो बजारमा तिम्रो रूप र यौवनको जस्तै मेरो पद र शक्तिको पनि मुल्य छ। जसरी पद र शक्ति नहुदा तिमी निकृष्ट ठहरिन्नौ, रूप र यौवन नहुँदैमा म अयोग्य कसरी हुन सक्छु?” राजवीरको तर्क ठीकै देखिन्थ्यो तर मसँग अरू पनि तर्क थिए र मैले भनेँ – “हेर्नोस् म विवाहिता हुँ। हामीले अर्काप्रति आस्थावान रहने वचन दिएका छौं। लोग्ने र स्वास्नीका बीचमा आस्थ्ााको विश्वास रहेन भने दाम्पत्यको अर्थ रहँदैन। मेरो लोग्ने एक छिन् अनुपस्थित हुंँदैमा तपाईँले त्यो सम्बन्ध मेट्न खोज्नु तपाईँको अनैतिकता हो। तपाईँ हाम्रा आस्था मेट्न सक्नु हुन्न।”

मेरो कुरा सुनेर राजवीरले एउटा लामो घुड्को लियो र टेबलमा ग्लास राख्दै भन्यो – “त्यत्रो विश्वास छ तिमीलाई आफ्नो लोग्नेप्रति?”

“ऊ लोग्नेमानिस हो, अझ लोग्ने हो। स्वास्नीमानिसको र अझ स्वास्नीको संरक्षण गर्नु उसको पौरुषोचित दायित्व हो।”

“तर तिम्रो यो क्षण बेचिएको छ।”

“लोग्नेले स्वास्नी बेच्दैन।”

“तर यो बजारमा तिम्रो मोल एउटा ठेक्का बराबर छ। ठेक्काको कागज लिएर तिम्रो लोग्ने घर पुगिसक्यो।”

“तपाईँ मलाई झुक्याउन खोज्दै हुनुहुन्छ।”

मेरो तर्क सुनेर राजवीरले भन्यो – “तिमी लोग्नेलाई घृणा नगरे पनि माया गर्दिनौं। माया गर्ने लोग्ने स्वास्नीको सम्बन्ध यस्तो हुंदैन। तैपनि तिमी उसको पुरुषत्वको आस्थामा बाँधिन खोज्छ्रयौ। त्यो तिम्रो खुशीको कुरा हो। तर म शक्तिको पूजक हुँ। लुटेर लियो, खोसेर लियोभन्दा मलाई मन पर्छ। ढाँटेर लियो, ठगेर लियो भन्ने आरोप म सुन्न चाहन्नँ। त्यसैले बुझ राख। तिमी तिम्रो लोग्नेले मलाई सुम्पेर गएको वस्तु हौं।”

“अर्थात् ‘एउटा ठेक्कासँग साटिएको वस्तु हुँ’ भन्न खोज्नु भएको तपाईँले?” -मैंले दृढ भएर भनेँ।

“हो, मबाट प्राप्त हुने सहयोगको निम्ति कैयौँ आइमाई साटेको छ तिम्रो लोग्नेले। अति मन पर्यौप मलाई तिमी। यो पटक उसले तिमीलाई, आफ्नै स्वास्नीलाई, साटिदियो।” ऊ एउटी केटीसँग दब्न चाहेन।

“आरोप हो त्यो तपाईँको। मेरो लोग्नेलाई दलाल बनाएर फाइदा उठाउन सक्नुहुन्न तपाईँ। थाहा छ मलाई – लोग्नेले दलालीमा स्वास्नी दिदैन।” मेरो स्वाभिमान गर्जियो।

“लोग्नेप्रति त्यत्रो आस्था राख्न सक्नु गर्वको कुरा हो। तर के गर्छ्यौं? त्यो सत्य भइदिएन। ठीक छ, म तिम्रो जिज्ञासा पुरा गरिदिन्छु तर केवल मैंले तिम्रो गर्व तोडेको भनी नठान।”

राजवीर उठेर टेलिफोन छेउ गयो र रिसिभर उठाउदै भन्यो – “उ एक्सटेन्सनमा जाऊ र मैंले ‘उठाऊ’ भनेपछि उठाएर सुन।”

राजवीरेले ईशारा गरेपछि मैंले उठाएँ। उता मेरो लोग्ने बोलेको स्वर सुनियो।

“समीर ! घर पुग्यौ?” – राजवीरले सोध्यो।

“भरखरै आइ पुगें, दाई।” – मेरो लोग्नेको स्वर प्रस्ट छुट्टियो।

“अनि काम भयो त उता?”

“भयो भने पनि हुन्छ। अर्को पार्टीले सही गरेर दिइहाल्यो। मूल कपीमा सही भएकै छ। बाँकी त यहींको मानिसले गर्ने न हो।”

“ल बधाई छ, बधाई त्यसको त। अँ, अनि तिम्रो नासो माल मैले के गर्नु नि?”

“आज हजुर कहाँ नै काम चलोस्। भोलि बिहान म आफै फिर्ता लिन आइपुग्छु तर हजुरको लोभ नबढोस् नि।”

“बाधा विरोध गर्योो भने?”

“त्यो कसरी सुल्झाउने? हजुरले जानेकै कुरा हो। मैले सम्झाईरहनु पर्छ र?”

मेरो लोग्ने हाँस्यो। त्यो सुनेर म जडवत भएँ।

राजवीरको घर कम्पाउण्डबाट बाहिर निस्कदा रात अझै बाँकी थियो र सुनसान थियो त्यो मर्यादित पुरुषहरूको बस्ती। सडक उज्यालो भए पनि दायाँ बायाँ ओझेल परेको थियो र क्षितिज पनि मेरो भविष्य जस्तै अन्धकारमय थियो। राजवीरको घर छोडिसकेकी थिएँ र लोग्नेको घर जान मन थिएन। म त साटिदै, बेचिदै राजवीरको हातसम्म आई पुगेकी थिएँ र दिनप्रति दिन मेरो मोल बढिरहेको थियो। मेरो प्रेमीले मलाई कौडीको मोलमा पन्साएको थियो, मेरी आमाले आफ्नो सुख सयलसँग साटेकी थिईन्। मेरो लोग्नेले मलाई एउटा अन्तरराष्टि्रय ठेक्का बराबर मोलेको थियो भने राजवीर जस्तो पारखीले मलाई एउटा राज्यसँग भजाउन सक्थ्यो। आइमाई बेचिन त दासी या गणीका नै हुनुपर्छ भन्ने केही रहेनछ। ‘घरकी गृहल73मी’ भनिने आइमाई पनि सजिलैसँग बेचिदा रहेछन्।

राजवीरले भनेको थियो – “नजाऊ तिमी। म तिमीलाई सबै कुराको व्यवस्था मिलाइदिन्छु।” तर मलाई कुनै लोभ थिएन। म यति आहत थिएँ कि मेरो आत्मा पनि संज्ञाशुन्य थियो। मानिसको अनुहार नै पनि पीडादायक थियो मेरो निम्ति। म त्यहाँ पुग्न चाहन्थे, जहाँ मेरा आफन्त भनिनेहरूले मेरो लास पनि नदेखुन् र त्यो लासलाई आफ्नो स्वार्थको निम्ति लुछ्न नपाउन्।

कहाँ जाने? हिड्दा हिड्दै सडकको एउटा अध्याँरो कुनामा बसेर मैंले आफैंलाई आफैंले प्रश्न गरेँ। घरको सँघार नाघेर एक्लै कहिले पनि बाहिर ननिस्केकी केटीको निम्ति त्यो अँध्यारो अतिशय डरलाग्दो थियो तर त्योभन्दा भयानक र पीडादायक भएर निस्किदिएको थियो घर भित्रको स्थिति। त्यसैले मेरो निष्क्रमण अति कार्य ठान्दिनथेँ म। लोग्नेको घर त यसै काटिएकै थियो, आमाको घरमा पनि जान सक्दिनथेँ म किनकि उनको घरमा उनी मेरो उपस्थिति बेहोर्ने थिईनन्। उनको क्षमताले, उनको स्वार्थले त्यो आत्मसात गर्न सक्ने थिएन र मलाई साङ्लोले बाधेको कुकुरलाई झैं घिच्याएर मैले सधैं बिकिरहनु पर्ने मेरो लोग्नेको कोठीमा पुर्याकउने थिईन्।

उज्यालो हुने बित्तिकै मेरो लोग्ने र राजवीरका सिपाहीहरू चारैतिर मेरो खोजीमा छ्याप्छ्याप्ती छरिने थिए र प्रहरीले सबै नाकाहरू बन्द गर्न सक्ने थिए। त्यसैले मलाई अन्धकारको १/२ घण्टाभित्र नै जतिसक्दो टाढा पुग्नु थियो तर त्यो टाढा कति टाढा हो? भन्ने म स्वयम्लाई थाहा थिएन।

जब बिरालोभित्र थुनिन्छ उसले निस्कने खटप्वाल खोज्न थाल्छ। यो कसैले न सिकाएको जन्मजात गुण हो। म पनि बिरालो झैं थुनिएकी थिएँ र त्यो थुनाईबाट उम्कन म आफैले प्रयास गर्नु थियो। पहिलो त मैंले मेरो बाहिरी व्यक्तित्वलाई ओझेलमा राख्नु थियो जसले गर्दा मानिसको विशेष दृष्टि ममा नपरोस्। त्यसैले मैले मेरो आङमा भएको सबै गहना फुकालेर व्यागभित्र राखें। ती गहनाप्रति मलाई कुनै लोभ थिएन र ती सबै फेकिदिन पनि चाहेकी थिएँ तर त्यही ठाउँमा फाल्दा त्यसैल्याई पहिल्याएर मलाई लखेट्छन् कि भन्ने डरले त्यसलाई फाल्न सकिनँ। अति सम्पन्नहरूको ब्यागमा झैं मसँग ८/१० हजार रूपैंया थियो र त्यतिले कहीं त पुर्यांउला नि भन्ने लागेको थियो मलाई। टाढा भाग्ने साधनको निम्ति मैले खुट्टालाईभन्दा गाडीलाई नै रोजें र बसपार्कतिर लागें। बसपार्क कतातिर हो भन्ने थाहा भए पनि सधै कारमा हिडने मेरो निम्ति बाटो पहिल्याएर ठाउँसम्म पुग्नु गाह्रो त अवश्य नै थियो। त्यसमा पनि त्यो अन्धकारमा छेलिएर हिडनु पर्ने बाध्यता भएकोले म कसैसँग बाटो सोध्न पनि सक्दिनथेँ। म बसपार्क पुग्दा रातको अन्तिम प्रहर भइसकेको थियो। देवस्थान तर्फ जानेहरू उठेर नित्यकर्मतिर लागिसकेका थिए। बसपार्क कतातिर हो भन्ने मलाई थाहा भए पनि सधैं कारमा हिडनेको निम्ति बाटो पहिल्याएर ठाउँसम्म पुग्न त गाह्रो त भइ हाल्ने भयो। त्यसमा पनि त्यो अर्धरातमा भेटिएका मानिसहरूसँग छलिनुपर्ने अवस्थामा कसैलाई बाटो सोध्न पनि सक्दिनथेँ म। त्यसैले म बसपार्क पुग्दा कतिपय गाडीको घर्रघुर्र शुरू भइसकेको थियो र २/४ जना मानिस यता उता गर्न थालिसकेका थिए। हुस्सुले भिजेको बत्तिको धमिलो पंरकाशमा पार्क राम्रैसँग बिउँझी सकेको थिएन र जो बिउँझिएका थिए उनीहरूलाई पनि आलस्यले छोडिसकेको थिएन।

कहाँ जाने? मेरो गन्तव्य अनिर्दिष्ट र अनाम भएकोले पहिलो चलान हुने जुनसुकै गाडीमा चढे पनि हुने थियो। सहरको सीमाभन्दा पर जतिसुकै प्रश्न गरिए पनि त्योभन्दा अघि म प्रश्नबाट जोगिन चाहन्थेँ। त्यसैले म बसपार्क पुगेर पनि बत्तीको दोछाँयामा छेलिएर बसें र पहिलो गाडी चालु भएर स्टपमा आऊपछि खलासीको आँखा छलेर लुसुक्कभित्र छिरें र पछिल्लो सिटको कुनामा गएर कसैले नदेखिने गरी एकै पोको परेर सुतें।

अलि अलि गर्दै यात्रुहरू बसभित्र पस्न थाले। तिनीहरू मध्ये कसैले सोध्यो पनि – “लामो साँघु जिरीको बस होइन यो?”

“हो, हो, लामोसाँघु जिरीको हो।” – ड्राइभर, कन्डक्टर, खलासी या यात्रु मध्ये कसैले जवाफ दियो।

म आँखा चिम्लिएर टाउकोदेखि खुट्टासम्म ऊनी खाष्टोमा छोपिएर एकै पोको परेर सुतिरहें। समय बिस्तारै चिप्लदै थियो।

“गुरुजी ! यो पछाडीको बत्ती फेरि बलेनछ आज। छ्या, झन् बनाएको भनेको होईन?” – खलासी करायो।

“बनाएको त हो, फेरि बिग्रिएछ। त्यो बत्ती तँलाई किन चाह्यिो अहिले? पहिलेका यात्रु अगाडि बस्छन्, एकछिन्पछि उज्यालो भइहाल्छ। जिरी पुगेर हेरौंला नि” – ड्राईभरले उत्तर दियो। अगाडिको मधुरो बत्तीको उज्यालो पछाडि थोरै मात्र पुग्थ्यो र म कुनामा कोच्चिएर सुतेकी हुनाले कण्डक्टर वा खलासीको दृष्टि ममा परेन। छेवैमा आएर हेरेका भए देख्ने पनि थिए होलान् तर थोरै भएका यात्रु अगाडि नै बसेकाले उनीहरूले पछाडि आउनु पर्ने आवश्यकता परेन।

गाडी गुड्यो। मैंले आफ्नो खोष्टोभित्र नै लामो सास फेरें। आफू सुरक्षित भए जस्तो लाग्यो मलाई।

अनभिज्ञता पनि एउटो ठूलो तारणहार हो। यसले मानिसलाई भयबाट मुक्ति दिलाउँछ, मरणबाट पनि जीवनको आश ल्याउछ। नत्र म गाडी गुड्दा आफ्ना आततायीहरूबाट मुक्त भएको अनुभव गर्ने थिईनँ। मेरो लोग्ने र राजवीरलाई मलाई फेला पार्न त्यो गाडीको दशहजार चक्काले पनि किञ्चित फरक पार्दैन भन्ने बुझेकी थिइनँ मैले। त्यति अनभिज्ञ थिएँ म आफ्नै वरिपरिको वास्तविकताको।

भक्तपुर काटेपछि यात्रीहरूको खलबल बढ्दै गयो र स्वर झनझन नजिकै आउन थाले। लाग्यो – बस बिस्तारै भरिदै छ। तैपनि मेरो सिटसम्म कोही पनि आइ पुगेको थिएन। त्यति असजिलोसँग कहिले पनि सुतेकी थिइनँ तैपनि निदाइछु म। आफूलाई सुरक्षित ठानेपछि निन्द्राले पनिसाथ दिएछ मलाई।

“ए को त्यो त्यहाँ सुतेको? उठ्नोस्। कहाँ जाने?” – कण्डक्टर कराउँदा म बिउँँझएँ।

“जिरी जाने।” – मैंले खास्टो भित्रैबाट जवाफ दिएँ।

“खै भाडा ल्याउनोस् भाडा।” – कण्डक्टर कड्कीयो।

मैंले डराई डराई प्रश्न गरेँ – “पछि दिंदा हुंदैन?”

“हुँदैन, हुँदैन। पहिले भाडा दिनोस्। त्यसै भनेर कति जना लुसुक्क बीचैबाट भाग्छन्। धुलिखेल नाघिसक्यो, अब के को पछि नि? ” – कन्डक्टरको स्वर झन दह्रो भयो। उठन कर लागेपछि म खास्टो पन्साएर उठेर बसें। बाहिर झलमल उज्यालो थियो। मैंले छेवैको व्यागबाट सयको नोट झकेर हातमा दिएँ।

कन्डक्टर मपिट्ट ढाड फर्काएर कसैको टिकट काटदै थियो।

“खै, दिदी ! पैसा ल्याउनोस् पैसा।”

कन्डक्टर मतिर फर्कियो र मेरो अनुहार देखेर पक्क पर्योै। उसले ठानेको थियो – म त भरसक भाडा दिन नचाहने या पुरा भाडा दिन नसक्ने गालामा चाया र चाउरी परेकी एउटी बुढी हुनेछु। ‘म रूप, बैंश र वैभव सम्पन्न स्वास्नीमानिस हुँ’ भन्ने जानेको भए उसले त्यस्तो ताकेता गर्ने नै थिएन। त्यसैले उसको मुखबाट ‘हँ’ जस्तो अनियन्त्रित विश्मयात्मक आवाज निस्किहाल्यो।

“लिनोस्।”

भाडा थमाइदिएँ र उसले आफूलाई संयममा ल्याएर टिकट र फिर्ता पैसा दियो।

गाडी चल्दै गयो। कति यात्रहरू चढे, कति ओर्लिए। कहीं चिया खाए, कहीं चमेना गरे। म भने आँखा मात्र देखिने गरी खाष्टोले छोपिएर त्यही एक कुनामा बसिरहें। मेरो त्यस्तो स्थिति देखेर कन्डक्टरलाई दया लागेर हो वा ‘मौकाको फाइदा उठाईहालूँ न’ भनि सोचेर हो उसले मेरो नजिकै आएर भन्यो – “तपाईँ त चिया खानसम्म पनि निस्कनु भएन त।”

“हुने भए कसैलाई एक कप पठाईदिनोस् न।” – मैंले उसको सौहार्द्रताको फाइदा उठाउँदै भनेँ।

आफ्नो पौरुषता देखाऊनै पनि १७/१८ बर्षकी रूपसीले गरेको अनुरोधलाई त्यो २२/२५ बर्षको लक्का जवानले अस्वीकार गर्ने कुरा भएन।

लामो साँघुमा बस अडिएपछि कन्डक्टर करायो -“ल, चाँडो, चाँडो खानोस् है, चाँडो चाँडो। वीस मिनट मात्र रोक्छ गाडी।”

मानिसहरू धमाधम बाहिर निस्के। नखानेले पनि खुट्टा तन्काउनु आवश्यक ठानेर ओर्लियो।

“खै भाई ! तँ कहाँ यति नै हो यात्रु? एउटी तरुनी केटी त चढेकी थिइन?” – सबै बाहिर निस्केपछि कसैले सोध्यो। म झन दोब्रिएँ।

“खै त यति नै हो। किन? के भयो र अ.स.ई. साहेव? कस्ती तरुनी केटी?” – कन्डक्टरको स्वर सुनियो।

“साह्रै ठूलाकी छोरी कि बुहारी रे। घर छाडेर हिडिदिई रे। साह्रै राम्री छ रे, मोरा, १७/१८ बर्षकी तरुनी।” – अ.स.ई. ठट्टैसाथ जवाफ दियो।

कन्डक्टरको स्वर सुनिएन। शायद ‘भनौ कि न नभनौ’ को असमञ्जस्यतामा थियो होला ऊ। अ.स.ई. भन्दै गयो ।

– “कुन नाठासँग सल्केर कहाँ पुगिसकी? हामीलाई पो सास्ती। ल, भाइ ल। राम्रोसँग जा।बरूभरे आउँदा जिरीबाट अलिकति आलु ल्याईदेन।”

अ.स.ई.लेभित्र हेर्ने लेठो उठाएन। कन्डक्टरले के स्वार्थ हेर्योछ कुन्नि? मेरो पोल खोलेन। मेरो खोजाईको महत्व नबुझेर त्यसलाई त्यत्ति गम्भिरसँग लिएन अ.स.ई.ले। उसको त्यो भुल खुल्न गए जागिर जान सक्छ भन्ने बुझेको भए लापरवाही गर्ने थिएन उसले र त्यस्तो छलगर्दा दण्ड भोग्ने सम्भावना छ भन्ने जानेको भए कन्डक्टरले पनि खतरा मोल्ने थिएन।

लामोसाँघुबाट गाडी चलेपछि मैंले सन्तोषको लामो सास फेरें। घर बाहिर एक्लै त्यो मेरो पहिलो यात्रा थियो। त्यसमा पनि अनिश्चित गन्तव्यतिर हिडेकी थिएँ म। न मसँग यात्राको अनुभव थियो न बाहिरी संसारको ज्ञान, तैपनि मैले यति कुरा बुझें कि म कण्डक्टरको दृष्टिमा शङ्काकी पात्र भएकी थिएँ र अनुहार देखाऊने बित्तिकै पाइला पाइलामा शङ्कालुहरू निस्कने रहेछन् भन्ने ठानें। कन्डक्टरले मलाई अ.स.ईं.को हातबाट जोगाउने कारण मप्रतिको दया या सहानुभुति नभएर मेरो रूप र वैंश हो भन्ने मैंले बुझें र उसको मप्रतिको आकर्षणलाई उपयोग गर्ने निर्णय गरेँ।

गाडी चलेपछि कन्डक्टरले मेरो छेउमा आएर मलाई एक पुरिया बिस्कुट दिदै भन्यो – “तपाईँले केही खानु भएन, त्यसैले ल्याई दिएँ।”

“कति पर्योभ?” – मैले बिस्कुट समाउँदै सोधें।

“दश रूपैंया पर्योय। दामको त के कुरा भयो र?” – उसले असजिलो मान्दै जवाफ दियो।

“बस्नोस् त।” – मैले आदेशात्मक स्वरमा भने। आफूभन्दा धेरै ठूला लोग्नेमानिसको आदेश खाई आएकी मलाई त्यो आफ्नो दौतरी लोग्नेमानिसलाई आदेश दिन कत्ति पनि असजिलो लागेन।

ऊ एक हात पर बस्यो। मैंले पैसा झकेर उसको हातमा राखिदिंदै बिस्तारै उसले मात्र सुन्ने गरी भनेँ – “मलाई प्रहरीको हातबाट जोगाउनु भएकोमा तपाईँलाई धन्यवाद तर आफ्नो निम्ति यो काम तपाईँले राम्रो गर्नु भएन।”

“किन?” – उसले आश्चर्य मान्दै मतिर हेरेर भन्यो।

मैले गम्भिर हुंदै जवाफ दिएँ – “अब आउने प्रहरी चौकीले त्यत्ति सजिलै बसलाई छोड्ने छैन र म समातिएपछि प्रहरीलाई ठगेर मलाई भगाएको आरोप तपाईँलाई लाग्छ। अझ मलाई काठमाण्डौंदेखि नै भगाएको आरोप नै पनि लाग्न सक्छ। त्यसैले तपाईँको गुनको बदला तपाईँलाई प्रहरी पञ्जामा नपारूँ र म पनि न परूँ भन्ने चाहन्छु म। त्यसैले अर्को प्रहरी चौकी आउनुभन्दा अगाडि नै मलाई यो बसबाट निस्कन मद्दत गर्नोस्।”

“हुन्छ। तपाईँ जहाँ भन्नु हुन्छ त्यही रोकिदिन्छु।” – उसले आत्तिदै जवाफ दियो।

मैले उसको जवाफलाई ध्यान न दिंदै भनेँ – “पहिले त मलाई लुगा चाहियो। नयाँ या पुरानो, केटाको या केटीको जे भए पनि। दाम म दिन्छु।”

“मेरो पुरानो ट्र्याक सुट छ काम चलने भए।”

उसले ट्र्याक सुट लिएर आयो। काम चल्ने नै थियो।

“टोपी त्यही दिनोस्।” – मैंले उसले लगाएको केपतिर हेर्दै माग गरेँ। फुकालेर दियो बिचरोले।

“यो लिनोस् तपाईँ। अर्को किन्नु होला, तपाईँलाई चाहिहाल्छ।”

मैंले पाँच सयको नोट उसको हातमा थमाइ दिएँ। उसले असजिलो मान्दै लियो। सित्तैमा दिन नसकेकोमा पुरुष अभिमानले ‘अलिकति छोटिएँ’ भनी ठान्यो होला शायद। “अब मलाई यस्तो ठाउँमा ओराली दिनोस् जहाँ सुनसान होस् र जंगल होस्।” – अन्तिम आदेश दिएँ।

हामी यति बिस्तारै बोलिरहेका थियौँ कि अगाडिका यात्रुहरूले सोचे होलान् – कन्डक्टर केटी फकाउँदैछ।

कन्डक्टरले निर्दिष्ट गरेको ठाउँ आई पुग्न लागेपछि भन्यो – “गाडी रोकेपछि दायाँ बायाँ नहेरी ओर्लनु र बसको पछाडी गएर उभिनु। म त्यहीँ आएर बाटो देखाई दिन्छु।” चल्दो गाडीमा म पछाडीको ढोका छेउमा गएर बसें। कन्डक्टरले ईशारा दिएपछि गाडी रोकियो र उसले ढोका खोलिदिएपछि म बाहिर निस्केको कसैले पनि वास्ता गरेन। दश मिनेटपछि नै कन्डक्टर मलाई भेटन आइपुग्यो। उसको आउनुको उद्देश्य मलाई स्पष्ट थियो र बाटोमा आउँदै गरेको उसलाई मैंले नियालेर हेरें। त्यो लक्का जवान थियो र हिस्सी पर्दो नै थियो म जस्ती तरुनीलाई नराम्रो लाग्न नसक्ने। मेरो छेउमा आएर मलाई समाएपछि उसले लामो अनुनय-विनय परि गरिरहेन, न मलाई नंग्याउनु या आफू नांगिनु नै आवश्यक ठान्यो। उसलाई साह्रै हतारो हुन सक्थ्यो या ऊ त्यस्तै सँस्कृतिमा हुर्केको थियो। शारीरिक स्पर्श अनुभुतिको आनन्द पनि आवश्यक ठानेन उसले। उसको कपाल पसिना र धुलोले लिसो परेको थियो। उसको जिउ अमिलो गनाउँथ्यो। उसले लगाएका लुगा पनि शरीरभन्दा कम दुर्गन्धी थिएनन् र ऊ म जस्तो अभिजात्य वर्गको पनि थिएन तैपनि उसको आँखामा देखिएको त्यो चाह, प्रयोगमा देखिएको त्यो अनभिज्ञता मेरो निम्ति सुखमय भयो। म यौनचर्याका दुई धुरन्धरबाट भोगिएकी यौवना थिएँ र उनीहरूले मलाई दुःखसुख अनुभव गर्ने जीवभन्दा प्रयोग हुन सक्ने वस्तु झैं भोग गरेका थिए। त्यो तन्नेरीले मेरो बाध्यताको दुरूपयोग गरे पनि मैंले आफूलाई सर्मपण गरेँ र जीवनमा पहिलो पटक स्वेच्छिक यौन संतुष्टि पाएँ। मलाई छोडेर जानुभन्दा अगाडि सम्भाव्य शरणास्थल औंल्याएर गयो ऊ तर ऊ आफैं त्यस ठाउँको अनभिज्ञ भएकोले त्यो कुनै ठूलो सहायता भएन।

गोरेटोलाई नछोडे पनि गोरेटो आफैं फार्ट्दै फाट्दै मेटिदैं गयो र नचिनिने भयो। बिस्तारै म जंगलमा हराउँदै गएर एउटा खोल्सो छेउ आइ पुगें र थकाइ मार्न बसें। भोकको सम्झना भयो र कन्डक्टरले दिएको बिस्कुट खाएर पानी पिएँ। ओठको लिपस्टिक सकेसम्म मेटें। आँखाको गाजल सकेँसम्म पुछें। कपाल फुकाएर गुजुल्टो बनाएँ। नङ पालिस घोटेर हटाएँ। जति प्रयास गरे पनि बर्षैको त्यो श्रृङ्गार मेटिन गाह्रो थियो। खाली केही पुछियो, केही हिलो धुलो र पसिनाले छोपियो। मैंले लुगा फेरें, केप लगाएँ। लगाएको कपडाबाट पराइ पुरुषको पसिनाको अमिलो गन्ध आऊ पनि त्यसलाई आफ्नै भागको एउटा अंश ठानेर सहिदिएँ। अग्लो हिलको जुत्ता असजिलो भएकोले फाली दिएँ। पैसा खल्तीमा हालें। गहना फालिदिउँ जस्तो लागे पनि कुनै मौकामा काम लाग्न सक्छ भनि ठानेर आफैसँग राखें। जाडोको डरले खास्टो फालिनँ।

म हिडिरहें। मेरो बाटो थिएन, ओत लाग्ने बास पनि थिएन। हिड्नुलाई नै मैंले आफ्नो गन्तव्य र लक्ष ठानें। मेरो सामु त्योभन्दा अर्को उपाय पनि थिएन। मानिसको सामु म पर्न चाहन्नथेँ, जंगल छोडे म मानिसको सामु पर्ने थिएँ।

कहीं कुकुर भुकेको स्वर सुनियो। मेरा पाईलाले त्यसैलाई लक्ष बनाए। क्रमशःः म र कुकुरको स्वरको दूरी घटदै गयो र जुन जंगललाई मैंले अन्त्यहीन ठानेकी थिएँ त्यसको अन्त्य भयो र घाम अलिकति छदै म वन किनारा आइपुगें र किनाराका पोथ्राहरूको बीचमा लम्पसार परेर पल्टिएँ। स्याउला पन्साउँदा हात र स्याउलोले हिर्काउदा अनुहार छोई नसक्नु गरी टट्टाएका थिए। काँडाले घोच्दै, ढुङ्गोमाठोक्किएर र हिडदा ठेला उठेर नाङ्गा खुट्टाबाट रगत बगिरहेको थियो र शरीरलाई ‘उठू’ जस्तोपटक्कै लागेको थिएन। सामर्थ्य हुँदो हो त म जंगलतिर नै दौडने थिएँ।

बिस्तारै घाम डुब्दै गयो र पुषको चिसोपन बढ्दै गयो। मैंले आँखा उठाएर बस्तीतिर हेरें। वनले तिन तीरबाट घेरिएको पाखोमा एउटा मात्र घर थियो र एउटी आइमाई घरभित्र बाहिर गर्दै झल्याक झुलुक्क देखा पर्थी। आँगनमा बाँधिएको कुकुर बेला बेला झुक्थ्यो। बारीको एक छेउमा परालको माच थियो र माचमा पराल जस्तो देखिन्थ्यो। साँझ छिप्पिदै गयो र जुनको टहक खुला पाखो भरि छरियो। पोथ्राहरूको विचमा दोछायाँ र अँध्यारो मात्र थियो। जंगली जनावरसँग मलाई डर थिएन। जुन व्यक्ति मानिससँग डराएर भाग्छ त्यसले जनावरसँग डर मान्न पनि सक्दैन। तर चिसोपन तिखारिदै गयो। खास्टोले मुख समेत छोपी लम्पसार परेकी थिएँ म। चिसो भुँइ र बाहिरको चिसो हावाले मुटु समेत काम्न थालिसकेको थियो। अन्ततः माचको परालको लोभलाई थाम्न नसकेर मनमनै भनेँ – “के भयो त त्यहाँ गएर? अहिले जान्छु, सुत्छु, बिहान अँध्यारोमा नै उठेर हिंडिहाल्छु।”

सबैतिर सुनसान भएपछि म बिस्तारै रोकिई रोकिई तल झर्न थालें। कुकुर भुक्दै थियो र जति म नजिक हुन्थेँ उति उसको भुकाई गर्जन्थ्यो। कुकुर नजिकै आउन नखोजेकोले मेरो आँट बढ्दै गयो र माचसम्म आइ पुगें। माच मुनि गाई वस्तु उग्राईरहेका थिए र एक पल्ट मतिर हेरेर फेरि उग्राउनमा नै व्यस्त भए। माचको एक छेउमा एक काठको खुड्किला भएको भरेङ थियो। म डराइ डराइ भरेङ चढें। माच अग्लो नभएकोले चढ्न गाह्रो भएन। पराल शीतले भिजेका थियो। माथिको चिसो पराल पन्साएर म परालभित्र घुसि्रँए र खास्टोले टाउको छोपेर पल्टिएँ।

आँखा उठाएर हेरें मेरो टाउकोमाथि शुन्य आकाश थियो, रङ्ग विहनि जुनको टहक थियो। मेरो मस्तिष्क शुन्य थियो, संज्ञा शुन्य थियो। छत्तिस घण्टादेखि सुत्न पाएक िथिइनँ। कसैले दया गरेर दिएको २/४वटा बिस्कुट र एक कप चिया बाहेक दिन भरि केही खाएकी थिइनँ। बाह्र घण्टाभन्दा बढी शिकारी कुकुरले लखेटिएको मृग झैं लखेटिएकी थिएँ र अन्त्यमा सबैभन्दा टाढा चितामाथि राखिएको एउटा लाश झै परालका मुठा छातीमा राखेर लम्पसार परेकी थिएँ। तैपनि मलाई त्यसप्रति सोच्ने समय रहेन। म शरीर र मस्तिष्क दुवैले यति क्लान्त र थकित थिएँ कि पल्टेको केही क्षणमा नै भुसुक्क निदाएँ।

“आम्मैं।” कसैको स्वर सुनेँ मैंले सपनामा नै। मैंले त्यो सपनापिट्ट वास्ता गरिनँ। जिउ दुःखेको अनुभव मात्र भयो मलाई।

“ए, बुढा ! यहाँ आऊ त यहाँ।” – त्यही स्वरले साउती मारेझैं गरेर भन्यो।

मैंले फेरि पनि त्यतातिर विचार गरिनँ। टाउकोदेखि खुट्टासम्म दुःखाई अनुभव भइरहेको बेला सपनामा सुनिने शब्दप्रति वास्ता हुने कुरा पनि भएन। तर म बिस्तारै अर्धबेहोसीबाट होशतिर आउन थालें। बलैले आँखा खोल्न खोजे पनि तिरमिराउँदो उज्यालोले आँखा खोल्न दिएन र फेरि बन्द गरेँ। एर्कै छिन्पछि म निकै होशमा आएँ र पुरै आँखा खोल्दा मेरा सामु विस्तारित दुई जोडी आँखाहरू थिए। म आत्तिएर उठें र अपराधीले झैं भाग्न खोज्दै भनेँ – “मैंले केही पनि गरेको छैन। मलाई छोडिदिनोस्।” बुढीले नरम स्वरमा भन्नि – ” हामी केही गर्दैनौं, नानी, तिमीलाई। किन त्यसै आत्तिएको?”

उनीहरूले मलाई केटो ठाने। म त्यहाँ घटनावश थिएँ भन्ने सम्झेपछि म संयमित हुन पुगें। त्यो स्थितिमा अभिनय गर्नु बाहेक अर्को विकल्प थिएन।

“कहाँबाट आयौ तिमी यहाँ?”

“थाहा छैन।”

अनि कहाँ जाने त?”

“थाहा छैन।”

“कसको छोरो? घर कहाँ हो?”

“थाहा छैन।”

“हरे ! विचरा। सुद्धी हराए जस्तो छ। अनुहार पनि हेर त, कस्तो कलकलाउँदो सानो नानीको जस्तो। आमाबाबुलाई कति पिर परेको होला?” – बुढीले बुढालाई भनिन्। “अनि हिजो बेलुका कहाँ खायौ नि नानी? “

“के भनेकी यो बुढीले पनि? बास नपाएर परालको माचमा आएर सुत्यो। गाँस, कहाँ पाएर खाओस् यसले? अनुहार नै देखिनस्? भोकै छ।बरूखान दे लगेर केही छ भने।” – बुढाले अह्राए।

बुढीले घरमा लगेर अघिल्लो दिन उसिनेको चिसो आलु र तरुल दिइन्। अमृत जस्तो लाग्यो त्यो खाना मलाई।

‘कहाँ जान्छौ त अब? जाने ठाउँ छ?” – बुढियाले मैले खाँदा खाँदै बीचैमा भन्नि्।

“छैन।” – मैले खाने कुराबाट टाउको नउठाई जवाफ दिएँ।

“त्यसो भए हामीकोमा नै बस त। कोही छैन हाम्रो पनि। हुन्न?” – बुढियाको स्नेह अनुरोध निस्कियो।

म नरोएको एक जुग भइसकेको थियो र मेरो आँशुको भण्डार ठुलै थियो। ती आँशु मैंले रोक्दा रोक्दै पनि धारा भएर झर्न थाले। जहाँ आफन्तहरूले सधैं सुन र चाँदीमा तौलेका थिए, त्यही एउटी पराई आइमाईले मायाको ढकले जोखिदिई र त्यही ढक नै आँशुको बाँध फुटाउन पर्याप्त थियो।

“ए ! नरोऊ, नरोऊ। खाऊ। नबस्ने भए नबस न। तिमीलाई कर छ र?”

आफूले बहुलाहा ठानेको नौलो व्यक्तिप्रति त्यत्ति धेरै माया जीवनमा मैंले त्यही मात्र पाएँ। अरू ठाउँमा त सबै बनावटी माया, देखावटी माया। झन सम्पन्नहरूको समाजमा त माया बिकाउ वस्तु थियो, सटही गर्न सकिन्थ्यो।

मैंले जान चाहिनँ, उनीहरूले पठाउन चाहेनन्। हाम्रो नाता यहींबाट शुरू भयो र यही नाताले हामी बाँधिएर बस्यौँ।

घरमा सेतै फुलेका बुढाबुढी मात्र थिए। सबै मर्दा मर्दा बाँचेको एउटै छोराको पनि चौध बर्षको उमेरमा घर छोडेर हिडेपछि अत्तोपत्तो थिएन, मरे बाँचेको कुनै खुटखबर थिएन। फर्केर आउँछ भन्ने आशामा बाँचेका थिए उनीहरू। छोरो फर्केर आउने गोरेटोमा आँखा गाडेर वीस बर्ष त बिताईसकेका थिए उनीहरूले।

“यसको बानीबेहोरा त केटीको जस्तो छ।” – बुढीले बुढालाई भनिन्।

“हुन्छन् नि कोही गाईका अनुहारका गोरुहरू।” – बुढाले ठट्टा गरे तर ‘म केटी हुँ’ भनेर जान्न उनीहरूलाई एक दिन पनि लागेन।

म त्यो घरकी छोरो-छोरी दुबै भएँ। आफूसँग भएको मैले जम्मै बुढियालाई सुम्पिदिएँ। म उनीहरूलाई ‘बा, आमा’ भन्थे म उनीहरूकी एक्ली ‘नानी, छोरी’ भएँ। मैंले आमाको काम चुलो चौको गर्न सिकेँ।

मस्को लिएर भाँडा माझ्न जानें। हँसिया, खुर्पा लिएर घाँस पराल झंजा दाउरा गर्न थालें। हाम्रो घरमा हामी तीन जना साह्रै खुशी र सुखी थियौँ। हामी त एक अर्काको आसरा र सहारा भयों मानौं हामी जन्मजन्मान्तर देखिसँगै थियौँ। म बारे थाहा पाएर उनीहरूले निकाली दिन्छन् कि भन्ने डर हुन्थ्यो मलाई र म बारे खोजीनिति गर्दा म हिडिदिन्छु कि भन्ने शङ्का थियो उनीहरूमा। त्यसैले १/२ महिना म दोजिया भइछु भन्ने थाहा पाएर पनि उनीहरूले कुनै आपत्ति गरेनन्, त्यसलाई सहजै स्वीकार गरिदिए। केवल आमाले भनिन् – ” त्यसैले तँ घरबाट भागेकी?”

के भन्न सक्थेँ र म? मैले त आमाले भनेपछि मात्रै थाहा पाएकी थिएँ।

त्यहाँ मेरो उपस्थितिको स्पष्टिकरण दिइरहनु पर्ने आवश्यकता उनीहरूलाई परेन। त्यो हाम्रो घर नै नितान्त एकान्तमा थियो म जस्तो बाटो भुलेर आउने बाहेक अरू पुग्न नसक्ने। ती बुढा बुढी कहाँ खोजी खोजी जानु पर्ने काम कसैको पनि हुन सक्दैनथ्यो र केही काम परे बुढा बुढी आफैं पुग्थे आफ्नो स्वार्थ को निम्ति। कथंकदाचित् कोही आई हाले पनि म पहिले नै सतर्क भएर सामु पर्दिनथेँ। कसैले देखिहाले बुढाबुढीले कुनै बिङ्गो लगाई दिन्थेँ।

मेरो महिना बढदै गयो र मेरी आमाको व्यस्तता पनि। उनी कहिले घिउ तेल खोज्न हिडथिन्, कहिले ओखती र मसलाको जोहो गर्थिन्।

कहिले भोटा थाङनाको चासो बढ्थ्यो त कहिले मेरो स्वास्थ्यको चिन्ता हुन्थ्यो। कुखुरा किनेर ल्याइन्, अपर्झट पर्ला भनेर बट्टाको दुध समेत जोहो गरिन्। कहिले जिरी पुगिन्, कहिले लामोसाँघु। तल्लो पल्लो गाउँ त कति पटक चाहारिन्, चाहारिन्। भाकल मात्रै पनि कति गरिन् कति? सात महिनादेखि त उनीले मलाई आफ्नै छेउमा सुताइन्। आखिर बेथा पनि लाग्यो। वेथा मलाई लागेको थियो, दुख्थ्यो मेरी आमालाई। मेरो प्रत्येक चस्कालाई उनी आफैले पाए जस्तो ठान्थिन्। हुने भए मेरो जम्मै पीडा उनी आफैंले लिइदिने थिइन्।

मेरो छोरो देखेर उनी यसरी मुस्कुराइन् , मानौ उसलाई उनी आफैं गएर स्वर्गबाट टिपेर ल्याएकी हुन्। उनीले मेरो निधारमा म्वाई खाईन् र मायाले श्निग्ध ती ओठहरू गुलावका पत्ताभन्दा पनि नरम थिए र ती ओठको तातोपन जन्मभर मेरो निधारमा रहनेछ। यसरी मेरो छोरो र मेरी आमाले क्षणभरमा नै मेरा पीडामय संसारलाई स्वर्गको नन्दन वन बनाइ दिए।

मेरा बाबु सोझा थिए एक हल मेलो मात्र गरी खाने। त्यसैले बाहिरको दुनीयादारी पनि आमाले नै हेर्थिन्। उनीहरूसँग सम्पत्ति थिएन। मैंले ल्याएको पैसा नभएको भए सुत्केरी उतार्न पनि उनीहरूले ऋण खोज्नु पर्ने हुन्थ्यो। त्यही पैसा पनि सिद्धियो। नानीलाई दुध खुवाउन पैसा चाहिएको थियो। घिउ तेल लाई पनि पैसा चाहिएको थियो। पैसा भने थिएन। ऋण खोज्न, त्यति ठूलो रकम कसले पत्याउने? भन्नेबित्तिकै कसले दिने? कहाँ खोज्ने? उनीहरूसँग उपाय थिएन र म भने त्यस्ता कुरा बुझ्दनथेँ। त्यसैले ‘यसौ गरौं, उसो गरौं’ भन्ने सल्लाह दिन सक्दिनथेँ। एक दिन आमाले असजिलो मान्दै भन्नि् – ” नानी ! छोरालई दुध खुवाउन गाई किन्नु पर्यो ? के गर्छेस् हामीसँग पैसा छैन। त्यो तेरो एउटा गहना बन्धक राखेर पैसा लिउँ है.?पछि उकासिदिउँला। हुन्न?”

भगवान् ! के देवदुतहरू त्यस्तै थोत्रा झुपडिहरूमा मात्र बस्ने गर्छन् त? के देवदुतहरू आफू मरेर अर्कोलाई जीवन दिन मात्र यो धर्तीमा ओर्लन्छन् त? ती त देवदुत थिए जो मेरो छोरोलाई जीवनरस दिन मसँग ऋण मागिरहेका थिएँ। ती आमा बाबुका अमृतवचन नै मेरो जीवनका सबभन्दा ठूला कमाइ भए, त्यसका सामु मेरो लोग्नेको त्यो अथाह सम्पत्ति, राजवीरको त्यो सत्ता र वैभव त के मेरी जन्म दिने आमाको मलाई यो संसारमा ओराल्दो महिमा समेत मेरा ती कमाईका सामु तृण बराबर लाग्यो मलाई। “एउटा गहना बेचदिनोस्, आमा।” – मैंले फैसला गरिदिएँ र आमा गहना बेच्न धुलिखेलसम्म जाने भईन्।

त्यही नै हाम्रो गलत निर्णय भयो।

बिहान सखारै खाना खाएर आमा निस्किईन्। बाबु मेला पात गर्न गए। आमाको तालिममा मैंले घरधन्दा सिकिसकेकी थिएँ। त्यसैले घर मेरो जिम्मा छोड्न सक्थे उनीहरू। गाईवस्तु, बाख्रा-पाठा, पानी पँधेरो र नानी गर्दै मेरो दिन बित्यो र भात पकाएर आमा-बा पर्खेर बसें। बेलुकी बा त आए, आमा भने आईनन्। आमा न आएकीले पीर लागेर मैंले भनेँ – “आमा आइनन्। के भयो होला?”

“आज ढिलो भयो, बस पाईन होला, भोलि आउछे नै। किन त्यसै आत्तिएकी।” – बाबुले चित्त बुझाउन खोजे पनि मलाई रात भरि चिन्ताले छोडेन। बाबु पनि कोल्टो फेर्दै खोक्ज्दै थिए। कसैप्रति चिन्ताको त्यो मेरो पहिलो रात थियो।

दोश्रो दिन पनि आमा आइनन्। हामी बाबु छोरीको चिन्ता झन् बढ्यो। हामी रातभरि सुत्न सकेनौं। बिहानी पख मैंले भनेँ – “बा ! कसैलाई ल्याएर मेरो साथी राखि देऊ र आमालाई खोज्न जाऊ।”

बिहान सखारै बाबु उनका मीत भाइकोमा गएर उनकी छोरी लिएर आउन निस्के तर आधा दिनसम्म पनि न फर्केपछि म अँगेनाको छेउमा बसेर रुन थालें। कसैको निम्ति त्यो मेरो वेदनाको आँशु थियो। मलाई लाग्यो – र्दुभाग्य आइपुगेको छ मेरो सामु। आमा, बाबु र छोरो गुमाउनु पर्ने डरले मेरो छाती भरियो। मेरो आँखाबाट अविरल आँशु झर्न थाले र मेरो सुक्क सुक्क पनि बढ्न थाल्यो। अचानक मेरी आमा ढोकाबाटभित्र पसिन् र म रोएको देखेर भन्नि् – “के भयो, नानी? किन रोएकी?

आमालाई देख्ने बित्तिकै म उनीलाई छाँद हालेर डाँको छोड्दै रोएँ। आमाले माया गरेर सुमसुम्याउँदै मलाई ओछ्यानमा बसालिन् र थुम्थुम्याइन्। मलाई शान्त हुन निकै समय लाग्यो। बाबु पनिभित्र पसे र मजेरीतिर सुकुल ओछ्याउादै बाहिरतिर हेरेर भने – “अब तपाईँहरू पनि भित्रै आउनोस् न।”

भिजेका आँखा अरूलाई नदेखाउन म आमा पछाडी छेकिएर बसें र भित्र पस्नेहरू कसैको पनि अनुहार देखिनँ। उनीहरू बसेपछि आमाले भनिन् – “अँ, नानी त्यो तेरो अस्तिको गहना बेच्दा मलाई ‘चोर’ भनेर समाए। गहना त वहाँहरूको रे भन्छन् नि।”

मैंले गर्धन घुमाएर अगेनोतिर हेरें। सामुन्ने मेरो लोग्ने बसेको थियो, उसको हाराहारीमा राजवीर। उनीहरूलाई देख्नासाथ मभित्र दबेर बसेको घृणा एकै चोटी उम्लेर आयो र चिच्याएँ – “मेरी देवी जस्ती आमालाई ‘चोर’ भनेर आरोप लगाउने मासुका दलालहरू हो, तिमीहरू त बाँच्न पनि योग्य छैनौ।”

म चण्डाल भएर उठें र बिना हिचकिचावट दुबैलाई मार्न नजिकैको बन्चरो समाउन पुगें। हतार हतार मेरी आमाले मलाई समाएर उनीहरूलाई बाहिर जान अराइन्।

मेरो लोग्ने र राजवीर पनि मेरो व्यवहारले अलि आत्तिए। उनीहरूले सोचेका थिए म शान्त भइसकेकीछु र त्राश र प्रलोभन देखाएपछि लुरुक्क पर्नेछु। मेरो रूप देखेर उनीहरूले बुझे कि म मेरो छोरो, मेरी आमा या मेरा बाबुप्रति अमङ्गल ल्याउन खोज्ने कसैलाई पनि मार्न सक्ने थिएँ या आफैं मारिने थिएँ। म पहिलेकी रजनी थिइनँ। समयले मेरा आमा बाबुको माया, मेरो छोरोको वात्सल्यताले मलाई दृढ र हिंस्रक बनाएको थियो। आफू र आफ्नालई खतरा देख्ने बित्तिकै घातक हमला गर्न सक्थेँ म।

मलाई थाहा थियो मेरो लोग्ने र राजवीर मेरो नोक्सानी गर्न सक्दैनथे। उनीहरूको लगाव मसँग थियो र दोश्रो, मेरो छोरो कुन बाबुको हो? त्यसको प्रमाण म मात्र थिएँ र त्यो प्रमाण उनीहरू मेट्न सक्दैनथे। मेरी आमा म छोरीलाई सम्झाएर जुवाइकोमा पठाउन फकाइरहेकी थिइन्। चोर बनाएर यति लामो बाटो हतकडी लगाएर लिएर आएकोमा उनीलाई आपत्ति थिएन। छोरीलाई घर पठाउन चासो थियो।

अन्त्यमा सोचें – ‘यी बगरेहरू यो मासु नलिइ हिड्ने छैनन् र आमा हुन्, छोरीलाई जुवाइँकोसाथ लगाएर शिव-पार्वतीलाई झै विदा नगरुन्जेल उनीलाई सन्तोष हुने छैन। तब लाग्यो-जानै परेपछि मोलमोलाइ गरेर नै जाऊँ। मोलमोलाइ शुरू भयो। त्यो घरलाई मेरो माइती, ती बुढा बुढीलाई मेरा बाबु आमा स्वीकार गरियो र मेरो माइतीको सम्पन्नता उनीहरूलाई दिइने भयो। म लोग्नेको घरमा बस्ने भए पनि मेरो लोग्नेले ममाथि बन्देज लगाउन पाउने भएन। म स्वतन्त्र थिएँ। लोग्नेले बन्देज लगाउन खोजे म राजवीरको सहयोग लिन सक्थेँ र मलाई आफ्नो बनाउनेप्रतिद्वन्दी भएकाले दुवैबाट बन्देज लाग्ने सम्भावना थिएन। दुबैले लगाई नै हाले म अरू कसैको सह्योग लिन सक्थेँ। लोग्नेले त आफ्नी विवाहिता स्वास्नी अर्कोलाई सुम्पेर आफ्नो पतिअधिकार गुमाइसकेको थियो भने राजवीरले मलाई वेश्या जस्तै भोगेपछि मप्रति उसको अधिकार नै थिएन।

“छोरो नि छोरो?” – मेरो लोग्नेले सफाई खोज्यो।

“यो आफ्नी आमाको छोरो हो। त्यसैले जहाँ आमा त्यहीँ छोरो।” – मैंले जवाफ दिएँ।

“बाबुको हक के त?” – प्रश्न थप्यो मेरो लोग्नेले।

“को बाबु? घाटा त कसैलाई पनि भएको छैन, नाफै भएको छ। जसले आफ्नो देख्यो त्यसैको छोरो हो यो। मेरा यी आमा बाबु जस्ता कसैका आमाबाबु पनि हुँदैनन्। मलाई जन्म दिएर सम्पन्नता च्याँखेमा हात पार्ने मेरी आमाले अब आएर म माथिको हक माग्दैमा हुन्छ र? जसको छातीभित्र दुख्छ त्यही आमा हो, त्यही बाबु हो।” – जवाफ दिएँ मैंले।

“देख्यौं, बुढा? त्यो परालको माचमा भेटिएकी बौलाही कति बाठी भइछ?” – मेरी आमाले ठट्टा गरिन्। म मुस्कुराएँ।

केही समयपछि म सहर फर्कने तय भयो। उनीहरू फर्केर गए।

मैंले ती आमा बाबुबाट जे र जति पाएकी थिएँ त्यति त म कहिले पनि चुक्ता गर्न सक्ने थिइनँ तैपनि उनीहरूको बुढेसकाल अभावमा नबितोस् भनेर सक्दो सुविधायुक्त बनाउने प्रयास गरेँ। त्यो घरको चार दिवाल नाघेर जान उनीहरू चाहदैनथेँ। त्यसैले मैंले उपलव्ध गराउनु पर्ने सुविधा त्यहीँ नै ल्याई पुर्यााउनु पर्ने थियो।

मेरा आमा-बाबुका आवश्यकताहरू अति न्यून थिए। दुई छाक खान र दुई धरो लाउन पाए उनीहरूलाई पुग्ने थियो। त्यो रित्तो जमिनमा अतितले गाडिदिएको उनीहरूको जरो त्यो जमिन बाहेक अरू ठाउँमा अडिन सक्ने थिएन। आफ्नै अनस्तित्वमा गाडिएका थिए उनीहरू। एक दिन छोडेर जानै पर्ने त्यो रुखो माटोको मोह र फर्केर आउने सम्भावना नदेखिएका त्यो छोरो फर्केर आउन आशा र बाहिरी संसारप्रतिको डर नै उनीहरूलाई त्यो थलोबाट निस्कन दिंदैनथे। त्यसैले मैले उनीहरूलाई लिएर जाने कुरा भएन। म त यति मात्र चाहन्थे कि उनीहरू त्यही जमिन कोट्याएर भए पनि पेट भरि खान पाउन्, घाम, पानी, जाडो, हुरीबाट ओत पाइरहुन्। एउटा धरोको निम्ति कसैको मुख ताक्नु न परोस्। उनीहरूको जीवनको कमाई भन्नु नै अब त म मात्र थिएँ र उनीहरूले मबाट केही अपेक्षा न गरे पनि मैले कमाएका बाबुआमाको संरक्षण मैले पनि गर्नु पर्थ्यो। फेरि दिएर मात्र हुने थिएन, उनीहरूलाई उपभोग गर्न पनि लगाउनु पर्ने थियो। नत्र त उनीहरू ‘यो छोराको निम्ति, यो छोरीको निम्ति’ भन्दै आफू नखाएर अरूका लागि जम्मा गर्न लाग्ने थिए र जीवन भरको दरिद्रताले उनीहरूलाई सम्पन्न बन्न दिने थिएन।

आमाछोरीले तरुल र गिठ्ठा खोज्दा केही नपाएको दिन समेत गिन्ती गर्दा कति दिन खान पुग्दैन? मलाई थाहा थियो। हामी आमाछोरीले दुवैले एउटै खास्टो पालै पालो ओडेको र एउटै थोत्रो सिरकले दुवैलाई ढाक्न खोजेको व्यथा पनि बुझेकी थिएँ। त्यसैले मैंले बिस्तारै खाद्यान्नको स्थायी स्रोत बन्दोबस्त गरिदिएँ। नुन, तेल, लुगा फाटो, औषधोपचार आदि नगदी आवश्यकताको लागि कोष नै खडा गरिदिएँ। दुहुनो गाई आँगनमा बाँधिन आइपुग्दा मेरी आमा खुशीले रोएकी थिइन्। यति गर्दा पनि मलाई सन्तोष हुँदैनथ्यो र म समाचार लिनको निम्ति बराबर मानिस पठाउथं अथवा १/२ महिना बिराएर आफैं पुग्थेँ र २/४ दिन आमाको न्यानो तापेर लोग्नेको घर फर्कन्थेँ। मेरा आमाबाबुको वन्दोवस्त गर्न मेरो लोग्नेकोभन्दा पनि राजवीरको थियो र उसले सहयोग पनि खुला दिलले गरेको थियो।

‘प्रेम – पाउनुको नाम होइन, दिनुको हो ‘ भन्ने मैले मेरा आमाबाबुबाट थाहा पाएँ। ‘माया पाउनको निम्ति माया दिइने होइन’ भन्ने पनि मैंले त्यहीँ बुझें। एउटी अकस्मात आइपुगेकी अनावश्यक बोझ बन्न सक्ने अपरिचित केटीको व्यथालाई आफ्नो सुखदुःखमा मिसाउन सक्ने क्षमता त देवदुतमा मात्र हुने हुनाले उनीहरूलाई देवदुत भन्छु म। ‘रगतको नाता बलियो हुन्छ’ भन्छन् मानिसहरू तर त्यो नाता त समाजको वन्धनले कुलको मर्यादाले र अर्थको स्वार्थले बाधिएको हुँदो रहेछ। त्यो नाता सबैभन्दा बलियो हुँदो हो त मेरी जन्म दिने आमाले मलाई स्वर्ण मुदंरासँग साट्ने थिइनन् र मेरी कर्मकी आमाले मलाई आफ्नो मायाले किन्न सक्ने पनि थिईनन्।

मेरो दोश्रो जीवनको अध्याय शुरू भयो। झण्डै दुई बर्षको प्रवाश र मेरो छोरोको आगमनले मलाई छोटो समयमा नै जीवनलाई बुझ्न सक्ने गरी परिवर्तन देखाएर परिपक्क बनाएको थियो। मेरो छोरोको उपस्थितिले मेरा बाँच्न चाहने इच्छा चाहानाहरू प्रवल भए। म चाहन्थेँ – मेरो छोरोले मैंले जस्तो रगतको नातालाई घृणा गर्नु नपरोस्। आमाबाबुको घर छोडेर हिड्दा पनि मनमा प्रश्न उठेको थियो – कहाँ जाने? मेरो जन्म दिने माइती घर थियो, मेरो लोग्नेको आवाश थियो र मेरो लोग्नेले कमाइदिएको उपपतिको महल पनि थियो। तर सँघार नाघेर हिडेकी चेली माइती जाने कुरा भएन। फेरि आमाबाबु नै अर्का भइसकेपछि जन्मसँगको नाता जोड्न जानु मैंले उपयुक्त देखिनँ। ती जन्मकी आमाको निम्ति त एउटा सम्पन्न जुवाइँ छदै थियो। एउटी छोरीबाट उनीले त्योभन्दा बढी अरू के पाउन सक्थिन् र? त्यसैले ती आमालाई मेरो आवश्यकता थिएन। त्यहांँ म गएर उनको बोझ बन्नु मात्र हुने थिएँ र उनको जीवनमा अनावश्यक र अवाञ्छित हस्तक्षेप मात्र हुने थियो।

मेरो लोग्नेको निम्ति आवश्यक थिएँ म। घरमा एउटी आधिकारिक स्वास्नी हुनु सामाजिक मान्यताको अङ्ग थियो भने रूपवती स्वास्नी हुनु त झन् सामाजिक गौरव नै ठहरिने थियो। आखिर कुनै न कुनै आइमाईले त्यो ठाउँ ओगट्नु नै पर्थ्यो। दैहिक सन्तुष्टिको निम्ति मध्यमवर्गी समाजमा जस्तो स्वास्नी नै चाहिन्छ भन्ने बाध्यता त त्यो समाजमा थिएन। रह्यो छोरो कसको? भन्ने कुरा। त्यसमा उसले कुनै आपत्ति गरेन। ऊ व्यापारी हो र जो सुकैको होस् त्यो आफ्नो नाममा पर्छ भने घाटा नदेखेर नाफै ठान्थ्यो ऊ। त्यो उसको अनैतिकता पनि थिएन। घुसमा स्वास्नी दिन सक्नेले नाफामा छोरो पाउनु प्रकृतिजन्य धर्म पनि हो।

मेरो सबैभन्दा ठूलो आवश्यकता राजवीरलाई थियो। ऊसँग परिवार थिएन। उसको चरित्र र सम्पन्नताले त्यसलाई तितर वितर पारिसकेको थियो।

ऊसँग मित्र पनि थिएनन्। खुशामदी थिए, नाफा नोक्सानका सहभागीहरू मात्र थिए। ऊ जीवनको उत्तरार्धमा थियो र आफूलाई सहयात्री विहिन र असुरक्षित ठान्न थालिसकेको थियो। त्यसैले मलाई फर्काउनमा जोड पनि उसैको बढी थियो र मेरा आमाबाबुलाई आर्थिक रूपले व्यवस्थित बनाउन उसको नै धन र शक्ति बढी खर्च भएको थियो। यसो हेर्दा राजवीरसँग स्वास्नीमानिसको कमी थिएन। उसको शक्ति, सम्पन्नता र चरित्रले उसलाई आवश्यक साधान जुटाइ दिन सक्थे तैपनि मप्रतिको अपहत्ते उसको जिन्दगी भरि नै रह्यो। शायद ममा ती गुणहरू थिए होलान् जसले उसको मुटुसम्म छोयो। मनोवैज्ञानिक रूपमा मलाई त्यसले कुनै खास प्रभाव नपारे पनि जीवनका खुड्किलामा भौतिक उपलव्धि हासिल गर्न राजवीर जस्ता मानिसहरूले अग्लो भरेङको काम गरिदिन सक्छन् भन्ने कुरा भनेँ सिकेँ मैले।

म घरबाट विदा भएर निस्कदा मेरी आमा बालक छोरी पठाउदा मुटुमा भक्कानो पारेर रुने आमा जस्तै रोईन्। बैंशमा दिनमा छोरो विदा गर्दा पनि शायद त्यसरी नै रोएकी थिइन् होला। त्यो बेला त उनीसँग बल्दोजल्दो उमेर थियो, छोरो फर्केर आउने विश्वास थियो, भविष्य उज्यालो हुने आशा थियो। मेरो विदाईमा त डाँडामा बसेर आफूले नाघेर आएको पिडात्मक अतित हेर्दै डाँडा पारीको अन्धकार भविष्यतिर ओर्लन लागेको जुनले उज्यालोलाई विदा गरे जस्तै थियो। नआउने छोरोलाई आउने आशामा कुर्दाकुर्दा थाकेका जोडीले दैवसंयोग टुप्लुक्क आइपुगेकी एउटी केटीलाई आफ्नो मायाको सर्वस्व सुम्पेर प्राप्तिको मृगतृष्णामा डुबेपछि फेरि त्यही आशामा पर्खनु पर्ने बाध्यता भोग्नु थियो। उनीहरूको लागि त जीवन एक चक्कर लगाएर फेरि शुरू कै अवस्थामा आइपुगेको थियो। त्यही शुन्यता, त्यही कुराई र त्यही निराशा।

एउटी मेरी आमा मलाई विदा गर्न सडकसम्म आइपुगिन् त अर्की मेरी आमा त्यहीँसम्म मलाई लिन आइपुगिन्। एउटीले मलाई पालिदिएकोमा धन्यवाद दिईन्, अर्कीले सुख दिएर पालिदिन अनुरोध गरिन्। विदा हुनुपर्ने आमासँग म अँगालो हालेर रुंदै विदा भएँ, अर्की आमा हेरिरहिन्। लैजाने आमाले लिएर जादा विदा गर्ने आमा रोईरहिन्। दुवैलाई लाग्यो होला – अर्कीले आफ्नो छातीको टुक्रा चोरेर लगी। तर मलाई म मेरी कर्मकी आमासँगको विछोड पिडादायी भएको थियो।

मेरी आमा र मेरो लोग्ने एउटा गाडीमा थिए, राजवीर अर्कोमा। त्यसैले मैंले कुन गाडीमा जाने? भन्ने पहिलो निर्णय गर्नु पर्योय। म २/४ सेकेण्ड दुई गाडीको बीचमा छोरो छातीमा च्यापेर उभिएपछि निर्णय गर्दै मुस्कुराएर राजवीरतिर बढ्दै भने – “तपाईँको गाडीमा कम मानिस रहेछन् त्यसैमा जाऊँ।”

मेरी आमा र लोग्नेले केही त अवश्य अनुभव गरे होलान् तर मैंले त्यतातिर ध्यान दिइनँ र राजवीरको छेउमा सिटमा बस्दै भनेँ – “जान त म तपाइको गाडीमा जादैछु तर तपाईँको घरमा होइन, मेरो लोग्नेको घरमा।”

राजवीरले गाडी चालु गरेर भन्यो – “त्यसो भए तिमी उही पनि त बस्न सक्थ्यौँ।”

“त्यो समयको भूल थियो मेरो।” – उसले बीचैमा कुरा काटेर भन्यो।

मैंले भने – “हेर्नोस् ! बाघले चाहँदा चाहँदै पनि आफ्ना पाटा फेर्न सक्दैन। भन्न त तपाईँ ‘सो समयको भुल थियो मेरो’ भन्दै हुनुहुन्छ तर मनमा ‘यसको लोग्नेलाई कुन मुल्य तिरेर अथवा यसलाई कुन शर्तमा पाउन सकिन्छ?’ भनेर सोच्दै हुनुहुन्छ र ‘अब कसरी यसलाईसाथ राख्न सकिन्छ?’ भनेर मेरो लोग्ने पनि सोच्दै होला। कुनै दिन मेरो लोग्नेले मलाई तपाईँको हातमा सुम्पिएर हिंडेको थियो नासोका रूपमा होस् या अरू केही। जब तपाईँ एउटा लालसाले यहाँसम्म आईपुग्नुभयो, जब मैले मेरो लोग्नेसँग जाने निश्चय नै गरिसकेँ भने एउटा सज्जनले जस्तै मलाई मेरो लोग्नेकोमा पुर्यानएर छोडिदिदा तपाईँको मान पनि त बढ्छ।”

“हुन्छ। त्यो म गर्न सक्छु तर त्यसपछि हाम्रो सम्बन्ध के रहने त?” – उसले सोध्यो।

“जसरी आफ्नी स्वास्नी अर्कालाई सुम्पनेको स्वास्नीसँग नाता रहँदैन त्यसरी नै अर्काकी स्वास्नी समात्ने लोग्नेमानिसले त्यो आइमाईबाट केही आशा राख्नु मृगतृष्णा हो। त्यो आइमाई दुवैप्रति वफादार हुन्न। ऊ सती सावित्रीबाट फुँडी भईसकेकी हुन्छे। आइमाईको सत् त विश्वासमा अडेको हुन्छ र लोग्नेप्रतिको प्रेम त्यही सत्मा आधारित हुन्छ। प्रेमीप्रतिको प्रेम पनि त्यही ‘सत्’ मा टिकेको हुन्छ। मेरो लोग्नेले त विश्वासघात गरि नै हाल्यो तर तपाईँले पनि मेरो विश्वास जित्नु भएन। मलाई किन्नु भयो। विर्सनु भयो कि दासी र वेश्या मात्र किनिन्छन् र त्यो पनि कुनै एक समयावधिको लागि मात्र। मैले त पुरुषलाई नारीका संरक्षक ठानेकी थिएँ निरिह आइमाईका हत्यारा होइन तर तपाईँहरू त बिना कारण जिउदो मानिस मार्ने हत्याराभन्दा पनि तल झर्नुभयो। मेरा बाबुआमाबाट मैले अथाह प्रेम पाएर प्रेम भन्ने पवित्रता कहीं छ भन्ने थाहा नपाएकी भए म तपाईँहरूसँग मोलतोल गरिरहने पनि थिइनँ। त्यो पवित्र प्रेमको निम्ति मोलतोल गरेकी हुँ मैले। नत्र त तपाईँहरूसँग यति बोल्न पनि घृणा लाग्ने थियो मलाई। अब त तपाइृहरू मलाई चौबाटोमा गाडिएको ढुङ्गाभन्दा फरक लाग्दैन जसलाई थुक्नुको पनि अर्थ छैन, पूज्नुको कुरै छोडिदिऊँ।”

“समीर कहाँ गएर पनि तिमीले के पाउछ्यौ र?”

“जो पाउनु थियो त्यो पाइनँ। लोग्नेले अग्नि साक्षी राखेर सुरक्षा र संरक्षण दिने वचन दिएको थियो त्यो सकेन। बरू क्षणिक उपलव्धिको निम्ति मेरो जिउदै दाहकर्म गरिदियो। त्यसैले तपाईँ र उसमा मेरो लागि कुनै फरक छैन अब। तपाईँहरू दुवै नै मासुको व्यापारी हो। किन्न पनि सक्ने, बेच्न पनि सक्ने। थाहा छैन तपाईँले कतै आफ्नी स्वास्नी भेटी चढाउनु भयो वा भएन र त्यो ‘आफूसँग असम्वन्धित आइमाइका बारेमा आफ्नो राय दिन र सुन्न पनि चाहन्न तर मलाई लाग्छ तपाईँ पनि मेरो लोग्ने जस्तै जरुरत पर्दा आमा पनि बेच्न हुन्छ भन्ने मध्येको हो। त्यसैले म तपाईँ दुवै कहाँ गएर केही पाउन्नँ। जहाँ पाएकी थिएँ त्यहाँ तपाईँहरूले बस्न नै दिनु भएन। अब त जहाँ बसे पनि उही हो तर मेरो लोग्नेसँग बसेपछि मैंले समाजसँग विरोधाभाष भोगी रहनु। त्यहाँ प्रश्न उठदैन। कुनै प्राप्ति गर्नु छैन भने प्रश्नको अनावश्यक झमेंला किन बेहोरिरहने? त्यसैले म त्यहाँ जान्छु। “

“मेरो जीवनमा हुन त कैयौँ स्वास्नीमानिसहरू आए कोही स्वेच्छाले, कोही करले तर माया गर्न मैले तिमीलाई मात्र सकेँ जस्तो लाग्छ। किन? शायद मेरो कमजोरी होला त्यो, नत्र आफ्नो त्यत्रो मर्यादालाई विर्सेर म तिमीलाई लिन यसरी आईरहने थिईनँ।”

“म माया गर्छु” भन्ने वाक्य तपाईँले अनगिन्तिसँग दोहोर्यारई सक्नु भएको छ तैपनि तपाईँ योबाट अघाउनु भएको छैन। तपाईँले मसँग जुन व्यवहार गर्नुभयो त्यसले ‘प्रेम’ शब्द तपाईँको उच्चारणले मात्र पनि अपवित्र हुन्छ, तपाईँको मुखबाट निस्कँदै अपभ्रंस भएर निस्कन्छ। त्यसैले किन दोहोर्या,उनु हुन्छ त्यसलाई? छोडिदिनुस्, यी पाखण्डका कुरा।बरूभन्नोस्- मेरो लोग्नेसँगको तपाईँको साझेदारी कस्तो चल्दैछ?”

“समीरलाई पनि पछुतो भए जस्तो छ। भन्दै थियो ‘हाम्रो कहीं गल्ती त भएन?'”

मैंले हाँस्दै भनेँ – “हेर्नोस्। न उसलाई पछुतो गर्ने फुर्सद छ, न त्यो उसको स्वभाव हो। मार्नुभन्दा अगाडि ऊ धेरै सोच्ला तर मारेपछि ऊ त्यसपछि हेर्दा पनि हेर्दैन। पछुतो गर्ने त कुरै छोडिदिऊँ। ऊ त निर्दयी हत्यारा हो। योजनावद्ध तरिकाले हत्या गर्न सक्ने। अहिले पनि योजना बनाइरहेको छ। दोषी को? तपाईँ कि म? केलाईरहेको छ। स्वास्नी बेच्न सके पनि स्वास्नीले खुलेआम परपुरुषसँग गईदिनु आफ्नो अपमान ठान्छ ऊ। बदला कोसँग लिने? त्यो पनि ऊ सोच्दै होला। मसँग बदला लिनलाई त मसँग केही पनि छैन।”

“मसँग के बदला लिन सक्छ त्यसले?” – उपेक्षतासाथ जवाफ दियो उसले।

“त्यसो न भन्नोस्। भविष्य कसैको हातमा हुँदैन।”

त्यसपछि हामी लामो समयसम्म बोलेनौं। नानी बीचमा रोयो र मैंले नाङ्गो छाती पारेर दुध खुवाउन लागें। राजवीरले एकपल्ट मतिर हेर्यो र मेरो नाङ्गो छाती देखेर अप्ठ्यारो मान्दै टाउको फर्कायो। निर्लज्जले पनि लाज मानेको देखेर म चकित भएँ।

बजारका छेउमा गाडी रोकिए।

नानीलाई दुध, लिटो खुवाएर निस्कदा एक घण्टा बितिसकेको थियो। गाडी चढ्ने बेलामा मेरो लोग्नेले सोध्यो – “कुनमा चढ्छ्यौ नि तिमी?”

मैंले आफ्नो स्वरमा कुनै पनि भाव नल्याई भने – “सुरु जुनमा गरेँ अन्त्य पनि त्यसैमा गरूँ। आखिर पुग्ने उहीं हो।”

ऊ केही बोलेन तर उसको अनुहारको भावबाट मेरो उत्तरले उसको चित्त नबुझे जस्तो देखिन्थ्यो। मेरी आमाले अवश्य नै केही भनिन् होला उसलाई, नत्र त्यति सानो कुराले उसलाई प्रभाव नपार्नु पर्ने थियो। ‘मन्थरावादको असर’ भनिठानें मैले।

बाटोमा राजवीरले भन्यो – “समीरलाई चित्त नबुझे जस्तो छ।”

मैले बेवास्तासाथ हात फाल्दै भनेँ – “यो चित्त बुझ्नु, नबुझ्नु तपाईँहरूको आफ्नो कुरा हो। कुनै लेनदेन छैन मेरो यसमा।”

ऊ निकै बेर बोलेन र फेरि भन्यो – “एउटा कुरा सोधूँ?”

“आजसम्म नगर्नु परेको अनुरोध अहिले किन पर्योन? ” – त्यो मेरो साँचै नै आश्चर्यको प्रश्न थियो तर उसले मेरो प्रश्नको जवाफ नदिएर उल्टै प्रश्न गर्यो – “यो छोरो समीरको हो?”

त्यस किसिमको प्रश्न आउन सक्छ भन्ने त मलाई लागेको थियो तर त्यती चाँडो आउला भन्ने सोचेकी थिइनँ। त्यही प्रश्न मेरो लोग्नेबाट आउन सक्थ्यो रपछि आयो पनि तर जे होस् म मेरो छोरो उनीहरूलाई दिन सक्दिनथेँ। दिन खोजेकै भए पनि छोराको बाबु किटान गर्न म पनि सक्दिनथेँ। त्यसले मलाई फाइदा नै भएको थियो। मैले कसैको विर्यप्रति ऋणी हुन परेन। मैले दुवैलाई एउटै उत्तर दिएँ – “हुन सक्छ यो समीरको होओस्। राजवीरको हुन पनि त्यो उत्तिकै सम्भव छ र अझ तेश्रो व्यक्ति जसलाई तपाईँहरू चिन्नु हून्न उसको हुन सक्दैन भन्न पनि म सक्दिनँ। “

“तेश्रा व्यक्ति?” – विस्तारित आँखाले हेरेथे दुवैले।

त्यस प्रश्नको निम्ति पनि म तयार थिएँ। मैंले त्यति नै गम्भिरता र सहजतासाथ जवाफ दिएँ – “त्यो तेश्रो व्यक्ति तपाईँहरू जस्तो क्रुर थिएन।”

तेश्रो व्यक्ति मेरो खेलको एक्का थियो। ती दुई व्यापारी त मोलतोल गरेर आपसमा हिसाव मिलान गर्न सक्थे तर त्यो अत्तोपत्तो नभएको तेश्रो व्यक्तिसँग मोलतोल गरुन् कसरी? घरमा मेरो कुनै स्वागत भएन। पहिलो त, कसैसँग मेरो खास आत्मियता थिएन। दोश्रो, त्यो घरमा स्वागत गर्ने मानिस पनि कोही थिएन। त्यो घरमा रोबटले झैं नबोली अराएको काम मात्र गर्ने नोकर चाकर मात्र थिए। त्यो साँझ मेरो लोग्ने, मेरी आमा र राजवीरले मलाई खुशी बनाउन खोजे तर आफै नै म खुशी थिइनँ भनेँ अरूले खुशी पार्न खोजेर के पो हुन सक्थ्यो?

एउटा घरको छानो मुनि हामी दुई लोग्ने स्वास्नी दुई अंशियार जस्ता विभाजित भएका थियौँ। म छोरो लिएर एउटा कोठामा सुत्थे, उसको आफ्नै कोठा थियो। दाम्पत्यको जिम्मेवारीबाट हामी मुक्त थियौँ। यसो भन्दैमा ममा यौनेच्छा थिएन भन्ने अर्थ लाग्दैन। मानवजन्य स्वभाव त मेरो थियो नै। फेरि कुनै पतिव्रता सती सावित्रि पनि त होइन म। त्यसैले जब मेरो चाहनामा तिब्रता आउँथ्यो, बजार पस्थेँ, मासु छान्थेँ, मुल्य तिर्थे, उपभोग गर्थें। स्वास्नीमानिसकोभन्दा लोग्नेमानिसको मासु बजार समाजभित्र अलि लुकेर बसेको हुन्छ। त्यसलाई पत्ता लगाउन अलिकति बुद्धि र कौशलको जरुरत परेथ्यो मलाई। हेर्दा यो नराम्रो लाग्न सक्छ तर जुन समाजकी गृहिणी भएर म बसेकी थिएँ त्यहाँभन्दा धेरै तल झर्न पनि मनाही थिएन भने मेरो कार्य कसरि अनैतिक हुन सक्थ्यो र? मासुको निम्ति बजार पस्ने गरे पनि सिकारको खोजीमा दौडने सिकारी भइनँ म। मलाई थाहा थियो – आवश्यकतालाई शोखमा बदलेपछि त्यो सौखको तृष्णा असीमित हुन्छ। त्यसैले आवश्यकतालाई भोगको साधन बनाउनु हुन्न, आवश्यकताको दायराभित्र नै रहन दिनुपर्छ। मेरो निम्ति त लोग्नेमानिस क्षणिक आवेग सन्तुष्टिको साधन मात्र भइदिए।

जीवन गतिशिल त्रिकोणहरूको एउटा माखेसाङलो हो। झट्ट हेर्दा कहीं सरल र कहीं वक्र रेखाहरू देखिए पनि नियालेर हेरेपछि थाहा हुन्छ ती सरल र वक्र रेखाहरूका आधार, बिन्दुहरू होइनन्, अनगिन्ती शु73म त्रिकोणहरू हुन्। अर्थात त्रिकोणीय सम्बन्ध नै जीवनको आधार हो। दुई व्यक्ति बीचको सम्बन्धलाई तेश्रो व्यक्तिले कारक भएर त्यो सम्बन्ध स्थिर बनाइ दिएको हुन्छ। कहीं कतै त्यो सम्बन्ध दुई व्यक्ति बीच मात्र देखा पर्योद भने सम्भि्कए हुन्छ – त्यो दुई बिन्दुमा अडिएको ठोस जस्तै अस्थिर हो र सानो धक्काले नै त्यो सम्बन्ध टुटेर अर्को स्थिर सम्बन्ध कायम हुन्छ। नदेखिएर अनुभूति मात्र हुने यी त्रिकोणीय सम्बन्धहरू प्रेमका हुन सक्छन्, घृणाका हुन सक्छन्, अझ प्रेम र घृणा दुबै मिसिएका पनि हुन सक्छन्। यिनीहरूको बनोट नै व्यक्तिगत सम्बन्ध हो र यिनीहरूको रूपपरिवर्तन नै जिवनको गति हो।

मेरा बाबुको मृत्युसम्म मेरो अरू बालकहरूको जस्तै अचेतन त्रिकोण थियो। जन्मसँगै सिर्जना भएको आमा, बाबु र म बीचको त्रिकोण जहाँ मेरो व्यक्तित्व स्वतन्त्र थिएन। मेरो स्वतन्त्र निर्णय त मेरो पहिलो प्रेम थियो। अचेत अवस्थाबाट चेतनावस्थामा आएर गरिएको पहिलो निर्णय तर त्यो सम्बन्धमा प्रतिद्वन्दी तेश्रो व्यक्तिको अनुपस्थितिले सम्बन्ध अस्थिर हुदा पहिलो निर्णयले नै पाउनुको छोटो आनन्दपछि बुझाउनु पर्ने चर्को पीडा दिएर मेरो आत्माको सम्वेदन क्षमता नै लाटो गराईदियो। मेरो विवाह देखि.निष्क्रमणसम्म र अझ प्रवासको केही समयसम्म पनि म त बाटोमा गाडिएको ढुङ्गा जस्ती भएकी थिएँ जो घाम, पानी, हावा र ठक्कर आएर समयसँग सगै विना कुनै स्पन्दन र सम्वेदन खिइदै जान्छ। ‘दाल भात मात्रै जीवन होइन, बाँच्नु र बचाउनुको मुख्य आधार त माया हो’ भन्ने मैंले प्रवासमा मेरी आमाबाट सिकेपछि बाँच्न शुरू गरेकी थिएँ।

मेरो लोग्नेको धरमा आएपछि फेरि जीवनको अर्को त्रिकोण शुरू भयो। मेरो लोग्ने म, ऊ र मेरो छोराका बीचमा प्रेमको दावीमा त्रिकोणात्मक सम्बन्ध बनाएर जीवनको नयाँ थालनी गर्न चाहन्थ्यो। राजवीर पनि त्यस्तै चाहन्थ्यो तर मेरो लोग्नेको स्थानमा ऊ आफू स्थापित हुन खोज्थ्यो। म चाहन्थेँ -त्यो त्रिकोण म, मेरो लोग्ने र राजवीरमा नै सीमित रहोस्। म मेरो छोरोलाई त्यो अभिशप्त त्रिकोणभित्र नछिराएर उसको आफ्नै स्वतन्त्र चेतन त्रिकोण बनाउने मौका दिन चाहन्थे। तैपनि ऊ, म र त्यो अज्ञात बाबुको त्रिकोणीय सम्बन्धलाई मैंले स्वीकार गर्न करै लाग्दथ्यो र राजवीर र मेरो लोग्ने मेरो त्यही बाध्यतालाई आफ्नो पक्षमा ल्याउन चाहन्थे।

मेरो लोग्ने र राजवीर मित्र थिए र प्रतिद्वन्दी पनि। मित्रता उनीहरूको पारस्परिक लाभको निम्ति थियो भनेप्रतिद्वन्दिता मबाट स्वीकारोक्ति पाउनुको। उनीहरू एउटै बोतलबाट रक्सी खान्थे, एउटै टेबलमा डिनर चल्थ्यो र एक अर्कोको घरमा जान स्वतन्त्र थिए। म पनि राजवीरलाई त्यो घरमा स्वागत गरिदिन्थेँ र उसको आतिथ्य पनि स्वीकार गरिदिन्थेँ। भोज, भतेर, पार्टी, सभा जहीं पनि म उनीहरू दुवै जनालाई समान व्यवहार गरिदिन्थेँ र झट्ट हेर्दा म दुवैकी स्वास्नी जस्ती लाग्दथेँ। त्यसैले हामी तीन जनाका बारेमा बाहिर के भन्छन्? भन्ने चासो नराखे पनि मेरो चरित्रबारे पर्याप्त कुरा गरिन्थ्यो। राजवीरलाई ‘कुकर्मी’ भनेर दाग लगाइन्थ्यो र मेरो लोग्नेलाई नामर्दको संज्ञा दिइन्थ्यो। एउटाकी स्वास्नी अर्कोले रखौटी बनाउने त्यो समाजमा त्यस्तो सोचाई नहुनुपर्ने थियो तर हाम्रा सम्बन्ध असामान्य भएकाले हामी पुर्णतः अस्विकृत भएका थियौँ।

हामीलाई दिएका उपनामहरू मेरो लोग्नेलाई साह्रै खडेकियो र भन्यो – “सुन्यौ के भन्छन् हामीलाई बाहिर?”

अनभिज्ञतालाई ढाल बनाएर मैंले सोधें – “किन? के भन्छन् र?

“नामर्द भन्छन् मलाई बाहिर त्यो पनि तिम्रो कारणले।” – उसले नाकका पोरा फुलायो।

“तपाईँको बाहिर कैयौ आइमाईसँगको सम्बन्ध थाहा हुँदा हुदै कसरि भन्न सक्छन् नामर्द तपाईँलाई? ती आइमाईका लोग्नेलाई कसैले ‘नामर्द’ भनेको सुनेकी छैन मैंले।” – मैंले प्रहार गरेँ।

“उनीहरूले लोग्नेलाईभन्दा अरूलाई लोग्ने जस्तो व्यवहार गर्दैनन्।” – उसले आफ्नो व्यथा प्रस्ट्यायो।

मैले लोग्ने के चाहन्थ्यो? त्यो जान्न चाहेर मैंले सोधें – “ल, तपाईँ मेरो एउटा लोग्नेको ठाउँमा बसेकोले भन्नोस् त मैंले कसो गर्नुपर्छ।”

मेरो लोग्ने पहिले त अलमलियो तर तुरून्त पुरुष अभिमान अगाडि ल्याएर भन्यो – “भित्र मनमा जे सोचे पनि र पर्दा पछाडि जे गरे पनि खुला रूपमा त समाजको मर्यादालाई हेर्नुपर्छ। यसरी नै समाज बनेको छ र यसरी नै समाज अडेको छ।”

मैंले आफूलाई स्पष्ट पार्नु आवश्यक ठानेर भनेँ – “हेर्नोस्, यो समाज मैले बनाएकी होइन र मैंले अडाउनु पर्छ भन्ने पनि केही छैन। त्यसैले यसका मान्यता र अमान्यतालाई मैंले मान्नु पर्ने बाध्यता म देख्दिन। यो समाजभित्र एउटी स्वास्नीको नाताले त आफ्ना दाँत र नङले मात्र रक्षा गर्न सक्ने ती आदिमहरूका स्वास्नी जत्तिकी पनि भइनँ म। त्यो आदिम मानिसले त त्यसलाई अर्धाङ्गिनी मानेर आफू ढाल बनिदिन्थ्यो। तपाईँले त मलाई भोजमा ल्याएको मासुभन्दा बढी ठान्नु भएन – खान पनि हुने, बाँड्न पनि हुने। तब लोकमर्यादाको कुरा कहाँ रह्यो?”

“त्यो आन्तरिक कुरा हो। बाहिर पनि त्यस्तै हुनुपर्छ भन्ने केही छैन।” – मेरो लोग्नेले आपत्ति उठायो।

“हो, आन्तरिक कुरा एउटा हो र बाहिरी कुरा अर्को तर सबै आन्तरिक र बाहिरी कुरा समान हुन सक्दैनन्। सबै आइमाई म जस्तै बलात्कृत भएका पनि हुँदैनन् र सबै स्वास्नीमानिस म जस्तै सौदाका सौगात भएका पनि छैनन्। तपाईँको समाजमा त कति आइमाईलाई सती सावित्रि बन्ने बाध्यताभित्र राखिएको छ त कतिलाई बेश्या बनाएर बजारमा तेर्स्याईएको छ। त्यस्तै बाध्यताले त नारी कहिले लोग्ने मारेर सती गईदिन्छे र कहिले सयवटा उपपतिको ताँती लगाई दिन्छे। म एउटी स्वास्नी, एउटी स्वास्नीमानिस बन्न चाहन्थेँ तर तपाईँले एउटी वेश्या, एउटा काँचो मासुको टुक्रा बनाईदिनु भयो मलाई। त्यसैले मैंले समाजमा मेरो एउटा मात्र होइन धेरै लोग्नेहरू छन् भनिदिँदा मेरो लागि केही फरक पर्दैन।” – मैंले आफ्नो तर्क दिएँ।

“तर म र राजवीरसँग त्यस्तो सम्बन्ध तिम्रो छ नै कहाँ अहिले र? ” मेरो लोग्नेले जायज प्रश्न उठायो।

“कसैसँग सम्बन्ध भएर पनि छैन भन्न मिल्छ भने हाम्रो सम्बन्ध नभएर पनि ‘छ सम्बन्ध’ भनिदिदा कुन ठूलो अपराध भइहाल्ला र? “

“तर त्यस्तो त लोग्नेस्वास्नीको सम्बन्ध हुँदैन।” – उसले आफ्नो राय दियो।

“हेर्नोस् , लोग्नेस्वास्नीका सम्बन्ध बारेमा म एकदम नै अनभिज्ञ छु। मेरो निम्ति त सुहागरात अपमान र बलत्कारको रात भयो, मेरो मधुमास त्राश र निराशाका मास भए र मेरो स्वास्नी बन्ने चाहना कति बर्षका वनवासमा परिणत भए। त्यसैले जो लोग्नेमानिस मेरो शारीरिक संसर्गमा आयो, त्यो नै लोग्नेको परिभाषाभित्र पर्छ मेरो त। ” “जे भयो भयो। अब नयाँ जीवन शुरू गर्न सक्छौ हामी।” – जिद्धि लियो उसले।

“हेर्नोस्। त्यो मेरो कुमारी मुटुमा लागेको चोटको खत यथावत छदैंछ र मेरो नाङ्गो शरीरमा टाँसिएको राजवीर जस्ता लोग्नेमानिसको पसिनाको गन्ध अझै पखालिएको छैन। यो अर्काको नासो किन बेहोर्नुहुन्छ तपाईँ? अहिले हामी जसरी, जहाँ छौं त्यही नै नियति हो हाम्रो। त्यही नै हाम्रो कर्मको फल हो। म त यसैलाई बेहोर्ने पक्षमा छु।”

“छोराको भविष्यको बारेमा के सोचेकी छौ नि तिमीले?” – मेरो लोग्ने मेरो कमजोर पक्ष उठायो।

“छोरो मेरो हो र केवल मेरो। कुनै लोग्नेमानिसले यसमा दावी गर्न सक्दैन।” – मैंले जवाफ दिएँ।

‘बाबुको प्रश्न त उठिहाल्छ कुनै न कुनै दिन।” – उसले जिद्धि छोडेन।

मैंले दृढ भएर जवाफ दिएँ – “जुन दिन जसरी उठ्छ त्यतिखेर त्यसरी नै जवाफ दिउँला आखिर बाबुको फैसला गरिदिने पनि त म नै हुँ।”

मेरो लोग्नेको चित्त नबुझे पनि केही बोलेन।

तृष्णा सामर्थ्यवानहरूको ठूलो कमजोरी हो। उनीहरू आफ्नो सामर्थ्यलाई असीमित ठान्छन् र जो कष्टप्राप्य या अझ अप्राप्य छ त्यसलाई प्राप्त गर्न खोज्दछन्। अलेक्जेण्डर महान् त्यत्रो धर्तीको पाटो विजय गरेर पनि सिन्धुनदी पूर्वको जमिन अधिकार गर्न नपाउदा पराजित मनस्थिति लिएर पश्चिमतिर फर्किए र उनको अन्त्य एउटा समान्य मानिस जस्तै भयो। अन्त्यहिन साम्राज्यको चाहान राख्ने नेपोलियन बोनापार्ट एउटा सिपाहीदेखि सम्राट त बन्न पुगे तर त्योभन्दा ठूलो महत्वाकांक्षाले उनीलाई सेन्ट हेलेन टापुमा ल्याएर सीमित गरिदियो। देशदेशका इतिहासमा मात्र होइन, प्रत्येकका छरछिमेक, घर दैलोमा त्यस्ता असीमित इच्छाका सामर्थ्यवानहरू सधैं उम्रन्छन् र मेरो वरिपरि पनि समीर र राजवीरहरू जस्ता सामर्थ्यवान थिए। उनीहरूले जो चाहे त्यो पाएका थिए। उनीहरू प्राप्तीको मोडमा अझैमाथि पुग्न चाहन्थे तर म त्यो मोडमा एउटा खुट्किलो झै तेर्सिएर चुनौती दिइरहेको थिएँ। नाघ्न उनीहरूको स्वगर्वले दिदैनथ्यो, टेकेर हिड्न उनीहरू सक्दैनथे। मेरो प्रवास दुवैको निम्ति पराजय ठहरिएको थियो र दुवै मलाई जित्न चाहन्थे। उनीहरू दुवैप्रतिद्वन्दी थिए एक अर्कोलाई हटाउन सधैं तयार। त्यसैले म घरभित्र एक अर्कोबाट रक्षित थिएँ। बाहिर त झन दुबै रक्षक हुने नै भए।

मेरो लोग्नेको दिन चर्यामा खासै परिवर्तन भएन। उसको कमाउने आकांक्षा उही पुरानै थियो। ऊ पहिले जति नै पिउथ्यो। स्वास्नीमानिसको आवश्यकता त हुन्थ्यो नै। मेरो आफ्नो निम्ति त होइन, छोराको निम्ति उसले यी कुरा घरको परिधिभन्दा बाहिरै राखोस् भन्ने म चाहन्थे तर उसलाई मैंले अनुरोध कहिले पनि गरिनँ ,बरूपाँच बर्ष नपुग्दै छोरालई छात्रावासमा राखिदिएँ।

मेरो छोरो छात्रावासमा राख्ने विषयमा पनि हाम्रो विवाद भएको थियो। मेरो लोग्ने चाहन्थ्यो -छोराको भविष्य निर्धारण गर्ने कुरामा राजवीरको कुनै भूमिका नरहोस्। म पनि त्यही चाहन्थेँ तर लोग्नेको भूमिका पनि मलाई स्वीकार थिएन। आखिर बाध्यताले हामीलाई छलफलको दायराभित्र ल्याई दियो।

“हेर ! यो सामर्थ्यवान र सम्पन्नको छोरो हो। यसले दरिद्र मानशिकता देख्न पनि हुंदैन।” – राजवीरले भन्यो।

“त्यो भन्ने पनि छैन। यो असम्पन्न र गरिवको पनि छोरो हुन सक्छ। दरिद्रता उसको रगतमा छैन भन्न म सक्दिन।” – मैले भनेँ।

“आज ऊ जुन स्थितिमा छ, त्यहाँ हामी कमजोर र असम्पन्न छैनौं।” – समीरले जवाफ दियो।

“यो मेरो छोरो र मसँग चुनदाम छैन। कसैले निगाहले दिएको पैसा हुँदैमा म आफूलाई सम्पन्न ठान्न सक्दिनँ। कुकुरले मृग लखेटिएझैं लखेटिन सक्ने म सामर्थ्यवान होइन। तपाईँहरू म र मेरो छोरोलाई आफ्नै भाग्यमा बाँच्न किन दिनुहुन्न? थाहा छ मलाई -तपाईँहरू समर्थवान् हुनुहुन्छ, दौलत अथाह छ तपाईँहरूसँग तर तपाईँहरूले सहायता र सहयोग गर्नु पर्ने मानिस पनि त थुप्रै छन्। एक पत्नी व्रत होइन तपाईँहरू र जायज र नाजायज सन्तानहरू छन् तपाईँहरूका। यो हजुरको आफ्नै सन्तान हो, म हजुरालाई मात्रै माया गर्छु भन्ने आइमाईको पनि कमी छैन तपाईँहरूसँग। म त न तपाईँहरूलाई माया गर्छु, न तपाईँहरूलाई स्वास्नीमानिसप्रति सन्मान भएका लोग्नेमानिसका रूपमा नै लिन्छु। मेरो लागि त तपाईँहरू उन्मत्त बलत्कारी, व्यभिचारी, निर्लज्ज र निर्दयी जीवहरू हो। म यहाँ बसेकै हिसावले तपाईँहरूले म र मेराहरूमाथि अधिकार माग्न सक्नु हुन्न। म यहाँ आफू खुशीले आएकी होइन तपाईँहरूले बलजफ्ती लिएर आउनु भएको हो।”

“हामीले हाम्रो अतितको गल्ती स्वीकारेर क्षमा त माग्न सक्छौं नि?” – राजवीर बाठो थियो, त्यसैले भन्यो।

मैंले जवाफ दिएँ – “मरेको मानिसले हत्यारालाई क्षमा दिन सक्दैन र हत्याराले ऊसँग क्षमामाग्ने अधिकार पनि छैन। हत्याराले त भगवानसँग गएर क्षमा माग्नुपर्छ। ‘हामहिरूसँग सम्बन्ध नै छैन’ भने नाता जोडेर किन बस्छेस् त भन्नु होला तपाईँहरू। मेरो जाने ठाउँ कहीं छैन त्यसैले बसेकी छु यहाँ। मेरो लागि नर्क पनि यहाँभन्दा धेरैमाथि हुन्छ। तर के गर्नु र? त्यो नर्कमा गएर लुके पनि तपाईँहरू मलाई घिच्याएर यही ओराल्नु हुनेछ र ‘यो मासुको टुक्रा मेरो’ भन्दै दुई कुकुर झैं जुधिरहनुहुनेछ। यो तपाईँहरूको चरित्र हो र चरित्रका वसमा हुनुहुन्छ तपाईँहरू। ‘मेरो’ भन्ने त्यत्रो चाहना छ भने तपाईँहरूमा म तपाईँहरू दुवैलाई एकैसाथ दुई अँगालोमा बाँधेर सुतिदिन सक्छु र तपाईँहरू एउटै भाँडाको मासु पालैपालो टोकिरहन सक्नुहुन्छ। तर यसको प्राप्ति के तपाईँहरूलाई? जुन मासुभित्र आत्मा हुँदैन त्यो मासुको प्राप्ति के प्राप्ति? त्यसैले जो छ त्यही भोग गर्नोस्, अप्राप्य न खोज्नोस्।”

“त्यत्रो ज्ञान जान्ने मानिसले किन बिर्सन्छ्यौँ कि विवाहिता स्वास्नीमानिसले जन्माएको छोरो लोग्नेको हुन्छ भनेर?” – मेरो लोग्नेले व्यङ्गात्मक प्रश्न गर्यो्।

“यहाँ कुरो रजनीको बैधानिक स्वीकारोक्तिको उठेको होईन, समीर। यसलाई त उनीले अस्वीकार गरेकी नै छैनन्। कुरा बैधानिकताको नभएर प्राप्ती अप्राप्तिको हो।” – राजवीरले बीचैमा भन्यो।

“तपाईँभन्दा राजवीर धेरै चाँडो कुरा बुझ्नुहुन्छ। मैंले मेरो छोरालाई आफ्नो पार्दैमा वहाँ अपुतो मर्ने होइन। वहाँका कैयौँ सन्तानहरू छन्, पिण्ड पानी दिन। तपाईँलाई मेरो छोरोले नै तर्पण देला। यो त तपाईँ -हामीहरू मरेपछिको कुरा हो। अहिले त यसको खास बाबु ‘को हो?’ भन्ने प्रश्न त यसै पनि काँचै रहने छ र बाबु भएर पनि बाबु बन्न सक्नुहुन्न। मेरो रगत त हो यो? भन्ने शङ्काको वृत्तभित्र पर्नुहुनेछ तपाईँ दुवै। अनजान रगतको यो छोरो धर्म पुत्र जत्तिको पनि हुने छैन तपाईँहरू लागि। तब हामी मरेपछि हाम्रो कथा नै रहन्न भने हाम्रा दावीको के अर्थ? यो सबै बुझेर पनि मेरो छोरो मेरो मात्र हुन दिनुमा तपाईँहरूलाई आपत्ति किन?”

एक्लो भए आपत्ति पनि उठ्न सक्थ्यो तर एकले अर्कोको विरोध गर्न सक्ने भएकाले आपत्ति उठ्न सकेन र मैले मेरो छोरोलाई आफ्नो पहुँचको दायराभित्र राखें।

छोरो भेट्न म बराबर छात्रावास जान्थेँ र त्यसरी नै जान्थे मेरो लोग्ने र राजवीर पनि। नगएकै भए पनि कानुनी अधिकार थियो मेरो लोग्नेको मेरो छोरोमाथि र सामाजिक मान्यता त पाएकै थियो राजवीरले पनि। तैपनि उनीहरू जान्थे र आफ्नो-आफ्नो प्रभाव बनाउन खोज्थे त्यो छोरोमाथि।

समय एक दशक नाघिसकेको थियो र आफ्नो कामबाट अवकाश लिएपछि राजवीर नितान्त एक्लियो। उसका आफन्तहरूले उसलाई छोडिसकेका थिए। कोही मरेर गए, कोही विदेशीए। सत्ताबाट निस्किएपछि मित्रहरू पनि रहेनन। उसको चरित्र र स्वभावले नै उसलाई त्यो मोडमा ल्याएर छोडिदिएको थियो। अब त उसको आफ्नो भन्न सक्ने घर नै मेरो लोग्नेको मात्र थियो जहाँ ऊ आउन जान सक्थ्यो र त्यो पनि लोग्नेको चाहनाले होईन मेरो सदिच्छाले मात्र त्यो बाटो खुला थियो।

राजवीर बुढो भईसकेको थियो। संयमित जीवन भएको भए पैंसिठ्ठ बर्षको मानिसको बाँच्ने आशा अझ निकै हुनुपर्ने थियो तर उसको जीवन त धुनीमा हालिएको मुढो झै निर्दयतासाथ सल्काइएको थियो। ऊसँग सबै रोग थिए र खान हुने चिज औषधि बाहेक अरू कमै थिए। यसरी कुनै समयको धनवान् र बलवान् राजवीर नातागोतबाट त्यक्त, ईष्टमित्रबाट उपेक्षित, कसैको दयाको आशा गर्ने जिर्ण र निरिह जीवमा परिणत भएको थियो।

एक दिन बेलुका हामी तीनै जना भव्य डाईनिङ्ग टेवलको तीन कुनामा बसेका थियौँ। मेरा अगाडि सीमित खानाहरू थिए। खानाको शोख नहुनाले मेरो भागमा जहिले पनि सीमित मात्राका चिजहरू हुन्थे। मेरो लोग्ने संयम गरि टोपल्थ्यो तर उसको जीवन आँधी-बेहरी जस्तै असंयमित भएकोले कुनै नियम पालन गर्न सक्दैनथ्यो। पैतालिस बर्षको मानिस उमेरभन्दा धेरै अगाडि देखिन्थ्यो र राजवीरको उमेरमा त ऊ राजवीरभन्दा धेरै दयनिय बन्न सक्थ्यो। मानविय दयाले म खानालाई उनीहरूको स्वास्थ्य अनुकुल बनाईदिन खोज्थे तर त्यो खाना उनीहरूको जिब्रोलाई पाच्य हुन गाह्रो पर्थ्यो।

आफ्नो सामु राखिएको उसिनेको नुन विहिन सागलाई रोटीले उठाउन लागेको राजवीरलाई हेर्दै मैंले भनेँ – “सधैं यस्तै खानु परेपछि तपाईँ सधैं यहीं किन खाने, बस्ने गर्नुहुन्न? आखिर यही दुई गाँस न हो।”

राजवीरले पीडित आँखाले मतिर हेर्योन र भन्यो – “तिम्रो सहानुभूतिको निम्ति धन्यवाद तर म जहाँ छु, त्यहीँ ठीक छु।”

“होइन। रजनीले भनेको कुरा ठीकै हो। आखिर किन मान्नु हुन्न तपाईँ?” – मेरो लोग्नेले पनि थप्यो।

राजवीरले शुन्यतिर हेरेर भन्यो – “सलेदो नै सिद्धिन लागेपछि तेल थपेर के पो भईहाल्ला र?बरूयसको अन्त्य सहज बनाउनु उपयुक्त हुन्छ।”

मैंले बिस्तारै भनेँ – “हेर्नोस्। न यो प्रेम हो, न यो सहानुभूति नै हो। यो त केवल मानवीय भावना मात्रै हो। त्यसैले तपाईँले असजिलो मान्नु पर्दैन।”

राजवीरले एक छिन् नबोलेर फेरि भन्यो – “तिमीहरू यसै भन्छौं भने ठीकै छ। जहाँ खाए, बसे पनि यही दुईटा रोटी र यही १/२ घण्टाको निन्द्रा न हो। “

मैंले राजवीरको लागि कोठा बनाईदिएँ र एउटी नर्सले झैं उसको सेवा पनि गरेँ। मलाई उसको सेवा गर्नमा कुनै आपत्ति भएन, न बिग्रदो उसको स्वास्थ्यप्रति कुनै चिन्ता नै भयो। राजवीरको स्थिति यति दयनिय थियो कि कसैले पनि उसमा औंला उठाएन, मेरो लोग्नेसम्मले पनि। मैंले राजवीरको सिरानीमा बसेर धेरै राम्रा कुराहरू सुनाएँ, धेरै सान्त्वना दिएं, भगवानको नाम पनि लिईदिएँ। तै पनि, किन हो कुन्नि? उसलाई शान्ति कहिले पनि भएन। ऊ छातीभित्र कुनै बोझ भए झै आफ्नै छाती दबाएर बस्दथ्यो। यसरी नै केही वर्ष बित्यो।

मैंले एक दिन सधैं झै खाना र औषधि खुवाएर राजवीरलाई ओछ्ययानमा सुताएर बाहिर निस्कन खोजें। राजवीरले मलिन स्वरमा भन्यो – “एकै छिन् बसन, रजनी। एउटा कुरा गर्नु छ।”

म स्टुल समाएर छेवैमा बसे। राजवीर केही बेर आँखा चिम्लेर बस्यो र बिस्तारै भन्यो – “रजनी। मेरो जीवन त्यति सहज भएन। म कहाँबाट उठेर कहाँसम्म पुगें। मेरो प्रगतिमा मलाई सधैं गर्व भयो। मैंले गर्ने नगर्ने सबै काम गरेँ र मेरो कामप्रति मलाई अपराध बोध कहिले पनि भएन। कुनै दिन मेरो वरिपरि धेरै मानिस थिए, अहिले मेरो साथमा कोही पनि छैन। सबै सामर्थ्यवानको अन्त्य यसरी नै हुन्छ। त्यसैले यसमा पनि मेरो गुनासो छैन तर तिमीप्रति जो अन्याय गरेँ त्यसले भने मलाई घोचिरहेको छ। “

“त्यो इतिहास हो, त्यो दुस्वप्न हो – यस्तै ठानेर त्यसलाई बिर्सनोस्।” – मैंले कुरा काटेर सल्लाह दिएँ।

राजवीरले लामो सास तानेर भन्यो – “बालकको त दुस्वप्न पनि मिठो हुन्छ किनकि उसको मनमा पवित्रता मात्र हुन्छ। अपराधीको सबै सपना दुस्वप्न हुन्छन्। त्यसैले विर्सन सक्दैन ऊ ती सपना।”

मैंले आफ्नो राय व्यक्त गरेँ – “हेर्नोस् मानिसले कसैलाई पनि वरदान वा श्राप दिन सक्दैन। मानिससँग क्षमा याचना गर्नु र उसले दिनु त एउटाले अर्कोसँग जीवनमा माग्नु र दिनु जस्तै हो। जीवन लिन र दिन म सक्दिनँ। म त समान्य मानिस हुँ। त्यसैले मसँग माग नगर्नोस्। पश्चाताप छ भने ईश्वरको सामु उभिनुहोस्। उनीले क्षमा दिनेछन्। मलाई ईश्वरको हाराहारीमा न उभ्याउनुहोस्। भगवानमा विश्वास छैन भने आफ्नो अपराधको क्षमा आफ्नै आत्मासँग माग्नोस्, आफैलाई सन्तोष हुनेछ। “

उसलाई चित्त बुझ्यो वा बुझेन भन्न सक्दिन। उसले आँखा चिम्लियो र बत्ती मधुरो पारेर बाहिर निस्किएँ।

राजवीर निन्द्रामा नै गयो। मैंले भगवानसँग अनुरोध गरेँ – उसको आत्माले शान्ति पाओस्।

मेरो छोरो किशोरावस्थामा टेकिसकेको थियो र उसका स्वभाविक चारित्रिक लक्षणहरू देखा पर्न थालेका थिए। म ती चिजहरू मात्र दिन चाहनथेँ जो उसका निम्ति आवश्यक थिए। मेरो लोग्ने भने उसले चाहेका सबै चिज दिन्थ्यो। मैंले विरोध गर्दा ऊ भन्थ्यो – “ऊसँग सबै चिज छ त ऊ असम्पन्न किन बनोस्?

म देख्दै थिएँ -मेरो लोग्नेको तथाकथित उदारताको मेरो छोरोले दुरुपयोग गर्दै थियो। उसका कोठामा ती चिजहरू आउन थालेका थिए जो त्यो उमेरमा आउनु हुन्नथ्यो। ती चिजहरूले उसलाई विकृतितिर लान सक्थे। बिहानी उठेदेखि अबेर रातिसम्म उसको कोठा उदण्ड गीत र त्यसको तालमा नाच्ने साथीहरूले रङमिङएको हुन्थ्यो र त्यहाँ अर्थहिन भिडियो फिल्महरू चल्थे। मलाई उनीहरू त्योभन्दा पर पनि गए जस्तो लाग्न थाल्यो र रंगमञ्चलाईप्रतिवन्ध लगाउनै पर्यो । ऊ रोयो, करायो र मेरो लोथ्नेसँग गएर विरोध पनि गर्योग तैपनि मेले त्यसलाई स्वीकार गरिनँ।

मैंले सोचेको थिएँ – कुरा टुंगियो तर विदापछि ऊ विद्यालय फर्कन मानेन। उसलाई बलजफ्ती गर्न सकिने उमेर पनि थिएन। फेरि बाबुको समर्थन उसमा भएकोले म विवशतातिर जादैं थिएँ। त्यसैले जीवनमा पहिलोपल्ट मैंले मेरो लोग्नेलाई हात जोडेर अनुरोध गरेँ – “जनी गर्नोस्। छोरोलाई छात्रावासमा पठाउन सह्योग गर्नोस्।”

उसले मेरो अनुरोधलाई अस्वीकार गर्दै भन्यो – “रजनी। तिमी त्यो कुरा गर्न खोज्छ्यौ जुन कुरा उसलाई मन पर्दैन। ऊ गरिब छैन भने किन गरिब बनोस्? ऊ अरू पढ्न चाहदैन भने पढोस् पनि किन? किन आवश्यक छ उसलाई यो कुरा? प्रमाणपत्र चाह्यिो किन उसलाई?”

“के बनाउन चाहनुहुन्छ तपाईँ उसलाई? के उसलाई ज्ञानी, विद्धान बन्न दिन चाहनुहुन्न?” – मैंले अड्डी लिएँ।

“चाहन्न। म उसलाई विद्धान बनाउन चाहन्न। विद्धानको विद्धता नै विद्धानको मुर्खता हो। कसरी सम्पन्न भएर सुख सित बाँच्ने भन्ने नसिकाएर त्यो विद्वत्ताले सत्कर्म, नैतिकता आदिका विसङ्गति जन्माई दिन्छ र तिनै विसङ्गतिका कारणले नै ऊ असफल हुन्छ। कुन ज्ञान दिन चाहन्छ्यौं तिमी? जसरी भए पनि आफू बाँच्नु पर्छ भन्ने ज्ञान कि आफू नष्ट भएर पनि अर्कोलाई बचाउनु पर्छ भन्ने ज्ञान? म त त्यो व्यवहारिक ज्ञान दिन चाहन्छु जसले जसरी भए पनि बाँच्नु पर्छ भन्ने जानोस् र म त्यो व्यवहारिक ज्ञान हासिल गर्ने साधन पनि जुटाई दिन्छु।” – मेरो लोग्नेले कठोरता देखायो।

मेरो लोग्नेसँगको संघर्षमा राजवीर मेरो बलियो पत्ता थियो र उसको मृत्युपछि मेरो लोग्नेको पक्ष बलियो हुन पुग्यो। छोरोलाई बिद्रोही बनाउन मेरो लोग्नेको पर्याप्त हात थियो। विकृत थियो ऊ र उसको आर्थिक सफलताले उसलाई अझ विकृत बनाएको थियोृ। आफूले सकेसम्मका व्यक्तिहरूलाई ऊ अनैतिक क्रुर तर सफल बनाउन चाहन्थ्यो र त्यसको निम्ति ऊ उसका स्वार्थका सबै अकार्यलाई जायज ठहर्यायउथ्यो। परपीडनको आनन्द उसकोको सोख थियो। त्यसमा पनि आफ्नो आधिपत्यता या वर्चश्वता स्वीकार नगर्नेमाथि विजय प्राप्त गरेर उसलाई पीडा पुर्याडउने आजन्दको नशा थियो उसलाई। शायद बालककालदेखि कै कुण्ठा थियो उसमा। संघर्ष म र मेरो लोग्नेको बीचमा थियो। त्यो बेलासम्म ऊ संघर्षभन्दा पलायनमा जोड दिन्थ्यो, त्यसैले प्रत्यक्ष घर्षण हुन्नथ्यो। त्यसमा थप राजवीर भएको समयमा मेरो लोग्नेको आक्रमणलाई उसको उपस्थितिले कमजोर बनाई दिन्थ्यो। अहिले त उसले मेरो कमजोरी समाएको थियो र मेरो छोरोलाई सिकाइने कुव्यवहारले मलाई आहत बनाउँछ भन्ने बुझ्थ्यो ऊ।

बालक थियो मेरो छोरो – कष्ट गरेर गुण कमाउनुभन्दा सजिलैसँग आउने दुर्गुण समाउन चाहने। हुनत, मेरो करले मेरो छोरो विद्यालय जान्थ्यो , नैतिकता र अनैतिकताका मेरो परिभाषालाई पनि सुन्दथ्यो तर त्यो वातावरणमा, त्यो बाबुको संरक्षणमा मेरा नैतिकता कुरा सिक्ने संभावना थिएन र सिकेन पनि। पन्द्रह बर्ष पनि नकाट्दै उसले सीमाभन्दा बढी दौडाउन जान्थ्यो र धन र तनको स्वेच्छाकारी दुरूपयोग गर्न थाल्यो। एउटी आमाको निम्ति योभन्दा ठूलो कष्ट के पो हुन सक्थ्यो र?

आखिर मैले सम्झाउँदै भनेँ – “बाबु ! त्यस्तो न राम्रो काम नगर तिमी। सप्रने छोराले त्यस्तो काम गर्नुहुंदैन।”

छोरोले जवाफ दियो – “के हो ‘सप्रनु’ भनेको ममी? डैडी न सप्रेको हो र? वहाँ त यिनै काम गर्नु हन्छ त?”

“तिम्रो र्डैडी ठूलो मानिस। ठूलो मानिसले गर्ने कुरा र सानो मानिसले गर्ने कुरा एकै हुँदैनन्। ठूलो मानिसले गर्ने सबै कुरा सानो मानिसले गर्न पनि हुँदैन र गर्न पनि सकिदैन।” – मनले पराजित भए पनि मैंले सम्झाउन प्रयास गरेँ।

छोरोले घोरिएर मतिर हेर्दै भन्यो – “यो ठीक, वेठीक के हो मम्मी? मलाई तपाईँले, डैडीले कसैले पनि ठीक र वेठीकको परिभाषा दिनु भएको छैन। तपाईँ भन्नुहुन्छ ‘यो ठीक, डैडी त्यसैलाई ‘वेठिक’ भन्नुहून्छ। तपाईँ भन्नुहुन्छ ‘यो वेठिक’ डैडि भन्नुहुन्छ ‘यो ठीक’। आखिर ठूला मानिसहरूका ठीक र बेठीकहरू किन फरक फरक?”

“ठीक र बेठिक नैतिकताका आधारमा अडिन्छन्। सामाजिक मान्यता पनि ठिक र बेठिकका आधार हुन्। यो राम्रो, यो नराम्रो भन्ने जान्नका निम्ति ज्ञान चाहिन्छ र ज्ञान कमाउने बिद्या र अनुभव हुन्। आफ्नो अनुभव त समयले दिन्छ तर विद्या पुर्वजहरूको ज्ञानको भण्डार हो जो परिश्रम र प्रयासले मात्र आर्जन गर्न सकिन्छ। त्यसैले त्यो विद्या आर्जन गर बाबु।” – मैंले सम्झाउन प्रयास गरेँ।

“मसँग भएकोले पुग्छ भने नचाहिंदो विद्या र ज्ञान किन खोजूँ? विद्याको के काम? त्यो ज्ञान केको निम्ति? सम्पत्ति नै सबै चिजको लौरो हो र मसँग दोहोरो सम्पत्ति छ, डैडीको पनि राजवीर अंकलको पनि। राजवीर अंकलले दिएको सम्पत्ति पनि आखिर मेरै होइन र? आखिर दुई बाबुको छोरो हुनु पनि त फाईदै छ। छैन र ममी?”

त्यो सोह्र बर्ष पनि नपुगेको छोराको व्यंग्यात्मक वचन सुनेर म पीडित भएर सोधें – “कसले भन्यो तिमीलाई यस्तो कुरा?”

“जसले भने पनि कुरा त साँचो हो नि। यस्ता कुरा घर घरमा गर्छन्। म छलिएपछि कुरा काट्छन्। राजवीर अंकलसँगको नाता खोज्छन्। होइन भन्न त तपाईँ पनि सक्नु हुन्न।”

“हो वा होइनको फैसला आज आएर हुन सक्दैन। तिम्रो बाबुको अनैतिकता, अनाचार र सम्पत्तिप्रतिको मोहको पीडा हो, यो। भोग्नु त हामीले परेको छ।”

“ढैडीले, तपाईँले के गर्नु भयो, के गर्नु भएन? त्यसको लेखाजोखा मसँग हुने कुरा भएन। म जन्मनु गल्ती हो भने गल्ती कसको? त्यो तपाईँहरूको सम्बन्धमा आफैं फैसला गर्नोस् तर त्यो अनिश्चिताको भोगाई त मेरो हुन आयो। मैले बुझ्दै नबुझेदेखि नै भोग्दै आएँ।

अब त मैले तपाईँहरूका अनैतिकता, अनाचारलाई पनि सहज मानिसकेको छु, ममी। त्यसैले नै मलाई मेरो अवैधताको शङ्काबाट मुक्ति मिल्छ ।”

मेरो छोरोको भनाईमा सत्यता थियो, उसको लागि ठीक हुने सत्यता। ऊ मेरो दुःख बुझ्न सक्दैनथ्यो, मेरो आत्मग्लानी देख्न सक्दैनथ्यो, आफू बुभ्ाक्न सक्ने हुनुभन्दा अगाडिका अर्काका, चाहे त्यो आमाको नै किन नहोस्, भोगाइलाई आत्मसात गर्न सक्दैनथ्यो। कार्य, अकार्य, नैतिकता, अनैतिकताका परिभाषा आफू र आफ्नो भोगाई अनुरूप भएपछि जायज नाजायजका परिभाषा पनि आफैंद्वारा निर्धारित हुनसक्थ्यो। केटाकेटी थियो ऊ तर आफूलाई नाबालक ठान्दैनथ्यो। मसँग पनि उसलाई दिन सक्ने कुरा पनि केही थिएन। विद्या, ज्ञान मसँग थिएन र मेरो नैतिकतामा उसलाई विश्वास भएन। आमा र बाबुका बीचमा भएको शत्रुता भावले उसलाई दोबाटोमा उभ्याईदिएको थियो र सम्पत्ति र शक्तिलाई मात्र जीवनका साधन ठान्दथ्यो ऊ। एउटा बाबुलाई सम्पत्ति र अर्कोलाई शक्तिको तृष्णा थियो भने छोरो दुवै चाहन्थ्यो। बोटको रूप बिरुवाले देखाऊँछ भने झैं उसको आकाङ्क्षाको झलक ऊ सोह्र बर्ष पनि नपुग्दै देखिन थालेको थियो।

तीसबाट २/४ बर्षमाथि लागेकी आइमाई बुढी त अवश्य नै हुन्न र उसले आफ्नो अतिततिर हेरे आफ्ना नाफ नोक्सान, क्षति, उपलब्धिको लेखाजोखा गर्नुपर्दैन। उसले त भविष्यतिर लक्ष राखेर आफ्नो वर्तमानलाई समेट्दै निर्धक्क अगाडि बढ्नु पर्ने वैंस हो। ढिलै बिहे गर्नका निम्ति प्रेमी फकाउने, लोग्ने कमाउने र छोराछोरी कति जन्माउने भन्ने हिसाव लगाऊने उमेर हो। कतिले त एउटा पोईको घर पनि समाउन भ्याएका हुँदैनन्। मेरो निम्ति विधिको नियति नै दुराग्रहपूर्ण रह्यो। लोग्नेस्वास्नीको सम्बन्ध त मेरी आमाको पनि मेरोभन्दा बढी सुखमय त भएन होला तैपनि उनी सबै परिवारमा यस्तै हो भनेर सन्तोष लिने र्गथिन्।

मैले जीवनलाई अरू आइमाईले जस्तै सहजसँग लिन सकिनँ। घर परिवार यस्तै हो भनेर लिएको भए पनि हुने थियो होला तर त्यो पनि मेरो हुन् सकेन। स्वभावले नै अस्वभाविक मानसिकताकी विद्रोही थिएँ म। असहज र अप्राकृतिक कुरालाई स्वाभाविक मान्न नसक्दा वैशमा नै बुढी भएँ म। जवानीमा नै वैशको जिम्मेवारी बोक्न नसक्ने हुदै गएँ म। स्त्रीजन्य यौनेच्छा भए पनि स्त्रीजन्य पुरुषप्रतिको आकर्षण मरिसकेको थियो मेरो।

अस्वभाविक मानशिकताकी छु म र पहिले पनि त्यस्तै थिएँ। त्यसैले यस्ता कुरालाई सहज भनेर लिन सके पनि ‘घरपरिवारको सुख रसम्मानको लागि’ भनेर असहज र अप्राकृतिकलाई पनि स्वभाविक बनाउने सक्ने क्षमता भएन ममा। त्यसैले वैंसमा नै जवानीको जिम्मेवारी पुरा गर्न नसकि बुढी र्हुदै गएँ म। स्त्रीजन्य र्यौनेच्छा भए पनि पुरुषप्रतिको स्त्रीजन्य आकर्षण मेरो मरिसकेको थियो।

मेरो छोरो पनि मेरो भएन। म असफल आमा भएर निस्किएँ। मैले आफ्नो भनेर गर्व गर्नु पर्ने अब कोही र केही रहेन। म त पीडा, खुशी थाहा नपाउने सम्वेदनहीन हुदै गएँ। अथाह सागरमा हेलिएको मानिसको सहाराको एउटा त्यान्द्रो पनि डुब्दै गएपछि मृत्यु र जीवनमा अन्तर देख्न छोडें मैले। तर मानिस यसै मर्दो रहेनछ। उसलाई मर्न पनि कारण चाहिदो रहेछ। अझ कारणलाई पनि कारण चाहिदो रहेछ।

हठात् मैंले आफूलाई लक्ष विहीन, जिम्मेवारी विहीन र स्वतन्त्र अनुभव गर्न थालें। लक्ष र जिम्मेवारी विहीन मानिस चाँडै कुबाटो समाउन सक्छन्। त्यस्ता मानिसहरू सबैलाई शत्रु ठान्छन् र अनावश्यक आत्मरक्षामा तत्पर हुन्छन्। भविष्यको तस्वीर मेरो छोरोले च्यातिसकेको थियो र त्यसलाई म पुनः निमार्ण गर्न चाहे पनि सक्दिनथेँ।

२२ बर्षमा नै मेरो छोरो वयष्क भइसकेको थियो। देख्नमा ऊ राम्रो लोभलाग्दो थियो। बाबुको कारेावारमा उसले सजिलैसँग हात हाल्यो र त्यही उमेरमा नै बाबुको आधा काम सघाउन सक्ने भयो। कतिपय परिस्थितिमा ऊ बाबुको अनुपस्थितिमा पनि सही निर्णय दिन थाल्यो। तर ती सद्गुणक साथै बाबुका सबै र्दुगुण र दुर्व्यसन पनि समात्यो उसले। ‘पैसा’ उसको लागि धर्म, कर्म र निष्ठा भयो। कहाँ पैसा कमिन्छ? कसरी कमिन्छ? उसलाई कण्ठस्थ थियो र पैसाको निम्ति नैतिक, अनैतिक सबै बराबर थियो उसलाई। म उसलाई सुबाटोमा ल्याउन सक्दिनथेँ, मर्यादामा हिडाउन पनि सक्दिनथेँ। त्यस्तो दिवास्वपन त मेरो मनमा आउँदा पनि आएन। म त आमाको नाताले केवल यति मात्र चाहन्थेँ कि उसले जे गरे पनि मेरो सामु नगरोस्। ऊ नशामा चुर्लूम्म डुबे पनि मेरो सामु मात्तिदै नआओस्, जति सुकै फोहोर बोले पनि मेरो सामु नबोलोस्, आफू खुशी रण्डीबाजी गरे पनि मेरो सामु कुनै आइमाईलाई ननंग्याओस्। तर दुर्जनहरू स्वभावले नै दुर्जन हुँदारहेछन्। मेरो लोग्नेका दुर्गुण मेरो छोरोले समायो। अनैतिकता, परपीडन र विलास बाबुका जस्तै भए उसमा र सम्पत्ति मात्र उसको लक्ष भयो। म बसेको घर, घर नभएर एउटा मण्डी जस्तो थियो जहाँ बाबु-छोरा एकै ठाउँमा बसेर सुरा-सुन्दरी उपभोग गर्दथे। म त्यो घरकी एउटी मात्र नारी थिएँ तर उनीहरूलाई मेरो उपस्थितिले कुनै बाधा दिदैनथ्यो। पुरुष हुनुको दम्भले मेरो नारी अधिकारलाई अस्वीकार गर्ने निचता देखाउन सक्थे उनीहरू।

मेरो लोग्नेका,मेरो छोरोका र मेरा मानशिक र आध्यात्मिक धारणका दायराहरू विपरित भए पनि एउटै सामाजिक परिवेश बस्ने हुनाले त्यसका सामाजिक मर्यादालाई मैंले पनि मान्न कर लाग्दथ्यो र नाता गोता, ईष्टमित्र, साथीभाई सबैको घरमा आवत जावत गर्नु परि नै हाल्थ्यो। छोराको सहज अस्तित्वको निम्ति पनि मैंले घर छोडेको थिइनँ। राजवीरको व्यवहारिक ज्ञानले मलाई त्यस्तै सल्लाह दिएको थियो।

धनाढ्यहरूको जमघट देखेर एउटा मजदुरको त कुरै छोडौं एउटा उच्च वर्गीय समेत आत्तिन पुग्छ। एउटा मजदुरको बर्ष भरिको कमाई जत्ति त उनीहरू एक क्षणमा उडाई दिन्छन्। उनीहरूका पार्टी भनिने जमघटहरू उन्मादको नशामा व्यवसायीक कारेाबार सल्टाउने र व्यक्तिगत ईच्छा पूर्ति गर्ने माध्यमहरू मात्र हुन्छन् र त्यो उन्मादभित्र मध्यम वर्गीय मर्यादाको कुनै अर्थ छैन। मर्यादाको सोचाई त मध्यम वर्गीय साँघुरो मस्तिष्कको सीमित सोचाई हो भन्ने जान्दथेँ म। मध्यम वर्गीय समाजबाट धनाढ्यहरूको पहुँचमाउक्लिएकीले त्यसलाई मैंले स्वीकार गर्नु परेको थियो। त्यसैले त्यस्ता जमघटहरूमा मेरो उपस्थिति स्वभाविक हुन्थ्यो।

नवबर्षको पार्टीमा पनि भाग लिएँ मैले। खास गरेर मेरो छोरोले जोड गरेकोले नै मैले भाग लिएकी हुँ अन्यथा युवा जमातले मनाउने नवबर्षमा मेरो उपस्थिति त्यत्ति आवश्यक थिएन। तर त्यहाँ म मात्र होइन, मेरा समाकालीन धेरै मानिसहरू थिए।बरूउमेरको हिसावले मेरो छोरो नै नितान्त एक्लो थियो। मैंले सोचें – उसको प्रगतिले उसलाई समाकालीनभन्दा धेरैमाथि पुर्याथएको छ। त्यसैले उसमा विकृति धेरै हुन सक्थ्यो। ऊप्रतिको आकर्षण उसका आमा भन्न सुहाउनेहरूको देखिन्थ्यो र त्यो नैतिकताको विकृति भएको समाजमा मेरो छोरोलाई ती मध्ये कतिपय आइमाइले भोगेका थिएनन् भन्न पनि गाह्रो छ। छोराछोरी बाबुका सामु व्याई फ्रेण्ड र गर्ल फ्रेण्ड लिएर कोठा पसिदिँदा कसैलाई वास्ता नहुने या त्यहाँका क्लवहरूमा लोग्ने स्वास्नी स्वेच्छाले साटासाट गरिने त्यो असम्भव हुने कुरा भएन।

त्यहाँ त एउटाकी स्वास्नी अर्कोकी पे्रमिका हुन्थी। रक्सी, चुरोट त सामान्य थियो त्यहाँ र ड्रग्स नचाखेको मानिस त अपवाद हुन्थ्यो त्यहाँ र म पनि अपवादमा थिइनँ। “ल, समीर, रजनीलाई त तिमीले यहाँ ल्याएर लुकाएछौं नि।” – मैंले लोग्नेसँगसगै अगाडि उभिन आएको व्यक्तिको स्वर सुनेर टाउको उठाएँ।

भद्र पुरुष थिए त्यहाँ। सबैले उनीलाई ‘प्रभू’ भनेर सम्बोधन गर्दथे। उसमा खास विशेषता केही देखिन्नथ्यो तर उनको विशेषता शारीरिक नभएर बौद्धिक भएकोले देख्नुभन्दा अनुभव गर्न सकिन्थ्यो। तर प्रत्येकले उनीलाई अलग्गै ठानेर मानसम्मानको व्यवहार गरे पनि उनीहरुको त्यो व्यवहारमा निकटताको आत्मीयता, भक्तिको समर्पण या प्रेमको स्निग्धता नभई दाशले मालिकप्रति देखाउने बाध्यता जस्तै पदको सम्मान भएको प्रस्ट हुन्थ्यो।

किन हो कुन्नि? ती प्रभुको ममाथि केही समयदेखि दृष्टिकृपा थियो। उनी मलाई आवश्यकभन्दा बढी मान दिन्थे, आत्मीयता देखाउथे। मेरो अतित बारे उनलाई सबै ज्ञान थियो। यौन बारेका मेरा धारणा पनि गोप्या थिएनन् उनलाई र म पतिव्रता होइन र पातिव्रत्यमा विश्वास गर्दिन भन्ने पनि थाहा थियो तर म स्वेच्छाले मात्र कसैकी हुन् सक्छु र बलको प्रयोगले समीर र राजबीरले झैं हेय र अपमानित भएर बस्नु पर्छ भन्ने बुभेको थिएन अन्यथा ऊ ममा चासो राखेर आफ्नो पदिय मर्यादा गुम्न सक्ने जोखिम उठाउन तयार हुने थिएन।

“म वहाँले लुकाएर लुकिने वस्तु होईन। म त स्वच्छन्द चिन्तक मानिस अर्थात् व्यक्ति हुँ।” – मैंले सधैंझैं आफ्नो स्वतन्त्रता प्रस्ट्याएँ।

“तिमी जे भन। तिमीलाई पाउने उपलब्धि समीरको हो। तिमीलाई यो सामाजिकसम्मान उसैले नै दिलाएको हो।” – प्रभू हाँसे।

समीर नजानिदो पाराले लुसुक्क बाहिरियो। म विवादमा जोतिएपछि ऊ सधै नै त्यो ठाउँबाट भाग्ने गर्थ्यो। या त ऊ त्यो अनावश्यक विवादमा पर्न चाहदैनथ्यो या वौध्दिक क्षमतालाई उपलब्धि विहीन विवादमा खर्च गर्नु त्यसको दुर्व्यय ठान्दथ्यो।

“गलत सोचाई हो यो तपाईँको। हो, यो समाजमा म समीरद्वारा ल्याएकी हुँ तर राजवीरद्वारा उभ्याएकी हुँ र मान,सम्मान या असम्मान म आफैंले कमाएकी हुँ। यही जमातमा पनि मलाईसम्मान गर्नेकोभन्दा असम्मान गर्नेको संख्या बढी छ।” – मैंले भनेँ।

“मलाई त्यस्तो लाग्दैन।” – प्रभु मुस्कुरायो।

मैंले व्यंग्यात्मक जवाफ दिंदै भनेँ – “धन्यवाद यसरी बढाई गरिदिएकोमा तर मप्रति सन्मान त तपाईँको पनि छैन। यो त सजिलै प्राप्त गर्ने वस्तु हो भनि ठानेर यति नजिकै आइ पुग्नु भएको छ तपाईँ।”

“तिमीलाई प्राप्य ठान्नु मेरो अधिकार भएको छ। समीरले मसँग फाईदा लिनु छ र उसको बदलामा केही दिनु छ उसले।” – प्रभूले आफ्नो मुस्कुराहट लुकाएन।

“प्रस्ट वक्ता हुनुहुन्छ तपाईँ। ‘हुन्छ’ वा ‘हुन्न’ को जवाफ तुरून्त चाहनुहुन्छ। तपाईँ विक्रिकर्ता, मेरो लोग्ने सत्ताको खरिदार। तपाईँहरूका बीचमा अनेकौ कारोवार र सम्झौताहरू होलान् तर ती तपाईँहरूमा नै सीमित हुन्। मेरो त त्यसमा न लिनु छ, न दिनु छ।” – उसलाई जवाफ दिएँ।

प्रभूले मुस्कुराएर भन्यो – “समीरकी अर्धाङ्गिनी भएपछि उसको नाफा नोक्सानको हिसाव किताब त राख्नै पर्ने हो तिमीले।”

“उसको हिसाव किताब उसको हो र मेरो मेरो। आफ्ना नाफा नोक्सान मात्र हेर्छौं हामी, अर्कोको बेहोर्दैनौं।” – मेरो जवाफ तिख्खर नै थियो।

त्यो प्रभूसँगको समस्या कति ठूलो र समाधान कति जरुरी थियो? मैले सोचिनँ। तर समीर त्यसलाई ठूलो र जरुरी नै ठान्थ्यो होला। नत्र मैले त्यसलाई स्वीकार गर्दिनँ भनेर जान्दाजान्दै पनि एक जुगपछि समीर किन मलाई दाउमा थाप्दै थियो त? मलाई बुझ्न कठिन भयो। प्रभूसँग राजवीरसँगको जस्तो दोस्ती थिएन, न ममा कसैले र्या ल काढ्नुपर्ने अघिको जस्तो बैंस नै थियो। म त यी अहिले जस्तै लोग्नेले धेरै खियाउन नभ्याएकी, धेरै सन्तानले चुस्न नपाएकी अधवैंशे आईमाई मात्र थिएँ। जति शरीर साँचिए पनि, जति रूप न बिग्रिए पनि समयको घोटाईले आँखाका कुनामा धर्सा देखिन थालेकी चालिस नजिककी एउटी अधवैंसे थिएँ। प्रभूको त्यत्रो चाहना किन? चाहदा जस्तो पनि भेटन सक्ने त्यो प्रभूले मलाई पाएर त्यो समाजलाई आफू राजबीरको उचाइमा पुगेको अनुभूति दिलाउनु बाहेक अरू कुनै कारण देखिनँ।

मेरो व्यवहारले समीरलाई चित्त बुझेन। उसको चित्त बुझ्नेछ भन्ने मलाई लागेको पनि होइन।

“प्रभुको अपमान गरेर तिमीले हुनु पर्ने काम विगार्न लाग्यौँ।”

त्यो भनाई मलाई नौलो लागेन। समीरको स्वभाव थाहा थियो मलाई।

“तपाईँ आफैंले टुङ्गयाउनु पर्थ्यो यसलाई सधैं झै। मबाट त्यो हुन्न भन्ने जान्दा जान्दै म कहाँ लिएर किन आउनु भयो?”

“जति ठूलो काम हुन्छ, त्यति नै ठूलो मूल्य हुन्छ र जति ठूलो मूल्य हुन्छ, त्यति नै धेरैको सहयोगको आवश्यक हुन्छ।”

“हेर्नुहोस्, तपाईँृको परिभाषामा मान्यता, मूल्य, मान,सम्मान सबै नै सम्पत्ति आर्जनको तराजुमा जोखिन्छन्। सम्पत्ति कमिन्छ भने जे पनि मान्य हुने तपाईँको धारणा जहिले पनि ताजै हुन्छ तर मैंले त्यसलाई अगाडि पनि स्वीकार गरेको थिईन र अहिले पनि सक्दिनँ।”

“तर तिम्रो छोरोको उन्नतिको भविष्य यसैसँग गासिएिको छ। प्रभूको एक निगाहले उसले ठूलो फड्को मार्न सक्छ र तिमी त्यो फड्कोको निम्ति टेक्ने ढुङ्गा बनिदिन सक्छ्यौँ।” “नैतिकहीनतासँग गासिएको सत्ता र सम्पत्ति चाहिन्न मेरो छोरालाई। यो अनैतिकताभन्दा त ऊ जसरी बस्छ त्यही नै ठीक छ।”

मेरोप्रतिवाद मेरो लोग्नेलाई पाच्य भएन। उसले जवाफ दिईहाल्यो – “हो। उसको जीवन उसको हो र त्यो कसरी चलाउनु पर्छ भन्ने निर्णय गर्ने तिमी र म होईनौं। अब त हामी जत्तिकै वयस्क पनि भईसकेको छ ऊ। कारोबारकै हिसाबमा पनि नाफा नोक्सान, आवश्यक-अनावश्यक छुट्याएर काम गर्ने भईसक्यो र यो पनि उसको आवश्यकता र योजना हो, मेरो होईन। त्यसैले मलाई दोष न देउ। म त केवल बीचमा बसेर कुरा सुनाईदिने, भनिदिने मानिस मात्रै हुँ।”

मेरो लोग्नेप्रति मलाई विश्वास त छँदै थिएन। नाफाको निम्ति जुन सुकै सौदा पनि गर्न सक्ने ऊ जे पनि भन्न र गर्न सक्थ्यो।

“नाफा र सम्पत्ति मात्रै जीवन होइन, त्योभन्दा पर पनि जीवन छ। सबै मानिसले तपाईँ जस्तै तल झरेर धन कमाउन थाल्ने हो भने यहाँ न परिवार रहन्छ, न समाज। न मर्यादा न नैतिकता। उजाड हुनेछ यो संसार। पशुराज हुनेछ यहाँ। त्यसैले आफूसँगसँगै मेरो छोरोलाई नतान्नुहोस्। ऊ त्यति तल झरेर सौदा गर्न थाल्दैन।”

परपीडक त मेरो लोग्ने हुँदै हो। यसमा पनि छोरोको तुलनामा मैंले उसलाई होच्याएको हुनाले उसले आफू अपमानित भएको ठान्यो र व्यंग्यात्मक हाँसो हाँस्यो।

“त्यत्रो विश्वास तिमीलाई? तब आफ्नै छोरोसँग गएर सोध त?”

जुन कुरामा मलाई विश्वास थिएन म किन सोध्न जाने त्यही कुरा? आकाश खस्दैन भन्ने विश्वास हुनेले आकाश खस्छ कि खस्दैन भनेर सोध्ने किन? त्यसैले मेरो लोग्नेको चुनौतीलाई मैंले कुनै महत्व दिईनँ।

तर आफ्नो भाग्य र भविष्यको फैसला मानिसले आफूले गरेर नहुने रहेछ।

मेरो लोग्नेसँगको विवादपछि मैंले सोचेकी थिए – त्यो प्रशङ्गको अन्त्य त्यहीँ भयो किनकी मेरो लोग्नेले त्यसलाई मसँग फेरि दोहोर्याशएन। तर एक दिन मेरो छोरो हुत्तिदै मेरो कोठाभित्र पस्यो र बस्दै नबसी भन्न थाल्यो – “आमा भएपछि छोराको फाईदा होइन नोक्सान गरिदिने के आमा? “

मैंले नबुझेर सोधं – “किन कसले के नोक्सान गरिदियो? “

उसले उचो स्वरमा भन्यो – “प्रभूको अपमान किन गर्नु पर्यो तपाईँले?”

मैंले सोचें बाबुले बढाई चढाई कुरा लाएको हुनुपर्छ। त्यो प्रस्ट्यायाउन जवाफ दिएँ – “तिमीहरूको प्रभूको अपमान मैले गरिनँ। मैले त उसको अमान्य प्रस्तावलाई अस्वीकार गरेकी मात्रै हुँ।”

“ठूलाबडाको कुरा न मान्नु नै उसको अपमान होईन र ” – मेरो छोराले मेरो सफाई स्वीकार गरेन।

“स्वार्थपूर्तिको निम्ति अनैतिक माग स्वीकार गर्न थालियो भने नैतिकता मरेर जान्छ।” – मैंले विरोध जनाएँ।

“ठूलो उपलब्धिको ठूलै मूल्य हुन्छ।”

“स्वर्ग नै प्राप्त हुन्छ भने पनि आमालाई बजारमा बेच्न हुँदैन।”

“आमाको नैतिकता नै कति हुन्छ र?”

“अरुको निम्ति आमा अनैतिक हुन सक्ली, छोराछोरीको निम्ति त ऊ आमा मात्र हुन्छे। दासी पुत्र राजा बने, ऊ राजमाता हुन्छे। कसैकी यौन दासी होली ऊ तर छोराका निम्ति ऊ आमा हो केवल आमा। त्यसैले छोराका हातबाट कुनै मोलमा पनि आमा बेचिन सक्दिन, बेचिनु हुन्न।”

“आफ्नो स्वेच्छाले जुनसुकै अनैतिक काम पनि गर्नु हुन्छ तपाईँ। तन बाँढ्नु हुन्छ मन पर्दा अनि सावित्री बन्नु हुन्छ मन नपर्दा। ” विवाद टुंग्याउँदै छोरो फन्केर निस्कियो।

रगत समीरको होस् वा नहोस्, छोरोले पदचिन्ह उसैको समाएको थियो। राजवीर किन्न मात्र सक्थ्यो। त्यो टिकट बेच्ने कन्डक्टर मानिस बेच्न सक्दैनथ्यो। समीरको जस्तै छोरोको दृष्टिमा पनि म एउटी आइमाई मात्रै थिएँ, बेचिन सक्ने आइमाई। कष्टकर भयो मेरो निम्ति त्यो सत्य।

जब छोरोले आमाको दुध र मासुमा अन्तर देख्दैन, जब छोरोले यौनबजार र आमालाई एकै ठान्न थाल्छ त्यही प्रस्ट हुन थाल्छ कि त्यो छोरो बौलायो र त्यो आमा पनि बौलाई। जब छोरो बगरे बनेर आमाको मासु बेच्न थाल्छ र किन्ने र किनाउनेहरूको ताँती लाग्न थाल्छ र समयले साक्षी बन्नु पर्ने बाध्यता देखेर आफैंले आफैंलाई धिक्कार्नु पर्ने स्थिति आउँछ, तब मानव जातिले कलङ्कको त्यो पन्नालाई कालो मोसोले छोपेर लुकाउनु पर्ने हुन्छ। पशुदेखि मानिससम्म मानिसलाई पुर्या्उने मेरो त्यो आस्थाको भरेङ पल भर मै धुलो भएर झर्नाले म मात्र होइन सिङ्गो मानवता नै पशुवत सँस्कारको खाल्डोतिर झरिरहे झैं लाग्यो मलाई।

म कस्ती आमा थिएँ जसको छोरो उसलाई नैतिकहीन र दुश्चरित्र ठान्दथ्यो? म कस्ती आमा थिएँ जसको छोरोले आमालाई लिलामीमा चढाएको थियो? के त्यो आइमाईले त्यो आमाले त्यो सत्यलाई सत्य मानेर बाँचिरहनु ठीक थियो त? वर्तमानले जस्तै अतितले पनि आइमाई सधैं बेचेकै हो। ‘म बेचिएकी थिईनँ’ भनेर भन्छे भने उसले आफू बेचिएकी नदेखेकी मात्रै हो। आफ्नो स्वेच्छाले स्वच्छन्द भएर लोग्ने या लोग्नेमानिस रोज्न सक्ने आइमाई त सधैं ‘फुँडी’ मा दर्ता भएकी छ। कहिले सत्ता र सम्पत्ति जोगाउन, कहिले इज्जत र कुलधर्म कायम राख्न, कहिले यो नाममा त कहिले ऊ नाममा बाबुआमाले छोरी भजाएका छन्, दाजुभाइले दिदीबहिनी मोलेका छन्, लोग्नेले स्वास्नी सटनी गरेका छन्। यी अनगिन्ति काला धब्बाले इतिहासका पाना यति काला भएका छन् कि मानिसले त्यसैलाई वास्तविक रूप ठान्न थालेका छन्। बाबुआमाको सुखको निम्ति छोरीले आफ्नो बलीदान दिएका छन्। दाजुभाइको विजयको निम्ति दिदीबहिनी घिन लाग्दो विभत्सतासँग सुतिदिएका छन् र लोग्नेको उत्थानको निम्ति स्वास्नीले सिउँदाको सिन्दुरमाथि परपुरुषको कालो टिका बेहोरेका छन्। सन्तानको पेट भर्न पनि आमाले स्वेच्छाले बजारमा आफूलाई उभ्याईदिएकी छन्। तर अनैतिकताको निम्ति यति ठूलो बजारमा पनि आफ्नो क्षुद्र स्वार्थको निम्ति आमालाई यौन बजारमा उभ्याउन खोज्ने छोरो शायद जन्मेको थिएन। लोग्नेले त्यो बजारमा लगेर उभ्याउँदा ममा रिस र घृणा भरिएको थियो, छोरोले उभ्याउन खोज्दा पीडा र पश्चाताप भयो। छोरोले नै नंग्याउन खोज्दा पीडा भयो त छोरो जन्माएर बाँच्न दिएकोमा पश्चाताप।

मलाई थाहा थियो – मेरो छोरो भोलि पल्ट पनि त्यही कुरा दोहार्यााउने छ र पर्सी पल्ट पनि ऊ त्यसै गर्नेछ – भनेर। बाबुको प्रोत्साहनबाट उदण्ड बनेको थियो ऊ र मलाई त्यही गर्न वाध्य गर्ने थियो जो एउटी आमाले गर्न सक्दिन। म आत्महत्या गरेर त्यो सम्भावी कष्टबाट मुक्त हुन सक्थेँ तर त्यतिले नै मेरो कथा टु195ि139ने थिएन। मेरो छोरो ‘आमा बेच्ने छोरो’ भइसकेको थियो र उसको भौतिक अस्तित्वले मलाई इतिहासको पानामा ‘आमा बेच्ने छोराकी आमा’ भनेर अङ्कित गरिदिने थियो। मेरो छोरो त एउटा लाज लाग्दो छुतको रोग बनिसकेको थियो। मानवतालाई त्यो कलङ्कबाट जोगाउन मेरो छोरालाई रोक्नु आवश्यक थियो र मैंले नै उसलाई रोक्नु पर्थ्यो।

“‘तपाईँ छोरोलाई आफ्नो सम्पत्तिको हकबाट खारेज गर्नुहोस्।” – मैले मेरो लोग्नेलाई भनेँ।

उसले आश्चर्य मानेर मलाई हेर्दै भन्यो – “के भनेकी तिमीले? यसको परिणति तिमीलाई थाहा छ? त्यो सम्पत्ति नपाओस् त उसले हामी दुवैलाई मार्छ।

मैले कति पनि आश्चर्य नमानी भनेँ – “जे हामीले बनायौँ त्यही बन्यो ऊ। अब अहिले आएर केको डर मान्नु?

बाबुलाई आमा बेचिदे भन्न सक्ने छोरोले आमाबाबु मार्नु अचम्म होइन तर उसलाई मार्नुभन्दा आफै मारिनु सजिलो होइन र?”

“किन सोच्यौ तिमीले यसरी मर्ने मार्ने कुरा?” – मेरो लोग्ने चकित भएर नै भन्यो।

“तपाईँको सोचाई अवश्य पनि मेरोसँग मिल्दैन र छोरोलाई त्यो बाटो देखाउनु भएको पनि तपाईँले नै हो। छोरोले औंल्याएको बाटोमा जानुभन्दा म मृत्यु रोज्न तयार छु। तर हेर्नोस् तपाईँ र मेरो सम्पत्ति भोग्न पाएन भने ऊ हामीलाई मार्न सक्दैन। उसलाई थाहा छ – त्यो बाटोले उसलाई डुबाउछ भन्ने ” – मैंले जवाफ दिएँ।

गरेन मेरो लोग्नेले र मेरो छोराको दवाव पनि बढ्दै गयो। म विक्षिप्त जस्तै भएँ। जहीं तहीं र जहिले पनि त्यो ‘प्रभू’का आँखा मेरो सामु आएर तर्साउन थाले। मलाई डर लाग्न थाल्यो कि मेरो छोरोले मलाई चौखुर्यााएर त्यो प्रभुका आँखा अगाडि भैंसीको अगाडि कुडो राखिदिए झैं राखिदिनेछ। त्यसैले मेरो अन्तरात्माले निर्णय गर्योी ‘जता भए पनि यो भोगाइको अन्त्य गर्नुपर्छ’ र मैले त्यो अन्त्यलाई धेरै कुर्नु पनि परेन।

एक साँझ मेरो छोरोले मेरो सामु आएर उभिदै भन्यो – “ममी ! आज मैंले प्रभूलाई बचन दिएर आएको छु। तपाईँले जसरी भए पनि स्वागत गरिदिनु पर्छ वहाँको। यो पटक पनि चुकेँ भने म त डुवें।”

मैंले उसलाई हेर्दै जवाफ दिएँ – “‘तिमी डुव या उत्र। त्यो तिम्रो समस्या हो। मबाट जो हुँदैन त्यो हुँदैन।”

‘”म त डैडी जस्तो सन्त होइन नि, ममी। म त बल पनि प्रयोग गर्न सक्छु।” – उसको स्वरमा प्रस्ट धम्की थियो।

आफ्नै रगतबाट फिजिएको त्यो विषले म एक दिन स्पन्दनहीन भएँ र आफूलाई रोक्दै भनेँ – “तिमी त्यति तल झर्न हुन्न।”

“तलमाथि यो सब फोस्रो मर्यादको ढोङ हो। सम्पत्ति भएपछि सबै चिज मर्यादित हुन्छ।” – मेरो छोरोले पुरै नैतिकतामाथि हिलो छेपिदियो।

“तै पनि आमा त आमा हो। यो पनि संरक्षण गरिएन भने संरक्षण गरिनु पर्ने नाता नै बाँकी रहने छैन।”

– मैंले आफ्नो अडान छोडिनँ।

“के हुन्छ त यसले? संसार नै रित्तिन्छ र?” – उसले उल्टो प्रश्नात्मकप्रतिवाद गर्यो ।

“एउटी आइमाइको संरक्षक छोरो पनि भएन भने को हुने?” – मैंले पनिप्रतिप्रश्न राखें।

“तपाईँले जे भए पनि जसो भए पनि मेरो काम गरिदिनुपर्छ। अरू कुरा मलाई थाहा छैन।” –

मेरोप्रति प्रश्न काट्न नसकेर मेरो छोरो रन्कियो र त्यसमा मैंले धम्कीको गर्जन सुनेँ।

मेरो अगाडि सिङ्गो अतित आएर उभियो। त्यहाँ जीवन पनि थियो, त्यहाँ मृत्यु पनि थियो। त्यहाँ नाता विहिन मायागर्नेहरू पनि थिए, माया विहिन नातेदारहरू पनि थिए। आशाका कोपिला भाँचिदा दुर्दान्त पीडा भोग्नुपरेको पनि थियो र निराशाका बालुवा कोट्य्ाउँदा प्रेमका मुनाहरू भेटिएका पनि थिए तर कहिले पनि बाँच्नु स्वयम्को निरर्थकताले मलाई त्यसरी पोलेको थिएन। बाँच्नुको निरर्थकता र लक्षहीनता सामु आइपुग्दा म असह्य हुन पुगें र मुक्तिको मार्ग तय गरेँ।

रातको तेश्रो प्रहरमा मेरो छोरो घर फर्कियो। एउटा हात्तीले जस्तै घर कम्पायमान गराउँदै पसेको थियो ऊ। म त दिउसोदेखि नै त्यही ठाउँमा थिएँ। केवल नोकर्नीले बत्ती बालिदिएकी थिई। मेरो कोठाको उज्यालो देखेर ऊ मेरो कोठाभित्र पस्यो र छेउको सोफामा बस्दै भन्यो – “मेरो काम बन्छ नि। होइन, ममी?”

मैले ऊतिर नहेरी भनेँ – “बन्छ, अवश्य बन्छ। एउटी आमाले आँटेपछि छोरोको काम पक्कै बन्छ।”

यतिभन्दा छोराले आनन्द अनुभव गर्छ भने आमाले किन नभनिदिने। त्यो बेला ऊ निर्दोष बालक जस्तै खुशी भयो र त्यही खुशी बोकेर आफ्नो कोठातिर लाग्यो।

म आमाले काम बन्न नसकेर पिरोलिएको छोरोको अनुहार हेर्नु र त्यो काम हुन नसकेकोमा मलाई अपमानित हुनु गाह्रो थियो। म त जसो भए पनि सहन सक्ने थिएँ होला तर ‘नाइँ’ र ‘हुन्न’ कहिले पनि बेहोर्ने आदत नभएको मेरो छोराको निम्ति त्यो कुरा सहज थिएन। म आमाले त्यो कुरा बुझेकी थिएँ।

रातको दुई बजे म मेरो छोराको कोठाभित्र पसें। ऊ रक्सीले मातिएर लुगासम्म न फेरि ओछ्यानमा लम्पसार परेको थियो। मैंले उसको जुत्ता मोजा फुकालिदिए, कोट निकाली दिएँ र सजिलोसँग सुताएर कमिजका टाँक खोलेर उसको छाती नाङ्गो बनाई दिएँ। म उसलाई मार्न चाहन्थे र मार्नु नै परेपछि उसको मृत्यु सहज रसम्मानजनक बनाउन चाहन्थे म। मेरो लोग्नेको संग्राहलयबाट लिएको त्यो एक हात लामो किरिचलाई मैंले नियालेर हेरें। त्यो नयाँ जस्तै तिखो र धारिलो थियो। त्योभन्दा उपयुक्त हतियार मसँग अरू हुन सक्दैनथ्यो।

मेरो छोरो निन्द्रामा मात्र होइन, नशाको बेहोसीमा पनि थियो। मैले उसको मुटुको स्पन्दनलाई आफ्नै हातले छोएर हेरें। तप्त र जीवित थियो ऊ। मैले त्यो हतियारको टुप्पोलाई मुटुकोमाथि राखें र आफ्नो भए भरको बलले त्यसलाई रोपें। ऊ थोरै मात्र चलमलायो र एकै छिनमा शान्त भयो।

हेर्नोस् ! आमाको निम्ति छोरो मर्नु कष्टकर कुरा हो तर छोरो मार्नु कष्टभन्दा पनि अति कष्ट रहेछ। त्यो किरिच उसकोमा होइन मेरै छातीमा पसेको अनुभव भएथ्यो मलाई। आमा देवी भएर प्रसव वेदना त सधैं सहन्छे तर मानवजाती कलङ्कित हुनबाट रोक्न राक्षसी भएर सन्तानहत्याको अपराध बेहोर्न आफ्नै सन्तान मार्न पनि सक्दिरहिछ। छोरो मर्योर भन्ने निश्चित भएपछि मलाई लाग्यो -मेरो बाँच्नुको लक्ष सिद्धियो। मेरो मस्तिष्क शुन्य भयो र आफू बेहोश हुनुभन्दा अगाडि नै त्यही किरिचले आफमा प्रहार गरेँ। मेरो होश यही कोठामा खुल्यो। यही बेडसँग बाधिएकी थिएँ म। भन्छन् छोरोले आत्महत्या गर्यो रे, त्यसैका पीरले बौलाएँ रे म। म यसको विरोध गर्दिनँ। गर्नु पनि किन? छोरो मरि नै सकेपछि कसरी मर्योी भनेर के फाईदा? फेरि सद्धे मानिसको जस्तो जीवन मेरो कहिले पो थियो र? त्यो प्रेमी भनिने विरानोलाई न चिनेर आफ्नो बनाउन खोजें। त्यो पनि त बहुलठ्ठीपन हो। अथवा पञ्चैबाजा बजाएर बिहे गर्ने लोग्नेले छुँदा बलत्कार गरे जस्तो लाग्यो। त्यो पनि त असहज मस्तिष्कको सोचाई हो। अरूलाई सहज भएको कुरा मलाई किन सहज भएन? छेउ पर्दैमा गनाउने त्यो कन्डक्टर कसरी सहज भयो? के सामान्य मानिसको जन्म दिने आमा पर र भेट्टाएकी आमा वर हुन सक्छन्? यी आदि-इत्यादी प्रश्न मसँग गासिएका छन् भने ठीक र बेठीक मेरो परिभाषा मसँगै विलिन हुन्छ। म आफ्ना खुशीले परपुरुषसँग जान्छु भने लोग्ने या छोरोले पठाउँदा आपत्ति नहुनु पर्ने हो नि। किन मेरो आत्मा नै विद्रोह गरेर उठ्छ? यस्ता थुप्रै लक्षण छन् मेरा मलाई असहज प्रमाणित गर्न र मेरो लोग्नेलाई फाईदा भएको छ यसले। ऊ त छोरो मर्दा पनि नाफा नोक्सानकै हिसाव जोडिरहेको छ। ‘स्वास्नीले छोरो मारी’ भनेर ऊ आफ्नो घरको नांगोपन बाहिर देखाउन चाहदैन। मलाई असहज प्रमाणित गरेर मेरो दर्पलाई कुल्चन सक्ने सन्तोष पाएको छ उसले। योभन्दा बढी त त्यो विचरोले पनि के पाउन सक्ला र?

म आज सामान्य नारीभन्दा अलग भएकी छु। भ्रुणदेखि वयस्क सन्तान हत्या गर्ने नारीका पङ्तीमा उभिएकी छु म। गङ्गा जति पवित्र त छैन म आफ्ना सन्तान आफैले मारेर लोग्ने राजा शन्तनुलाई उपदेश दिन सक्ने तर पनि मेरो कारण गङ्गाकोभन्दा धेरै गहकिलो भने ठान्छु म र यसको निम्ति इतिहासले कर्म कुकर्म जेमा लगेर थन्क्याओस, मलाई अपसोच छैन। म त ती नारीहरूको एउटी प्रतिरूप मात्र हुँ जो बाबु, लोग्ने, छोरा या अरू कुनै लोग्नेमानिसको दौराको फेर समाएर हिड्नुभन्दा आफ्नो ‘म’ को निम्ति सबै चिज बलिदान दिन सक्छ। म जसलाई आफ्नो व्यक्तित्वमा हुर्काउन चाहन्थेँ र जसले मेरोप्रतिनिधित्व गरिदिनेछ भनि ठानेथेँ मैंले, उसैले स्वार्थी लोग्नेमानिसको हाराहारीमा उभिएर मेरा सपना च्यातचुत पारेपछि मैंले सबै ग्नेमानिसहरूलाई मासुका व्यापारीभन्दा बढी ठान्न सक्दिनँ। प्रेमी र लोग्नेका त कुरै छोडिदिऊँ, मैंले जन्माएको छोरोले पनि त्यही बाटो समाएपछि मेरो नारीत्वलाई नपुंसकत्वले खिज्याइदियो, मेरो यौवन कुहेको मासुको थुप्रो भएर गनायो। मेरो निम्ति त जन्म र जीवन वेअर्थ भए झैं मृत्यु पनि सार्थक भएन। म मेरो जीवनको, मेरो बाँच्नुको अर्थ खोज्थे र मेरो ‘म’ लाई चिन्न चाहन्थेँ तर म त स्वयम्मा कुनै महत्व नहुने शुन्य जस्तै आफ्नो स्वार्थ पूर्ति गर्न आफूसँग गाँसेर आफ्नो मुल्य बढाउने ‘माल’ वा ‘वस्तु’ मा परिणत गरिएँ। म सधैं विरोध र विद्रोह गर्ने एउटा असामान्यताको टुक्रा मात्र भएँ। त्यसैले होला -बहुलाहीमा दरिएँ म।

समाप्त

काठमाडौ २०५७ श्रावण १०

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.