अनूदित कथा : पछ्यौरी

~सिन्थिया अजिक~Cynthia Ozick

चिसो, अत्यन्तै चिसो । नरकीय पीडाको याद दिलाइदिने चिसो सडकमा स्टेला (Stella) अन्य दुई जनासँग हिड्दै छ । यस्तो सडकमाथि उनीहरू कसरी सँगसँग हिड्न सकेहोलान् । पीडाले थिलथिलिएका रोजा (Rosa) का दुई वक्षस्थलमाझ पछ्यौरीमा बेरिएकी म्याग्डा (Magda) ठण्डीले कुक्रुक्क परेकी छ । घरिघरि म्याग्डालाई स्टेलाले बोक्थी यद्यपि ऊ म्याग्डाप्रति निकै इष्र्यालु थिई । स्टेला छातिमै टाँसिएका अपुष्ट स्तन भएकी चौध वर्षो किशोरी हो । ऊ आफैं पनि म्याग्डाजस्तै पछ्यौरीमा गुट्मुटिएर त्यसभित्रको न्यानोमा निदाउन चाहन्थी । म्याग्डाका औंलाले रोजाका स्तनका मुन्टा खेलाउन पुगे तर रोजा भने यसको कुनै परवाह नगरी हावामा झुलिरहेको बच्चाको कोक्रोसरी हिँडिरहिन् । रोजाका स्तनमा दूध सुकिसकेको थियो । घरिघरि म्याग्डाले हावामात्र चुस्थी र घोक्रै चिरिने गरी रुन्थी । स्टेलालाई पनि भोकले खुब सताएको थियो । उसका घुँडा सिन्काजस्तै थिए अनि कुहिना चल्लाका हड्डीजस्तै मसिना ।

तर रोजाको भोक भने बिल्कुलै हराएको थियो र उनलाई अनौठो प्रकारको हलुङ्गो भैरहेको थियो । उनीसँगै सडकमा यत्रतत्र हिडिरहेको मानिसलाईभन्दा भिन्नैप्रकारको हलुको । रोजाको हलुकपनलाई मुर्छा परेर भुइँमा लडेको वा छारेरोगले अचेत बनाएको रोगीसँग तुलना गर्न सकिन्थ्यो । अझ भनौँ भुइँमा टेक्दै नटेकी चतुरतापूर्वक यताउता हेर्दै हवैहावामा मात्र यात्रा गरिहेका देवदूतजस्तै हलुका थिइन् रोजा । यस्तो लाग्थ्यो, उनी पैतालाका टुप्पाले मात्र टेकेर सल्बलाउँदै छिन् । उनले पछ्यौरीको प्वालबाट म्याग्डाको अनुहारमा नियालिन् । सुरक्षित गुँडभित्रकी एउटी लोखर्के । सुरक्षित ? अहँ होइन, पछ्यौरीको घेरोभित्रको त्यो सानो खोपीमा जोकोही पनि सजिलै पसेर त्यसभित्रको न्यानोलाई बिथोल्न सक्थ्यो । म्याग्डाको अनुहार गोलो थियो । खल्तिमा राख्नमिल्ने चिटिक्क परेको ऐना जस्तै तर रोजाको अनुहार भने साह्रै फुस्रो थियो । ऐनाको चिप्लो सतहसँग तुलना गर्न त पटक्कै नसुहाउने । त्यसो त म्याग्डाको अनुहार पनि त रङ्ग फेरिएर कालै देखिएको थियो, हैजाको रोगी जस्तै । आँखा वायुमण्डलजस्ता नीला थिए भने भुवादार कपालका रेशमी त्यान्द्राहरू रोजाको कोटमा टाँसिएका तारारूपी टाँकजस्तै पहेँला थिए । अब तपाइँ अनुमान लगाउनुस् त म्याग्डा कसकी छोरी होली !

रोजाले छोरीको बचाउका लागि म्याग्डालाई कुनै एक गाउँलेको हातमा सुम्पिएको कल्पना गरिन् । त्यसो त उनले अहिले हिँडिरहेको बाटोबाट विमुख भएर सडकपेटीका कुनै स्वास्नीमान्छेको हातमा म्याग्डालाई थमाइदिन पनि सक्थिन्, तर के गर्नु सिपाहीहरूले गोली ठोकिहाल्छन् । अपरिचित आइमाईले अचानक आफूतिर हुर्र्‍याएको पछ्यौरीको बण्डल भुँइमा थेचारिनुपहिले समाईहाल्ली भन्ने कुनै निश्चित पनि थिएन । बरु ऊ झस्किएर भाग्नेछे अनि त्यो बण्डल भुँइमा बज्रिनेछ र म्याग्डा टाउको फुटेर मर्नेछे । नरिवलजस्तो टाउकोको भयानक विजोग । सानी मायालु बच्ची जो यसबखत चिच्याउन छाडेर गिँजाले रोजका दूधरहित स्तनका मुन्टाहरूलाई च्यापेकी छ । कमजोर गिँजाहरूको बलियो पकड । उसको तल्लो बङ्गाराको गिँजाबाट भर्खरै पलाएको सेतो दाँत सानी परीको चिहानमाथि ठड्याएको सिङ्गमरमरको चिहाने पत्थरजस्तै चम्किरहेको थियो । अनिच्छापूर्वक म्याग्डाले रोजाका स्तानहरू पालैपालो छाडी । पहिले बायाँ त्यसपछि दायाँ । दुवै स्तनहरू रित्तिइसकेका थिए, दूधको एक थोपो पनि थिएन । सुकेका दुग्धग्रन्थी जसलाई मृत ज्वालामुखी, फुटेका आँखा, चिसो प्वाल र अरु के-के हो के-केसँग तुलना गर्न सकिन्थ्यो । म्याग्डाले अब पछ्यौरीको एउटा छेउ समाई र त्यसैलाई स्तन सम्झेर गिँजाको बलियो पकडद्वारा नियन्त्रणमा ल्याई । पछ्यौरीका रेसाहरू थुकले निथु्रक्क भइन्जेल उसले चुसिरही । त्यो पछ्यौरी उसको लागि अब एउटा स्वादयुक्त चीज बन्यो, मानौं सुती कपडाका रेसाबाट मीठो दूध रसाएको छ ।

त्यो एउटा जादुगरी पछ्यौरी थियो जसले बाँच्नका लागि संघर्ष गरिरहेकी एउटी बालिकालाई तीन दिन तीन रातसम्म मर्न दिएन । म्याग्डा यसवखत जिउँदै भए पनि ऊ मुर्दासरी चुपचाप थिई । तेजपात र बदामको जस्तै फरकखाले तिखो गन्ध म्याग्डाकोमुखबाट ह्वास्स बाहिर आउँथ्यो । घरि-घरि आँखाका परेलीहरू खुल्थे र बन्द भइरहन्थे जुन उसलाई पत्तै हुदैनथ्यो । रोजाले छोरीका नीला आँखामा नियालिन् । घरिघरि स्टेलाले पनि त्यसै गरी । उनीहरूका गरुङ्गा पाइला बरफजस्तै चिसो सडकमा पालैपालो उचालिन्थे र घरिघरि उनीहरूको ध्यान म्याग्डातिरै गइरहन्थ्यो । “आर्यन (Aryan) ।” फलामे तारको तिखो झङ्कारजस्तै स्वर निकालेर स्टेला एक्कासी चिच्याई । एउटा जवान नरभक्षीले जस्तै उसले म्याग्डातर्फकसरी घोरिएर हेर्दैछे भन्ने कुरा रोजाले चाल पाइहालिन् । स्टेलाले आर्यन भनेर चिच्याएको क्षण रोजालाई साँच्चिकै “हामी दुवै मिलेर अब म्याग्डालाई लुछ्न सुरु गरौं भने झैं लाग्यो ।
म्याग्डा हिड्को लागि काखबाट तल झरी । तर ऊ भुँइमै बसिरही किनकी एक त ऊ पन्ध्र महिनाकी मात्र थिई र अर्कोतर्फउसका सिकुटे खुट्टाहरू आफ्नै फुलेको भुँडीलाई उठाउन सक्ने गरी दरिला थिएनन् । म्याग्डाको भुँडी हावाले भरिएको हावाले भरिएको मोटो, पूर्ण र गोलो थियो । रोजाले आफूसँग भएको पूरै खानेकुरा म्याग्डालाई दिइन । स्टेला अतिलोलुप बन्दै थिई । एउटी हुर्केउली किशोरी तर हलक्कै बढ्ने खालकी भने होइन । उसको महिनावारी पनि भएको थिएन अनि रोजाको पनि । रोजालाई भोकले सताउन थालिसकेको थियो तैपनि हातका औंलालाई मुखसम्म पुर्‍याएर कसरी यसको स्वाद लिने भन्ने कुरा उनले छोरीबाटै सिकेकी थिइन् । तिनीहरू दयामायाबिहीन संसारमा थिए । रोजाभित्र भएको दयाको खानी नै रित्तिइसकेको थियो । उनले आफ्ना विस्मित नेत्रले स्टेलाका करङ्गतिर हेरिन् । स्टेलाले आफ्नी छोरीका मसिना तिघ्राहरूमा दाँत गाडेर मार्ने त होइन भन्ने शंकाले रोजालाई भयभित तुल्यायो ।

म्याग्डा मृत्युसँग जिकिँदै थिई यद्यपी ऊ पहिल्यै चैट् भइसक्ने थिई । यो कुरा रोजालाई राम्रै हेक्का थियो । रोजाले छोरीको प्राणरक्षाका लागि जादुगरी पछ्यौरीको भित्रैसम्म पुर्‍याइन् र लुगलुगी काँपिरहेका आफ्ना दुई वटा स्तनहरूमा म्याग्डालाई पछ्यौरीसँगै बेस्सरी च्यापिन् । फिस्टी म्याग्डा पछ्यौरीभित्र यसरी हर्राई मानौं उसकी आमाले उसलाई होइन पछ्यौरीमात्र च्यापिरहेकी छन् । पछ्यौरी खोस्ने हिम्मत गर्नसक्ने त त्यहाँ कोही पनि थिएन । म्याग्डा बोल्नै नसक्ने लाटी भइसकेकी थिइ अर्थात् उसको आवाज बन्द भइसकेको थियो । रोजाले उसलाई पछ्यौरीले बेरेर ब्यारेकभित्र लुकाईन् र पनि उनलाई थाहा थियो एक दिन कसै न कसैले चुक्ली लगाइदिनेछ, अझ हुन सक्छ स्टेला आफैंले म्याग्डालाई काँचै खानको लागि लुकाएको ठाउँबाट बाहिर तान्नेछे । म्याग्डा हिड्न थाल्दा रोजालाई छोरीको अवश्यम्भावी मृत्युको आभास भइहाल्थ्यो । यर्सथ उनले रातभर म्याग्डालाई आफ्ना दुई तिघ्राहरूको भारले थिचेर सुत्थिन् । कतै मस्त निन्द्रामा परिने होकी भनेरसमेत् उनी खुब डराउँथिन् । र्सतर्क पनि भइरहन्थिन् ताकि दुई घुँडाका बीचमा पिल्सिएर छोरी मर्ने सम्भावना पनि न्यून होस् । रोजाको तौल दिनानुदिन घट्दै थियो अर्थात उनी रस्टेला दुवै हावाजस्तै हलुको बन्दै थिए ।

म्याग्डा अझै चुपचाप थिई । उसका एकोहोरो टोलाइरहेका नेत्र बाघका जस्ता डरलाग्दा र नीला थिए । उसको हेर्राई एकसुरको थियो । घरिघरि ऊ एक्लै हास्थी – हो, हाँसेजस्तै लाग्थ्यो । हैन, कसरी हाँस्न सक्छे ऊ यस्तो बेलामा ? ऊसँग कोही पनि हाँसेका थिएनन् । मात्र धुवाँको कालो मुस्लो उडाएर त्यसको दुषित हावाको झोंक्काले पछ्यौरीका छेउलाई प्रहार गरेको देखेपछि म्याग्डा पछ्यौरीसँग त्यसै हाँसिदिन्थी । दुषित हावाले स्टेला र रोजाका आँखाबाट आँशु निकालिदियो । म्याग्डाका आँखा सफा र सुसुक्खा देखिन्थे र हेर्राई अझै बाघको जस्तै डरलाग्दो थियो । उसले पछ्यौरीको यति रखवरी गरी कि रोजाबाहेक यसलाई छुने हिम्मत कसैले गरेन । स्टेलालाई त अनुमति नै थिएन । पछ्यौरी म्याग्डाको आफ्नै प्यारी नानी थिइन्, आफ्नै मायालु चौपाया अर्थात् उसकी सानीकान्छी बहिनी । म्याग्डाले पछ्यौरीको एक छेउलाई हातले बटार्दै माथि उर्ठाई र चुस्न लागी । यस्तो बेला ऊ एकदमै चुपचाप र अटल हुन चाहन्थी ।

त्यसपछि अचानक स्टेलाले म्याग्डालाई बेरेको पछ्यौरी तानी र मर्न लागेकी त्यो बच्चीलाई चिसोमा कठ्याङ्ग्रिएरै मर्न बाध्य तुल्याइदिई ।

“मलाई पनि त जाडो भयो नि,” स्टेलाले प्रष्ट पार्दै भनी ।

अब स्टेला चिसो खप्नै नसक्ने भइसकेकी थिई । ऊ ठण्डीले लुगलुगी काँप्न थाली । चिसोले उसको मुटु नै छेड्ला जस्तो भयो । स्टेला कठोर बन्दै गएको रोजाले चाल पाइन् ।

पेन्सिलजस्तै लिखुरे खुट्टाहरूमा ढल्मलाउँदै म्याग्डा पछ्यौरीको खोजीमा यताउता हिँड्न लागी । ऊ लर्बराउँदै ब्यारेकको सामुन्ने पुगी जहाँ बत्तिको प्रकाश फैलिइरहेको थियो । रोजा तुरुन्त म्याग्डाको पछि पछि दगुर्न थालिन् । म्याग्डा अघि नै ब्यारेकबाहिरको चौबाटोमा पुगिसकेकी थिई । त्यो चोक प्रचण्ड उज्यालोले चकमन्न देखिएको थियो । यो कैदीहरूको हाजिरी गर्ने थलो थियो । हरेक बिहान नबिर्राई रोजाले म्याग्डालाई पछ्यौरीले बेरेर पर्खालको छेउमा लुकाएर स्टेला र अन्य सयौं कैदीहरूसँगै हाजिरीका लागि लाइनमा उभिन्थिन् । कहिलेकाहीँ त घण्टौँसम्म ठडिनुपथ्र्यो । यता अलपत्र छोडिएकी म्याग्डा भने पछ्यौरीमुनि पछ्यौरीकै एउटा फेरो मुखमा कोचेर सुत्थी । म्याग्डा यसरी चुचाप सुतेकै कारण उसलाई लिन काल छिट्टै आएन । रोजाले देखिन् आज म्याग्डा आफैं काल खोज्दै अगाडि बढ्दैछे । त्यहीबेला एउटा अपसकुनको सङ्केत दिने डरलाग्दो खुसी रोजाका दुई हत्केलामा सल्बलाए । रोजालाई ज्वरोले ािख्लोप पारेका थियो मानौं उनका औंलाहरू दन्किरहेको अग्निमाथि छन् । आफ्ना कमजोर र मसिना खुट्टामा डग्मगाउँदै घामको किरणभित्र म्याग्डा तिखो स्वरमा चिच्याउन थाली । रोजाका स्तनबाट दूध आउन छाड्दाको बेला म्याग्डाले सडकमा अन्तिमपटक जोडले चिच्याएदेखि नै उसको बोली बुझ्न नसकिने भएको थियो । अर्थात म्याग्डा लगभग लाटी भइसकेकी थिई । त्यतिबेला रोजाले अनुमान लगाएकी थिइन् कि म्याग्डाको स्वरयन्त्र अर्थात् फेक्सोको भित्तामा कुनै गडबडी भएको हुनसक्छ । म्याग्डाको स्वरमात्र सुकेको होइन, सम्भवत : उसले कानसमेत् सुन्न छाडेकी थिई । मुर्दा जस्तै चुपचाप म्याग्डाको चेतना विस्तारै घट्दै गइरहेको थियो र समाप्त हुनमात्र बाँकी थियो । यद्यपि आफू बेरिएको पछ्यौरीबाहिर धुवाँ मिसिएको हावा मडारिएर एउटा अनौठो आकारमा भुमरी परेको देख्दा बच्ची म्याग्डाको हाँसो फुत्किन्थ्यो । हावाको वेगले एकपटक उसको मुख उघारिदिएको थियो । टाउको र जीउमा जुम्राले उसलाई यति नमजासँग टोकिरहेका थिए कि ऊ ढाडेमुसो जत्तिकै जङ्गली हुन्थी र आत्तिँदै सडेको मासु र फोहोर खोज्दै ब्यारेकनिर पुग्थी । तर अहिले म्याग्डाको मुखबाट र्‍यालको लर्को चुहिरहेको थियो र उसलाई केही खान मन थिएन ।

“मा !”

यो नै म्याग्डाको घोक्रै फुट्ने गरेर निस्किएको पहिलो वक थियो, रोजाका स्तनबाट दूध आउन छोडेपछिको ।
त्यस ठाउँको डरलाग्दो सुर्यकिरणमा म्याग्डा कमजोरीले थरथरी काँप्तै थिई र ऊ आफ्ना टीठलाग्दा बाङ्गा पिडौंलाको भरमा यताउता हिँड्दैथिई । रोजाले यो सब देखिन् । पछ्यौरी गुमाउनुपरेको पीडामा बिलौना गर्दै म्याग्डा मृत्युको मुखमै पुग्न लागेका पनि उनलो चाल पाइन् । एक्कासी कसैले दिएको आदेशको लहरले रोजाका झाले स्तन झट्कारिए । ‘तान्, समात्, यहाँ ले !’ तर म्याग्डा अर्थात् पछ्यौरीमध्ये कुनचाहिँलाई पहिल जोगाउने भन्ने कुराको निर्णय रोजाले तुरुन्तै गर्न सकिनन् । यदि उनी पहिले म्याग्डालाई बचाउन बत्तिइन् भने जाडोले कप्कपाएको म्याग्डाको कर्कश स्वर पछ्यौरीको अभावका कारण जारी नै रहन्थ्यो । र, यदि उनी पछ्यौरी लिन स्टेलातिर दगुरिन् र पछ्यौरी फेला पारिहालिन् भने पनि यो कुनै खुशीको विषय नहुन पनि सक्थ्यो । उनले म्याग्डालाई पछ्यौरीमा बोकेर ल्याउन सफल भैहालिछन् भने पनि ऊ फेरि पछ्यौरी मुखभित्रै कोचेर मुर्दातुल्य भएर लडिदिन्थी ।

रोजा पछ्यौरी लिनका लागि अँध्यारो भागतिर बढिन् जहाँ स्टेलाले आफ्ना मसिना अस्थिपञ्जरयुक्त शरीरलाई त्यही पछ्यौरीले बेरेर निदाएकी थिई । स्टेलाको आङ्बाट पछ्यौरी थुत्नासाथ उनी छोरीलाई समाउन हाजिर गर्ने गरेको ठाउँतिरै बत्तिइन-हो, उनी बत्तिइन उनको शरीर हावाजस्तै हलुका भइसकेको थियो । सुर्यको प्रचण्ड तेजले अर्को जीवात्मा अर्थात् गृष्मकालका पुतलीहरूलाई समेत् अत्याएको थियो । दिनको पारिलो घाम लागेको त्यो ठाउँ एकदम सुनसान लाग्थ्यो । इस्पातले बनाइएको छेकबारको पल्लापट्टि दुबो र गाढा रङ्गका भायलेट फुलका थुङ्गाथुङ्गी देखिन्थे । अझउता टाइग लिलि चम्किरहेका थिए । ब्यारेकभित्र बर्षातमा फुल्ने फूलका कुरा चल्थे ।

तरल मिसिएको दिसाको लिँड तथा गन्हाउने खैरो र रातो तरल पदार्थ माथिल्लो तलाको सुत्ने पटरीबाट लुकेर बग्थ्यो । टर्रो गन्ध मिसिएको धुवाँमा चिल्लो तैरिएको देखिन्थ्यो । जसले रोजाका छालालाई कालै बनाएको थियो ।
छेकबारभित्रको उज्यालोतिर मानिस गुन्गुनाएको सुन्नसाथ रोजा हाजिर हुने गरेको रङ्गभूमिको छेउमा एकैछिन् अडिइन् । छेकबारभित्रको उज्यालोतिरबाटआएजस्तो लाग्ने यो गुनगुनलाई स्टेलाले भने एउटा कल्पनामात्र हो भन्ने जिद्धी गर्दै आएकी थिई अहिले रोजाले त्यहाँबाट साँचीकै मानिसहरू चिच्याएको सुनिन् । ती भोकाएका दुःखी आवाज थिए । त्यो छेकबारबाट रोजा जति पर जान्थिन् त्यति नै जोडसँग ती आवाज उनको कानसँग ठोकिन आइपुग्थे । बिलौना गरिरहेका मानवध्वनिहरू यति स्पष्ट गुञ्जिरहेका थिए कि तिनीहरूलाई कुनै प्रेतात्मा सम्झेर भ्रममा पर्नु त एकप्रकारको मूर्खतामात्र हुन्थ्यो । ती आवाजहरूले रोजालाई पछ्यौरी माथि-माथिसम्म उठाएर हावामा फहराइदिन अनुरोध गर्दै चिच्याइरहेका थिए । नभन्दै रोजाले पनि त्यहीँ उभिएर हावामा पछ्यौरी हल्लाइदिइन् ।

फलामका डण्डी जस्ता पाखुराले भुइँमा टेक्दै म्याग्डा निकै पल्तिर पुगेर झुलिरहेकी थिई जसको ट्यम्के भुँडी टनन हावाले भरिएको थियो । ऊ जमिनमाथि हावामा थिई अर्थात् उसलाई कसैले आफ्नो काँधमाथि बोकेको थियो । बोकिरहेको काँध रोजा र आजसम्म म्याग्डालाई बचाएर राखेको पछ्यौरीतिर नआई अन्तै मोडियो । म्याग्डाको झिनो आकृति मधुरो धुवाँले छेलिएको गहिर्राईभित्र पस्यो । फेरि केहीबेरमै काँधमाथि एउटा हेलमेट टल्किएको देखियो । हेलमेट लगाएको एउटा काले सिपाहीले एक कैदीलाई करेन्ट दौडाइएको नाङ्गा तारमा हुर्र्‍याइदियो । डरलाग्दोसँग चिच्याएकास्वर सुनिए । “…. आमा ! लौ न नि मरे,” सबै एकैसाथ चिच्याए । म्याग्डालाई त्यसबखत रोजादेखि निकै पर पुर्‍याइएको थियो, बिशाल रङ्गभूमि कटाएर एक दर्जन ब्यारेकको अर्कोपट्टि म्याग्डा केवल एउटा पुतलीजत्री मात्र देखिई ।

टाढा कतै म्याग्डालाई हावामा पौडिएझैं देखियो मानौं एउटी पुतली हावामा सयर गर्दै सिल्भर भाइन छुन खोजेकी छ । म्याग्डाको गोलो अनुहार। झ्यापुल्ले कपाल, पेन्सिल जस्ता खुट्टा, बेलुन आकारको पेट र झिक्राजस्ता बाङ्गाटिङ्गा पाुरा अचानक करेन्ट दौडाइएको नाङ्गो तारको छेकबारमा छतरिए । आफ्नो उडानबाट एक्कासी करेन्टमा अवतरण गरिएपछि म्याग्डाको तीखो पागल हुँकार हावामा फैलियो जसले रोजालाई घटनास्थलतिर दौडन तम्तयार पारिदियो । तर रोजाले छोरीको मायालाई आफूभित्रै दबाएर त्यहीँ उभिरहिन् । उनलाई थाहा थियो यदिउनी छोरीलाई बचाउन दगुरिन् भने उनलाई गोली ठोकिनेछ । करेन्ट लागेर मरिसकेकी छोरीको अस्थिपञ्जरलाई उठाउन खोजेमा समेत् गोली ठोकिन सक्थ्यो । त्यहीँ बसेर उनले म्याग्डाका फुटेका करङ्गसम्म सुनिनेगरी फ्याउरे चित्कार छाडेमा पनि गोलीको सिध्याइने निश्चित् थियो । यर्सथ रोजाले म्याग्डाको पछ्यौरी समाइन् र यसलाई मुखभित्रै कोचारिन् । पछ्यौरीले उनले फुत्किन लागेको फ्याउरोको जस्तो उच्चाटलाई भित्रैसम्म धकेलिन् । त्यसो गर्दा उनलाई पछ्यौरीको लप्कोमा छोरीको दालचिनी र बदाममिश्रति र्‍यालको स्वाद अनुभूत भयो । उनले आफूअन्तरको आहट नथामिउन्जेल अर्थात् म्याग्डाको पछ्यौरीबाट दालचिनी र बदामको स्वाद नआउन्जेल चुसिरहिन्, पिइरहिन् ।

(स्रोत : Nepalikalasahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in अनूदित कथा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *