कथा : ढाकछोप

~फणिन्द्र शान्त~Phanindra Giri Shant

‘‘के के तयारी गरिस् त हौ साइला?‘‘ मेरा नयन एकोहोरो छोरी खोज्न भौतारिइरहेका थिए, एक्कासी अन्तरे काकाको प्रश्नले विथोलिन पुग्यो । प्रातकालमा हामी बाबु छोरी बीच ‘को पहिले मामु छुने?‘ प्रतियोगीता हुन्थ्यो । तत्पश्चात लुकामारी । त्यहाँ एक विल्कुलै स्वस्थ्य सर्त थियो । जो हार्छ ऊ लुकामारीको डुम हुनु पर्ने । त्यसमा छोरीको हर्षित मुहार देख्नु बाहेक मेरो कुनै स्वार्थ थिएन । बरु, चिया चोकमा पाङ्दुरे गफ छाट्न भने ढिला हुने गथ्र्यो । यद्धपि, सन्तानको खुशी खातिर भए पनि त्यो धेरै दिन अघिदेखि दोहोरिदै आइरहेको दैनिकी थियो । सत्तमीको दिन थियो । त्यो पनि बडादशैंको । ठ्याक्कै एकसाल पहिलेको । हर्षोल्लासको पारो निरन्तर चढिरहेको थियो । चारैतिर वालसुलभको उपस्थिति देखिन्थ्यो । वसन्तका मन्जरी जस्ता उनीहरु घर आँगन, बाटा, पसल, पिंगहरुमा फक्रिरहेका थिए ।

छोरीको खुशी निमित्त अनेकौंपटक हार्दा पूर्ण जीतको अनुभूति हुन्थ्यो । जानाजान हारिदिन मजा लाग्थ्यो । तर मलाई हतारो परेको दिन या कामको चटारो थपिएको वेलामा छोरीको जीत सुनिश्चित थिएन । फूलपातीको तयारीमा मलाई समयको चापाचाप महशुस भइरहेको थियो । मैले स्वभाविक जित्नु पथ्र्यो । तर, मामु यानेकी स्नेही श्रीमतीको छलको कारण परिणाम मेरो पक्षमा परेन । छोरीले बाजी जितेकी थिइन् । हल्ला गर्न नमिल्ने, बोलाउदा नबोल्ने । खेलको अनुसासन पालना गर्नै पथ्र्यो । छोरी तलासीमा केन्द्रित मेरो ध्यान अन्तरे काकाले चौपट बनाइदिएका थिए ।

अन्तरे काका त्यस दिनका विशेष आगन्तुक । उनलाई वेवास्ता गर्नु आफ्नै घुँडामा बन्चरो हान्नु बराबर हुन्थ्यो । फाटेको कमिज, टालेको कालो हापिन, खुइलिएर बेरंग हुन लागेको थोत्रो ढाका टोपी । लाग्थ्यो, उनी दशैंको बिपक्षमा निस्किएका योग्य विरोधकर्ता हुन् । नखौरिएका दाह्री, दीप्तीहीन चेहरा, उदास नयन । सबैका घरभित्र छिरिसकेको दशैंको धज्जी उडाइरहेका प्रतित हुन्थ्यो । बिचरा, बोहनी गरेर मुस्किलले हातमुख जोर्दै आएका उनको यथार्थताप्रति दया जागेर आयो । उनको निन्याउरो मुहार नियाल्दै मैले भने-
‘‘के को तयारी गर्नु नि काका? मेलोमेसो केही थाहा छैन । त्यसैले तपाईलाई कुरिरहेको नि ।‘‘

‘‘धेत तेरिका, त्यत्तिकै बुढो हुन लाग्नु भो तपाईँ पनि । एसो चूलो सुलो बनाएर पानी तताउँदै गर्दा त हुने थियो नि‘‘ उनको बोलीमा हैरानीमात्र थिएन, अभिभावकत्व पनि थियो । उनी हत्तारिए । कस्तो अचम्म, मेरो काम गर्न उनलाई हतारो, मलाई वेवास्ता । आफ्नो अदुरदर्शिताप्रति आफैंलाई लज्जावोध भयो ।

उम्लिरहेको पानीमा एक मुठ्ठी कलकलाउँदो दूबो ओइराइदिए काकाले । जसरी दशैं नामक चाढमा मनुष्य खुशी पार्न करोडौं पशुपंक्षीले ज्यान आहुति दिनु परेको छ उसरी नै उम्लिरहेको पानीमा दूबोलाई अनाहाकमा तातो पानीभित्र चोबलेर किन सती जान बाध्य पारिन्छ? म जान्न चाहन्थें । मैले मुख फोर्न नपाई धनबहादुरको आवाजले ठाउँ ढाकिहाल्यो-
‘‘के के हुँदैछ त यहाँ? यो मुला दशैं नआए पनि हुने । हुनेलाई मात्र रहेछ । नहुनेलाई त दशैदशामात्र । अभागी खप्पर जता गयो उतै ठक्कर ।‘‘ उनको बोलीमा नैरास्यताका खात थिए । दयनिय भोगाइले सिकाएको पाठ थियो । बहुसंख्यक गरीबीको प्रतिनिधि गन्ध । नाममात्र धनबहादुर, आर्थिक अवस्था भने सधैं जीर्ण । उनीसितै आएकी उनकी ६ बर्षिया छोरीको आवरणले नै उनको गरीबी झल्काइ रहेको थियो । नांगा पाउ, बेसिहार केश । छित्रछित्र जामाले भित्री अंगहरु छेक्न सकिरहेको थिएन । जामाको साथी दोश्रो कपडा थिएन शरीरमा ।

धनबहादुरको आगमनले मलाई फुर्सद मिल्यो । उनीहरु दुवैलाई मैले विशेष निमन्त्रणा गरेको थिएँ । आफ्नो स्वार्थ पुर्तिकोलागि । टाटनाको घोर्ले खसीको गुदी-लादी भिन्न भिन्न पारी कराइमा हाल्न योग्य बनाउनको निम्ति । महा सत्तमी भब्यताकासाथ मनाउनकालागि ।

‘‘काका, मेरो थोरै काम छ । म लागें है एकछिन । सबै काम आफ्नै आइडियाले गर्नूहोला‘‘ म जुरुक्क उठें ।

‘‘के गर्छौ अन्तरे दाइ! साइलाको बाजेले जस्तै सम्पति छोड्न सकेनन् हाम्रा बाजेले । नत्र त यसरी नै तिम्रा हाम्रा घरमा पनि खसी ढल्थे होला नि । कसैलाई दशैं भन्छन् तिमीहामीलाई दशा । के गर्नु, छोराछोरीको मुख हेर्यो मन मान्दैन । यसपाली पनि ठाइला महाजनसँग तीन हजार ऋण काडेर लुगा हालिदिएँ ।‘‘ धनबहादुरका निर्धन हुनुको पीडा असरल्ल छरिए । उनको खासखुसको ध्येय मेरा कान सम्म नपरुन भन्ने थियो तर मेरा कानका जाली सम्म स्पष्टै ठोकिन आइपुग्यो । हुन पनि हो, लाखौँ साहुलाई वर्खाका लागि सस्ता हली दिलाएको थियो दशैंले, धनबहादुर जस्ता । अनि धेरैलाई धेरैका कमारा-कमारी ।

मन खिन्न भयो । धनबहादुर दाइको बोली लिसो झैं टास्सियो मगजमा । कोजाग्रात पूर्णिमामा रातभर अनिदो बसेर सारा रुपैँया हारेको जुवाडेको हाल भयो सत्तमीको रौनक । वेलगाम घोडा झैं दिमाग दौडन थाल्यो ।

भनिन्छ, ‘हुनेलाई दशैं, नहुनेलाई दशा‘ भुक्तभोगीहरुको बिरत्तिलो अभिव्यक्ति । अझ भनौं जिन्दगीप्रति नै नैरास्यता उत्पन्न भएकाहरुले यदाकदा चित्त बुझाउने मेलो । उक्त उक्ति बुझ्न या बोल्न जो कोहीले सक्दैन । अनुभवको ठूलै चांग हुनु पर्छ । अनेकौ वसन्तका भोटाहरु फटाइसकेको हुनु पर्छ । चाडबाड, अझ भनौं हिन्दुहरुको महान चाडका वेलामा निक्कै प्रचलित र बारम्बार दोहोरिने यो भनाइ कुनै वच्चावच्चीको मुखबाट उच्चारण हुनै सक्दैन । सुगालाई रटाएर ‘गोपी कृष्ण‘ भनाए जस्तो सजिलो अवस्य हुदैन । वालसुलभ तोते बोलीले ज्यान गए बोल्न सक्दैन । यो उनीहरुको उमंग विपरितमात्र होइन, खुशीको सरासर हत्या हो । कुनै पनि सजिव जानाजान आफ्नो हर्षको गला दाब्न चाहँदैन । मानिस त अझ विवेकशिल, सर्वश्रेष्ठ प्राणी । कसरी सकोस्?, यो मानविय भूल हो या अन्तरनीहित गुण? चाहे अरुको अस्तित्व मेट्न किन नपरोस्, आफ्नो खुशीमा धक्का लाग्नु भएन । स्वार्थ मर्नु हुँदैन । सर्वश्रेष्ठताको अमिट परिचय । त्यसैले होला, धनबहादुरलाई दशैंले सोचमग्न बनाए पनि उनकी छोरी खसीको कान पोलीखाने आशमा मजाले हाँसिरहेकी थिई । दशैंमा राम्रा लाउने र मीठो खाने उमंग स्पष्ट झल्किन्थ्यो उसको वाल मुहारमा ।

मेरो सोचाइमाथि एकाएक आक्रमण भयो । आक्रमणकारी अरु कोही नभएर मेरो व्यग्र खोजाइको बस्तु यानेकी आफ्नै छोरी सफलता थिइन् ।

‘‘बाबा!‘‘ उनले मात्र सम्बोधन गरिन् । लुकामारी खेल नियम बमोजिम ‘बाबा झाप्पा‘ भनिनु पथ्र्यो । त्यसो नभएकोमा म आश्चर्यमा परें ।

‘छोरी आसपास‘ नियमपूर्वक जीत हाँसिल गरेको जानकारी दिएँ मैले ।

‘‘ला…. उनको लेघ्रो तनाइमा खेल पूर्णतः बिर्सिएको जनाउ पाइन्थ्यो ।

‘‘बाबा, म चाहीँ के काट्नु?‘‘ हातमा सानो कर्द थियो । उनको तोते बोली अजंगको हाउँगुजी जस्तो लाग्यो मलाई । मलाई तर्साउन बनावटी बोली बोले जस्तो लाग्यो । तर, उनको आँखामा बेग्लै चमक थियो, खोजाइमा तिब्रता । मलाई वेवास्ता गर्दै काला, चम्किला आँखा पर-पर हुत्याउन थालिन् ।

‘‘नानु! तिम्रो बेलन फुट्यो भनेको होइन, हिड जाउँ दोकान । म तिमीलाई सबैथोक किनिदिन्छु । ललिपप, चोकोपन सबै ।‘‘ कसै गरी छोरीलाई मारकाट देख्नबाट टाढा राख्नु थियो मैले, ताकि वाल दिमागमा नकरात्मक असर नपरोस् । कस्तो विरोधाभास, आफ्नै घरमा हिंसा गर्ने अनि घरका सदस्यबाट भने छुपाउन खोज्ने । मैले भएभरको लोभ देखाएर घरबाट बाहिर निकाल्न चाहें । छोरीलाई पसलले आकर्षण गर्न सकिरहेको थिएन । केको छाप पर्यो कुन्नी, मेरो हत्केलाको बन्धन तोडेर भाग्ने असफल चेष्टा गरिरहेकी थिइन् । मेरा सबै फकाउने कोसिस असफल भए । उनले कुखुराको चल्लामाथि जसरी मार हान्ने अडान व्यक्त गरिन् । आजै अहिल्यै । म तीन छक्क परें । वाल दिमाग कहाँबाट सञ्चालित छ?, बुझ्नको लागि आन्तरिक सवाल आफ्सेआफ बाहिरिए-

‘‘नानू! तिमीलाई कसले भन्यो आजै काट्नु पर्छ भनेर?‘‘

‘‘आमा (हजूरआमा) ले ।‘‘

‘‘नानू! के के भन्नु भयो आमाले?‘‘

‘‘अनि नि बाबा! आज खसी, बोका, कुखुरा, भैँसी काटेर भगवानलाई चढाउनु पर्छ रे । अनि नि आज जसलाई काटे पनि पाप लाग्दैन अरे । आमाले त खसी कुखुरा नपाएर घिरौला काट्नु भयो, माथि पूजा कोठामा । अनि नि बाबा! आज जनावरको रगत चढायो भने काली देवता खुशी हुन्छन् रे अनि हामीलाई जे माग्यो त्यही दिन्छन् रे हो? अनि नि बाबा! म पनि चल्ला काटेर देवतालाई डाक्टर बनाइदिनुस् भन्छु ल ।‘‘ छोरीले कुरा सक्दा नसक्दा आमाको बेहोसियारीप्रति झ्वाक चल्न गयो । आमाकोमात्र के भन्नु र? अन्धविस्वास अँगाल्दा नै आफूलाई समाजमा इमान्दार, धार्मिक र उच्च व्यक्तित्व सावित गर्न उद्धतहरुमा व्याप्त गलत अवधारणा । जसलाई आदर्श मानेर कलिला वाल वालिकाले केही अनुसरण गर्ने चेष्टा गर्छन् उनीहरुमै यस्तो धारणा भनौं व्यवहार रहेपछि उनीहरुले के सिकुन् र? सौताको रिस पोइको काखमा फोहोर गरेर पोखे झैं आमामाथिको रिस समाजप्रति पोखेर मन शान्त पार्ने कोसिस गरें । यद्धपि मन बुझ्न सकेन ।

‘‘नानू! आमाले भनेको ठीक होइन । आमाले पढ्नु भएको छैन अनि जान्नु हुन्न । मेरो छोरीलाई त कति धेरै पढ्न आउँछ, सबै कुरा जानेको छ । पढ्न लेख्न जान्नेले पनि अरुलाई काट्नु हुन्छ त? अनि नि, अरुलाई काट्दा दुख्छ । दुखेपछि रुन्छ । अनि भगवान रिसाउँछन् । काट्दा त पाप पो लाग्छ त ।‘‘ प्रतक्ष्य घिरौरामाथि मार हानेको देखेकी उनले मेरो कुरामा खासै ध्यान दिन मानिनन् । मेरो वाहु बन्धन चुढाउन छट्पटाउन लागिन् । जसरी नि सानो चल्लोमाथि मार हानेर देवतालाई चढाउने अनि डाक्टर बन्ने उनको धृष्टता हटेन । हाँसो उठ्यो । हाँस्नु को माथि? छोरीको वालापनमाथि, आमाको शिक्षणमाथि वा समाजको दर्शनमाथि? हाँसिरहन सकिनँ ।

मैले उनको स्वतन्त्रतामाथि बल प्रयोग गर्नु पर्यो । उनको चल्लो काट्ने योजनामाथि हस्तक्षेप गर्नु पर्यो । चक्कु खोसिएकोमा उनका आँखा पिलपिलाउँदा बने । त्यही चक्कुले पोहोर औंला काटेको सम्झना दिलाएँ । खासै प्रभाव पारेन । आमालाई बेहोसियारीप्रति सजग गराएँ । आफूले आस्था राख्ने देवी देवता नै हिंसाप्रिय भएपछि, आलो तातो खूनको भोको भएपछि आमासँग रिसाउनु व्यर्थ थियो । रिसाए झैं गरिन पनि । आफू पनि पानीमाथिको ओभानो कहाँ थिएँ र?, चारवर्ष दाना ख्वाएर पालेको खोरको खसी आफैंले छिनाउने हुकुम दिएको थिएँ ।

मार हान्ने समय भइसकेको थियो । गलबद्धि गरिरहनु उचित थिएन । घर पछाडीको चोरीबाटो हुँदै दोकान तर्फ लाग्यौं बाबु-छोरी । छोरी मेरो छातीमा टास्सिरहेकी थिइन् । उनको वाल दिमागको छाप हटाउनु थियो । मैले भने-
‘नानू! तिमीलाई गौतम बुद्ध थाहा छ?‘ दायाँ बायाँ मुन्टो हल्लाइन् । बुद्धको प्रसंग जोडेर अहिंसाको पाठ सिकाउने मेरो कोसिस तुहिएको अनुभूति भयो ।

‘लर्ड बुद्ध नि?‘ यो पाला तलमाथि टाउको हल्लियो । चिनेको संकेतमा । आफ्नो देशका गहनालाई आफ्नो भाषामा भन्दा अरु नै भाषामा चिनाइने शैक्षिक प्रणाली पनि गज्जबकै लाग्यो । हुन त प्रवृधिको विकास सँगै ब्रमाण्ड खुम्चिएर साँघुरो भइरहेको परिवेशमा अन्तराष्ट्रीय मापदण्डको व्यवहारिक शिक्षा नभए पनि कमसेकम भाषाको विकासलाई प्रगति नै मान्नु पर्छ । ममा हर्ष न विस्मतको अवस्था श्रृजना भयो । मैले, बुझे पनि नबुझे पनि भन्न खोज्दै थिएँ, अहिंसाकै दर्शन बाडेर एक नेपाली पुत्र, गौतम बुद्ध भगवान भएका हुन् । भन्नलाई मुख मात्र के उघारेको थिएँ, छोरी नै पहिलो भइहालिन्-
‘‘अनि नि बाबा! आमाले किन घिरौला च्वाट्टै काट्नु भको?‘‘

‘आमाले पढ्नु भएको छैन नि त । त्यही भएर, नजानेर ।‘

‘‘अनि नि हिजो सदिक्षाको बाबाले किन खसी काट्नु भको?‘‘

‘को सदिक्षाको बाबा?‘

‘‘अनि के त, हाम्रो सोसल टिचर‘‘ म अवाक भएँ ।

‘‘अनि नि बाबा! यो के रोएको? अनि किन रोएको?‘‘ गुमाने काकाको घरबाट चिच्याइरहेको सुँगुरको पाठोतिर इंकित थियो उनको सवाल । म उनलाई त्यो देखाउन चाहन्न थिएँ । मूलबाटो छोडेर हिडें । जुन घरको आड लागेर म गुमाने काकाको घरको दृष्य छल्न खोजिरहेको थिएँ, त्यहाँ एक बुढी सुँगुरनी तयार रहिछे । यमदूत स-सस्त्र तयार थिए । हतारमा दगुरें । घरमात्र के काटेको थिएँ बुढी सुँगुरनीको पीडादायी चित्कारले कानको जाली नै च्यातुँला जसो गर्यो । पुनः छोरीका अनेक अनुत्तरित सवालका सामना गर्नु पर्यो मैले । स्याल कराए तरिकाले सँगुरका पाठा चिच्याइले गाउँ फेरो मार्यो । एकपछि अर्को गर्दै । वाल जिज्ञासा उसरी नै चुल्लिए । मेरो उत्तर एकै थियो- मौनता, बुझपचाइ अनि लाचारीपन ।

चोकमा पुगेर छोरीलाई रोजे जति सबै सामान किनिदिएर आरामको स्वास फेर्ने योजना थियो । सायद त्यो लोकलाई मान्य थिएन । दोकानकै प्राङ्गणमा सनिलाल कत्ती उज्याइरहेको थियो । कालो खसी ईमान्दारसाथ गर्दन थापिरहेको थियो । हत्तपत्त आफूलाई ३६० डिग्रीमा घुमाएँ । छोरीले मेरो उद्धेश्यको घोर विरोध गरिरहेकी थिइन्, दायाँ बायाँ मुन्टो तन्काएर । हेरें, उनको आँखामा चमक थियो, अधरमा मुस्कान । छिन्दै गरेको खसी देखेर कुनै डर थिएन ।

‘‘बाबा! चिची लैजाउँ है‘‘ उनको वालसुलभताप्रति दया जागेर आयो । यद्धपि, आफ्नै घरमा खसी काटेको कुरा भन्न सकिन । आफ्नै ढोँगीपनले लोप्पा ख्वाए झैं लाग्यो ।

पसलको सामानले भन्दा खसी टुक्रा टुक्रा पारेको दृष्यले लोभ्याइरहेको थियो उनलाई । मासुको स्वादले निरन्तर उनको कलिलो जिब्रो -याल निल्न बाध्य थियो । घरमै सहयोग नगरेर अनेक छलकासाथ भागिरहेको थिएँ । जेबाट दूर भएको त्यही दृष्यको बाध्यात्मक दर्शक बन्नु पर्दा मनमा पश्चताप भयो । आफ्नो नाटकप्रति हाँसो उठ्यो । सोचें, हिंसाप्रेमी देवी देवता पुजिन्छन् भने वाल वालिकामा अहिंसात्मक शिक्षा दिनु असम्भव रहेछ । कसरी पो सम्भव होला र? जन्तु वध गर्न नपाए, लौका घिरौला छिनाएरै काली खुशी पार्ने अभिष्टमा लाग्छन् भने । ठूलाबडाहरु, जान्ने बुझ्ने भनाउँदाहरु । यद्धपि, वधशाला वालवालिकाको पहुँच बाहिर राख्न सके…. ।

‘‘अनि नि बाबा! यिनीहरुलाई पनि काट्ने हो?‘‘ छोरीको मसिनो बोलीले मेरो सोचाइको लहरो चुँडाइदियो । हेरें, चारओटा जखमले खसी झुण्ड्याइएको केरा पातमा तँछाड मछाड गरिरहेका थिए । सायद, दिनभरको लागि पेट टम्म भर्न चाहन्थे । बिचरा पालो आइसकेको थाहै थिएन ।

‘होइन छोरी‘ झूटको सहारा लिन बाध्य थियो, लाचार थियो मेरो बाबु मन । चीलले चल्ला टिपे पाराले टपक्क छोरी काधमा उठाएँ अनि वाल सवाल ग्रहण गर्दै बाटो तताएँ । छोरीको सवाल, मेरो ढाकछोप चलिनै रहेको थियो….

!!!!!!समाप्त!!!!!!

(स्रोत : Egulfnepal)

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *