कथा : उसको सपना

~एकराज प्रधान~Ekraj Pradhan

‘शरणार्थी कान्छी कति बेला आयौ ?’ उसलाई बोलाउँदा मेरो सम्बोधन प्रायः यस्तै हुन्थ्यो । कुनै बेला त्यही शब्दले ऊ औधी खुसी हुन्थी कहिलेचाहिँ खै कस्तो मुडमा हुन्थी रिसाउँदै लखेट्न खोज्थी । तर म उसलाई त्यसरी नै बोलाउँथे उसलाई मननपरे पनि । सायद उसलाई ‘शरणार्थी’ शब्दले हीनताबोध गराउँदो हो । मेरो बुझाई थियो तर पनि मुखबाट फुत्किहाल्थ्यो । उसलाई गिज्याउँदा छुट्टै मजा लाग्थ्यो । ऊ पनि मलाई चिड्याउन भन्थी ‘बाहुन बाजे’ ।

हामी छिमेकी गाउँका साथी-साथी । असार लागेपछि खेतीका लागि शिविरबाट उसका बाआमालाई बोलाइन्थ्यो सँगै ऊ पनि आउँथी । चिनजान त्यतिबेलै भयो जतिबेला ऊ भर्खरै बोल्न थालेकी थिई । ऊ यहीँ जन्मेकी हो नेपालमै । यहीँ पढी एसएलसी पनि दिई । नजिकमा क्याम्पस एउटै मात्र भएकाले पढाईको क्रममा हाम्रो भेट त्यहाँ पनि भयो । उज्यालो र हँसिलो मुहार सबैलाई हसाइरहने उसको बोली कसैसँग बोल्न धक नमान्ने लाग्थ्यो उसको वरिपरि खुसी नै खुसी झुम्छन् दुःखको कुनै छायाँसम्म छैन ।

बाटोमा उसको रमाइलो कुरा सुन्दै म क्याम्पस पुग्थेँ फर्कँदा पनि उही रमाइलो गफ सुनाउन ऊ व्यस्त हुन्थी । तर आफ्नो घर परिवारको कुरा कहिल्यै गरिन । जान्न खोज्दा अर्कै कुरा निकालेर ढाकछोप गरिहाल्थी । म सोधिरहन्थॆँ ‘राजु मलाई तिम्रो घर देखाउँदिनौ तिम्रो गाउँ लाँदिनौ ?’

उसले लिएर गई । ‘यही हो मेरो गाउँ तिम्रो भाषामा शरणार्थी शिविर ‘ ऊ त्यही हो तिम्रो शरणार्थी कान्छीको घरु सानो बाँसले बारेको छाप्रोतिर औँला तेस्र्याउँदै भनी । ‘पाँचजनाको परिवार यहीँ अँटाएर बसेका छौँ अहिले बर्खा लागीकन ठाउँ-ठाउँमा चुहिन्छ पानीबाट जोगिँदाजोगिँदै रात कट्छ । कहिलेकाहीँ हावाले गाउँ नै उडाएर लैजाला जस्तो गर्छ ।’ अलिअलि गर्दै उसको मुखबाट गहकिला आवाजहरु निस्कन थाले । ‘सरकारले नापेर दिएको सामानले पुग्दैन आफैँ काम गर्छु भन्दा यहाँ पाइँदैन । बाबा त्यही खोलाको डिलमा गिटी कुट्नुहुन्छ दाइहरु ढुङ्गा भेला पार्छन् । अहिले गाउँमा बनिबुतो पनि गर्न दिँदैनन् । सबैले सोच्दा हुन् हामीलाई त सरकारले त्यसै दिइहाल्छ किन काम गर्नुपर्यो र तर कति दिन आखिर कति दिन अर्काले दिएको भरमा बाँच्नु हामीले मैले आफ्नो देश देखेको छैन बुबाको कुरा कथा जस्तो लाग्छ । भूटानमा हाम्रो थुप्रै जग्गा छ रे । सम्पत्ति छ रे । सङ्घर्ष गरेको वर्षौँ बित्यो तर जान पाइँदैन । कहिलेकाहीँ त यो शरणार्थी जिन्दगीदेखि दिक्क लागेर आउँछ । कस्तो जीवन स्वतन्त्र भएर बाँच्न पनि नपाइने ‘ जवाफको आश लिएर उसले मतिर पुलुक्क हेरी । तर म विल्कुलै नाजवाफ थिएँ । मसँग उसलाई दिने आश्वासनसम्म थिएन ।

हामी बाहिर निस्कियौँ । ‘अब त हामीलाई दिइने खानामा पनि कटौती भयो खाना पकाउने इन्धन पनि कटौती भयो अब त बाँच्नलाई झन् गाह्रो छ हामीले…’ ऊ निरन्तर भन्दै थिई । आजभन्दा अघि उसले मसँग यस्ता कुरा कहिल्यै गरेकी थिइन । हिँड्दै जाँदा म देख्दैथेँ धारावरिपरि खेलिरहेका केटाकेटीहरुलाई । जन्मँदै शरणार्थी ! कति होलान् यस्ता बच्चाहरु । जसले भोलि अनागरिक भएर निस्सासिनु पर्नेछ । राजुझैँ । यस्तै प्रश्नहरु तेसर्िनेछन् यिनका अगाडि ।

‘अब त हुँदाहुँदा केही नभएपछि यहाँका दाजुभाइ अवैध व्यापार गर्न थालेका छन्’ साइकलमा लाँदै गरेको बोरा देखाउँदै उसले भनी । ‘तिमीलाई थाहा छैन यहाँ त हामी जस्ता चेलीको इज्जत बचाउन पनि गाह्रो छ हरेक रात हतियार बोकेर सहरबजारका गाउँका केटाहरु आउँछन् र धम्क्याउँछन् । रुपैयाँको लालच देखाउँदै नारीअस्मिता किन्न खोज्छन् । के हामी शरणार्थीको इज्जतै हुँदैन ?’ उसका आँखामा आँसु देखिन थाले । ऊ आँसुलाई आँखामै लुकाउने असफल प्रयास गर्दै थिई ।

मैले बुझेँ । तर त्यसको समाधान सरकारले त गर्न सकेको छैन मैले के गर्न सक्थेँ र भनेँ ‘आउँछ राजु एकदिन अवश्य आउँछ । तिमीहरु स्वतन्त्र हुनेछौ मातृभूमि फर्कनेछौ ।’

‘तर कहिले प्रवेश कहिले’ ऊ एकछिन् रोकिई ‘

पहिलो वर्षको परीक्षा सिद्धिएपछि केही महिना छुट्टी भयो । यसबीचमा हाम्रो भेट पनि पातलियो । कहिलेकाहीँ ऊ आफँै मलाई भेट्न आउँथी । भन्थी ‘तिमीसँग नबोली तिमीलाई नहेरी यो मनै मान्दैन ।’ तर अचानक एकदिन बिहानै आएर हँसिलो मुहार बनाउँदै भनी ‘बाहुन बाजे म पनि अमेरिका जाने भएँ त ।’

म झस्केँ । शरणार्थीलाई तेस्रोमुलुक लाने कुरा मैले रेडियो पत्रिकाबाट थाहा पाएको थिएँ तर आफ्नै साथी जाने कुरा सुन्दा भने मलाई विश्वासै लागेन । ऊ भन्दै गई ‘हामीलाई लिन अहिले १० बजे नै आईओएमको गाडी आउँदैछ । भोलि काठमाडाँै त्यसको केही दिनपछि अमेरिका पुगिन्छ ।’ म केही बोल्न सकिनँ । यति मात्रै वाक्य फुट्यो ‘नजाँदा हुन्न र ?’

‘मैले जानैपर्छ । यो देशको भार भएर कति बस्नु तिमी मलाई बिदा गर्न आऊ ल । अहिले जान्छु धेरै साथीलाई भेट्नुछ आजै त हो फेरि त कहिले भेट होला र ।’

बिदा गर्ने निम्तो दिएर ऊ गई । मैल रोक्न सकिनँ ।

म थोरै आत्तिएको थिएँ आफूलाई धेरै माया गर्ने साथीलाई म कसरी बिदा गरुँ के म बिदा गर्न सकूँला मनमा प्रतिप्रश्नहरु उब्जिए । के उसले आफू जन्मेको देशलाई छाडेर जान सक्छे हामी नेपालीको मायालाई भुल्न सक्छे अमेरिका भनेपछि ऊ किन त्यतिधेरै खुसी ऊ पनि महत्वाकाङ्क्षी हुन सक्छे प्रश्नहरुको बाढी नै आयो ममा ।

नौ बजे नै पुगेँ शिविर । हो रहेछ उनीहरु जाने नै भएछन् । त्यहाँ शिविरभरिका शरणार्थीहरु भेला भएका थिए आ-आफ्नो झोला बोकेर । अमेरिका पुगेपछि कसैसँग भेट नहोला भनेर माया साट्दै थिए । कोही रुँदै थिए । कोही आफ्नो भाग्यलाई धिक्कार्दै थिए । मैले त्यो भीडमा राजुलाई नियाले । ऊ पर एक्लै उभिएकी थिई ।

‘राजु किन एक्लै उभिएकी’ मेरो बोली सुन्नासाथ मलाई अँगाल्दै रुन थाली । ‘तिम्रो यादले साह्रै सताउनेछ मलाई । मलाई नबिस्र है ।’

‘मलाई थाहा छ तिमी खुसी छैनौ फेरि किन जान्छौ ?’

‘मैले त्यहाँ रमाइलो सपना देखेको छु त्यही पूरा गर्न ।’

यत्तिकैमा गाडी आयो सबै चढे । ऊ पनि । अनि बिदाइको हात हल्लाउँदै ऊ मबाट अलिअलि गर्दै टाढिइरही म निरीह बनेर उसलाई हेरिरहेँ । सायद ऊ फेरि कहिल्यै नभेट्ने गरी गइरहेकी थिई । मेरो मिल्ने शरणार्थी साथी मबाट धेरै टाढा गइरहेकी थिई मुटुभरि धेरै माया बोकेर आफ्नो सपना पूरा गर्न । तर मैले सोध्ने मौका नै पाइनँ ‘के थियो होला उसको सपना ?’

epradhan@yahoo.com
बुधबारे, झापा

(स्रोत : Samakalinsahitya)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *