बाल कथा : आगलागी

~नारायण तिवारी~Narayan Tiwari

“आगो लाग्यो ! आगो लाग्यो !!”

अचानक मेरो कानमा मानिसहरूले चिच्याएको, कराएको, हल्ला गरेको आवाज पर्‍यो । म र दिदी भर्खर स्कुलबाट आएर टुसुक्क मात्र के बसेका थियौं – टोलमा त आगो लागेको हल्लाले उत्पात मच्चाउन थालिहाल्यो ।

हाम्रो बुबा हल्ला भएको दिशातर्फ दौडिहाल्नु भयो । आमा, दिदी र म एक ठाउँमा भेला भयौं । अब के गर्ने ? टाढा मैले देखें – धुवैं धुवाँ उठेको । एकछिन पछि नै आगोको लप्का पनि देखें । फेरि एकैछिनमा आगो सल्किएर दनादन घरहरू डढ्दै गरेको देखिन थाल्यो ।

बिहानको पढाइ थियो हाम्रो । गर्मी याम सुरू भयो कि दिउँसोको पढाइलाई बिहान सारिदिइ हाल्नु हुन्थ्यो सरहरूले । जेठको महिना । घाम पनि चर्को । चैत वैशाखमा चल्नु पर्ने हुरी यो जेठमा आएर मज्जाले चलेको थियो । फेरि हिजोअस्ति त आजको जस्तो थिएन हावा, हुरी – यो आज आगो लागेर टोल नै समाप्त पारिदिनलाई पो हो कि यस्तो हुरी चलेको…?

एकैछिनमा हाम्रो बुबा दौडिंदै आउनु भयो- ”हुँदैन, अब हाम्रो सामानहरू सबै घरबाट झिक्नु पर्छ । हाम्रो घरलाई पनि आगोले डढाउँछ ।” बुबा भन्दै हुनुहुन्थ्यो ।

त्यतिबेला हतार-हतार आमाले ”यिनीहरूलाई खान दिने मेरो सुद्धी पनि कहाँ गयो” भन्दै मलाई र दिदीलाई भात खान दिंदै हुनुहुन्थ्यो । मलाई खान के मनलाग्थ्यो, तैपनि जति रूच्छ हतार-हतार खाएँ । चार गाँस जति खाएँ हँुला ।

”ल ल, अब छोड खानओर्न, सबै मिलेर सामान बाहिर लगौं ।” बुबा कराउँदै सामान बाहिर झिक्न थाल्नु भयो ।

हाम्रो घरको छाना फुसको थियो, खरले छाएको । त्यसैले हाम्रो घरलाई जल्नबाट बचाउन सकिंदैन अरे । बरु घरका जम्मै सामानहरू चाहिँ बचाउनु पर्छ अरे । एकैछिनमा हाम्रो घरमा बुबाका थुप्रै साथीहरू भेला भइसक्नु भएको थियो । उहाँहरू धमाधम हाम्रो घरभित्र पसेर सामानहरू बाहिर झिक्दै हुनुहुन्थ्यो ।

हाम्रो घरभन्दा पश्चिमपट्ट िएउटा पक्काको घर थियो । त्यो घर रघुनन्दन काकाको थियो । रघुनन्दन काका पनि हाम्रो घरमा आउनु भएको थियो । रघुनन्दन काकालाई मैले हाम्रो घरमा देखेर छक्क परेको थिएँ । उहाँ र मेरो बाबाले एकदिन खुबै झगडा गर्नु भएको थियो । तँ तँ र म म, मारामार जस्तो, काटाकाट जस्तो ।

”तँ पाजीको घरमा म ज्यान गए पाइला टेक्दिन ।”

”जा-जा ! तँ आफ्नो घरको राजा होलास् – म आफ्नो घरको…!”

यस्तै के-के भनाभन गर्नु भएको थियो- रघुनन्दन काका र मेरो बाबाले । हात हालाहाल चाहिँ हुन पाएको थिएन । अरूहरू छिमेकी काकाहरूले छुट्याइदिनु भएको थियो । त्यस झगडा परेको दिनदेखि आजै हो रघुनन्दन काकालाई मैले हाम्रो घरमा खुट्टा टेकेको देखेको ।

जेहोस्, त्यस दिनदेखि रघुनन्दन काका मलाई मन पर्न छोडेको थियो । तर आज…? उहाँलाई हाम्रो घरमा सहयोग गरिरहेको, बाबासित बोलचाल गरिरहेको देख्दा अचम्म मानिरहेको थिएँ म । रघुनन्दन काका खराब मान्छे हो जस्तो लागेको थियो मलाई । तर आज हाम्रो घरमा आएर हाम्रो घर र सामानहरूलाई आगलागीबाट बचाउन सहयोग गरिरहेको देख्दा उहाँ नराम्रो मान्छे हुनुहुन्न रहेछ जस्तो लाग्यो मलाई ।

”ल ल तिमीहरू सबैजना हाम्रो घर जाओ,” भन्दै रघुनन्दन काकाले मलाई, दिदीलाई र आमालाई काकाको घरमा पुर्‍याउनु भयो । उहाँको घरकै अगाडि पुर्‍याउन हाम्रो घरबाट भएभरका सामान ओसारिन थाले । हामी म, दिदी र आमा हाम्रो सामान भएनेर गई बसेउँ ।

सामान ओसारिंदै थियो । टिनका बक्सा ओसारिए । काठको पुरानो दराज, सुत्ने खाट, कुर्सी – बा, बाका साथीहरू र रघुनन्दन काकाहरू भएर ओसारे । साना-साना सामानहरूदेखि लिएर ठूला-ठूला सामानहरू सबै ओसारिए ।

आगोले ठूलो उत्पात मच्चाइ नै रहेको थियो । एकछिनमै हाम्रो घर हुर्हुरी बल्न थाल्यो । आमा त घर जलेको देखेर धुरूधुरू रून थाल्नु भयो । दिदी पनि रून थाल्नु भयो । रघुनन्दन काकाकी श्रीमती काकीले आफू पनि रूँदै मेरो आमालाई र दिदीलाई केटाकेटीलाई जस्तै अँगालो हालेर फुल्याउन थाल्नु भयो । म के गरौं- रोउँ कि हाँसुँ ? केही बुझ्न नसकेर अलमल्ल परिरहें ।

रघुनन्दन काकाको सानो छोरो म भन्दा फुच्चे थियो । ऊ र म त्यहीँ बसेर खेल्न थाल्यौं । रवि थियो उसको नाउँ । रघुनन्दन काकाको घर र हाम्रो घरको बीचमा रहेको चौरीमा सधैं साँझमा हामी खेल्दथ्यौं । रघुनन्दन काका र मेरो बुबा बीच झगडा भएदेखि मैले रविलाई हाम्रो समूहमा खेलाउन छाडिदिएको थिएँ । म हकारेर उसलाई पठाइदिन्थें ।

आज उसकै घरमा ऊ मसित खेल्न लागेको थियो । मलाई ठूलाबडाको झगडामा बित्थामा आफू पनि परेको जस्तै लागिरह्यो । म अलिक ठूलो फुच्चेले यो मभन्दा सानो फुच्चेलाई किन त्यसरी हेला गरेको हुँला भन्दै आज म अपसोच मानिरहेको थिएँ । र, आगलागीको ठूलो हल्लाखल्ल्ाासित मतलव नरहेझैं गरी रविसित रमाई-रमाई खेल खेलिरहेको थिएँ ।

टोलमा आगो लाग्यो । सारा फुसका घरहरू डढेर खरानी भए । दिनभरिको हावाको ताण्डव पनि बन्द भयो, हावा बहन छोडिसकेको थियो । बचेका थिए त केही पक्की घरहरू । त्यसमा रघुनन्दन काकाको घर पनि थियो ।

”पीर गर्नु पर्दैन दाइ ! तपाईंको घर नबनुञ्जेल यहीँ हाम्रै घरमा बस्नु पर्छ…!” रघुनन्दन काका मेरो बुबासित भनिरहनु भएको थियो ।

हामीलाई त झन् के को पीर ! रवि र म एकआपसमा मिलेर खेल खेल्नमै व्यस्त थियौं । फुच्चे रवि र म यति धेरै सायद पहिले कहिल्यै मिलेका थिएनौं…!

(स्रोत : मुना २०६७ माघ)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.