कथा : त्यो अफिस

~कमल कुमार~kamal-kumar

त्यो दिन, त्यस अफिसमा हामी दुबै जनाको लागि पहिलो थियो। हाकिमले आफ्नो कोठामा बोलाएर मलाई सामान्य ब्रिफिङ गरेपछि आफ्नो लामो, कैलो कपाल दुई हातले सपक्क मिलाउँदै उ हाकिमको कोठामा छिरेको थियो। लामो, त्यसमाथि रङ्गाइएको सतिशको कपालले मलाई राम्रो इम्प्रेसन त दिएको थिएन। तर केही हप्तामै मलाई फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्ने कुरा गलत लाग्न थाल्यो। अफिसमा हाम्रो उमेरका अरु कोही नभएर पनि होला हामीले चिया खाने र गफिने साथीका रुपमा एक अर्कालाई नै देख्न थाल्यौं। बिस्तारै यो चिया–चौतारीमा मात्र सीमित भएन, अरु कसैलाई नभनिने कुरा हामीले एक अर्कालाई भन्न थाल्यौं। गफका विषयहरु प्राय महिला र तीनका शारीरिक बनौटका हुन्थे। र केही यहाँ लेख्न नमिल्ने खालका हुन्थे। एक दिन सतिशले ठूलै कुरा पत्ता लगाए झैं मेरो छेउमा आएर भन्यो, ‘भाइ अफिसमा त टन्नै नयाँ लड्कीहरु आउँदै छन् रे नि।’

उसो त हामीले त्यो अफिस सुरुगर्दा त्यहाँ ‘हेर्न लायक’का केटी कोही थिएनन्। एक महिनापछि झण्डै आधा दर्जन युवती थपिए, जसलाई हामी क्यान्टिनको कुनामा बसेर ‘च्वाँक’ भन्थ्यौं। ती आधा दर्जनमध्ये एक थिइन् गरिमा।

क्यान्टिनको बाहिरपटि अलिकति घाम परेको टेबलमा गरिमा एक्लै कुनै किताब पढेर चिया चुस्काइरहँदा क्यान्टिनभित्र बसेर कालो सिसा लगाइएको झ्यालबाट चियाएर हामी दुईले गरिमाको सौन्दर्य मस्तले पान गरेका थियौं। सतिशको मुखबाट एक्कासी निस्कियो, ‘कस्तो बिहे गरौं गरौं लाग्ने रैछे यार।’

सतिश गरिमाको नजिक हुने कोशिस गर्न थाल्यो। अनेक बहानामा ऊ गरिमाको डेस्कतिर चहार्न थाल्यो। महिना दिन बित्दा पनि उसले गरिमासँग बोल्न चाहिँ सकेको थिएन। एक दिन सतिश झण्डैझण्डै नाच्दै मेरो छेउ आइपुग्यो। ‘भाइ बब्बाल भयो यार’। दुःख पर्दा होस् या सुःख पर्दा ‘बब्बाल भयो’ भन्ने उसको बानी थियो। मैले कम्प्युटरकै स्त्रि्कनमा आँखा गाड्दै सोधेँ ‘के भयो?’

‘लब पर्यो यार। म गरिमाबिना बाँच्न सक्दिनँ जस्तो लाग्न थाल्यो।’

भएको के रहेछ भने, गरिमा बोलिछ सतिशसँग पहिलो पटक। लिफ्ट चढ्ने बेलामा जम्काभेट भएछ, गरिमाले मुसुक्क हाँस्दै ‘हेल्लो’ भनिछ। भाइलाई के चाहियो र? हिन्दी फिल्ममा जस्तो ब्याकग्राउण्ड म्युजिक बजेछ, फूल फुलेछ, लभ परे परे जस्तो भएछ। धेरै हप्तासम्म सतिशलाई त्यही एउटा ‘हेल्लो’ भन्ने शब्दले सताइराख्यो। त्यसपछि केही हप्तासम्म गरिमासँग उसको बोलचाल त भएको थिएन। त्यही पनि उ त्यही एउटा शब्दको कारण पुरै दँग थियो।

गरिमा, पत्रकारितामा नयाँ थिई। सतिश भन्दा कम अनुभवी। एक दिन खोइ कुन स्टोरीको ‘एङ्गल भेटिएन’ भन्दै गरिमा सतिशकै डेस्कमा आइपुगिन्। त्यसपछि त सतिशलाई के चाहियो र। भोलिपल्टदेखि त उ गरिमाले केही सोध्छे के भनेर गरिमाकै डेस्कमा धाउन थाल्यो। गरिमाको डेस्क अलि कुनामा भएकाले कार्यालयको नियमित चहलपहलबाट त्यो ठाउँ मुक्त थियो। सतिश गरिमाको पछाडि उभिएर हेरिरहन्थ्यो। गरिमा निकै बेरपछि मात्र थाहा पाउँथी। पछाडि फर्केर तर्से जस्तो, रमाए जस्तो हाँसे जस्तो गर्थी। हरेक दिनका यस्ता साना साना अपडेट चाहिँ सतिशले मलाई क्यान्टिनमा गर्थ्यो। ‘आज गरिमा खुसि थिइ’ ‘आज गरिमाले यस्तो लुगा लगाकी थिई’ ‘आज गरिमा दुःखी थिइ’ ‘आज गरिमासँग यो कुरा भयो’ ‘आज गरिमाले मलाई मेरो फेमिलीको बारे धेरै प्रश्न सोधी’ ‘आज गरिमाले चिया खान जाउँ भनी’ आदि आदि। सतिशको बुझाईमा उसले गरिमाबाट प्रशस्त हिन्ट्स पाउन थालिसकेको थियो। सतिश हावामा उड्न थालेको थियो।

‘गरिमा आज कस्तो ‘पेल’ देखिएकी है?’ एक दिन सँधै झैं क्यान्टिनको झ्यालबाट गरिमालाई चियाइरहँदा सतिशले भन्यो।

‘गरिमा एक्लै छे, जाउ न त भाइ एकछिन बिजी बनाउ’ मैले भनेँ। धेरै कर गरेपछि सतिश लुखुर लुखुर गरिमाको टेबलतिर गयो। तर सतिशभन्दा पहिले नै सुनील गरिमाको डेस्कमा पुगेर बसिसकेकेा थियो। सतिशलाई असह्य भयो। अँध्यारो देख्यो चारैतिर। उ लर्खराउँदै क्यान्टिनको बाहिरपटि रहेको बाथरुम छिर्यो। धेरैबेरपछि मात्र बाथरुमको ढोका खोलेर सतिश निस्कियो। अघिसम्म गरिमा पेल देखिएकी थिई, अहिले बाथरुमबाट निस्किँदा सतिश त्यस्तो देखिएको थियो। म नजिक आएर बस्ने बित्तिकै सोधेँ, ‘के भयो भाइ, स्खलित देखिन्छौ त?’ उसले मलाई कुनै प्रतिक्रिया दिएन। अलिकति टाउको बङ्ग्याएर झ्यालको कालो सिसाबाट गरिमाको टेबलतिर चिहायो र सानो स्वरमा सुनीललाई लक्षित गर्दै भन्यो ‘मादर …….’।

सुनील पनि कार्यालयमा नयाँ नै थियो। तर ऊ डिजाइनिङ तिर थियो। डिपार्टमेन्ट छुट्टै भए पनि त्यो कसरी गरिमासँग नजिकियो भनेर हामी दुबैलाई आश्चर्य लागेको थियो। ‘मुजी धनी बाउको छोरो जस्तो छ’, सुनील गाडी फेरी–फेरी अफिस आको देखेर सतिश कहिले काहिँ बर्बराउँथ्यो, ‘कर्ममै नलेखेपछि के हुन्छ यार?’ कहिले काहिँ सतिश निराश बन्थ्यो।

दिनहरु बित्दै गए। गरिमाको सौन्दर्य झन् झन् खारिँदै गएको थियो। उसको खिरिलो शरीर सुहाउँदो गरी फुक्दै गएका थिए र लुगाहरु कस्सिँदै गएका थिए। केही सहकर्मीहरु गरिमाको जीउ हेरेर घुटुक्क थुक निल्दा रुद्रघण्टी चलेको मैले पनि देखेको थिएँ। सतिश र गरिमाको लुकामारी यथावत् थियो। सतिशले जीवनको पहिलो कविता पनि लेख्यो। एक दिन गरिमालाई पनि च्याटमै त्यो कविता सुनाएछ। एउटै अफिसमा भए पनि अ–आफ्नै डेस्कबाट गरिमा र सतिश च्याटमा ब्यस्त हुन्थे कहिले काहिँ।

‘भाइ आज मेरोमा बसेर दारु खाउँ है’ सतिशले अफिसबाट निस्किने बेला हुनै लाग्दा मलाई भन्यो। एकछिन अघि मात्र सुनीलको गाडीको अगाडिको सिटमा बसेर गरिमा अफिसबाट बाहिरिएकी सतिशले देखेको थियो। त्यसपछि उसलाई भाउन्न भएको थियो।
दुई दुई पेग सकिँदासम्म हामी दुईले आज कुरा गर्न चाहेको तर कुरा गर्न नसकेको विषय अलपत्र थियो। तेस्रो पेग थप्नुअघि सतिशले भन्यो ‘भाइ बाहिर गएर चुरोट खाउँ’ चुरोट सल्काएर दुई चोटि खोकेपछि सतिश बल्ल खुल्न थाल्यो, ‘भाइ म के गरुँ?’

‘मोबाइल देउ तिम्रो’ मैले सतिशको मोबाइल मागेँ र मेसेज टाइप गर्न थालेँ, ‘प्यारी गरिमा, म तिमीलाई मनमनै माया गर्छु, तिम्रो विचार के छ?’ गरिमालाई एस एम एस पठाउनुअघि मैले टाइप गरेको म्यासेज सतिशलाई देखाएँ। सुरुमा डराएपनि नशा चढ्दै जाँदा सतिश कन्भिन्स भयो। सेन्ड बटन थिचेपछि सतिशको प्रेम प्रस्ताव बोकेको सिग्नल उड्दै उड्दै गरिमाको मोबाइल खोज्दै गयो।

मेसेज पठाइसकेपछि सतिश डराउन थाल्यो। ‘भाइ अब के हुन्छ यार? गरिमाले के भन्ली? मलाई किन उचालेको यार। केही भयो भने तिम्रो दोष हुन्छ’ सतिश बर्बराइरहँदा उसको मोबाइलको घन्टी बज्यो। गरिमा कलिङ…

मेरो अनुहारमा पुलुक्क हेर्दै सतिशले फोन उठायो। ‘हेल्लो……….. अँ यत्तिकै बसिराको….. खाना खायौ………? मैले पनि खाको छैन………… के हेरिरहेको टिभीमा…… ए ए…. अनि अरु?…… भोलि अफिस कतिखेर आउँछौ? …………. ए ल ल …. हुन्छ ….. बाइ …… गुडनाइट …… यु टु’

सतिशले फोन राख्यो। गरिमाले उसको प्रेम प्रस्तावको त कुरै गरिनछ। नर्मल भएर बोली रे। सतिश झन् छट्पटिन थाल्यो। कस्तो होला यो केटीको जात बुझ्नै नसकिने। हामीबीच अरु दुई घन्टा जति केटीकै बारेमा छलफल भए। बिना कुनै निष्कर्ष हामी सुत्यौं। सुत्नुअघि खोइ के मुड चलेर हो सतिशले गरिमालाई मिसकल गर्यो।

प्रेम प्रस्ताव राखेको दुई तीन दिन सम्म अफिसमा गरिमा र सतिशको कुनै बोलचाल भएन। गरिमाले केही भन्छे कि भनेर सतिश पर्खाइमा थियो। टाढैबाट पटक पटक आँखा जुध्यो रे। गरिमाको आँखा शान्त थियो रे। गरिमा खुशि पनि थिइन, दुःखी पनि थिइन रे। झण्डै एक हप्तापछि सतिश हिम्मत गरेर गरिमाको डेस्क छेउमा पुग्यो। एकछिन कुरेपछि गरिमाले ‘हेल्लो’ भनि। अनि केही बिर्सेर सम्झेजस्तो गरेर गरिमाले भनी, ‘अँ साँची तिम्रो एसएमएस पाएको थिएँ’

सतिशले भनेअनुसार त्यो भन्ने बेला गरिमा अहिलेसम्मकै सबैभन्दा राम्री देखिएकी थिइ रे। लजाको हो कि, डराको, खुशि भाको हो कि कस्तो कस्तो रे। अलिअलि हाँसकी पनि थिइ रे। त्यसपछि गरिमा एकछिन सम्म बोलिन। सतिश पनि उसले केही भन्छे कि भनेर सुनेर बस्यो। गरिमाले भनी, ‘अँ…..हेरन मैले यसबारेमा सोचेकै छैन। मेरो फर्स्ट प्रायोरिटी मेरो प्यारेन्ट्स हो। मेरो लाइफमा अरु कोही भएर तिमीलाई यस्तो भनेको होइन। तर तिमीलाई म हुन्छ भन्न सक्दिनँ। तिम्रो लागि एउटा गुड फ्रेन्डचाहिँ म सँधैभरि रहिरहन्छु। ‘

गरिमालाई हाँसे जस्तो अनुहार देखाएर फनक्क फर्केर सतिश मेरो छेउ आइपुग्यो, ‘साला केटीहरु हिन्दी फिल्म धेरै हेर्छन् यार’ असन्तोषी अनुहार बोकेको सतिश धेरै बेरसम्म मसँग पनि बोलेन।

सतिश पुरै निराश भइसकेको थिएन। गरिमामा मन आफूतिर तानिएला भन्नेमा ऊ अझै पनि आशावादी थियो। गरिमासँग उसको बोलचाल कम तर हेराहेर ज्यादा हुन थालेको ऊ सुनाउँथ्यो। गरिमाले ‘हेल्लो’ भन्दा पनि ऊ कैयौं दिनसम्म फुर्केको हुन्थ्यो। झन् एक दिन त क्यान्टिनमा अरु साथीसँगै चिया खाने बेलामा गरिमा र ऊ आमने सामना बसेका थिए रे। अरुका आँखा छली छली ऊ गरिमाको आँखा चोर्दै थियो रे। गरिमाले हातमा चियाको गिलास उठाइ। ओठले गिलासलाई छुनै लाग्दा गरिमाको हातबाट गिलास फुस्क्यो। चिया सहितको ग्लास झर्याम्म फुट्यो। सतिशले धेरै दिनसम्म यो घटना दोहोर्याएर सुनाइरहन्थ्यो। ‘मेरो हेराईले साला गिलास फुटाइदियो यार’ सतिश भन्ने गर्थ्यो।

एक दिन अचम्मै भएछ। गरिमाले सतिशलाई ‘फिल्म हेर्न जाउँ’ भनिछे। शहरमा लागेको इमरान हस्मीको कुनै हिन्दी फिल्म हेर्न जाने प्रस्ताव सुनेपछि सतिशले पाइतालादेखि टुप्पीसम्मको नशा नशामा रगत कुदेको सजिलै महशुस गरेको थियो रे। फिल्ममा एउटा गित आइरहँदा एकपटक सतिशको तिघ्रामा गरिमाको हात आएर सल्बलायो रे। यो सपना थियो कि, बिपना, सतिश आफैंले समेत थाहा पाउन सकेन।

फिल्म हेरेर फर्केको साँझ सतिश धेरै बेरसम्म टोलाएको थियो।

पछिल्लो समय सतिशले चित्त बुझाउन थालेको जस्तो देखिएको थियो। ‘गरिमालाई देखेँ’ ‘गरिमाले देखी’ भन्नेमै उ मजा लिइरहेको थियो। कहिले काहिँ संयोगवश गरिमा र ऊ मात्र लिफ्ट भित्र हुँदा उसलाई सबैभन्दा आनन्द लाग्थ्यो रे। एक अर्कासँग नबोलेपनि हेरिरहन्थे रे। १५ सेकेन्डपछि लिफ्टको ढोका खुलेर बाहिर निस्कनु पर्दा टुक्रिएको जस्तो अनुभव गर्थ्योे।

एक दिन अफिसमा हल्ला चल्यो, ‘गरिमाको बिहे रे’। त्यो हल्लालाई केही हप्तापछि नोटिसबोर्डमा टाँसिएको निम्तो पत्रले पुष्टि गर्यो। गरिमाको बिहेमा अफिसका प्राय सबै गए। सतिश भने गएन। कसैले सोध्दा भनिदियो, ‘बिरामी भएर जान पाइनँ’। अरुको नजरमा उसले बहाना बनाएको देखिए पनि गरिमाको बिहेको दिन सतिश साँच्चिकै बिरामी भएको मलाई मात्र थाहा थियो।

बिहेपछि, गरिमा झन् राम्री देखिएकी थिइ। उसको लवाइखवाइमा बिहेसुचक कुनै परिवर्तन देखिएको थिएन। बितेका कुरा समयसँगै पातला हुँदै जाँदा रहेछन्। सतिशले गरिमासँग फेरि आँखा जुधाउन र क्यान्टिनको झ्यालको कालो सिसाबाट लुकी लुकी हेर्न सुरु गरिसकेको थियो।

मैले जागिर फेर्ने निधो भयो। त्यो अफिस छाडेर अन्तै जाने भएँ। कार्यालयको अन्तिम दिन नजिकैको छाप्रोमा नमिठो मूख पारेर दुई पेग खाइसकेपछि, सतिशले झण्डै रुँदै भन्यो, ‘तिमी पनि जाने भयौ है?’

अर्को ठाउँमा जागिर खान थालेपछि, सतिश र मेरो भेट र संवाद पनि पातलिन थाल्यो। च्याट र फोनमा कहिले काहिँ कुरा हुन्थे। ‘कोही छैन अफिसमा साथी’ भनेर दुःखेसो गर्थ्यो। गरिमासँग नबोले पनि ऊ अफिसमा हुँदा चाहिँ रमाइलो लाग्छ भन्थ्यो।

……………………..

लामो समयपछि एक दिन बानेश्वरमा चिया खाँदै गर्दा सतिशले गरिमाका थुप्रै अपडेट सुनाएको थियो। गरिमाको बिहे मधेसमा भएको रहेछ। मामाघरपटिबाट आएको कुरालाई स्वीकार्दै थुप्रै जग्गा जमिनका एकलौटी मालिकसँग गरिमाको बिहे भएको रहेछ। केटा पढे पनि जागिर खाँदा रहेनछन्। मधेसमै बस्छन् रे। पथलैयामा एउटा होटल पनि छ रे। गरिमा एक्लै काठमाडौंमा।

काठमाडौंका सम्भ्रान्तहरुको संगत बढ्दै गएपछि गरिमालाई पथलैयामा रहेका श्रीमान् र आफूबिच दूरी बढ्दै गएको अनुभव हुन थालेछ। गफाडी इतिहास बोकेको सतिशले गरिमा बिहेपछि आफूसँग एकाएक नजिकिन थालेको कुरा मलाई सुनाइरहँदा मैले सजिलै पत्याउन सकेको थिइनँ। तर पनि सतिश गम्भिर थियो। मैले पत्याउन कर लाग्यो।

अफिसभरि रहेका चनाखा आँखा र कानलाई छल्नुपर्ने भएकाले सतिश र गरिमाका अधिकांश संवाद च्याटमै हुने गर्थे। अफिसको भिडभाड पातलिँदै गएपछि सतिश लुसुक्क गरिमाको डेस्कछेउ पुग्थ्यो र उनीहरु घन्टौंसम्म गुनगुन गरिरहन्थे।

त्यस वर्षको होलीको दिन सतिश र गरिमा दुस्साहसपूर्वक एक अर्कासँग नजिकिएछन्।

अफिसमा अचानक गरिमाले आफूलाई सन्चो नभएको बताएपछि सतिशले उनलाई नजिकै रहेको आफ्नो कोठामा गएर आराम गर्ने प्रस्ताव राखेछ। गरिमाले नबोलीकन त्यो प्रस्ताव स्वीकार गर्दा सतिशका गोडा कामेका थिए रे।

मध्य फागुन भइसक्दा पनि काठमाडौंे तातिसकेको थिएन। सतिशको कोठाको खाटमा घोप्टो परेर पल्टिएकी गरिमाको टिसर्ट तन्किएर अलिकति देखिएको कम्मरमा झ्यालबाट छिरेको एक टुक्रा घाममा टल्किरहेको थियो। अधैर्य भएर कुर्सीमा बसेर टोलाइरहेको सतिश बेला बेलामा बाहिर होली खेल्नेहरुले कराएको आवाज सुनेर झस्किन्थ्यो। १५ मिनेट चकमन्न भएको कोठामा एकाएक गरिमाको सानो आवाज खस्यो। ‘सतिश, खाटमै बस न’।

सतिश एकछिन अन्यौलमा पर्यो। उसले निर्क्यौल गर्न सकेन गरिमाको यो आग्रह उसले चाहेको थियो या नचाहेको थियो। सतिश घसि्रँदै खाटको छेउमा बस्यो। अझैसम्म घोप्टो परेर सुतिरहेकी गरिमाले सतिशको बायाँ हातलाई छातीमा च्यापेर निदाएको जस्तो गरी। सतिशको दायाँ हात बिस्तारै गरिमाको शरिरमा बडो लापरवाह चलमलाउन थाल्यो। बिस्तारै ती दुइ प्राणी अलि धेरै नै चलमलाउन थाले।

……………..

बानेश्वरको ठेलामा राखिएको चिया किनेर सडकछेउको रेलिङमा बसेका हामीले अर्को एक–एउटा चिया थप्ने निर्णय गर्यौं। गरिमासँगको शारिरिक तहमा त्यो हदसम्म नजिकिएपछि, सतिशले निकै ग्लानि महुशुस गरेको बतायो। तर फागु पुर्णेको त्यस घटना लगत्तै गरिमाको आँखाभरि सन्तुष्टि देखेको थियो रे सतिशले भनेको।

नयाँ वर्षको इभमा सतिश र गरिमा अबेरसम्म ठमेलमा देखिएका थिए। गरिमाका पति झण्डै ६ महिनामा काठमाडौं आउँथे र गरिमासँग एक रात बिताएर फर्किन्थे। गरिमालाई पत्रकारिता छोड्न र मधेशमै गएर घरबार सम्हाल्न उनकी बिधुवा सासु र पतिले पटक पटक दबाब दिएका थिए। यो आग्रहलाई नमान्दा गरिमा उनीहरुको लागि पराई हुँदै गएकी थिई। यता सतिशले पनि घरबाट बिहेका लागि आउन थालेको दबाबलाई अनेकौं बहाना बनाएर टार्न थालिसकेको थियो।

गरिमा र सतिश अफिसमा कम र बाहिर ज्यादा भेट्थे। गरिमालाई बन जंगल र डाँडाकाँडा पटक्कै मन नपर्ने। त्यसैले होला उनीहरुको डेटिङ स्पट भनेको या त सतिशको कोठा या ठमेलको कुनै पब। गरिमा पनि खुब पिउन थालेकी थिइ।

एक दिन सतिशले बिहानै निन्द्रामै फोन गरेर १० हजार रुपैंया चाहियो भन्यो। गरिमाले पेट बोकिछ। घर परिवारमा थाहा पाएर रडाँको मच्चिनु भन्दा पहिले नै उनीहरु त्यस बोझबाट मुक्त हुन चाहन्थे। नभएको विवाहपछि नजन्मेको सन्तानलाई गरिमा र सतिशले फाले।

गरिमाको स्वास्थ्य यसै पनि पहिले देखि नै कमजोर थियो। टाउको दुख्ने समस्या त सानै देखिको। उसले लगाउने चश्माको मोटाइ पनि बढेको थियो। गर्भपतन गरेपछि उसको शरिर पनि केही झुलिन थालेको थियो। पछिल्ला समय सतिशलाई फोन गर्दा प्राय गरिमाको स्वास्थ्यकै कुरा हुन्थ्यो। एक चोटि उपचारका लागि गरिमालाई लिएर दिल्ली जान्छु भन्दै थियो। तर पैसा नपुगेर गरिमा एक्लैलाई पठाइदिएछ।

गरिमा अफिसमा कम देखिन थालेकी थिइ। सतिशसँग पनि पहिले जस्तो नियमित भेटघाट हुन छाडेको थियो। गरिमाले एमए को थेसिस लेख्नलाई एक महिनाजति बिदा लिँदा सतिशले एक पटक पनि भेटेन रे।

गरिमाले सतिशलाई बेलाबेलामा भन्ने गर्थि, ‘तिमी मसँगको सम्बन्धमा साँच्चिकै गम्भिर हौ भने, नेपालमा बसेर त्यसलाई मूर्त रुप दिन सम्भव छैन। त्यसैले बिदेश जाउँ’

‘तिमी चाहिँ मसँगको सम्बन्धमा गम्भिर हौ कि होइनौ?’ सतिशले प्रतिप्रश्न गर्दा गरिमा नङमा लागेको पालिस कोट्याउँदै चुप लाग्थी।

गरिमाका मावल हुने खाने नै थिए। लामो समयदेखि अमेरिकामा बस्दै आएका उनीहरुले गरिमाको श्रीमानसँगको सम्बन्ध राम्रो नभएको थाहा पाएपछि गरिमालाई पटक पटक अमेरिका आउन आग्रह गरेका थिए।

एक महिनाको बिदा सकिनै लाग्दा गरिमाले सतिशलाई फोन गरेकी थिइन्।

‘सतिश मैले अमेरिका जाने निधो गरेँ। म गएर मिलाउँछु अनि तिमी पनि आउनु पर्छ। ‘ गरिमाले फोनबाटै मौखिक राजिनामा दिएको र अब अफिस नआउने बरु सतिशलाई बाहिरै भेट्ने बताइरहँदा सतिशको ओठ कामेको थियो।

सतिशले केही नभनी घर्याप्प फोनको रिसिभर बजारेको थियो।

त्यो नै उनीहरुबिचको अन्तिम संवाद थियो। हुन त अमेरिका उड्ने दिन गरिमाले सतिशलाई धेरै पटक फोन गरेकी थिई। सतिशलाई उठाउनै मन लागेन रे। फ्य्राङकफर्ट एयरपोर्टमा टान्जिट परेका बेला गरिमाले लेखेको फेसबुक स्टाटस मैले र सतिश दुबैले देखेका थियौं।

‘टाढा धेरै टाढा……’

September 25th, 2010

(स्रोत : Mysansar.com)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *